
गणेश घिमिरे
भुसुनापुर नाम गरेको एउटा गाउँ थियो । धेरै जसो गाउँलेहरू कृषि पेशामा संलग्न थिए भने अन्य विभिन्न जागिर र व्यवसायमा लागेका थिए । गाउँ सुन्दर र उर्वर थियो । जुनसुकै खेतीपाती पनि राम्रो फस्टाउँथ्यो, मानिसहरू पनि सहयोगी, इमानदार र सन्तोषी थिए । कोही कसैसँग रिस झगडा गर्दैनथे गाउँमा केही विपत्ति परे एकजुट भएर समाधान गर्थे । गाउँ स्वर्गसमान थियो ।
त्यस्तो शान्त गाउँमा अकस्मात् बसाइँ सरेर दुईवटा परिवार आँउछन् । एउटा धनिरामको र अर्को चतुरेको परिवार । ती दुईमध्ये धनिराम अति फटाहा र कुरौटे प्रवृतिको हुन्छ । धनिरामले एक वर्षसम्म गाउँका मान्छेहरूको चियो र चर्चो गर्न थाल्यो चतुर र धूर्त धनिरामले सोझा र इमानदार गाउँलेको मनोविज्ञान बुझिहाल्यो। लगभग एक वर्षपछि दुष्ट धनिरामले गाउँ भाँड्ने काम सुरु गर्न थाल्यो । उसले छिमेकी हाँसीखुसी मिलेर, एक अर्कोलाई सहयोग गरेर प्रेमपूर्वक बसेको देख्नै सक्दैनथ्यो । अब उसले हुँदै नभएको कुरा एकअर्कामा लगाएर गाउँले भाँड्ने काम सुरु गऱ्यो । जुन काम सँगै आएको चतुरेलाई थाहा थियो तर केही बोल्दैनथ्यो । सोझा गाउँले उसको सबै कुरा पत्याएर एकआपसमा मनमुटाव सुरु गरे । एक वर्ष भित्रै धनिराम आफ्नो योजनामा सफल भयो । सबै गाउँलेलाई एकआपसमा रुष्ट गरायो र आफू सबैको जाति बन्यो । त्यस्ता सज्जन गाउँले ईर्ष्यालु, शङ्कालु, मतलबी बन्न थाले । सम्पूर्ण गाउँको वातावरण नै उल्टो बनाइदियो । गाउँमा धनिरामका षड्यन्त्र बुझ्न सक्ने मानिस कोही थिएनन् । पढेलेखेका युवा बाहिर थिए ।
एक दिन डिग्रीको पढाइ सकेर हेमप्रसाद नाम गरेका युवा छुट्टी मनाउन गाउँमा आए । गाउँको बदलिएको वातावरण देखेर छक्क परे । त्यस्तो एकअर्काको प्रशंसा गरेर नथाक्ने गाउँले आपसमा द्वेष, आक्रोश, शङ्का र घृणा पो व्यक्त गर्छन् त!! हेमप्रसादलाई जड कुरो बुझ्न बेर नै लागेन । उनी फटाहा धनिरामलाई भेट्न गए । धनिरामको बोल्ने शैलीमा नै चरित्र स्पष्ट झल्किन्थ्यो । हेमप्रसादले आँ… गर्दा अलङ्कार बु झे। उनले भोलिपल्ट गाउँका मानिस भेला गरेर रहस्य बुझ्ने निधो गरे । भोलिपल्ट सबै गाउँले भेला गरेर एक एक गरी सोधे अब रमिता सुरु भो फलानो ले मेरो भैँसी भिरबाट धकेल्यो , मेरो घाँस काट्यो, फलानाले कुलो भत्काइदियो, ढिस्कानाले बाख्रो फुकाएर खेतीमा लायो, फलानाले हँसिया चोऱ्यो, फलानाले परालमा आगो लायो यस्तै सयौँ आरोप एक आपसमा लाउन थाले , चलाख हेमप्रसादले कसरी थाहा पाउनुभयो भनी सोध्दा सबैले एकै स्वरमा धनिरामले भनेको हो भने । लौ! बित्यास पऱ्यो!!!! हेमप्रसादले धनिरामतिर पुलुक्क हेरे बिचरा धनिराम कालो र निलो भैसकेको थियो । सबै कुरा घामझैँ छर्लङ्ग भो धनिरामको कर्तुत पुष्टि भयो । धनिरामले धेरैजसो कुकर्म आफूले गर्ने अनि अरूलाई दोष लाउने गर्दो रहेछ। गाउँलेको घैँटामा घाम लाग्यो । रिसको आवेगमा गाउँले उग्र बनेर धनिरामलाई पिट्न जाइलागे तर हेमप्रसादले त्यसो हुन दिएनन् । परिस्थिति नियन्त्रण भो । धनिरामले पछुतो मान्दै अब त्यस्तो काम कहिल्यै नगर्ने कसम खाँदै हात जाडेर माफी माग्यो । उसले गाउँलेहरूको नोक्सानको क्षतिपूर्ति गर्नुपर्ने सर्तमा माफी गरियो । गाउँका मानिस पनि अरूको लहैलहैमा लागेर सत्यतथ्य पत्ता नलगाई कागले कान लग्यो भन्दा कागको पछि दौडेजस्तै मुर्ख बनेकामा गल्ती महसुस गर्दै क्षमाप्रार्थी हुदै एकआपसमा अङ्कमाल गरे । हेमप्रसादको चतुर्याइँले भुसुनापुर गाउँ पुनः स्वर्ग समान बन्यो, उनको जयजयकार भयो ।
म्याग्दे गाउँपालिका,तनहुँ



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

