शनिबारको दिन दार्जीलिङ मेलद्वारा ऊ कोलकतातिर लाग्यो । उसलाई आईतबार कोलकता पुगेर सोमबारदेखि पाँच दिवसीय  कार्यालयीय प्रशिक्षणमा उपस्थिति दिनु छ । आईतबार बिहान आठ बजेतिर सियालदाह स्टेसनमा रेलबाट उत्रिएपछि कार्यालयको प्रशिक्षण केन्द्रतर्फ जानलाई ट्याक्सीमा चढ्यो ऊ । केहीबेर बिहानको ट्राफिक जाममा परेपछि  प्रशिक्षण केन्द्रअघि रोकियो ट्याक्सी । ट्याक्सीबाट उत्रिएर आफ्नो ब्याग बोकी प्रशिक्षण केन्द्रभित्र  प्रवेश गऱ्यो ऊ । प्रशिक्षण केन्द्रमा आफ्नो ड्युटीमा रहेको कर्मचारी सौमेन घोषले उसलाई देख्नसाथ भन्यो –“गुड मर्निङ सर । आइपुग्नुभयो ?”

सौमेन घोषले उसलाई राम्ररी चिन्छ । कारण प्रत्येक वर्ष ऊ आइरहनुपर्छ प्रशिक्षणका  निम्ति अनि सौमेन घोष प्रशिक्षण केन्द्रमा  कार्यरत छ।

“गुड मर्निङ !” उसले भन्यो।

“सन्चै हुनुहुन्छ? सौमेन घोषले सोध्यो।

“सन्चै छु। अरू को को आइपुगे ?

“तपाईँ नै फर्स्ट आइपुग्नुभयो । पहाडमा त  अझै ठन्डा होला है सर ? ”

“त्यति छैन । यहाँ त गर्मी  धेरै रहेछ । गर्मीले मार्ने रहेछ।”

“अस्ति त झन् धेरै गर्मी थियो । हिजो एकछिन पानी परेर गर्मी केही कम भएको छ आज । ”

“त्यसो भए गर्मी त झन बढ्ने रहेछ । मच्छड पनि त्यतिकै होला ।”

“ मच्छडचाहिँ छैन यहाँ । मच्छडदानी नलगाए पनि हुन्छ । तैपनि गुड नाइटचाहिँ भरे लगाइदिन्छु । सर रजिस्टरमा इन्ट्री गरेपछि  फ्रेस हुनुहोस् पहिला । ”

यी दुवैमाझ कुराकानी  बङ्गला भाषामा भइरहेको  थियो । आफ्नो नाम साथै अन्य विवरण रेजिस्टरमा दर्ता गरेपछि सौमेन घोषसित प्रशिक्षण केन्द्रमा नै अवस्थित होस्टेलको डोमेट्रीतिर लाग्यो ऊ ।

“मलाई त्यही बेड दिनू है ।” उसले भन्यो।

“हुन्छ सर । मलाई थाहा छ । तपाईँलाई त्यो साइडको बेड मन पर्छ भनेर ।” सौमेन घोषले भन्यो।

सौमेन घोषले बेडमा नयाँ चादर ओछ्याएर सिरानी पनि राखिदिएपछि क्याबिनेटको चाबी दिँदै भन्यो-“ लिनुहोस् चाबी । स्नान गरेर फ्रेस भई क्यान्टिनमा खाजा खानुहोला । खाजा रेडी छ । अहिलेलाई म गएँ । केही चाहियो भने भन्नुहोला। ” यति भनी सौमेन घोष गयो ।

स्नान गरेपछि केही शीतल अनुभूत भयो उसलाई । क्यान्टिनमा खाजा खाना जाँदा क्यान्टिनमा कार्यरत चार जना केटाहरू खुसी हुँदै उसलाई नमस्कार गर्न आइपुगे । ती केटाहरू गत पाँच वर्षदेखि त्यहाँ कार्यरत छन् । यिनीहरूको असल व्यवहारले गर्दा यिनीहरूलाई नै क्यान्टिन सञ्चालनार्थ सम्झौताअनुसार उत्तरदायित्व दिइएको छ ।  प्रशिक्षण सकिएर घर फर्किने बेलामा जहिले पनि ती केटाहरूलाई सय पचास रुपैयाँ गरेर दिने गर्छ उसले । एक जनाले बिहे पनि गरेको छ ।

त्यसको नाम हो तरुण दास । त्यसलाई घरपरिवार चलाउन, छोरीलाई पढाउन हम्मे परेको अनि छोरीको जन्मदिनमा केही दिन नसकेको  किस्सा ऊ गतवर्ष प्रशिक्षणको कार्यक्रममा आउँदा तरुण दासले सुनाएको थियो उसलाई । त्यतिबेला उसले “छोरीलाई खेलौना किनिदिनू” भनी तरुण दासलाई तीन सय रुपैयाँ दिँदा त्यसले आँखाबाट आँसु झारेको थियो । तरुण दासले उसलाई खुबै इज्जत गर्छ ।

“सर, पुरी खानुहुन्छ कि बटरब्रेड ?” त्यसले सोध्यो।

“पुरीसित के छ ?”उसले सोध्यो।

“घुघनी, अमलेट, केरा र मिठाई।”त्यसले जबाफ दियो।

“त्यही देऊ ।”उसले भन्यो ।

“हुन्छ । दिउँसो  माछाभात हुन्छ अनि डिनरमा चाहिँ अण्डा करी राइस सर ।” त्यसले सबै मेनु बतायो ।

“दिउँसो माछाभात खान्छु तर रातिचाहिँ डिनर खाँदिनँ ल ।” उसले भन्यो ।

दिउँसो गर्मी हुनाले यताउता घुम्न ठीक नलागेर बेलुकी केही शीतल हुने  हुनाले यताउता घुमेर बारमा पसी चिसो बियर पिएपछि होटलमा नै खाना खाने उसको इच्छा थियो र राति डिनर खाँदिनँ भनेको थियो उसले । आईतबार छुट्टीको दिन हो र प्रशिक्षण केन्द्रमा अधिकारीहरू हुदैनन् र बियर पिएर बाहिरबाट आएको थाहा पाउने छैनन् भन्ने सोच उसको दिमागमा उफ्रिरहेको थियो । सोमबारदेखि शुक्रबारसम्म त बियर पिउने कुनै मौका थिएन । कारण सोमबारदेखि शुक्रबारसम्म होस्टेलको दायित्व लिने अधिकारी होस्टेलमा नै भएको गेस्ट हाउसमा बस्छन् र राति निरीक्षण पनि गर्छन् । फेरि शुक्रबार राति नै पदातिक एक्सप्रेसबाट उसलाई घर फर्किनु थियो ।

होस्टेलभित्र  मद्यपान  गर्नु  निषेध थियो र प्रशिक्षणको  समयमा होस्टेलभित्र कसैले पिएको भेट्टाइएमा अनुशासनात्मक कारबाही गरिने परिपत्र गतवर्ष जारी गरिएको थियो । नत्र होस्टेलभित्र बसेर क्यान्टिनमा पकाइएका  नाना थरीका परिकारहरूसित मजाले मद्यपान गर्ने गर्थे विभिन्न कार्यालयबाट आएका प्रशिक्षणार्थीहरूले तर गतवर्ष ऊ पनि आएका बेला होस्टेलमा एउटा घटना घट्यो । घटना मद्यपान गरेकाले नै घटित  भएको थियो । त्यस समय उत्तरपूर्वाञ्चल क्षेत्रमा अवस्थित कार्यालयहरूबाट पैँतीस जना प्रशिक्षणार्थीहरू आएका थिए । त्यस समय प्रशिक्षण केन्द्रको छतको ढोका पनि खुल्लै हुन्थ्यो । राति छतमा शीतल हुन्थ्यो र त्यहाँ बसेर प्रशिक्षणार्थीहरूले मद्यपान गर्थे । राति छतबाट तल स्ट्रिटमा मानिसहरूको बाक्लो चहलपहल भएको देखिन्थ्यो ।

गतवर्ष प्रशिक्षण केन्द्रको क्यान्टिनमा रातको नौ बजेतिर डिनर  खाएर रिक्रिएसन रुममा गई टिभी हेर्दै थियो ऊ । त्यस दिन बिहीबार थियो । कहिलेकाहीँ गर्मीमा बियर पिउने उसले त्यस दिन पिएको थिएन । साढे नौ बजेतिर ऊ पान खान भनी बाहिर जान लाग्दा प्रशिक्षण केन्द्रको मूल ढोकामा दुई चौकीदारहरूले दश-बाह्र जना मानिसहरूको झुन्डलाई प्रशिक्षण केन्द्रभित्र प्रवेश गर्नबाट रोक्ने प्रयास गर्दै थिए । ऊ त्यहाँ पुग्दा एक जना चौकीदारले हिन्दी भाषामा भनेको थियो –“ सर, यिनीहरूलाई सम्झाउनुहोस् । भित्र पसेर एकएक जनालाई चेक गर्छु भन्दै छन् ।”

उसले केही बुझिरहेको थिएन र के भयो भनेर सोध्दा बाहिरको भीडबाट एक जनाले हिन्दी भाषामा नै भन्यो-“अरे ,सराब पिएर तपाईँको आफिसको छतबाट कसैले खाली बोतल तल गल्लीको बाटामा फ्याँक्यो । यहाँ चाचाको टाउकोमा झन्डै लाग्यो । हामी भित्र गएर हेर्छौँ कसले सराब पिएको छ । ”

घटनाले स्थिति जटिल भएको थियो । त्यो बुझेर उसले सम्झाएको थियो यसरी – “जसले पनि त्यसो गरेको छ उसको खिलाफमा अफिसबाट कारबाही हुनेछ तर तपाईँहरू यसरी राति आफिसभित्र पस्नु ठीक हुँदैन । नियमकानुनको विरुद्ध हुन्छ र उल्टो तपाईँहरूलाई अप्ठेरो पर्न सक्छ । जसले पनि यस्तो गऱ्यो त्यसको छानबिन गरेर हामी एक्सन लिनेछौँ । यस घटनाका निम्ति दु:ख प्रकट गर्छौँ  र माफी पनि माग्छौँ । अहिले तपाईँहरू जानुहोस् । राति यसरी अफिसभित्र पस्नु उचित हुँदैन। ” उसको कुरा  बुझेर केहीबेर उनीहरूमाझ कुराकानी भयो र गन्गनिँदै सबै फर्किए । उक्त घटनाको विवरण केयरटेकरलाई राति नै होस्टेलमा कर्मरत कर्मचारीले सूचित गरेछ अनि केयरटेकरले बडाहाकिमलाई सूचित गरिदिएछ । भोलिपल्ट बिहान नौ बजे नै बडाहाकिम आएर डोमेट्रीभित्र पसेर निरीक्षण गरेपछि च्याम्बरमा सर्वप्रथम उसलाई बोलाएर सोधेका थिए र उसले उग्र भीडलाई सम्झाएर फर्काउन सक्षम भएकोमा उसलाई धन्यवाद पनि दिएका थिए तर त्यस दिनको प्रशिक्षण सुरु हुनुअघि हलभित्र बडाहाकिमले  सबै प्रशिक्षणार्थीहरूलाई भक्कु गाली गरेर  चेतावनी दिएका थिए । त्यसै दिन त्यो परिपत्र जारी गरिएको थियो । त्यसपछि छतको ढोकामा ताला मारिएको थियो अनि एक जना अधिकारीलाई सोमबारदेखि शुक्रबारसम्म राति पनि प्रशिक्षण केन्द्रमा नै बस्ने अनि निरीक्षण गर्ने आदेश पनि जारी गरिएको थियो । त्यो घटना सम्झँदा उसलाई अझ पनि डर लागेर आउँछ ।

“यदि मैले त्यस दिन बियर पिएको भए ढोकामा नै मेरो धुलाइ हुन सक्नेथ्यो मेरो मुखबाट निस्किएको बियरको गन्धले गर्दा । त्यो गन्धले मैले नै पिएर छतबाट खाली बोतल फ्याँकेको प्रमाणित हुनेथ्यो । अरूको बदमासीको दोष ममाथि नै लाग्नेथ्यो । धन्य प्रभुले बचाउनुभयो ।” भन्ने विचारले उसलाई धेरै दिनसम्म आक्रान्त पारेको थियो ।

गतवर्षको घटनाले ऊभित्र केही डर पलाए पनि उसलाई आज बियर पिउन मन लागेको थियो, कुन्नि किन ! दिउँसोको खाना खाएपछि ऊ सुत्यो । आँखा खोल्दा साँझको पाँच बजिसकेको थियो । अहिलेसम्म अन्य कोही प्रशिक्षणार्थी आएका थिएनन् । ऊ एक्लै थियो होस्टेलमा । स्नान गरेपछि तयार भएर ऊ बाहिरियो । पैदल घुम्दै घुम्दै ऊ अघि बढिरहेको थियो । बिजुली बत्तीहरू जलेर कोलकता महानगरका स्ट्रीटहरू झलमल्ल भएका थिए । उसलाई आर्द्रकताको मात्रा बेसी हुनाले गर्मी धेरै लागिरहेको महसुस भइरहेको थियो । केहीबेर पैदल घुमेर ऊ एउटा रेस्टुराँ-कम-बारनेर पुग्यो र  बियर पिउन त्यहाँ पस्यो । दरवानले उसलाई सलाम ठोकेर स्वागत गरी ढोका खोलिदिएको थियो । बारभित्रको गीतसङ्गीतमय वातावरण देखेर ऊ छक्क पऱ्यो एकछिन । कारण ऊ त्यस्तो बारभित्र पहिले पसेको थिएन । बारभित्रको स्टेजमा एक जना गायकले हिन्दी गीत गाउँदै थियो । उसलाई स्वागत गर्न एक जना वेटर आयो र खाली टेबल र चौकी देखाउँदै उसले त्यहाँ बस्ने आग्रह गऱ्यो । ऊ त्यहाँ बस्नासाथ मेनु दिँदै वेटरले सोध्यो-“के लिनुहुन्छ सर?”

“चिल्ड बियर देऊ एउटा। ” उसले भन्यो ।

“स्ट्रङ सर?” वेटरले सोध्यो।

“हुन्छ। ” उसले भन्यो।

“कुन बियर सर?” वेटरले फेरि सोध्यो।

“कुनै पनि तर चिल्ड र स्ट्रङ। ”उसले  जबाफ दियो ।

“हवस् सर “ भनेर वेटर गयो । ऊ र वेटर माझ हिन्दी भाषामा बातचित भएको थियो ।

कोलकता महानगरमा अवस्थित रेस्टुराँ हो त्यो एउटा  । लाइभ म्युजिकल प्रेजेन्टेसन अर्थात् गीतसङ्गीतको सिधा प्रस्तुति हुने मदिरालय अथवा बार  पनि हो त्यो एउटा । अङ्ग्रेजी भाषामा सोझै भन्नुपर्दा सिङ्गिङ बार हो त्यो  एउटा ; जहाँ बसेर आफूलाई मन परेको  मदिरा पिउन पाइन्छ । रेस्टुराँमा बनिएका स्वादिष्ट परिकार र पकवानहरू खान पाइन्छ । आफूलाई मनपर्ने गीतको फर्माइस गरेर त्यो कर्णप्रिय गीत सुन्दै मदिराको पेग लगाउन पाइन्छ ।  मदिरा र सङ्गीत प्रेमीहरूका निम्ति सञ्चालित महँगो मनोरञ्जन पाइने बेग्लै संसार हो त्यो एउटा।

बारको देब्रे पक्षमा विभिन्न प्रकारका मदिराहरूका बोतलहरू सुसज्जित छन् । एउटा  मञ्च पनि निर्मित  छ, जहाँ गायक-गायिका, विभिन्न वाद्यवादन बजाउने कलाकारहरू बसेर गीतसङ्गीत प्रस्तुत गर्ने गर्छन् । मञ्चको अघिल्तिर टेबल, चौकीहरू  सुन्दर ढङ्गमा सजिएका छन्, जहाँ बसेर ग्राहकहरू गीतसङ्गीत  सुन्दै दामी मदिरा पिउने गर्छन्।

बारको माथिल्लो तलामा छ रेस्टुराँ; जहाँ मदिरा नपिउनेहरू गएर खाना खान सक्छन् । त्यो रेस्टुराँ पनि सङ्गीतमय हुन्छ । मेनु अर्थात् रेस्टुराँमा पाइने खाना/परिकारहरूको  सूचीमा लिखित कुनै परिकार मगाउन परे त्यो परिकार पाउन भने धेरैबेर प्रतीक्षा गर्नुपर्ने हुन्छ तर बारमा मदिराको पेग, बदम, भिजाएको चाना, सलाद, चिप्स आदि तत्काल पाइन्छन् । त्यस बारमा स्थानीय गायक, गायिका तथा सङ्गीतकारहरूले आफ्ना प्रस्तुति पस्किने गर्छन् । यी प्रतिभासम्पन्न कलाकारहरूका निम्ति त्यो  सिङ्गिङ बार राम्रो आयको स्रोत बनेको छ । गायकभन्दा गायिकाहरूको सङ्ख्या धेरै छन् त्यहाँ । साँझ परेपछि धेरै चल्ने गर्छ त्यो  सिङ्गिङ बार । महानगरका धनी व्यक्ति, व्यापारी, राजनेता, पर्यटक ,सङ्गीत र मदिराप्रेमीहरूको भीड हुनेगर्छ त्यस सिङ्गिङ बारमा । त्यहाँ खटिएका वेटरहरूबाट सेवा पनि राम्रो पाइन्छ । बक्सिसबाट धेरै कमाउँछन् वेटरहरूले । धेरैलाई रोजगार र मनोरञ्जन दिएको छ त्यस सिङ्गिङ बारले ।

ऊ त्यही सिङ्गिङ बारभित्र गीतसङ्गीत सुन्दै बियर पिउँदै थियो । उसले मगाएको चिकन चिल्ली एक बोतल बियर सकिन  लाग्दा पनि आएको थिएन । स्टेजबाट मोहम्मद रफीको जस्तै स्वर भएको गायकले मोहम्मद रफीले नै गाएको गीत गाउँदै थियो । स्टेजअघि एउटा टेबलमाथि पैसा हाल्ने एउटा बाकस  राखिएको थियो । उसले सोच्यो “गीत सुनेपछि ग्राहकले त्यहाँ पैसा हाल्नुपर्ने रहेछ सायद ।”

त्यस युवा गायकले तीनवटा गीतहरू गायो तर कसैले पनि त्यो बाकसमा पैसा हालेनन् । अन्य गायक र गायिकाहरू पनि स्टेजमा थिए । सुन्दरी गायिकाहरूले गाएका गीतहरू सुन्ने वाञ्छा ऊभित्र कोपिल्याउँदै थियो तर गायिकाको पालो आएकै थिएन । एउटा बियरको बोतल  खाली भएपछि बल्ल उसले मगाएको चिकन चिल्ली आइपुग्यो । एउटा बियर फेरि मगायो उसले ।

बारभित्र कोही बियर कोही  ह्विस्की पिउँदै थिए । बारको एक कुनामा राखिएको एलसिडी टिभीमा आइपिएल क्रिकेट खेलको सिधा प्रसारण चलिरहेको थियो । गायकले गाएको गीतमा भन्दा गफ र क्रिकेट खेलमा धेरै ग्राहकहरूको ध्यान केन्द्रित भएको उसले अनुभव गऱ्यो । बारको दाहिनेपट्टि तीन जना अधबैँसे व्यक्तिहरू बसेर ह्विस्की पिउँदै थिए । तीनमध्ये एक जना काले र मोटे थियो जसको आवाज पनि भासिएको जस्तो थियो । एक जना युवतीले बारमा प्रवेश गरी र त्यो काले र मोटे व्यक्तिलाई नमस्ते गरी अनि त्यसपछि त्यो व्यक्तिलाई हेरेर मुस्काउँदै अन्य गायक-गायिका भएका स्टेजमा पुगी । एक जना युवकले गीत गाउँदै थियो । स्वर खुबै मिठो लाग्यो उसलाई । बियरको एक घुट्कापछि चिकनचिल्लीको एउटा चोक्टा मुखमा हाल्यो उसले  । उसलाई त्यति मन परेन । भर्खर आएकी त्यो युवतीले गीत गाउन थाली । त्यो कालेमोटे व्यक्तिले पाँच सय रुपैयाँको नोट वेटरको हातमा त्यो युवतीलाई दिन भनी पठायो । युवतीले गीत गाउँदै नोट थापेर व्यक्तिलाई हेर्दै मुस्कुराई । युवतीले पुराना गीतहरू गाउन थाली । त्यो व्यक्तिले फेरि पाँच सयको नोट पठायो र युवतीले थापी । दश मिनट पनि नभई त्यो व्यक्तिले त्यो युवतीलाई हजार रुपैयाँ दियो । त्यो  देखेर ऊ छक्क मात्र परेन तर उसले पनि त्यसरी नै पो रुपैयाँ दिनपर्ने रहेछ कि क्या हो सोची आफ्नो पर्सभित्रको रुपैयाँको हिसाब मनमनै गर्न थाल्यो । युवती गाउँदै थिई । त्यो कालेमोटे व्यक्तिले फेरि हजार रुपैयाँ पठायो । युवतीले खुसी हुँदै नोट थापी । स्टेजमा बसेकी अर्की उसलाई  राम्री लागेको  गायिका उठेर भित्रपट्टि गई । उसलाई केही खल्लो लाग्यो  त्यो गायिकाले गाएको गीत सुन्न नपाइने रहेछ भनेर । त्यो कालेमोटे व्यक्तिले नोट दिने क्रम जारी थियो । उसलाई अचम्म लागिरहेको थियो ।

एक जना युवक बारभित्र प्रवेश गऱ्यो । उसले सबै ग्राहकछेउ गएर नमस्ते गऱ्यो र हात मिलायो । त्यो युवक उसको छेउमा पनि आएर उसलाई नमस्ते गऱ्यो र ऊसित पनि हात मिलायो र त्यसपछि ऊ सिधै स्टेजतिर गयो र अन्य गायकहरू भएका बेन्चमा बस्यो । त्यो युवतीले गीतहरू गाएपछि भर्खर आएर सबैलाई नमस्ते गर्दै जाने युवकले गीत गाउन थाल्यो । त्यो युवकको स्वर साह्रै  मीठो लाग्यो उसलाई तर त्यो युवकलाई कसैले पनि  पैसा दिएनन् । उसलाई कस्तो कस्तो लाग्यो । उसको मनमा के भयो कुन्नि  ! पाँच सय रुपैयाँको नोट झिकेर वेटरलाई बोलाई त्यो गायकलाई दिन लगायो । वेटरले  त्यो गायकलाई दियो । त्यो गायकले कसले दिएको भनी सोध्यो कि क्या हो र  वेटरले ऊतर्फ औँलायो ।

त्यो गायक ऊ भएतिर आएर नमस्ते गर्दै आँखाभरि आँसु पारेर बोल्यो-“थाङ्क्यु सर !” त्यसपछि स्टेजमा गएर फेरि गीत गाउन थाल्यो । त्यो युवकको मुखमुद्रा देखेर त्यसको मनभित्र लुकेको कुनै ठेस त्यसको आँखामा पग्लिएको जस्तो लागेर उसलाई फेरि रुपैयाँ दिन मन लागेको थियो ।  उसले बियर स्वाट्टै पाऱ्यो र चिकन चिल्लीलाई हेऱ्यो । एक चोक्टामात्र खाएको चिकन चिल्ली डल्लै थियो । त्यो देखेर उसलाई अमन भयो । अरू केही खान मन लागेन । त्यो युवकलाई अन्य कसैले पैसा दिएनन् । अहिले उसलाई राम्री लागेको अर्की गायिका आएर गीत गाउन थाली । उसलाई त्यो राम्री गायिकाको स्वर मन परेन । त्यो कालेमोटे व्यक्तिको केही अघि बसेको अर्को मानिसले सय सयका केही नोट त्यो गायिकालाई दिन भनेर वेटरलाई पठायो । त्यो गायिकाले नोट थापेर त्यो मानिसलाई नमस्ते गरी । त्यसपछि अर्को गायक आएर गीत गायो । त्यो गायकको स्वर पनि खुबै राम्रो थियो तर कसैले पनि त्यो गायकलाई पनि  रुपैयाँ दिएनन् । उसलाई भने रुपैयाँ पाउने गायिकाहरूका स्वरभन्दा गायकहरूका स्वरहरू खुबै मन परेको थियो । धेरै रुपैयाँ भए त सबै गायकहरूलाई दिन मन लागेको थियो उसलाई । उसलाई कुन्नि किन  त्यस बारभित्र ग्राहकहरूका नजरमा गायकहरूका स्वरहरूको केही अवमूल्यन भएको अनुभूति भइरहेको थियो । कलाकारहरूको गायनकलाभन्दा सराब र सौन्दर्यमा नै सबैको ध्यान केन्द्रित रहेकाले उसलाई केही नमीठो पनि लागिरहेको थियो।

एक घण्टा जति सिङ्गिङ बारमा बसेर त्यहाँको परिवेश बुझेपछि उसलाई अरू केही खान पनि मन लागेन र बिल तिरी वेटरलाई एक सय रुपैयाँ दियो । उसलाई सेवा नदिने वेटरहरू पनि आएर उसलाई घेरेर पैसा माग्न हातहरू पसारे । उसले आफ्नो हातमा रहेका रुपैयाँहरू ती वेटरहरू माझ बाँडिदियो । उसले वेटरहरूलाई रुपैयाँ दिँदा त्यो कालेमोटे व्यक्तिले उसलाई हेरिरहेको थियो । बाहिर ढोकामा उभिएको दरवानले ऊ बाहिर निस्किँदा फेरि सलाम ठोक्यो उसलाई । त्यसलाई पनि पचास रुपैयाँ दिएर ऊ प्रशिक्षण केन्द्रतर्फ लाग्यो ।

होस्टेलमा अझै अन्य कोही आएका थिएनन् । डोमेट्रीमा आएपछि पलङमा उत्तानो परेर सिङ्गिङ बारको परिवेश, ती कलाकार, त्यत्रो रुपैयाँ गायिकालाई मात्र दिने त्यो कालेमोटे व्यक्ति र वेटरहरूका गतिविधिबारे ऊ सोच्न थाल्यो । आफू बारभित्र पसेर शीतल हुँदै मनोरञ्जन लिने क्रममा बिनासित्ति  त्यत्रो रुपैयाँ खर्च गरेकोमा उसले केही थकथकी पनि अनुभूत गऱ्यो । उसलाई  आफ्नो व्यवहार र व्यक्तित्वमा सुधार गर्नुपर्ने आवश्यकताबोध पनि भयो । उसले भोलिदेखि सुरु हुने “व्यक्तित्व विकास”-विषयक प्रशिक्षणबारे पनि सोच्यो एकछिन । त्यो प्रशिक्षण उसलाई  महत्त्वपूर्ण लाग्यो । त्यस रात डोमेट्रीमा ऊ एक्लै थियो । बियरको हल्का मातले उसलाई स्पर्श गरिरहेको थियो । नानाभाँतीका सोचाइहरूले उसको दिमाग घोचिरहेका  थिए  ।  त्यसरी सोचाइहरूको घोचाइमा पर्दापर्दै  भुसुक्क निदायो ऊ ।