गुलाम अलीको “गाजलु ती ठुलाठुला आँखा” गीत सायद यहीँ आएर मेल खाँदो हो । ऊबेला गीतकारले अनुहारको अन्य भाग नदेखेझैँ गरेर आँखालाई मात्र बयानको दायरामा ल्याएको अहिले आएर ठ्याक्कै मेल खान गयो । म सानै हुँदादेखि सुन्दै आएको यो गीत, बेला-बेला गीतमा चुर्लुम्म डुबेर बालमनोभावले यतिसम्म सोचेको थियो कि गाजलु आँखा मात्र भएर अनुहारमा अन्य अङ्गजस्तै नाक, मुख, चिउँडो नहुने हो भने मान्छे कस्तो देखिन्थ्यो होला ?

एकछिन कल्पिन्थेँ ! टाउको भारी भएको भान हुँदासम्म गीत सकिन्थ्यो । त्यो आँखामात्र उपस्थित अनुहार दिमागले कोर्नै सक्थेन  । सायद दिमाग भुत्ते हुँदो होँ ।  कल्पनाशक्ति यतिमै चुँडिन्थ्यो ।

पश्चिम बस स्टेन्ड बिर्तामोडको यात्रु प्रतीक्षालयमा मान्छेको घुइँचो  थियो । बेला-बेला घडी हेरिरहने प्रायलाई देख्दा लाग्थ्यो उनीहरूले आजै नयाँ घडी किनेका हुन् । मैले पहिलोचोटि मिल्के घडी लगाउँदा म नि यसरी नै हेर्थेँ ।

सिकुवाबाट भित्र छिर्न तीन सेकेन्ड! चर्पी गएर आउन दुई मिनेट पन्ध्र सेकेन्ड! रेडियोले चार मिनेट तेइस सेकेन्डको गीत गायो ! जस्ता समय मापनका रेकर्ड छिनछिनमा सुनाएर मैले बालाई वाक्क बनाएको थिएँ ।

“मैले कुन दिनमा तँलाई घडी किनिदिएछु नि !” भन्दै बेला-बेला बा झर्को मान्नुहुन्थ्यो ।

“बा!  टुकी निभाउन त एक सेकेन्ड  पनि लागेन !” यो सुनेपछि बा एकदिन खुब हाँस्नुभएको थियो ।

“चना, बदाम, मुमफली, नरिवल ! नरिवल ! नरिवल !  दाइ खाने हो? लिनुस् ! लिनुस् !” छेउमा एउटा ढाकी बोकेका अधबैँसे युवकले मलाई आफूपट्टि आकर्षित गराउने प्रयास गरे ।

विपिन भारद्वाज

यति सुनिसकेपछि चाहे जो कोहीले कि त चना बदामको दाम सोध्छन् कि त मनमनै नखाने स्वरमा हातको इसाराले “जाऊ” को सङ्केत गर्छन् तर उसको विज्ञापनले मलाई भने चनाबदाममा भन्दा पनि उसको सम्बोधनमा ध्यान खिच्यो ।

उमेरले दुई तीन छोराछोरीलाई दिनहुँ चकलेट किन्दिसकेको मान्छेले मलाई ‘दाइ’ शब्दले सम्बोधन गर्दा कताकता भित्र मनमा च्वास्स घोच्यो ।  हुन त आफूभन्दा ठुलाले दाइ भनेर पहिल्यै पनि उमेरमाथि ठक्कर नदिएका त हैनन् ।

बसका कन्टेक्टरदेखि पसलका साहूजीले समेत दाइ बोलीले पुकार्थे । बेला-बेला आफ्नो सिट छेवैमा उभिएका कलेजका केटीहरूले दाइ भावमा हेर्ने गर्थे ।

म प्रतिभावमा मुन्टो मोड्दिन्थेँ ।

“भाइ यो बदाम घरमा लगेर भतिजलाई खुवाऊ, स्मरणशक्ति तेज हुन्छ ।” यति भनेर म जुरुक्क उठेर अर्को ठाउँमा गएर उभिएँ ।

ऊ भने छक्क पर्थ्यो कि भावमा अलमल देखिन्थ्यो ।

“ओ दाइ ! छिटो यता आउनुहोस्,  गाडी हिँड्नै लाग्यो ।” पछाडिबाट कोट्याउने पहेँलो टिसर्ट लगाएका युवक थिए बसका सहचालक ।

(मैले अघि नि भन्या हैन? मलाई सबले दाइ भन्छन् भनेर ।)

उनको कुरामा विश्वास राखेर म दुइटा जेब्रा झोला बोकेर पोथीको पछि पछि लागेको चल्लाझैँ सहचालक भाइको पछि लागेँ ।

“लु दाइ यही हो सिट । झोला माथि राखेर यहीँ आनन्दले बस्नुहोला ।”

“अनि भाइ यो सिट त B को ५ रछ त ! मैले त B को ३ काटेको थिएँ त ।”

“खै टिकट देखाउनुहोस् त !”

एकछिन टिकटमा घोरिएपछि टिकट ठिकै भएको तर त्यो सिटमा एक जना वृद्ध भएकाले मलाई पछिल्लो सिटमा बसाएको कुराले जबरजस्ती पूर्णविराम लाग्यो ।

B को ५ सिटमा बसेँ । सिट फोल्ड गर्ने प्रयास गरेँ, भएन । सकेसम्मको बलले सिटलाई पछाडि धकेल्दा नि हलचल भएन, “हेल्लो ! भाइ यता आऊ त ।”

सरले इमानदार  विद्यार्थीलाई बोलाएपछि झैँ ऊ तुरुन्तै आयो ।

“के हो यो सिट त फोल्ड भएन नि ! यति लामो यात्रा गर्नुछ यार ! यो बनाइदेऊ त छिटो ।” लगायतका वाक्यले म मुर्मुरिन लागेँ ।

तत्काल केही नबोली उसले आफ्नो तरिकाले सिट मिलाइदियो, ” लु भयो ?”, झोँकिएको भावमा स्वरले भन्दा ठुला आँखाले प्रश्न तेर्स्यायो । मैले पैँतालिस डिग्री मुन्टो दुईतिर हल्लाएँ । सायद उसले “भयो” सङ्केत पायो ।

यात्रा गर्दा छेउमा को पर्ला ? कस्तो नियतको मान्छे होला? फोहोरी, जँड्याहा पर्ला कि? यी साझा मान्छेका मनमा स्वतः रूपमा पलाउने खुल्दुलीका बिरुवा हुन् ।

नाइट बसमा बिर्तामोडदेखि काठमाडौँको करिब १३-१४ घण्टाको यो लामो यात्रामा त झन् मान्छेले घरबाट हिँड्नेबेलादेखि नै छेउको सिटका बारेमा सोच्न थाल्छन्, राम्रो मान्छेको कामनामा भगवान् जप्छन् ।

कोही-कोही त यति जिद्दी हुन्छन् कि झ्याल सिटका लागि मरिहत्ते गर्छन् । “मलाई बमिट हुन्छ कि म झ्यालमा बस्छु नि है ?” यही हो सारा झ्यालप्रेमीको अनुरोधात्मक वाक्य ।

छेउको मान्छेलाई पनि यो सुनेपछि थाहा हन्छ कि उसलाई बमिट आउँदैन तर पनि झ्यालमा बस्न चाहन्छ ।

म पनि त त्यही ड्याङको कान्छो मुला न हुँ! छेउमा को पर्ला भन्ने सोच झन् गतिलो लयमा सोच्न लागेँ । गतिलो लयमा सोच आउनुका कारण नि गतिलै हुनु पर्दैन र?

अविवाहित सुन्दर युवक म !

यति शब्दले मेरो रूपरेखा, आनीबानी, कुलघरान सबै समेटेको हुन्छ । यो मेरो यात्रागत बायोडाटा हो ।

फिस्स हाँसो उठ्यो ! हाँसेँ । मनमा भित्रैबाट केही क्यालोरी खुसी उत्पादन भयो । बिहान रेडियोमा, “कन्या राशि –  विपरीत लिङ्गीको साथ पाउने”  भनेको मनले सम्झेछ अनि उठ्दैन त खुसीको फिस्स हाँसो ?

उनी को होलिन् ? कस्ती होलिन् ? ……..अङ्ग्रेजीमा हुने डब्लु एच कोइस्चनभन्दा अझ धेरै प्रश्न मनमा उब्जिए । खुसीले साँघुरिएको मनमा यतिका विधि प्रश्न अटे पो !

“ओ भाइ ! यो सिटमा चैँ कोही छैन कि क्या हो ?”

“खाली हो यो सिट ?”

आफूले थाहा पाएरै पनि केहीबारेमा नकारात्मक कुरो गर्दा कसैले “हैन ! हैन ! त्यसो हैन यसो पो हो त !” भनेर सच्याउन खोज्छ भने त्योभन्दा स्वादिलो के होला र?

जस्तो कि कसैले आफ्नो तारिफ गरिदियोस् चाहनेले “म कस्तो नराम्रो छु है ?” भनेर प्रश्न गर्छ । उत्तरकर्ताले ऊ नराम्रै भए पनि “हैन ! हैन ! यति राम्रो मान्छेले कहाँ त्यसो भन्नुभएको नि ।” जबाफ फर्काउँछ ।

यही सिद्धान्त न हो मैले सहचालकमा परीक्षण गर्ने !

“सिट खाली हो ?” वाक्यलाई सच्याउँदै उसले “हैन ! हैन ! के को खाली हुनु ! एक जना बहिनी आउँदै छिन् ।”

सुसमाचार आयो ।

जुन म कन्या राशि भएको नाताले अघि नि अन्दाज गरिसकेको थिएँ ।

डिभी पर्दा कन्फर्मेसन लेटर आएझैँ मलाई कन्फर्म केटी छिन् भन्ने खबर आयो । मलाई साथमा एउटी युवती राखेर अमेरिका जाँदै गरेको फिलिङ आएन होला त?

केटी नै नदेखी के को फिलिङ ! आउनै लाग्या फिलिङ अकमक्क पऱ्यो, आएन ।

मुन्टो एक अचल वस्तु हो झैँ भावमा हल्लिएन । आँखा एक शक्तिशाली केन्द्रीकृत स्थल हो झैँ लयमा ढोकामा अड्किरहयो । मान्छेको शरीर यतिसम्म स्थिर कसरी हुन सकेको होला?

बालापनमा एकछिन चकचक नगरी बस्न नसक्ने म चुम्बकमा फलाम टाँसिएझैँ रूपमा टाँसिएको थिएँ । मेरो बालापनको मिल्के घडी हुने हो भने म कति मिनेट कति सेकेन्ड  यसरी बसेको थिएँ भन्ने ठेट उत्तर आउँथ्यो ।

जिउले गाडी स्टार्ट भएको अलिअलि थाहा पायो । प्रतीक्षाको घडी कति खेर सुरु भएको थियो कुन्नि सकिन लागेझैँ भयो ।

ढोकाको ऐनामा मात्र नजर छायो । परबाट हतारमा केही अघि आएझैँ देखिन्थ्यो । त्यो आकृति बिस्तारै बिस्तारै सेतो र निलो दुई रङ्गले रङ्गिन देखिन लाग्यो ।

सेतो कुर्तीमा निलो जिन्स लगाएकी युवती हतारिँदै एक हातले ढोकाको हेन्डिल र अर्को हातले सहचालकको हात समाएर भित्र उक्लिइन् ।

यो कुनै भारतीय फिल्मभन्दा कमको सिन भने थिएन । यसमा कमी थियो त मेरो, जसले कुद्दाकुद्दैको रेलमा हिरोइनलाई हातमा तानेर जुरुक्कै आफूतिर तानेर ल्याउनुपर्ने हिरोको भूमिका निभाउनुपर्थ्यो ।

मेरो कमीलाई सहचालकले भूमिकागत रूपमा पूरा गरेका थिए । यो सम्झँदा यत्रोबेरको मौनता ऊमाथि घोप्ट्याऊँ कि झैँ नलागेको होइन ।

यति मात्र लागेर ऊ जोगियो कि “आखिर त्यसैले गर्दा त हो नि छेउमा केटी आइपुगेकी ।  हैन ! मचाहिँ केटी भएको सिटमा आइपुगेको !”

सुरुकै गाँसमा दाँतमा ढुङ्गा लाग्दा कस्तो हुन्छ त्यो मैले मज्जाले भोगेको छु । फलस्वरूप मैले सुरुमै उनलाई झ्याल सिट छोडिदिर आफू छेउमा बस्ने निर्णय गरेँ ।

आँखामा गाजल पोतिएको, अगाडिको कपाल छोटो बनाएर काटेको सायद हाइलाइट गरेको हुनुपर्छ सिउँदो मास्तिर । अनुहारमा भने KN 95 माक्स लगाएकी थिइन् ।

आफूलाई दाजु सम्बोधनबाट जोगाउनका निम्ति मैले बेलैमा “हेलो मचाहिँ सर प्रेम ।”

सर भनेर आफैँले चिनाएपछि दाजुको कल्पना नहुँदो हो उसमा ।

“मचाहिँ प्रेक्षा !”

मधुरो स्वरमा आफ्नो परिचय गराई । सायद योभन्दा चर्को हुँदो हो  उसको स्वर, त्यही माक्सले गर्दा अलिक मधुरो भएको मैले ठम्याएँ ।

मेरो असली नाम श्रीयज । बाटामा यात्रारत अवस्थामा म आफूलाई प्रेम भन्न रुचाउँछु । मेरो नामबाट नै (प्रेमबाट) मायाँको कुरा अगाडि बढाउन सजिलो हुन्थ्यो ।

“आफ्नो त नामै प्रेम सबलाई प्रेम गरूँ गरूँ जस्तो लाग्छ ।”

यो वाक्य सुन्दरीहरूसामुन्ने म अक्सर बोलिरहन्थेँ । मैले बिहे भएपछि यस नामलाई सदाका निम्ति हटाउने निर्णय पहिल्यै गरिसकेको थिएँ ।

बेलुकाको त्यस्तै नौ बजे गाडी लालगड पुगेर रोकियो । खाना खाने उर्दी सहचालकले सम्पूर्णमा लगाए । मैले सिटबाट उठ्नेबेला उनीतिर हेरेर भनेँ “खाना खान जाने हैन त?”

“हैन, म बाहिर केही पनि खाँदिनँ, तपाईँ जानुहोस् !”

“अनि भोक लाग्दैन?”

“मैले फलफूल बोकेर ल्याएकी छु ।”

यति सुनेर म सरासर होटलतिर लागेँ । खाना खाँदै उनीसगँ  अघि बोलेका कुराहरू सम्झन लागेँ । बुधबारे झापा हो सायद उनको घर  । न्यौपाने थरी । प्रेक्षा न्यौपाने, बि.एस.सी. तेस्रो वर्ष, मेची क्याम्पस ! सायद यस्तै यस्तै थिए उनका उत्तरहरू मेरा प्रश्नमाथि । घरपरिवारमा बुवा, आमा, दिदी, भाइ र उनी पाँच जना रहेछन् । मनमनै लाग्यो एउटी जेठीसासू अनि कान्छो सालो ।

ऊसँगको चारपाँच घण्टाको बसाइमा सबैभन्दा अनौठो विषय यो थियो कि मैले अहिलेसम्म उसको पूरा अनुहार देखेको थिइनँ ।

माक्स खोल भन्न नि अप्ठ्यारो, खोल्न पनि उसले खोलिन ।

खाना खाँदा देख्न पाँउछु भन्ने ठूलो विश्वास थियो गाडीभित्रै बिलायो ।

मलाई सबैभन्दा फसादको कुरो त राम्रो कुलघरानकी केटी, पढेलेखेकी, राम्रो व्यवहार इत्यादिले उसका निम्ति मेरो मनमा मेरो यात्रारत नाम जागिसकेको थियो । सायद मलाई नि केही स्थान दिएकी थिइन् कि आफ्नो मनमा ।

सिधै प्रेमप्रस्ताव राख्न पनि गाह्रो हुने भो, नराख्न्दा नि राम्री केटी उम्केली भन्ने पीर । त्यतिन्जेलसम्म कसैसँग फोन म्यासेज नगरेको देख्दा उसको मार्कसिटमा असलीमै चालचलन ‘असल’ लेखिएको हुँदो हो । न अनुहार नै पूरै देखिएको छ न छोड्न नै सकिन्छ जस्तो छ । बडो द्विविधामा परेँ ।

नखाऊँ भने दिनभरको सिकार खाऊँ भने कान्छा बाउको अनुहार भन्थे बुढापाकाले । मेरो स्थिति त्योभन्दा नाजुक थियो किनकि मसँग त उनको पूरा अनुहार पनि थिएन ।

कोरोना भाइरस पूरै रूपमा निको भएकाले प्रायः सयमा एक जनाले मात्र माक्स लगाउँथे । सयमध्ये  एक थिइन् मेरी प्रेक्षु !!

अन्धाधुन्ध मायाको जाल बिछ्याउँला, भरे उनको अनुहार ठीक रहेनछ भने त मैले नि मास्क लगाउनुपर्थ्यो मेरो काटिएको नाक जोगाउन । त्यसैले मायाप्रेमको कुरा घाँटीसम्म ल्याएर छोडिदिएँ ।

बिहान करिब नौ बजे गाडी कलङ्की पुग्यो । म सिधै बसपार्क पुग्नुपर्ने थियो । उनीलाई दिदीले कोटेश्वर बोलाउनुभएको थियो ।

“कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फुल्ने बेलामा” गीतलाई मैले अघि नि परिमार्जित गरिसकेको थिएँ ।

“मन-मनमै लाएको पिरती छुट्यो कलङ्की पुग्ने बेलामा” जिन्दगीकै सबैभन्दा रहस्यमय प्रेमकहानी !

न उनको जीत भयो न मेरो हार !

मात्र एक टुक्रो धोका मैले पाएँ !

र हेर्दाहेर्दै चक्रपथ परिक्रमा गर्ने बसमा ओझेल भइन् माक्स लगाएकी केटी ।