यसपालि पनि मिठा सपनाहरूका झोला बोकेर मान्छेका छुट्टाछुट्टै हुलहरू बगरबस्ती छिरे । यस्ता हुलहरू आउँदा बगरवासी बिछट्टै खुसी हुन्छन । खुसीको कारण हुलले बाँड्ने सपना भने होइन । सपना त आफैँले देख्ने हो र देख्नलाई कुनै हुलै चाहिन्न । यो कुरा बगरवासीले धेरैअगाडि बुझेका हुन् तर पनि यस्ता हुलहरू देख्दा उनीहरूलाई ठुलै चाडपर्व आएझैँ लाग्छ । मौसम असाध्यै रङ्गीन लाग्छ । रङ्गीबिरङ्गी झन्डाहरू, तुल व्यानर र पोस्टरहरू, नानाभाँती नाराहरू, मान्छेका नयाँ नयाँ अनुहार र रूपहरू, नाचगानहरू, भोजभतेरहरू अहा! कम्त रमाइलो हुन्न । अन्य चाडपर्व उनीहरूलाई ऋण बोकाएर बिदा हुन्छ भने यसले त मानो भरेर जान्छ । हुलले गर्ने भाषणसँग उनीहरूको लेनादेना टुटेको धेरै वर्ष भो । उनीहरूको सम्बन्ध केवल रासनको हो ।
यसपालि हुलहरू बस्ती र्छिदा मङ्सिर लाग्नै आँटेको थियो । सुकबहादुर श्रेष्ठ खमार खुर्किँदै थियो । चौबिसे लिम्बु सधैँझैँ माईखोलामा बटुलेका मुडाहरू चिर्दै थियो । भोटु सार्की छानामानि चढेर सिन्के परालले छानो टाल्दै थियो । सुजी कान्छो रेडियामा बजिरहेको लोकगीतको सुरमा हाते मेसिनले लुगा सिउँदै थियो । सुबाङ्गे कामी आरनमा भाटी तानिरहेकै थियो । बिर्खबहादुर भण्डारी दाम्लो बाटिरहेको थियो । लुङ्गेल्नी सुङ्गुरलाई चारो हाल्दै थिइन् । झलकी रक्सी बनाउन मर्चा मोल्दै थिई, भनौँ सबै आफ्नै कर्ममा तल्लीन थिए । दर्जन जतिको सानो हुल मूलबाटो छोडेर बस्ती छिरेको भोटुले छानामाथिबाटै देख्यो र बुर्लुक्क उफ्रेर आँगनमा झऱ्यो । हुलमा एकथान झन्डा हल्लिएको पनि देख्यो, चुनाव आएछ । केही दिनअगाडि रेडियाले फुकेको सबैले सुनेकै हो । अब ताल पर्ने भो गम्दै ऊ चौबिसेकोतिर लाग्यो । बाघचाल खेल्दै गरेका चारबुङ्गा जुरुक्क उठे । कर्म गरिरहेका बगरवासीका हातहरू अचानक थामिए । आँगनमा चारो टिप्दै गरेका कुखुराहरू हुलको स्वागतमा फट्फटाए । हुलले नमस्कार गऱ्यो । “ज्या, हामीले पनि नमस्कार खाने दिन आएछन् अब” ,चौबिसेले मनमनै भन्यो ।
यतिबेला चौबिसेको घरअगाडि फलैँचामा केही बगरवासी बिनाउर्दी जम्मा भएका थिए । हुलका पूर्व परिचत अगुवा भन्दै थिए, “तपाईँहरूले बुझिहाल्नुभो हामी किन आयौँ भनेर ।” बीचैमा कुरा काट्तै आले माइला बोल्यो, “तपाईँहरू माग्न आउनुभो, हामीले बुझिसक्यौ । अब माग्न आउँदा चलनअनुसार केही त चाहियो, केटाकेटी छन्, चक्लेटको त आश गरिहाल्छन्, ठुलाले ठुलै चक्लेटको आश गर्छन्, त्यसै पनि तपाईँहरू माग्न आउने पहिलो टोली पर्नुभो ।” अगुवाले कुरा काट्तै भने, “माल्दाइ पनि, यसपालि त जेरी पुरी समोसा छ, चक्लेटका दिन गए अब । ए कम्रेड त्यो कार्टुन हस्ते गर्दिनुस् त । खै ताली बजाको ।” बगरवासीले यो यामको पहिलो ताली बजाए ।
दिनहुँजस्तै टोलीहरू आइरहे फरक फरक झन्डाहरू बोकेर । बस्तीवासीलाई न त झन्डाका चिह्नसँग मतलब थियो, न कागजका घोषणापत्रसँग नै । जनतामात्र बस्ने त्यो बस्तीमा पार्टीका कार्यकर्ता थिएनन् भलै ताली भने बजाइरहे । उनीहरूले खोजेको ठुलो आकारको झन्डा हो । भन्थे, “कुच्रुक्क परेका झन्डा ल्यायौ भने केटाकेटीले गु पुछेर फाल्दिन्छन् । ठुला ल्याउनू, कम्तीमा जिउ त ढाकोस् । अनि कागजका पोस्टर घरका भित्तामा नटाँस्नू, तिनले हाम्रा भ्वाङ परेका भित्ताहरू टाल्दैनन् उल्टै घरलाई कुरूप पार्छन् ।” चुनाव सकिएपछि तिनै झन्डाका सिरानीका खोल, केटाकेटीका स्कुले झोला, कट्टु आदि सिलाउन सुजी कान्छो व्यस्त हुन्छ ।
हेर्दाहेर्दै गाउँ, सहर अनि टोल टोलमा बिहेको जन्ती हिँडाएझैँ जुलुसहरू हिँड्न थाले । भोजभतेर, बाजागाजा, नाचगान, जुहारी, खाँडो जगाउने (खड्गो हान्ने), तानातान, लखेटालखेट, कौतुहलता, उमङ्ग । वास्तवमै बिहेका सबै खाले रङ्ग बोकेको थियो त्यो वातावरणले । अघिल्ला पालिहरूमा एक छाक मासुभातमा दिनभरि नारा भट्याउने बगरवासीहरू यसपालि महँगिए । रोटीसँगै रोजीको पनि माग गरे उनीहरूले । अनि रोजीरोटी पाएपछि मात्र उनीहरू जुलुसमा हिँडे ।
यसपालि आफ्नै टोलको कोणसभाहरूमा बगरवासीलाई भेला पार्न दलहरूलाई हम्मे नै पऱ्यो । कारण पुस्तौँदेखि एउटै नारा सुन्दै उनीहरू हुर्किएका थिए । यसपालि चैँ माईखोलामा बाँध बाँधेर तपाईँहरूको सुरक्षित वासस्थानको ग्यारेन्टी गरीने छ । “यति जाबो भन्नलाई फजुल खर्च नगर्नुस् । बरु त्यो पैसाले हाम्रा केटाकेटीलाई कापीकलम किन्दिनुस् ।” उनीहरूले मुखेन्जी भने, “यो बाँध साँधको झ्याउ लाग्ने कुरा गरेर हाम्रो मन नदुखाउनुस् । बाँध बाँधि नै हाल्नु भो भने के हुन्छ, थाह छ? छैन भने यता सुन्नुस् । जीवनभर बगर नटेकेका तर बगरका मालिक हुँ भन्नेहरू धनीपुर्जा बोकेर डोजरसहित आउँछन् र सधैँका लागि लखेट्छन् हामीलाई । हो त्यतिबेला हाम्रो आँखाबाट झर्ने आँसुका बाँध कसले बाँधिदिन्छ?” बगरवासीका यस्ता कुराले टोलीहरूलाई नराम्ररी झस्कायो । “यस्तो चेतना कहाँबाट आयो यिनीहरूमा?” टोलीहरू अलिक सचेत देखिए ।
कोणसभा गर्न नपाए पनि टोलीहरूले गाउँलेलाई फकाइरहे । अभावमा बाँचिरहेका उनीहरू विभिन्न प्रलोभनमा फकिइरहे । चुनाव नजिकिएसँगै भोजभतेरहरू पनि बाक्लै चल्न थाले । दुईसयको हाराहारी भोट भएको त्यो बस्तीलाई कुनै पनि दलले गुमाउन चाहँदैनथे । सजिलो के भने उनीहरू कुनै पनि सिद्धान्त, वाद वा विचार भित्र थिएनन् । यस्ता सिद्धान्त, वाद वा विचारले भरिने भनेको खोपडी मात्रै हो, पेट होइन भन्ने कुरा उनीहरूले अनुभव गर्न थालेका थिए ।
केही समयअघिदेखि साँझपख झन्डाविहीन केही युवाहरू त्यो बस्ती छिर्न थालेका थिए । तिनीहरू कुनै नयाँ दलका कार्यकर्ता हुन सक्छन् वा कुनै गैरसरकारी संस्थाबाट डलरको खेती गर्न आएका पनि हुन सक्छन् वा अरू कोही सामाजिक कार्यकर्ता हुन सक्छन् तर तिनीहरूले कहिले पनि गाउँलेलाई भेला गरेर भाषण गरेनन् । दैनिकीमा अवरोध पुऱ्याएनन् । आउँथे, काम गरेकै ठाउँमा गएर पाँच दश मिनेट गफ गर्थे । बरु उल्टै काम सघाइटोपल्थे । तिनै युवाहरूबाट बस्तीवासीले केही नयाँ कुराहरू थाहा पाएका थिए ।
अब चुनाव आउन एक सातामात्र बाँकी थियो । अघिल्ला पालिहरूझैँ यसपालि पनि चुनावका भोजहरू सुरु भए । भोजहरू भव्य हुनुपर्छ भन्नेमा सबै दलहरू सचेत थिए । किनकि मतको छिनोफानो भोजको भव्यतामा निर्भर हुन्थ्यो । बस्तीवासीमा बढेको चेतनाको कारण पनि यसपालि सबै दलहरूले भोजमा निकै मिहिनेत गरेका थिए ।
त्यो दिन दिउँसैदेखि ठुलो दलको भोज चल्दै थियो । ठ्याक्कै बिहे भोजझैँ देखिन्थ्यो त्यो । “साला यतिबेलै दुईचार जोडीको बिहे गराइदिन पाए कति खर्च जोगिन्थ्यो होला”, डाकमानको मनले भन्यो । यसपालि लोकलको साटो बजारे ह्विस्की थियो । खाने जति झ्याप भैसकेका थिए । दलका सीमित कार्यकर्तामात्र भोजमा सामेल थिए । “ए बिर्खे दाइ, भोज गर्ने यत्रो पैसा काँबाट ल्याउँछन् हँ?” “मलाई के था, सोध् न त्यो कार्जेकर्तालाई” चौबिसेको प्रश्नमा दाँतले साप्रा लुछ्दै गरेको बिर्खे बोल्यो । “ए कार्जेकर्ता बाबु?” रक्सीको घुट्की लाउँदै थियो, सुनेन । खै किन बेखुसी थियो, रिसाहाजस्तो पनि देखिन्थ्यो । “ए कामरेट?” सुन्यो र चौबिसेतिर हेरेर ङिच्च हाँसेजस्तो गऱ्यो । “बाबुलाई एउटा कुरा सोधूँ?” चौबिसे जिज्ञासु देखियो । “सोध, के कुरो?” अलिक कर्कश सुनियो । सोध्नुभन्दा अगाडि चौबिसे ङिच्च हाँस्यो र सोध्यो, “यो छ नि भोजभतेर, नारा जुलुस गर्न पैसा चैँ काँबाट आँउछ बाबु?” “माथिबाट” कम्रेडले टाउको थोरै माथि अनि दायाँ घुमाएर भन्यो । सबैले माथि हेरे । “ए भनेपछि आकाशबाट झर्छ?” अहिले भने कम्रेड मज्जैले हाँस्यो । ऊ अरू दिनभन्दा आज धेरै मातेको थियो ।
“सुन्छौ पैसा कसरी झर्छ?” बाँकी रक्सी स्वाट्ट पारेर कम्रेड बोल्यो ।
“राजनीति भनेको व्यापार पनि हो । किनबेच भन्छन् नि, हो त्यही । जस्तो एक छाक मासुभातमा तिमीहरूलाई किनियो ।”
“ए गाँठे हामीलाई नि किनियो है?” सबै तर्सेझैँ भए ।
“अँ बिक्यौ, अब नेतालाई भोट हाल्छौ ।”
“ए अब हामीले भोट नि हाल्छौँ”, सबै हाँसे ।
“हाल्छौँ, अनि नेता चुनाव जितेर केन्द्र जान्छन्, अब त्याँ नेताले के गर्छन् थाहा छ?” भनिसकेर कम्रेडले सबैको मुखमा हेऱ्यो ।
“जे सुकै गरून्, हामीलाई के मतलब, थोडै तिनका गोठाला हौँ र? कि कसो सुके?” बिर्खेले सुकबहादुरको मुखमा पिलिक्क हेऱ्यो ।
“त्यै त, तात्तो न छारो, बरु यस्तो भोज चैँ दिनैपिच्छे गर्न मिल्दैन?” सुकबहादुरको कुराले सबै गलल हाँसे । हाँसो थामिएपछि कम्रेडले निरन्तरता दियो, “नेताले आफैँलाई बिक्रीमा राख्छन् । व्यापारी, ठेकादार वा दलालहरूले करोडौँमा किन्छन् । कहिलेकाहीँ सरकार बनाउन डाँक बढाबढ पनि हुन्छ र उनीहरूको मोल तोकिन्छ । उनीहरू करोडौँमा बिक्नुभनेको जनताको मत बेचिनु हो । नेताहरू त बिचौलिया हुन्, याँ हजारमा किन्छन्, माथि गएर करोडौँमा बेच्छन् अनि भएन त व्यापार?”
“पैसा झर्ने कुरा नि बुझियो, नेता बिचौलिया हुन् भन्ने कुरा नि बुझियो तर एउटा कुरा चैँ ठ्याम्मै बुझिएन बाबु?” चौबिसे हैरान देखियो ।
“भन्नुस् के कुरा?” कम्रेड अशान्त थियो ।
“यी कार्जेकर्ता चैँ के हुन् बाबु?” चौबिसेको प्रश्नले कम्रेड अवाक् बन्यो । खाएको रक्सी उत्रेझैँ भयो ।
“छोड यो राजनिति कुरा, भोजमा त रमाइलो पो गर्ने हो”, आले माइलाले कम्रेडको अवस्था बुझेर कुरा अन्तै मोड्न खोज्यो ।
“आखिर तिमी जे भन माइला तर एउटा कुराले भने असाध्यै चिमोट्छ । आजभन्दा ठीक पच्चिस वर्षअगाडि मेरा बा यही माईखोलामा बगे । अब खोलामा बाँध बाँधिन्छ रे भनेर बाले भनेको कुरा अहिले पनि सम्झन्छु । बाले पनि त्यतिबेला आश्वासनका अनगिन्ती भोज खाए होलान् र आज हामी पनि त्यै खाइरहेका छौँ । कुनै दिन म पनि बाझैँ बगुँला र मेरो छोरो वसन्तेले पनि अबको पच्चिस वर्षपछि यस्तै भोज खाँदै यही कुरा भन्ला । भन् त माइला, हाम्रा पुस्ताले कहिलेसम्म यस्ता भोजहरू खाइरहने?” भनिरहँदा चौबिसे रुँलाझैँ देखियो ।
अझै थप्यो, “साला अस्ति बर्खामा हाम्रा घरखेत बगाएर बिचल्ली हुँदा अहिले भोज ख्वाउने पार्टीहरू कुन दुलामा थिए? बरु त्यतिबेला हामीजस्तै जनताहरू आए । सेल्फी खिचेरै भए नि केही राहत त दिए ।”
“छोड यस्ता कुरा चौबिसे, हामी सबैले भोगेर आएका हौँ । अब ती भाइहरूले भनेझैँ गर्ने हो । यो भोजलाई अन्तिम भोज बनाउनुपर्छ । बरु अन्तिम भोज त झनै रमाइलो बनाउनुपर्ने होइन र ?” बिर्खेको कुरामा सबैले सहमति जनाए । अनि रक्सीहरू थपिए, गज्जबले मादल बज्न थाल्यो । रातको तेस्रो प्रहरसम्म बगरवासीहरू नाचिरहे ।
चुनावको दिन ।
आधा दिन जाँदा पनि बगरवासीहरू मतदान केन्द्रमा देखा परेनन् । भोज ख्वाउने पार्टीहरूका कार्यकर्ताहरू छट्पटाए । यस्तैमा केही कार्यकर्ताहरू मोटरसाइकल टिपेर बगरबस्तीतिर हुइँकिए । बस्ती छिर्ने गौँडामा मोटरसाइकलहरू अचानक रोकिए । गौँडामा बाटो छेकेर तगाराहरू लगाइएको थियो, जहाँ ठुलो ब्यानर पनि टाँसिएको थियो । कार्यकर्ताहरूले एकैसाथ ब्यानर पढे जहाँ लेखिएको थियो, “अन्तिम भोजका लागि धन्यवाद । हामीले आजदेखि हाम्रा मतहरू नबेच्ने निर्णय गऱ्यौँ । त्यसैले मत बिक्रीकक्षमा हामी आएनौँ । जुन दिन मत बिक्रीकक्ष, मतदान केन्द्र भएको अनुभव गर्नेछौँ, निम्तैबिना अवश्य पाल्नेछौँ । कृपया तगारो नाघेर भित्र नर्छिनुहोला । हामी हाम्रै दैनिकीमा व्यस्त छौँ । जय देश ।” बुझ्झकी कार्यकर्ताहरूले हाँस्दै मोटरसाइकल घुमाए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

