कथा : सालेहा

बाहिर वातावरण शान्त छ तर हलचल त ममा छ नि होइन र ? हो तर, त्यो कुरा तिमीलाई पो कसरी थाहा हुने जबसम्म म तिमीलाई केही भन्दिनँ  ? कोही मेरो प्रतीक्षाका लागि भागदौड गरिरहेका छन् । आफू हारेर मलाई हराउन चाहेका छन् । ओ ! माफ  महोदय ! मैले गलत भने । मलाई होइन,  मेरो यौवनलाई । ऊ हराउन चाहन्छ मेरो रूपलाई । ऊ आफू पुरुष हुनुको अहम्ता जगाउन चाहन्छ अनि त्यस अहमतालाई पार गराउन चाहन्छ मेरो यौवनमा । अहो ! कति कायर छन् है पुरुषहरू, जो आफू एकमा नै पूर्ण मानव हुँदा पनि यिनीहरूलाई पुग्दैन वा आफैमा लुकाउन सक्दैनन् आफ्ना कुरूपताहरू । आफूमा नै थमाउन सक्दैनन् आफ्ना यौवनहरू । हरेक रात, हरेक कल्पमा यिनीहरू हामी स्त्रीकै चाह राख्छन् । सत्य हो यिनीहरूका अगाडि हजार योनी भएका स्त्रीहरू भए पनि पुग्दैन ।

‘ सालेहा !”
“ओ सालेहा ! ”
रातको दश बजेको छ घडीमा तर बाहिर कुनै पुरुष मेरो यौवनलाई सुम्सुम्याउन उपस्थित भैसकेको छ । ढाकामा खट्खट् आवाज तबसम्म आइरह्यो जबसम्म मैले उसलाई ढोकाभित्र पस्ने अनुमति दिइनँ । आज पनि मैले दु:खलाई नै सहन गर्नुपऱ्यो । ढोकामा उभिएको थियो हवेलीको मालिक ठाकुर साहेबको छोरो कान्छा ठाकुर । मैले उसलाई के भित्र पाल्नुहोस् न मात्र भनेकी थिएँ । ऊ भित्र पसेर मलाई गम्लङ्ग अँगालो हालेर सुमसुम्याउन लाग्यो । एक वेश्याको घर । जहाँ हरेक स्थानमा मैले आफ्नो इच्छालाई सुनेर रौनकतालाई सजाएकी छु । रातो रङ्गमा सजिएको दुईतले घर । घरका अगाडि ठुलो फूलबारी अनि घरको चारैतिर झिलमिल गरिरहेको बत्ती । हुन त त्यो बत्ती नै कहाँ थियो र ? मैले आफ्नो रात अरू कुनै पुरुषहरूको काखमा सुताएर ती वस्तुहरू जोडेकी थिएँ । अर्थात् यो घर, घरअगाडिको ठुलो बगैँचा अनि चारैतिर झिलमिल गरिरहेको बत्ती । ती सबै मेरा कामुक रूप हुन् । जसलाई मैले यहीँ समाजको अगाडि उभ्याइदिएँ तर पनि उसले आफ्नो इज्जतलाई देखेन मेरो यौवनका अगाडि । ऊ अक्सर भनि नै रहन्थ्यो,” सालेहा ! म आउने बेलामा त कहिलेकाहीँ भएपनि यसो बत्ती निभाउने गर न ।”

तर मैले उसको कुरा एक सुने पो त । यो समाजमा मेरो के नै पो इज्जत छ र जो म अक्सर अरूको इज्जतको ख्याल राखूँ । मैले नै ढोका बन्द गरे । उसले मलाई आफ्नो बाहुमा उठाई विस्तरासम्म पुऱ्यायो ।
“सालेहा !” उसले मलाई सुम्सुम्याउँदै बोलायो ।
“हजुर ”
“तिमी किन यति सुन्दरी छ्यौ ?” उसले मेरो सौन्दर्यमा मोहकता जगायो । मलाई थाहा भैसकेको छ । ठुलाठुला हवेलीका मालिक एवं उनका सन्तानहरू जब कुनै वेश्याको फरियामा गुटमुटिन थाल्छन् तब उनीहरूले ती वेश्याको रूपको वर्णन गर्ने पहिलो वाक्य नै यही हो । जुन कुरा मैले भर्खर सुनेँ ।

त्यो रात पनि मैले राम्रोसँग निदाउन पाइनँ । म सम्झन्छु ऊसँगको पहिलो मेरो रात । सोह्र वर्षको उमेरमा जब मैले उसका लागि पहिलोपल्ट आफ्नो टाङलाई खुल्ला छाडिदिएकी थिएँ । त्यसबेला मेरो बाध्यता थियो । मलाई मेरी आमाको प्राण बचाउनु थियो तर अन्ततः मैले न उनलाई बचाउन सके न नै आफ्नो यौवनलाई । जुन समय मैले उसलाई अँगालो हाले त्यो समयमा म पुर्ण निर्दोष थिए । उसको भार सहन गरी चिच्याउनुमात्र मेरो काम रह्यो । मेरी आमा जो वेश्या थिइन् र वेश्या नै भएर उनले मलाई जन्माइन् र अन्तमा वेश्या नै भएर यो संसार त्यागिन् । उनले आफ्ना लागि भन्दा पहिले मेरा बारेमा सोचिन् । उनी चाहन्थिन् कि ‘उनकी छोरी सालेहा कुनै उत्तम प्रवृत्तिको पुरुषसँग विवाह गरी पारिवारिक जीवन बिताआस् न कि वेश्या बनेर ।’

यो मेरो दोष हो कि मैले पैसाको अभावमा उनलाई गुमाएकी थिएँ । अब मलाई कुनै पुरुषको दास स्वीकार गरेर उसका लागि वंश बढाउने काम गर्नु छैन । हो मैले कहिल्यै सोचिनँ कि म कुनै पुरुषको लायक बन्ने छु भनेर तर आज मैले स्वीकार गरिसके कि म उनीहरूको लायक नबने पनि पुरुषहरूका लागि नै म लायक रहेछु भनेर ।

पहिलो सम्भोग दुःखदायी, दोस्रो सम्भोग साहसका साथ, तेस्रो सम्भोग पीडा भुलाउन , त्यसपछिको सम्भोग पैसाका लागि । अनि मेरो खुसी ? मेरा इच्छा ? सपनाहरू ? के वेश्याले कुनै सपना देख्नु हुँदैन ? के उसको कुनै इच्छा हुँदैन  र ? हो, हुँदैन । किनकि वेश्याहरू कहिल्यै आमा बन्न सक्दैनन् न नै नारी । साथै नारीहरू  कहिल्यै वेश्या बन्न सक्दैनन् । यो नै उनीहरू र हामीबीच रहेको भिन्नता हो ।

उसले आज पनि त्यसरी नै मेरो शरीरबाट कपडा उताऱ्यो; लगत्तै आफ्नो पनि अनि हावी भयो मेरो यौवनमा । पुरुषहरू त्यो परजीवी प्राणीहरू हुन जसको विस्तरामा नारी भएनन् भने उनीहरूले अरूहरूलाई गन्दैनन् ।

चुल्ठी पारेर सजाइएको मेरो लामो कपाल, ओठमा लाली, आँखामा गाजल, उभिएर आकाशलाई नै चुनौती दिने मेरा स्तनहरू, उस्तै मेरा कम्मर अनि कम्मर मुनीका सारा भागहरू । यति नै काफी छ सालेहा अर्थात् म वेश्या हुनुको प्रमाण दिनमा ।

मैले आजसम्म कति पुरुषहरूसँग रात बिताएँ । मलाई नै थाहा छैन । यो होइन कि म अशिक्षित छु । यदि हरेक वेश्याले आफ्नो रात र उसले पुरुषको शरीरलाई कतिपटक छोइन भनी गन्ती दिन थालिन भने भोली मेरो ढोकामा उभिने पुरुषको सङ्ख्या नघट्ला भन्न सकिँदैन ।

जब-जब चरित्रहीन शब्दको आवाज पुरुषहरूको भेलामा उत्पत्ति हुन्छ त त्यहाँ मेरो नाम पनि अवश्य आउँछ । रिक्सा कुदाउनेहरू मेरा झ्याल अगाडि आइपुग्छन् त तिनीहरूलाई छुट्टै ऊर्जा मेरो झ्यालले दिन्छ । घामलाई देखाएर झ्यालअगाडि सुकाएको मेरो चिसो कपडाले उनीहरूको पसिनालाई पुछ्ने काम गर्छ ।  पहिले पहिले म खुब हाँस्थेँ । हेर न वेश्या ! खुब नखरा पार्छे भन्दै मलाई नै गाली गर्ने पुरुषहरू बेलुका मेरै आँगनका अगाडि सिटी मार्दै जान्छन् ।

अस्ति मेरो झ्यालमा ढुङ्गा फ्याक्ने पुरुष जमातहरू आज त्यही झ्यालमा गुलाफको फूल फाल्न थालेका छन् । हिजो रण्डी भन्नेहरूले आज कति आदरका साथ मलाई सालेहा भन्दै बोलाउन लागेका छन् । माफ गर्नुहोस् महोदय ! मैले एउटा कुरा गर्न चाहेँ । एउटी वेश्याका रूपमा जबसम्म एउटै पुरुषको रजाइँ चल्छ तबसम्म ऊ चरित्रहीन हुने । कारण छ हजुर ! त्यो पुरुषले आफ्नो मर्दन देखाउन ऊ त्यो समाजका अगाडि खुला रूपमा भन्छ कि मैले उसको उपभोग गरेँ । यो मेरो अनुभव हो । ऊ चाहँदैन कि त्यो वेश्यामाथि अरूको हुकुम चलोस् । जबसम्म उनीहरूले त्यो वेश्यालाई छुन पाउँदैनन् नि तबसम्म नै हो त्यो चरित्रहीन हुने । जुन दिन छुने कष्ट उठाउछन् तब उनीहरूको नजरमा त्यो नारी अर्थात् वेश्या नै उसकी आमा भन्दा पनि प्यारी हुन्छिन् ।

***

कान्छा ठाकुरजी आजकाल मेरो ढोका थुप्रैपटक ढकढकाउन थालेका छन् । मेरा लागि हरेक दिन सुहागदिन, अनि हरेक रात सुहागरात हुँदै आएको छ । अझ अस्ति त उहाँले मलाई डिनर खुवाउन आफ्नै कारमा चढाएर बाहिर नै लैजानुभयो । मैले मानेकी त थिइन् तर उहाँको जिद्दीका अगाडि मैले हार खानुपऱ्यो । विस्तारै उहाँले मलाई कपडाको दुकान, सिनेमाहल, पार्कतिर पनि लैजान थाल्नुभयो । आज बिहान उहाँले मलाई भन्नुभयो, “सालेहा ! तिमी मात्र मेरी हौ र म तिम्रा लागि । तिमी कहिल्यै पनि वेश्या थिइनौ र हुने छैनौ पनि  । हो सालेहा !आजबाट तिम्रा लागि म अनि मेरा लागि तिमी ।” म बिचरी के नै पो भन्न सक्थेँ र ? मात्र ‘हस्’ भने अनि उहाँको काखमा लुपुक्क लागेँ ।

मलाई देखेर मेरा सहेलीहरू आजकाल खुब ईर्ष्याले मर्न लागेका छन् । मेरो आङमा प्रत्येक दिन चढेको नयाँनयाँ साडी । खाटमा फेरिरहेको तन्ना । आलमारीमा बढ्न थालेका गहनाहरू । अहो ! म सोच्छु । के साँच्चिकै यी मेरा सम्पत्ति नै हुन् त ? अनि सोच्छु ती सहेलीहरूको बारेमा । तिनीहरू मेरा सौता हुन कि सहेली ? उनीहरूको त आफ्नै परिवार छ ; लोग्ने छ , सन्तान छ , आमाबाबु सासुससुरा छन् । यी भन्दा अरू के नै पो चाहिन्छ र ? अब उनीहरूलाई एउटी वेश्याको आम्दानीमा पनि लोभ लाग्न थाल्यो है ? छिः छिः।

***

हिजोआज मेरो नाममा खुब भजनकीर्तन हुन लागेछ टोलटोलमा । जब म त्यहाँ पुग्थेँ त उनीहरू गाउन थाल्थे ‘ओ ठाकुरकी बुहारी ! ठकुराइन ‘ अनि उनीहरू गललल हास्न थाल्थे । कोही कोही भन्ने पनि गर्थे,’ कति ठाकुरको छोरालाई लुटछौ हौ सालेहा ! अब ठाकुरलाई नै लुट ! ‘ उनीहरूको भद्दा मजाकसँगै टुङ्गिन्थ्यो त्यो भजनमण्डली ।

आकाशमा पिलपिल जुन देखिँदा पनि आज ठाकुरजी आउनुभएन । बत्तीको उज्यालो भएर हो कि भनूँ भने पनि मैले बत्ती निभाएको हुँ क्यार ! सधैँ आउने ठाकुरजी आज चाहिँ किन आउनु भएन ? मनमा खुब खुलदुली जाग्यो । झ्यालबाट चिहाए । अहँ देखिनु भएन । बत्ती बाली हेरे वरपर कुकुर भुकेको आवाजमात्र आयो । के थाहा ढोकामा आइसक्नुभएको छ कि भनेर म त्यहाँ पनि हेर्न गए । ढोका खोल्दा हावाको एक झोक्का भित्र पस्यो तर ठाकुरजी देखिनु भएन । यति अबेर त गर्ने मान्छे होइन । एक मनले मानेन तर कुनै काममा अल्झनुभयो होला भनेर अर्को मनले चित्त बुझाए ।

यो रात मैले पहिलोपल्ट अनुभव गरे कि एउटी वेश्याको खाटमा कुनै पुरुष नहुँदा उसका लागि कति निराशाजनक हुँदो रहेछ भनेर । ऐनाअगाडि उभिए । ठाकुरजीको खुब याद आयो । आँखा चिम्लिदा पनि उहाँकै याद आयो । छिः म वेश्यालाई पनि माया बस्न थालेछ ठाकुरजीसँग । आफैँलाई देखेर लाज लाग्यो । ऐनाले पनि गिज्याएजस्तो लाग्यो अनि आफ्नै हातले मुहार छोपे ।

यही रात नै हो मैले पहिलोपल्ट ऐनाका अगाडि आफूलाई नाङ्गो बनाएको । पहिलोपटक अनुभव पनि गरेँ । म वेश्या बन्दा पनि अझै मेरो रूप त खराब भएको रहेन छ बाबै । आफ्नै हातले नाङ्गो छातीलाई गिजोले । फेरि पनि लाज लाग्यो । सोचे कि ठाकुरजीले मेरो छातीमा हात राख्दा उहाँलाई लाज लाग्यो कि लागेन होला ? अरू पुरुषहरूले मलाई छुँदा लाज लाग्यो कि लागेन होला ?

अनायासै बायाँ हातको औँलाले योनीलाई स्पर्श गऱ्यो ।”साहेला !” फेरि आयो ठाकुरजीको याद । चुल्ठी पारेको कपाल भुईँसम्म लत्रिसकेका छन् । शरीरभरि कहीँ कतै कपडा छैन । एक हात वक्षस्थलमा र अर्को हात योनीस्थलमा घुस्रिएका छन् । अनि आँखा ऐनासँग जुधिरहेका छन् । हो यही नै हो मेरो परिचय । साहेला अर्थात् एक कामुक वेश्या ।

त्यो रात म आफैँले आफ्ना पूरै अङ्गहरूलाई सुमसुमाई बसिरहे । सोच्छु कि पुरुषहरू पनि के स्त्रीका बारेमा सम्झिएर यसरी नै रातभर जागा भई आफ्नो शरीर सुम्सुमाउँछन् कि सुम्सुमाउँदैनन् होला ? यसरी यौवन बगाउछन् कि बगाउँदैनन् होला ?

छिः आफैँदेखि लाज लाग्यो । हुन त एक वेश्याको दिमागले यो भन्दा बढी अरू के नै पो सोच्न सक्छ र ?

ढोकाबाट कसैले आवाज दियो । म निद्राबाट ब्युझिएँ । त्यतिबेला बिहानको आठ बजेको थियो । ओछ्यानबाट उठी कपाल मिलाए । आँङमा एक सर्को कपडा बेरेर म तल झरे । ढोका खोल्दा त्यहाँ ठाकुरजीको पिता उभिरहेका थिए । हवेलीको मालिक ! उनलाई भित्र बोलाउने मेरो साहस भएन न नै उनीभित्र आउने चेष्टा उठाए । उनको नजर पहिलोपल्ट नै मेरो छातीमा पऱ्यो । हुन त उनी पनि त्यहीँ छोराको बाबु न थिए । जो हरेक समय मेरै ढोका ढकढकाइरहेको थियो ।

उनले आदरका साथ मलाई भने,” नानी ! तिमी मेरी छोरी जस्तै छ्यौ । मलाई थाहा छैन तिम्रो पेसाले तिमीलाई के बनायो ? समाजमा हवेलीको बदनाम भइरहेको छ । हवेलीले सहन गर्न सकेन । माफ गर नानी ! म यतिमात्र भन्न आएको अब कान्छा ठाकुरको जिन्दगीबाट टाढा गइदेऊ । ऊ अब हवेलीमा छैन । आज बिहानको ट्रेनबाट ऊ पटनातिर लागिसकेको छ । अब उसलाई पर्खन छाडिदेऊ ।” हात जोडी एक वेश्याका अगाडि उभिएका ठाकुरले मलाई यति नै भने । अनि जसरी आएका थिए त्यसरी नै फर्किए । कति सहजै भन्यो यो अर्धबैँस मालिक ठाकुरले ‘कान्छा ठाकुरको जिन्दगीबाट टाढा गइदेऊ ।’ बल्ल त उहाँसँग मैले जिन्दगी देख्न थालेकी थिएँ । उहाँसँग मायाँ बस्न थालेको थियो ।

हामी वेश्याहरूले आफ्नो हैसियतभन्दा उच्च सपना देख्नुको फल नै यही हो । ठुलाहरू हाम्रो लागि बनेका नै होइनन् भने म वेश्याको के हैसियत त्यो हवेलीमा टेक्ने । हो म हिजो पनि वेश्या नै थिए । आज पनि छु र नमरुन्जेलसम्म रहिरहनेछु । किनकि म वेश्या हो र वेश्याले आफ्नो हैसियत भुल्नु हुँदैन ।

म बाहिर निस्कदा एक्लै हुन थाले । अब त ठाकुरजी पनि पटना जानुभएको खबर चारैतिर फैलिएको थियो तर मैले आजसम्म बुझ्न सकिनँ । उहाँले मेरा लागि एउटा खत पनि लेख्न आवश्यक ठान्नु भएन है ? म त्यति गिरिसकेकी वेश्या भैसकेकी रहेछु । आँखाबाट आँसु बग्न थाले । चामल पनि सक्किन लागेछ । खाटको तन्ना नफेरिएको पनि हप्तौँ भयो । आँङमा नयाँ कपडा नफेरिएको पनि हप्तौँ भयो । मेरो जीवनमा यस्तो अवस्था पनि आइपुग्यो कि मैले ठाकुरजीको उपहारलाई एक एक गरेर बेच्नुपऱ्यो ।
उधारो भन्दै धाउनेहरू धेरै भए । मेरा सपना, इच्छा, रूपको मोहकताचाहिँ सबै ठाकुरजीले पटनातिर नै लिएर गए ।

टोलमा पुनः मेरो नामको सम्मेलन चल्न थालेछ । म उही बाटो हिँडिरहेकी थिएँ । टोलको पुरुष भजनमण्डलीहरूका पुरुषहरू एकपछि अर्को गरेर मेरो नामको भजनका श्लोकहरू गाउन थाले ।

” हेर हेर ठकुराइनको बिचल्ली भएको ।” हाँसो आयो गललल्ल !
” ओ ठकुराइन कार चाहिने भए मेरो काखमा आऊ क्यार ।” फेरि हाँसो आयो गललल्ल !
” अब त ठकुराइनको सेखी नै झर्‍यो क्यारे ! कुन्नि के जाति थियो रे नि ठाकुरसँग । नपाएपछि हेर न हेर ठकुराइन त पागलै भइन् नि । अब यिनलाई कसले पैसो देओस् । कसले कपडाको दुकानमा, पार्कमा, डिनर गराउन लैदियोस् ” र पुनः हाँसो आयो गललल्ल !

***

मैले त्यसदिनदेखि कहिल्यै पनि ठाकुरजीबाहेक अरूका बारेमा सोच्ने काम पनि गरिनँ तर उहाँको पिताजीसँग बाटामा भेट हुँदा उनी मसक्क मस्किन्थे । कहिलेकाहीँ मेरो आँगनको बाटो हुँदै पनि गइरहेका देखिन्थे । बिस्तारै उनको नजर मेरो झ्यालतिर पनि पर्न थाल्यो । मलाई थाहा थियो उनी मबाट के चाहन्छन् । हुन त एउटी कामुक वेश्यासँग उसको रातबाट अरू के नै पो हुन्छ र ? समय त्यसरी नै बित्दै थियो । एकरातको कुरो ठाकुरजीको पिता हवेलीको मालिकले मेरो ढोका ढकढकाए । उनी पनि त्यसरी नै भित्र पसी गम्लङ्ग अँगालो हालेर मेरो शरीर मुसार्न थाले जसरी उनको छोराले पहिले गरिरहेका थिए । छोरी भन्ने उनको ओठले मेरो स्तन स्पर्श गर्न थाल्यो । हुन त म वेश्या हुँ । मलाई थाहा छैन यी मान मर्यादाका कुरा । मलाई त पर्वाह छ मेरो पेसामा । समय पहिलेजस्तै भयो । मालिक ठाकुरका निम्ति मेरो टाङ खोलिन थाल्यो । त्यही नै पीडा, त्यही नै मादकता, त्यही नै रौनकता अनि त्यही नै जोस । आखिर उनी पनि त तिनै ठाकुरका पिता न हुन् । आखिर छोरा भन्दा आफू कम त हुनु भएन नि भन्ने उनको चाहजस्तो लाग्न थाल्यो मलाई ।

अब म वेश्याले फेरि मालिक ठाकुरसँग पिरतीको धागो बाध्न थालेँ । विस्तारै उनको वंश मेरो पाठेघरमा आफ्नो  पलाएको चाल पाएँ । गोप्य कुरा चल्यो हामीबीचमा कि हवेलीको गहनापात र केही रुपैयाँ पैसा लिएर भारतको बाटो हुँदै लाहोरतिर पस्ने । आखिर उनी पनि त तिनै हवेलीको मालिक न ठहरिए, अनि म उनकी प्रेमिका । अहो ! आमा त भन्नुहुन्थ्यो छोरी तैँले परिवारलाई सम्हाल्नुपर्छ । साँच्चिकै पहिलोपटक म पनि कसैको पत्नी बन्न गइरहेकी छु आमा । यदि यस समय हजुर हुनुभएको भए कति खुसी हुनुहुन्थ्यो भनेर ?

हाम्रो योजनाअनुसार भाग्ने तयारी पूरा भयो । मालिक ठाकुरले हवेलीबाहेक सबै सम्पत्ति बेचिसकेका थिए । मात्र हवेली उनले कान्छा ठाकुरका लागि छाडिदिएका थिए । त्यसैरात मकहाँ हवेलीको एक बुढो नोकरले चिठी दिएर गयो । जुन चिठी कान्छा ठाकुरको थियो ।

त्यहाँ लेखिएको थियो, ” सालेहा ! मलाई माफ गर मैले तिमीलाई खबर नै नगरीकन पटना गएँ तर मलाई पूरा विश्वास थियो कि तिमी मलाई कुरेर बस्नेछ्यौ । हो तिमीले मलाई भनेकी थियौ कि सालेहा केवल कान्छा ठाकुरकी ठकुराइन हो भनेर । साँच्चै नै तिमी कति खुसी हुन्छौ यो खबर सुनेर । मैले पटनाको सहरमा हाम्रा लागि एउटा सुन्दर घर, केही जमिन र पैसा जोडेर आएको छु । अब हामीले हवेलीलाई थाहै नदिईकन यहाँबाट भाग्नुपर्छ । आखिर माया नै ठुलो रहेछ यो संसारमा । मौका मिल्ने बित्तिकै म तिमीलाई भेट्न आउनेछु । ” अन्तमा लेखिएको थियो “तिम्रो ठाकुर !” त्यसको तल उहाँको दस्तखत ।

मैले फेरि ठुलो भूल गरे आफैँलाई विश्वास नगरेर । कान्छा ठाकुर यत्तिका दिनसम्म मेरा निम्ति खुसीको लहर किन्न गएका रहेछन् पटना सहर । अनि यता मालिक ठाकुर ! जसले मेरा निम्ति हवेलीबाहेक सारा सम्पत्ति बेचिसकेका छन् । अब केवल भारतको बाटो हुँदै पाकिस्तानको भूमिमा टेक्ने सपना देखेका छन् । उनको बच्चालाई मैले आफ्नो गर्भमा चढाएकी छु अनि दिमागमा कान्छा ठाकुरलाई ।

आखिर वेश्या कहिल्यै पनि शुद्ध नारी हुन नसक्ने रहिछे । यसैबेला पेटको बच्चाले लात्ताले भुक्क हान्यो । म रुन सक्दिनँ । यो आँसु अब पछिका लागि बगाउनु छ जुनबेला दुई ठाकुरले एकैपटक मेरो ढोका ढकढकाउने छन् । हुन त मैले कहिल्यै पनि रुन हुँदैन । किनकि म वेश्या हो । वेश्या कहिल्यै रुन हुँदैन ।