ऊ र म सानैदेखि सँगै हुर्केबढेका हौँ । उसले मलाई सानैदेखि नै निकै मायाँ गर्थी । सानो बेलाको मायाँ त्यति याद पनि हुँदैन, त्यति वास्ता पनि हुँदैन तर मलाई एउटा कुराचाहिँ अहिलेसम्म पनि याद छ- त्यतिबेला नै उसले मलाई गालामा म्वाइँ खाएर राता डाम बसालेकी हुन्थी । ऊ र उसको दाइ हाम्रो गाउँमा आक्कल झुक्कल आइरहन्थे, मलाई थाहा थिएन उनीहरू कहाँबाट आएका थिए, कहाँ बस्थे, आमाबाबु को हुन् तर हामी चौरमा खेल्दा चाहिँ उनीहरू प्रायः टुप्लुक्कै हामीसँग खेल्न आइपुग्थे ।

उसले मलाई त्यति विघ्न मन पराए पनि मचाहिँ उसलाई मन पराउँदैनथेँ । मैले उसलाई मन नपराउनुको मुख्य कारण थियो- उसको कुरूपता अनि जतिबेला पायो त्यतिबेला, जसलाई पायो त्यसैलाई म्वाइँ खाने बानी । म्वाइँ मात्रै खाए त ठिकै थियो उसले त गाला टोकेर राता डाम नै गराइदिन्थी, लाजै लाग्ने गरी ।

कुपोषणले गर्दा बाँसका लट्ठीजस्ता हात खुट्टा, चोचो थुतुनो, पुटुक्क उक्सेको पेट अनि सानो कदकी, देख्दै पनि वितृष्णा हुनेजस्ती थिई ऊ । त्यसमाथि ऊ फोहरमा खेल्न रमाउँथी । मैले मात्र हैन सबैले छिः छिः दुरदुर गर्थे तर उसलाई डर लाज केही थिएन । उसले सुटुक्क चोरेर खान्थी, जसको घर आँगनमा रात बिताउन मन लाग्यो त्यहीँ रात बिताउँथी, कहिले कसैको गोठमा कहिले कसैको पेटीमा अनि कहिले त आँगनमै भेटिन्थी ऊ ।

जाडाको बेला हुन लाग्यो भने चाहिँ खै कहाँ जान्थे कुन्नि उनीहरू, त्यति देखिँदैनथे । जाडाको बेला गर्मीको बेलाजस्तो जहाँ पायो त्यहीँ सुत्दा जाडो हुने भएर होला, सायद अलि न्यानो ठाउँतिर जान्थे होलान् तर अलि गर्मी चढ्न थालेपछि गाउँमा फेरि टुप्लुक्क देखिन्थे ।

डा. राजु अधिकारी

अचम्मको दिनचर्या थियो उसको- निस्फिक्री अनि स्वतन्त्र । अलि ठूलो भएपछि मैले उसलाई पूरै वास्ता गर्न छोडेको थिएँ, अझ भन्नुपर्दा ऊबाट टाढा हुन हरदम कोसिस गर्थेँ तर पनि ऊ मेरो पछि पछि लागिरहन्थी । म एकोहोरो भएर पेटीमा बसेर पढिरहेको बेला अचानक कहाँबाट आएर गालामा च्वाप्प म्वाइँ खान्थी, मलाई रिस उठेर एक झापट लगाउँथे तर सानो लिखुरे जिउकी ऊ मेरो थप्पड छलेर मसँग रिसाउँदै गुनगुन गर्दै भागिहाल्थी । कतिपटक त मलाई म्वाइँ खान लागेका बेला उसलाई थप्पड लगाउँछु भन्दा मैले आफ्नै गाला पनि चड्काएको छु ।

उसलाई त्यति राम्ररी बोल्न आउँदैनथ्यो । मैले थाहा पाएदेखि नै त्यस्तै हो, खालि गुनगुन मात्रै गरेको आवाज निकाल्थी, प्रस्ट बोल्न सक्दैनथी तर उसले बोले पनि के नबोले पनि के कसलाई मतलब हुन्थ्यो र ?

एस एल सी पास भएपछि म काठमाडौँ पढ्न गएँ । काठमाडौँ गएर ऊदेखि छुटकारा पाएपछि मलाई निकै आनन्द भएको थियो तर एकदिन असार महिनामा म कोठामा बसेर जाँचको तयारी गरिरहेका बेला उसले फेरि मेरो दैलोमा दर्शन दिई । सोचेँ नसम्झेको एकाएक उसलाई त्यहाँ देखेर म झस्केँ । कसरी पत्ता लगाई होली, अब के के गर्ने हो बर्बाँदै हुने भयो भनेर मलाई निकै चिन्ता लाग्यो ।

काठमाडौँमा म दाइभाउजूसँग बस्थें । उसका बारेमा दाइलाई सबै थाहा थियो, त्यसैले ऊ आएको थाहा पाएर दाइले आफ्नो कोठामा तुरुन्तै ग्रिल लगायो, उसलाई त्यतिले मात्र चित्त बुझेन, त्यति पातली छे, ग्रिलको प्वालबाट पनि छिरिहाल्छे कि भनेर उसले झ्यालमा जाली पनि लगायो तर मेरो त्यो भाग्य थिएन- मेरो कोठाका झ्याल ढोकाहरू उसका लागि खुलाजस्तै थिए । अलिकति ढोका खोलेको देखेपछि ऊ मेरो कोठामा छिरिहाल्थी । मैले उसलाई कोठाबाट निकाल्न खोज्थेँ तर पनि जबरजस्ती बसिरहन्थी, मेरो उपाय लाग्दैनथ्यो । ऊ को थिई, किन आएकी थिई भन्ने दाइलाई त थाहा थियो तर मेरी भाउजूलाई उसका बारेमा त्यति थाहा थिएन तर पछि दाइले अनि मैले पनि उसका बारेमा बेलिबिस्तार लगाएपछि उहाँले पनि बुझ्नुभयो तर मलाई चाहिँ जे होला बरु उसलाई मारिदिऊँ कि जस्तो पनि लागेको थियो । एकदिन करेन्ट लगाएर मारिदिन्छु भनेर उपाय पनि लगाएँ तर ऊ निकै बाठी थिई थाहा पाइहाली । उसलाई मारेर उसबाट उम्कने मेरो त्यो प्रयास पनि सफल भएन ।

पछि पछि गर्दा गर्दा त एकदिन मेरो कोठामै आएर सुत्न थाली । रात भर गनगन गनगन गरेर सताउँथी । उसको गनगन सुन्न नसकेर म त्यो गर्मीमा पनि सिरकभित्र टाउको घुसारेर पसिना निकालेर सुत्थेँ ।

काठमाडौँमा हामी भाडाको घरमा बसेका थियौँ । हामी पहिलो तलामा बस्थ्यौँ, दोस्रो तल्लामा घरभेटी बस्थे । घरभेटीकी एउटी छोरी थिई- मोटी, काली तर आफूलाई निकै सुन्दर छु भन्ने ठान्थी । मलाई ऊ पटक्कै मन पर्दैनथी, न त मन पर्नेजस्तो जिउ थियो न त बानी नै । केटाहरूलाई दुस्मनजस्तै ठानेर जहिले पनि गाली गरिरहन्थी ।

जाँच आउन लागेको थियो, मैले निकै मेहेनत गरेर पढ्न थालेको थिएँ तर गर्मीले निकै सताएको थियो । त्यो दिन दाइ अफिस गएको थियो, भाउजू पनि सायद कतै जानुभएको थियो होला । मलाई चिसो कोक पिउन मन लाग्यो । हाम्रो घरमा फ्रिज थिएन । भाउजूले जम्बो कोकका बोतलहरू किनेर घरभेटीको फ्रिजमा लगेर राख्नुहुन्थ्यो । म त्यो कोक लिन भनेर माथि गएँ । भित्र पस्ने मूल ढोका खुलै थियो । मोटीका बाबुआमा दुवैले काम गर्थे त्यसैले दिउँसो कोठामा हुँदैनथे, म सरासर भित्र पसेँ अनि सोझै गएर उसको कोठाको ढोका ढकढकाएँ । छोटो हाफ प्यान्ट अनि बाहुला नभएको भेस्ट लगाएर ऊ पढ्न बसेकी थिई । आधा जति ढोका खोलेर मुन्टो बाहिर निकाल्दै उसले सोधी, “किन ?”

उसका गालामा मैले राता राता डाम देखे । मैले शङ्का गरें- उसलाई पनि सायद बैँस चढेछ क्यारे । ‘सधैँ केटाहरूलाई गाली गर्थी अब त आफैँ पनि लभ गर्न थालिछ नि’ भनेर मनमनै सोचेँ ।

“कोक लिन आएको” मैले उसलाई भनेँ ।

“फ्रिजबाट आफैँ निकालेर लिएर जाऊ” मलाई राम्ररी हेर्दा पनि नहेरी उसले भनी ।

म त्यहाँबाट जानै लागेको थिएँ, उसले ढोका बन्द गर्न नपाउँदै कसैले उसका ती मोटा तिघ्राहरू मुसारिरहेको देखे । मलाई उसका ती देख्दै अमन लाग्ने भुसतिघ्रे खुट्टा हेर्ने मन त थिएन तर मैले नचाहँदा नचाहँदै पनि मेरो नजर उसका तिघ्राहरूमा पुगे । मलाई सताउने ‘ऊ’ त त्यो मोटीतिर पो लस्केकी रहिछ, सायद मोटीका गालाका डाम पनि त्यसैका निसानी थिए । त्यसैले मैले दुईचार दिनदेखि उसलाई देखेको थिइनँ ।

त्यो देखेर मलाई मनमनै हाँसो पनि उठ्यो अनि ऊबाट छुट्कारा पाएको र मोटी फसेकोमा खुसी पनि लाग्यो । म खुसी हुँदै फ्रिजबाट कोक निकालेर तल ओर्लेँ ।

तर त्यो खुसी धेरैबेर टिकेन । त्यही दिन राति कतिबेला मेरो कोठाको ढोका खुलेको मौका पारेर ऊ त खाट मुनि आएर लुकिसकेकी रहिछ । मैले बत्ती निभाएर सुतेपछि ऊ गुनगुन गर्दै कराउन थाली । उसको त्यो नमिठो आवाज सुनेर म झस्केँ । जुरुक्क उठेर बत्ती बालेँ, ऊ हत्त न पत्त खाटमुनि लुक्न गई ।

अब त सहन सकिन्न अति भयो भन्दै मैले कुचाले उसलाई खाटमुनीबाट निकाल्न थालेँ । ल पहिले त आफ्नै गाउँ ठाउँकी हो भनेर छोडिदिएको थिएँ, अब त अनैतिक काम पनि गर्न पनि थालिछ । मैले उसलाई हकार्दै भने, “केटा भन्नु छैन केटी भन्नु छैन, जसलाई पायो त्यसैलाई म्वाइँ खायो, जो पायो त्यहीसँग रात बितायो । त्यो मोटीको गालामा म्वाइँ खाएकी तैले मेरो गालामा म्वाइँ खाँदा मलाई कति घिन लाग्छ थाहा छ तलाई ? कहिले यता सल्केको छ, कहिले उता सल्केको छ, यसको रोग उसलाई सारेको छ, उसको रोग यसलाई सारेको छ, अलिकति लाज पनि लाग्नुपर्ने हो ?”

म गनगन गरेको सुनेर भाउजू “के भो बाबु ?” भन्दै मेरो कोठामा पस्नुभयो ।

“हेर्नुस् न दुईचार दिन भएको थियो उसलाई नदेखेको अब त छुटकारा पाइयो होला भनेको यो त माथि मोटीसँग पो पल्केकी रहिछ, अहिले फेरि आएर यहाँ खाटमुनी लुकेकी छ, आज त मैले यसलाई कोठाबाट सधैँका लागि ननिकालेर छोड्दै छोड्दिनँ” खाटमुनि कुचो घुसार्दै मैले भने ।

भाउजू हाँस्दै “हजुरहरू ‘बेस्ट फ्रेन्ड’ जस्तै भैसक्नुभयो, अब यसबाट छुट्कारा पाउन मुस्किल छ’ भन्दै मेरो कोठाबाट निस्कनुभयो । कुचाले ननिस्केपछि म आफैँ सकी नसकी खाटभित्र पसेर लात्तीले हानेर उसलाई बाहिर निकालेँ । ढोका खुलै थियो अनि म खाटमुनिबाट निस्कन नपाउँदै मेरो डरले ऊ फुत्त ढोकाबाट बाहिर निस्की, त्यसपछि म झ्याल ढोका सबै बन्द गरेर सुतेँ ।

भाउजूले भनेजस्तै ऊ मेरी ‘बेस्ट फ्रेन्ड’ भएकी थिई, बरु ‘बेस्ट फ्रेन्ड’ हरूले साथ छोड्लान् तर उसले छोड्ने छाँटकाँट देखिएको थिएन ।

पढाइ सकेर जागिर खान थालेपछि म छुट्टै कोठा भाडामा लिएर अर्को ठाउँमा बस्न थालेँ । नयाँ जागिर थियो, नयाँ जोस थियो । आइ.एन.जि.ओ. मा जागिर भएकाले अनि पैसा पनि मनग्गे थियो । राम्रै घर भाडा लिएर बसेको थिएँ अनि बैङ्कबाट ऋण लिएर एउटा गाडी पनि किनेको थिएँ ।

मलाई हाम्रो अफिसकी सुनु निकै मन पर्थी । सुनु काठमाडौँमै हुर्के बढेकी ‘ठूलो घर’की केटी थिई । सुन्दर थिई, जवान थिई अनि सुशील पनि । म बिस्तारै ऊसँग नजिकिँदै थिएँ । केही समयपछि उसको र मेरो सम्बन्ध बिस्तारै बढ्दै गएको थियो । मैले एक दिन उसलाई डराई डराई शनिबार साँझ ‘डिनर’का लागि निम्त्याएँ, उसले पनि कुनै हिच्किचाहटबिना मेरो त्यो आग्रह स्वीकार गरी ।

मेरो जीवनको पहिलो ‘डेट’ थियो त्यो । आफूले मन पराएकी केटीसँग ‘डेट’ जाँदा मेरो खुसीको सीमा थिएन । म अलि आत्तिएको पनि थिएँ, कान राता भएका थिए, हातमा पसिना आएको थियो अनि मुटु पनि अघिपछि भन्दा तेजले धड्किएको थियो । शनिवार बिहान देखि नै म त्यो ‘डेट’ को तयारीमा लागेको थिएँ । बिहानै गएर कपाल काटेँ, नुवाइधुवाइ गरेँ, दाह्री काटेँ, कपडामा इस्त्री लगाएँ अनि गाडी पनि सफा गरेँ । निकै मिलाएर कपडा लगाएर, अत्तर छिटेर ऐनामा हेरेँ अनि केही डर अनि केही उत्साहका साथ गाडीको साँचो बोकेर बाहिर निस्केँ ।

बाहिर निस्कनै लाग्दा मैले उसलाई ढोकामा देखेँ, धेरैपछि उसलाई देखेपछि मेरो सातो पुत्लो उड्यो, मेरो उत्साहलाई एकैछिनमा डरले छोप्यो । के भन्ने, के गर्ने मलाई केही सुझेन । कतै मेरो गालामा आएर म्वाइँ खाएर मलाई ‘जुठो’ बनाउँछे कि भनेर तर्सिएको म एकाएक उसलाई समात्न झम्टिएँ तर ऊ निकै फुर्तिली थिई, मेरो कब्जामा नपर्दै भागिहाली । मैले एकछिन यताउता हेरेँ, उसलाई नदेखेपछि अलि शान्त हुँदै गाडी भित्र पसेँ । ऊ भागेपछि फेरि मेरो त्यही उत्साह र जोस बिस्तारै फर्कियो । उत्साह र खुसीमा मैले सुनुलाई भनेर किनेको उपहार नै ल्याउन बिर्सेछु, गाडीको ढोका खुलै छोडेर म दौडिएर भित्र गएर त्यो उपहार ल्याएर गाडी हुइकाउँदै सुनुको घर पुगेँ । सुनु पनि तयार भएर मलाई बरन्डामा पर्खिरहेकी थिई, म आएको देखेर ऊ पनि उफ्रिँदै तल ओर्ली ।

म झट्टपट्ट गाडीबाट ओर्लेर सुनुलाई ढोका खोलिदिएँ । ऊ पनि ठाँटसँग अगाडिको सिटमा बसी ।

मैले गाडी चलाउनै आँटेको थिए, पछाडिको सिटबाट त्यही चिरपरिचित गुनगुनको आवाज आयो । मलाई थाहा थियो त्यो कसको आवाज थियो भनेर ।

जे नहोस् भनेर मैले सोचेको थिएँ आखिरमा त्यही भएर छोड्यो पहिलो गाँसमै ढुङ्गा लागेजस्तो भयो । अब सुनुले के भन्ली भनेर मलाई डर लाग्यो । त्यतिसम्म पनि ठिकै थियो ऊ त सुनुकै गालामा म्वाइँ खान खोज्दै गुनगुन गर्न थाली । त्यो देखेर सुनुले हातले उसलाई पन्छाउँदै भनी, “ओहो, तिमीले त गाडीमा पनि लामखुट्टे राखेका रहेछौ त, म्वाइँ खानै थाल्यो मलाई त, पालेको हो कि क्या हो ?”

मलाई थाहा थिएन, सुनु पनि ठट्टा गर्नमा कम त रहिनछ तर सुनुको त्यो ठट्टाले मलाई हौसला दियो, मैले पनि ठट्टा गर्दै भने, “हो, मेरो गर्लफ्रेन्डजस्तै हो यो, जहाँ गए पनि म्वाइँ खान आइहाल्छ ।”