केही वर्षअघि म एक दिन आफ्नो निजी कार्य लिएर जान भनी निस्केको थिएँ ।
दिसम्बरको महिना भएकाले अति नै जाडो थियो । बिहानैदेखि टम्म हुस्सु लागिरहेको थियो ।
म गाडीको प्रतीक्षामा गोरुबथानको मोटरस्ट्यान्डमा उभिरहेको थिएँ । करिब एक घण्टा जति हिँडेर आएकाले मलाई थकान महसुस भइरहेको थियो । गाडी आइहाले बसिहाल्ने थिएँ जस्तो लागिरहेको थियो ।
सदाभन्दा आज अलिक मानिसहरूको भिड थियो स्ट्यान्डमा ।
सडकमा बाक्लो बाक्लो पोसाक लाएर हिँड्ने मानिसहरूको घुइँचो उत्तिकै थियो ।
आज गाडीमा बस्न सिट नपाइने पो हो कि भन्ने मनमा लागिरहेको थियो ।
आठ बज्न लाग्दा गाडी आइपुग्यो ।
मजस्तै अन्य यात्रीहरू पनि गाडीमा चढ्न हतारिए । बल्लबल्ल मैले अन्तिम सिट पाएँ ।
बिस्तारै गाडी आफ्नो गन्तव्यतर्फ गुड्न थाल्यो ।
गाडीभित्र अन्य यात्रीहरूको कुरा सुन्दै म झ्यालबाहिरका सुन्दर दृश्यहरू हेर्न मग्न भएँ ।
अम्बियोक चियाकमानका सुन्दर दृश्यहरू, वरिपरिका पहाड, वनजङ्गल र चेलखोलाको मनोरम दृश्यहरू हेर्न मलाई आनन्द आउँथ्यो ।
जतिजति हामी उकालो बढ्दै थियौँ उतिउति बतास पनि चिसो हुँदै जाँदै थियो ।
करिब एक घण्टापछि हामी कुवापानी पुग्न आँटेका थियौँ ।
एउटा घुम्तीमा गाडी अचानक बारीको भित्तामा ठोक्किन पुग्यो । मेरो टाउको अगाडि सिटमा ठोक्कियो भने कोही अगाडि सिसामा ठोक्किन पुगेछन् ।
हामी सबै भयाभीत भयौँ । सबै अत्तालियौँ ।
के भएछ भनी मैले झ्यालबाहिर टाउको निकालेँ ।
मैले हेर्दाहेर्दै उँभो लाभाबाट आएको सवारी गाडी सडक छोडेर तल बारीमा झर्यो ।
“लु सवारी पल्टियो बारीमा ” – भनी हत्तपत्त ढोका खोली त्यहाँ गयो ।
हामी डरले काप्यौँ । हतार हतार गाडीबाट उत्रियौँ ।
सबै अत्तालिएका थियौँ ।
हेर्दाहेर्दै वरपरका मानिसहरू पनि भेला भए ।
हामी सबै मिलेर गाडीभित्रका यात्रीहरूलाई निकाल्न थाल्यौँ ।
तीनचार जनालाई गम्भीर चोट लागेछ । एक जनाको भने घटनास्थलमै मृत्यु भएछ ।
“बिचारा पेम्बाको आप्पा पो रहेछ ” – एकजना स्त्रीले मृतकलाई हेर्दै भनिन् ।
“त्यो बाबुको बिजोग हुने भयो । बिचाराको आमाले पनि पहिलै छोडेर गइहाल्यो”- फेरि भनिन् उनले ।
“को हो पेम्बा ?” – मैले उत्सुक हुदै सोधेँ ।
“उसको छोरा ” – मृतकलाई देखाउँदै भनिन् उनले ।
“आफ्नो आफन्तहरू होलान् नि त? “- म भावुक भइसकेको थिएँ ।
“यिनीहरू अन्त कतैबाट आएर माथि शेर्पा गाउँमा बस्दै थिए । पछिबाट श्रीमतीचाहिँ अर्कैसँग भागी । अहिले बाबुछोरामात्र थिए झुप्रामा ।” – उनले वृतान्त बताइन् ।
म अझ भावुक भएँ । मभित्रको पुत्रप्रेम जागृत भइसकेको थियो ।
“आफ्नो पिताको बिछोडमा अब उसको हालत कस्तो हुने हो ” भनी सोच्न थालेँ ।
घरमा मेरो पनि दश वर्षको छोरो थियो ।
म कतै जानका निम्ति बिहान तयार हुँदै गर्दा मेरो अघिपछि घुम्दै भन्थ्यो- “भरे छिट्टै आउनू ल ” ।
यदि म आउन अबेर भयो र कसैले उसलाई ” अब बाबा आउँदैन ” भन्दिए ऊ रोएर विह्वल हुन्छ । कसैले फकाउन सक्दैन । त्यसैले म जहाँ गए पनि समयमै घर फर्किने गर्छु ।
यदि म कतै वास बसिहाले आमाचाहिँले म फर्किँदा भनिरहेकी हुन्छिन् -” म यसलाई अब फकाउन सक्दिनँ । जता जानुहुन्छ साथमा लिएर जानुहोस् ” ।
म भने खुसीले गद्गद हुन्थेँ । छोराले मलाई साह्रै माया गर्छ भनेर ।
घटनास्थलमा धेरै मानिसहरू जम्मा भइसकेका थिए ।
“अब के गरूँ ?” म सोच्न थालेँ ।
यसरी म द्विविधामा पर्दा आजसम्म मेरी श्रीमतीले मेरो मार्गदर्शन गर्दै आइरहेकी थिइन् ।
आज पनि मोबाइलबाट बात गरेँ उनीसँग । सबैकुरा बताएँ ।
त्यसपछि गोरुबथानबाट आइरहेको एउटा गाडीमा झुन्डिएर म शेर्पागाउँ फाटक पुगेँ ।
यस ठाउँमा म पहिला पनि धेरैचोटि आएकाले यहाँका स्थान र मानिसहरूसँग म परिचित थिएँ ।
त्यस स्त्रीले बताएअनुसार अब मलाई ओह्रालो लाग्नु थियो ।
अलैँची र अम्लिसो बारी हुँदै हुँदै म त्यस झुपडीमा पुगेँ ।
वरिपरि चिमले बारेको झुपडी । छानाबाट धुवाँको मुस्लो छुटिरहेको थियो ।
दैलो खुल्ला भएकाले मैले आँगनबाट भित्र चियाएँ ।
नभन्दै एउटा बालक चुल्हाको अघि खरानी खरानी भएर आगो फुकिरहेको थियो ।
म भित्र पसेकोमात्र थिएँ धुवाँले गर्दा बाहिर निस्किहालेँ ।
केहीबेरमा उसले आगो बाल्यो र धुवाँ हटिसकेपछि म फेरिभित्र पसेँ ।
उसले ट्वाल्ल परेर मलाई हेऱ्यो ।
“के गर्न लागेको बाबु ?”- मैले सोधेँ उसलाई ।
“आप्पाले भात पकाएर खानू भनेको छ ।” – करुण स्वरमा जबाफ दियो उसले ।
यस्तै एघार बाह्र वर्ष पुगेको थियो होला ऊ ।
“म तिम्रो आप्पाको साथी ?” – उसलाई फकाउनका निम्ति भनेँ मैले ।
“आप्पा त गोरुबथान जानुभएको छ ।” – यति भनेर ऊ चामल धुन थाल्यो ।
“के के पकाउने ?”- म प्रश्न गर्छु ।
“भातमात्रै पकाउँछु । सब्जी आप्पाले बिहानै पकाउनुभएको छ ।” – भात बसाउँदै उसले जबाफ दियो ।
“आफ्नो आप्पाको हातले पकाएको अन्तिमपटक खाऊ बाबु ।” – म मनमनै सोच्छु ।
उसले खाना खाएको हेरिबसेँ ।
खाइसकेपछि भने – ” म तिमीलाई लिन आएको । तिम्रो आप्पाले लिन पठाएको ।”
” आप्पा त भरे आइहाल्छ नि” – बाहिर निस्केर भन्यो उसले । ऊ सँगसँगै म पनि बाहिर निस्केँ ।
” कति बज्यो ” – उसले अचानक सोध्यो मलाई ।
” भरे साढे तीनको गाडीमा आइहाल्छ नि ” – भन्दै ऊ भाँडा माझ्न थाल्यो ।
म चुपचाप हेरिबसेँ ।
करिब तीन बज्न लाग्दा उसले दैलो थुन्यो । त्यसपछि उकालो फाटकपट्टि दगुरेर गयो ।
म पनि त्यसको पछिपछि गएँ ।
त्यहाँ एउटा पसल थियो । त्यस पसलअघि बसेर ऊ गाडी हेर्न थाल्यो । म पनि पसलभित्र बसी त्यसलाई हेर्न थाले ।
फाटकमा जुन गाडी आएर रोकिन्थियो ऊ उठेर हेर्न गइहाल्थ्यो ।
गाडीमा हेर्दा हेर्दा अब उसले अनुहार अँध्यारो बनाइसकेको थियो । बेला बेला म मिठाइँ किन्दै उसलाई दिइरहेको थिएँ तर त्यसले उसलाई खुसी पार्न सकेन ।
अब पाँच बज्न लागिसकेको थियो ।
छोटो दिन भएकाले अब केही क्षणमा अँध्यारो हुनेवाला थियो ।
अब उसलाई उसको आप्पा आज आउँदैन भन्ने विश्वास भएछ ।
अचानक भक्कानिएर रुँदै भन्यो उसले – ” भोलि आऊ न मात्रै म बोल्दै बोल्दिनँ । म छिट्टै आउँछु भनेर मलाई ढाँटेको होइन ? ” एकपटक तल सडकसम्म फेरि हेऱ्यो उसले तर सडक सुनसान थियो ।
अब आँखाबाट आँसु खसाल्दै ऊ त्यही झुप्रोमा फर्किन आँटेको थियो ।
म गएँ, उसलाई काखमा लिएँ ।
मैले बन्दोबस्त गरेको गाडी अघि आएर मेरो प्रतीक्षा गरिरहेको थियो ।
म केवल सही समयको प्रतीक्षामा थिएँ ।
“हिँड म तिम्रो आप्पा भएकोमा लान्छु ।”- कपालमा हात मुसार्दै भनेँ मैले । मनमनै भनिरहेको थिएँ “तिम्रो नयाँ परिवारले तिमीलाई पर्खिरहेको छ ।”
उसलाई लिएर म गाडीमा चढेँ ।
सात बजेतिर हामी हाम्रो घर पुग्यौँ ।
गाडीबाट झर्नेबित्तिकै उसले प्रश्न गऱ्यो “कहाँ छ आप्पा ?”
उसको जबाफ हामी कसैसँग थिएन ।
मेरी श्रीमतीले उसलाई हातमा समाएर घरभित्र लगिन् । हप्ता महिनादिनसम्म केवल उसले आप्पा खोजिबस्यो ।
“मलाई घरमा आप्पाले पर्खिरहेको होला” भनिबस्यो तर उसको आप्पाको शरीरको भने त्यो घटनाको दुई दिनमा मैले चेलखोलामा दाहसंस्कार गरिसकेको थिएँ ।
हामी सबै मिलेर उसलाई भरपुर माया दियौँ । समय बित्दै गयो । अहिले उसले मलाई “बाबा” भनेर बोलाउँछ । अनि मेरी श्रीमतीलाई मम्मी भन्ने गर्छ ।
कहिलेकाहीँ मेरो छोरालाई ऊ भनिरहेको हुन्छ- ” मेरो मम्मी बाबालाई पछि म आफैँ पाल्छु, तिमीले पाल्न पर्दैन ” ।
यो सुनेर हामी लोग्ने स्वास्नी हर्षले गद्गद हुन्छौँ तर कहिलेकाहीँ अझ पनि ऊ मस्त निद्रामा हुदाँ बरबराउने गर्छ-
“भोलि आऊ न मात्रै म बोल्दै बोल्दिनँ । म छिट्टै आउँछु भनेर मलाई ढाँटेको होइन ??? ”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।