साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

सुदन किरातीको वास्तविक जीवनकथा

आमालाई जति सम्झाउँदा पनि नमानेपछि मुटु मिचेर हिँडे घरबाट । आमा लडी–लडी रोइरहेकी थिइन् । १५–२० मिनेट हिँडेपछि घरतिर फर्केर हेर्दा आमा घरभन्दा अलि पर गएर भुईँमा हात बजार्दै अनि आकाशतिर हात उठाउँदै रोइरहेकी थिइन् ।

(०६१ साल माघ १९ । पूर्वराजा ज्ञानेन्द्र शाहले कु गऱ्यो । मुलुक सङ्कटकालमा गयो । त्यसको केही समयपछि नेपाल र भारतको बोर्डर सिराहाको पट्नारीमा गिरफ्तार परे चार माओवादी कार्यकर्ता । कथा यहाँबाट सुरु हुन्छ;)

…..

जनताको छातीमा निरङ्कुशताको घाउ थियो । कम्रेड सुदनको छातीमा पनि घाउ थियो । बेलाबेला बल्झन्थे दुवै घाउ । कम्रेडको सास रोकिएलाझैँ हुन्थ्यो । जनताको सास त यसै दुई सय ४० वर्षदेखि रोकिएकै थियो ।

विराट्नगरमा सामान्य ओखतिमुलो पश्चात् कम्रेड सुदन केही हल्का भए । र तीन कम्रेडसित लागे सिन्धुलीतिर । रुट थियो सिराहाको बोर्डर साइड हुँदै सिन्धुलीसम्मको ।

सिराहाको पट्नारीमा एउटा घर थियो ।

यो त्यही घर थियो, जहाँ माओवादीहरू कन्ट्याक्ट लिएर बस्थे । चारैजना पुगे त्यहीँ ।

तर त्यहाँ विद्रोही छन् भनेर सेनामा सूचना पुगिसकेको रहेछ । सेनामा सूचना पुगेको खबरपछि त्यहाँबाट कम्रेडहरू सिफ्ट भइसकेका रहेछन् ।

त्यहाँका मानिसले पनि भन्दै थिए, ‘सेना आएका छन् ।’

उनीहरू डेन्जर जोनमा परे । सङ्कटको सूचनापछि त्यहाँ बसिरहने कुरो रहेन । चारैजना हतारैमा निस्किए त्यहाँबाट ।
बुढापाका भन्थे– ‘साइतमै हिँड्नुपर्छ ।’

सङ्कटको बेला साइत हेर्ने फुर्सद कहाँ र ! दुईवटा बाइक थियो । चारैजना बाइकमा चढे । कुद्न थाले ।
सङ्कटमा जहिल्यै केही न केही उल्झन आइपर्छ । सिराहाका इन्चार्ज कम्रेड सुवासले दिसा कुल्चिएछन् । बीस मिटर पर मोटरसाइकल रोके ।

‘ओहो, मैले त दिसा कुल्चेछु । दिसा सफा गरेर जाऔँ न ।’

जिन्दगी कि दिसा महत्त्वपूर्ण ? दोधारमा परेका सबै रोकिए । दिसा सफा गरेर मात्रै जाने निर्णयमा पुगे । जीवन त प्रिय थियो तर दिसासँगै हुइँकिन उस्तो राम्रो लागेन सबैलाई ।

छेवैमा सानो घर र घरको छेवैमा कल थियो । कम्रेड सुवासले जुत्तामा पानी लगाएर झाडुले दिसा पुछ्न थाले ।

यही बेला कम्रेड सुदनलाई आफ्नो फोहोर दाँतको सम्झना आयो । उनलाई बिहान बेलुका जहिल्यै दाँत माझ्नैपर्ने । दाँच नमाझे बिरामीजस्ता भइजाने । सकसक लागेर छटपटिने । उनी घरको पेटीमा बसेर दाँत माझ्न थाले ।

यही मौकामा थाकेको ज्यानलाई कम्रेड अशोकले त्यही घरको सानो खाटमा फ्यात्त फाले । अर्का पत्रकार थिए, बाहिरतिर आँखा दौडाइरहेका थिए ।

दाँतमा ब्रस दगुराइरहेका कम्रेड सुदनले पनि आँखा यताउता दौडाए । ओहो ! बाहिर त केटाकेटी र आइमाईहरू भागिरहेका छन् ।

‘के भएछ !’

कम्रेड सुदन फुत्त बाहिर निस्केका मात्रै के थिए, ढ्याक्कै छ जना सेनाअगाडि ठिङ्ग उभिदिए । त्यसपछि को को के भए, उनलाई पत्तो भएन । उनले दक्षिणतिर अनुहार फर्काएका थिए । केही थाहा नपाए जसरी त्यतै लागे ।

केराघारी र लसुनबारी टम्म थियो । आत्तिने छुट थिएन । आत्तिएमा शङ्का भइहाल्ने । यसपछि छातीमा बुलेट दागिन केको साइत र ! लुसुक्क केराघारीभित्र छिरे ।

तर सेनाले ‘सी’ आकारमा घेरो हालिसकेका रहेछन् । ती ६ जना चाहिँ ‘ओ’ आकारको घेरो हाल्न कुदेर आएका रहेछन् ।

छेवैमा मधेसी मुलको एकजना मानिस लसुन र हारी घारीमा डरले लडिबुडी गरिरहेका थिए । गोली चल्यो, भुटुटु.. ।

तर हवाइ फायरिङ रहेछ । कम्रेड सुदन भने ढुक्कले दाँतमा ब्रस दगुराइरहे ।

सेनाहरू बन्दुक सोझ्याएर उनी नजिक आइपुगे ।

‘हात उठा !’

कसरी हात उठाउने ! अझैसम्म बचेर निस्कने आशा मरिसकेको थिएन । अझैसम्म सेनाको पन्जाबाट बाहिर निस्कने अपेक्षाको दियो निभिसकेको थिएन तर दियोमा हुरी आइपुगिसकेको थियो । स–साना हत्केलाले छेक्न नसक्ने हुरी ।
एक त हात उठाउनु आत्मसमर्पण हो । अर्को उनी सामान्य नागरिक हुन खोज्दैछन् । उनले हात उठाएनन् । हात नउठाएपछि पछाडिबाट बन्दुकको कुन्दा उनको टाउकोमा बज्रियो ।

फागुन महिनाको दिन । भर्खर २३ वर्ष पुगेका ।

बन्दुकको कुन्दाले हिर्काएको ठाउँबाट रगत पिच्कारीबाट निस्केको पानीको फोहोराझैँ निस्कन थाल्यो । तातो रगत टाउकोबाट जिउ हुँदै लुसुसु बगेर जुत्ताभित्र पस्यो । यति भएपछि उनको आँखा बन्द भइगयो । भक्लक्क ढले ।

…..

बिस्तारै होस खुल्यो ।

गलबन्दी भिरेका थिए । त्यही गलबन्दीले पछाडि ढाडमा हात बाँधियो । आँखामा पट्टी बाँधियो । घिसार्दै घरको आँगनमा लगियो ।

उनले सम्झिए, ‘साथीहरू त पक्कै पनि उम्किए होलान् ।’

मधेसमा उनको अनुहार मिल्दैन थियो । साथीहरूको मिल्थ्यो । उनले यस्तै सोचे ।

उनको जिउमा बुट र बन्दुकको कुन्दा लगातार बज्रिरहेको थियो । थरर काँपेर उभिरहेका उनले टाउको आकाशतिर फर्काए । आँखामा बाँधिएको पट्टीमा सानो चेप थियो । नाकका कारण बनेको चेप । त्यही चेपबाट बाहिर नियाले– साथीहरूलाई त गहुँबारीबाट पिट्दै ल्याइरहेका छन् ।

दुई साथीहरू पनि गिरफ्तार भए ।

पत्रकार भने उम्किएछन् ।

पत्रकार उम्किनु नै कम्रेडहरूको बाँच्ने अवस्था बन्नु थियो । किनभने यता बिबिसीमा समाचार आइसकेको थियो । नत्र त्यसबेला पक्रिएपछि मुठभेडमा मारियो भन्ने चलन थियो ।

उनीहरूलाई पनि लागिरहेको थियो, पक्का, मुठभेड भनेर मारिइनेछौँ ।

कम्रेड सुदनको छेवैमा प्रहरीको ओकेटोकेमा आवाज आइसकेको थियो, ‘तिनीहरूलाई त्यतै व्यवस्थापन गरिदिनू ।’

कम्रेड सुदनलाई दक्षिणतिर फर्काएर उभ्याइएको थियो । अलिकति दिशा मोडेर पश्चिम–दक्षिणतिर तान्दैतान्दै लगे । रूखमा बाँधे । सशस्त्र, नेपाल प्रहरी र आर्मीको युनिफाइड कमान्डबीचमा थिए ।

रूखमा बाँधिएका सुदनको कानमा एक सिपाहीले गोली लोड गरेको आवाज ठोक्कियो । कोही बोल्यो, ‘एकछिन पख् !’
बोल्नेले उनको देब्रे पाखुरामा समातेर भने, ‘भन् प्रचण्डे र बाबुराम, बादल कहाँ छन् ?’

‘मलाई थाहा छैन ।’

‘ए, तँलाई थाहा छैन ? अब तेरो राम्रो बन्दोबस्त हुन्छ’, एकछिन रोकिएर बोले, ‘त्यसो भए तँलाई बाँच्ने मन छैन ?’

उनले सोचे, दुई खालका विद्रोही हुन्छन् । एक त आत्मसमर्पण गर्नुको सट्टा ‘मार्’ भन्ने र अर्को ‘जीवनको भिख देऊ’ भन्ने । सोचे, ‘मेरो बाटोबीचको हो ।’

अनि भने, ‘संसारमा सबै प्राणीलाई बाँच्ने मन त भइहाल्छ नि !’

‘तँलाई चाहिँ के गरूँ ?’

उनले जेनेभा सन्धि सम्झिए । जहाँ भनिएको छ कि कुनै पनि युद्धमा विपक्षीलाई गिरफ्तार गरेर मार्न पाइन्न । अनि भने, ‘तपाईँको युद्ध नीतिमा जे छ, त्यही गर्नुस् ।’

सवालकर्ताको आवाज आयो, ‘ओहो, यो त ठूलो नेता हो क्यार ।’

फेरि ऊ नै बोल्यो, ‘एक घण्टाचाहिँ यसलाई नमारौँ ।’

अब उनको एक घण्टा आयु बढ्यो ।

एक घण्टा नमर्नु पनि एक घण्टापछि मर्नै त हो । त्यो एक घण्टाभित्र हजार पटक मर्नु हो । ड्याङ्गै मर्नु र एक घण्टाको बीचमा हजारपल्ट मर्नु फरक कुरा हुन् । एक घण्टाको आयुले उनमा कुनै खुसी थपेन । बरु झनै पीडाको गह्रौँ भारीले थिच्यो ।

एक घण्टा बित्नु कति नै समय लाग्छ र ! एक घण्टा पनि सकियो ।

तर उनले मर्नुपरेन । बरु रूखबाट निकालेर हिँडाउन थाले । मानिसले हेरिरहेका थिए । डराइरहेका थिए ।

अगाडि आर्मी, पछाडि आर्मी । अगाडि बन्दुक, पछाडि पनि । एक सिपाहीले भन्यो, ‘जुत्ता खोल् भाइ । खोला तर्नुपर्ने भयो ।’ मधेसको खोलो पहाडको जसरी कराउँदैन, त्यसैले उनले भेउ पाएनन् खोलो आइपुगियो !

कसरी जुत्ता खोल्ने ? हातपछाडि बाँधेका थिए, आँखामा पट्टी । एकछिनमा मर्नु पनि छ । जाबो एकछिनका लागि जुत्ता खोल्नुको अर्थ के र ! भने, ‘खोल्दिनँ, यत्तिकै तर्छु ।’

‘बाँचिस् भने त लगाउन पाउँछस् नि !’

सिपाहीको बोलीले उनलाई रङमङायो । बाँच्ने आशाको धमिलो बत्ती उनको दिमागमा झपक्क बल्यो । मृत्युको भयबीच आइपुगेको जीवनको मोहले ढुक्क फुल्यो उनको मुटु । मृत्युको सम्बोधनमा चलिरहेको मुटुका प्रत्येक चालमा परिवर्तन आयो । जीवनप्रतिको मायाले कताकता बिथोलिए, सम्हालिए ।

०००

पक्राउ परेकामध्ये एकजनाको झोलामा एक लाख ७० हजार रुपैयाँ थियो । त्यसको छुट्टै व्यवस्था भयो ।

तीन जना कम्रेडलाई भने एउटा कोठाभित्र थन्काइयो ।

रातको एघार बजेतिर तीनैजनालाई दश पन्ध्र मिनेट हिँडाइयो । एउटा घरको छतमा पुऱ्याइयो । छतमा ओछ्यान लगाइयो । त्यहीँ राखियो ।

फागुनको दिन, चोर औँला जत्रा मच्छडहरू फनफनी घुमिरहेका थिए । तिनैजनाको मन उस्तै फटफटी घुमिरहेका थिए । टाउको काटेर भुईँमा लडाइएको बोका जसरी उफ्रिरहेको थियो मुटु ।

सेनाहरू भन्थे, ‘यहाँचाहिँ चार तले घर छ, कसैले सक्दैन ।’

कम्रेड सुदनको अपहरित त्यो रात अनिदो सकियो । बिहानै चार बजे ट्याक्टरमा चढाइए तीनैजना ।

त्यतिबेला हल्ला थियो– पक्रिसकेपछि सेनाहरूले ट्याक्टरमा हालेर टाढा लगेर मार्छ रे !

ट्याक्टरमा तीनजना विद्रोही र बन्दुकधारी सिपाहीहरू । बाटोभरि पिटाइको अर्कै महाभारत । पछाडिबाट कान तान्थे । कान्सिरी उखेल्थे । एउटा सिपाहीले कम्रेड सुदनको कपाल खेलाउँदै भने, ‘यसको यस्तो राम्रो कपाल रहेछ, यो त मलाई भए पनि हुने नि । यो मरिहाल्छ, यसलाई केको काम ।’

निकै पर पुगेपछि ट्याक्टर चिप्लियो । पिच आयो । ट्याक्टर आइपुगेको थियो, सिराहा गोलबजार । त्यहाँ तीनैजनालाई आलुको बोरालाई जसरी लातले हुत्याएर झारियो । बरु आलुको बोरालाई व्यापारीले मायाले झार्छ ।

कम्रेड सुदन भुईँमा पछारिएका के थिए, एकजनाले उनलाई ताने । आँखामा पट्टी उस्तै, हात बाँधिएको गलबन्दी उस्तै । अलि पर लगेर भने, ‘म इनिस्पेक्टर हो लाहानको । दुर्भाग्य यार, अब आज राति तिमीहरूलाई मार्छन् । पुलिसतिर परेको भए बाँच्थिस् । आर्मीको गणमा परिस् । अब तेरो घरमा केही समाचार छ भने भनिराख्, म सुनाइदिन्छु ।’

उनको मनमा चुक घोप्टियो । मन सय टुक्रामा टुक्रियो । इन्सपेक्टरले लगातार तीनपटक सोधेपछि भने उनले भने, ‘छ ।’

‘के छ ? भन् ।’

‘तिमीहरूको छोरालाई समाएको थियौँ । आत्मसमर्पण गर्न मानेन, मारिदियौँ ।’

इनिस्पेक्टर धाप मारेर गए । त्यतिखेर पनि उनको सम्झनामा भने घर, परिवार केही आएन । आयो त केवल पागलपन मात्रै ।

गाडी आइपुगेको थियो । तीनैजनालाई बोकेर गाडी पश्चिमतिर लाग्यो । चुरे जङ्गलतिर सोझियो गाडी । उनले मनमनै निर्णय लिए, ‘मार्ने नै तयारी गरे भने मनपरी भन्नुपऱ्यो, खुत्रुक्कै मारोस् ।’

जङ्गलमा गाडी निकैबेर रोकियो । यसपछि टेलिफोनको रिङ बज्यो । आर्मीको क्याम्प थियो । जङ्गलमा आर्मीको क्याम्पबाहेक अरू ठाउँमा टेलिफोन हुने कुरा भएन । उनले अनुमान गरे, ‘पक्कै पनि रेडक्रसको मानिसको फोन आएको हुनुपर्छ ।’

यस्तो अनुमानले आशाको केही मधुरो तर हरियो बत्ती झिलिक्क बल्ने नै भयो ।

एक जना सिपाहीले तीनैजनालाई ‘गुड लक’ भन्दै गाडीबाट झारे । त्यो पनि लातले हानेर । त्यसपछि तीनजनालाई विभिन्न ठाउँमा छुट्याएर राखियो ।

सत्र रात लगातार पिटाइ सहेरै बिते । राति एघार/बाह्र बजे बाहिर निकाल्ने । अनि सबैभन्दा पहिला सोध्ने, ‘तेरा नेता कहाँ छन् ?’

आँखा, हात साथै मुखमा पनि पट्टी थपियो । ठूलो हजार लिटरको पोलिट्याङ्क । पानी भरिएको । ट्याङ्कीमा माथिबाट पानीमा हालिन्थ्यो । एकैछिनमा बेहोस ! कहिलेकाहीँ गहिरो माटाको खाडलमा हालेर घाँटीघाँटी पुरिन्थे । अनि घाँटीछेउमा खुकुरी । बलेको हिटरमाथि पिसाब फेर्न पर्ने । करेन्ट लागेर थरर काँप्थे अनि भक्लक्क लड्थे ।

उनलाई लाग्यो, ‘म त मर्छु नै यहाँ तर मार्ने ठाउँचाहिँ कस्तो रहेछ ?’

उनलाई आफ्नो वधशाला हेर्न मन लाग्यो । मारेर बेपत्ताको सूचीमा राख्नु नौलोको विषय थिएन ।

पछाडि बाँधेको हात घुमाएर अगाडि ल्याए । सत्र दिनसम्म केही नखाएको ज्यान, सर्लक्कै घटेका थिए । पछाडि बाँधिएको हात सजिलै अगाडि आउने नै भयो । हातअगाडि आएपछि आँखाको पट्टी अलिकति खोलेर हेरे । ओहो, घरमुनिबाट खनेर बनाइएको सुरुङमुनि पो ! माथि घर, तल सुरुङ । अगाडि फलामको गेट । सानो हावा छिर्ने प्वाल । धुलो टम्म ।

उनलाई लाग्यो, ‘कति धेरै कुरा अरूलाई सुनाउन पाए पनि त हुने नि ! कुनै डायरीमा लेख्न पाए कति छिटो लेख्थेँ होला !’
त्यसपछि उनले बाँधिएको हात पछाडितिरै लगे । त्यो दिन हो, उनलाई घर परिवारको बेस्सरी याद आएको । उनलाई अब अरू दिन बाँच्न सकिन्छ भन्ने आसै थिएन । बरु उनको मनमा खेलिरहन्थ्यो, ‘अब म मर्छु । यो बाटामा लाग्ने मानिस मेरो घरमा फेरि जन्मने छैन । अनि पार्टीले मलाई के भन्ला । शहीद पनि होइन, बेपत्ता पनि भइसकेको छैन ।’

०००

सत्ताइस दिन बित्यो ।

केही खाएका थिएनन् । भोक पनि थिएन उनमा । दिमागमा भोक लागे पो खान मन लागोस् ! त्यहीबेला उनले थाहा पाए, भोक भन्ने कुरा पेटमा होइन, पहिले दिमागमा लाग्नुपर्ने रहेछ ।

सत्ताइसौँ रात उनको दिमागमा एउटै कुरा खेलिरह्यो, ‘अब म एकदेखि दुई घण्टामात्रै बाँच्छु ।’

मर्नुपर्ने कुराभन्दा पनि कति समय बाँच्छु भन्ने कुरा कति महत्त्वपूर्ण हुन्छ एउटा मानिसका लागि ? त्यो मृत्युको सेकेन्ड सुई गनिरहेको मानिसलाई थाहा होला । सत्ताइसौँ रातमा पनि रातभर यातना पाए तर उनले थाहा पाएनन् । बोहोस थिए ।

आफ्नो अनुहार हेर्न पाए कत्ति मज्जाले हेर्थे होलान् । जिउ उस्तै गन्हाउने भएको थियो । अर्ध चेत थिए ।
रातभर चिसोमा डुबेर कटाएका थिए । कपडा भिजेको थियो ।

उनको देब्रे पाटो फत्रक्कै गलेको थियो । लामो सुरुङ । चैत लागेको समय । हिउँदको जाडामा पसेको सर्प गर्मीमा निस्कँदा उनी छेवैमा आइपुग्न लागेको रहेछ । आर्मीहरू आए । सर्पलाई लठ्ठिने औषधि दिए । सर्पलाई कोट्याएर बाहिर निकाले । सर्प तानिँदा उनी पनि तानिए । देब्रे पाखुराका छाला सबै घस्रिएर सकिए तर रगत आएन, सेतो मासु सर्लक्कै देखियो ।

सुरुङबाट बाहिर निकाले ।

त्यहाँ दुई खालका सेना थिए । एक खालका सेनाले ‘चकलेट खान्छौ ?’ भन्दै दिन्थे । अर्का भने पाँचथरका राई थिए । बेस्सरी पिट्दै भन्थे, ‘तँ राईको बैज्जत गर्ने ? हाम्रो वंशको बैज्जत गर्ने ?’

यतिन्जेल उनको आँखाको पट्टी खुलिसकेको थियो ।

आँखा खुलेर पहिलोपटक उज्यालो हेर्दा आफैँलाई देखेर झस्किए ।

मानिसलाई डर बाँच्दा मात्रै लाग्दो रहेछ । सचेत हुँदा डराउँदो रहेछ मानिस । प्रेम, महसुस, भोक सबै सचेत हुँदाका कुरा हुन् । अचेत हुँदा कुनै कुरा पनि अस्तित्वमा नरहँदा रहेछन् ।

आँखाको पट्टी खुलेपछि उनलाई १८ नम्बरको सानो पोस्टमा राखियो । त्यहाँ उनी सुतेको सुत्यै भयो । चल्ने जाँगर भए पो चल्थे ! अलिअलि खानेकुरा पनि दिन थालेका थिए । मकवानपुरको सिपाहीले चकलेटहरू पनि दिन्थे ।

६३ दिनको बिहान ।

उनको आँखामा फेरि पट्टी बाँधियो । आँखा बाँधेरैउ नलाई कतै लगियो ।

०००

पट्टी खोलियो ।

सिराहा जिल्ला कारागार । ६ नम्बरको बेडमा सुताइयो । उनको बेडमा भित्तो थियो । सानो झ्याल पनि । अलि परचाहिँ ऐना ।

उनलाई कस्तो ऐना हेर्न मन लागेको तर उठ्न सके पो हेरोस् ऐना ।

७४ औँ दिन ।

जेलमा रहेका सबै टोपी बुन्न गए । १२/१ बजेतिर उनले झ्यालको रड समाते । उठेर भित्ता समाउँदै–समाउँदै ऐनाअगाडि पुगे । ऐनाअगाडि उभिएर आफ्नो अनुहार हेरे । ओहो, यो कसको अनुहार हो ? कत्ले माछाको जस्तो अनुहार कसको हो ?

आफैँलाई चिन्न सकेनन् ।

ऐनाअगाडि आँसुहरू बरबर खस्न थाले । लगातार खसे । कुटपिटले मानिस के रुन्थ्यो र ! जब हृदयमा चोट पर्छ, मानिस क्वाँ क्वाँ रुन्छ । आफ्नो सोचहरूको विरुद्धमा आफैँलाई देख्दा मानिस रुन्छ । उनी त्यही मानिस थिए ।
उनले कम्मरमा हात राखे । आँसु पुछेर ऐना हेरे । उनलाई लाग्यो, ओहो, बाँच्न त बाँच्दो रहेछ मानिस !

०००

८६ औँ दिन ।

उनी केही लेखिरहेका थिए । लेखेर सिरानीभित्र हालेर सिलाइहाल्नुपर्ने । अचानक बाहिरबाट माइकमा उनको नाम बज्यो ।

किन अचानक नाम आयो ? छक्क परे । बिस्तारै उठेर गए । अगाडि फलामको गेटपारि बाउ टक्क उभिरहेका थिए ।
भूतपूर्व ब्रिटिस आर्मी । एकदमै कडा स्वभावका मानिस । हाफ टिसर्ट, टोपी पनि । एकदमै दुब्ला । उनी फलामे गेट पक्रिएर उभिए । बाउ–छोराको दूरी थियो, दुवैले हात लम्काउँदा भेटिने ठाउँको ।

बाउले छोरोलाई सिधा हेर्न सकेनन् ।

पश्चिम–उत्तरतिर फर्किएर छड्के हेरे । बाउको आँखाबाट आँसु खसिरहेको थियो । बाउ यति विघ्न रोएको पहिलोपटक देखे उनले ।

आमा रोएको देखिरहेकाले आमा रोएको सुहाउनेजस्तो लाग्थ्यो । बाउ रोएको देखेका थिएनन् । बाउ रोएको कस्तो नसुहाउने । बाउको आँसु खसेर फलामको डन्डीमा ठोक्किएर छरपस्ट भइरहेको थियो । आँसुका अन्य थोपाहरू भुईँमा खसिरहेका थिए ।

बाउले आँसु पुछ्दै नाके स्वरमा भने, ‘छोरा, तँलाई मैले के देख्नुपऱ्यो । क्रान्ति गर्छु भनेर हिँडिसको । क्रान्ति गरिस् हैन ?’

बाउको प्रश्न यतिमात्रै थिएन । बाउको प्रश्नमा लाहुरे भइनस्, हङकङको आइडी थियो, गइनस् । घरमै पनि रम्रै रोखेको थिएँ । गरिखाने ठाउँ थियो लगायत थिए ।

बाउले एउटै प्रश्न तीनपटक सोधेपछि ढाडस दिन बोले, ‘केही सुर्ता गर्नु पर्दैन बुवा । म धेरै कुरा सिक्दैछु ।’

घाम डुब्न लागेको थियो । बाउले देब्रे खल्तीबाट तीन हजार रुपैयाँ झिकेर हात तन्काएर सिधा नहेरी दिए अनि फर्किए ।

उनको आँखा बाउ गएरतिर परसम्म बाउसँगै गइरह्यो; बाउ हराए । उनको आँखा आँखामै फर्कियो ।

बाउ त गए तर बाउसँगका स्मृतिहरू चलचित्रमा जसरी सरसर फ्लासब्याक भइरहे । उनले सम्झिए –
ब्रुनाइमा परेडबाट आउनसाथ साइकलमा लिएर डुल्न गएको । चोरी औँला दिएर हिँडाएको । हरेक आइतबार समुद्रको किनारमा लगेर मीठोमीठो खानेकुरा खुबाएको । पछि गाउँ आउँदा दुई घण्टाको उकालो यात्रालाई सम्झाउँदै बाउले भनेको सम्झिए, ‘मैले भनेको कुरा तँ सम्झिरहन्छस् होला । म मरिसक्छु होला । यो बाटामा फेरि हिँड्छस् होला । अनि मलाई याद गर्छस् होला ।’

त्यो दिन पनि सकियो ।

एकपटक उनका साइँली बहिनी हङकङबाट भेट्न आएकी थिइन् । तीन मिनेट उनलाई देखेर एकै वचन नबोली रोएर मात्रै फर्किइन् ।

०००

०६२ सालमा उनी छुटे ।

जेलबाट निस्किएर सिधै घर आए । साँझमा पुगेका थिए । घरमा पटकपटक मरेको खबर पुगेको ।

उनलाई हेर्न मानिस आँगनभरि थिए ।

घरमा सोलार जोडिएको थियो । सोलारको बत्ती बलेको थियो । बत्तीमुनि उनकी आमा । बाउले घर छाडिसकेका थिए । घर पुगेपछि थाहा पाए, सिराहा जेलबाट निस्किएपछि बिरक्तिएर उतैउतै गएछन् बाउ ।

बाउको सपनाको मृत्यु भइसकेको थियो ।

रातको साढे एघार बजेसम्म आँगनमा रहे उनलाई हेर्न आएका मानिसहरू । समय थियो, १२ बज्न २० मिनेट बाँकी ।

घरभित्रको परिदृश्य थियो, – आमा अगेनाछेउमा, अलि वर कम्रेड सुदन । बाउ बस्ने ठाउँ छेवैमा (राईहरूको घरमा बाउ बस्ने ठाउँ छुट्टै हुन्छ) । त्यही बाउ बस्ने ठाउँभन्दा एक स्टेप तल बसेका थिए उनी ।

आमाले चिम्टाले अगेनामा आगो चलाइन् तर आगो मरिसकेको थियो ।

उनले पल्टनबाटै ‘आमा जी’ भन्ने सम्बोधन सिकेर आएका थिए ।

‘आमा जी, ५४ वर्षमात्र पुग्नुभएको छ । कति बुढी देखिनुभएको ?’

आमा केहीबेर बोलिनन् ।

एकछिनपछि आमाको कुरा सुरु भयो । सुरु भयो आमाको आँसुहरूमा मनभित्र गुम्सिएका कुराहरू –
‘जब तँ गिरफ्तार परिस् । एक महिनापछि मात्र हामीले थाहा पायौँ । त्यस्तो खबर सुनेपछि मलाई अँध्यारो हेर्नै मन लागेन । यो घरभित्र त बस्नै मन लागेन । जतिबेला उज्यालो हुन्छ बाहिर कुदिहाल्थेँ । जति समाचार सुन्यो, मरेको र मारेको मात्रै आउने । हाम्रो जिल्ला (भोजपुर)मा जताततै गोली पड्किने, लडाइँ हुने ।

बारीको डिलमा बस्थेँ । तँ आउने बाटो तल, वरपर मास्तिर तीन बाटातिर मात्र हेर्थेँ । काग कराउँदासम्म पनि के समाचार ल्यायो भनेर झस्किरहन्थेँ । मलाई घरभित्र पस्न मन लाग्दैन थियो । रात पऱ्यो तर भित्र पस्न मन लाग्दैन थियो । तैपनि अँध्यारोमा नदेखेपछि पस्नैपऱ्यो अनि भित्र पस्थेँ ।

जर्किनमा रक्सी हुन्थ्यो र जर्किनबाटै रक्सी घटघट पिएपछि भन्थेँ, ‘बाँचेको छस् भने छोरा आइज, मरेको छस् भनेचाहिँ रातभर घरमा तर्साउनू । मै बाँच्दाखेरि तेरो काजकिरिया गरिदिन्छु ।

अनि रक्सी खाएर सुत्थेँ । फेरि उज्यालो हुन्थ्यो, बाहिर दगुर्दै गएर तेरो बाटो हेर्थेँ ।’

उनी केही बोलेनन् । शब्दहरू कतै कन्तुरमा थन्किएका थिए । उनले त्यो कन्तुर खोल्न सकेनन् । दिमागबाट सबै

शब्दहरू मलामी गएजस्तो भएको थियो । चकमन्न र सन्नाटा अनि शून्य–शून्य ।

त्यस दिन उनको आँखाबाट निद्रा भागेर गयो । रात आँखा बन्द नभई सकियो । उज्यालो भयो ।

पाँच दिन घर बसे । त्यसको भोलिपल्ट बिहानको पाँच बज्यो । उनलाई घरबाट हिँड्नु थियो । मामाको छोरो र कान्छो भाइ माथि मैयुङसम्म पुऱ्याउनका लागि आएका थिए । कम्रेडहरूले त्यहाँ कुरिरहेका थिए ।

उनले झोला भिरे ।

जब झोला भिरे, आमा डाँको छाडेर रुन थालिन् । रुँदै भनिन्, ‘नजा छोरा । फेरि लडाइँ हुन्छ । तँ जितेर के गर्छस् र । तँ गइस् भने यही दलिनमा झुन्डेर मर्छु ।’

उनले आमालाई सम्झाए तर आमा माने पो !

आमालाई जति सम्झाउँदा पनि नमानेपछि मुटु मिचेर हिँडे घरबाट । आमा लडी–लडी रोइरहेकी थिइन् । १५–२० मिनेट हिँडेपछि घरतिर फर्केर हेर्दा आमा घरभन्दा अलि पर गएर भुईँमा हात बजार्दै अनि आकाशतिर हात उठाउँदै रोइरहेकी थिइन् । कुनै किशोर अल्पायुमै मरेर लासको बिदाइको अन्तिम क्षणजस्तो गरेर रोइरहेकी थिइन् ।

०००

(सुदन किरातीको वास्तविक जीवनकथामा आधरित )

प्रतिक्रिया
Loading...