टिस्टा खोलाको वरिपरि झमक्क साँझ परिसकेको थियो । खोलाको लयमय ध्वनि स्वाँ… स्वाँ… बाहेक यहाँको परिवेश शान्त र निःस्तब्ध भए तापनि रनेस र मिसेलका तर्कवितर्कले केही मात्रामा भए पनि यहाँको निःस्तब्धतालाई चोइटाइदिइरहेको थियो । केही क्षणपछि वार्तालापहरूमा विराम लाग्यो । रनेसले पुलमन्तिर हेरिरह्यो । झमक्क परेको साँझ कालो रातमा परिणत भइसकेकाले रनेसले केही देखेन । खोलाको स्वाँ… स्वाँ… त्यत्तिकै थियो ।
झन्डै सात वर्षअघिको कुरा हो । आयरल्यान्डको राजधानी सहर डब्लिनमा रनेस कम्प्युटर इन्जिनियरको जागिर पाएर मुलुकबाहिर पस्यो । ऊ मुलुक बाहिरिएको एक वर्ष नबित्दै आफ्नो सहकर्मी मिसेल, आइरिस सेतीसँग मायापिरती बसिहाल्यो । मुलुकबाहिरको यो रनेसमा खै के देख्यो देख्यो मिसेलले – रनेस भनेपछि हुरूक्कै । मरी मेट्ने उसका निम्ति । रनेसबिना ऊ बाँच्न नै नसक्ने – यस्तै स्थितिमा पुगिसकेकी थिई मिसेल । रनेसलाई पनि असाध्यै राम्री र गुणवती मिसेलबिनाको जीवन निरर्थक लाग्थ्यो ।
मिसेलमा अर्को एउटा गुण थियो – ऊ पौडी खेल्नमा निपुण थिई । सन् १९९८ र १९९९-मा हाम्रा माहान् पौडीबाज बुला चौधरीले इङ्गलिस च्यानल पौडेर पार गरेझैँ मिसेलले पनि कुनै समयमा इङ्लिस च्यानल यसरी नै पौडेर पार गरेकी थिई ।
एकार्कामा मन परापर भएपछि मुलुकबाहिर पसेको केही वर्षभित्र रनेस र मिसेल परिणय सुत्रमा गाँसिए । जय-जन्म नभए तापनि दुवैका समयहरू सुखदायक एवम् आनन्दमय थिए ।
समयका खुट्टाहरूले निकै फडको हान्दै गए । दुवैले एकार्काका बानी-व्यवहार बुझ्दै गए । रनेसको एउटा अवगुण – साह्रै रिसाहा थियो ऊ । रनेसको यो रिसाउने बानीसँग मिसेल कहिल्यै हतास भइन । रनेसको रिस हददेखि बाहिर हुँदा पनि यसले मिसेललाई कुनै असरै पार्दैन थियो । ऊ त रनेस-भक्त न थिई! मिसेलको शान्त र सुशील चरित्रदेखि रनेस अति नै प्रभावित हुँदाहुँदै पनि मिसेल पर-पुरूषहरूसँग खुला मनले बात गरेकी, हाँसेकी, हिँडेकी असह्य हुन्थ्यो रनेसलाई । यस विषयमा दुईमाझ अनगन्ती तर्कवितर्क नभएको पनि होइन तर मिसेल भने रनेसको रिसको आगामा कहिल्यै खरानी भइन । रनेसमा जुन माया बसेको थियो मिसेलको, त्यो मायाले मिसेललाई रनेसको प्रत्येक रिसको ज्वालाबाट बचाइरहेको थियो । मिसेल चाहन्थी – हरेक पल रनेस उसका साथमा पाइरहन । रनेस चाहन्थ्यो हरेक पल मिसेल ऊबाहेक अरू कुनै परपुरुषसँग बात नगरोस्, मित्रता नराखोस्, सम्बन्ध नराखोस् । मिसेललाई गुमाउने त्रासदेखि ऊ कहिल्यै मुक्त हुन सकेको थिएन ।
आगो र पानीको सँगसँगै मुलुकबाहिर यी दुईका समयहरू बित्न लागे । जस्तै आगामा पनि मिसेल पानी नै थिई । मिसेललाई हराउने भ्रममा रनेस सदा चिन्तित रहन्थ्यो ।
मुलुक बाहिरिएको प्रायः सात वर्षपछि रनेस मिसेललाई लिएर आफ्नो मुलुकभित्र टिस्टामा आइपुगेको यस्तै तीनचार हफ्ता भइसकेको थियो । मिसेललाई टिस्टा साह्रै मन पऱ्यो । मुलुकबाहिरको त्यो डब्लिन सहरको व्यस्ततादेखि धेरै टाढा यो सुरम्य टिस्टाको पाखाले मिसेललाई मोहित नबनाई छोडेन ।
यही हप्ता दिनहरूमा रनेसले आफ्ना दुईचार साथीहरूसँग मिसेलको परिचय गराइदियो । मिसेलसँग भेटघाट गर्ने तारतम्य जारी रहन थाल्यो यी साथीहरूका । यो कुराले रनेसको मन कटकट खाइरहेको थियो । साथीहरू र मिसेलबीच व्यर्थै चिनापर्ची गराएछु पछुताहरूले बेला-बेलामा खान्थे यसरी रनेसलाई । साथीहरू र मिसेलका यो भेटघाट गर्ने तारतम्य विषय लिएर रनेस फेरि मिसेलप्रति आगो नै हुन्थ्यो ।
टिस्टा पुलको झमक्क परेको आजको साँझ । यहाँको शान्त र निःस्तब्ध वातावरणलाई रनेस र मिसेलको तर्कवितर्कले चोइट्याइदिइरहेथ्यो । कुरा त्यही थियो रनेसको – किन मिसेलले उनका साथीहरूसँग चाहेभन्दा धेर सम्बन्ध र मित्रता राख्न थाली? रनेसको यो धारणा सत्य होइन भन्ने कुरालाई प्रमाण गर्न विफल भइरहेकी थिई मिसेल । ऊ पनि त मान्छे नै हो । उसको भावना छ, मन छ, आवेश छ – सत्यलाई रनेसले यसरी मऱ्यायाकमुरुक पार्दा मिसेलले पनि तर्कहरूको सहारा नलिई भएन र यी दुवैका तर्कवितर्कले अहिले यो टिस्टाको शान्त वातावरण केही मात्रामा चोइटिन लागिरहेको थियो । तर्कवितर्क निकै चुलिइसकेपछि रनेसलाई रिसको ज्वालाले सम्पूर्ण रूपमा लपेटिदियो । अब अरू के पो गर्न सक्थ्यो र रनेसले? तर्कमा व्यस्त मिसेललाई रनेसले जुरुक्कै उठायो र पुलमनि बगिरहेको खोलामा खसाइदियो ।
मिसेलका चिच्याहटहरू एकैछिनमात्र सुनिए… त्यसपछि तर्कवितर्कहरूमा विराम लाग्यो । वातावरण शान्त… निःस्तब्ध । रनेसले पुलमन्तिर हेरिरह्यो । झमक्क परेको साँझ कालो रातमा परिणत भइसकेकाले रनेसले पुलमन्तिर स्वाँ… गरिरहेको खोलामा केही देखेन । खोलाको स्वाँ… स्वाँ…-ले खोलामा मिसेल खस्दाको ‘झ्वाम्म’-को आवाज पनि रनेसको कानमा परेन ।
रात अझ गहिरिँदै गइरहेको थियो । रनेस पुलमनि हेरिरहेथ्यो… हेरिरहेथ्यो । झन्डै एक घण्टाभन्दा बढी भइसकेको थियो – रनेश पुलमै उभिएर बडबडाइरहेथ्यो, ‘हे भगवान्! यो मैले कस्तो काम गरेँ नि! मेरो रिसले मलाई नै छल्यो, यसले मलाई मेरी मिसेलको हत्या गर्न लगायो । हे मेरी मिसेल! अब मैले तिमीलाई कहाँ पाउनु नि… कति धेरै माया गर्थ्यौ तिमीले मलाई तर त्यो मायाको अर्थ र मूल्य मैले बुझिनछु । तिमीमाथिको मेरो शङ्का र अविश्वासले आज म तिम्रो हत्यारा भएँ । अब यो हत्यारालाई म आफै दण्ड दिन्छु मिसेल । यति गरेपछिमात्र म तिम्रो लायक हुन्छु होला र तिमीसँग पुनर्मिलन होला मेरो । मिसेल, लु हेर, म कसरी यो ज्यानमारालाई दण्ड दिइरहेछु…’ यति भन्दै रनेस पुलको रेलिङ्गमाथि चढ्यो र कराउन थाल्यो, ‘मेरी मिसेल, लु हेर है अब…! यो हत्यारालाई दण्ड दिनेबित्तिकै म तिमीकहाँ आउँछु र तिमीअघि मेरो पापको प्रायश्चित्त गर्छु । तिमीले मलाई अवश्यै क्षमा गर्छ्यौ होली…’ यसरी कराउँदै रनेस खोलामा हाम फाल्नै के आँटेको थियो, कसैले उसका दुइटै खुट्टाहरूलाई च्याप्पै समातेको अनुभव रनेसलाई भयो । चाहेर पनि रनेस खोलामा हाम फाल्न विफल रह्यो । रनेसलाई अहिले ती हातहरूले पुलको रेलिङ्गबाट पुलको धरामा झारिदिएका थिए । मलाई यसरी खोलामा हाम फाल्नदेखि रोक्ने को होला यो? जिज्ञासु रनेसले गहिरिएको अँध्यारोमा आफूअघि उभिरहेको धमिलो आकृतिलाई एकपल्ट नियालेर हेऱ्यो । चिन्न कत्ति बेर पनि लागेन रनेसलाई –पानीमा लफ्रक्क भिजेकी मिसेल रनेसको अनुहारलाई सुम्सुम्याउँदै रुन्चे स्वरमा भन्दै थियो, ‘टिमीले खोलामा जम्प गरेर मलाई पाउँठ्यौ र? कस्टो रहेछ हौ! मलाई एक्लै छोडेर जान लागेको । टर म कहाँ जान डिन्छु र मेरो स्विटहार्टलाई । टिमी जहाँ जान्छौ म ट्यहीँ आइपुगिहाल्छु नि । यो मुलुकबाहिरको माया ट अब मुलुकभिट्र बस्यो बस्यो नि !’
रनेस ट्वाल्ल परेर मिसेललाई हेरिरहेकोथियो । मिसेलको धेरै झकझकाइमा रनेस बल्ल बोल्यो,’तर मिसेल , तिमीलाई त मैले यो खोलामा… तिमी कसरी यहाँ…’
‘हो नि… टिमीले मलाई यही पुलडेखि ट…ल पानीमा खसाइडिएको ठियौ…टर के भो ट ? इङ्लिस च्यानल स्विम् गरेर क्रस गर्न सक्ने म, यो खोलामा स्विम् गरेर यहाँ आइपुग्न कट्टि पनि समय लागेन मलाई… जाऊँ अब घर… राट निकै परिसक्यो ।’ मिसेलले रनेसको हात आफ्नो हातमा लिई । दुवैअहिले घरतिर बढ्न लागिरहेथे । रनेसले आफ्नो ज्याकेट खोलेर लफ्रक्कै भिजेकी मिसेललाई ओढाइदियो । सायद मुलुकबाहिर सुरु भएको मायाँले हो कि रनेसले आज मुलुकभित्र उसको ज्याकेटरूपी कवचमा मिसेललाई सुरक्षा प्रदान गर्न लागेको! मुलुकबाहिरबाट आएकी मिसेललाई लागिरहेथ्यो, अब ऊ पक्कै रनेससँग आफ्नै मुलुकभित्र सुरक्षित छे ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।