त्यस दिन मेरो इभिनिङ सिफ्ट थियो । बेलुकी ९ बजे ड्युटी सकियो । मौसम अनौठो थियो । काठमाडौँ हिउँ पर्ने
ठाउँ होइन । त्यस दिन हिउँ परिरहेहको थियो । सडकमा गाडीहरू फाट्टफुट्ट मात्र चलेका थिए । पैदलयात्रीहरू त
एकै जना पनि देखिँदैन थिए । सडकभरि छरपस्ट छरिएर बस्ने कुकुरहरू कुनाकाप्चातिर छिरिसकेका थिए । मैले
माक्स लगाएँ, रुमाल बाँधेँ अनि हेलमेट लगाएँ । म जति सक्दो न्यानो हुने कोसिस गर्दै थिएँ । स्कुटर लिएर
सडकमा निस्किएँ । बाहिर सोचेभन्दा बढी नै चिसो रहेछ । सडकका छेउछाउ र खाल्टाहरूमा हिउँका केही थुप्राहरू
देखिन्थे । जाडो अत्यधिक थियो । सायद माइनसतिरै गएको होला टेम्पेचर । म बिस्तारै घरतिर हुइकिँदै थिएँ । गौशाला चोक कटेर अगाडि बढ्दै गर्दा भर्खर जन्मिएको बच्चा रोएको आवाज सुनेँ, लाग्यो यस्तो जाडामा यति
राति यो सडकमा कसले निकाल्छ भर्खर जन्मिएको बच्चा ? म अगाडि बढेँ बच्चाको आवाज झन् चर्कियो मैले
आफ्नो स्कुटी साइड लगाएर रोकेँ । झर्न मन थिएन यसो सडक किनारतिर हेरेँ कोही थिएन, केही थिएन ।
अगाडि बढ्न खोज्दा फेरि बच्चा रोयो यसो हेरेँ प्रतीक्षालयबाट आवाज आइरहेको थियो । हेरेँ कोही थिएन ।
हिउँले पूरै भिजिसकेकी थिएँ । जाडाले सबै आङ्ग लाटो भइसकेका थिए । स्कुटीबाट झर्ने मनै थिएन घर जाऊँ
कि ? झरेर हेरौँ भएर एकछिन अल्मलिएँ ।
नारीको मन साँच्चै कोमल हुन्छ । मेरो मन मानेन, झरेँ, प्रतीक्षालयतिर गएँ केही देखिनँ बच्चा पनि रोएन ।
अब भने मलाई डर लाग्यो । सुनसुन रात, यो अनौठो मौसम, बच्चा रोएको आवाज, साँच्चै भूतप्रेत त हुन्न ?
छाती ढक्क फुल्यो, धड्कन तेज भयो, जाडाले भन्दा डरले कमाउन थाल्यो । हतार हतार फर्किन लागेको थिएँ
प्रतीक्षालयको पछाडिबाट फेरि आवाज आयो; डराउँदै हेरेँ । अँधेरो थियो, मोबाइल निकालेँ । हात पूरै काँपिरहेका
थिए, जाडो र डरले । बल्लबल्ल मोबाइलको लाइट बालें । एउटा भर्खर जन्मिएको बालक एउटा पातलो फरियामा
एउटा कार्टुनमाथि पल्टिरहेको थियो, छेउमा एउटी २३/२४ वर्ष जतिकी केटी पूरै शरीर फालेर लम्पसार थिई ।
लाग्यो, बिचरी मरिछे । पन्जा खोलेर घाटीमा हात राखेँ, पल्स भेटेँ । ए जिउँदै रैछे तर यति तातो थिई निकै
ज्वरो आएको रहेछ । हत्तपत्त हस्पिटलमा फोन गरेँ अनि एम्बुलेन्स मगाएँ । एम्बुलेन्स आयो । त्यो बहिनीलाई
एम्बुलेन्समा हालियो । मैले बच्चा उठाएँ । स्कुटर त्यहीँ छाडेँ अनि हस्पिटल लग्यौँ । आमाछोरा दुवैलाई
आइसियूमा राखियो । औषधि चढाइयो त्यसपछि म फेरि हस्पिटलको भ्यानमा गौशालासम्म गएँ अनि स्कुटर
लिएर घर गएँ । तातो पानीले नुहाएँ । सबै लुगा भिजाएँ अनि तातो कफी बनाएँ । राति ब्राह बजिसकेको थियो
। मन अशान्त भइरहेको थियो कफी खाँदै यता उता टोलाउँदै थिएँ । बाहिर अझै हिउँ झरिरहेको थियो । सडकको
पोलमा बलेको बत्तीमा फुरफुर झरेको हिउँ देखिन्थे । कफी सकियो तर मनमा अशान्ति कायमै थियो, निद्रा परेन,
मनमा कैयौँ प्रश्नहरू आइरहे ।
को होलिन् ?
किन त्यसरी सडकमा थिई ?
ठीक होला कि नहोला ?
अहिले कस्तो होला ?
श्रीमान् कहाँ होला ?
रातको १ बज्यो मन शान्त भएन । बाहिर हेरेँ, हिउँ पर्न छाडेको थियो । न्यानो लुगा लगाएँ अनि गाडी लिएर
निस्किएँ । फेरि हस्पिटल गएँ ।
बच्चा ठीकै छ । आमालाई ठीक पार्न सकिन्न होला । डक्टरले भन्नुभयो ।
म झस्किएँ, ला अब के गर्ने त ?
हेरौँ, हामीले सकेको गर्ने हो ।
म बिरामीको छेउमा बसेकी थिएँ, निदाएछु । मेरो हात कसैले समातेजस्तो लाग्यो हेरेको, बिरामीलाई होस आएछ
। घडीमा बिहानको चार बज्न लागेको रहेछ । डाक्टरलाई बोलाएँ, चेक गर्नुभयो ।
“सबै ठीक छ अब राम्रो हुन्छ आत्तिनु पर्दैन । होस नआउँदा डर थियो अब नआत्तिनू ।”
मलाई घर जान मन थिएन फेरि बिरामी भएकै ठाउँ गएँ । बोल्न खोज्दै थिइन् । मैले बोल्न दिइनँ । “तिमी
अहिले केही नबोल । आराम गर । सबै ठीक हुन्छ । तिम्रो छोरा पनि ठीक छ ।”
मेरो डे सिफ्ट थियो । घरमा आएँ अनि सुँते । ब्युँझिँदा १२ बजिसकेको रहेछ । १२ बजे हस्पिटल पुग्नुपर्ने ।
हतार हतार सावित्री सिस्टरलाई फोन गरेँ । आधा घण्टामा आइपुग्छु भनेँ, फ्रेस भएँ, एक कप कफी खाएँ अनि
निस्किएँ ।
आजको मौसम र हिजाको मौसम पूरै शताब्दीकै फरक जस्तो थियो खुल्ला आकाश, चहकिलो घाम, सफा मौसम
। हिजाको मौसम देख्ने कसैले सोच्नै सक्दैन कि आज मौसम यस्तो होला र आजको मौसम मात्र देख्नेले सोच्नै
सक्दैन कि हिजो मौसम त्यस्तो थियो ।
म हुइकिँदै हस्पिटल पुगेँ । मेरो ड्युटी मेडिकल वार्डमा थियो । मैले हिजो ल्याएकी बहिनी आइसियू मै थिइन ।
हालखबर सोधेँ राम्रो छ भन्ने पाएँ । ढिला आएकाले भेट्न जान पाइनँ । सावित्री सिस्टरले सबै बिरामीको डिटेल
दिनुभयो । काममा व्यस्त भइयो । तीन बजेतिर समय निकालेर आमाछोरा दुवै भएको ठाउँमा गएर आएँ । दुवै
ठीक रहेछन् । बेलुकी आउँछु भनेर निस्किएँ, छोरा ठीक थियो, आमा अलि कमजोर थिइन् अरू सबै नर्मल थियो
।
बेलुकी ड्युटीपछि माथि गएँ । छोरालाई लिएर आमा भएको ठाउँमा गएँ । मलाई देख्नेबित्तिकै भक्कानिएर रुन
लागिन् । दिउँसो सिस्टरले भनिदिनुभएछ उनलाई कसरी, कसले, कुन अवस्थामा हस्पिटलमा ल्यायो भनेर ।
उनलाई सम्झाएँ, शान्त पारें । उनमा निकै सुधार आयो । आइसियूबाट वार्डमा सिफ्ट गरियो ।
एकदिन मैले उनका बारेमा सोधेँ ।
मलाई जान्नु थियो । फुटपाथमा किन बच्चाको जन्म भयो । यतिका दिनसम्म किन पतिले खोजी गरेन ।
सूचना प्रकाशितसम्म गरियो तर कोही किन आएन ?
उनी बरबरी रुन थालिन् । “स्याङ्जा हो मेरो घर, नाम सुशीला । म १० कक्षामा पढ्दै थिएँ । एकदिन हाम्रो
स्कुलमा एक जना विदेशी र एक जना नेपाली आए । विदेशीले हाम्रो स्कुलमा पुस्तकालय निर्माण गरिदिने भनेर
आएका रहेछन् । एक महिना गाउँमै बसेर पुस्तकालय बनाएर सक्ने अनि मात्र जाने भन्यो । मेरो बुबा स्कुलको
हेडमास्टर हुनुहुन्थ्यो । पाहुनालाई हाम्रै घरमा राख्ने भइयो । विदेशीको नाम जोन थियो र नेपालीको विकास ।
थर थाहा छैन । घर नुवाकोट हो भन्थ्यो । हरेक दिनको सँगसँगैको उठबसले विकास र मबीचमा धेरै सामीप्य
बढ्न थालेको थियो । मैले उसलाई प्रेम गर्न थालेकी थिएँ ।
स्कुलमा पुस्तकालय बन्यो । उनीहरू फर्कने भए । मलाई नरमाइलो लागिरहेको थियो । जाने बेलामा विकासले
एउटा नम्बर दियो र भन्यो, “कहिलेकाहीँ फोन गर्नू ।”
मैले बाबाको मोबाइलबाट लुकी-लुकी फोन गर्थेँ । एक दिन बाबाले थाहा पाउनुभएछ र गाली गर्नुभयो । त्यसपछि
धेरै दिनसम्म ऊसँग सम्पर्क गरिनँ । पछि फेरि फोन गर्न थालेँ । बाबाले बेला-बेलामा सम्झाउनुहुन्थ्यो पढाइ
भनेको आँखा हो । पढाइबिनाको मान्छे अन्धो जस्तै हुन्छ । राम्रोसँग पढ आदि आदि ।
मलाई यी सब कुराको पर्वाह थिएन । मलाई त केवल विकास चाहिएको थियो । एकदिन विकासले “काठमाडौँ
आऊ” भन्यो । म राजी भएँ । बुबाले थाहा पाउनुभयो । सम्झाउनुभयो, “चिन्नु न जान्नुको मान्छेको पछि लागेर
गएर दुःख पाउलिस् ।” मैले मानिनँ, गाली गर्नुभयो, पिट्नुभयो । अहँ मैले मेरो हठ छाडिनँ । ममा प्रेमको भूत
चढेको थियो । म जाने नै भएँ । अन्ततः केही नलागेर बाबाले, “जा मर् फेरि फर्केर आउनु पर्दैन । तेरा लागि
अब हामी मर्यौँ, हाम्रा लागि तँ मरिस् ।”
म काठमाडौँ आएँ ।
विकास बसपार्कमा लिन आयो । कोठामा लग्यो । कोठामा एउटा पलङ र एउटा किचन र्याकमात्र थियो । हामी
सँगै बस्न थाल्यौँ । मैले विवाहको कुरा गर्दा यसै टार्थ्यो । मलाई के थाहा उसको सोच बिहे गर्ने नभएर उसको
स्वार्थ पूरा गर्ने मात्र थियो भन्ने । मेरो पेटमा बच्चा बसेको थियो । मैले एकदिन खुसी हुँदै उसलाई सुनाएँ ।
उसले मेरो गालामा जोडले थप्पड हान्यो । सोचेँ, अफिसमा केही टेन्सन थियो होला । समय बित्दै गयो उसले
जहिले रूखो व्यवहार गर्न थाल्यो । कहिलेकाँही कोठामा नै आउँदैनथ्यो । एकदिन आयो एक महिनाको टुर छ
भनेर निस्क्यो ।
पेटमा बच्चा बढिरहेको थियो । काठमाडौँ मेरा लागि भुलभुलैया भन्दा कम थिएन । कहाँ, के, केही थाहा थिएन ।
घरबाट आउने बेला ल्याएको केही पैसा थियो । कोठाभन्दा अलि पर एउटा पसल थियो । त्यहीँबाट केही ल्याउथेँ;
कहिले खान्थेँ, कहिले खान मन लाग्दैनथ्यो यसै सुत्थेँ । महिना दिन बित्यो विकास आएन । फोन अफ थियो ।
मलाई कोठाबाट बाहिर निस्कनै मन लाग्न छोड्यो । यसै पनि म बाहिर निस्किँदैनथेँ । कोठामा खाने कुराहरू
सबै सकिए । आफूसँग भएको पैसा पनि सकियो । घर परिवार बाबाआमा सबै सम्झिएँ र आफैँलाई धिक्कारेँ ।
सुनेकी थिएँ पशुपतिमा खानेकुरा बाँड्छन् भन्ने । एकदिन सोध्दै सोध्दै पशुपति गएँ । एउटा छेउमा बसेँ ।
चामल र केही पैसा पाएँ । त्यहीँ काँचो चामल खाएर गुजारा गरेँ, कोठामा गइनँ, सडकमै सुतेँ । त्यसदिन बेलुकी
बेस्सरी पेट दुख्यो । के गर्ने के गर्ने भयो, छटपटाएँ । साँझ पर्यो, अँध्यारो भयो पेट दुख्न झन् बढ्न थाल्यो ।
हिउँ परेर चिसो भएको थियो । खपि नसक्नु जाडो थियो । एकातिर पेट दुखिरहेको थियो । बिस्तारै-बिस्तारै
सडकतिर निस्कने कोसिस गरेँ । बल्ल बल्ल त्यो प्रतीक्षालयमा आइपुगेँ । त्यसपछि प्रतीक्षालयको पछाडि आड
लागेर बसेँ, पल्टिएँ । पीडामा रोएँ, चिच्याएँ, बच्चा जन्मियो । हातमा लिएर दूध चुसाउनसम्म सकिनँ । पीडाले
मरणासन्न भएकी थिएँ । अब म कसैगरी बाँच्दिनँ भन्नेमा पुगेँ । त्यसपछि के भयो थाहा छैन । आँखा खोल्दा
यहाँ हस्पिटलमा रहेछु ।
आफ्नो बुबाको कुरा नमानेर जिद्दी गरेर घर छाडेँ । आज यो स्थितिमा आइपुगेँ । भोलि बच्चाले आफ्नो बाबुका
बारेमा सोध्यो भने पनि के भन्ने मलाई त उसको सही नाम पनि थाहा छैन । घर थाह छैन बुबाको कुरा
नमान्नाले आज यस्तो मर्नु न बाँच्नुको स्थितिमा आइपुगेँ ।”
सुशीलाले आफ्नो आँसु पुछी तर आँसु रोकिएन । यस्तो लाग्थ्यो सुशीलाको आँखा र सलाइनको बोतलले
कम्पिटिसन गर्दैछन् । अनि यो कम्पिटिसन सुशीलाको आँखाले नै जित्नेछ ।
“संसारमा तपार्इँजस्तो कल्याणकारी मान्छे पनि हुँदा रैछन् । तपाईले गर्दा आज मेरो बच्चा र मेरो जीवन
सुरक्षित छ नत्र त्यसदिन हामी दुवै मरिसकेका हुने थियौँ ।”
मलाई सुशीलाको त्यो केटाकेटीपनले बुबाको कुरा लत्याएर एउटा अन्जान मान्छेको पछि लागेर घर छाडेको कुराले
रिस उठिरहेको थियो । फेरि त्यो छटपटी र प्रसव पीडा सम्झिएरै पनि मायाँ लागिरहेको थियो । उनलाई के
भन्ने केही आएन दिमागमा । बिस्तारै उठेँ उनको टाउकामा हातले थपथपाए अनि त्यहाँबाट निस्किएँ ।
हस्पिटलको गार्डेनमा आएर बसेँ । मनमा अनेकौँ कुराहरू आउनेजाने गरिरहे । सुशीलाका कुराहरू आए, विकासका
कुरा आए, सुशीलाको बुबाको कुरा आए अनि सँगै आए आफ्नै बुबाको तस्बिर अनि उहाँको हरेक कुराहरू उहाँले
जहिले भन्नुहुन्थ्यो, “तिमीले पैसाको लागि काम गर्नुपर्ने छैन, तिमीलाई नपुग्दो केही छैन । तिमी त्यो काम गर
जुन काम गर्दा तिमीलाई आत्मसन्तुष्टि मिल्छ । उहाँको त्यही कुराले गर्दा मैले नर्सिङ पेसा रोजेँ र निरन्तर
सेवा गरिरहेँ ।”
आज समय धेरै अगाडि बढिसक्यो । हामीले त्यस्ता कैयौँ हिउँद वर्षाहरू पार गरिसक्यौँ । आज फेरि त्यही
दिनको जस्तो मौसम दोहोरिएको छ । के सङ्केत गर्दै छ यो मौसमले ? कि अर्की सुशीला परी फेरि त्यस्तै
विकासको जालमा ? कि फेरि जन्मियो अर्को नाबालक फुटपाथमा ? यस्तै अनेकौँ प्रश्नहरू लिएर चिसो मौसम
मेरो मनभित्र पनि चिसो लिएर पस्यो ।
२०७२ माघ १४
रामेछाप
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।