साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

बस् ! सिखहरू काेही पनि जीवित रहनुभएन ……

प्रथम अनुच्छेद – भारत विभाजन

आज पनि बाबा ढिलो आउनुहुनेभयो । उफ्… ! सधैँको यस्तो । म आजित छु यो राजनीति देखेर । कोही किन बुझ्न चाहँदैनन् हामीलाई ? के सिखहरू चाहिँ मान्छे होइनन् र ? यदि मान्छे नै हो भने हामीले चाहिँ श्वास फेर्न पाउनुपर्ने होइन र ? मलाई कता-कता शङ्का लाग्छ यो देशको राजनीतिमाथि अनि राजनीति प्रयोग गरी हुकुम चलाउनेहरूमाथि पनि  । १५ अगस्ट १९४७ मा भारतीय राजनीतिले मुसलमानहरूका निम्ति पाकिस्तान अधिराज्य दियोपछि उनीहरूले नै पाकिस्तानलाई जम्हुरिया ए पाकिस्तान बनाए उनीहरूको आफ्नो पाकिस्तान । हिन्दूहरूका लागि हिन्दूस्तान दिइयो । अनि हामी ? हाम्रा लागि के दियो यो भारतले ? यही कि सिखहरूका निम्ति बेइज्जती, दु:ख, अपमान एवं मृत्यु । उफ्….. !

म कति सम्झाऊँ बाबालाई छाडिदिनुहोस् यस्ता स्वतन्त्रताको कुरा गर्न भनेर । हो छाडिदिनुहोस् यी अन्यायीहरूका अगाडि आफ्नो धार्मिक स्वतन्त्रता माग्न भनेर तर फिटिक्कै माने पो त ? अनि दादा ? दादाको त कुरा नै नगरौँ ? मामुले छाडेर गएदेखि नै उहाँ आवारागिरीमा लाग्नुभएको छ । छोटे सरदारजी ! भनी बोलाउनेहरूको खुला जमात छन् क्यारे नि उहाँको पनि बाबाको जस्तै ।

इलैया पाठक

पन्ध्र वर्षकी केटी म – इबादत । भुल्लर सरदारजीको एकमात्र छोरी तर मेरो नाम त्यतिको खास छैन ? जत्तिको मेरा साथीहरूको छ । हो नपत्याए नपत्याउनुहोस् तर म भने चाहिँ खुब राम्री छु । हाँसो उठ्यो ? पक्कैपनि उठ्यो होला तर म राम्री छु भनेर चाहिँ मलाई कहिल्यै लागेन । मलाई मेरो ..उफ्…! लाज लाग्छ भन्न पनि । ए ! ए ! के को लाज ? मैले के नै पो कसुर गरेकी छु र ? उसले नै हो पहिलो प्रेम प्रस्ताव राखेको मलाई । जतिबेला म नौ वर्षकी थिए । उसको नाम ताविर हो । सिख केटा । मेरो घरको गल्लीनजिकै बस्छ ।

हाम्रो पनि कुरा त खुब मीठा-मीठा हुन थालेका छन् आजकाल । ऊ मभन्दा एक वर्षले अगाडि छ तर पनि मेरा अगाडि चाहिँ ऊ सधैँ पछाडि नै हुन्छ । हाम्रो प्रेम यसरी नै गुपचुप गुपचुप तवरले छ वर्षसम्म चल्दै आइरहेको छ ।

एक दिन पिताजीले जायदा आनटीसँग मेरो र उहाँको नखरेदार छोरा ताविरको बिहे गराइदिने कुरा गर्नुभएको मैले सुनेँ तर उहाँहरूले भने अहिलेसम्म हामीलाई चाहिँ केही खबर नै दिनुभएको छैन । सायद हाम्रो उमेर कच्चा भएकाले होला ? तर जायदा आन्टीलाई त उहाँको छोरो ताविर  कच्चा छैन भनेर थाहा छ कि छैन होला कुन्नि ? ऊ त मसँग बडाबडा बात मार्छ । कहिले उड्ने घोडामा राखेर उडाउँछु भन्छ । कहिले आग्राको जस्तै मेरा निम्ति पनि ताजमहल बनाइदिन्छु भन्छ । अस्ति त झन् उसले गुरुद्वारामा मेरो हात समातेर मेरो गालामा माया पनि गऱ्यो । छिः यस्तो कुरा त भन्न नहुने हो तर क्यार्नु यही नै सत्य हो ।

उसका कुराहरू खुब मीठा-मीठा, प्यारा-प्यारा हुन्छन् । सायद पञ्जाबभरिमै नखरेदार, गफाडी अनि चट्ट पारेर मीठा-मीठा कुरा गर्न ऊबाहेक अरू कसैलाई आउँदैन होला नि है ? उसका कुराअगाडि मैले पनि ताविरसँग थुप्रै सपनाहरू देखिसकेकी छु अनि बुनिसकेकी छु पनि ।

बाहिर पानी बर्सन थाल्यो तर पनि खै बाबालाई दादालाई कहाँ होस भ’को हो र । यस्तो समयमा छाता लिएर बाहिर निस्कनुपर्छ भनेर ? कसैले भुल्लर साहेब ! कान्छा सरदारजी ! भनेर बोलाएपछि उहाँहरूलाई भैहाल्यो नि । अरू के नै पो चाहियो र ?

मैले उहाँहरूलाई त्यसबेलादेखि लगभग तीन घण्टा जति कुरिरहेँ । अनि मात्र भिजेर लुत्रुक्क परी आएका दुवै जनाले बल्ल ढोका ढकढकाए । “इबादत ! इबादत !!” भन्दै ।

आवाज सुनेपछि मात्र मैले पनि नखरा पार्दै ढोका खोलिदिएँ । अनि बाबा र दादा, दुवै जना भिजेको लुगाबाट पानी चुहाउँदै भित्र पस्नुभयो । उहाँहरूको मुहारमा मैले भित्र पस्नेबित्तिकै हेरिहालेँ । अफसोसको कुरा उहाँहरू दुवैको अनुहार बिहान घरबाट निस्कँदाको जस्तो थिएन ।

खाना खाँदै उहाँहरूले कुराकानी गर्न थाल्नुभयो । केही कुराहरू मलाई पनि सुनाउन थाल्नुभयो । भन्नुभयो बाहिरको माहोल ठीक छैन भनेर । उहाँहरूले कुरा गरिरहनुभयो म सुन्दै गएँ । १९४० मा पहिलोपटक सिखहरूका लागि पनि छुट्टै राष्ट्रको माग गरिएको थियो । त्यसपछि १९४७ पछि प्रवासी सिखहरूललाई आर्थिक र राजनीतिक समर्थन तथा पाकिस्तानबाट पनि समर्थन मिलेपछि खालिस्तान आन्दोलनले चरम गति लियो । जसमा पञ्जाब, हिमाचल प्रदेश, दिल्ली र चन्दीगढ़ लाई खालिस्तान नामक सिख राष्ट्र बनाउनुपर्ने माग राखियो । पञ्जाबको समस्या १९७० मा पुनः अकाली दलसँग मिसिएर सिख धर्मको कुरा अगाडि आयो ।  त्यही कुरालाई १९७१ मा भारत – पाकिस्तान युद्धपछि पाकिस्तानी प्रधानमन्त्री  जुल्फिकार अली भुट्टोजी र जगजीत सिंह चौहानको कुरा मिलेपछि खालिस्तान राष्ट्र बनाउने कुरा अगाडि सारियो तर त्यही घटना दुई महिना पहिले अर्थात् ३१ अप्रैल १९७८ मा अकाली दल र निरङ्कुश शासन सत्ताबीच झडप हुँदा १३ जना अकाली दलका सदस्यहरूको हत्या भयो । पिताजी यो कुराले अलि निराश हुनुभएको थियो पहिलेदेखि नै तर खास कुरा त उहाँले भर्खर बताउनुभयो कि प्रधानमन्त्री इन्दिरा गान्धीले तत्कालीन सिख धर्म तथा सिखका निम्ति माग गरिएको खालिस्तान राष्ट्रलाई रद्द गर्न जरनैल सिंह भिण्डरांवालेलाई वास्तविक दङ्गाधारीको आरोप लगाई अहिलेसम्मको सबै हत्याकाण्ड तथा मतभेद पनि उनको शिरमाथि थुपरिदिइन् । दादा मौन हुनुभएको छ यसबखत । उहाँलाई थाहा छ हिन्दूस्तान हिन्दूहरूका लागि मात्र हो अनि पाकिस्तान मुसलमानहरूका लागि । अलिअलि रहेका बाँकी धर्मावलम्बीहरू पश्चिम बङ्गाल, सिलोन र बर्मातिर तय गरियो ।

समयले अति नै फड्को फेऱ्यो । सानातिना काण्डहरू सिखको नाममा भन्दै घटिरहे । सहनेहरूले चाहिँ सहिरहे र नसहनेहरूले चाहिँ प्रतिवाद गरिरहे । अब त ताविर र मलाई स्कुलमा बस्न पनि कठिन भयो । हाम्रो निर्दोष अनुहारमा सिख धर्मावलम्बी हुनुको कलङ्क ठोकिदियो ।

स्कुलमा हामीलाई पढ्न पनि असहज हुँदै आयो । चर्काचर्की त तब भयो कि सिख मगन्ते भन्दै ताविरको शिरबाट पगरी निकालिदिए स्कुलमा । यसको प्रतिवाद गर्न जायदा आन्टीले केही सरदारजीहरूलाई लिएर स्कुलमा बहस चलाउनुभयो । बदलामा हामीले के पायौँ ? यही कि ताविर र मैले त्यो स्कुलमा कहिल्यै पनि पढ्न नपाउने भनेर । आखिर किन यति क्रूर छ प्रधानमन्त्री हामीमाथि ? अहो ! म बुझ्न सक्दिनँ । जुन सत्तामा बसी इन्दिराले राज्य चलाइन् त्यही सत्ताको निर्णयले हामी सिखहरूको चुलो चल्न सकेन !

हामीसँगै छाँ – ताविर र म  । जायदा आन्टी र मेरो परिवार धेरै खुसी छ तर बेखुसी त यो समाज बन्यो । हाम्रो गल्लीमा रहेको सिख परिवार अब बिस्तारै हेपिन थाल्यौँ ।

म मौन छु । यसको कारण यो होइन कि मैले कुनै अपराध गरेँ । म शान्त छु उनीहरूका अगाडि तर यो सत्य होइन कि म मैले धर्मको नाममा यो समाजबाट हारिसके भनेर ।

परिच्छेद दुई – पञ्जाब

हरिशङ्करजी त सधैँ नै भन्नुहुन्थ्यो “जब म प्राण त्याग गर्छु तब केवल एकै कुराले मेरो धैर्यलाई बढाइदिन्छ कि झूटो आँसु बगाउनेहरू साँच्चिकै आँसु बगाउनेहरूसँग बाजी मार्नेछन् भनेर ।” आखिर बाजी मारि नै हाल्यो नि भारत सरकारले ।

हजुरकी इबादत एक्काइस वर्षकी भइन् नि थाहा छ भुल्लर साहेब हजुरलाई ? म पिताजीलाई हँसाउने चेष्टा गर्छु तर उहाँ किन हाँस्नु हुँदैन ? थाहा छैन । के बादल मडारिँदैमा के सबै पानीको प्रतीक्षा गरिरहेका हुन्छन् र ? पिताजी ! हजुरलाई थाहा छ हजुरकी इबादतले आज सपनीमा फुलेको फूल देखी । चारैतिर संवरण चम्किरहेको थियो । आहा ! थाहा छ हजुरलाई पिताजी ? सुन्नुहोस् न भन्या पिताजी ! दादालाई पनि सुनाइदिनुहोला, उसकी बहिनीले आज सपनीमा गुरुद्वारामा गुरु गोविन्द सिंहजीले गुरु ग्रन्थ साहिबा पढिरहेकी देखिन् भनेर । उहाँ कति खुसी हुनुहुन्छ होला है ? म धेरै खुसी छु आफ्ना सपनीको कुरा वर्णन गर्नुमा तर किन पिताजी मेरो कुरामा वास्ता राख्नुभएको छैन ? के अब इन्दिराले मेरो पिताजीको दिमागमा पनि दङ्गा मच्चाइदिइन् ? म बुझ्न सक्दिनँ इन्दिराको कुरा न नै पिताजीको ।

‘अकाल उस्तक’ नामक पुस्तक हातमा च्यापेर नानकजीका अगाडि पगरी नत गराइरहनुभएको छ पिताजी । अहिले बाहिरको माहौल पूरै खराब हुँदै आएको छ । म बुझ्न सक्दिनँ किन यस्तो समयमा पनि गुरुद्वारामा लगी ताविरसँग मेरो विवाह गराइदिन चाहनुहुन्छ उहाँ ?

समय बितिरह्यो तर हालादका कारण ताविरसँग मेरो भेटघाट कम हुँदै गइरहेको छ । म बुझ्छु बादल कहिल्यै बादल बन्न छाड्नु हुन्न र पानी सधै पानी नै बनिरहनुपर्छ । यो कुदरत यदि सत्यकै अवस्थामा ल्याउनु छ भने मानिस पनि सधैँ मानिस नै बन्नुपर्छ । हिंस्रक जनावर होइन ।

१८८१ को दशकको हिन्दूस्थान

मोर्चाले नयाँ रूप लियो ।  खालिस्तानको स्वायत्तताका लागि पञ्जाबको आनन्दपुर साहिबमा झन्डा फरफरायो । यसैसमयमा हिन्द समाचार समूहको प्रमुख जगत् नारायणको हत्याका विषयमा जरनैल सिंह भिण्डरांवालेले  आत्मसमर्पण गरिदिए । सेप्टेम्बर १९८१ मा भिण्डरांवालेलाई महता चौक गुरुद्वारेमा गिरफ़्तार गर्दा त्यहाँको भिड र पुलिसबीच गोली चल्यो जसको फल एघार जना व्यक्तिको प्राण त्यहाँबाट उठ्यो । त्यही महिना भिण्डरांवालेको सदस्य दलहरूमध्ये खालसाको गजिन्दर सिंह र सतनाम सिंह पौँटा सहित पाँच सदस्य श्रीनगरबाट दिल्ली आइरहेको इन्डियन एयरलइन्स विमानलाई हइज्याक गरे । विमान छुटाउनका लागि भारत सरकारले भिण्डरांवालेलाई बिना शर्त रिहाइ गरिदिए तर विमानको स्वतन्त्र त तब भयो जब दिल्लीमा पनि सिखको आक्रोश प्रधानमन्त्री इन्दिरा गान्धीले भोग्नुपऱ्यो ।

जुन महिना – हिन्दूस्तान

“पापा ! यस्तो हालातमा पनि अमृतनगर जानु आवश्यक छ र ?” म पूरै निराश भएँ । दादा त आवारा हुनुहुन्छ नै । उहाँ आफ्नै स्वतन्त्रता चाहनुहुन्छ । कतिखेर खाने ? कतिखेर सुत्ने ? उहाँको कुनै ठेगान छैन । अझ यस्तो बेला उहाँ मलाई छाडेर अमृतनगर जान चाहनुहुन्छ ।

उहाँले मेरो कुरा सुन्न चाहनु भएन । उहाँ तीन जुनमा हुने गुरु अरजुन देवको सहिद दिवसका निम्ति दुई जुनको दिन नै घरबाट निस्कनुभयो । त्यो रातभर म घरमा एक्लै रहनुपऱ्यो । दादा बेखबरको बेखबर नै रहनुभयो । असहज परिस्थितिले हामीलाई पूरै घेरिसकेको रहेछ । १८८५ को चुनावी यात्राका निम्ति प्रधानमन्त्री इन्दिरा गान्धीको सरकारले हामी सिखहरूमाथि छल गरिसकेछन् ।

तीन जुन- हिन्दूस्तान

खबर आयो समाचारमा । भारतीय सेनाले अमृतसरको स्वर्ण मन्दिरलाई घेरिसकेका छन् । त्यहाँ बेलुकी कर्फ्यू लगाइयो । त्यो दिन त्यसरी नै बित्यो । दादा नशाको तालमा मस्त हुनुहुन्छ । उहाँलाई बाबाको कुनै चिन्ता नै छैन । हुन त म चिन्ता लिएर नै के गर्न सक्थेँ र यो परिस्थितिमा ? अब हामीहरूमा केवल एउटै उपाय शेष बचेको थियो । गुरुद्वारामा गई नानकजीका अगाडि रुनुधुनु ।

इन्दिराले तबमात्र आफ्नो सत्ताको पकडलाई वास्तविक रूपमा देखाइन् । जब पाँच जुनमा भारतीय सैनिकले संवरण मन्दिरभित्रको सिख तथा भिण्डरांवालेका दलमाथि उनले गोली चलाउने आदेश दिइन् । गोली चल्यो । चलिरह्यो । रातभरि चलिरह्यो । भारतीय सैनिकले आँकडा निकाले मन्दिरभित्र कति हातहतियार एवं मोर्चाबन्दीहरू तथा चरमपन्थीहरूसँग के कस्ता हातहतियार छ भनेर ।

त्यो रात म चिच्याइरहे । बाबा बाबा भनेर तर मेरो आवाज संवरण मन्दिरसम्म पुग्न सकेन । सारा सिखहरूले इन्दिराको अगाडि हात जोडे तर उनलाई त जसरी पनि सिखलाई खत्तम गरेर १८८५ को चुनाव जित्नु थियो । त्यो दिन इन्दिराको आदेशमा गुरु नानकको गुरुद्वारामा गोली चलिरह्यो, चलिरह्यो । अझै चलिरह्यो ।

चरमपन्थीहरूले यो अत्याचार सहन गर्न सकेनन्  । उनीहरूले पनि भारतीय सैनिकमाथि गोली र बमले भरिएको ट्याङ्कको प्रयोग गरे । पाँच जुनको पूरै रात संवरण मन्दिरभित्र भिडन्त भइरह्यो । तीन जुनको दिन स्वर्ण मन्दिरभित्र फसेका श्रद्धालुजन । सिख तथा मन्दिरमा आएका विशिष्ट व्यक्तिहरू त्यो भिडन्तमा च्यापिए ।

चारैतिर मौनता छाएको छ । मेरा अगाडि दादा उभिनुभएको छ । आँखामा आँसु लिएर । वाडको पछिल्लो ढोकामा जावेदा आन्टीलाई ताविरले सम्हालिरहेकाका छन् । मलाई थाहा छ पञ्जाबका भुल्लर साहेब अर्थात् मेरो बाबाले नानकजीको संवरण मन्दिरभित्र भएको दङ्गामा आफ्नो प्राण इन्दिराको आउने १८८५ को चुनवी विजयका लागि उपहार दिएका छन् ।

मलाई यति मात्र थाहा छ । मेरो चिच्याहट त्यहाँ कसैले सुन्न सक्ने थिएनन् भनेर । अरू मलाई थाहा छैन । हिन्दूस्तानमा के घटना घटिरहेको छ भनेर ?

बाबा ! ….बा…….बा …! मेरो सँगै सारा सिखहरूको चिच्याहट, हाहाकारले पूरै हिन्दूस्तानलाई रुवायो तर प्रधानमन्त्री इन्दिराजी भने खुसीले पागल हुनुभएको छ । अबको चुनावी यात्रा र उहाँको कङ्ग्रेस सरकारले राजनीतिमा ठुलो फड्को फेऱ्यो ।

बधाई छ प्रधानमन्त्रीज्यू ! हजुरलाई इबादतको नामबाट ।  हजुरको ‘अप्रेसन ब्लु स्टार’ सफल भयो । साथमा सिखहरूको महत्त्वपूर्ण पुस्तकालयमा पनि जलाएर हिन्दूस्तानबाट पूरै सिखको तबाही मच्चाउन सफल हुनु भएकोमा ।

अवस्था सुध्रनेवाला छैन । न नै दादा सुध्रनेवालामा छन् । अब उनको टाउकोबाट पगरी पनि हटेको छ । उहाँ पूरै पागल हुनुभैसक्यो बाबाको हत्यापछि । म सम्हाल्न सक्दिनँ उहाँलाई । नशाको तालमा उहाँले आफ्नो नाम, वतन, राष्ट्रियता सब भुल्नुभएको छ । कति पागल ? म बताउन सक्दिनँ । हो म बताउन सक्दिनँ कति पागल हुनुभएको छ दादा भनेर ? बिन्ती छ मलाई नसोध यस्ता कुरा । बिन्ती छ ….। भने नि म बताउन सक्दिनँ उहाँ कति पागल हुनुभएको छ भनेर । मलाई सम्हाल्दै हुनुहुन्छ जावेदा आन्टीले । ताविर मसँग कुरा गर्न चाहन्छ तर म ऊसँग कुरा गर्न चाहन्नँ । किनकि मलाई त मेरो बाबासँग कुरा गर्नु छ । सक्छौ ताविर मलाई बाबासँग कुरा गराइदिन  ? भन न ताविर ! अबको मेरो पासो ताविरतिर ढल्केको छ । उसका ती मीठा-मीठा कुरा, सपनाको के अर्थ ? जाबो मेरो एउटा इच्छालाई पनि पूरा गर्न सक्दैन भने ।

ऊ हाऱ्यो मेरा अगाडि । सायद समयले नै मलाई बाबासँग कुरा गर्ने मौका दिने छ ।

परिच्छेद तीन – ३१ अक्टोबर १८८४

यस्तै साँढे तीन बजेको थियो होला ।

“अरे ! खुसियाँ मनाओ ! नानी मर गई ।”

“हाँ जी हाँ ! खबर पक्की है खुसियाँ मनाओ ।”

भन्दै एक जमात महिलाको दल लड्डु बाँड्दै गल्लीमा निस्किए । अर्को पुरुषका दलहरू बाजागाजाका साथ आउँदै छन् ।

यत्तिकैमा जावेदा आन्टीले मेरो मुखमा एउटा लड्डु लगाउँदै भन्नुभयो “इबादत ! खुसियाँ मनाओ । नानी चलिगई ।” मैले उहाँको कुरा बुझिनँ । तल पुरुषको जमातमा ताविर र दादा दुवैजना हात अँठ्याएर अङ्कमाल गर्दै नाचिरहेका छन् । गीतको बोल नै थियो ‘ खुसियाँ मनाओ ! नानी मर गई ।’

वास्तविकता बुझाउँदै जावेदा आन्टी बोल्नुभयो, “थाहा छ ! अप्रेसन ब्लु स्टार चलाएर ४९३ सिख एवं आन्दोलन कारीलाई मारी १५९२ जनालाई गिरफ्तार गराउने नानीलाई आज बिहान ९:२९ मा नयाँदिल्लीको सफदरजङ्ग रोडकै उनकै घरमा हाम्रा सिख सरदार बेअन्त सिंह र सतवन्त सिंहले गोली हानेर मारिदिएछन् नि । बडा खुस खबर आज आगया जी ! दिल खुस हुवा ।”

उहाँ त थपडी बजाएर नाच्न थाल्नुभयो । खुसियाँ मनाओ ! नानी मर गई । अन्धकार बढ्दै गर्दा सिखहरूको खुसी पनि बढिरह्यो । दिल त मेरो पनि खुसीले ननाचेको कहाँ हो र ? नानीलाई ३१ गोलीले सलामी जो दिएका छन् ।

३१ अक्टोबरको रात- हिन्दूस्तान

पाकिस्तानबाट ट्रेनिङ लिएका आतङ्कवादीहरूलाई ट्रकमा ओसार्न थालियो । दङ्गा मच्चाउनका लागि । सिखहरूको विनाश तय भयो । अब सिखहरूले बाँच्ने आँस छोडिदिए । किनकि राज्य नै सिखको विनाश गर्न तल्लीन थियो । आन्दोलन उग्र तवरले अगाडि आयो ।

रातिको दस बजे । घरअगाडिको रोडमा एक हुल जमातको भिडमा लागेका छन् । उनीहरू गेटको ताल्चा तोड्दै गरेको आवाज आइरह्यो ।

‘गिन गिन कर सरदार मरेङ्गे, एक के बदले चार मरेङ्गे ।’

‘खुन के बदले खुन हि लेङ्गे !”

‘सरदारका बच्चा कभि न सच्चा ।’

उनीहरूलाई थाहा छ यो घरमा सिख परिवारहरू बस्छन् भनेर । उनीहरूलाई राज्यले चाहिने गुन्डा, रड, मार्नका निम्ति छुरा, जलाउनका निम्ति पेट्रोल सबै उपलब्ध गराइदिएको छ । बस सिखहरू कोही पनि जीवित रहनु भएन ।

यत्तिकैमा पल्लो गल्लीबाट गुरखसिंहको आवाजले सुतिरहेको वातावरणलाई जागा गराइदियो । उसको चीत्कार केही समयसम्म आइरह्यो । अनि शान्त भयो । साथमा हावामा मासु जलेको गन्ध पनि छरियो । जावेदाले सोचिन ‘आतङ्ककारीहरूले गुरसिंहको दुई छोरी र उनकी श्रीमतीको के हविगत गरे होलान् ?’ उनको शरीर काँप्न थाल्यो ।

गुरखसिंहलाई जिउँदै जलाएको कुराले उनी बल्ल होसमा आइन । बाहिर त उसको छोरो ताविर पनि त छ होइन र ? हो बाहिर उसको छोरो ताविर र इबादतको दाजु पनि छ । खुसी मनाउँदै छन् र उनीहरू दुवै सिख हुन् । त्यही सिख जसलाई प्रधानमन्त्री इन्दिराको हत्या भएपश्चात् राज्यले पनि उनीहरूलाई मार्न छुट दिएको छ ।

बाहिर पूरै अन्धकार छ । मात्र टायर जलेको र टाढा-टाढाबाट आइरहेको रुवाबासीले छाएको छ पूरै माहोल । अनि रोडबाट आइरहेको उहीँ आतङ्ककारीहरूको कर्कशपूर्ण आवाज ।

गिन गिन कर सरदार मरेङ्गे, एक के बदले चार मरेङ्गे ।’

‘खुन के बदले खुन हि लेङ्गे !”

‘सरदारका बच्चा कभि न सच्चा ।’

गेटको ताला तोडेको आवाज भित्रसम्म प्रस्ट आयो । जावेदा र इबादत अब उनीहरूका अगाडि मात्र दुईवटा बिकल्प रहेको छ । कि त मार कि त मर । पहिलो अलि कठिन छ किनकि उनीहरू चारैतिरबाट घेरिएका छन् । अनि दोस्रो ? अहो ! जाबेदाले झ्यालको प्वालबाट सुस्तरी चिहाइन् । बाहिर त्यस्तै तीसको हाराहारीमा केटाको जमात छ । जो अहिले मख्ख परेर कोही माथितिर हेर्दै थुक चाटिरहेका छन् भने कोही ताल्चा तोड्ने समयको प्रतीक्षामा छन् । तबाहीका लागि ।

यत्तिकैमा आँगनबाट ठुलो आवाज आयो,

“जावेदा !”

“आ जावेदा !!”

“इबादत !”

“ओ इबादत !!”

‘तिमीहरूका निम्ति तोहफा आएको छ । एक के बदले चार । यी हेर हेर ! ताविर र कान्छा सरदार कसरी सुतिरहेका छन् घाँटीमा छुरा अड्काएर ?” फेरि उनीहरूले त्यही कर्कष आवाज निकाले । ‘गिन गिन कर सरदार मरेङ्गे, एक के बदले चार मरेङ्गे , खुन के बदले खुन हि लेङ्गे !”, ‘सरदारका बच्चा कभि न सच्चा ।’

एक जमातको कुरा नसक्किँदै अर्को जमातले ढोका ढकढक्याउन थाल्यो । जावेदा हेरिरेकी छिन् । बाहिर आँगनमा लडिरहेको छोटे सरदारजी र छोरा ताविरको मृतरूपलाई । बग्दैनन् उनको आँखाबाट आँसु । नसोचे हुन्छ तिमीले ? यो इन्दिराको अप्रेसन ब्लु स्टार हो भनेर । नसोच हिन्दूस्तानले १८८५ को चुनावी माहौलको तयारी गरिरहेको छ भनेर ।

इबादत । आफैँ बर्बराउन लागिन् । “बाबा ! मैले भनेकी थिएँ नि समयले नै मलाई हजुरसँग भेटाउछ भनेर । हेर्नुहोस् त आज त्यो समय आएको छ ।” उनी साँच्चिकै पागल हुन थालिन् । चिच्याउन थालिन् । आफ्नै कपाल लुछ्न थालिन् ।

उनले पनि झ्यालको त्यो सानो प्वालबाट बाहिर आँखा डुलाइन । जहाँ उनको दाजु र ताविरको लास लडिरहेको छ । अब के चाहियो र ? उनी ताविर भन्दै ढोकातिर हुत्तिँदै गइन । जहाँ ताविरको उड्ने घोडा उनलाई लिन आएको छ । जहाँ आगराको ताजमहलझैँ उनका लागि पनि ताविरले बनाएका ताजमहलले उनको प्रतीक्षा गरिरहेको छ र जहाँ लगभग तिसको हाराहारीमा रहेका केटाहरू थुक चाट्दै ‘इबादत !” भन्दै उनलाई बोलाउँदै छन् ।

 

प्रतिक्रिया
Loading...