घडीले आठ बजाएपछि‚ झ्यालबाट घाम खुलेआम भित्र पसेपछि‚ बेलाबखतमा बाख्राका पाठाहरू पनि आफैँमाथि चढ्न थालेपछि उसको उठ्ने समय हुन्छ । ऊ उठ्यो । शरीर तन्काएर‚ लामो हाइ काढेर सिँडी ओर्लिएपछि भान्सामा आमालाई नदेखेपछि चिच्यायो‚ –आमा मेरो च्या (चिया) खै ?
–हँ । म यता बाहिर छु । यतिबेला उठेर पनि च्या भन्दै चिच्याउँछ अझ । मान्छेका छोराछोरी काँ पुगिसके तँ कुकुर बिहानभरि सुत्छस् । लाज लाग्दैन ?
दाहिने हातको चोरीऔँलाले आँखाको कचरा कोट्याउँदै‚ देब्रे हातले कट्टु बाहिरबाट कन्याउँदै फेरि करायो‚ –च्या खै ? मलाई छिटो च्या चाइयो ।
–एकछिन काम गर्न पनि के दिन्थ्यो र यस्ले । आफैँ बनाएर घिचे पनि हुने । सबै मैले नै गर्नुपर्छ । पहिला मुख धोएर आइज ।
स्टिलको बाल्टीबाट एक लोटा पानी उबाएर‚ मुख धोएर‚ अलिअलि मात्रै सेतो देखिने गन्जीलाई छातीसम्म तानेर मुख पुछ्यो । दलान अगाडिको पेटीमा बसेर कुन्नि के सोचेर एकछिन टोलायो ।
–च्या ला । यति खाएर खुरुक्क बाख्रालाई घाँस काट्दे । दाइ भाउजूले बाख्रालाई ल्याउन्नन् जस्तो छ । एउटो चिया खाएर खै कहाँ पुग्यो ठेगान छैन ।
केही नबोली स्टिलको एक गिलास चिया सक्यो ।
–त्यहीँबाहिर पेटीमा हैँसे (हँसिया) छ । चिफ्ले भएपनि काटेर ल्याइदे ।
गिलास भुईँमा राखेर‚ हैँसे समातेर आफ्ना चप्पल खोज्न आफू सुतेकै कोठामा पुग्यो । ओढ्ने सिरकमा देखिएको पहेलो दाग सुगेर‚ नाक खुम्चाएर‚ चप्पल खुट्टामा छिराएपछि ढोका बन्द गरेर बाख्राको पाठो खोज्न दौडियो । घरपछाडि आनन्द लिएर बसेको पाठोको कानमा समाएर ढाँडमा तीन लपेटा लगाएपछि पाठो चिच्यायो । म्याँ‚ म्याँ‚ म्याँ ।
–मार्न लागिस् कि के हो कुकुर ? किन हान्छस् पाठालाई ?
–यो गधाले मेरो सिरकमाथि चढेर मुतेछ । कुन दिन यसलाई यही हैँसेले छप्टाउँछु ।
–आफैँले बन्द गर्न सक्दैनस् आफ्नो कोठी ? यस्लाई गाली गर्छस् अझ ।
–दिउँसो त्यो धोइदिनू ।
–अरू काम हुँदैन मेरो । त्यही काम गरेर बसुँला ।
–भाउजूलाई भने पनि हुन्छ ।
हैँसे टिपेर‚ बारीको डोरामा पुगेर चिफ्लेको बोटमा तीन पाइला हालेपछि मलाई देख्यो । फेरि भुईँमा झरेर आँखामा रहेको कचेर औँलाले मिच्दै भन्यो‚ –के गर्दैछस् ?
–केही नाइँ यार । यत्तिकै बसिराछु ।
–आइज मास्तिर ।
चिफ्लेको बोटमा चढेर भुईँमा झरेको उसलाई देखेपछि पनि मैले सोधेँ‚ –के काट्न आएको होस् ?
–यही चिफ्ले काट्न आएको यार ।
–परीक्षा कहिलेदेखि छ तेरो ?
–अर्को सातादेखि हो । तँलाई बरु आनन्द छ यार । परीक्षा सकिस् ।
–सधैँका लागि त काँ हो र । केही समय त हो नी ।
केहीबेर गफ गरेर‚ घाँस काटिसकेपछि भन्यो, –ल म गएँ यार अहिले‚ साँझतिर बसौँला ।
–हुन्छ ।
ऊ घरतिर लाग्यो ।
घाँसलाई कुर्सुला (घरपछाडिको भाग) मा राखेर भान्सातिर पस्यो । –आमा खाना पस्किनू हतार भयो ।
–जतिबेला पनि तँलाई मात्र हुन्छ हतार । बा पनि राँगो लिएर गाँउतिर जानुभएको छ‚ आउने ठेगान छैन । दाइ भाउजू पनि आएनन् ।
–अरूको कुरा छोड्नू‚ म कपडा लगाएर आए । भात पस्किनू ।
ऊ कोठामा छिरेरहल्का निलो पाइन्ट र गाढा निलो कमिज लगाएर ऐनाअगाडि उभियो । बसाउने तेल गारोमा देखेपछि‚ दाहिले हातलाई कुचुक्क पारि खोचो बनाएर‚ देब्रे हातले तेल खन्याएपछि टाउकाभरि दल्यो । कपाल लिरिक्क भयो । कोठै बसायो । कानमाथिबाट झुण्डिएका रौँहरूलाई जमराजस्तै मिलाएर पछाडि लग्यो । बिचबाट जुल्पी कोऱ्यो । भान्सामा छिऱ्यो ।
–आमा खै भएन ?
–पर्खे पस्किँदै छु । कति आत्तेको हो ?
–बेर हुन्छ फेरि । पढाइ छुट्छ । आमालाई पढाइको महत्त्व देखाइदियो ।
खाना खाएपछि‚ झोला बोकेर‚ साथीहरूलाई बोलाउँदै‚ पर्खिँदै स्कुल पुग्यो । भलिबल खेल्यो‚ केटीहरूलाई जिस्कायो‚ कोही केटाहरूले निहुँखोजेमा एक दुई लपेटा लगायो । यसैगरी उसले स्कुले जीवन बितायो ।
समय सधैँ सोचेजस्तो सजिलो र सहज भएन । एस एल सी दिएपछि‚ एउटा दाइ इन्डियातिरै बस्न लागेपछि‚ घरमा भएका दाइ भाउजूहरू छुट्टिएपछि उसले बिदामा इन्डियातिर घुम्न जाने सपनालाई ज्यूँदै माऱ्यो । अब घरमा आमा र बाको बिचमा ऊ एक्लै भयो । बाको टाउकोमा कालो कपाल फेला पार्ने अवस्था नभएपछि‚ मुखमा गिजाहरूले सौन्दर्य लगेपछि‚ गालामा मुजा देखिएपछि‚ आमाको स्वास्थ्य अवस्था सम्झिएपछि उसले आफ्नो जीवनलाई अनुमान गर्न थाल्यो ।
बा गाउँभरिमा समाजसेवीको गणना गर्न लाग्दा सबैको हातमा पहिलो नम्बरमै पर्नुहुन्छ । दाइ भाइको अशंबण्डा नमिलेमा‚ साँधको समस्या परेमा‚ झारफुक गर्न परेमा‚ बाख्रा भैँसीहरूले बच्चा जन्माउन नसकेमा सबैले लिने नाम उहाँकै हो । गाउँको डाक्टरभन्दा पहिलो विश्वास सबैले उहाँलाई गर्छन् । पहिले त महिलाले बच्चा जन्माउन नसक्दा पनि उहाँलाई नै बोलाउने गर्थे पछि त्यो काम भने हस्पिटलले गर्दा रोकिएको थियो । बा दमका रोगी हुनुहुन्छ । आमा पनि बेलाबेलामा बिरामी परिरहनुहुन्छ ।
अहिलेसम्म गोठमा भएका राँगो र एउटा बोकाले घरखर्च धानेका छन् । सुरुसुरुमा बा बिरामी हुँदा गाउँमा राँगो लैजानु पर्दा उसलाई लाज लाग्यो । बिहान साँझ अलिअलि घरको काम गऱ्यो‚ दिनभर यताउता गऱ्यो‚ साँझमा साथीहरूसँग समय बितायो । केही समय उसले यसै गर्दै बितायो ।
दैनिक खाने औषधिले काम गर्न छाडेपछि बालाई दमको समस्याले धेरै नै च्याप्यो । ऊ एक्लै घर नजिकै पर्ने अस्पतालमा लिएर गयो । डाक्टरले भन्यो‚ –हामीसँग सबै औषधि छैनन्‚ पाल्पा लैजानू ।
बाले भन्नुभयो‚ –भैगो मलाई घरमै लैजा‚ म बाच्दिनँ अब । मलाई घरमै मर्न मन छ ।
बिरामी हुँदा‚ धेरै गाह्रो हुँदा बुढाबुढीले यस्तै भन्छन् भन्ने उसले जानेको थियो । आवश्यक पैसा र चाहिने कपडा दाइलाई ल्याइदिन भनेर ऊ पाल्पातिर झऱ्यो । अवस्था धेरै बिग्रँदै गएपछि‚ सबैतिर हल्ला मच्चिएपछि‚ गाउँलेहरूले निको होस् भनेर मनमनै प्रार्थना गर्न लागे । नजिक हुने आफन्तहरू हस्पिटलमै पुगे । यो अवस्था आउँदा ऊ आत्तिन थाल्यो । बाको नजिक गएर बस्ने मन हुँदाहुँदै पनि बस्न डराउन थाल्यो । दाइ भाउजूहरू भित्र भएपछि ऊ बाहिरै बसेर टोलाउन थाल्यो । आफूजस्तै केटाहरू कोही नभएपछि उसलाई नरो सबै ठिक हुन्छ भनेर अरूले सम्झाउँदा पनि उसलाई मन पर्न छाड्यो । एक्लै बेलाबेलामा आँखा रसाउन थाल्यो ।
बाहिरै बसेर टोलाइरहेको थियो । भाउजू भित्रबाट आत्तिँदै आएपछि उसले शरीर कमाउन थाल्यो । भाउजूको बोली सुन्यो‚ –कान्छा भित्र जानू छिटो । पानी ख्वाउनू । भाउजू रुन लाग्नुभयो ।
उसको बाँध झन् छिटो भत्कियो । भित्र गएर बालाई हेऱ्यो‚ अन्तिमपटक भएपनि पानी खुवाउने हिम्मत एक मुठ्ठी पनि सँगाल्न सकेन । ऊ भित्रै गएन । दुईतीनजना मान्छेको घेराभित्र रहेर ऊ धेरै समय रोइरह्यो । केही मान्छेहरू जम्मा भएर‚ आवश्यक सामानहरू किनेर‚ दाह संस्कारका लागि तयारी भयो ।
घाटको सबै काम सकेर‚ दाइहरूसँगै ऊ घर फर्कियो । आमालाई देखेर‚ गाउँलेहरूलाई देखेर‚ बाको कपडाहरू देखेर‚ बालाई सम्झिएर उसका आँखा फेरि पोखिए ।
तेह्र दिनसम्म गाउँलेहरूले‚ आफन्तहरूले घर सबै छोपिएपछि उसलाई पहिलेजत्तिको नरमाइलो लागेन । सबैको बिचमा कान्छो छोरा भएर माया पायो । ऊ केही खुसी भयो ।
सबै काम सकिएपछि‚ सबै आ–आफ्नै काममा फर्किएपछि घरमा ऊ आमासँग एक्लै भयो । फेरि आमासँग बसेर सँगै रोयो । उसलाई बाको ओछ्यानले‚ बाका कपडाहरूले सबैले बेलाबेलामा झस्काएपछि आमाको छेउमै आफ्नो बिस्तारा साऱ्यो ।
घरखर्च चलाउने जिम्मेवारी उसकै टाउकोमा आयो । बाको लेनदेन सम्झिएको कापीमा टिप्यो‚ आमालाई सोध्यो‚ यसैमा केही सम्झियो केही बिर्सियो । सबै भएर पनि केही नभएजस्तो हुन लागेको थियो ऊ । दाइहरूका बिचमा कान्छो भाइको रूपमा जन्मिएको ऊ पढ्न चाहेमा पढ्न पाउने‚ घुम्न मन लागेमा घुम्न पाउने सायद यस्तै वातावरणमा ऊ हुनुपर्ने थियो तर ऊ अन्तै भयो ।
समय बित्दै जाँदा बेलाबेलामा उसकी आमा बिरामी पर्न लाग्नुभयो । बिहान उठेर‚ घाँस सोत्तर गरेर‚ भैँसी दोएर‚ खाना पकाएर खाएपछि घाँस काट्न गएर‚ घरको काम गरेर उस्तै परे राँगो गाउँमा डुलाएर फर्किँदा राति हुन्थ्यो । अगेनामा आगो‚ गोठमा घाँस‚ सबै रित्तै हुन्थ्यो । आफ्नो भाग्य देखेर‚ भैँसी देखेर‚ आफ्नो भोको पेट देखेर र ओछ्यानमा सुतिरहेकी आमालाई देखेर बाहिर एक्लै टोलायो । रसिला आँखाहरूलाई चोरीऔँलाले पुछेर आफैँलाई सम्हाल्दै सबै काम सक्यो ।
घर परिवार भन्दा टाढा बसेर पढ्न लागेपछि‚ म वर्षमा प्रायः एकदुईपटक मात्रै घर पुग्छु । ऊ सामाजिक सञ्जालभन्दा धेरै टाढा भएपछि कतिबेला उसलाई भेटौँ भन्ने मनमा हुटहुटी चलिरहन्छ । अहिले पनि दसैँको मौका पारी घरमा पुगेँ । उसको घरमा पुगेर‚ आमालाई ढोगेर ऊ सुतेको बिस्ताराबाट सिरक हटाएर उसलाई भनेँ‚ –ओइ उठ्‚ आठ बजिसक्यो । म मन्दिरमा गएर आउँछु ।
मन्दिरमा गएर‚ तीनपटक घुमेर‚ फूल र पैसा चढाएर फर्किँदै गर्दा उसले मलाई आफ्नो आँगनबाट हेरिरहेको थियो । आँखालाई मिचेर‚ लामो कपाललाई मिलाउन खोज्दै भन्यो‚ –मैले त सपनामा आइस् कि भनेको साँच्चिकै आएछस् ।
आमाले ल्याएको चियाको गिलास समातेर‚ ऊतिर फर्किँदै सोधेँ‚ –किन यति अबेलासम्म सुतेको होस् ?
–राति तास खेल्न गएर हो । के गरोस् बिचरा साथीहरू खासै छैनन् । गएर एकछिन भएपनि रमाउँछ जस्तो लाग्छ । गाली गर्न पनि मन लाग्दैन । रातिमा छिटै आइज भन्छु कहिले आउँछ कहिले बिर्सिन्छ । आमाले भन्नुभयो ।
–कस्तो खेला खेल्छौ ?
–घाटामा जाने खेल होइन । टाइम पास हो ।
चिया सकेर‚ आमासँग हैँसे मागेर भन्यो‚ –हिँड् मन्दिरतिर जाऔँ ।
–हिजो बाख्रालाई घाँस काट्न पनि पाइनँ‚ अहिले काटे दिउँसोलाई सजिलो हुन्छ । यस्तै छ यार गाउँले जीवन । तनावै छ के गर्नु ? सबै आफ्नै टाउकामा परिसक्यो । गरी खाने बाटो यहीमात्रै भयो । ऊ चिन्तित भयो ।
–चिन्ता नले । बाहिर बस्ने पनि सबै खुसी छैनन् । पीडाहरू थुनेर पनि एक्लै मुस्कुराउनुपर्छ । अरू के छ खबर सुना ?
–केही छैन यार । अब बिहे गरौँ कि जस्तो लाग्न थालेको छ । मन त होइन‚ बाध्यता आइलाग्यो । आमाको अवस्था सधैँ एकनास हुँदैन । दाइहरूले गर्लान् भन्ने आश छैन । बिहे गरे त भित्रको काम हेर्नु पर्थेन ।
–हामीले देखेको जीवन तैँले त भोगिसकिस्‚ बुझिसकिस्‚ हाम्रो बाँकी छ । सुख दुःख भन्ने चक्र रहेछ । आज धेरै दुःखी भएपनि कुनै क्षणमा सम्हाल्नै नसकिने खुसी आइलाग्छ । चिन्ता नले ।
मेरो कुरा सुनेर‚ नपत्याएजस्तो गरेर जवाफ फर्कायो‚ –यस्तो ठाउँमा बसेर पनि के खुसी आउला र खै ? घाँस दाउरा भन्यो‚ चिन्ता लियो । योबाहेक के छ र यहाँ ?
–टाइसुट लगाउँदा राम्रो देखिने अरूलाई मात्रै हो । जीवनमा त खुसी हुन सक्ने मान्छे नै महान् हो । गाउँमै बसेर पनि सहरमा कमाउन नसकिने पैसा थुप्रैले कमाएका छन् । त्यता फर्किएर हेर्ने गर् ।
म उसका कु्रा सुनेपछि कहिल्यै पनि ऊभन्दा ठूलो आफू भएको अनुमान गर्न सक्दिनँ । आमाको काखमा बसेर लडीबुडी गर्दै जीवन बिताउन पनि अक्सर कमैले पाउँछन् । बाहिर बस्ने मान्छे त्यही जीवन बिताउन जीवनभर दौडिरहन्छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।