विश्वास ढकाल

विश्वास ढकाल

रसायन शास्त्र केन्द्रीय विभागमा स्नातकोत्तर तहका प्रवेशपरीक्षाको नतिजामा नाम निस्किएपछि एउटा सपना पूरा भएको भन्दै निलिमाको परिवारमा हर्षोल्लाष छाएको थियो । रोग‚ भोक र अभावले थिलथिलिएको कालिकोटको पाटन नजिकैको मेहालमुडीबाट काठमाडौँ आएर विज्ञान सङ्कायमा स्नातकोत्तर तहमा अध्ययन गर्न पाउनु एक उपलब्धि नै हो । समग्र जिल्लाको अवस्था के हो उनलाई थाह थिएन तर उनको गाउँ‚ आफन्तहरूकाबिचमा उनी पहिलो व्यक्ति थिइन् जो विज्ञान विषयमा स्नातकोत्तर गर्दै थिइन् । बा‚ आमा‚ एक भाइ र निलिमा जम्मा ४ जनाको परिवार थियो । बा काठमाडौँको एक प्रतिष्ठित निजी स्कुलमा अध्यापन गर्नुहुन्थ्यो । उनको कमाइबाट परिवार सब ठिकठाक चलिरहेको थियो । निलिमा पनि समय मिलाएर होम ट्युसन पढाउन थालेपछि काठमाडौँबाट दूरमा रहेको गाउँबाट उनको आमालाई पनि काठमाडौँ ल्याउने तयारी गर्दै थिए तर समयको खेल भनौँ वा भाग्यको खेल उनको परिवारमा अप्रिय घटना घट्न पुग्यो ।

नेपालमा कोभिड १९को पहिलो लहर भर्खर भर्खर कम हुँदै थियो । कोभिड नियन्त्रण गर्न सरकारले गरेको लकडाउनपछि काठमाडौँ फर्कँदा निलिमाको मन बेचैन थियो । बा आफूसँग नहुँदा हरप्रहरमा उनको आँखा रसाउँछ । बा उनका लागि बामात्र नभएर एक असल साथी‚ बा‚ उत्प्रेरणाका प्रतिमूर्ति सबै थिए । बाले उनको र परिवारको खुसीका लागिआफूलाई समर्पण गरिरहेका थिए । अस्तिअस्तिकाठमाडौँआउँदा उनलाई कुनै समस्या थिएन केही अभाव वा समस्या हुँदा बा भन्यो सबै ठिक भैहाल्थ्यो तर आज उनको जिम्मेवारी पनि फेरिएको छ । बिधवा आमा र सानो भाइको व्यवस्थापन गर्नुका साथै आफ्नो पढाइ र जिन्दगीबारेमा पनि सोच्नुथियो । अक्सर हामी नेपालीहरू आमाको महिमा गान गाउँछौ तर परिवारको व्यवस्थापन र छोराछोरीको सुख, उन्नति र प्रगतिका लागि आफ्ना चाहनालाई तिलाञ्जलि दिएर रातोदिन घामपानी नभनी योगदान दिने बाको त्यागको थोरैले मात्र चर्चा गर्ने गरेका छन् । त्यो बाको वियोगपछि उनलाई थप महसुस हुँदै थियो । २ महिनाअगाडिको यात्रा सम्झिँदा उनको आँखामा कर्णाली बग्दै थियो ।

कोभिड १९ पहिलो लहर चलिरहँदा कलेजोका रोगी बाको मृत्यु भयो । कोभिड हो या होइन भन्ने परीक्षण गर्न उनको पहुँच थिएन । सरकार सत्ता बचाउने र विपक्षीहरू सत्तामा पुग्ने खेल रचिरहेका थिए । मानौ कि राज्य पूरै रामराज्यमा छ । काठमाडौँबाट मेहालमुडी सम्मको करिब ८०० किलोमिटरको यात्रा‚ आफ्नो बाको पार्थिव शरीर र त्यो यात्राको क्रममा भोग्नुपरेको दुर्दशा सम्झनलायक थिएन । उक्त शोकलाई शक्तिमा रूपान्तरण गर्दै बाले उनीमाथि राखेका सपना पूरा गर्न पनि उनले त्यस घटनालाई बिस्तारै बिर्सनु नै थियो । साथै‚ बाको अन्तिम संस्कार गर्दै गर्दा बाको र परिवारको सपना पूरा गर्ने प्रतिज्ञा गरेकी थिइन् । बाको काजक्रिया सकेर भर्खर ४० टेकेकी विधवा आमालाई पतिवियोगको पीडामा अलिकति मलाम लगाउने प्रयास गरेर काठमाडौँ फर्कँदै गर्दा उनले आजसम्म कर्णालीमा बगेको पानी जति आँसुबिगत २ महिनामा बगाइसकेकी थिइन् ।

पितृशोकमा परेकी निलिमा अब झन् जिम्मेवार हुनुपर्ने भयो । रसायनशास्त्र केन्द्रीय विभागमा स्नातकोत्तर तहको दोस्रो सेमेस्टरमा पढाइ चल्दै थियो । निलिमा बाबुको सहयोगमा १र२ वटा होम ट्युसन पढाउने गर्थिन् । आफ्नो पकेट खर्च जोहो गर्न थालेकी थिइन्तर अब त्यतिले पुगेन । लामो समयसम्म अध्यापनमा अभ्यस्त भएका उनका बाको कमाइ औसतभन्दा माथि थियो । टाढा पहाडमा रहेकी श्रीमतीलाई अब तँ पनि यतै बस्नुपर्छ । तँलाई लिन चाँडै आउछु भनेर आमालाई फोन गरेको २ हप्ता नपुग्दै उनका बा कहिले नफर्कने गरी बिदा भए । जीवनको अन्तिम स्वास फेर्दै गर्दा आमासँग एक शब्द बोल्न पनि पाएनन् नत आमाले एक थोपा पानी खुवाउन पाइन् । बाको बोली बस्दै गर्दा आमा‚ भाइ र उनको आफ्नै जिन्दगीको सबै जिम्मेवारी निलिमाको हातमा सुम्पिएर बा बिदा भए । त्यसपछि निलिमा थप सक्रिय भएर कर्म गर्नुपर्ने चेत उनीमा विकास भैसकेको थियो ।

काठमाडौँ फर्केको दोस्रो दिन उनको सम्झना‚ उषा लगायतका साथीहरूसँग भेट भयो । माध्यामिक तहको अध्ययनपश्चात् ८र९ वर्षदेखि सँगै पढिरहेका उनीहरू साथीभन्दा पनि परिवारका सदस्यजस्तै थिए । निलिमाका साथीहरू उनको दुःखमा अँगालो हालेर खुब रोए तर उल्टो निलिमाले साथीहरूलाई सम्झाइन् । मैले रुन छोडिसकेँ केटी हो । म कर्णाली नदीको पानी पिएर हुर्केकी मान्छे हु । कर्णालीले जसरी लामो यात्रा तय गरेको छ त्यसैगरी अनेक आरोह अवरोहमाथि विजय हासिल गरी लामो यात्रा तय गर्नु छ मैले पनि । मैलै आँसु सबै कर्णालीमै बगाएर आएकी छु । उनका साथीहरूले काकाको वियोगमा आँसु झारिरहँदा निलिमा कठोर भइसकेकी थिइन् । हुन पनि उनलाई अब रुने छुट थिएन । मान्छेलाई उमेरले भन्दा पनि परिस्थितिले थप परिपक्व बनाउँदो रहेछ ।

अक्सर मानिसहरू सफल व्यक्तिहरूकाजीवन पढेपछि आफू पनि सपना देख्न थाल्छन् । कालीकोटमै रहेको भए उनको जीवन उनका बालसखाहरूका जस्तै हुन्थ्यो । १४र१५ वर्षमा बिहे । रातदिन जाँड रक्सीको नशामा डुबेको श्रीमान्‌को पिटाइ । बर्सेनी छोराछोरीको उत्पादन । ९ महिना पेटमा राखेर जन्माएको आफ्नो मुटुको टुक्रा झाडावान्ता‚ निमोनियाले आक्रान्त भएर र एउटा सिटामोल पनि नपाएर गुमाउनुको पीडा । यो सम्पूर्ण कर्णालीले भोगेको व्यथा न हो । उनी कसरी यो अवस्थाबाट मुक्त हुन सक्थिन् र रु फेरि आम्दानीको कुनै स्रोत नहुँदा लामो समयसम्म श्रीमान्‌ भारत काममा बस्दा बिताएका एक्लो रातहरू । अघिल्लो दसैँमा घर जाँदा उनको बालसखा भन्थिन् “बुढो भन्ने जिनिस पनि यस्तै रहेछ‚ सँगै हुदा कुकुर बिरालाझैँ झगडा हुने नहुँदा पलपल तड्पिएर बस्नुपर्ने ” । दुःखविहीन मानिस तको होला र रु निलिमा सोच्थिन् । मैले अब आउने पिँढीहरूका लागि केही गर्नुपर्छ । बाले गरेको सङ्घर्ष र गाउँको परिवेशले उनलाई समाज रूपान्तरण र महिला सशक्तीकरणको क्षेत्रमा काम गरेर कर्णालीमा रहेको रोग र भोक हटाउनुका साथै कर्णाली बासीलाई पनि सपना देख्न सक्ने बनाउनुथियो । त्यो सब बाबाट प्राप्त गरेको उत्प्रेरणा हो ।

अरू सबै विषयमा दख्खल भएतापनि ५र६ कक्षासम्म पनि अङ्ग्रेजीविषय पनि पढनुपर्छ भन्ने उनका बालाई थाहा थिएन । प्रवेशिका परीक्षामा स्कुलबाट १० वर्ष पछि १ जना नियमित उतीर्ण हुँदा उनको सान उच्च भएको थियो । विज्ञान विषय पढ्ने इच्छा भएका बा अङ्ग्रेजीविषयमा कमजोर हुँदा २ महिना विज्ञानमा भर्ना भएर पनि उनी शिक्षाशास्त्र सङ्कायमा भर्ना हुन बाध्य भए । अङ्ग्रेजी कमजोर भएका कारण आफूले जिन्दगीमा धेरै कुरा गुमाएको भन्दै उनका बाले अङ्ग्रेजी सिक्न थालेको धेरै वर्ष भैसकेको थियो । प्रवेशिका परीक्षामा स्कुलका प्रधानाध्यापकले दिएको चिटको सहायताले अङ्ग्रेजीमा ३२ अङ्क प्राप्त गरेका उनका बा अहिले राष्ट्रियरअन्ताराष्ट्रिय फोरममा प्रखर वक्ताका रूपमा चिनिन थालिसकेका थिए । बाको सोही सङ्घर्षका कारण उनमा केही गर्ने प्रेरणा जागेको थियो । उनले भगवान् र उक्त स्कुलका प्रधानाध्यापकलाई फेरि एकचोटि धन्यावाद दिइन् । यदि उनका बाले अङ्ग्रेजीमा ३२ अङ्क नल्याएका भए उनको बा भारतमा अहिले ज्यालादारी गर्दै हुन्थे र उनी पनि कालीकोट‚ जाँजरकोट वा जुम्लाको कुनै गाउँमा ३र४ सन्तानको आमा भएर आफ्ना छोराछोरी हुर्काउनेतिर नै हुन्थिन् ।

आफ्नो र परिवारको आवश्यकता पूरा गर्न उनले थप २ वटा होम टयुसन खोजिन् । भाइ भर्खर स्नातक पढन सुरु गरेको थियो । उसले पनि केही काम गर्छु भनेर जिद्दी गर्न थाल्यो । सोचिन् फलामलाई उच्च तापमा पिटेर नै हो बहुउपयोगी बन्ने । उसलाई ३ र ५ कक्षामा पढने घरभेटीका छोराछोरीलाई पढाउने व्यवस्था मिलाइदिइन् । उक्त दुःखको समयमा घरभेटी काका र काकीले धेरै सहयोग गर्नुभयो । काठमाडौँका घरभेटीहरूका सम्बन्धमा अक्सर डेरावालाहरूका राम्रो धारणा देखिँदैन तर जुन साथ र सहयोग उनले त्यो नेवार परिवारबाट प्राप्त गरिन् त्यसका लागि उनी सधै ऋणी रहनेछिन् ।
स्नातकोत्तर प्रथम सेमेस्टरमा नेपाल केमिकल सोसाइटी र रसायनशास्त्र केन्द्रीय विभागको संयुक्त आयोजनामा बुढानिलकण्ठस्थित पार्क भिलेज रिर्सोट नानो पार्टिकलसम्बन्धी अन्ताराष्ट्रिय सम्मेलन आयोजना गरिएको थियो । ३ दिनसम्म सञ्चालित उक्त सम्मेलनमा विभिन्न मुलुकहरूबाट रसायन शास्त्रीहरू सहभागी भएका थिए । सम्मेलनमा सहभागी भएका मध्ये जर्मन प्रोफेसर थोमस र उनका विद्यार्थीहरूलाई निलिमाले सम्मेलनपछि भक्तपुर दरबार स्क्वाएर‚ नगरकोट‚ वसन्तपुर र ककनी घुमाउने अवसर प्राप्त गरेकी थिइन् । २ दिन बसाइमा उनीहरूका मित्रता खुब झाङ्गिएको थियो । निलिमाको सहयोग र व्यवस्थापन कैशलबाट उनीहरू प्रभावित भएका थिए । उनीहरू जर्मनी फर्कने बेला निलिमाको बालाई भेटेर आफूहरूले निलिमालाई सहयोग गर्ने वचन दिएका थिए । बाको निधनको खबर पाएलगत्तै उनीहरूले सहयोगको आश्वासनसहितका इमेल लगातारलेख्न थालेका थिए । उनीहरूले समय(समयमा ५०र१०० डलर पठाउने गर्न थाले । बाका साथीहरूले पनि छोरी हामी छौँ तिमी ढुक्क भएर आफ्नो काम गर भनेर सान्त्वना दिन थाले ।

काठमाडौँ छिरेको ५र७ दिनमा निलिमा उनको बाले पढाउने गरेको काठमाडौँको प्रतिष्ठित निजी स्कुल पुगिन् । कोभिडसुरु भएदेखि काठमाडौँका निजी शैक्षिक संस्थाहरूले शिक्षक कर्मचारीलाई तलब भत्ता दिएका थिएनन् । निजी शैक्षिक संस्थाहरू अभिभावक र शिक्षक कर्मचारी चुस्न पल्केका किर्नाभन्दा कम छैनन् । समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने नारा लगाउने राजनीतिक दलका जिम्मेवार नेतृत्व नै यो लुटका सारथि बनिरहेका छन् । आफ्नो जिन्दगीको ऊर्जाशील समय सोही स्कुलको प्रगतिमा खर्चेका बाको निधनपश्चात् स्कुलले कुनै सहयोग गर्न चाहेन । न त बाको कामको तलब नै समयमा दिन तयार भए । बाको उक्त स्कुलमा थोरै लगानी पनि थियो । बाका एक शुभचिन्तक सहकर्मी थिए उमेश सर । उनले निलिमालाई एकछेउमा बोलाएर बाको लगानी पनि निकालीहाल नत्र समय बित्दै जाँदा यिनीहरूले थप बखेडा निकाल्छन् भनेर सल्लाह दिनुभयो । उनले सोचेकी थिइन् ।दैनिकी चलाउन समस्या छैन । त्यो लगानी त्यहीँ होस् बढिरहन्छ नै । आखिर नेपालमा नाफाको क्षेत्र नै शिक्षा र स्वास्थ्य त हो तर उमेश सरसँगको भेटपछि उनले स्कुलको व्यवस्थापकलाई भेटेर बाको नाममा रहेको सेएर बिक्री गर्न चाहेको निवेदन पेश गरिन् ।

एउटै संस्थाको सहकर्मी भएर पनि पैसासँग आत्मा बेच्न लालायित ती धनी भनिने सहरियाहरूका रबैया देख्दा गुरुप्रसाद मैनाली लिखित शहीद कथाको बीरबहादुरलाई निलिमाले धेरै सम्झिइन् । “गरीब छु मजदुरी गर्छु तर पैसाका निम्ति आत्मा बेचेको छैन” भनेर पढाउनेहरू नै एक दिवङ्गत सहयोद्धाको सेएर फिर्ता गर्न अनेक बहाना गरेको सम्झँदा यिनीहरू आर्यघाट जाँदा पनि पैसाको सुटकेस साथै बोकेर जान्छन् कि भन्ने आभास हुन्थ्यो । हुन पनि आफ्नै रगत पसिना खर्चेर कमाएर लगानी गरेको भए पक्कै दुःखको मेहनत बुझ्थे होला तर माओवादी आन्दोलनका क्रममा विभिन्न बैङ्क तथा वित्तिय संस्था र जनतासँग लुटेको पैसा राजनीतिक सम्बन्धका आधारमा लगानी गरेका उनीहरूलाई पसिनाको मूल्य कहाँ थाह हुन्छ र ? अन्ततः २र३ महिना सम्मको अथक प्रयासबाट उक्त पैसा निकाल्न सफल भइन्

जीवनको २३ औँवसन्त पार गरी २४ वर्ष प्रवेश गरेकी निलिमाले लाउ लाउ खाउ खाउ भन्ने उमेरमा पूरै परिवारको जिम्मेवारी सम्हाल्न परेको थियो । बाले अन्तिम स्वास फेर्दै गर्दा निलिमाको हात समाएर भनेका थिए “मैले तिम्री आमालाई कहिले सुख दिन सकिनँ छोरी । आज तिम्रो जिम्मा लगाएर जाँदै छु । दिनत सानो केटोलाई पनि राम्रो संस्कार दिएको छु तर बिहेपछि अक्सर पुरुषहरू परिवर्तन हुन्छन् ।ऊ कस्तो अवस्थामा रहन्छ अहिले भन्न सकिन्न । त्यसैले आमालाई तिम्रो जिम्मामा छोडेर जाँदै छु । आमालाई बुढेसकालमा दुःख नहोस् है छोरी ।” बाको अन्तिम शब्दबमोजिम नै उनले स्कुलबाट निकालेको बाको कमाइ सम्झनाको बाबा जो सेएर बजारमा राम्रो दख्खल राख्नुहुन्छ उहाँसँग सल्लाह गरेर २र४ वटा राम्रो ठानिएको कम्पनीको सेएर आमाको नाममा नै किनिदिइन् ताकि बुढेसकालमा आमाले आर्थिक अभाव खेप्नु नपरोस् ।

तेस्रो सेमेस्टरको कक्षा सुरु भएसँगै थेसिसको कामले उनको व्यस्तता बढ्न थाल्यो । विभागको उत्कृष्ट विद्यार्थीमध्येमा पर्ने उनलाई थेसिसको विषयमा विभागीय प्रमुख र प्राध्यापकहरूले धेरै सहयोग गरे । प्रस्तावलेखनमा समेत राम्रो सहयोग प्राप्त गरेपछि विश्वविद्यालय अनुदान आयोगबाट ५० हजार अनुदान प्राप्त गर्न सफल भइन् । अक्सर विश्वविद्यालयहरूमा लौङ्गिक तथा यौनिक हिंसा नयाँ कुरा त होइन । परीक्षामा राम्रो अङ्क प्राप्त गर्न तथा थेसिस फाइनल गर्न प्राध्यापकहरूले महिला विद्यार्थीहरूलाई उनीहरूका ओछ्यान तताउन बाध्य बनाउने गरेको समाचार छापा माध्यममा आइरहेको हुन्छ ।

निलिमाको सुपरिवेक्षक पूर्वतिरका ५० कटेका प्राध्यापक थिए । उनको बासँग पनि राम्रो सम्बन्ध भएका कारणले उनलाई उक्त प्राध्यापक अभिभावकजस्तै लाग्थ्यो । समय समयमा आफ्ना थेसिस विद्यार्थीहरूलाई घरमै बोलाएर अन्तःक्रिया गराउँथे । उनीहरूलाई लाग्थ्यो पक्कै राम्रो अवसर प्रदान गर्नेछन्तर १५ वर्षमा बिहे गरी ३र४ वटा छोराछोरी जन्माएर उमेर ४० भए तापनि ६० कटेकीदेखिने उनको श्रीमतीको अगाडि पोटिली निलिमा देख्दा सायद पहिल्यैदेखि नै कुदृष्टि राखेको हुनुपर्छ । २र४ पटक घरमै बोलाएरविद्यार्थीहरूका विश्वास जित्न उनी सफल भैसकेका थिए । एक दिन निलिमालाईफेरि घरमा बोलाए । सबै साथीहरू आउँदै होलान् भन्ने सोचेर उनी सुपरिवेक्षकको घरमा गइन् तर सुपरिवेक्षकको घरमा पुग्दा थाह पाइन् एक्लै बालाइएको रहेछ । उनी फर्किन खोजिन् तर आफ्नो शैक्षिक अभिभावक ठानेको सुपरिवेक्षकले उनीमाथि यौन शोषणको प्रयास गरे । उनले बाले भनेको सम्झिइन् “ पानीमा बाँच्नु छ भने गोहीसँग दुस्मनी नगर ” । रसायनशास्त्र केन्द्रीय विभागको तथाकथित् डन‚ सहरमा नाम चलेका क्याम्पसहरूमा राम्रो लगानी भएका र अनुसन्धनात्मक कार्यक्रम र संस्थाहरूमा राम्रो दख्खल राख्ने प्रोफेसरसँग जोरी खोज्दा समस्या पो पर्ला की रु फेरि बालाई सम्झिइन् उनका बाको एउटा आदर्श थियो “ अन्याय विरुद्ध जोकोहीसँग पनि विद्रोह गनुपर्छ ” । बाको आदर्श सम्झेर आफूमाथि भएको यौन हिंसाको विरुद्धमा प्रहरीसमक्ष जाहेरी दिइन् । राजनीतिक रूपमा पनि राम्रो पहुँच भएका उक्त प्रोफेसरले पैसाका लागि निलिमाले आफूलाई यौन शोषणको आरोप लगाएको भनेर उल्टै निलिमालाई कमजोर बनाउन प्रयासरत रहे । भाग्यवश ती मानबरूपीदानवले उनलाई एकपटक आफूले भनेको माने राम्रो जागिरदेखि पिएचडी गर्न समेत सहयोग गर्ने भनेर फकाएको निलिमाले जनाएको असहमति र प्राध्यापकले गरेको असफल बलत्कारको प्रयास रेकर्ड उनको मोबाइलमा भएको कारण ऊ कारवाहीको भागिदार भयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारी भएपछि सरकारको नेतृत्वले राष्ट्रको विकासका लागि विज्ञान र प्रविधिको क्षेत्रमा लगानी बढाउनुपर्ने चेत बढेको थियो । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानले फर्क है वैज्ञानिक‚ तिमीलाई डाक्छ नेपाल नामक कार्यक्रम सुरु गरेको थियो । विश्वविद्यालय अनुदान आयोगले पनि अनुसन्धान संस्कृतिको विकास गर्न केही प्रस्तावनालाई १ करोडसम्म अनुदान प्रदान गर्ने कार्यक्रम सुरु गर्न थालेको थियो । यसै क्रममा राष्ट्रिय युवा परिषद् र शिक्षा‚ विज्ञान तथा प्रविधि मन्त्रालयको संयुक्त आयोजनामा अन्ताराष्ट्रिय युवा वैज्ञानिक सम्मेलन सम्पन्न भयो । उक्त सम्मेलनमा वैज्ञानिक प्रस्तुतीकरण कार्यक्रममा प्रथम स्थान हासिल गरी निलिमालाई राष्ट्रपतिबाट नगद उपहारसहित सम्मान गरियो । असहज परिस्थितिका बाबजुद निलिमाको प्रगति देखेर उनका साथीहरू कसरी उसलाई कमजोर बनाउने भनेर लागिपरे ।

नेपाली समाजमा महिलालाई हेर्ने नजरपरिवर्तन हुन सकेको छैन । मान्छेले ज्ञानरूपी कागजी खोस्टा सङ्कलन गरे तापनि चेतनाको स्तर बढ्न बाँकी छ । पहिले नै उनका बाको मृत्यु भएको भए उनलाई बा टोकुवा पनि भन्न सक्थ्यो तर उनका साथीहरू सुपरिवेक्षकसँगको घटनालाई जोडेर उनको बदनाम गराउन हात धोएर लागेका थिए । अदालतले निलिमाको सुपरिवेक्षकलाई दोषी ठहराएर सजाय दिए पनि धेरैले निलिमालाई नै दोषी देखाउँथे । बा मरेपछि पैसोको जोहो गर्न होला प्राध्यापकसँग गर्नु मोज गरी अनि अहिले उसैलाई फसाएर छोडी । आफ्नै कक्षाका साथीहरूले नै यसरी निलिमालाई दोषी देखाइरहँदा उनले बालाई खुब सम्झिइन् । भनिन्छ दुबो जति माडे पनि हरियो रहन्छ । निलिमाको जिन्दगी पनि त्यस्तै भयो । जति नै बदनामी गरेर असफल बनाउन खोजे पनि उनी अघि बढिरहिन् । मोबाइलमा बज्दै गरेको कुन्ती मोक्तानको खुट्टा तान्दै गर बोलको गीतले अरूमाथि डाह गर्ने र अरूले प्रगति गरेको देख्न र सहन नसक्नेहरू कुरा काट्दै गर्छन् आफ्नो कर्म छाडनु हुँदैन भन्ने भावना विकास हुँदै उनमा थप कर्म गर्ने उत्प्रेरणा प्राप्त भयो । त्यहीबेला बाले भनेको कुरा याद आयो छोरी सत्यको बाटोमा हिँड‚ कर्म गर सायद कमै मान्छेले अरूको भलो चाहन्छन्तर राम्रो काम गर्नेहरूका लागि भगवान्छन् । उनीहरू नै तिम्रो दुःखमा साथ रहन्छन् ।

बाको निधनपछि धेरैले निलिमामाथि दया गर्न थालेका थिए वा माया नै पलाएको थियो त्यो त थाह पाउन सकेको थिइनन् तर साथी भाइ र आफन्तहरूका चासो चाही पक्कै बढेको महसुस हुँदै थियो उनलाई । बासँगहुँदा उनको मोबाइलमा आमा र साथीहरूका मात्र फोन आउँथ्यो तर अहिले फुपू‚ मामा‚ दाइहरू धरैको फोन आउन थालेको थियो । त्यसमध्ये उषाको दिदी उर्मिला पनि एक हुन् । कालीकोटको मान्माबाट धेरै पहिले बँसाइसरी काठमाडौँमा बसोबास गर्दै आएका उर्मिला दिदीको परिवार उनलाई आफ्नै परिवारजस्तै लाग्थ्यो । अक्सर गाउँबाट टाढा हुँदा जिल्लावासी भेटिँदा पनि आफन्त भेटिएझैँ हुन्छ । अझ ती दिदीसँग लामो समयदेखि उनीहरूका परिवारसँग चिनजान‚ भेटघाट हुनुले पारिवारिक सम्बन्ध विकास भएको थियो ।

नेपालमा दोस्रो जनआन्दोलन सफल भएपश्चात् धर्म परिवर्तनको क्रम ज्यादा भैरहेको थियो । गाउँगाउँमा मन्दिरभन्दा बढी चर्चहरूका निर्माण हुन थालेको थियो र यो क्रम दिन दुई गुना रात चार गुना बढँदै थियो । हिन्दु धर्मका अनुयायीहरू राजनीतिक दलहरूले देशलाई इसाईकरण गर्न लागेको आरोप लगाउँन थालेका थिए । आर्थिक र सामाजिक रूपमा पछाडि पारिएका समुदायमा विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराउने क्रम बढिरहेको थियो । उर्मिला दिदी आर्थिक‚ सामाजिक र राजनीतिक रूपमा बलियो भए तापनि पारिवारिक कारण क्रिस्चियन हुन बाध्य भएको कुरा पहिलेदेखि नै भन्दै आएकी थिइन् ।

उर्मिला दिदीले लगातार फोन गर्न थाल्नुभएको थियो । निलिमाले सोचिन्गाउँले बहिनीको रूपमा माया गरेकी होलिन् । निलिमाको थेसिसको काम‚ होम ट्युसन‚ पारिवारिक सम्बन्ध पनि कायम गर्ने जिम्मेवारी हुँदा अलि व्यस्त नै थिइन् । ती दिदीले भेट्न चाहेको महिना बित्दा पनि समय मिलाउन सकेकी थिइनन् । एकदिन शनिबार समय मिलाएर उनी उर्मिला दिदीकोमा खाना खानेगरी गइन् । खाना खाइवरी दुवै दिदीबहिनी मिलेर धन्दा सकेपछि उर्मिला दिदीले उनलाई बैठककोठामा लगिन् । बाइबलले भरिएकोकोठामा उनले प्रभु इसुको बखान गर्न थालिन् । इसुको शरणमा जानेले कहिले दुःख भोग्न नपर्नेदेखिअरू-अरू केके भनिरहिन् । निलिमालाई त्यसतर्फ कुनै चासो नहुँदा उनले खासै महत्त्व दिइनन् तर उर्मिला दिदीले निलिमालाई उनीहरूका धार्मिक कार्यक्रममा सहभागी भएर क्रिस्चियन भए आफूले धेरै सहयोग गर्ने भनेर लोभ पनि देखाइन् ।

साथी सर्कल र परिवारमा स्पष्ट वक्ताकारूपमा चिनिएकी निलिमाले भनिन् “दिदी मलाई सबै धर्मप्रति उच्च सम्मान छ । समय धेरै अगाडि बढिसकेको छ । युरोप र अमेरिका लगायतका रैथाने क्रिस्चियनहरू हिन्दू धर्म परम्परा पनि मान्छन् । मन्दिर दर्शन गर्छन् ।दसैँ‚ तिहार र होली लगायतका चाडपर्व हिन्दु सँगै बसेर मनाउछन् तर नयाँ जोगीले धेरै खरानी धस्छ भनेझैँ क्षणिक लाभका लागि आफ्नो धर्म परिवर्तन गरेर मन्दिर जान नहुने कुनै हिन्दु व्यवहार नै अँगाल्न नहुने आधुनिक क्रिस्चियनहरूप्रति म खेद प्रकट गर्दछु ” । आफ्नो अपेक्षा विपरीतको व्यवहार निलिमाले देखाएपछि उर्मिला दिदी रिसले चुर भइन् । उनको शरीरको तापक्रम बढ्यो लाग्दैथियो कि उनको ज्वरो १०८ डिग्री फरेनहाइट नै पुग्यो । हिजोसम्म उषालाई झैँ माया गर्ने उर्मिला दिदीले काम्दै अनेक लाञ्छना लगाएर तथानाम गाली गर्न थालिन् । निलिमाले सोचिन् स्वार्थले कायम गरेको सम्बन्ध लामो समय टिक्दैन । उनलाई निलिमा एक बहिनीभन्दा पनि आफ्नो धर्मको एक कार्यकर्ता चाहिएको रहेछ भन्ने सोचेर केही नभनी कहिले उनको घरमा नजाने प्रतिज्ञा गरी आफ्नो बाटो लागिन् ।