आमालाई खुसी पार्न अक्षर बनाउँदा बनाउँदै बिस्तारै मेरा अक्षरहरू साँच्चै नै सुन्दर बने । देब्रे हातले लेखेको मन नपराउने मेरी आमा “छापाजस्तो अक्षर लेख्” भनेर कराउनुहुन्थ्यो । लाखौँ कोसिस गर्दा पनि म भने दाहिने हातले लेख्नै सक्दिनथेँ, आखिर आमाले पछि मलाई भन्न नै छोड्नुभयो । भाइ र मसँगै लेख्न बस्थ्यौँ जति नै नराम्रा उसका अक्षर भए पनि उसलाई आमाले कहिल्यै गाली गर्नुहुन्थेन कारण ऊ दाहिने हातले लेख्थ्यो ।

यसरी आमाको कारणले राम्रा बनेका मेरा अक्षर देखेर साथीहरू छक्क पर्थे । एकदिनको कुरा हो मेरी मिल्ने साथीले मलाई उसका निम्ति एउटा लभलेटर लेखिदिन आग्रह गरी । उसका अक्षर खासै राम्रा थिएनन्, आकर्षक थिएनन् त्यसकारण उसले मसँग हेल्प मागी । मैले उसका लागि लभलेटर लेखिदिएँ । यो कुरा बिस्तारै हाम्रो ग्रुपमा सबैलाई थाहा भयो । जम्मा आठ क्लासमा पढ्ने मैले दश क्लासमा पढ्ने साथीका दाजु दिदीको पनि लेटर लेखिदिनुपर्ने हुन्थ्यो, कहिलेकाहीँ । लभलेटरको क्रेज थियो त्यो जमानामा । आफ्नो सुन्दरताको मुल्याङ्कन चिठी सङ्ख्या गनेर गर्ने गर्थ्यौँ हामी । एउटै केटाले चार पाँच जना केटीहरूलाई एकैपटक चिठी पठाउँदा हाम्रो कक्षामा एकदिन ठूलै हङ्गामा मच्चिएर  हेडसरको अफिससम्म कुरा पुगेको पनि त थियो ।

एकदिन टिफिन ब्रेकमा ग्राउन्डमा बसेर मेरी साथी र म साथीको दाजुको लभलेटर लेख्दै थियौँ । टिफिन ब्रेक सक्कीवरी क्लास सुरु भएको हामीले पत्तो पाएनछौँ । बिन्दु मिसले आएर “किन तिमीहरू यहाँ घण्टी लागेको सुनेनौ?” भन्दै पिट्नुभयो अनि पो हामी झस्किएर भाग्यौँ । त्यो दिन त आइ वाज कट रेड ह्यान्डेड । मिसको थप कुटाई खानुअघि मैले आफैँ सबै कुरा भनेँ । त्यसपछि क्लासमा सबैको ब्याग चेकिङ्ग भयो । प्रायःका ब्यागबाट लभलेटर फेला परे, सबै लेटरमा कपिराइट मेरै थियो । मलाई त्यसपछि हेडसरको अगाडि उभ्याइयो । उहाँले पिट्नु त भएन तर अलि बेर गाली गरेर अबदेखि कसैको लेटर नलेख्ने सर्तमा मेरो गुनाहको माफी भयो । त्यसदिनदेखि मैले स्कुलमा लभलेटर लेखिदिने काम बन्द गरेँ । स्कुल छुट्टी भएर घर फर्कँदा बाटामा एकछिन बसेर पनि अर्जेन्ट चिठीको जबाफ फर्काउनुपर्ने हुन्थ्यो कुनै दिन । साथीहरूबीचमा असाध्यै मेलमिलाप थियो हाम्रो । त्यसैले होला लभलेटर  एकै जनाले सबैलाई पठाउँदा पनि हामी एकआपसमा हाँसेर पढ्दै रमाइलो गर्थ्यौं ।

लभलेटरकै शिलशिलामा मैले कलङ्कीको प्रसङ्ग पनि जोड्न रुचाएँ । छिमेकमा एकजना रामवदन नाम गरेकी दिदी हुनुहुन्थ्यो । उमेरले दिदी भए पनि हामी दुई बेस्ट फ्रेन्डजस्तै थियौँ । एउटा आँखा सानो भएको कारण उहाँको बिहे भएको थिएन । सबै कुरा सेयर गर्ने उहाँले मलाई एकदिन आफू कोही केटालाई मन पराउने कुरा सुनाउनुभयो । मैले पनि “एउटा चिठी लेखौँ दिज्जू, जे त पर्ला” भनेर फकाएँ । उहाँको मञ्जुरीमै मैले सबै कुरा खुलाएर दिज्जूको नाममा त्यो केटालाई लभलेटर लेखेँ । लेटर दिएको एक हप्ताभित्रमै त्यो केटाको जबाफ पनि आयो । हामी दुवै खुबै खुसी भयौँ ,एक वर्षपछाडि दिदीको उसैसँग बिहे भयो ।

मेरो नाममा आउने लेटरहरू साथीहरूसँग मिलेर पढ्थेँ अनि च्यातेर फाल्ने गर्थेँ म । मेरो जीवनमा दुईवटा चिट्ठी यस्तो आयो जसको यादले आजसम्म मलाई झस्काइरहन्छ ।

त्यतिबेला म  स्कुलमा पढाउथेँ । एकदिन क्लासको लास्ट सिटमा बसेर क्लासवर्क चेक गर्दै थिएँ, अचानक एउटा विद्यार्थीछेउमा आएर दोबारेर सानो पारेको कागज दियो र आफ्नो बेन्चमा गई बस्यो । मलाई खुल्दुली भयो, क्लासमा हल्ला गर्नेको नाम पो हो कि भन्ने सम्झेर मैले खोलेर हेरेँ । हे भगवान्‌ ! म छक्कै परेँ, मलाई छटपटी भयो, त्यो त मेरो विद्यार्थीले मलाई नै लेखेको लभलेटर थियो ।

शशी भट्टराई श्रेष्ठ

मैले उसलाई छेउमा बोलाएर सम्झाएँ , “किन यस्तो लेखेको ? तिमी त मेरो भाइजस्तो हौ, यति सानो छौ । म त तिम्रो टिचर पो हो त!” यति मैले भनेपछि ऊ रोयो । मैले “प्रिन्सिपलको रुममा लान्छु, यो लेटर देखाउँछु” भनेँ तर ऊ केही बोलेन । मेरो अगाडिको त्यो क्लास पाँचमा पढ्ने केटा देखेर मायाँ लाग्यो । त्यस दिनदेखि ऊ क्लासमा चुपचाप बस्थ्यो, लन्चमा मलाई देखेको बेला नजिक आएर उसको टिफिन खान अनुरोध गर्थ्यो । मैले नकार्दा ऊ निराश हुन्थ्यो अनि म थोरै खाइदिन्थेँ, ऊ खुसी हुन्थ्यो । अर्को वर्ष ऊ आफ्नो बाबासँग लन्डन गयो उतै बस्ने गरेर । त्यो साहसी केटा आजसम्म पनि म सम्झिरहन्छु ।

अर्को मेरो मन छुने चिठीचाहिँ मैले मजस्तै वा भनौँ उमेरले मभन्दा अलि जेठी केटीको नामबाट पाएकी थिएँ । अहिले सम्झँदा ऊ समलिङ्गी रहिछ जस्तो लाग्छ । ऊ मेरो नजिक हुँदा मेरो मात्र तारिफ गरेर बस्थी । छेउमा आएर गाला सुमसुम्याउने, कपाल चलाउने, हात समातेर बस्ने गर्थी । उसको घर दार्जीलिङ थियो, यत्ति धेरै मायाँ गर्ने नि म दङ्ग पर्थेँ । मसँग उसले अँगालो हालेर धेरै फोटो खिचेकी थिई । चिठी आदानप्रदान भइरहन्थ्यो, कहिले आउने दिज्जू भनेर मैले पठाको लेटरमा ऊ मलाई सधैँका लागि लिन आउँछु भनेर उत्तर आएपछि पो म डराएँ, उस्ले सँगसँगै बिहे गरेर बस्ने कुरा लेखेको नै अन्तिम चिठी भयो । त्यसपछि म सम्पर्कमा नै आउन चाहिनँ । मैले उनको त्यो चिठीको र त्यसपछिका उनका कुनै चिठीको पनि उत्तर दिइनँ, आजभोलि उनी फर्पिङको एउटा गुम्बामा भिक्षुणी भएर बसेकी छन् रे भन्ने कुरा सुन्दा अचम्म लाग्छ ।

मैले आफूले चाहिँ लेखेको अविस्मरणीय चिठी  वाईवाई फ्याक्ट्रीको मालिकलाई नै हो । कलेजमा कम्पिटिसन थियो । नेपाली टिचर कृष्णहरि बराल सर हुनुहुन्थ्यो । वहाँले आफूलाई मन पर्ने मान्छेको नाममा चिठी लेख भन्नुभएको थियो । साथीहरूले अरू कसैको नाममा लेखे, म भने वाईवाई असाध्यै मन पराउने भएकीले अचानक वाइवाइ मालिकको नाममा चिठी लेख्ने सोच आयो र विनोद चौधरीको नाममा लभलेटर लेखिदिएँ । भोलिपल्ट सरले सबैको लेटर लिएर क्लासमा आउनुभयो । म फस्ट भएछु, सरले त्यो लेटर सबै साथीहरूको अगाडि नै पढेर सुनाइदिनुभयो, म लाजले भुतुक्कै भएँ । साथीहरूले पछिसम्म पनि मलाई जिस्काइरहे ।

जुन समयमा मोबाइलको त के कुरा फोन को पनि पहुँच नभएका बेलामा चिठीको महत्त्व कति रहेछ भन्ने कुरा आज लैनसिंह वाङ्देलको “मुलुक बाहिर म” , पारिजातको “अपराजिता” पढे मात्र पनि बुझ्न सकिन्छ ।

चिठी र हुलाकको क्रेज सबै मोबाइलले लिएपनि अझै मेसेन्जरमा चिठीको आदानप्रदान चल्ने गरेको रै”छ । मेरो एकजना विश्व बैङ्कमा जागिरे तराईबासी मित्रले एउटा लेटर लेखिदिनुपर्ने अनुरोध बारम्बार गरेपछि मैले नकार्न सकिनँ र वहाँकी प्रेमीकाका लागि लेखिदिएँ । वहाँले त्यो चिठी के गर्नुभयो, वहाँको मिसन पूरा भयो भएन मलाई थाहा छैन तर चिठीको क्रेज यो दुनियाँमा अझै छ भन्ने कुराको प्रमाण थियो त्यो ।

संसारका महान् व्यक्तिहरूको कैयौँ चिठीहरू पढ्दा यस्तो लाग्छ शब्दले नै मान्छेका मन मुटु हल्लाउन सक्छन् । मायाँको कुनै रूपरङ्ग हुँदैन, वास्तवमै हो । मायाँको कुनै परिभाषा हुँदैन । यसलाई वर्गीकरण गर्न यसको कुनै क्लास हुँदैन । एकदमै भावुक र कठिन शब्द छानीछानी लेखिएका प्रेमपत्र हुन् वा निकै नै सरल लेखनशैली अपनाएर कोरिएका प्रेमका चित्र हुन्, सबैमा छताछुल्ल पोखिएको हुन्छ प्रेमिल भावना ।

नेपोलियनको लभलेटर वा राजा हेनरीका लभलेटर पढ्दा लाग्छ कि मायाँ अर्थात् प्रेम एकदमै बेसलेस छ, यसका कुनै आधार छैनन्, न कुनै आयाम नै । खैर ! मलाई याद भएको र सबैभन्दा राम्रो लागेको चाहिँ –  मैले वाईवाईको स्वादमा फिदा भएर– हजुरलाई आइ लभ यु भन्दैछु भनेर लेखेको चिठी नै हो । जमाना सँगसँगै आफ्नो भावना व्यक्त गर्ने यस भर्चुअल संसारमा नयाँ-नयाँ तरिका आएका छन् । मायाँका नराम्रा पक्ष पनि हुन्छन् जस्तो मलाई लाग्दैन । मायाँको मुकुट लगाई भित्र लुकेका ती सेल्फिस अनुहार र सेल्फिस एक्सपेक्टेसन्सका रिजल्ट हुन् बलात्कार, एसिड आक्रमण आदि ।

एनिवे, मायाँको कुरा मैले अब टुङ्ग्याउन चाहेँ । हरेक प्रेमीलाई उसको प्रेम मिलोस्, हरेक प्रेम सफल भइरहोस् । ।