मध्यरातमा एउटा अनौठो प्रेमकथाको अन्त्य गरिदिने मुग्लु खोला नयाँगाउँको गोर्यानमा हिजोआज सुस्ताएर बग्ने गर्छ, जो धेरै वर्ष अगाडि बैँसले उन्मत्त हुँदै बारैमास गडगडाएर बग्ने गर्थ्यो । यसको अलिकति माथिको पाखोमा थियो गोरे कामीको आरन ।
आरनमा खलाँतीको ‘स्याईं स्याइँ’ आवाज आउन थालेपछि गोरेकी श्रीमती हातमा हँसिया र कम्मरमा नाम्लो बोकेर बाख्राको लागि घाँस जोहो गर्न जंगलतिर निस्कन्थी । गोरे खलाँती रोकेर श्रीमती गएको हेर्थ्यो र मुस्कुराउँथ्यो । त्यसपछि ऊ तातेको फलामलाई आकार दिन ट्वाङ् ट्वाङ् आवाजले पहाडका कान्ला थर्कने गरी चुट्थ्यो । त्यो आवाजको प्रतिध्वनित हुँदै मुग्लुखोला पारिको डाँडामा ठोक्किन्थ्यो । यसरी अर्को डाँडामा प्रतिध्वनित आवाजहरुमध्ये केही टाढाटाढासम्म फैलिन्थे र आवाजका केही टुक्राहरु तलीगाउँका बस्तीभरि छरिन्थे । एउटा टुक्रा भने उछिट्टिएर तलीगाउँको पूर्वी कुनामा रहेको ठकुरी बाबुसाहेबको घरआँगनमै पुग्थ्यो, जसले त्यहाँबाट एउटी चुलबुले फुच्चीलाई डोर्याउँदै आरनसम्म ल्याइपुर्याउँथ्यो । त्यस फुच्चीको आगमनलाई गोरेले अपूर्व मिलन अनुभूत गर्थ्यो ।
पाखोको कान्ला थर्कने आवाजले मुस्काइरहेकी फुच्ची यालमायालाई लिएर सधैं आउँदैनथ्यो । यो अवसर यालमायाको स्कूलको बिदाको दिन मात्र जुर्दथ्यो । छुट्टीको समयमा जब फलाम ठोकिएको आवाज यालमायाको कानमा पर्दथ्यो, ऊ घरका पुराना हँसिया, खुकुरी र कुटाकोदाली बोकेर गोरेको आरनतिर कुद्थी ।
केही वर्ष पहिलेसम्म यालमाया खेल्दै, उफ्रदै खाली हात नै गोरेको आरनमा अकारण नै पुग्थी । त्यहीँ छेउछाउ भेटिने गोरेका छोरीहरुसँग दिनभरि जसो खेल्थी । जसै शरीरले जवानीका रङहरु भर्न थाले, उसलाई बिना काम बाटो मुनिको फूल सुम्सुम्याउँदै उकालो लाग्न अफ्ठ्यारो लाग्न थाल्यो । अब पहिले जस्तो स्कुलबाट घर फर्कंदा घुमाउरो र लामो बाटो काटेर आरन छिर्न पनि उसलाई कता-कता लोकलाजको अनुभूति हुने भएर आयो ।
त्यो केटी छिटोछिटो सास फेर्दै आरनमा बसिरहेको गोरेलाई बोलाउँ, ‘गोरे अङ्कल !’
ऊ आवाज आएतिर पुलुक्क फर्कन्थ्यो र उचालिसकेको घन भुइँमा थपक्क राख्दै भन्थ्यो, ‘ज्यू मैसाप् !’
त्यसपछि फलाम पिटाइको चर्को प्रतिध्वनि हराउन पुग्थ्यो । बदलामा ती दुवैका मुस्कानहरु साटासाट हुन्थे । एउटी किशोरी यालमायाको समृद्ध मुस्कान र एउटा अधबैंसे गोरेको निम्छरो मुस्कान ! तै पनि ती दुवै मुस्कानको घुलमिल हेर्दा यस्तो लाग्दथ्यो, मुस्कानको सौन्दर्यले उमेरले दिने सम्पूर्ण बिम्बहरुलाई भत्काइदिएको छ ।
उनीहरुको बीचमा भने उमेरले निकै लामो रेखो हालेको थियो र आर्थिक असमानताको खाडल पनि निकै गहिरो खनिएको थियो । त्यसमा थपिएको थियो, सामाजिक विभेदको अन्कन्टार दुरी । यी धेरै दुरीका बीच पनि यालमाया चन्द र गोरे बीचको यो हिमचिम कसैको आँखामा कहिल्यै बिझाएन । जब धेरै दुरीका दुई नदी भेटिन्छन्, त्यसलाई आम मानिसले संयोगको भेट ठान्छन् क्यारे ! यिनीहरुको भेटलाई आम गाउँलेहरुले आँखाले देख्थे, तर मनले देख्ने आवश्यकता ठान्दैन थिए । यो वर्षौंदेखि देखिने तर याद नगरिने घरनजिकै लडिरहेको ढुङ्गाजस्तै थियो । जसले पहिलो पटक हेर्दा त्यसलाई याद गर्छ तर पटक-पटक देखिरहँदा त्यसको महत्त्व त्यही ढुङ्गा समान बन्न पुग्छ ।
००००
‘हजुर आइबक्सियो ?’ यालमायालाई देखेपछि गोरेको हतौडा रोकियो । उसले मुस्कुराउँदै पिट्दै गरेका भाँडावर्तन सारेर छेउछाउका सामग्री सफा बनाउने प्रयास गर्यो । त्यसपछि पुरानो मजेत्रोले अनुहारको पसिना पुछ्यो र सोध्यो, ‘आज के ल्याइबक्सियो, मैसाप् ?’
‘आज त खाली हात आएकी छु, गोरे अङ्कल ।’
‘त्यसो भए म पनि आज हजुरलाई खाली नै हात पठाम्छु ।’
गोरे गिजासम्म देखिने गरी हाँस्यो । यालमायाले उसको फुस्रो र कालो अनुहारभित्र रुनले छोप्न थालेका खैरा दाँत हेरी ।
‘ब्रस ल्याइदिएकी छु र मञ्जन पनि,’ यालमायाले कर्के आँखाले गोरेलाई हेरी र भनी, ‘मीठो गाउने र यसरी हाँस्ने मान्छेले दाँत पनि टलक्क टल्काउनु पर्छ । यसले माझ्नुस् त चकलेटजस्तै स्वाद आउँछ र भिक्स जस्तै बसाउँछ ।’
गोरे यालमायाले कम्मरको पटुका खोलेको हेर्दै गम्भीर भयो । उसले हातमा एउटा पुरानो ब्रस र आधा भएको मञ्जन दिँदै भनी, ‘मज्जाले दाँत घोट्नु है ! काठमाडौँबाट आएको दाइको ब्यागबाट सुटुक्क निकालेकी हुँ ।’
गोरेले केही भन्न खोज्दै थियो, बीचमै यालमायाले भनी, ‘डराउनु पर्दैन, दाजुले काठमाडौँ जाँदा छाड्नु भयो । तपाईंलाई काम लाग्छ भनेर ल्याइदिएँ ।’
दुवै हात थापेर गोरेले ब्रस मञ्जन लियो र जदौ गर्यो । त्यसपछि जतनका साथ आरनमाथि छानामा ब्रस र मञ्जनलाई घुसार्यो ।
आफूले गोरेलाई दिएको उपहारले के प्रभाव पर्यो भनी गोरेको अनुहार पढेपछि बोली, ‘गोरे अङ्कल !’
‘ज्यू, मैसाप् ।’
यालमाया लाजले खुम्चिँदै अनुरोध फर्माई, ‘एउटा मीठो गीत सुनाउनु अब ।’
‘के सुनाऊँ ? भनिबक्स्योस् । त्यही जेठान्नी देउरानीको झगरा सुनाउँ ?’
‘मायाप्रीतिका गीत छैनन् ? नभए त्यही सुनाए पनि हुन्छ ।’
‘ज्यू, ज्यू । त्यसैलाई नयाँ भाकामा सुनाउँछु है त !’
यालमायाले मोबाइल निकाली र त्यसमा भएको रेकर्डर अन गरी । गोरे पानीले मुख कुल्ली गर्दै खकारेर प्याच्च थुक्यो । मुड्कोमा झुण्ड्याइराखेको मादल तानेर घुँडामा बेर्दै मादलको तालसँगै लय मिलाएर गाउन थाल्यो ।
माथिगाउँको छाप्रानु
बस्ते चार परानी
दुई भाइकी दुइटी जोई
बिबिन्ना र बिरानी
कुरा काट्ने देउरान्नी
रिसले मर्ने जेठान्नी
गोरेले गीतलाई दोहोर्याउन थाल्यो, यालमायाले हात र जीउ हल्लाउँदै गीतको लय र ताल मिलाउने प्रयास गरी ।
कोइ दिन झग्रा बरिगो
झ्यालढोका थुन्नु परिगो
लात्तेका लात्ते ठोक्किए
पानीका गाग्रा पोख्खिए
थाले हगुल्टा उच्चाउन
पोइहरु लागे मच्चाउन
फिलिङगा लागे छरिन
दन्क्यो आगो धुरिमा
ध्वाँलले निकास छोपियो
डरले सासै रोकियो
बिचरा चारै परानी
भित्रै भया खरानी
गीत मिसाउँदामिसाउँदै यालमाया बीचमै रोकिई । घरमा भएका दुई जोडी प्राणी ख्यालख्यालमै खरानी भएको लाइनले उसलाई मुटुमै चिमोट्यो । गोरे भने आँखा चिम्लेर गीत दाहोर्याउँदै थियो । ऊ त नयाँ लोकमा पुगिरहेको थियो ।
०००००
गोरे फलामका भाँडावर्तन बनाउनुपर्ने भनी समाजले कामी जात तोकेको मान्छे । गोरे नाम भए पनि ऊ गोरो त बिल्कुलै थिएन । दिनहुँको आरनको काम र खनजोतको कामले गर्दा गोरेको शरीर खिइँदै गएको थियो, जसरी फलामलाई आगोले पोल्दा खिइँदै जान्छ । ऊ पुड्को थियो, त्यसैले उसको उमेर ठ्याक्कै ठम्याउन गाह्रो थियो । आरनको छेउमा बस्दाबस्दाको असिनपसिन र धुलोमैलोले त उसलाई गोरे भन्नु एउटा गतिलै मजाक ठहर्थ्यो ।
बिहान जुरुक्क उठेर ऊ आरनमा आएर बस्थ्यो र काम नभएको दिन राति अबेरसम्म फलामसँग खेलिरहन्थ्यो । आरनमा फुर्सद मिल्नेबित्तिकै यालमायाको बुबा ठकुरी बाबुसाहेबले लगाए अह्राए बमोजिम सेवामा हाजिर हुन्थ्यो र साँझ फर्केर पुनः त्यही आरनमा छिर्दथ्यो । उसले बनाएका फलामका भाँडाबर्तन वरपर लोकप्रिय थिए ।
ऊ जातले कामी भए पनि सधैँ कामीको काम भने गर्दैनथ्यो । ऊ मादल पनि बजाउँथ्यो र सारंगी बजाउँदै मीठो गाउँथ्यो पनि । गाउँमा घटेका घटनाहरुलाई कथा बनाएर गाउँलेहरुलाई सुनाउँथ््यो । तिनै कथाहरुलाई सुरमा ढालेर गाउँथ्यो र तिनीहरुकै चुट्किला पनि बनाएर अरुलाई हसाउनु हसाउँथ्यो । यही कारण गाउँमा हुने बिहे बटुलो र पूजापाठमा उसलाई डाकेर उसका गीत सुन्नेहरुको जमात पनि बाक्लै हुन्थ्यो । त्यसमाथि उखान टुक्का मिलाएका हँसाउने बातले पनि साहु महाजनको समेत मन जितेको थियो । कसैसँग गुनासो नगर्ने र अदबका साथ समाजिक नीति नियम मानेका कारण पनि उसलाई सबैले मनपराउँथे ।
गाउँमा सबैले असल छ भन्ने चर्चा चलेपछि उसले पनि सधैं असल बन्ने प्रयत्न गर्यो । यही कारण माथिगाउँको दक्षिणपूर्वतिर ढल्किएको अग्लो पाखोमा अरु दलितहरु बस्ने भए पनि त्यो पाखोलाई गोरेको पाखो नामले चिनिन्छ ।
दलित बस्तीका बीचमा पनि उसको घर केही कलात्मक देखिन्थ्यो । एकतल्ले घरको तल्लो भागलाई रातोमाटो र माथिल्लो भाग सेतो माटोले पोतेको थियो । रातोमाटोले लिपेको तल्लो भागमा सेतो माटोले षट्कोण बनाई वरिपरि कमल फूलका चित्र बनाएको थियो ।
‘दलित भए पनि घरलाई क्षेत्रीको जस्तो सजाउनु पर्छ । दलित हुनेबित्तिकै दलित भएरै मर्नुपर्छ भन्ने के छ र ?’ उसले स्वास्नीलाई बेला बेलामा सम्झाइरहन्थ्यो । उसकी स्वास्नी उसको कुरालाई ओठ लेप्राएर उडाउँथी । तर स्कुल पढ्ने छोरीहरुले भने बाउको यो बानीको समर्थन गर्दै उसलाई हौसाउँथे । यही कारण हुन सक्छ, उसले छोरीका लागि छुट्टै कोठा बनाइदिएको थियो र कोठामा रंगीन पत्रिकाहरु टाँसिदिएको थियो ।
यस्ता पत्रिका ल्याइदिने काम भने यालमायाले गर्दथी । काठमाडौंबाट पत्रिकामा बेरेर आइपुगेका नयाँ लुगाहरु यालमाया लगाउँथी र त्यसमा बेरिएका पत्रिका गोरेलाई दिन्थी । कहिलेकाहीँ त्यही पत्रिकामा बेरेर उसलाई दाजुका गन्जीहरु र उसका छोरीहरुलाई आफ्ना पुराना लुगाहरु पनि दिन्थी । हुन त उनीहरु प्रायः अरुका जडउरी लुगा नै लगाउँथे तर यालमायाका लागि पुराना भैसकेका लुगाहरु गोरेको परिवारका लागि नयाँ नै हुन्थे, जुन उसले सम्मानपूर्वक माया गरेर दिन्थी । यही कारण गोरेले नफाटुन्जेल यालमायाका दाजुहरुकै लुगा लगाउँथ्यो ।
आरनले मात्र उसलाई हातमुख जोर्न हम्मेहम्मे पर्ने भएकोले ठकुरी र क्षेत्रीहरुको घरखेतमा पुगेर खनजोत गर्ने काममा सघाउँथ्यो र केही अन्नपात बटुल्थ्यो । घरमा केही कुखुरा, बाख्रा पनि पालेको थियो । त्यसबाट पनि थोरैथोरै आम्दानी हुन्थ्यो । कहिलेकाहीँ गाउँमा गाना सुनाएर पनि उसलाई दश-पाँच रुपैयाँ मिल्थ्यो । प्रायःजसो त ऊ सित्तै गाइदिन्थ्यो । ऊ गरिब थियो तर उसको आरन लगायतका यिनै झिनामसिना आम्दानीको स्रोतले गर्दा उसको पाँच जनाको सन्तान भोकै पर्लान् भन्ने चिन्ता चाहीँ थिएन ।
०००
किशोरीवयमा पाइलो हालेपश्चात् भने यालमाया आफ्नो सिंगारपटार नगरी बाहिर निस्कदैनथी । गाउँकी सम्पन्न साहुकी छोरी भएको रौनक उसको अनुहारमा देखिन्थ्यो । ऊ सुन्दर थिई नै, त्यसमाथि चिटिक्क परेर हिँड्थी । गोरेले समाजमा घटेका विभिन्न घटनाहरु जोडेर गफलाई कथामय तुल्याउने भएकोले गोरेको आरनमा विभिन्न बहाना बनाएर हरेक दिनजसो पुगिरहन्थी । फरक कति थियो भने सुरुमा गोरेले गीत, कथा, चुट्किला भन्दा पहिले खुलेर हाँस्थी । उमेरजन्य कारणले पछिपछि मुख छोपेर हाँस्न थाली । गोरेले उसमा आएका परिवर्तनहरु याद गर्न थालेको थियो । यालमाया भने यी कुरामा बेपरवाह थिई र घरमा आफ्नी बोइलाई गोरे जस्तै चाखलाग्दा कथाहरु सुनाउन कर गरिरहन्थी ।
उसकी बोइले न्याम्ना हाल्थिन्ः
न्याहो चरी न्याहो
धर्तीमुनि गजेबल्ल जान रंगी क्या हो ?
उसले कनीकनी दिएको जवाफ नमिलेपछि कि त गोरेलाई सोध्न वा गोरेलाई घरमै बोलाउने अनुमति लिएर उसको आरनतिर कुद्थी ।
केही दिन गोरेसँग भेट भएन भने गोरेलाई बोलाएर गाइनेगीत सुनाउन आमा र बोईलाई कर गरिरहन्थी । गोरेले घरमै आएर यही न्याम्ना सुनाउँदा यालमाया पनि खुशी हुन्थी र गोरे पनि भित्रभित्रै मख्ख पर्दथ्यो ।
यालमायाको जवानी भरिँदै गएपछि गोरेले गीत गाउँदै गर्दा बीचबीचमा अरुका आँखा छलेर यालमायालाई आँखा झिम्क्याइदिन्थ्यो । सुरुमा यो भाषा यालमायाले बुझ्दैनथी र उसले पनि जवाफमा आँखा झिम्क्याइदिन्थी । एक कलिली नवयौवनाले आँखा झिम्क्याइदिँदा गोरे खुशीले पागल हुन्थ्यो । तरंगित हुन्थ्यो र सारा संसार जितेजस्तै हुन्थ्यो उसलाई ।
परिपक्व हुँदै गएपछि यालमायाले गोरेको जात थाहा पाएकी थिई र दलितलाई गर्ने छिः छिः र दूरदूर पनि बुझ्न थालेकी थिई । यो बुझाइले उसलाई भित्रभित्रै निकै पीडा दिन्थ्यो । विद्यालयमा पढिने पाठहरुबाट दलित र क्षेत्री एउटै मानिस भएकाले उनीहरुलाई विभेद गर्दा कानुन लाग्ने कुरा पनि बुझ्न थालेकी थिई । यही कारण ऊ घरमा हुँदा गोरेलाई लुकाएर खान दिन्थी र एक छिन भए पनि दैलोभित्र छिर्न आग्रह गर्थी । गोरे पनि जिस्कँदै आफ्नै लागि निषेधित क्षेत्रभित्र एक पाइलो हाल्दथ्यो र ‘चित्त बुझ्यो ?’ भन्दै छिटोछिटो बाहिर निस्किहाल्थ्यो ।
यालमायाको उमेरसँगै जवानी पनि ढकमक्क फुल्दै गयो । उसको सुन्दरता, सरलता र सौम्यता देखेर उसलाई मन पराउनेको संख्या दिनप्रतिदिन बढ्दै थियो । उसलाई मन पराउनेहरुमा क्षेत्रीकै छोराहरु नारायण वली र प्रेम मल्ल लगायत अरु तन्नेरीहरु थपिँदै गए । अरुले यालमायालाई मन पराएको गोरेले भने देखिसहन्नथ्यो ।
गोरेले त यालमायालाई आफ्नै सोच्न थालिसकेको थियो तर उसले यो कुरा बुझ्न आवश्यक ठानेन कि एक सम्पन्न र सम्मानित साहुकी पठित, सुन्दरी, एक्ली छोरीले एक कंगाल, कुरुप, फोहोर तथा अधबैंसे मान्छेलाई अपनाउन किन लालायित छे ? प्रेममा परेपछि यस्तै हुन्छ भन्ने सुनेको थियो, यालमायाको व्यवहारले महसुस पनि गर्न थाल्यो ।
गोरेका लोग्नेस्वास्नीको पनि सम्बन्ध दिनरात बिग्रँदै गइरहेको थियो र यसको कारण अब स्वास्नीले बुझ्न थालेकी थिई । आफ्नो पोइ यालमायाको लागि मरिहत्ते गर्छ भन्ने त थाहा पाई तर फुच्ची यालमायाले किन यसरी गोरेको लागि मरिहत्ते गर्छे भन्ने बुझ्न सकेकी थिइन । अचानक उत्पन्न उनीहरुको यो सम्बन्धले ऊ चकित र व्यथित थिई ।
उसले लोग्नेसँग यसै विषयलाई लिएर झगडा त गर्थी तर यो पनि समाधान होइन भनी बुझिसकेकी थिई । झगडापछि आफैँ मिल्न खोज्थी । आफ्नो पोइलाई यथास्थितिमा ओराल्नको लागि उसलाई सम्झाउनबाहेक अरु केही गर्न सक्तैनथी । यालमाया अन्नदाता साहुकी एक्ली छोरी थिई । उसको चरित्रमा औँला ठड्याएर चुइँक्क बोले उसको परिवारकै उठीबास लाग्न सक्थ्यो ।
यालमायाको घरमा यो कुरा लगाइदिएर उसको हड्डी भाँचिने गरी कुटाइ खुवाउने डर गोरेलाई देखाउँथी । तर बाहिर सुनाउने हिम्मत गर्न सक्तिन थिई ।
सुरु सुरुमा साहुहरुबाट उठिबास लाग्ने हो कि भन्ने डर थियो गोरेलाई तर बिस्तारै उसले पनि प्रेममा जे पनि सहन गर्न तयार छु भनेजस्तो व्यवहार देखाउन थाल्यो ।
यसरी यालमाया र गोरेको हिमचिम अझ बढ्दै गयो । यसमा न साहुको परिवारले, न समाजले औँला ठड्यायो, न यालमायाले नै गोरेको बासनाको गन्ध पाई । गोरेले के कारणले आफूले यालमायालाई चाहँदैछु भन्ने विषयमा सोच्ने फुर्सद नै पाएन । अरुको नाजायज सम्बन्धउपर तुरुन्तै चोरऔंला ठड्याउने समाजले यस सम्बन्धलाई भने नाजायज अर्थ लगाउने कल्पनासम्म पनि गर्न नसक्ने भएकोले वास्ता गर्दैनथ्यो ।
पानीजस्तै बगिजाने समयलाई दुवैको लुप्त प्रेमले छिनछिनमा बगाउँदै परपर पुर्यायो । यालमायाको समीपतामा घरिघरि गोरेलाई बासना नउठ्ने होइन तर कहिल्यै पनि यालमायासँग उसले शारीरिक आशक्ति प्रकट गरेन । भर्खरकी कलिली केटीको उन्मुक्तता हेर्थ्यो र अनेक कल्पना गर्दथ्यो । तर परैबाट गीत सुनाएर, हँस्यौली ठट्यौली र अनेक चुड्किलामार्फत यालमायाको मुस्कुराहट प्राप्त गरेर आफ्नो व्यग्र मन शान्त पार्दथ्यो ।
अब घन्टौँ घन्टौंसम्म पनि यालमाया उसका गीत सुनेर बस्न थाली । गोरे पनि आफ्ना सबै कामहरु छाडेर भए पनि यालमायालाई नै गीत सुनाउन थाल्यो । गीत सुनाउने ठाउँ आरन, ठकुरी तथा क्षेत्रीहरुका दैलोको सीमा नाघेर जंगलसम्मको एकान्तस्थल पनि हुन थाल्यो ।
एकदिन जंगलमा गोरे र यालमाया गीतको सुरमा डुबिरहेको ठाउँमा गोरेकी स्वास्नी पुगी । यो अवस्था देखेर उसको रिस भकभकी उम्लियो । साहुकी छोरीलाई केही भन्न सकिन । लोग्नेलाई भने मुख छाडेर गाली गरी । गोरे र यालमायाले छानेको एकान्तस्थल उसको घरदेखि धेरै टाढा थिएन । नजिकैबाट आइरहेको हल्लाखल्लाको स्वरले आफ्नी आमाको अरु कसैसँग झगडा परेको ठानी गोरेकी छोरीहरु पनि हस्याङफस्याङ गर्दै त्यो ठाउँसम्म पुगे । नजिकका गुवाला र घसाराहरु पनि रमिता हेर्न झुम्मिन थाले । सबैको सामु अपमानबोधले लज्जित भएपछि यालमाया त्यहाँबाट उम्केर अलप भई ।
यालमाया त्यहाँबाट भागेपछि र गाउँलेहरुको बल पाएपछि गोरेकी स्वास्नी अझै रिसले बौलाउन थाली ।
त्यसपछि त के थियो, गोरेले श्रीमतीलाई सौता हाल्ने धम्की दियो, ‘यालमायालाई भित्र्याउन सकिनँ भने मेरो मुखमा मुतिदिनू । के सम्झेकी छस्, यो गाउँको गोरे हुँ म पनि ।’
छोरीहरुले मुखामुख गरे । स्वास्नीको रिस एकाएक सेलाउन पुग्यो, गोरेको बोलीको ठेगान नदेखेपछि भित्रैदेखि खंग्रगै तर्सिई । गला अवरुद्ध भयो । अब उसले रुँदै भनी, ‘बरु अरुलाई नै पाप चिताऊ । साहुको परिवारलाई नछोऊ । भोलि हामी सबैको एकै चिहान हुनेछ ।’
स्वास्नी डराएको देखेपछि गोरेको बोली अझै चर्को हुँदै गयो र ऊ बौलाउँदै जथाभावि बोल्न थाल्यो ।
अति भएपछि स्वास्नीलाई सहिनसक्नु भयो । ऊ जुरुक्क उठी र गोरेको नाकैमा कर्कच्चेले हान्दै भनी, ‘जा, ऐल्यै जा । साँच्चैको मर्द भया मैयालाई भित्र हालेर देखा ।’
गोरे आफूलाई मर्द नै ठान्थ्यो । स्वास्नीको अगाडि नामर्द सावित हुनु पनि कम लज्जास्पद कुरा थिएन । तसर्थ स्वास्नीलाई लछारपछार पार्न थाल्यो । छोरीहरुले छुटाएपछि यालामायालाई अहिल्यै ल्याएर देखाइदिन्छु भन्दै तलीगाउँतिर झर्यो ।
बाबु तलतिर झरेपछि छोरीले आमालाई सम्झाउन थाले । आफ्नो बाबु गाउँलेले पत्याएको इमान्दार मान्छे हो, त्यो केटी बाबुसमानको मान्छेलाई मन पराउने कुरै भएन । जातभातले नै अमिल्दो व्यक्तिको कुनै हालतमा पनि पछि लाग्न नसक्ने भन्दै आफ्नी आमालाई सम्झाउनु सम्झाए ।
जब आमाचाँहिको रुवाइका हिक्का घट्दै गइरहेका थिए, त्यसैबेला कुनै जादुको छडी घुमाएजस्तो त्यो घरआँगनमै नचिताएको घटना घट्यो । त्यो देखेर आमाछोरीहरुको होशहवास् नै उड्न पुग्यो ।
गोरेको पछिपछि लागेर यालमायासमेत आइपुगेकी थिई ।
जे नहोस् भनी कामना गरिहेकी थिई, त्यही घटना आँखा अगाडि नै देखेपछि अघिदेखि नै सुँकसुकाइरहेकी स्वास्नीको सुँकसुक पनि रोकियो ।
‘तँ रन्डी बाहिर जा । अब यो घर हाम्रो हो ।’ गोरेले स्वास्नीलाई धकेलेर बाहिर निकाल्यो ।
निकैबेर हुरी रोकिएको सन्नाटा झैँ गोरेकी स्वास्नी ढोकाबाहिर उभिई । एकछिन पछि होस् आएजस्तो भएपछि अलापबिलाप गर्दै गाउँलेलाई हारगुहार गर्न तलीगाउँतिर झरी । छोरीहरु पनि आमालाई फर्काउन भनी पछिपछि लागे ।
‘गोरे अंकल ?’ यालमायाको बल्ल बक फुट्यो ।
‘ज्यू मैसाप् !’
‘आन्टीलाई बाहिर किन निकाल्नु भएको ?’ खाटको एक छेऊमा बस्दै यालमायाले नबुझेझैँ सोधी, ‘तपाईंहरुको झगडा अहिलेसम्म थामिएको छैन ?’
‘छैन मैसाप् ।’ एकछिन अघि आमाछोरीहरु गएको बाटोको परसम्म नजर पुर्यायो र भन्यो, ‘तर, मैले हजुरलाई नल्याई रित्तो हात फर्किन्नँ भनी कसम खाएर हजुरको घरतिर लागेको थिएँ । हजुर त यतै आइबक्सदै हुनुहुँदो रहेछ । हजुरले म आज तपाईंकै घरमा जान्छु भनेपछि मेरो मन साह्रै हलुका भयो । आखिर मेरो मनमा जे थियो, हजुरको मनमा पनि त्यही रहेछ ।’
‘कस्तो कुरा गोरे अंकल ?’
‘हजुर पनि कस्तो कुरा गरिबक्सन्छ ? जुन कुरा हजुरको मनमा छ, त्यही कुरा ।’
गोरेको कुरा सुनेर यालमाया अत्तालिई ।
‘गोरे अंकल, तपाईंले कुरा बुझ्नु भएनछ । मेरो बुबाले मलाई एकजना जँड्हाया केटो प्रेम मल्लसँग विवाह गरिदिन खोज्दै हुनुहुन्थ्यो । आज बुबाले मनाउन खोज्दा मैले कुनै हालतमा स्वीकारिनँ । उहाँले रिसको आवेशमा मलाई नै घरबाट निकालिदिनुभयो । म निक्लिदिएँ । यसैबेला तपाईं बाटोमा आइरहेको देखेँ । तपाईंलाई देखेपछि आँट आयो । तपाईंसँग भेट भएपछि हाम्रो घर जाऔं मैसाप भन्नु भयो । म त के खोज्छस्, कानो, आँखो भनेझैँ भएर तपाईंपछि लागेर आएकी हुँ ।’
‘ज्यू, ज्यू !!’ गोरे पनि बेसरी अत्तालियो ।
‘प्रेम मल्ल भन्दा त नारायण जातले मगर भए पनि पढेलेखेको छ र सुन्दर पनि छ । ऊ सिर्जनशील छ, मिहिनेती छ, सबथोक छ । ऊ भोलि मेरो बुबाजस्तै सम्पन्न हुनसक्छ । म उसलाई असाध्यै मन पराउँछु । उसले पनि मलाई प्राणभन्दा प्यार गर्छ तर उसको जात र गरिबीको कारणले बुबाले हाम्रो विवाह हुन दिइसिन्न । कुरै नबुझेर दिउँसो तपाईंहरुको झगडा परेको देखी म त तपाईंकी श्रीमतीलाई पनि सम्झाउँछु भन्ने सोच्दै थिएँ ।’
यालमायाको जवाफले गोरेको उभिएको जमिन रिंग्न थाल्यो र खुट्टा पनि पतालतिर धसिएझैँ बेसरी धरमरायो ।
‘ज्यू, ज्यू, म कस्तो जन्जालमा फसेँछु यो ?’
‘बाटोमा आउँदा मैले मोबाइल चलाइरहेकी थिएँ नि ! मैले नारायणलाई म्यासेज गरेकी हुँ ।’
‘ज्यू ! ज्यू !!’ गोरे थचक्कै भुइँमा बस्यो ।
‘म घरबाट भागेर गोरे अंकलको घरमा जाँदैछु । तिमी मलाई त्यहीँ लिन आऊ भनेकी छु ।’
‘मन पराउने एउटा, भाग्ने अर्कोसँग ?’ गोरेको मथिंगलले काम गर्न छोड्यो । उसले यालमायाका दुवै गोडा समात्दै अनुनय विनय गर्न थाल्यो, ‘हजुर, त्यसो नगरिबक्सियोस् । मेरो त पर्लय नै हुनेभो ।’
उसले गोरेलाई घचेट्दै भनी, ‘हामी उसको घरतिर जाँदै गरौं । ऊ बाटोमै भेटिन्छ होला ।’
गोरेलाई यालमायाको कुरामा विश्वास लाग्ने कुरै थिएन । ऊ अझै शंकाको भूमरीमा नाचिरहेको थियो । आफ्नो शंका निवारण गर्न लामो श्वास फेरेर लर्बराउँदै हिम्मत गरेर सोध्यो – ‘उसोभए हजुरले मलाई विश्वास गरिबक्सिन्न ? मतलब मलाई माया गरिबक्सिन्न ?’
‘विश्वास गरेरै त तपाईंको पछि लागेर आएँ । माया किन नगर्नु ? तपाईंलाई असाध्यै माया गर्छु र गरिरहनेछु, आदर गर्छु र सम्मान पनि गर्छु ।’
‘अनि फेरि त्यो नारायणलाई नि ? अहिले नारायणकहाँ किन जाने त हामी ?’ चकित भयो गोरे ।
‘उल्लाई म प्रेम गर्छु । म अब उसकै हुने निर्णय गरिसकेकी छु ।’
‘ज्यू ! ज्यू !! माया र पिरिम भन्ने कुरा फरक हो र ?’
‘एकदमै फरक कुरा हो गोरे अंकल । प्लिज, मलाई उसको घरसम्म पुर्याइदिनू न ।’
त्यसपछि यालमायाले फोन गरेर नारायणलाई सोधी, ‘कहाँ आइपुग्नु भयो ?’
उताबाट घरबाट हिँडिसकेको जबाफ आयो । यालमायाले भनी, ‘म दोबाटोको मुग्लु खोलाको भङ्गालो नजिकको बाटोमा पुगिरहन्छु, तपाईं त्यहीँ आइपुग्नू ।’
गोरे किंकर्तव्यविमूढको अवस्थामा पुग्यो । उसको दिमागले काम गर्न छाड्यो । यालमायाले उसको हात समातेर पुनः अनुरोध गरी, “छिटो गर्नू न अङ्कल । छिटो पुर्याइदिनू । म भागेको कुरा थाहा भइसक्यो । मेरो घरको कोही पनि मान्छे मलाई खाज्दै यहीँ आइपुग्न सक्नुहुन्छ ।’ यालमाया हतारिई र सुक्सुकाउन थाली ।
गोरेको आँखामा पनि आँशुको भदौरे भल उर्लिन थाल्यो ।
ऊ लर्बराउँदै घरको भित्ता समाउँदै उठ्यो । यालमाया बाहिर निस्किई । गोरे ओठमुख सुकाउँदै र परेली भिजाउँदै पछि लाग्यो । दुवैजना मुग्लुखोलाको किनारमा झरेर किनारै किनार निशब्द अगाडि बढिरहे ।
अँध्यारोमा अलि पर उभिएको नारायणले मोबाइल बालेर दुवैजना आइरहेको देख्यो । नजिक आइपुगेपछि हत्तपत्त यालमायाको हात समाउँदै नारायणले हतारहतार भन्यो, ‘पुन्नेको काम गर्यौ गोरे दाइ । यो तिम्रो गुण म कहिल्यै बिर्सनेछैन । धेरै धेरै धन्यवाद । हाम्रो बारेमा केही दिनसम्म गाउँमा कसैलाई सुइँपत्तो नदिनू है !’ भन्दै दश रुपैयाँ गोरेको खल्तीमा हालिदियो । त्यसपछि यालमायालाई डोर्याउँदै ऊ फटाफट अर्को बाटो लाग्यो ।
गोरे किंकर्तव्यविमूढ उभिएर मोबाइलको मधुरो उज्यालो टाढाटाढा हुँदै गएको हेरिरह्यो । उभिएर मूर्तिवत् कति बेलासम्म त्यही अवस्थामा रह्यो उसले थाहा नै पाएन ।
मुग्लु खोला साउनको भेल बनी उर्लिरहेको गडगडाहटले उसको मन एक तमासको भएर आयो ।
ऊ एक्कासि बाटोबाट तल झर्यो र सानो भङगालो तर्यो । अँध्यारोमा भेलको मूल हाँगो पहिल्याउँदै उर्लिरहेको झ्वाम्मै हाम फाल्यो ।
०००००
भोलिपल्ट ।
गाउँभरि हल्ला चलिरहेको थियो, ‘पालेको मुसाले थैली काट्छ भनेको यही हो । आखिर साहुकै कामदार गोरेको मद्दतले नारायण मगरले साहुकी छोरी यालमायालाई भगाइछाड्यो ।’
त्यो घटनाको खास पक्षधर गोरेको बारेमा कसैले चर्चासम्म गरेनन् ।
गोरेकी स्वास्नी र उसका छोरीहरुले गाउँलेलाई सत्य कुरा बताउन सकेनन् । यो कुरा चुहिनेबित्तिकै उनीहरुको गाउँबाट उठिबास लाग्छ भन्ने थाहा थियो । गोरेले नै यालमायालाई लिएर कतै लुकेको होला भन्ठानेका थिए उनीहरुले । आखिर जे जस्तो भए पनि बाँच्न रहर कसलाई लाग्दैन र ?
केही दिनपछि गोरेको लाश पल्लो गाउँमा ढुंगाको कापमा फेला पर्यो । लोग्नेको मृत्युशोकले गोरेकी स्वास्नी बिस्तारै ओछ्यान परी र केही महिनापछि संसार नै छोडी ।
अहिले यालमाया र नारायण दाङतिर सानोतिनो व्यापार व्यवसाय चलाएर खुसीसाथ बसिरहेका छन् र कहिलेकाहीँ आफ्नो गाउँतिर आएको बखत दुवैजना मुग्लुखोला किनारमा उभिएर टोलाइरहन्छन् । टोलाउनुको प्रयोजन सायद फरकफरक हुनसक्छ ।
यालमायाकै कारण गोरेको ज्यान गएको कुरा अहिलेसम्म उसकी छोरीहरुले कसैलाई बताउन सकेका छैनन् । छोरीहरु चुपचाप आफ्नो बाबुको प्रेमकथालाई पचाएर गाउँमा दुःखजिलो गर्न थालेका छन् ।
एउटा मध्यरातमा त्यो अव्यक्त प्रेमकथाको अन्त्य गरिदिने मुग्लु खोला हिजोआज पनि दुःखी हुँदै बगिरहन्छ । बेलुकातिर गोरेका दुई छोरीहरु कहिलेकाहीँ आँशु बगाउन यही खोला किनारमा आउने गर्छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

