देबेन्द्र बागलुङे

टिमिलेडाँडा गाउँको सिरान । खरले छाएको एउटा घुमाउने घर । पिँढीको देब्रे कुनामा बाजेका पालादेखिको मकै र सिकुवाको कुनामा पिठो पिँध्ने जाँतो । जाँतामाथि परेवाको गुँड । शिवशरणका चार भाइ छोरा र तिनका सन्तानहरू एकका पछि अर्काको गर्दै लहर मिलाएर लस्करै सुत्ने चौडा भुईँ । भर्‍याङको कुनामा अगेनो । पछि थपिएको दाहिनेतिरको पाखे छानामुनि गाभाका काठको ढिकी । छानामा बाँझो खेत जोतेर एकपटक फर्काएपछि डल्ला फुटाउने एक जोडी डल्लेठा र जुवा सिउरिएको । घरको उत्तरपट्टिको गोठको छानामुनि किला ठोकेर डोरीमा झुन्ड्याइएको झुत्रे गुन्द्रीमा बेरेको आमा छोरीहरूको मासिक स्रावका बेला फेर्ने थाग्नाथराहरूको पुन्तुरो । बाख्राको खोरको सामुन्ने गर्जो चलाउन कोदाको बाफबाट आँखै तिरिमिरी पार्ने तात्तातो जुस निकाल्ने ढुङ्गे ओदानको चुल्हामा बान बसालिएको खुपिया, हाडा र डुबुल्की ।

घरको दायाँपट्टि दाइँ हाल्ने मियोमा फुच्चे धरहराजत्रै देखिने मकैको खलियो । बिहानी रोशनीले गाउँभरिमा पहिला चुम्ने गैरीखेतको चालिस मुरी धान र पराल फिँजार्न मिल्ने पाँच हल गोरुले दाइँ नार्न मिल्ने फराकिलो आँगन । बायाँ करेसाको कुनापट्टि तिरतिर झरिरहने पानीको ढुङ्गे धारो । न त्ससलाई बन्द गर्नुपर्ने न मिटर जोड्नुपर्ने । न ढल मिसिएला भन्ने पीर न आज किन आएन कतिबेला आउला भनी च्याँङ्ग्रे धर्ना दिएर बस्नुपर्ने न त पानी भएन भनेर जारको पानी किनेर नुहाउनुपर्ने सुर्ता ।

त्यही बाटुलेघर पछि साहिँला छोराको भागमा परेको थियो । साहिँलाको खास नाम कुशेश्वर थियो । साहिँलीको नाम गौथली । छोरीहरूले सानैमा गौथली आमा भनेर बोलाउँदा-बोलाउँदै उनको नामै “गौथली आमा” भएको थियो । छोरै-छोराको आशामा गौथली आमाको कोखबाट जन्मेका पाँचवटी छोरीहरूमा बाँचेका तीन छोरीहरू थिए । एकाघरका छोराछोरीको नाम एउटै अक्षरबाट जुराउने चलन सुरु भइसकेको थियो । पहिलो गर्भ तुहिएपछि जन्मेकी जेठी छोरी जुनेली थिई । ऊभन्दा दुई वर्षमुनिकी जुनकिरी । जुनकिरी भन्दा तीन वर्षपछि जन्मेकी जूनमाया कान्छी थिई ।

जेठी जुनेलीको विवाह पन्ध्र वर्षकै उमेरमा भिरलाँकुरी गाउँका मुखिया ठाहिँलाका माहिला छोरासँग भएको थियो । नौ कक्षामा पढ्दापढ्दै, पढ्ने रहर हुँदाहुँदै उसलाई कन्यादान दिँदा जुनेली बिहेको दिन ड्वाँड्वाँ रोएको सुन्दा जोरीपारीहरूले पनि आँखा ओसिला बनाएका थिए । निकै गमिली स्वाभावकी थिई ऊ; कोट्याएर बोलाउनुपर्ने । अरूका कुरा सुनेर र अवस्था आएमा मात्र बोल्थी नत्र सुनिरहन्थी । घरको रखवारी कुशल ढङ्गले गरेकी जुनेलीलाई अन्माउँदा गौथली आमा पनि डाँको छोडेर कम्ती रोएकी थिइनन् ।

सरकारी स्कुलमा के नै खर्च लाग्थ्यो र पढाउन । तैपनि खर्च पुर्‍याउन सकिएन भन्ने बहानामा गतिला कुटुम्ब केटो लिएर माग्न आउँदा छोरी दिन तयार भएका थिए बाबुआमा । दुई वर्षदेखि थला परेका बाबुको अवस्था भरेभोलि भएकाले पनि हतारहतार साइत जुर्‍याएका थिए । बिहेपछि पनि जुनेलीलाई भिरलाँकुरी गाउँमा घर खान जानेकी, शील स्वभवकी बुहारी भन्थे; देख्दा खिरिली, बतासले उडाउलाजस्ती तर आँत निकै ‌ओजस्वी थियो उसको । असल काममा जब्बर थिई । उमेरमा पनि कसैले ऊसँग खिसीटिउरी गर्न र जिस्क्याउने हिम्मत जुटाउन सक्थेनन् । गाउँमा नारदहरू थुप्रै हुन्थे तर तिनीहरूको दोहोलो काढ्ने ल्याकत थियो जुनेलीमा ।

माहिली जुनकिरी आधुनिक बन्न खोज्थी । अलि बढ्ता चुलबुले थिई । जतिबेला पनि मिठोपिरो खाइरहनुपर्ने उसलाई । स्थूल शरीर, “यस्ती मोटी छेस् डाइटिङ् गर नत्र त तेरो बिहे नै हुन्न बाइ” जूनमायाले जिस्काउँथी उसलाई । जुनकिरी ठूलो कद र मोटी भए पनि सिमलको भुवाजस्तै जता बतास चल्यो त्यतै उड्थी । कसैले यो त यस्तो हो है भने “ए, हो र?” भन्थी । वयकै लयमा लागेर उसले आफूभन्दा एक व्याच सिनियर केटा नकुलसँग बाह्रै कक्षामा पढ्दापढ्दै सुइँकुच्चा ठोकेकी थिई, अठार वर्षकी नहुँदै रङ्गीचङ्गी जीवनको सपना बुनेर । मान्छेको तौल बाहिरी शरीरको वजनले मात्र निर्धारण नगर्दो रहेछ । जुनकिरी जति मोटी र वजनदार थिई त्यति नै आँत हलुका थियो ।

दिदीबहिनीहरू कहिलेकाँही एकापसमा टट्याङमट्याङ गर्थे । केही घण्टा ठुस्किएर बस्थे । जुनेली र जूनमायाले उसलाई “भ्याप्ली” भनेर गिज्याउँथे । जुनकिरीले जुनेलीलाई “दाबिले” भन्थी । कान्छी जूनमाया अलिक डल्ली भएर होला उसलाई गिज्याउने नाम “ताउली” थियो । गाउँभरि एउटा न एउटा गिज्याउने नाम नभएको कोही हुन्न सायद ।

जुनकिरी मनले देखेका कुरामा लिँडेढिपी गर्थी । पछि लाग्ने बानीले उसलाई अप्ठ्यारामा पारेको थियो । स्कुलमा साथीहरूले उसलाई कसैले “बतासु त कसैले बेलुनु” भन्थे । बिहे गरेको डेढ वर्षपछि डिभी परेर अमेरिका पुगेकी थिई । टेक्सासमा मधेसतिरको एक जना केटासँग लिभिङ टुगेदर गरेर बसेको खबरले उसले आफैँले रोजेर बिहे गरेको नकुलले पारपाचुके मागेको थियो ।

गौथली आमाका श्रीमान्‌ कुशेश्वरलाई “टिमिले साहिँला भन्थे गाउँमा । जेठी र माहिली छोरीको पाणीग्रहण भइसकेकाले टिमिले साहिँलाको शेषपछि टिमिलेडाँडाको त्यो बाटुलेघरमा कान्छी छोरी जूनमाया र गौथली आमा बस्थे ।

जूनमाया टिकटकमा छाइरहन र गीत गाइरहन मन पराउने टिनएजको उत्तरार्द्धतिरकी केटी । अस्तिभर्खर आमाहरूले हाँतो समाउँदै र्‍वाइँर्‍वाइँ घुमाएका जाँतो र सखारै नीद मारेर आँखा मिच्दै हजुरआमाले कोदो फलेका ढिकीमा खुट्टा टेकी मच्ची मच्ची तल्लाघरे दामली मुनालाई भिडियो क्लिप लिन अह्राइहाल्थी । दैनन्दिन मेसेन्जरमा फोन गरी ठूला भिनाजुलाई मख्ख पारी कतारबाट सालीलाई भनी उनैले पठाइदिएको “सामसुङ जे सेभेन” मोबाइलले पनि कहिल्यै आराम पाएको थिएन जुन दिनदेखि उसको हातमा पर्‍यो ।
आफ्नो नाम मन नपरेर आफैँले न्वारन गर्दै “अलका” राखेकी थिई जूनमायाले । त्यही नामको एकाउन्टबाट टिकटक चलाउँथी । आफ्नो नाम र आफ्ना बाआमा मन पर्दैनन् क्यारे बैँसालु वयमा एकपटक ।
फेसबुक र टिकटकमा अलका नामबाट थुप्रै भिडियोहरू अपलोड गरेकी थिई उसले । कैयौँपटक टिकटकमा लाइभ भेटिन्थी । कोरोना महामारीको व्याप्त दोस्रो लहरसँगै स्कुल कलेजहरू बन्दप्रायः थिए । अनलाइन क्लास त रमाइलो गर्ने, केटाकेटी बियाल्ने र बक्यौता फिस असुल्ने गतिलो जस्केलो बनेको थियो । वाइफाई नजोडिएका घरका केटाकेटीलाई क्लासका नाममा डाटा प्याक लिन बाउ-आमासँग पैसा झार्न सजिलो भएको थियो । केटाले केटी र केटीले केटासाथीसँग गफ मार्ने मिठो मेलो मिलाइदिएको थियो । क्लास छ भन्दै जूनमाया कैयौँ घण्टा कोठामा थुनेर आफ्नै कक्षाको विमर्शसँग भिडियो च्याट गरेर बसिरहेकी हुन्थी । आमासँग अनलाइन क्लासका लागि डाटा प्याक किन्नु छ भनेर दुई सय चाहिँदा चार सय माग्थी । आमाले तिनताका दाउरा, घाँस र नखाई नखाई जोगाएको घिउ बेचेर जम्मा गरेको पैसा “ऊ तेईँ धराको खल्तीमा छ निकाल्” भन्थिन् । जूनमायाले पटुकीको गोजी खोतलेर चाहिएको भन्दा दोब्बर चड्काउँथी ।

स्कुलमा सरले “को को घरमा कति कति काम गर्छौ ल भन त ?” भनेर सोध्दा जूनमाया तँछाडमछाड गर्दै उठेर “मैले त डबल काम गर्छु सर” भन्थी ।
“कसरी डबल काम गर्छेस् भँगेरी ल भन त खै ?” सरले बडो कौतहुलतापूर्वक जिज्ञासा राख्थे । “सर, आमाले पटुकीबाट दुई सय निकालेर लैजा भन्थिन् म त चार सय पो निकाल्थेँ अनि डबल भएन त” भन्थी । कक्षामा सबै गलल्ल हाँस्थे ।

प्रविधिको विकासले मान्छेका रहर, रुचि र लक्ष्यहरू बदलिँदै गएका थिए । जूनमायामा पनि एकैछिन मोबाइल नहुँदा निकै छटपटी हुने रोग लागेको थियो । नाना थरीका भिडियो बनाउन उसले नपुगेका खोलानाला, नदी तालतलैया, पार्क, जङ्गल, मन्दिर तिर्थालय कुनै बाँकी थिएनन् । न त नलगाएका आमा, दिदी, बहिनी र भाइका कमिज-समिज र शृङ्गारका सर्जाम नै थिए ।

एकपटक त मामाघरको छतमा उडेर नाचेको भिडियो बनाउँदा-बनाउँदै झन्डै चिप्लिन लागेकी । सम्झिँदा पनि झसङ्ग भइरहन्छन् उसलाई देख्ने वरिपरिका छिमेकीहरू । उनीहरूको मानसपटलमा अस्ति भर्खर बबई नदीको पुलमा झुन्डिएर टिकटक बनाउँदाबनाउँदै बगरमा खसेर परलोकमा पुगेको एउटा युवकको समाचार ताजै थियो ।

दिनभरि भिडियो, फोटो र दुनियाँ स्टाटस लेखेर अपलोड गर्‍यो, स्टोरीमा हाल्यो, टिकटकमा लिप्सिङ्क गर्‍यो, क्याप्सनहरू खोजी-खोजी भिडियो बनाई अपलोड गर्‍यो । साँझ परेपछि कडा होम असाइनमेन्ट सुरु हुन्थ्यो उसको कमेन्ट पढ्ने, रिप्लाई गर्ने, लाइक, लभ रियाक्टको पुनः रियाक्ट गर्ने, कमेन्टमा उप-कमेन्ट गर्दै जाने ।
एकपटक काकाको छोराको बिहेमा बेहुलाको साथीसँग अङ्कमाल गरी बेहुलीजस्तै बनेर अपलोड गरेको भिडियोमा आएका बधाई र शुभकामना र “एकैदिन दुई जोडीको सादी वाउ” जस्ता विस्मययुक्त झन्डै सत्र सय प्रतिक्रियाको प्रत्युत्तर दिँदादिँदै उसको दुई दिन बितेथ्यो । टिकटकमा उसको फलोअर्स एकाउन्न हजार नाघिसकेका थिए । लाइक्स त एघार लाखभन्दा बढी । त्यही भाइरल फोटाले उसलाई पनि बिहे गर्न काउकुती जगाएको थियो ।

“जाँचाँ दाँत र मुख देखाए पास गराउने नीति, हात-हाताँ मोबाइल, र गोजी-गोजीयाँ दुईचार पैसो हुन्ज्याल कति सजिलो हो अचेलका केटाकेटीलाई ।”  पल्लाबारीका माहिलाबाले ऊ जमाना र यो जमाना दाँजेर छक्क पर्दै डिलखर्कको चौतारीमा आफ्ना दौँतरीसँग गफ्फिँदै भन्ने गर्थे ।

“हाम्रा पालाँ फुर्सद भए लसुन भए पनि गोड्थे, एउ डोको घाँस काट्न भए” नि सघाउँथे केट्केटी । गाई चराउन जान्थे । हेर अहिले त क्या भएका हुन् । अरूले असिनपसिन हुँदै काटेर बोकी ल्याको घाँसको भारी खोसेर टिउटो हो कि सिउटो बनाइराख् न । बाउआमाले दुःखसुख काटेर सहराँ छोराछोरी पढ्न राखेर र सुख दिएर बजारिया हावाले नाति पुस्ता बिउरेनी भए ।” बान्नापरिका काहिँलाबाले माहिलाबाको चोचोमा मोचो मिलाउँदै थप्थे ।

समाज, संस्कार र मानवता खै कता हराएका हुन् कुन्नि । पल्लाघरेको बिहेमा वल्लाघरे पनि नगएर फेसबुकमा सफल दाम्पत्य जीवनको कामना गर्न रमाउने पुस्ता साँच्चिकै अजिबको बन्दै गएको थियो । बाँचुन्जेल एक थोपा नसम्झने, उन्नति र प्रगतिमा एक शब्द बधाई तथा शुभकामनामा खर्च नगर्नेले मरेको हल्ला सुन्नासाथ साँचो होस् या झुटो श्रद्धाञ्जलिका पोस्ट हाल्न प्रतिस्पर्धा गर्ने । अस्ति भर्खर एक जना चर्चित नेताको पनि त्यस्तै गरेथे जानिफकार हुँ भन्ने मान्छेले आफ्नो वालबाट ।

सामाजिक सञ्जाललाई घाटबजारको हाटबजार बनाउन र गैरसामाजिक सञ्जालमा रूपान्तरण हुने खतरा बढ्दो क्रममा थियो । मानिसहरू भाइरल हुने नाममा चाहिने नचाहिने कुरामा उद्दत हुँदै गइरहेका थिए । अब त खुल्ला धारामा नुहाउनेका, खुला शौच गर्नेका, पर्दाको छिद्र राखी निजी कोठामा प्रेमालापका उपक्रममा तन्मय श्रीमान्‌श्रीमतीका भिडियोहरू पनि कसैले कुनै छिद्रबाट खिचेर वा भिडियो इडिट गरी अरूको टाउको जोडेर एकाएक भाइरल बनाउलान् कि भन्ने चिन्ता थियो ।

देखाउन मिल्ने त सबै नै देखाउन स्पर्धा गर्ने नयाँ पुस्ता देखाउन नमिल्नेलाई पनि मिल्नेजस्तो बनाएर दिनदहाडै भाइरल हुन लालायित हुँदा विद्युतीय अपराधका घटनाहरू अग्घोरै बढिरहेका थिए । भाइरल हुनु लिगलिगकोटको दौड जित्नु बराबर ठानिरहेको थियो युवापुस्ता ।

जीवन गुजार्न भनी जीवनभरको कमाइले बनाएका घरमा नरमाई रनबन डुलिरहेका मनुवाहरू कोरोना कहरलाई नियन्त्रण गर्न अपनाइएको लकडाउनको अस्त्रसँगै घरघरका कोठाचोटामा सीमित भइरहेका थिए । बाटोघाटो र गाडी पुगेसँगै गाउँ-गाउँमा मकै, भटमास, गहुँ, दूध र घिउ बेचेर गाउँलेहरूले चाउचाउको खाजा, कोकाकोला र महँगा विदेशी ब्रान्डका ह्विस्कीका बोतल पाहुनालाई इज्जतआमदअनुसार टक्रयाउने चलन सुरु भइसकेको थियो । लाहुरमा श्रीमान्‌ भएकाहरूले पाखाबारी बाँझै पल्टाएर बेसाएको खानामा रमाउनु सुखी जीवन हो भन्ने ठानेर सहर बजारका साँगुरा कोठामा खुसी भेट्न थालेका थिए । बिजुली बत्तीको सुविधा गाउँठाउँमा पुगेसँगै इन्टरनेटको व्यापार विस्तार हुँदै गइरहेको थियो । प्रविधिको सदुपयोगमा भन्दा किशोरकिशोरीहरूका दिमागमा भाइरल हुने भूत सवार हुँदै गइरहेको थियो । कोठामै बसेर कोठेरानी बनाउने र सन्त्रास फैलाउने अनि सञ्जालहरूको घनीभूत व्यापार । मानिसहरू खै के हो के हो? झन् बुझ्यो झन् कठिन भन्थे ।

लामो समयमा गृहबन्दी भई बसिरहेका थिए मानिसहरू । “यत्रो समयसम्म खोप नल्यार के को कोठाभित्र थुनिराख्नुपरेको हो कुन्नि सर्खारलाई” ,डहरमुनिका ठूलाकान्छा गुनासो गर्थे ।

थुप्रै सेवा सुविधाहरू डिजिटलाइज्ड भएसँगै मानिसहरू शनैः शनैः प्रविधिमा अभ्यस्त हुँदा विद्युतीय साक्षरताको दर बढ्दो थियो ।

एकदिन जूनमायाले ठूल्दिदी जुनेलीका छोराको जन्मदिनको शुभकामना लेखी फोटो राखी गरेको पोस्टमा आफ्ना फुपू, मामाका छोरा र सैना दिदीले कुनै कमेन्ट नलेखेको देखेपछि उसले पनि तिनीहरूको पोस्टमा कुनै कमेन्ट नगर्ने घोषणा गरेकी थिई । आफूले जहिल्यै मेसेन्जरमा फोन गरिरहने साथीले समेत फोन नगर्दा उसले अब म त्यो साथीलाई फोन पनि गर्दिनँ भन्थी ।

मान्छेको मूल्याङ्कनका स्थापित मानकहरू यसरी एकाएक विनिर्माण भइरहेका थिए । फेसबुकमा फोटो नराखे, कमेन्ट बक्समा कमेन्ट नगरे त आफ्नो नै होइन जस्तो गर्ने, फोन नगर्नासाथ ठूलो पल्टेको भन्दिहाल्ने । टेलिफोन, मोबाइल, फेसबुक, ट्विटर र युट्युब आउनुअगाडि मायाँ र त्यागको दुनियाँ थिएन होला त ? पक्कै होइन । उसबखत महिना दिन लगाएर आउने हवाइपत्र र खामभित्र खामिएका पत्रभित्रको मर्म कम्ती हुन्थ्यो र ! गाउँभरिका मान्छेहरूलाई सम्बोधन हुन्थ्यो । छरछिमेकहरू जम्मा भएर अक्षर फुटाल्न सक्नेकोमा गएर चिट्ठी पढ्न लगाएर सुन्थे । मर्ममै छुने गरी लेखिएका हुन्थे चिट्ठीहरू । पत्रभित्रको बेहोरा सुन्दासुन्दै सबैका आँखा अनायासै आद्र बन्थे ।

आरुढा भएसँगै धर्मकर्ममा खुबै रुचि जागृत भएथ्यो जूनमायाको । सोह्र वर्षदेखि मासिक स्रावबाहेकको अवस्थामा व्रत नलिएको कुनै सोमबार पनि थिएन । न त उसले शनिबार र सोमबार नधाएको कुनै शिव मन्दिर नै । उसलाई अरूको स्तुतिमा निमग्न हुन मन पर्थ्यो । उसको ट्विटर एकाउन्ट पनि थियो । एकाउन्टमा आफ्नो उपनाम ‘मनसुनु’ राखेकी थिई । सधैँ नयाँ नयाँ लुगा लगाउनुपर्ने । सधैँ खानासँग चटनी या अचार नभै नहुने । भनेझैँ नभए बुढी आमासँग झर्कन्थी ।

“अल्छे तिघ्रो स्वादे जिभ्रो” आमाले सिन्को उठाउन पनि मद्दत नगरेको देख्दा च्याँठ्ठिँदै सुनाउँथिन् ।
भान्साको काममा त यसो सघाउनू नि । धुँवा हुन्छ, राग लाग्छ, सिँगान चुहिन्छ र काली भइन्छ भनेर जूनमाया तरक-तरक गर्थी । बत्तीस वर्षसम्म गाउँमा धुँवामा पिल्सिएकी आमाले बुढेसकालमा पनि सुख पाउने छेकछन्द थिएन । एक्लै कति दुःख गर्नु भनेर भएका पशुचौपायामा केही अधियाँ, केही बेचबाच गरिसकेकी थिइन् गौथली आमाले ।

आमालाई साथी होली भनेकी छोरी अन्तअन्तै बरालिएपछि बिहे गराइदिन पर्‍यो भनेर एकपटक गैरीदोभानबाट केटी हेर्न साउदी अरबमा लाहुरे हुन भएको केटो आउँदा ठूलामामाले ल्याइदिएको घण्टा सुई नचल्ने सिटिजन क्वार्ज घडी बाँधेर छनकमनक गरेको सम्झेर एक्लै हाँस्छे जूनमाया अहिले ।

आमाले “केटा मन पर्‍यो” भनेर सोध्थिन् । उसले “खै था भएन” भन्थी । मनमा विमर्शको तस्वीर साँचेर अरबी लाहुरेलाई हेर्ने नजरले मन पर्‍यो भनोस् पनि कसरी ?
उसलाई आफ्ना आफन्त र इष्टमित्रभन्दा बाहिरका हेलो र चलो साथीहरू प्यारा लाग्थे । आफ्नाहरूले सधैँ अर्ती उपदेश दिइरहने । यसो गर्नुपर्छ उसो गर्नुपर्छ भनिरहने । अलि परकालाई के मतलब । “आहा ! तिमी त कति क्युट” भनिदिन्थे । ऊ मख्ख पर्थी । चारो खोजेर गोजेरो भरेर ल्याएको माउलाई देख्दा बचेराहरू खुसी भएजस्तै फुरुङ्ग हुन्थी । बर्थडेमा उपहार ल्याइदिने पल्लागाउँको डल्ले विमर्श र उसका मान्छेहरू उसलाई आफन्तभन्दा निकै नजिकका लाग्न थालेका थिए ।

गौथली आमालाई जोरीपारीहरू “साँहिली सलक्कै” भन्थे । केही कुरा बोलेरै हो रैछ जस्तो पारिहाल्ने कला उनको । कुराको कुलो मिलाइहाल्ने; लरक्कै पारिहाल्थिन् । कति कुरा थाहा नहुँदा नहुँदै पनि “हो त नि का है” भनिहाल्थिन् । एकचोटि तल्लाघरको सुब्बा श्रीकृष्ण दसैँमा टीका थाप्न आउँदा आशिष् दिँदै “मान्नेगुन्ने छौ, अझै मान्ने-गुन्ने हुनू, यै साल खरिदार साब भए” भनेको झलझली सम्झिरहन्छ श्रीकृष्ण ।

सुरुमा श्रीमान् कुशेश्वरलाई बिसन्चो नहुन्जेल सानोतिनो नोकरीले चलेको गुजाराको बाटो अवरुद्ध भएपछि गाउँबाट कोदो बेसाएर घरमै सानो भट्टी चलाएर जीविका चलाएकी गौथली आमाकोमा कोदाको सर्बत खान आइरहने एक जनाले जेठी र माहिलीको पाणीग्रहण पछि बाँकी कान्छी छोरी जूनमायालाई कपडा कारखानामा जागिर लगाइदिएको थियो । जागिर खान थालेपछि त उसले “मान्छे जाबाले हाम्लाई गन्दैनन् हाम्ले पनि मान्छे गन्दैनौँ” ,भन्न थालेकी थिई । विमर्शलाई समेत वास्ता गर्न छोड्दै गएकी थिई ।

कारखानाको लेखापालको सङ्गतमा लागेर आठदशवटा कम्पनीले जारी गरेको आई.पि.ओ. भरेर आफ्नो पोर्टफोलियो एक लाख जतिको बनाइसकेकी थिई ।
उसले गर्वका साथ “मेरो बिहेको खर्च आफैँ जुटाउँछु आमा” भन्थी ।

जागिर खाएपछि जूनमायाले बजारमा डेरा लिएर गौथली आमालाई पनि ल्याएर आमाछोरी सँगै बस्न थालेका थिए । उसको अभिमानको पारो उकालिँदै गर्दा उमेरको लय ओरालिँदो थियो । उन्नतीस वर्षकी हुँदासम्म कति केटा माग्न आइसकेका थिए । उसले कानमा कपास कोचेर बसिरही । हाकिम पाएमात्र बिहे गर्ने भन्ने अड्डी लिएर खाइलाग्दा पोटिला हड्डी सुकाउँदै गइरहेकी थिई ।

टिमिलेडाँडा गाउँ क्या रमाइलो थियो तिनताका । चाडबाडमा लाहुरेहरू छुट्टी लिएर गाउँ आउँदा कति भरिलो हुन्थ्यो । मर्दापर्दा ज्यान फालेर सहयोग गर्ने सहयोगी गाउँलेहरू । त्यो रमझम, छिमेकीपन र खुसीहरू मलायाका लाहुरेहरूसँगै सहर बजारमा बसाइँसराइँ गरिसकेका थिए । गौथली आमाहरू बजारमा झरेपछि त झन् एकलास हुँदै गइरहेको थियो ।

कोरोना कहरको कष्टलाई डहरो कटाउन मुलुकभरि जारी निषेधाज्ञाले सवारी र मान्छेहरूको आवागमनमा लगाइएको प्रतिबन्धसँगै सडकहरू सुनसान अनि प्रकृति शान्त, सौम्य, सुशोभित र सुललित देखिन्थ्यो । चराचुरुङ्गीहरूको चिरबिर निकै मादकतापूर्ण लाग्ने जेठमासको बिहानीको घाम कौसीमा टुपल्क्क आइपुग्दा, कोलाहल र दौडादौडको अस्तव्यस्त जीवनचर्यालाई विश्रान्ति मिलेको र प्रकृति आफ्नै लयमा फर्केको पाउँदा मन पुलकित भई वेग मारेर उडिरहन्थ्यो । नदेखिने किरोबाट सुरक्षित रहन मान्छेका मुख र नाक छोप्न भिर्नुपर्ने मुखुन्डाहरूले नाकेडाँडीमा दागैदाग र कान डल्लिएर डाडु बनी अगाडि फर्कने क्रममा थिए । सामाजिक र भौतिक दूरीका कुराले मजदुरीका दिन रसातलमा पुग्दै थिए ।

मनुष्य नै मनुष्यको घोर दुस्मन बनाउने के आएको यस्तो समय भन्थे बुढापाकाहरू । चराचर जगत्‌को स्वछन्दता देख्दा पनि बरु चरैको जीवन लिन पाएको भएजस्तै अनुभूत गर्न थालेकी थिई जूनमायाले पनि ।
जूनमाया एकपटक बरन्डामा हातमा मोबाइल लिएर उपरखुट्टी लाएर बसेकी थिई । आँखा तन्काउँदै, ओठ लेपराउँदै थरी-थरीका सेल्फी खिच्ने, इडिट गर्ने, इफेक्ट भर्ने अनि अपलोड गर्ने ध्याउन्न थियो । भिडियाको चक्करमा न भोक न तिर्खाको मतलब । दिसापिसाब पनि रोकेर या शौचालयमै मोबाइल बोकेर झन्डै घण्टा बिताउने आदत लागिसकेको थियो । मान्छेहरूलाई निकै सुख पाएको भान दिलाउनु एकमात्र उद्देश्यजस्तै लाग्थ्यो उसलाई । निकै पढ्न खोज्ने केटीमा गनिन्थी पहिले । पछि माहोलले सिकायो । ऊ पनि वातानुकूलित हुँदै गई ।
नौ कक्षामा पढ्दाको क्षण सम्झिन्छे जूनमाया । राम्रा राम्रा र मन खाने केटाहरूसँग छुटेको क्लासको नोट माग्थी । नोट सारेर कपी फिर्ता गर्दा सायरीका अंशहरू लेखेकी हुन्थी पुछारतिरका पानाहरूमा । उसले निकै हिम्मत बटुलेर कतै याद गरेको यस्तो सायरी लेखिदिन्थी –

“चुँडेको गितारको तार हुँ म जोडेर बज्छ भने बजाऊ
ओइलाएको फूल हुँ म पानी हालेर बच्छ भने बचाऊ ।।”

केटाहरूमाझ निकै चर्चित बनेको थियो यो सायरी । “गितार आई केटा हो ऊ हेर् त” भन्थे उसलाई रातो रिबनमा दुई चुल्ठी बाटी आकाशे रङ्गको कमिज र छोटो स्कर्टमा समीको रूखनेरबाट आउँदै गरेको देखेर । उसले सुने नसुने गरिथी । लाजले रातोपिरो हुँदै केटाहरूका सामुन्नेबाट क्लासतिर लागेकी थिई । सो दिन उसको मुहारमण्डलमा दिनभर घाम लागेको थिएन । बेलाले कति फरक पार्दो रहेछ सम्झिन्छे ऊ । अहिले भएको भए सजिलै मन पर्नेलाई मेसेन्जर खोलेर मोबाइलबाटै मनभरिका तिर्सना मेटाउन र मन पराउँछु भन्न सकिन्थ्यो होला ।

केही वर्षअघिको कुरा, जुनेलीले पहिलो सन्तानका रूपमा छोरो जन्माएपछि माइतीमा सुत्केरी बस्न आएका बेला उसको बुढो पनि छुट्टी मिलाएर दुई महिना ससुरालीमा आई बसेको थियो । बहत्तर सालको भुईँचालाले चर्केको गोठ भत्काएर एकछाने गोठ बनाउन सरसहयोग पनि होला, लोग्नेमान्छे नभएको घरमा आडभरोसा पनि होला भनी गौथली आमाले अनुनय गरेर बोलाएकी थिइन् ज्वाइँलाई । ससुरालीमा ससुराबा र सालाजेठान नहुँदा ऊ नै छोरोजस्तै लाग्थ्यो । वरको दलिन पर सार्न तीनपटक सहयोग माग्दा त आनाकानी गर्ने गाउँलेहरूले “ओथारो बसेको पोथी रुँग्न आको भाले घरज्वाइँ” भन्न थालेका थिए । कति हतारो हो मान्छेहरूलाई अरूका व्यक्तिगत मामलाहरूमा बोल्न ।

जुनेलीको लोग्नेलाई थाहा नभएको कहाँ थियो र “एक दिनको पाहुना मिठो मिठो खा, दुई दिनको पाहुना जसो तसो खा, तीन दिनको पाहुना जतासुकै जा” भन्ने । दुई महिनामा गोठ तयार पार्ने काम पनि सकिएको थियो । गाउँलेका खस्याङखुसुङ र पँधेर्नीहरूले एकापसमा कानेखुसी गर्न थालेको सुइँको पाएपछि कागले विष्टा नखाँदै दुई महिना तीन दिनको भोलिपल्ट बिहानै बाटो तताएको थियो ।

“पञ्चपिता मध्येका एक ससुराबाको घरमा बस्दा पनि किन मान्छेहरू कुरा काट्छन् कुन्नि ! आफैँले मानो भर्न परे कसो गर्दा हुन् ?” जुनेलीले आँगनको डिलबाट गाउँलेले सुन्ने गरी प्रश्न गर्थी । “काग कराउँदै गर्छ पिना सुक्दै गर्छ । आफ्नो सुर कहिल्यै छोड्न हुन्न है आमा” भन्थी ।

जुनेलीकी सासू अलि शङ्कालु थिइन् । उसले सानोमा काकाले रिसको झोकमा ढुङ्गाले हानी आँखा फुटाइदिएर कानो भएको गाई चराउन स्यान्चरीको वन जाँदा गाउने गरेको “गोरुलाई गाई भन्छन् भित्र पसे चोरेर खाई भन्छन्” भन्ने गीत आफ्नै सासूका लागि बनाएका रैछन् भन्थी साथीसङ्गीसँग ।

जुनेली शान्त, सलिल नदीजस्तै थिई । पत्थरबाट निस्केको फूल जसरी रूखको कापबाट फुलेको सुनगाभाजस्तै विघ्न चिरेर दुई बच्चाकी आमा बनिसकेपछि पनि उसले महिला विकास सहायकमा नाम निकालेकी थिई । गतिलो जागिर खाएर पनि सादा जीवन; कम बोल्ने धेरै सुन्ने बानी ।

खरायो र कछुवाको कथा साना कक्षामा कति मिठो सबक सिकाउन राखिएको रहेछ उसलाई हेरेर मान्छेहरूले सम्झन्थे । उसले कछुवा गतिमा जीवनका धेरै दौडहरूमा आफूलाई अब्बल साबित गरिसकेकी थिई ।
टिमिलेडाँडाको छिमेकी गाउँ खरिडाँडा । सोही गाउँमा कहलिएका लमी र स्थानीय नेता जन्तरे काका । बिहे नै नहुनेजस्ता केटा र केटीलाई पनि फस्ल्याङफुस्लुङ पारेर बेहुलाबेहुली बनाइदिइहाल्ने । बिहेका सर्जाम किन्न आफूले चिनेको पसलमा लैजाने अनि पसलेबाट बक्सिस थाप्ने गर्थे । गाउँगाउँबाट बुढा गोरु बटुलेर सिङ मुठारेर रौँमा तेल दलेर बैँसको बनाई बेच्ने रिठ्ठेजस्तै उनी पनि अरूलाई उचाल्न र भड्काउन एक नम्बर थिए । घर-घरमा पुगेर “फलानो त यस्तो, तेरो बारेमा तिलानोले यसो भन्या छ” भन्दै नहिँडे उनलाई खाएकै नपच्ने । आफूलाई कसैले गतिलै सुझाव दिएर बोले पनि खसाल्न र हेपेर बोलेको होला भन्थे । त्यस्तै पारिवारिक पाठशाला र उस्तै सांस्कारिक धरातलबाट हुर्केको भएर होला उनलाई अरूकै कुरा काटेर समय कटाउन रमाइलो लाग्थ्यो ।
झ्यालबाट छिरेकाहरूले ढोकाबाट छिरेकालाई पनि झ्यालबाटै छिरेको देख्छन् । जन्तरे काका अरूलाई पनि आफूजस्तै देख्थे । राजनीतिमा पनि अगाडि थिए । जता जता फाइदा हुन्छ उही राजनीतिक दलको खादा ओड्न कुदिहाल्थे । भाषण ठोकुन्जेल हाम्रो सिद्धान्त र आदर्श अरूको भन्दा फरक छ भन्थे । एकपटक त उनले गाउँमा झाडापखाला फैलिएर बिरामी भएका मान्छेहरूप्रति श्रद्धाञ्जलि भनेको भिडियो युट्युबमा एककान दोकान मैदान भएको थियो । गाउँलेहरू यस्तै सपनाका ललिपप बाँड्ने नेताका पछाडि आँखा चिम्लेर लाग्थे ।

पैसो भन्ने कस्तो उपरी संरचनाको जिनिस रहेछ कुन्नि ! नहुँदा कलहको सलहजस्तै हुने । कहिले टाउको दुख्ने, कहिले वाकवाकी लाग्ने, कहिले पेट दुख्ने । अलिकति भएपछि मातको पारो उकालो लागिहाल्ने । इज्जतमा परेका भ्वाङहरू, नैतिकतामा लागेका कसहरू सबै हटाइदिन सक्ने ताकत सबै पैसामै देख्ने पुस्ताको बिगबिगी ।
जता मल्को उतै ढल्को जसरी जन्तरे काकाले दलबदल गरिरहने गर्दा हिजोसम्म ओजस्वी कद भाषण सुनेपछि र व्यक्तिगत स्वार्थसिद्ध गर्न घोकाइएका सिद्धान्त र वादका आवरणहरूलाई तिलाञ्जलि दिन किञ्चित नमानेपछि रातारात धुलामा मिलेका थिए । खै कसरी कुन दलबाट प्रधानपञ्च जितेका थिए कुन्नि ऊबेला । अहिले समयानुकूल कहिले हलो, कहिले गाई, कहिले गिलास, कहिले हँसिया र हथौडा, कहिले सूर्य त कहिले रूख चिन्ह अङ्कित झन्डा घरको धुरीमा फहराउँथे ।

मान्छेको तौल पनि समयले तौलिदिने रहेछ । आफू उदाएको आकाश, ओत लागेको बास र टेकेको धरातल जसले जति चाँडो बिर्सिहाल्छ समयले पनि उसलाई नै सबैभन्दा पाठ पढाउने रहेछ । गाउँमा राजनीति बाचुन्जेल निवृत्त हुन नपर्ने पेसा बन्दै गइरहेको थियो ।

जुनेली पहिलो पोस्टिङमा काम गर्ने नगरपालिकाका प्रशासकीय अधिकृत दिलकुमार नमस्कारको साह्रै भोको भन्थे । एकदिन जुनेलीले हतारमा अफिस पुग्दा नमस्कार गर्न के बिर्सेकी थिई उसले दिनभर मिठो मुखले बोलेन । कसैले नमस्कार गरे र एक कप चिया ख्वायो भने जस्तो काम पनि भैहाल्छ भन्थ्यो । “परीक्षाको उत्तरपुस्तिकामा नमस्कार मात्रै लेखेपनि उत्तीर्णाङ्क दिन्छन् होला यस्ता परीक्षक परे त” भन्दै खासखुस गर्थे सेवाग्राहीहरू ।
आत्मस्वाभिमानको बेजोड अभिमान थियो दिलकुमारलाई र त आफैँ चिनेर बुझेकी केटी बाआमाको स्वीकृति लिएर घरमा भित्र्याएको थियो । अरूले केटी खोज्दै अनुनय विनय गर्दै, भए नभएका गुनगान गाएर हुन्छ या हुन्न भन्दै, निरुपाय भएर केटी माग्न जाने चलन उसलाई भित्रैबाट मन परिरहेको थिएन । “एक दिन खाएर, भोजभतेर लाएर को नै आफ्नो हुन्छ र?” भन्थ्यो । खाने बेलामा आफ्नो त खाउन्जेल र खान पाउन्जेल मात्रै हो । पछाडि फर्केपछि भोजमा मासु दुई पिस राखेका, सलाद नराखेका, पुलाउ डढेको भन्दै हिँड्नेहरू नि त तिनै भतेर खान आउनेहरू हुन्छन् । आफ्नो मान्छे त नखाए पनि, लाउन नपाए पनि आफ्नो हुन्छ भन्ने सोच थियो उसको ।
गौथली आमाका देवरको छोराले बर्सेनि थाकखोलाबाट सियो र जिम्बु लिएर कोदो साट्न बेँसीतिर हिउँदमा जाडो छल्ने गरी आउने थकाली कान्छासँग मित लगाउन खोजेको थियो तर थकाली कान्छाले, “लामो नाकेहरूले अरूको डाह गर्ने, मै खाऊँ मै लाऊँ भन्ने, भाइभाइको खुट्टा तान्ने गर्चन् । मोलाई त धेर सङ्गत गर्नु नि मन लाउन्न” भनेको सुनेपछि खचक्कै परेथ्यो ।

खै कुन जिनियोलोजीको प्रभाव हो कुन्नि ! व्यवहारमा पनि त्यस्तै देखिन्थ्यो । एकपटक फोनमा नसम्झे ठुलो पल्टेको भनिहाल्ने, एकैपटक नभेट्दैमा के गन्थे भन्ने, शङ्कैशङ्कामा लङ्का जलाउने । आफू माथि उठेपछि अरूलाई थलै परेको देख्न खोजिरहने जस्ता लक्षणहरू यत्रतत्र सर्वत्र देख्दा उसको मनमा चिसो पसेको हुँदो हो ।
“कस्तो अभिमान बढेको हो कुन्नि, आपतमा परेका आफ्ना भाइलाई दुई-चार रुप्पे सहयोग नअर्नी त्यो मुलाबारीको मिठेलाई हेर त अस्ति गाउँमा गणेश मन्दिर बनाउन रुप्याँपैसो जुटाउन लाको यज्ञमा दुई लाख बोलेर अबिर र खादा लाएर ताम्दानी चढ्दा मैमत्त भएको देखेनौ” गर्बुजा कान्छाबाले थकाली कान्छासँग हो मा हो मिलाएथे ।

केही महिनापछिको कुरा जुनकिरी उर्फ “सोफिया विलियम्स” यता नेपाली श्रीमान्‌सँग पारपाचुके गरी टेक्सासमा बस्ने एक जना अफ्रिकन मुलुक घानाको आप्रवासीसँग बिहे गरेको र ऊसँग पनि सम्बन्ध बिग्रिएपछि पुर्खाकै थलो टिमिलेडाँडाको त्यही बाटुलेघरलाई सजाई होमस्टे र रिसोर्ट चलाएर बस्ने योजना गरी स्वदेश फर्कँदै छे रे भन्ने गाइँगुइँ गाउँमा अमेरिकाबाट छुट्टीमा आएका लाहुरेहरूबाट चलेको सुन्दा केशराशिमा सेताम्मे हिउँफूल छपक्कै फुलेजस्तै देखिने गौथली आमाको घामैघामले सुकेर चाउरिएको मरिचजस्तै बनेको मुहारमा खुसीका धर्साहरू कोरिएको देखिन्थ्यो ।
   समापन