रातभर निदाउने कोसिस गरिरहेँ । सपना पनि राम्रो परेन । सपनामा मलाई जोड-जोडले पिसाब लागिरहेको थियो । रात पुस माघको जस्तो चिसो थियो । बिस्तारै उठेँ, बत्ती बालेँ, कोठा उज्यालो भयो । ढोका खोलेँ, च्यार्रच्यार्र गरेर ढोका उघ्रियो । एक हुल प्रकाश आँगनमा पोखियो । आँगनभरि हुस्सुको बाक्लो तह टल्किरहेको थियो ।
राजमार्गमा एउटा पनि गाडीहरू चलेका थिएनन् । चिसो राजमार्ग लम्पसार परेर सुतिरहेको थियो । माथि जङ्गलबाट आएको स्यालको हुइयाँले मेरो डरलाई झन् बढाइरहेको थियो । म हतार हतार घरछेउको शौचालयमा छिरेँ र आफूलाई हल्का बनाएँ । बाहिर निस्केपछि राजमार्गछेउ उभिएर धर्तीलाई हेरेँ । चिसा पहाडहरू सुनसान रातमा न्यानो बिहानीको पर्खाइमा झोक्राइरहेका थिए ।
घरभित्रको बत्ती झिमिक-झिमिक गरेर निभ्यो । त्रिशूलीबाट एक झोक्का चिसो हावा सर्रर चल्यो । सडकको पारिपट्टि केही खस्रक्क गऱ्यो । कोहीहिँडेजस्तो आवाज आयो । भुईँकुइरो सलबलाउन थाल्यो । बिस्तारै हावामा तैरियो र अमूर्त आकृति बन्न थाल्यो । आकृतिले मानव स्वरूप लियो । बिस्तारै आकृतिनजिक पुगेर हेरे त्यो आकृति ठ्याक्कै बाटुलीको थियो ।
सेतो एकसरो कपडामा मेराअगाडि बाटुली उभिएकी थिई । उनका ओठ, गाला र आँखा सुन्निएका थिए

प्रदीप देवकोटा
। कपाल फुक्का छोडिएको थियो । घाँटीमा गहिरो नीलडाम थियो यस्तो लाग्थ्यो भर्खरै कसैले उनलाई घाँटीमा डोरीले तान्दै ल्याएको थियो । उनको हात पछाडि बाँधिएको थियो । उनीकेही नबोली एकोहोरो मलाई नै हेरिरहेकी थिइन् । यति राति उनलाई यस्तो अवस्थामा देख्दा मेरो दिमागले केही सोच्न सकेन । मेरा आँखाहरू एकटक बाटुलीमा अडिए ।
पाइला अगाडि बढाउन खोज्दा मेरा पैतालाहरू टेकेकै ठाउँमा जमिसकेका थिए । त्यहीबेला गाडीको चर्को उज्यालो मेरो आँखामा ठोक्कियो । म अन्धो भएँ । अघिपछि सरौँ खुट्टा चल्दैन, हेर्न खोज्यो सारा संसार उज्यालो अन्धकारमा छ । म हार खाएर त्यहीँउभ्भिरहेँ । केहीबेरमा मलाई गाडीले उछिट्याएर राजमार्गको पल्लाछेउमा पुऱ्याइदियो ।
शरीरमा कुनै चोट थिएन, कतै दुखाइ थिएन तर धड्कन मधुरो हुँदै थियो अनि श्वासको गति पातलिँदै थियो । मधुरो उज्यालामा बाटुली भएतिर हेरेँ, सेतो मानवआकृति बिस्तारै भुईँकुहिरो बनेर तलतिर झर्दै थियो र झरिरह्यो ।
***
बाटुलीलाई पहिलोपटक कक्षा नौमा भर्ना हुन आउँदा भेटेको थिएँ।उनको घर पूर्वी तराई इटहरी बजारनजिकै थियो, पछि बसाइँ सरे, सलाङघाट बजारनजिकै जग्गा किने, दुईतले घर बनाए ।त्यही घरमा सानो होटेल खोलेर बसेको छ बाटुलीको परिवार । उनी सहित परिवारमा बुबा, आमा र भाइ छन् । भाइ सानै छ, घर नजिकैको बोर्डिङ स्कुलमा चार कक्षामा पढ्छ । घर ल्याउने र स्कुल पुऱ्याउने काम स्कुल बसले नै गरिदिन्छ ।
बाटुलीलाई जन्म दिने आमा यस संसारमा हुनुहुन्न । उनकाबाले यतै आएर घर बनाएपछि धादिङतिरको केटीसँग दोस्रोविवाह गरे । उमेरमा सात आठ वर्षको फरक छ बाटुली र कान्छी आमाको । पहिलोपटक सँगै भेट्दा जो कसैले दिदीबहिनी होलान् भन्ठान्छन् रउनीहरूको स्वभावपनिठ्याक्कै मिल्ने साथीजस्तो छ । आमाछोरीकाबीचमा धेरै कुराहरू साटासाट हुन्छन् यतिसम्म कि घरका स-साना पारिवारिक कुरामा पनि आमाछोरीबीच घर सल्लाह हुन्छ । बाटुली आमालाई घरको काममा सघाउँछिन् । आमा पनि बाटुलीलाई व्यावहारिक कुराहरू सिकाउनुहुन्छ जस्तो कि कोसँग कसरी बोल्ने, कस्तो लुगा लगाउने, शृङ्गार कसरी गर्ने आदि आदि ।
बाटुलीको बालाई घरको, होटेलको अनि परिवारको कुनै मतलब छैन। सबै जिम्मेवारी बाटुलीको आमाछोरीको काँधमा छ । काम गर्न सजिलो होस् भनेर दुई जना कामदार पनि राखेका छन् । होटेलको पकाउने, चलाउने, भाँडा माझ्ने र सरसफाइको काम तिनै कामदारहरूले गर्छन् ।
घरमारक्सी नभएको होइन तर एक्लै पिउन मज्जा हुँदैन भनेर साँझ पर्नेबित्तिकै भट्टीतिर हराउँछन् । आधा रातसम्म पनि घर फर्किएका हुँदैनन् । प्रायः जसो घरबाहिरै हुन्छन् । कहिलेकाहीँ त महिनौँसम्म हराउँछन् । नाबालक छोरो, उमेर पुग्न लागेकी छोरी र भर्खरै बिहे गरेर ल्याएकी श्रीमतीको पनि खासै मतलब राख्दैनन् ।
बाटुली हल्का श्यामल वर्णकी छिन्। तराईमा जन्मेहुर्केकी भएर होला बोल्दा अलिअलि हिन्दी लवज आइहाल्छ । जिउडाल सल्लक मिलेको, फराकिलो निधार, बाक्ला परेला, पुक्क परेका गाला, कसिला हातगोडा र पुष्ट उठेका छाती। भोजपुरी सिनेमाकी नायिकाभन्दा कम राम्री छैन बाटुली । दुई चुल्ठी पारेर बाटेको लामो कपाल, आकासे रङ्गको सर्ट र घुडाँसम्म आउने गाढा निलो रङ्गको फ्रकमा स्कुल आउँदा पुतलीजस्तै देखिएकी थिई । मलाई त्यही दिन,त्यही पलमै बाटुली मन परेकी हो । भन्छन् नि पहिलो नजरमा प्यार । हो, मलाई पनि पहिलो नजरमा प्यार भयो ।
नयाँ ठाउँ, नयाँ परिवेश अनि नयाँ मानिसहरू । उनलाई पक्कै अनौठो लागेको होला । सधैँ गुमसुम रहन्थिन् । खासै कसैसँग नि बोल्दिन थिइन् । उनको बोली सुनिने भनेकै सरले हाजिर बोलाउँदा “हाजिर सर” भन्ने दुई शब्द थियो ।
हाम्रो गाउँ सँगै भएकाले आउँदाजाँदा देखादेख हुन थाल्यो । सुरुमा नबोलेपनि भेट्दा मुसुक्क हाँस्ने भयौँ । चिनजान बढ्दै गएपछि धेरै कुराहरू साटासाट हुन थाले । लास्ट बेन्चमा बसेर साथीहरूको कुरा काट्ने, नजानेका कुराहरू सोध्ने, गृहकार्य सार्ने, बेलाबेला हाफ टाइममा स्कुलबाट भाग्नेसम्म हुन थाल्यौँ । हामीबीचको दोस्ती राम्रै झाङ्गियो । वर्षको अन्तसम्ममा हामी अति मिल्ने साथी भयौँ ।
वर्ष थपिएसँगै उमेर थपियो अनि उमेर थपिएसँगैशरीरमा अनेकरूप, रङ्ग र तरङ्ग थपिए ।आफ्नोशरीर आफ्नै हो जस्तो नलाग्ने । शरीरफूलजस्तो हलुका र मन काँचजस्तो नाजुक हुनथाल्यो । सायद बाटुलीलाई पनि यस्तै हुँदो हो ।
रूपमा त बाटुली राम्री थिइन्नै झन् नौ कक्षाबाट प्रथम भएर १० मा आएपछि त उनीसँग बेन्चमा सँगै बस्न केटीहरूको हानथाप हुन थाल्यो । केटीहरूको एउटा झुन्डले उनलाई सधैँ घेरिरहन थाल्यो । केटाहरूआफूलाई बाटुलीको नजरमा पार्न अनेक हर्कत गर्न थाले ।दिनहुँलभलेटर आउन थाल्यो । स्कुलका भित्ताहरूमा पानको पातभित्र उनको नाम धेरैपटक लेखियो, मेटियो अनि फेरि लेखियो ।
स्कुलमा सधैँजसो एउटा न एउटा बहानामा झगडा हुन थाल्यो र हरेक झगडामा कतै न कतै बाटुलीको नाम जोडिन्थ्यो । स्कुलकासारा केटाहरू उनको पछि लाग्दा बिचराकेहीआफूलाई राम्री भन्ने केटीहरू भनेछायामा परे जुन उनीहरूलाई सह्य भएन । बाटुलीलाई मन नपराउने केटीहरू र तिनीहरूलाई मन पराउने केटाहरूको एउटा समूहबन्यो र हामीहरूको अर्को समूह । हाम्रो समूहको नाइके म थिएँकिनकि मेरो जिउ र उमेर अरूको भन्दा ठुलो थियो। म पढाइमा कमजोर भए पनि दादागिरीमा एक नम्बर थिएँ ।
हाम्रो स्कुल राजमार्गछेउमा भए पनि घरबाट टाढा थियो । हुनेखानेहरू साइकलमा जान्थे नहुनेहरू कि हिँड्दै जान्थे कि राजमार्गमा चल्ने गाडीहरूसँग सिट मागेर जान्थे । स्कुल ड्रेसमा भएकाहरूलाई सकेसम्म गाडीहरू रोक्न खोज्दैनन् । बस, माइक्रो त कहिल्यै रोकिँदैनन् । कहिलेकाहीँ टिप्पर, ट्रकले रोकिहाले पनि राम्रो व्यवहार देखाउँदैनन् । अलि उमेर पुगेका केटीहरू गाडीमा चढिहाले भने अश्लील शब्दहरू बोल्ने, हातले इसारा गर्ने र शरीरमा अनावश्यक छुने चिमोट्ने गर्छन् । १० किलोमिटरको बाटो गाडीमा त धेरै टाढा होइन तर हिँड्दै जाँदा एक बिहान जान्थ्यो त्यसैले आफूले चिनेको गाडीमा मात्रै झुन्डिएर भए पनि यात्रा गर्न बाध्य थियौँ । राजमार्गछेउमै घरभएर पनि हामीले कहिल्यै यसको उपयोग गर्न पाएनौँ ।
बिहान आठै बजे घरबाट निस्कियो, एकछिन धनेकोहोटलमा भुल्यो । बाटुलीको घरअगाडि गएर उभ्भियो, आफू आएको सङ्केत दिएपछि अलि पर खोल्सीमा कुरेर बस्यो । मनमा अनेक कुराहरू खेलायो, खल्तीमा राखेको प्रेमपत्र हातले सुमसुम्यायो, म्वाइँ खायो अनि फेरि जतनसाथ खल्तीमै राख्यो । मेरो हरेक बिहानको दैनिकी एक महिनादेखि यसरी नै बितिरहेको थियो ।
आज पनि त्यसैगरी चलिरहेको छ । बाटुलीलाई मायाँ गर्छु भनेर भन्न कोसिस नगरेको होइनतर उनले “नाइँ म तिमीलाई मायाँ गर्दिनँ” भनिन् भने त्यसलाई स्विकार्ने साहस मभित्र थिएन । मलाई तिरस्कारसँग मतलब थिएन तर तिरस्कारपछिको हीनताबोधमा म बाँच्न सक्दिनथिएँ। मनमा अर्को डर पनि थियो कि यदि अरूले जस्तै मैले पनि प्रेम प्रस्ताव राखेरनिराश भोग्नुपर्ला वा मेरो कुराले हामीबीचको साथीको सम्बन्ध पनि सकिएला किभने डरले आजसम्म भनेको छैन । प्रेम पाउने लोभमा राम्रो भइरहेको साथीको सम्बन्धलाई दाउमा लगाउन मन लागेन । कुनैदिन मेरो भावनाबाटुली आफैँले बुझ्लिन् र मेरोमायाँ महसुस गर्लिन् भन्ने लाग्छ ।
सदाझैँ बाटुलीको ढिलो आउने बानी । आज पनि मुस्कुराउँदै आइन् । उनको हिँडाइमा बेग्लै लचकता छ । धर्तीलाई बोझ पर्छकि भनेर हलुकासँग हिँडेजस्तो लाग्छ । छोटो हुँदै गइरहेको फ्रक र टिमिक्क हुँदै गइरहेका सर्टहरूबाट उनको सौन्दर्य छचल्किरहेको थियो । मेलै धेरैबेर यसरी एकोहोरो हेरिरहेको देखेर उनले थोरै अप्ठ्यारो मानिन् ।
“ आज भोलि तेरो नजर ठाउँमा छैन बे ।“ बाटुलीले मेरो पाखुरामा चिमोटिन् ।
“फूललाई हेर्नु पाप हो र ?” मैले फिल्मी डाइलग बोलेँ ।
“ बुरी नजरले हेरेर ऱ्याल चुहाउनु चैँ पाप हो ।“ ऊ पनि के कम थिई ।
उनको शरीरको संवेदनशील ठाउँमा हेरेको उनले थाहा पाएपछि आफैँलाई लाज लाग्यो । आफ्नो लाज छुपाउनलाई भने “ माँ कसम, तिमी आज क्या दामी देखिएकी छौँ ।“
“ तेरी बुरी नजर ।“ मलाई कुमले ठेलेर उनी राजमार्गमा गाडी रोक्न हात हल्लाउन थालिन् । हावाको तालमा हल्लिरहेका ती हातहरू हेरेर म टोलाइरहेँ ।
फिस्लिङबाट तरकारी बोकेर आएको गाडी हाम्राअगाडि रोकियो । गाडीमा पहिल्यै चार पाँचजना केटाकेटीहरू थिए । हामीदुईलाई त्यस्तो एकान्त ठाउँमा एक्लै बसेको देखेर एकआपसमा मुखामुख गरेर हाँस्न थाले । मलाई छु मतलब । हामी गाडीमा चढ्यौँ । गाडी एक्कासिअगाडि हुत्तियो । बाटुली राम्रोसँग बसिसकेकी रैनछ, बाटुली आफूअगाडिको तरकारीको बोरामा ठोक्किई ।
“राम्रोसँग मलाई समाइदिन सक्दैन थिइस् बे ।“ उनले निधार खुम्च्याई ।मानौँ मैले नै जानीजानी उसलाई लडाइदिएँ ।
“खै ! हात दे ।“ मेरो हात समाउँदैउनी उठिन् ।
हामी गाडीको ढालामाथिको साँघुरो डन्डीमा टुसुक्क बसेका थियौँ । उनलाई फेरि लड्छु जस्तो लागेर होलाघुम्तीमा गाडी दायाँबायाँमोडिँदा उनी मेरो कुममा ठोकिन आइपुग्थिन् । हावाले उनको कपाल उडाएर मेरो अनुहार छोपिदिन्थ्यो । मेरो पाखुरामा उनले समातेकी थिइन्, एउटा हातले उनलाई सम्हाल्दै अर्को हातले दुईजनाको शरीर धानेर बढो कष्टसाथ स्कुल पुगियो ।
मलाई पढाइमा खासै रुचिथिएन। आफूसँगैको साथी धने ९ मा फेल भएपछि टिप्परमा खलासी बन्न गयो । अहिले टिप्पर हुइँक्याउने भैइसक्यो । फेसनवाला लुगा लगाउँछ रे पैसा नि राम्रै कमाएको छ रे । साहू राम्रो छ अर्को वर्ष उमेर थपेर भए पनिलाइसेन्स बनाइदिन्छु भनेका छन् रे । उसका कुरा सुनेपछि मलाई पनि पढ्न छोडेर ड्राइभर बन्नतिर मन जान थाल्यो ।
पढाइमा मेरो ध्यान कत्ति थिएन । यो कुरा सर मिसलाई पनि राम्रोसँग थाहा थियो । स्कुलमा म हुनु र नहुनुको केही फरक थिएन । आफैँलाई एस.एल.सी. पास हुन्छु जस्तो पनि लागेको थिएन । स्कुल आउनमा मेरो आफ्नै स्वार्थ थियो । बाटुलीसँगै बस्न, बोल्न पाइन्छ अनि म ऊसँगै भएँ भने अरू केटाहरू उनको वरिपरि पर्न पाउँदैनन् । मैले नपढे पनि बाटुलीले खुब धेरै पढोस् भन्ने लाग्थ्यो । त्यसैले उसैका लागि भए पनि म स्कुल गइरहन्थेँ ।
एक दिन शुक्रबार स्कुलबाट फर्कँदा हामी सबै राजमार्गछेउ गाडी रोक्न हात हल्लाउँदै उभिएका थियौँ । चर्को घाममा आधा घण्टाभन्दा बढी समयसम्म कुर्दा पनि कसैले गाडी नरोकिदिएपछि दुईजना हिँडेरै गए र बाँकी साथीहरू भने गाडी रोक्ने कोसिसमा थिए । केहीबेर पछि एउटा पानीको गाडी आएर रोक्कियो । सबैजना गाडीको पछाडि झुम्मिए । पाँच जना बलै कोचिएर चढे । बाटुलीलाई हातको इसाराले जाऊँ भनेर बोलाउँदा नाक खुम्च्याई । मैले कुरो बुझिहालेँ । उसलाई यसरी कोचिएर जाने मन थिएन र मलाई पनि नजाने अघोषित आदेश थियो । हामी अर्को गाडीमा आउँछौँ तिमीहरू जाँदै गर्नू भनेर पठाइदियौँ । दिनभरिको घाम र भोकले गर्दा कतिखेर घर पुगूँजस्तो भइरहेको थियो तर यता बाटुलीलाई वास्ता नै थिएन ।
“ तँलाई के को हतार हो यस्तो ? भोलि बिदा छ त ।” मेरो छटपटी देखेर बाटुलीले सोधी ।
“ थाहा छ मलाई ! छिटो जानुपर्ने काम छ मेरो ।”
“ आज भोलि तँ खुब मायाँ पिरिम गर्ने भा’छस् रे त ? त्यो खल्तीको लभलेटरकसलाई हो रे ?”
“ तँलाई के चासो जसलाई भए पनि । सबैको आफ्नै सपनाकी राजकुमारी हुन्छन् ।“
“मलाई दिनलाई त राखेको होइनस् नि । हो भने दे ल । स्कुलमा सबैले दिइसके । अब तैँले मात्रै दिन बाँकी छ ।“ बाटुली खितिति हाँसी । डर पनि लाग्यो सँगै लाज पनि । कतै मैले खल्तीमा बोकेर हिँडेको लभलेटर उसैलाई दिन राखेको भन्ने कुरा थाहा पाईहोला त ।
बाटुलीबाट अलिपर सरेर बिस्तारै खल्तीमा हात हालेँ । मेरो मन छटपटिन थाल्यो । बिहानसम्म यही प्यान्टको खल्तीमा राखेको मेरो मुटुको एक टुक्रा कागज एकाएक गायब भएको थियो ।
“ प्रिय मुटुको धड्कन, हिमालभन्दा अग्लो, सागरभन्दा गहिरो अनि आकाशभन्दा फराकिलो मायाँ तिमीलाई ।” यी शब्दहरू त मेरो प्रेमपत्रको सुरुवातीहरफहरू हुन्। बाटुलीतिर हेरेँ, ऊ हातमा त्यही प्रेमपत्र राखेर जोडजोडले पढिरहेकी थिई ।
“ तिमीलाई कुन नामले सम्बोधन गरूँ, कुन उपमाले पुकारूँ, तिम्रो सौन्दर्यको बयान गर्न मसँग कुनै शब्द नै छैन । शब्दकोशका सारा शब्दहरू फिक्का हुन्छन् तिम्रा लागि ।” चिठी पढ्दापढ्दै बीचमा रोकेर भनी,“ तँ त पूरा सहित्यकार भइसकेछस् । पढाइमा किन ध्यान छैन राजकुमारको भनेको त सपनाको राजकुमारीसँग हुँदो रै’छ र पो !”
मेरो चोरी पक्डियो । म लाजले पानी-पानी भए । आफ्नै शब्दहरूले आफैँलाई घोचिरहे । मलाई थोरै रिस पनि उठ्यो ।
“ तँलाई किन पढ्नुपऱ्योअरूको कुरा । खै ! यता ले ।”
“पैला भन् त !कसलाई दिन लेखेको होस् यो प्रेमपत्र ? नाम भनिस् भने मात्र दिन्छु ।”ऊ मेरो मुटुको टुक्रा फिर्ता गर्ने मुडमा थिइन ।त्यहाँ बसिरह्यो भने मनको कुरा सबै खोलिने डरले हतार हतार सडकको बीचमा गाडी रोक्न पुगेछु । उताबाट ट्रक हर्न बजाउँदैतीव्र गतिमा आउँदै रहेछ, मलाई याद नै भएन । म पछाडि हट्ने कि अगाडि बाटो काट्ने दोधारमा परेँ, खुट्टा जहाँको त्यहीँ फ्रिज भयो । ट्रक धेरै नजिक आइसकेको थियो । अब मलाई कुल्चिन्छ र आज नै मेरो अन्तिम दिन रै’छ जस्तो लाग्यो । म आँखा चिम्लेर आमालाई सम्झिरहेको थिएँ । त्यत्तिकैमा कसैले मलाई पछाडिबाट तानेर फुत्त भित्तातिर धकेलिदियो ।
होसमा आउँदा बाटुलीछेउमा बसेर रुँदै थिई । मेरो शरीरपूरै पसिनाले भिजेको थियो । बाटुलीले म बेहोस हुँदा टाउकामा पानी खन्याइछ र रुमाल पानीमा भिजाएर निधारमा बाँध्न भ्याइसकिछ । म त छक्क परेँ, कसरी यसले मलाई बचाई ?छेउको बोतलको पानीमा मुखै गाडेर पिएँ । रुमालले अनुहार पुछेँ पछि शरीर बिस्तारै शीतल हुँदै गयो, दिमागले आफू कुन अवस्थामा छु भन्ने ठम्यायो ।
जिउलाई सजिलो पार्दै भनेँ, “ आज म मरेको भए त के गर्थिस् ? “मेरो कुरा नसकिँदै उसले मलाई अँगालो हाली र भक्कानिएर रुन थाली । एकछिनसम्म अँगालामा बाँधिएपछि हामी लजाउँदै छुट्टियौँ किनकि आजसम्म हामी यति नजिक कहिल्यै भएका थिएनौँ ।
स्थिति सामान्य भएपछि मैले फेरित्यही प्रश्न सोधेँ ।
“ म पनि तँसँगै मर्दिन्थेँ ।“ उसको जबाफले म हर्षित भएँ । मतलब, बाटुली पनि मलाई मायाँ गर्छे ।मैले यस्तै सोचेँ ।
हामीबीच लामो मौनता छायो । बोल्ने धेरै कुराहरू थिए तर खै दुवैले बोलिरहन आवश्यक ठानेनौँ ।
पहिलोपटक हामी हात समातेर हिँड्यौँ । बाटुलीले मेरो हात दह्रो गरी समातेकी थिई सायद हात छुट्यो भने फेरि म सडकको बीचमा पुग्छु । साँच्चै मेरो हात दुखिरहेको थियो तर मायाँमा यति पीडा त सहनुपर्छ भनेर केही भनिनँ ।
“मलाई यो गाडी भन्ने चिज पटक्कै मन पर्दैन । संसारमा सबैभन्दा बढीहतारो यसलाई हुन्छ । तँलाई थाहा छ हाम्रो आमालाई नि यही गाडीले किचेर मारेको हो नि। कुन दिन बालाई पनि यसैले मार्छ ।“राजमार्गमा गुडिरहेका गाडीहरूतिर हेर्दै पिच्च थुकी र मेरो हातको बोतल तानेर पानी पिई ।
मैले पुलुक्क उनको अनुहारमा हेरेँ । बाटुलीले “ के भयो ?” को शैलीमा आँखीभौँ उचाली ।
“ पानी त जुठो थ्यो ।“
“ के भो त । जुठो खान नहुने हो र ? जुठो खायो भने झन्मायाँ बढ्छ ।” बाटुलीले घुटुघुटु पानी खाएको हेरिरहेँ ।
मैले पनि हौसिँदै भने, “ हो र ? खै ! ले त म पनि खान्छु तेरो जुठो । अलिकति भए पनि मायाँ बढ्छ कि ?”
अब पुलुक्क हेर्ने पालो बाटुलीको थियो । मलाई हेरेर मुस्कुराई । सायद उसले कुरा बुझी । हामीले अन्जानमै एकअर्कालाई आफ्नो मायाँ जताइसकेको थियौँ ।
बाटाभरि बाटुलीले आफ्ना सम्पूर्ण विगत सुनाई । आमाको मृत्यु, बाले रक्सी खान सुरु गरेको, ऋणमा डुबेको र साहूको पैसा तिर्न नसकेपछि भएभरको सबै जग्गा जमिन बेचेर यता आएको । बाटुलीको कुरा सुनिरहँदा मलाई कुनै चलचित्रको कथा सुनिरहेजस्तो लाग्यो ।
सलाङघाट बजार आइपुग्न लाग्दा झमक्क साँझ परेको थियो । घर नजिक आइपुग्न लागेपछि उसले हात छुटाउन खोजी ।
“ हात छोड्नु पर्दैन? कि घरै लैजाने विचार छ राजकुमारको ?”
“ जाने भए त के हातमात्रै , राजकुमारीलाई नै लाने मन छ नि ।” मैले पनि मौकामा दाउ छोपिहालेँ ।
बाटुली मेरो नजिक आई । मेरो कान नजिक्कै आएर बिस्तारै फुस्फुसाई, “तँसँग हिम्मत छ भने पर्खिबस् ! के थाहा पछि तैँले नै मलाई भगाएर लैजान पाउलास् कि !”
मेरो हातबाट छुटेर ऊ घरतिर लागी । मेलै भनेँ, “ म त्यो दिनको प्रतीक्षामा हुनेछु ।”
***
समय बित्दै गयो । हाम्रो प्रेम दिनमा दुईगुना रातमा चौगुना बढ्दै गयो । बिहान बेलुका सँगै स्कुल जाने आउने गर्थ्यौँ, स्कुलमा पनि सँगै हुन्थ्यौँ । शनिबार, छुट्टीको दिन घरबाट भागेर घुम्न जान्थ्यौँ । मलेखु बजार, फिस्लिङ बजार, इच्छामनकामना धेरैपटक पुग्यौँ । फिल्म हेर्न आबुखैरेनी बजारसम्म गयौँ, साथीको घरमा पढ्ने बहानामा दिनभर त्रिशूली किनारमा बालुवासँग खेल्यौँ, एकाअर्काको नाम लेख्यौँ, सपनाको महल बनायौँ । भेटेपछि अँगालोमा बेरिने हाम्रो नियमितता बन्यो । पहिलो चुम्बन त्यहीँ भयो । तेसपछि दोस्रो, तेस्रो, चौथो.. । मायाँ जति गरे पनि नपुग्ने रै’छ , जति दिए पनि नघट्ने रै’छ । मनमा सधैँमायाँको प्यास रहिरहनेयो कस्तो मायाँ हो ।
पुसको महिना थियो । स्कुलबाट ढिलो घर आएकाले आमा कचकच गर्दै हुनुहुन्थ्यो । होटलको काम सकाएर म आफ्नो कोठामा छिरेँ । निद्रा पटक्कै लागेन । आँखाअगाडि खाली बाटुलीले भनेका कुराहरू घुमिरह्यो ।
“ छिः ! त्यो सरले कसरी छुन सकेको मलाई ?” बाटुलीको आँखामा आँसु थियो ।
मलाई त्यो सरको नियत पहिलेदेखिनै ठीक लागेको थिएन । बाटुलीलाई मात्र होइन स्कुलका अरू सोझी केटीहरूलाई पनि छुने, शरीरमा मुसार्ने, फकाउने गर्थ्यो । हेडसरलाई यसबारेमा भन्दा पनि सबुत नभई केही गर्न नसकिने कुरा गर्नुभयो ।
एकदिन बाटुलीलाई भेट्न घरैमा पुगेछ । केही प्रेमपत्र र उपहार पनि दियो रे । कुरा गर्दै जाँदा उसको नियत ठीक नलागेपछि बाटुलीले आमालाई बोलाइछ। त्यसपछि के भयो बाटुलीले केही भनिन । मैले पनि दोहोऱ्याएर सोधिनँ । यति मात्रै भनी , “मलाई त्यो कुत्ताको अनुहार पनि हेर्न मन छैन । ”
***
रातभर निदाउने कोसिस गरिरहेँ । सपना पनि राम्रो परेन । सपनामा मलाई जोड-जोडले पिसाब लागिरहेको थियो । रात पुस माघको जस्तो चिसो थियो । बिस्तारै उठेँ, बत्ती बालेँ, कोठा उज्यालो भयो । ढोका खोलेँ, च्यार्रच्यार्र गरेर ढोका उघ्रियो । एक हुल प्रकाश आँगनमा पोखियो । आँगनभरि हुस्सुको बाक्लो तह टल्किरहेको थियो ।
राजमार्गमा एउटा पनि गाडीहरू चलेका थिएनन् । चिसो राजमार्ग लम्पसार परेर सुतिरहेको थियो । माथि जङ्गलबाट आएको स्यालको हुइयाँले मेरो डरलाई झन् बढाइरहेको थियो । म हतार हतार घरछेउको शौचालयमा छिरेँ र आफूलाई हल्का बनाएँ । बाहिर निस्केपछि राजमार्गछेउ उभिएर धर्तीलाई हेरेँ । चिसा पहाडहरू सुनसान रातमा न्यानो बिहानीको पर्खाइमा झोक्राइरहेका थिए ।
घरभित्रको बत्ती झिमिक-झिमिक गरेर निभ्यो । त्रिशूलीबाट एक झोक्का चिसो हावा सर्रर चल्यो । सडकको पारिपट्टि केही खस्रक्क गऱ्यो । कोहीहिँडेजस्तो आवाज आयो । भुईँकुइरो सलबलाउन थाल्यो । बिस्तारै हावामा तैरियो र अमूर्त आकृति बन्न थाल्यो । आकृतिले मानव स्वरूप लियो । बिस्तारै आकृतिनजिक पुगेर हेरे त्यो आकृति ठ्याक्कै बाटुलीको थियो ।
सेतो एकसरो कपडामा मेराअगाडि बाटुली उभिएकी थिई । उनका ओठ, गाला र आँखा सुन्निएका थिए । कपाल फुक्का छोडिएको थियो । घाँटीमा गहिरो नीलडाम थियो यस्तो लाग्थ्यो भर्खरै कसैले उनलाई घाँटीमा डोरीले तान्दै ल्याएको थियो । उनको हात पछाडि बाँधिएको थियो । उनीकेही नबोली एकोहोरो मलाई नै हेरिरहेकी थिइन् । यति राति उनलाई यस्तो अवस्थामा देख्दा मेरो दिमागले केही सोच्न सकेन । मेरा आँखाहरू एकटक बाटुलीमा अडिए ।
पाइला अगाडि बढाउन खोज्दा मेरा पैतालाहरू टेकेकै ठाउँमा जमिसकेका थिए । त्यहीबेला गाडीको चर्को उज्यालो मेरो आँखामा ठोक्कियो । म अन्धो भएँ । अघिपछि सरौँ खुट्टा चल्दैन, हेर्न खोज्यो सारा संसार उज्यालो अन्धकारमा छ । म हार खाएर त्यहीँउभ्भिरहेँ । केहीबेरमा मलाई गाडीले उछिट्याएर राजमार्गको पल्लाछेउमा पुऱ्याइदियो ।
शरीरमा कुनै चोट थिएन, कतै दुखाइ थिएन तर धड्कन मधुरो हुँदै थियो अनि श्वासको गति पातलिँदै थियो । मधुरो उज्यालामा बाटुली भएतिर हेरेँ, सेतो मानव आकृति बिस्तारै भुईँकुहिरो बनेर तलतिर झर्दै थियो र झरिरह्यो ।
म निद्राबाट झल्याँस्स बिउझिएँ । शरीर पसिनाले लपक्क भिजेको थियो । पानीको प्यास जोड जोडले लागेको थियो । ओछ्यानबाट उठेर बसेँ । सिरानीछेउमा पानीको बोत्तल थियो त्यसलाई रित्याएँ । अनुहारको पसिना पुछेँ र मनमनै भगवानलाई पुकारेँ, “ हे प्रभु ! यो सपना कहिल्यैपूरा नहोस् ।”
जाडोयाम सुरु भैसकेको थियो । दिनहरू छोटा हुँदै थिए र रातहरू लम्बिँदै थिए । यहीबीचमा स्कुलले एस.एल.सी तयारीका लागि बिहान बेलुका थप टिउसन कक्षा पनि राखिदिएको थियो । अब हाम्रो स्कुल जानेआउने समय फेरिएको थियो । बिहान छ बजेनै घरबाट हिँड्नुपर्थ्यो अनि बेलुकी पाँच बजेसम्म स्कुलमै हुन्थ्यौँ । बाटुलीलाई बाले नै ल्याउने लाने गर्न थाले । प्रायः बिहान बेलुका ममात्रै हुन्थेँ स्कुल जाने आउनेमा । बाटुलीको मप्रतिको व्यवहारमा केही परिवर्तन आएको थियो किनकि मेरो स्कुलमा साथीहरू र सरहरूसँग सधैँ झगडा परिरहन्थ्यो । म सबैजनालाई आफ्नो शत्रु देख्थेँ । ती सबै कतै न कतै बाटुलीसँग जोडिन आउँथे र तिनीहरू बाटुलीबाट मलाई छुट्याउन कोसिस गरिरहेझैँ लाग्थ्यो ।
माघको आखिरतिर प्रिबोर्ड परीक्षा आयो । परीक्षा स्कुलमै हुने भयो । सबैले खुब मेहनत गरेर पढे । राम्रोसँग लेखे पनि । मेरो भने हालत उही थियो । पढाइमा फिटिक्कै मन थिएन । किताब खोलेपछि बाटुली पानाभरि नाचिरहन्थी । रातमा ऐठन हुन्थ्यो, राम्रोसँग निदाउन सक्दिन थिएँ । प्रायः एउटै सपना दोहोरिरहन्थ्यो । यस सपनाका बारेमा कसैलाई पनि केही भन्न सकिरहेको थिइनँ ।
आज परीक्षाको अन्तिम दिन थियो,जसोतसो गरीपरीक्षा दिए । सबै साथीहरूलाई पर्सि स्कुलमै भेट्ने गरी हामी छुट्टियौँ । धेरै दिनपछि आज बाटुली र म सँगै थियौँ । मैले बाटुलीको हात समातेँ, उनी झस्किइन् । उनको आँखामा डर थियो एकदम अजिब खालको । आज भोलि उनी पहिलेजस्तो हाँस्न छोडेकी थिइन् । केही सोध्यो भनेपनि झर्कने गर्थिन् । सकेसम्म म केही नबोली बस्थेँ । कहिलेकाहीँ चिठ्ठी लेखेर पठाउँथिन् । चिठ्ठीहरूनिकैभावुक हुन्थे । पानाहरू ओसिला हुन्थे सायद आँसुमा डुबेर लेखेकी थिइन् होला ।
“ तिमीलाई के भा’छ आजभोलि ” मैले बाटुलीलाई सोधेँ ।
“ केही भा’छैन मुटु ” ऊमायाँ गरेर बोलाउँदा मलाई मुटु भन्थी ।
“आमालाई सधैँ सपनीमा देख्छु । केही बोल्नु हुन्न खालि मलाई हेरेर रोइरहनुहुन्छ । यस्तो हालतमा आमालाई देखेपछि मलाई रातभर रुन मन लाग्छ ।“ ऊ बोल्दाबोल्दै सुक्सुकाई ।
बाटुलीको परिवारमा समस्या थपिएको थियो । बासँग झगडा परेपछिकान्छी आमाले घर छोडेर जानुभयो । भाइलाई पनि मामाघर लगेर राखिदिनुभयो अनि बाआफैँ दिनरात रक्सीको नशामा डुब्नुहुन्थ्यो । होटल चलाउन नसकेर बन्द भयो । घरखर्चका लागिगाउँभरि ऋण थपियो । बाटुलीको घरको हालत बिग्रँदो थियो अनि परीक्षा पनि नजिकिँदै थियो । यस्तो परिस्थितिमा को हाँस्न सक्छ र ! बाटुलीको कुरा सुनेपछि मनमा गाँठो पऱ्यो र ऊप्रतिको मायाँझन् बढेर गयो ।
“ कान्छी आमा पढ्न चाहनुहुन्थ्यो । बाले बिहे गर्ने बेलामा घरमा कोही छैनन्, जति पढ्न मन लाग्छ पढाउँछु भन्नुभएको रैछ । पछि आफूलाई झुटो बोलेर फसाएको थाहा पाए पनि घर फर्कन सक्नुभएन किनकि उहाँको आमा बा दुवै हुनु हुन्न । फर्किएर गए दाइभाउजूले बस्न दिनु हुन्न । त्यसैले सबै सहेर बस्नुभएको थियो । जति भन्दा पनि बाले नमाने पछि “मलाई पढाउनुस्” भन्नै छोड्नुभयो । बाकान्छी आमाबाट सन्तान चाहनुहुन्थ्यो तर आमाले मान्नु भएन । हामी दिदीभाइलाई नै आफ्नो सन्तान मानेरहुर्काउँछु, मलाई अर्को जन्माउन मन छैन भन्नुहुन्थ्यो । सायद यही निहुँले बासधैँरक्सी खाएर आमालाई पिट्नुहुन्थ्यो । पल्लो कोठाबाट आमा रोएको सुनिरहनु बाहेक हाम्रो अर्को विकल्प थिएन । ”
“अनि अहिले कता हुनुहुन्छ त ? केही खबर पायौ ? “
“ रसुवाको केटासँग भागेर जानुभयो । बालाजुमा डेरामा राखेको छ रे भन्ने सुनेको छु । त्यति हो ।” बाटुलीको आँसु थामिएन । मैले सम्झाउन हर कोसिस गरेँ तर सकिनँ । ऊ रोई । धेरै रोई ।
***
प्रि-बोर्ड सकिएपछि स्कुल जानु पर्दैन थियो । अब बाँकी समय घरमै बसेर पढ्नू भनेर स्कुलले हामीलाई छुट्टी दिएको थियो । दिनहरू त्यत्तिकै बितिरहेका थिए । बाटुलीसँग पनि भेट भइरहेको थिएन । बेलामौकामा म उनको घरछेउछाउ घुमिरहन्थेँ । बाटुलीका बा दिनभर घरमै हुने भएकाले मलाई देखेपनि उनी भेट्न आउन सकिनन् । हामी टाढैबाट हेराहेर गरेर मन बुझाउँथ्यौँ ।
रिजल्ट आएको दिन फेरि स्कुलमा हाम्रो भेट भयो । सबै साथीहरू मस्त रमाइरहेका थिए । सबैको नतिजा सोचेजस्तै राम्रो आएछ । बाटुली तेस्रो भइछ, मलाई दुइटा विषय लागे पनि स्कुलले एस.एल.सी. दिन चैँ पठाउने भयो । हेडसरले अफिस कोठामा बोलाएर सम्झाउनुभयो । उहाँको कुरा सुन्दा मलाई आफ्नै बाले सम्झाएको जस्तो लाग्यो किनकि त्यसरी आजसम्म मलाई अरू कसैले सम्झाएको थिएन । म शिर झुकाएर उहाँको कुरा सुनिरहेँ । उहाँले “ल ! जाऊ” भनेपछि लुरुलुरु बाहिर आएँ ।
बाटुलीबाट थाहा पाएँ, एस.एल.सी. दिएपछि उनको बिहे गरिदिने कुरा घरमा गरेका रैछन् किनकि घरमा बिहे गर्ने उमेरकी छोरी हुँदाहुँदै बालाई अर्को बिहे गर्न गाह्रो भएछ । फेरि समाजले पनि नमान्ने सम्भावना थियो । बाटुलीको कुराले मेरो मुटुमा सियो रोपियो । म पीडाले छट्पटाउन लागेँ ।
“ मलाई यो बिहे गर्नै मन छैन । यदि त्यो मान्छेसँग बिहे गर्नुपऱ्यो भने म त्रिशूलीमा हामफालेर मर्दिन्छु ।” बाटुलीले मनको पीडा पोखी ।
“ त्यसो नभन् बाटुली, तँलाई डर देखाउन मात्र बिहे गर्दिन्छु भनेका होलान् ।” मैले फकाउने कोसिस गरेँ ।
“ तँलाई थाहा छ मेरो घरको पीडा, मायाँ गर्छु भनेर मात्र हुन्छ सक्छस् भने भगाएर लैजान मलाई ?” बाटुलीको ठाडो चुनौती थियो यो ।
बाटुलीबाट यस्तो प्रश्नको आशा गरेकै थिइनँ । हो म उसलाई मायाँ गर्छु तर अहिलेको अहिल्यै भगाएर लैजाने मेरो ठाउँ थिएन । आँट पनि थिएन । म धेरैबेर चुप लागेको देखेर बाटुलीले भनी, “शङ्का थियो तँ मलाई मायाँ गर्दैनस् भन्ने ।आज आएर थाहा पाएँ ।”
“ पहिले परीक्षा सक्किन दे, त्यसपछि म केही उपाय सोचुँला । म धनेलाई काठमाडौँमा कोठा खोज्न लगाउँछु ।” मैले आश्वासन दिँदै भने । थाहा छैन मेरो कुरामा उसले कति विश्वास गरी । यति मात्र भनी , “ म अन्तिम समयसम्म पनि तेरो बाटो हेर्छु, यदि आइनस् भने मरो मुख अब दोस्रोपटक देख्न पाउँदैनस् ।”
***
एस. एल. सी परीक्षा आउन तीन दिन मात्र बाँकी थियो । म होटलमा जुठा भाँडा माझिहेको थिए । एउटा भाइले बाटुलीको खबर ल्यायो । म उसलाई भेट्न गाउँमाथिको चौतारोमा पुगेँ । बाटुली अघिदेखिनै मेरो प्रतीक्षामा थिई । धेरैपछि आज उनको अनुहारमा खुसी देखेको थिएँ । म नजिकै पुगेपछि उसले गहिरो अँगालो हाली । मैलै बिस्तारै उनको निधारमा चुमिदिएँ ।
बितेको समय सम्झेर धेरै हास्यौँ र भावुक पनि भयौँ । भविष्यका मिठा-मिठा सपनाहरू बुन्यौँ । मैले पनि उसलाई काठमाडौँमा धनेले कोठा खोजिदिएको कुरा सुनाएँ । धनेले हामी भाग्ने दिनमा काठमाडौँ लगिदिने पनि सुनाएँ । बाटुलीले पनि आफ्नीकान्छी आमालाई सम्पर्क गरिन् रे । काठमाडौँ आए पढ्न सहयोग गर्ने वचन पनि दिनुभयो रे । हामीले सोचेको सबै कुराहरूपूरा हुँदै थिए । मैले बाटुलीको साथ पाउने थिएँ, बाटुली पनि त्यो दुःखबाट पार पाउने थिई । यस्तै कल्पनाको कुरा गरेर त्यो दिन बित्यो । साँझ घर फर्कने बेला बाटुलीले एउटा अनौठो कुरा सुनाई, “ बा दुई दिनलाई मामाघर जानु भा’छ भाइलाई भेट्न । आज घरमा म एक्लै छु ।“
“ ए ! एक्लै बस्न डर लाग्दैन ? फेरि भूतले तानेर लाग्ला नि ।” मैले नि जिस्काएँ ।
“ त्यै डर लाग्ने भएर त तँलाई भनेको नि । ”ऊ मुस्कुराई ।
“मैले केही बुझिनँ । डर लागे घरको झ्याल ढोका थुनेर बस् । कोठामा कागती र खुर्सानीलाई डोरीमा झुन्डाएर राख् ।” मैले स्वाभाविक उत्तर दिएँ ।
मेरो कुराले बाटुली रिसाई । सायद मैले भन्न नहुने कुरा भनेँकि! म सोच्न थालेँ ।
“ भो ! कोही आउनु पर्दैन मेरो घरमा । म एक्लै बस्न सक्छु ।” ऊ रिसाएर उठी । मैले हात समाउँदै रोकेँ ।
“ल बाबा ! म आउँछु । कति बजे आऊँ ?”
“नौ बजेपछि मात्र आइज नि । फेरि छिमेकीले देख्ला ।” यति भनिसक्दा ऊ मबाट टाढा पुगिसकेकी थिई । ऊ गएको बाटालाई हेरिरहेँ । एउटा सानो छाया पर घुम्तीमा पुगेपछि छेकियो ।
रातको नौ बजिसक्दा पनि मेरा घरका मान्छेहरू सुतिसकेका थिएनन् । म सुत्नलाई आफ्नो कोठामा छिरेँ तर त्यो बहानामात्र थियो । बाटुलीले भनेको समयभन्दा धेरै ढिलो भइसकेको थियो । घडी हेरेँ सवा दश भइसकेछ । बिस्तारै बिरालो चालमा घरबाट बाहिर निस्किएँ । आकाशमा जून टहटह थियो । मधुरो जुनेली रातमा उज्यालोलाई छल्दै म बाटुलीको घरछेउ पुगेँ । उनको कोठाको बत्ती निभेको थियो । सायद म आउन ढिलो भएकाले सुतिसकिन् होला भनेर म जान लागेँ । मनमा झिनो आशा चैँ थियो कतै बाटुली ननिदाइ पो बसेकी छ कि! एउटा सानो ढुङ्गा कोठाको झ्यालमा लाग्ने गरेर हाने । एकछिनमा भित्रबाट टर्चलाइट दुइचोटि झिमिक-झिमिक गरेर बालेपछि बाटुली बिस्तारै तल भऱ्याङमा आइन् । ढोका खोलिन् । आफ्नै घरमा चोर पसेजसरी हामी भित्र पस्यौँ ।
बाटुलीको कोठा व्यवस्थित थियो । टेबलभरि किताब, कापी र मेकअपका सामानहरूजतनसाथ मिलाएर राखिएका थिए । खाटमाथिको सेतो तन्ना सपक्क मिलाएर राखिएको थियो । बस्दा पनि दाग लाग्छ कि, खुम्चिन्छ कि भनेरछेउमा अलक्क बसेँ । मनमा डर थियो कतै बाटुलीका बा आइहाल्छन् कि, कतै मेरा घरका मान्छेहरू खोज्दै आउने पो हुन् कि । डरै डरमा म केही सोच्न सकिरहेको थिइनँ ।
बाटुलीले आफ्नो डायरी देखाई जुन धेरै मोटो थियो । “यो मेरो जीवन हो । यसमा मैले आजसम्म भोगेका सम्पूर्ण भोगाइहरू लेखेर राख्नेछु । मेरो यो डायरी कसैले पनि कहिल्यै नहेरोस् । म चाहन्छु म मरेपछि मसँगै यो डायरी पनि जलाइयोस् ।”
उनको कुरा सुनेर म स्तब्ध भए । यो केटी किन यति धेरै रहस्यमय छे ? उसको सोचाइ, कुरा गराइ मेरो भन्दा धेरै फरक छ । आफ्नो प्रिय डायरी मलाई देखाएपछि दराजभित्रको सानो अन्तरमा लुकाई । फर्केर आउँदा उसको हातमा फोटो एल्बम थियो । मेरो काखमा फोटो एल्बम राखेर ऊ आफ्नो विगतमा फर्किई ।
हरेक पानाहरू पल्टाउँदा मेरो पाखुराले उनको छातीको उच्चभागलाई घर्षण गरिरहेको थियो जस्ले मेरो शरीरमा रगतको प्रवाहलाई दोब्बर बनाइदियो । सानो छँदाको एउटा फोटामा हाम्रो आँखा रोक्कियो । जहाँ बाटुली आफ्नी आमाको काखमा बिनाकपडामा हाँसिरहेकी थिई ।
मैले फोटामा देखाउँदै भने, “ सानामा नि खुब राम्री रैछस् त, बाटुली ।” मेरो कटाक्ष सायद उसले बुझी ।
“ के ऐले चैँ म नराम्री छु ?”ऊ मेराअगाडिठिङ्ग उभिई ।
“अहिले झन् धेरै राम्री छ्यौ, मेरी सपनाकी राजकुमारीजस्तै ।” म उनको कान नजिकै गुनगुनाए । मेरो तातो स्वासले उनलाई बिस्तारै पगाल्दै लग्यो । उनी पग्लिँदै पग्लिँदै गइन् । बिस्तारै बरफको पहाड पानी बनेर तप्पतप्प चुहिनथालिन् र चुहिरहिन् ।
***
आज एस. एल. सी परीक्षाको पहिलो दिन, सबै साथीहरू बिहानै सात बजे परीक्षाकेन्द्र पुगिसके तर बाटुली अझै आइपुगेकी थिइनन्। सायद बाले ल्याउँदै हुनुहुन्छ होला, म पनि हतार हतार परीक्षाहलमा पुगेँ । थोरै ढिला भएकाले सबै लेख्न थालिसकेका थिए । म पनि केही नसोची लेख्न थालेँ ।
पूरा सवा दुईघण्टा बित्यो, तर मैले उत्तर के लेखेँ भन्ने मलाई नै थाहा थिएन । बाहिर निस्केर बाटुलीलाई खोजेँ, कतै देखिनँ। साथीहरूलाई पनि सोधेँ कसैले देखेँ भनेनन् । आखिर बाटुली कहाँ गई होला । एक मनले सोच्यो, सायद बासँगै गइहोला तर साथीहरूले त देख्नुपर्ने । मनमा थोरै आशङ्का बोकेर बाहिर निस्कँदै थिएँ ढोकामा पालेदाइले पढेको पत्रिकामा समाचार देखेर म झन्डै पागल भइनँ ।
समाचार थियो “ त्रिशूलीनदीमा डुबेर एक किशोरीको आत्महत्या ” र साइडमा बाटुलीको फोटो थियो । पालेदाइ नउठुन्जेल त्यहीँ कुरेर बसेँ र उनी यताउति लागेको मौका छोपेर पत्रिका उठाएर हिडेँ । घर आइपुगेर पूरासमाचार पढेपछि मेरो होसहवास नै उड्यो । पत्रिकामा जे लेखेको थियो, त्यो विश्वास गर्न लायकको समाचार थिएन ।
“ धादिङ सलाङघाट बस्ने अन्दाजी वर्ष १६ कि एक किशोरीले हिजो साँझ त्रिशूलीनदीमा डुबेर आत्महत्या गरेकी छिन् । उनको शव बेलुकी छ बजेतिर नदी किनारमा भेटिएको थियो । घटनाको प्रारम्भिक अनुसन्धानमा शरीरमा देखिएको नीलडाम र चोटहरू हेर्दा ती चोटहरू घटना पहिलेका हुन् वा घटना पछिको भन्ने यकिन भैसकेको छैन । घरमा कोही नभएको समयमा मानसिक तनाबको दबाबमा परी आत्महत्या गरको हुन सक्ने देखिएको छ । उनको आजदेखि कक्षा दसको एस.एल.सी परीक्षा थियो । थप अनुसन्धानका लागि शवलाई पोस्टमार्टम गर्न काठमाडौँ लगिएको छ । ”
पत्रिका हातबाट छुट्यो । म खाटमा घोप्टो परेर रुन थालेँ । त्यो दिनभरि बाटुलीका बारेमा सोच्दासोच्दै रोएर बित्यो । भोलि पल्टको परीक्षा पनि खै कसरी दिएँ, मलाई नै थाहा थिएन । साथीहरू पनि मलाई नै सोध्दै थिए बाटुलीका बारेमा। म के जबाफ दिऊँउनीहरूलाई जबकि म आफैँ प्रश्नहरूले थिचिएको थिएँ ।
आजको सम्पूर्ण अखबारहरूमा बाटुलीको आत्महत्याकै खबर यत्रतत्र थियो । सबैले आफ्नो आफ्नो अन्दाज र मनगढन्ते कुराहरूले पेज भरेका थिए । एउटाले लेखेछ , “ प्रेममा धोका पाएर किशोरीको आत्महत्या”, अर्कोले लेखेछ “ पढाइको बोझ सहन नसकेर आत्महत्या ।” कोही भन्छ “यो सुनियोजित हत्या हो, यसमा परिवार वा बाहिरी मान्छेको हात हुन सक्छ ” तर यथार्थ खबर भने आउन बाँकी नै थियो । एउटा कुरा सबैमा समान थियो, “ रथप अनुसन्धानका लागि बाटुलीको बालाई हिरासतमा लिइएको छ ।”
पूरागाउँशोकमा डुबेको थियो । मान्छेअनुसारको अड्कलबाजीले सबैमा डर थपिदिएको थियो । धेरैजसोले त यो हत्या नै हो भन्थे तर कसले गऱ्यो, किन गऱ्योकेही सबुत थिएन । साँझ परेपछि मान्छेहरू घरबाट बाहिर निस्किन पनि डर मान्न थाले ।
त्यहीबीचमा बाटुलीको घरमा चोरी भयो । धेरै बहुमूल्य सामानहरू चोरिए किनकि त्यो घर कुरेर बस्ने मान्छे कोही थिएन । बहिर खुलेर कसैले केही नभने पनि भित्र-भित्र यसको पछाडि बाटुलीकै बाको हात छ भन्थे किनकि बाटुलीको बाले अर्की श्रीमती बिहे गर्न खोजेका थिए तर त्यो कुरा बाटुलीलाई मन परेको थिएन । बाटुलीलाई बिहे गर्दिन्छु भन्दा उनले”बरु यही घरमा झुन्डिएर मर्छु तर बिहे गर्दिनँ” भनेकी थिइन् रे । त्यसकै निहुँमा रक्सीले मातेर पागलभएपछि बाटुलीको बाले नै मारेर त्रिशूलीमा बगाइदिएको हुनसक्छ ।
यो एउटा अन्दाजमात्र थियो वा सत्य पनि हुन सक्थ्यो तर अस्ति चौतारामा बाटुलीसँग भेट्दा बा दुईदिनका लागि मामाघर जानुभएको छ भनेकी थिई । यदि त्यो दिन बाटुलीको बागाउँमै थिए भने त गाउँलेको शङ्का साँचो हुन पनि सक्छ । यो कुरा बुझ्न म बाटुलीका बा सधैँ जाने भट्टी पसलमा गएँ ।
भट्टी पसलको माहोल झन्विरक्त्तलाग्दो थियो । सबै जना बाटुलीकै कुरा गरिरहेका थिए, संवेदनाका कुरा होइनन् घिनलाग्दाअश्लीलताका कुरा । रक्सीको नशामा मान्छे यति सम्म नीच कुरा सोच्न सक्दो रहेछ जुन पहिलोपटक मैले त्यहीँ सुनेँ ।
“ क्या मस्त परेकी थिईयार त्यो । जवानीको मज्जा लिन नपाई मरेर गई ।”
अर्कोले थप्यो, “ तँलाई थाहा छ मुला त्यसले मज्जा लिएकी छ कि नाइँ भन्ने ? तँ तेसको बाउ होस् कि पोइ होस् कि नाठो होस् ? ”
हा ! हा ! हा ! अश्लील हाँसो भट्टीभरि फैलियो ।
“ तेसको बाउको कुरा नगर् है मु* , अस्ति मेरी बुहारीलाई एकान्तमा झन्डै समातेछ । घरमै त्यस्तो मस्त तरुनी छोरी पालेको छ अझै अर्काको बुहारीलाई आँखा लगाउँदो रै,छ तेस्सिमा । आ ! थु । ” मुखभरिको थुक निकालेर भित्ताभरि थुक्यो ।
धेरैबेर एकै ठाउँमा उभिएर सबै कुराहरू सुनिरहेको देखेपछि भट्टीको साहूजीले मलाई सोधे, “ किन आइस् यति राति ? के चाहियो भन् ?”
“ एउटा कुरा सोध्नु थियो काका ? नढाँटी भन्नु त अस्ति बिहिबार बाटुलीको बा यहाँ आएका थिए ?” मैले बिस्तारै सोधेँ । बिहिबार ! किनभने त्यो रात म बाटुलीको घरमा गएको थिएँ ।
उनले यताउता हेरेर बिस्तारै भने, “ हेर् केटा ! यो कुरा अन्त कतै नभन्, त्यो दिनभर बाटुलीका बा यहीँ थिए । आफ्नो परिवारका बारेमा धेरै कुरा गरे, तैँले बाटुलीलाई मन पराउने कुरा पनि थाहा पाएका रहेछन् त्यही भएर बाटुलीको बिहे चाँडै गर्दिन लागेको भन्दै थिए ।” उनी भन्दाभन्दै एकछिन रोकिए । “ बाटुलीले बिहे गर्न मानिन भने त्यसलाई पनि मार्छु, त्यसको प्रेमीलाई पनि मार्छु अनि म त्रिशूलीमा होलिएर मर्छु भनेर हिँडेका थिए । हेर् त ! भोलिपल्ट साँझमा बाटुलीको लास तल त्रिशूली किनारमा भेटियो ।” यति भनिसक्दा उनको आँखाभरि आँसु थियो ।
रातभर निद्रा लागेन । आखिर मैलै बाटुलीलाई माया गरेकाले नै बाटुलीले आफ्नो ज्यान गुमाउनु परेको हो त ? हे दैव ! कस्तो दिनमा बाटुलीलाई मन पराएछु । के यो सम्पूर्ण घटनाको दोषी मैहुँ? के मेरै कारणले बाटुलीको हत्या भयो वा उसले आत्महत्या गरीहोला त ? यदि यस्तो हो भने मैले आफूलाई कहिल्यै पनि माफ गर्न सक्ने छैन ।
भोलिपल्ट पत्रिकामा अर्को खबर आयो । बाटुलीको ‘हत्या’ होइन‘आत्महत्या’ हो भनेर किनकि उनको आत्महत्याको कारण असान्दर्भिक थियो । त्यसमा उनको बाको पनि बयान राखिएको थियो ।
“ बाटुलीको विगत सात महिनादेखि चितवनको एउटा केटासँग प्रेम सम्बन्ध थियो । उनीहरू नियमित भेटघाट गर्थे, घुम्न, फिल्म हेर्न जान्थे । मैले सोध्दा साथीमात्र हो भन्थी तर सम्बन्ध त्यो भन्दा धेरै माथि पुगिसकेको रै’छ । उनीहरूबीचमा शारीरिक सम्बन्ध पनि भएको थियो । पेटमा तीन महिनाको बच्चा पनि रहेछ । यो कुरा मैले थाहा पाएपछि उसलाई सम्झाउने धेरै कोसिस गरेँ । पहिला गर्भ तुहाइदे भनेँ, मानिन । पछि सुनेँउनीहरू भागेर विवाह गर्न खोजेका रहेछन् । काठमाडौँमा कोठा पनि खोजिसकेका रहेछन् । मेरो केही सिप नलागेपछि मैले हरेस खाएर जा ! त्यो केटालाई बोलाएर ल्याइज, तेरो बिहे त्यहीसँग गराइदिन्छु पनि भनेँ तर मेरो कर्म, आज यस्तो दिन देख्नुपऱ्यो ।”
बाटुलीको बाको कुरा सुनेपछि त मेरो टाउकामा घनले हानेजस्तो भयो । कुन कुरा सत्य हो र कुन झूट हो छुट्याउन सकिनँ । केही कुराहरू यस्ता छन् जुन कुराहरू बाटुलीका बाले थाहा पाएर पनि लुकाइरहेका छन् र केही कुराहरू थपथाप गरेरझूट पनि बोलिरहेका छन् ।
बाटुलीको कोही केटासँग सम्बन्ध थियो भने त्यो म हुन सक्थेँ तर हामीबीच तीन महिनाअगाडि शारीरिक सम्बन्ध भएको थिएन । भागेर काठमाडौँ जाने र कोठा पनि खोजेको कुरा सत्य थियो तर बाटुलीलाई त उनले अरू नै केटासँग बलजफती बिहे गर्दिन लागेका थिए । फेरि भट्टी पसलमा साहूसँग गरेको कुराकानी अनि बाटुलीले मसँग बिहे गर्न कर गरेकी र बिहे नगरे आत्महत्या गर्ने धम्की दिएकी पनि सम्झिएँ । यी सबै कुराहरू हेर्दा झूट के हो र सत्य के हो छुट्याउन गाह्रो थियो ।
झलझली बाटुलीको अनुहार मेरो आँखाअगाडि नाच्न थाल्यो । मैले अस्तिको त्यो रात सम्झने कोसिस गरेँ । उनको घर पुगेको सुरुदेखि नै सम्झन थालेँ । म बाटुलीको घर पुगेको, उनले बिस्तारै ढोका खोलेको र सिढीँ चढ्दा ‘बिस्तारै चढ नत्र अरूले थाहा पाउँछ’ भनेको सम्झिएँ । अरू भनेको को ? त्यो घरमा हामीबाहेक पनि अर्को तेस्रो व्यक्ती को हुन सक्छ । कोठामा पनि बाटुली खुट्टा नबजाई हिँडेकी थिई, आखिर किन ?
घरमा अरू कोही मान्छे थियो भने मलाई किन बोलाइन् । सधैँ निराश भएर बसिरहने बाटुली त्यो दिन चौतारामा भेट्न आउँदात्यसरी खुलेर किन बोलेकी थिइन् ?
आखिर उनले आत्महत्या गर्ने नै सोचेकी थिइन् भने मसँग शारीरिक सम्पर्क किन राखिन् ?सायद उनी मलाई भेटेर केही भन्न चाहन्थिन् तर मैले त्यो मौका नै कहाँ दिएँ र ।
त्यो रात घरभरिकोबत्ती निभेको थियो । बिहान तीन बजे उठ्दा एउटा मधुरो छाया भऱ्याङबाट तल झरेजस्तो लागेको थियो तर निद्राले गर्दा मैले हेक्का राखिनँ । तल भऱ्याङको च्यानल गेट पनि खुल्लै थियो जबकी हिजो म आफैँले लगाएको थिएँ ।
म घर फर्कँदा पनि एउटा अदृश्य छायाले पछ्याइरहेको थियो । त्यसबेला अरूले आफूलाई देख्ला कि भन्ने डरले पछाडि नहेरी छिटोछिटो हिँडेँ । आखिरमा त्यो बाटुलीको कोठाबाहिर देखिएको छाया र मलाई घरसम्म पछ्याउने छाया कस्को थियो ?यी सारा प्रश्नहरू अनुत्तरित थिए र यसको जबाफ दिन सक्ने एकमात्र मान्छे पनि अब यो संसारमा रहिन ।
भोलिपल्ट बाटुलीको बा घरमा आए । घरैभरि मान्छेको भिड थियो । म पनि भिडभित्र छिरेर कस्ले के भन्छ भनेर सुन्न थालेँ । बाटुलीको बाको अहिले पनि भनाइत्यही थियो जुन हिजो पत्रिकामा छापिएको थियो । उनले त्यसमा एउटा कुरा थपे, “ जो मान्छेले मेरी छोरीलाई यसरी आत्महत्या गर्न बाध्य बनायो त्यसलाई म त्यत्तिकै छोड्दिन । म बदला लिएरै छोड्छु ।“ उनको कुरा सुनेपछि सबैजना एकअर्कालाई मुखामुख गर्न थाले ।
बाटुलीको दाहसंस्कार भएको थिएन । त्यसैले उनी काठमाडौँ जान लागेका थिए । छोरीको काजक्रिया पनि उतै गर्ने कुरा सुनाए । जाँदाजाँदै, छिमेकी काकीलाई बाटुलीको सबै सरसामान जलाइदिन र कापी, कलम अरूलाई बाँड्न लगाए । बाटुलीका बा काठमाडौँ गएपछि अरूगाउँलेहरू पनि आ-आफ्नो घरतिर लागे ।
छिमेकी काकीको पछि लागेर म पनि बाटुलीको कोठाभित्र छिरेँ । कोठा पहिलेजस्तो सपक्क मिलेको थिएन । एक प्रकारको नमीठो गन्ध फैलिरहेको थियो । अस्ति घरमा चोरी भएपछि खासै सामानहरू बचेका थिएनन् । काकीले बाटुलीको सम्पूर्ण लुगाहरू दराजबाट झिकेर एउटा छुट्टै बोरामा कोच्नुभयो । दराज देखेपछि मलाई बाटुलीको त्यो डायरीको याद आयो जुन ऊअरूलाई देखाउन चाहान्नथी बरु आफैँसँग जलाउन चाहान्थी । मैले त्यो डायरी झिकेँ र काकीलाई “म लैजान्छु है” भनेर भनेँ । उहाँले नि पढ्नेकुरा होला भनेर “हुन्छ ! लैजा ” भन्नुभयो । डायरीसँगै उसको फोटो एल्बम पनि थियो तर घरभरि खोज्दा पनि त्यो एल्बम भेट्टाउन सकिनँ । जाँदाजाँदैउनको कोठा, ओछ्यानलाई राम्रोसँग हेरेँ र उनको एउटा रातो टिसर्ट लुकाएर ल्याएँ ।
बाटुलीको डायरी हातमा थियो । त्यसलाई बढो प्रेमले सुमसुम्याएँ । उनले यो डायरी अरू कसैले पनि नहेरोस् भन्ने चाहान्थिन् त्यसैले त्यसलाई खोलेर पढिहाल्न मन लागेन । बाटुलीको सम्झना मनमा ताजै थियो, मुटुमा घाउ आलै थियो । फेरि त्यसलाई कोट्याएर बल्झाउन चाहिनँ । बाटुलीको मृत्युपछि मेरो व्यवहारमा घेरै परिवर्तन आएको थियो । सायद घरमा पनि हाम्रो सम्बन्धका बारेमा थाहा थियो तर मलाई केही भन्नुभएको थिएन ।
म दिनभर कोठाभित्र ढोका थुनेर बिताउँथेँर साँझमा दुई गाँस खाना खान निस्कन्थे । आफूलाई मायाँ गर्ने मान्छे यो संसारमा नहुनुको बेग्लै पीडा त छँदै थियो त्यसमाथि परिवारको आशा भरोसा पनि ममाथि थियो । आफ्नो अवस्था जस्तो भए पनि परिवार, समाजका लागि म जबरजस्तीपरीक्षा दिन गइरहेको थिएँ ।
जसो तसोपरीक्षा सकियो । सँगै पढेका साथीहरूविभिन्न प्लानहरू बनाउन थाले । सबै जना गोरखा मनकामना जाने भए । साथीहरूको करकापलाई नकार्न सकिनँ । म पनि उनीहरूसँगै जाने भएँ ।
केबलकार चढेर मन्दिर पुग्यौँ । दर्शन गऱ्यौँ तर फर्कदा मलाई केही कुरा छुटेजस्तो लाग्यो । साथीहरूलाई जाँदै गर भनेर म फेरि मन्दिरतिर लागेँ । मन्दिरको चारैतिर हेरेँ,हरेक कुना काप्चा, गल्लीमा खोजेँ, हरेक पसल पसलमा खोजेँ तर मैले कतै पनि भेटिनँ । म निराश भएर फर्कन लाग्दा पो मलाई याद भयो म त बाटुलीलाई खोजिरहेको रहेछु । बाटुलीका यादले मलाई यति कमजोर बनाएको रहेछ कि म त्यही मान्छेहरूको भिडमा मूर्च्छा परेर जोड जोडले रुन थालेछु ।
रुँदा रुँदा मेरो शरीरकमजोर भइसकेछ । केही साथीहरूले घरसम्म डोऱ्याएर ल्याएर छोडिदिएछन् । एक साँझ खाना खाएर घरमा सबै जना सुतिसकेका थिए । बाहिर पूर्णिमाको जुन टहटह लागिरहेको थियो । मधुरो प्रकाशमा पर डाँडातिर हेरेर टोलाइरहेको थिएँ अकस्मात् मेरो दिमागको बाक्लो पर्दा फाट्यो । मलाई आफू एकाएक गहिरो सपनाबाट बिउँझिएको भान भयो ।
मलाई बाटुलीले लेखेको त्यो डायरी र उनको रातो टिसर्टको याद आयो । यत्रो दिनसम्म मैले त्यो डायरी किन पढिनँ भन्ने लागिरह्यो । मन छट्पटिन थाल्यो र म डायरी खोज्न थालेँ । रातको साढे एघार बजिरहेको थियो । बाटुलीको डायरी, मेरो लुगा राख्ने बाकसको फेदमा भेटेँ तर उनको त्यो रातो टिसर्ट जति खोज्दा पनि भेट्टाउन सकिनँ ।
डायरीको पहिलो पानामा उनको पहिलो जन्मदिनको फोटो टाँसिएको थियो र फोटाको तल यस्तो लेखिएको थियो ।
जन्म- २०५२-०१-१२
नाम-पूर्णिमा अधिकारी
जन्मस्थान-सिमरिया, इटहरी
बाबाको नाम- चन्द्रकान्त अधिकारी
आमाको नाम- शशीकला अधिकारी
रुचि- फिल्म, अभिनय, सङ्गीत र नृत्य
जीवनको लक्ष्य- नायिका र समाज सेवा
प्रेम र विवाह-कहिल्यै गर्न नपरोस्
( यो डायरी मेरो नितान्त आफ्नो व्यक्तिगत अनुभव र विचारले भरिएको हुनेछ । यस डायरीभित्रका सम्पूर्ण घटनाहरू मेरावास्तविकभोगाइहरू हुन् जुन सत प्रतिशत सत्य हुन् । यो डायरी म अरू कसैले पनि नपढोस् भन्ने चाहन्छु किनकि यो डायरी पढिसकेपछि तपाईँफेरिपहिलेकै जस्तो बन्न सक्नुहुनेछैन। यसभित्रका हरेक अक्षरहरू मेरा आँसु र रगतले लेखिएका हुनेछन् । मलाई माफ गर्नुहोला, म मरेपछि यस डायरीलाई मसँगै जलाइदिनुहोला ।)
पूर्णिमा अधिकारी अर्थात् मेरी बाटुली । यो बाटुली नाम म आफैँले दिएकी हुँ उनलाई किनकि म उनलाई बोलाउँदा मनमनै बाटुली भनेर बोलाउँथेँ । ‘बाटुली’ नाम र बाटुली केवल मेरी मात्र हो र सधैँ मेरी रहने छिन् । म उनलाई अरू कसैसँग बाँड्न चाहन्नँ भलै त्यो नाम नै किन नहोस् ।
डायरी आधाभन्दा बढी पढ्नै सकिनँ । मेरा आँखाहरूपीडाले भतभत पोलेका थिए । मन छिया-छिया भएको थियो । यति पढ्दैमा मलाई लागिसकेको थियो कि बाटुलीले आत्महत्या गरेर राम्रै गरीकिनकि एउटा सामान्य मानिसले यति धेरै पीडा सहनै सक्दैन । सायद बाटुलीको ठाउँमा म भएको भए त झन्पहिल्यै मरिसकेको हुन्थेँहोला । मैले जति पढेँ त्यो ठाउँसम्ममा उनले हाम्रो सम्बन्धका बारेमा केही लेखेकी थिइनन् । म पूरा कहानी जान्न चाहन्थेँ आखिर यति धेरै पीडा सहेको मान्छेले किन अन्तिम अवस्थामा आएर आत्महत्या गरिन् । मनलाई गाँठोपारेर बाँकी डायरी पढ्न थालेँ ।
***
डायरी पढिसक्दा म आँसुमा डुबेको थिएँ । डायरीका हरेक पानाहरू मेराआँसुले लप्पक भिजेका थिए । जब डायरीको पानाहरू पल्टाउँदा पल्टाउँदै सकिए मेरो शरीरभरि अरिङ्गालले टोकेसरिपीडा भयो । मभित्रको दूषित मानवता र पुरुष हुनुको गर्व बिस्तारै मक्किँदै गयो, कुहिँदै गयो र डुङ्डुङ गन्हाउन थाल्यो । यो समाजमा एउटा छोरी भएर जन्मिन, बुहारी भएर बाँच्न र श्रीमती भएर सृष्टि चलाउन किन यति पीडादायक छ ? हे ईश्वर ! आखिर किन ? म यस्तो कलङ्कित समाजमा कसरी हुर्किएँ? मैले कुन हैसियतले तिमीलाई मायाँ गरेँ बाटुली । तिम्रो भावना र शरीरसँग म यति धेरै लिप्त भएछु कि मैले तिम्रो आत्मालाई बुझ्न सकिनछु । तिमीले हरेकचोटि चिच्याईचिच्याई भन्दा पनि तिम्रो बोलीलाई मैले किन सुन्न सकिनँ । धिक्कार छ मलाई आफू पुरुष भएर जन्मिएकोमा र सबैभन्दा बढी धिक्कार छ तिम्रो प्रेमी हुँ भन्ने घमण्ड भएकोमा ।
डायरीलाई अँगालोमा बेरेर म धेरैबेर रोइरहेँ । रुँदारुँदा मेरो आँखाको आँसु रित्तियो तर मेरो मनको पीडा रित्तिएन । म अर्धचेत अवस्थामा बाटुली ! बाटुली ! भन्दै ढलेछु ।
सुनसान रातमा मेरो होस खुलेको थियो । पुसमाघको जस्तो चिसो रात थियो । खाटबाट बिस्तारै उठेँ, बत्ती बालेँ, कोठा उज्यालो भयो । घरका सबैजना मस्त निद्रामा थिए । ढोका खोलेँ, च्यार्रच्यार्र गरेर उघ्रियो । एक हुल प्रकाश आँगनमा पोखियो । आँगनभरि हुस्सुको बाक्लो तह टल्किरहेको थियो ।
राजमार्गमागाडीहरू फाट्टफुट्ट मात्र चलेका थिए । चिसो राजमार्ग लम्पसार परेर सुतिरहेको थियो । माथि जङ्गलबाट आएको स्यालको हुइयाँले मेरो डरलाई झन् बढाइरहेको थियो । म हतार हतार घरछेउको शौचालयमा छिरेँ र आफूलाई हल्का बनाएँ । बाहिर निस्केपछि राजमार्गछेउ उभिएर धर्तीलाई हेरेँ । चिसा पहाडहरू सुनसान रातमा न्यानो बिहानीको पर्खाइमा झोक्राइरहेका थिए ।
घरभित्रको बत्ती झलमल्ल बलिरहेको थियो । त्रिशूलीबाट एक झोक्का चिसो हावा सर्रर चल्यो । सडकको पारिपट्टि केही खस्रक्क गऱ्यो । कोहीहिँडेजस्तो आवाज आयो । भुईँकुइरो सलबलाउन थाल्यो । बिस्तारै हावामा तैरियो र अमूर्त आकृति बन्न थाल्यो । आकृतिले मानव स्वरूप लियो । बिस्तारै आकृति नजिक पुगेर हेरेँ त्यो आकृति ठ्याक्कै बाटुलीको थियो ।
सेतो एकसरो कपडामा मेराअगाडि बाटुली उभिएकी थिई । बाटुलीको अनुहार उज्यालो थियो । जूनको दुधिलो प्रकाशमा उनका ओठ, गाला र आँखा चम्किरहेका थिए । उनको कपाल फुक्का छोडिएको थियो जुन हावाको बेगमा फर्फराइरहेको थियो । उनको अनुहारमा एक प्रकारको मुस्कान थियो, खुसी नाचिरहेको थियो । उनको हातमा फूलका गुच्छाहरू थिए । उनीकेही गुन्गुनाइरहेकी थिइन् र एकोहोरो मलाई नै हेरिरहेकी थिइन् । यति राति यस्तो अवस्थामा मेलै मेरी सपनाकी राजकुमारीलाई देखिरहेको थिएँ । हाम्रा आँखाहरू एकअर्कामा एकटकले अडिए ।
उनले आँखाको इसाराले मलाई आफू भएको ठाउँमा बोलाइन्। धेरै समयपछि आज फेरि बाटुली र म एक अर्कासँग नजिक भएका थियौँ । एकअर्काको न्यानो अँगालोमा बाँधिएर मायाँ गर्नथाल्यौँ ।
एउटा चर्को उज्यालो मेरो आँखामा ठोक्कियो । सारा संसार उज्यालो अन्धकारमा थियो । सायद म अन्धो भएँ । हामी त्यहीँउभ्भिरह्यौँ । बाटुलीले मलाई उनको हातको फूल दिइन् मैले आफ्नो हातमा बोकेको डायरी उनको हातमा राखिदिएँ । केहीबेरमा हामीलाईएउटा गाडीले उछिट्याएर राजमार्गको पल्लोछेउमा पुऱ्याइदियो ।
हाम्रोशरीरमा कुनै चोट थिएन, कतै दुखाइ थिएन । किनकि हामी एक अर्काको साथमा थियौँ । हामीभन्दा अलि पर सोह्र सत्र वर्ष जतिको एउटा केटा पीडामा छट्पटाइरहेको थियो ।ऊ मेरै उमेरको थियो र अनुहार पनि ठ्याक्कै मेरैजस्तो थियो । उसको धड्कन मधुरो हुँदै गहिरहेको थियो अनि श्वासको गति पातलिँदै थियो । मधुरो जुनको उज्यालोमा चिसो राजमार्गबाट हामी तल ओरालो लागेको हेरेर ऊमुस्कुराइरहेको थियो ।
केही बेरमै दुईवटा सेतामानव आकृतिहरू बिस्तारै भुईँकुहिरो बनेर तलतिर झर्दै थिए र झरिरहे । झरिरहे ।
****



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

