छुनुमुनुलाई स्कुल पठाउन एकदमै गाह्रो थियो ।हामीले दुईवटा कुराभन्दा उसको चारवटा गनगन सुरु भइसक्ने । तीन वर्षकी छोरीलाई आमाको काख स्कुलका कापी, कलमभन्दा धेरै प्यारो लाग्ने त स्वभाविक नै भयो । भर्ना त श्रीपञ्चमीकै दिनमा हजुरबुबाले लगेर गरिदिनुभएको होतर उसले रोएरै सबैलाई जितिरहेकी थिई ।उसको रुवाइ नै सबैभन्दा सुरक्षित शस्त्र थियो ।

बिहान उठेदेखि नै सम्झना व्यस्त हुन्छिन् । उनलाईभान्छामा अल्मलाउने हजार कुरा छन् ।घरका सबै एकएक काम समातेर बिहानै बाहिर निस्कँदा पनि मेरो चाहिँआफ्नै कमजोरी थियो; कलिलो घामको रापले सधैँ लोभ्याउने । म बसेको थिएँ मिठो घामको स्वाद लिदैँ । छुनुमुनु त्यहीबेला धारोतिर कुदी, भँगेराको पछिपछि । ऊ ससाना कीरा समात्न खोज्थी । मौरी समात्न खोज्दा एकपटक उसको गाला रोटीजस्तै पुक्लुक्क उक्साइदिएको थियो ।

“सम्झना, एक कप अलिकडा चिया बनाइदेऊ न ।”मैले अनुनय गरेँ । आधा घण्टाअगाडिको चियाले सबैभन्दा बढ्ता ताजगी दिएको थियो तर मेरो मन भर्न सकेको थिएन । खै के नपुगे, के नपुगे जस्तो भइरह्यो ।

“भर्खरै त दिएको होइन र?” बाहिर निस्कँदै गर्दा उनले भनिन् ।

“हुन त हो तर धितचाहिँ मरेन । तिमीले बनाएको चियाले मेरो धित कहिले मर्छ र? फेरि पिइहा

कोमल फुयाल

लूँ लाग्छ । के गर्नु?”

“चेपारो पार्न पनि कति आउँछ,है?” धारातिर जाँदै गर्दा उनले भनिन् ।

“साँच्ची ।”

“हुन्छ, छोरीलाई एकछिन लिएर बस्नू ।”

छोरीलाईमलाई जिम्मा लगाएर उनी भित्र छिरिन् ।

छोरीलाई लिएर बसेको थिए; अगाडि एउटा भँगेरा एउटा बच्चो लिएर उडाउन सिकाउँदै आँगनमा देखा पऱ्यो । छुनुमुनु मेरो हातबाट चिप्लेर ताली बजाउँदै भँगेरानजिक पुगी । त्यो भँगेराले उडिरहेको एउटा झिँगालाई हावामा बाकटे हानेर समात्यो र भुईँमा रहेको उसको बच्चाको मुखमा लगेर चारो बिसायो । सानो बच्चाले झिँगालाई चुच्चामा खेलायो र निल्यो । यो देखेर छुनुमुनका आँखा अझै चौडा भए । उसको अनुहार दिव्य देखियो । उज्यालो थपिएको थियो । उसको हाँसो आफैँमा बिहानको कलिलो घामभन्दा थप मनमोहक थियो ।

मलाई केटाकेटीको हाँसो सबैभन्दा मन पर्छ तर उनीहरू सधैँ यस्तो हाँसो प्रकट गर्दैनन् । त्यसैले त आमाहरू जति नै दुःख भए तापनि केटाकेटीहरूको यो अलौकिक स्वरूपको दर्शनमा गद्गद भइ नै रहन्छन् । मैले कुनै दिन यस्तो हाँसोको दर्शन मैले पाएँ भने त्यो दिनभर नै अनुहारमा आभा थपिएजस्तो लाग्छ । कामहरू छिटोछिटो आफैँ भएजस्तो अनुभूति हुन्छ ।

“छोरीलाई हेर्नू भनेको हेरिहाल्नुभएछ नि?” सम्झनाको आवाज सुनेपछि पो झसङ्ग भएँ ।भान्साबाट चियाको कप मलाई पुऱ्याउन आउँदा उनलाई रिस उठ्नु स्वभाविक हो ।“चिसो यस्तो छ । यसो छोरीलाई घाममा लिएर बस्नू भनेको कता हराउने हो, कता?”

मैले आफूले चाहेर पनि सम्झनाका त्यस्ता चिन्ताहरू बुझ्न सक्तिनँ । उसलाई म अलि लापर्बाह मान्छे हो भन्ने लाग्दो हो । सबै मतलबको कुरा बाहिर देखाएर पनि त के नै पो हुन्छ र? ठूला ठूला समस्या हामीले समाधान गरेर हुन्नन् । ससाना घटना–परिघटनाहरूको आनन्द लिनु नै यी अल्मलाउने चक्रबाट निस्कने सबैभन्दा उत्तम उपाय हो भनेर मैले सिकेको धेरैचाहिँ भएको छैन ।खासमा सम्झनालाई म अल्मलिएको मन पर्दैन­ मलाई बिहान चराहरूले अल्मलाउँछन्; दिउँसो आरु, पैँयुका फूलका पत्रहरूको बैजनी रङ्गले पूरै संसारको रहस्य नै खोल्लाजस्तो गरी तर्मिराउँछ; साँझ एक हुल झ्याउँकिरीलाईऱ्याउँऱ्याउँ गर्नको हतारो गर्छन्; अनि राति ताराको तिलमिल उज्यालोमा एउटा मौनता खोज्छु,आकाश र धर्तीको बिचमा ।

हाम्रो विवाह भएको सात वर्ष पुगेर आठ लाग्यो, अस्तिको माघमा ।बाह्र वर्षलाई त एक युग मान्छन् मानिसहरू ।यस हिसाबले त यो त आधा युग नै पो भयो त । यति समय बित्दा पनि यो रिक्तता बाँचिरहेकै छ हाम्रो बिच मानौँ यो समय त्रिशूली हो । निरन्तर दुई किनारामा हामीलाई राखेर बगिरहेछ उसको गन्तव्यमा हिमालबाट । चियामा जति नै रङ्ग कडा गरे पनि मन नभरिएजस्तै खै केले त्यो दूरीलाई भर्ने हो, मैले खुट्याउन सकेको छैन । उनले त केही अनुमान लगाएकी हुनु नै पर्छ । मलाई त्यस्तो लाग्छतर मलाई अहिलेसम्म भनिसकेकी छैनन् ।

मैले भँगेराको सन्तानप्रेमको वर्णन गर्न चाहिनँ । छुनुमुनुले बुझेको आनन्द, उसको अनुहारमा भएको कान्ति वृद्धि, टल्केका ठूला आँखा र ओठहरूबाट फुस्केको हाँसो मेरै मात्र सम्पत्ति होऊन् कालान्तरसम्म भन्ने चाहना भयो मलाई ।मैले यो दृष्यलाई मनको कुनै कुनामा चिरस्थायी रूपमा कैद गर्न चाहेँ ।बाबा र छोरीले अनुभूत गरेको प्रकृतिको साझा विम्ब हाम्रै मात्र मनमा रहोस् । हामीमात्र त्यसको सौन्दर्यलाई आस्वादन गरिरहूँ । त्यसले हामी दुवैलाई अनुभूतिको सूत्रमा बाँधोस् र बाबा­छोरीलाई त्यसले जीवन–जगत् रहेसम्म जोडि नै राखोस् । हुन सक्छ, उमेरले छोरीको मनमा त्योभन्दा ठूला, थप महत्त्वका विम्बहरू स्थापित गरिदिओस् । उसले यी ससाना बाल्यकालीन परिघटनालाईविस्मृतिमा मिल्काइदिन सक्छे । यथापि मेरो मनमा त रहन्छ नि!

“दाजु, बा हुनुहुन्छ नि?” तेजेको आवाज सुनेँ ।

“बजार जानुभएको छ । दश बजेसम्म घर आउनु हुन्छ । तँलाईआज दाउरा चिर्न बोलाको छु भन्नुभा”थ्यो ।”पूजाको थाली लिएर आमा तुलसीको मोठबाट गोठतिरहिँड्नुभयो । बिहान गाईको पूजा नगरी आमा खाना खानुहुन्न । भन्नुहुन्छ, “पाञ्चायन, तुलसी र गाईलाई नपुजी अन्नहार गर्नेले यो जुनीमा मात्र होइन अर्को जुनीमा पनि गति पाउँदैनन् ।”

जेठको महिना थियो । अलि गर्मी बढेको वर्ष थियो त्यो । राजनीति कताकता जान्छ भन्थे मानिसहरू ।”हत्याकाण्ड एउटा षड्यन्त्र हो,” चिया पसलमा राजनीति वार्ता यसमै टुङ्गिन्थे ।सोझासाझा गाउँलेहरूलाई त्यतातिर त्यति ध्यान थिएन । असारमा कामदार पाइएन भने सबै आफैँ गर्नुपर्ने पो चटारो थियो त । त्यहीबखत तेजे देखा परेको थियो कुशग्राममा ।सुरुमा खेत खन्ने, बाउसे गर्ने कामका लागि असारमा त्यो अधबैँसे मानिस हाम्रा तिर आएको थियो । गाउँलाई त सधैँ खेतमा काम गर्ने सहयोगी हात चाहिन्छ नै ।

सबैले उसलाई सज्जन माने । मिलनसार त ऊ छँदै थियो । झट्ट हेर्दा गुरुङ वा तामाङ जस्तो देखिन्थ्यो । उमेरले मभन्दा बाह्र–पन्ध्र वर्षजति जेठो हुँदो हो ।ठूलालाई आमा, बा भन्नु त उसको बानी नै थियोतर कसैलाई पनि भाइ भन्दैनथ्यो । सबै उसका दाजु । ऊ हाम्रो दाजु ।हाम्रो सम्बन्ध यस्तै थियो ।

असोजमा एक हुल आरावाल तामाङहरू हाम्रो गाउँमा आएका थिए । तिनीहरूले तेजेलाई आफ्नो समूहमा राखे । ऊ खुसी नै देखिन्थ्यो । उसले आफूलायक समूह पाएको थियो ।आरावालहरूले यतातिरको रहनसहन बुझेको साथी भेट्याएका थिए ।अब तेजे तिनीहरूसँग रुख काट्ने, धरान बनाउने र काठ चिर्ने काममा लाग्यो । मैले धेरैपटक साथीहरू उसले फरर तामाङ भाषामा कुराकानी गरेको देखेसुनेको थिएँ ।

खेतीबालीमा काम गर्नेमजुदर न हो तेजे । हामीले उसलाई सम्झने पनि दाउरा काट्नु पर्दा हो । कि त बाँस काटेर बारीमा थाङ्ग्रा हाल्ने काम आउनुपऱ्यो ।गाई­बाख्रा बैना गराउन पऱ्यो भने पनि उसैलाई डोऱ्याएर पठाउने गरेका थिए गाउँमा । सजिलो मान्छे थियो । उसको नाम थाहा थियो । त्यसको थर कसैले सोधेनन् ।उसको बारेमा थप जानकारी नै किन चाहियो र? सहयोगी थियो, कसैलाई भनी बिझाउने उसको बानी थिएन । सबैलाई आदर गर्थ्यो । सानो गाउँमा यतिसम्म गर्न सक्ने मानिस बिरलै आउथेँ ।

“छुनु, लाऊ यो पैसा राख ।”आँगनको एउटा कुनादेखि अर्को कुनासम्म दौडिरहेकी छुनुमुनुलाई पाँच रुपैयाँको रातो नोट तेजेले दिन चाह्यो ।छुनुमुनु त परपर भागी । त्यो नोटलाई छुँदा पनि छोइन ।डराएझैँ देखिई ।छोरी हड्बडाई ।

तेजेको एउटा नियम थियो­ जसको काम गऱ्यो उसकै घरमा खाना खायो । सुत्ने चाहिँ ठाउँ उसको एउटै हुन्थ्यो ­काजी काकाको फलैँचा । काजी काकाको भोटे कुकुर तेजेलाईआफन्तजस्तै व्यवहार गर्थ्यो । तेजेले कतिपटक मासु कागजमा पोको पारेर कुकुरलाई ल्याएर खुवाएको देख्नेहरूका लागि रोचक गफ बनेको मैले सुनेको छु । उनीहरू भन्थे, “यिनीहरू मित हुन् । एकअर्कालाई हेरेर हाँस्छन् ।”

तेजेले पाँच रुपैयाँको नोट छुनुमुनुलाई नदिई नछाड्ने भए । बलेँसीमा पुगेपछि उसले छोरीको हातमा त्यो नोट राखिदियो । छुनुमुनु अत्तालिएर रुँदै आँगनको डिलतिर आई ।अत्तालिएकी छोरीका ओठ निला भए । मैले भनेँ, “त्यो रोएपछि फुल्याउन सकिन्न । त्यसलाई नजिस्काउनू, दाइ ।”

उसलाई पनि खै के लाग्यो, त्यो रातो नोट टिपेर छुनुमुनुको गाडा हरियो हुक्सको पेटे खल्तीमा घुसारिदिए ।छोरी रुन थाली । त्यो नोट खल्तीबाट झिकेर आँगनको डिलबाट बाहिर लसुनबारीमा फ्याँकिदिई । नोट लसुनको हरियो बोटकोगुभामा पुगेर अड्कियो ।

सम्झना बाहिर निस्की ।“तपाईँले नानीले किन यसो गरेकी होबुझ्नु हुन्न ।” छोरीलाई उठाउँदै उसले थपी,“त्यो पैसा लिएपछि स्कुल जानुपर्छ भनेर फ्यालेकी ।आज मेरी छोरीलाई स्कुल जान नै मन छैन । हगि, छोरी?” छोरीलाई च्यापेरऊ भित्र छिरी ।

“दाइलाई त हिजो पुलिसले भट्टीमा कुटेछ नि, हैन?” ज्यामिरको बोटनजिकैको खाली मुडामा तेजे आई नपुग्दै मैले कुरो उप्काएँ ।

“दाजुलाई कसले भन्यो?” ज्यामिरको कलिलो मुनालाई स्पर्श गरेर तेजे बोल्यो ।

“गाउँ हो, सानो छ । एउटा हत्केलाजस्तो । थाहा भइहाल्छ नि ।” मैले थपेँतर मलाई हिजो साँझ उकालोमा काजी काकाले भनेका थिएतर मैले उसलाई दसी प्रमाण राख्नु त पर्दैन नि ।

कुशग्राम आफैँमा एउटा सानो बस्ती हो ।थोरै मानिस बस्छन् । बीस­बाइस परिवारबिच के पो थाहा हुँदैन? बुझ्ने नै हो भने कसको घरमा के तरकारी पाक्यो, के पाक्तैछ र के योजना बन्दैछ भन्ने सम्म पनि थाहा हुन्छ यहाँ । अलि खोजीनिधी गर्नेले त कसको मनमा के लागिरहेछ पनि भन्छन् त यहाँ ततर हिजोको घटना गाउँबाहिरको थियो ।

“सानो पाखोमा धरानको टिम्बा सकेर रमाइलो गर्ने योजना बनायो, सानुले ।हामी सबै सुडालमा रक्सी खान गयौँ, साँझपख । पेम्बालाई अलि बढी लागेछ । अनि बहुलाउन पऱ्यो उसलाई –– सानुसँग झगडा गऱ्यो ।मुख छोड्यो । के के गाली गर्न थाल्यो ।ऊ त तामाङ भाषामा नैबोलिरहेको थियो । त्यहीँ नजिकै पुलिस रहेछ । हवलदारलाई रिस उठेछ । भन्यो,”यी माओवादीलाई लगेर थुन्दे ।””

“आपसमा झगडा गर्दैमा त्यसो भन्यो?” मलाई अचम्म लाग्यो र सोधेँ ।

“सुन्नू न । अनि दुवैजना रून थाले ।” तेजेले थप्यो ।

“तिमीचाहिँ कसरी जोगियौ त? तिमी पनि त भोटे नै त हौ नि ।” मैले भनेँ ।

“हे दाइ पनि । म त नेवारको छोरो हुँ नि । सिन्धुपाल्चोक, चौताराको नेवार । हाम्रो पुर्खा भक्तपुरको नेवार रे । मलाई कसरी पक्रिन्छ पुलिसले? म त साहुनीसँग नेवारीमा कुरा गर्दै थिएँ । तिनीहरूलाई पक्रेर लगेपछि म पसलबाट खुसुक्क निस्केँ अनि काजी काकाको घरमा आएर सुतेँतर उनीहरूलाई पनि वडाअध्यक्षले हिजै राति जमानी बसेर चौकीबाट छुटाएर ल्याएछ ।”

“तिमी नेवार पो हौ?” मैले आफूलाई रोक्न सकिनँ ।बिहानको कलिलो घामसँगै के के नयाँ रहस्य निस्कन्छन्? तेजे त  बहुरूपी पो रहेछ । यसले मलाई तामाङभएको भ्रम पो पारेछ । हुनत मैले पनि नसोधेको चाहिँ हो । बुझ्नुपर्ने पनि किन थियो र?

“तर केटाहरूले खुबै कुटाइ खाएछन् । चाहिने नचाहिने कुरा गर्नुपर्ने रक्सी खाएपछि ।पहिलाको केके कुराहरू किन सम्झनुपऱ्यो? आफ्नो काम गर्नु, आफ्नो रमाइलो गर्नु, भइहाल्यो नि!”

तिनीहरू कुटाइ खाने त्यो वर्षको अन्तिम टोली भने थिएनन् । ज्याला मजदुरी गर्ने अर्को टोलीलाई देख्ता रिस उठ्यो भनेर पुलिसले दुई दिन थुनेर कुटेछ भनेर तेजेले नै पछि पनि मलाई सुनाएको थियो ।त्यसरी कुटाइ खानेको सङ्ख्या बढि नै रहेको थियो

एक दिन तेजेले भन्यो, “ढुङ्गा फुटाउने थामी त भाग्यो नि!”

“हो र? के भएछ त्यसलाई? राम्ररी काम गरिरहेको थियो?” मैले प्रतिप्रश्न गरेँ ।

“असई सा’पलाई भट्टीमा रिस उठेछ ।उसले थामीलाई एक मुक्का हानेछ । पुलिस हो, मुक्का हानेपछि केही नभनेर बचेर हिँडेको भए हुने नि । थामीलाई लाटो रिस उठेछ ।सा’पको अनारीमा लात्ती बजारेछ । असई सा’प ठाउँको ठाउँ बेहोस् । त्यसपछि दोलखा भाग्यो भन्छन् ।” निकै हतारमा ऊ आफ्नो विवरण पूरा गर्छ ।

समय खराब नै आएको हो त? म आफैँलाई प्रश्न गर्छु ।घरबेटीले राति नै त्यो खबर थाहा पाएछन् । त्यो केटोको हरहिसाब सबै चुक्ता गरेर बिहान उज्यालो हुँदा नालाछाप कटाएका थिए भन्ने कुरा मलाई सन्ते काकाले बताएका थिए ।

भोलिपल्ट हवल्दारको कमान्डमा दुईजना पुलिस गाउँमा त्यो विद्रोही मजदुरलाई पक्रिन आएका थिए । म सन्ते काकाको घरमा चिया पिउँदै थिएँ ।ती कमान्डरले सोधे, “सन्त नारायण भनेको को हो?”

“मेरो नाम हो, हजुर ।” काकाले नमस्कार गर्दै भने ।

“दोलखा घर भएको रम्तु थामी कहाँ बस्छ यता?” पुलिसले सोधे ।

“हिजोसम्म त मेरो भाइको गोठ बनाउन ढुङ्गा फुटाउन खोलामा काम गर्थ्यो । राति सुडालतिर गएको यता फर्केको छैन त । केही बदमासी गऱ्यो र त्यसले? हेर्दा त सोझो देखिन्थ्यो ।” काकाले भने ।

“आदेश छ, त्यसलाई गिरफ्तार गर्ने ।”

काकालेबुझेँ भन्ने टाउको हल्लाए ।

थप सवाल­जबाफ भएन । पुसिल फर्केर गए ।

त्यसै साल शाही सेनाले घरघरमा छापा मार्ने काम सुरु गऱ्यो । एक दिन एउटा क्याप्टेनको टोली हाम्रो घरमा आएको थियो । बाको बानी बिहान चारै बजे उठ्ने थियो । उठेर गायत्री मन्त्र जप गर्दैगर्दा सेनाले घर सर्च गऱ्यो । बाले क्याप्टेनलाई सोध्नुभयो, “हामीले बहुदल–निर्दलको चुनावदेखि छयालिस सालसम्म यस्तै गरी बिहानबिहान घर जचाँउन लडेको हो, बाबु?”

“खै, बा हामीलाई त्यस्तो राजनीतिको कुरा धेरै थाहा हुन्न ।आदेश यस्तै छ, त्यहीअनुसार काम गर्ने हो ।” क्याप्टेन बाठो रहेछ । बासँग धेरैबेर कुरा गर्न उसलाई मन लागेन । तुरुन्तै विषयवस्तु नै बन्द गराएर आफ्नो काममा मात्र पो लाग्यो । बालाई अझै एक, दुई कुरा बहस नै गर्न मन लागेको थियो ।”अब भयो, हुन दिनुस्,”मैले बालाईआँखालेइसारा गरे ।

एउटा पूरा युग प्रजातन्त्र र नागरिक अधिकारका लागि सङ्गठित भएर क्रान्तिमा खटेको मानिस हो, बा । उहाँले देशका कति प्रधानमन्त्रीसँग उठबस गर्नुभएको थियो । रेडियो र टिभीबाट आउने सबै छलफल, बहस, अन्तर्वार्ता र समाचारले आफूलाई राजनीतिक रूपमा चुस्त राख्ने बाको बानी नै थियो । त्यतिले नपुगेर अलइन्डिया रेडियो र बि.बि.सि.बाट पनि समाचार सुन्ने बानी बाको थियो । उहाँका लागि रेडियोको ब्यान्ड मिलाउँदामिलाउँदै म हुर्केको थिएँ । राजनीतिक भेटघाट र गोप्य सूचनाको प्रवाहले बालाई अझै धारिलो बनाएर राख्थ्यो ।

तर समय राजनीतिक बहसमा उत्रिने किसिमको थिएन । बिहान बिहानै एफएमबाट एउटा समाचार आयो––”दोलागिरी पर्वतको चाँगुनारायणमा शाही नेपाली सेना र माओवादी छापामारको मुठभेडमा दश जना माओवादीको हताहती भएको खबर छ ।” यस्तो खबर सुनेपछि गाउँमा सबै अचम्मित भएका थिए । हिजोसम्म कतै केही सुनिएको थिएन । कुनै सङ्केतसम्म थिएन । कुनै राजनीतिक चहलपहल पनि थिएन ।

साँझसम्म चाँगुको घटना सेनाले बनाएको एउटा मनगढन्ते समाचार हो भनेर जिल्लामा थाहा नपाउने कमैमात्र भइसकेका थिए । सबैले आआफ्नो राजनीतिक संयन्त्र प्रयोग गरेर खबरको सत्यतथ्य जाँच गरेका थिए । राजनीतिमा चाखहुने प्रायः सबैलाई त्यो घटनाको वास्तविकता थाहा थियो । “हो, दाइ । घटना घटेको होतर सेनाले फायरिङ्ग गरेको थिएन । लास बसपार्कमा सुताएर राखेको थियो । बिहानै सबैलाई धम्कायो । सर्जमिन मुचुल्कामा सहिछाप गरायो । भएको यत्ति हो ।” बालाई कसैले खबर गरेको थियो ।

सत्य र असत्यको पत्ता साटफेर हुने समय थियो । यस्ता अस्थायी सत्यहरूसँग हामीले आफूले बुझेको सत्यको परिभाषालाई साटेका थियौँ । हामी बिस्तारै सत्यको क्षणिक स्वभावलाई आत्मसात् गर्न थालेका थियौँ । यो हाम्रो समयको जटिलता थियो । एउटा समाचार केहीबेरका लागि सत्य हुन्थ्यो; अनि केही समयपछि असत्य साबित हुन्थ्यो । राष्ट्रिय स्रोतबाट प्रवाह हुने विवरणलाई सबैले निजी स्रोतमार्फत पनि बुझ्दथे । राज्यले प्रायोजन गरेका खबरमा मानिसको त्यति धेरै न त रुचि थियो, न त विश्वास ।

यो युग नै त्यसको थियो जसले पहिला समाचारको सत्यतामाथि शङ्का गर्दथ्यो उही व्यक्ति बौद्धिक हुन्थ्यो । जसले धेरै घटनाहरू मनमा राख्न सक्थ्यो उही ज्ञानी हुन्थ्यो ।आफ्नो स्थानीय सञ्जालमार्फत सूचनालाई फेरि जाँच गराउन सक्ने मानिसले समाजमा इज्जत र प्रतिष्ठा पाएको मानिन्थ्योतरत्यस्तो मानिसचाहिँ पुलिस­प्रशासनको आँखामा सधैँ बिझिरहेको हुन्थ्यो । यस्तो लाग्थ्यो, समय बिग्रेका बेला मानिसहरूले आफूमाथि पनि विश्वास गुमाएका हुन्छन् । हो, हाम्रो समय आत्मा यसरी नै उल्टो तावामा तयार हुँदै थियो ।

हिउँदको बिहान काठमाडौँलाई चिसाले बाक्लो हुस्सुको कम्बल ओढाएरै राख्ता पनि कुशग्राममा घाम अलि चाँडै लागिसकेको थियो । छुनुमुनु मेरो काखमा बसेकी थिई । बिहानको चिया पिउँदै थिएँ कलिलो घाममा बसेर । छुनुमुनु बाटुला अक्षर कोर्दै थिई । उसका साना औँलाले सिसाकलमको टुप्पो कागजमा बिस्तारै दलेर गोलोगोलो अक्षर लेखेको दङ्ग परेर हेरिरहेको थिएँ ।

बिहानै तेजेआँगनमा झुल्कियो ।

“कता पुगेर हो बिहान, बिहानै?” मैले सोधेँ ।

“दाजु, म त आज घर जान लागेको ।” उसले छोरीको झोलाको पछाडिको फास्टनर खोल्यो र त्यसभित्र बीसरुपैयाँको रातो नोट राखिदियो । छोरी पोहोर सालजस्तो रोइन । खुसीले उसका आँखा धपक्क बलेका थिए ।

“अनि किन यसलाई पैसा दिनुपऱ्यो नि?” मलाईकेटाकेटीलाई धेरै पैसा दिएको निको लाग्दैन । स्कुलबाहिरका पसलेहरूले गतिलो खानेकुरा बेच्तैनन् । अलि धेरै पैसा दिएको साँझ दशथरिका पेटको समस्या देखिन्छ । केटाकेटी जिब्राको स्वाद नियन्त्रणमा राख्न सक्तैनन् ।

“होइन दाइ,छोरीलाई पैसा दिनु परिहाल्छ नि ।”उसका आँखा टिल्पिल भरिए ।

“अब कुशग्रामलाई सधैँलाई छोड्ने हो र?” मैले थपेँ ।

“ल चिया लिनुस् । जाडो छ ।” सम्झनाले तेजेलाई चिया दिई ।“कति वर्षपछि जान लागेको हो नि घर?” उसैले सोधी ।

“डेढ वर्ष भयो नि, भाउजू । घर छोडेर हिँड्दा त छोरी भर्खर सोह्र दिनकी थिई । अब त हिँड्ने भइहोली, है?” छुनुमुनुको हात समात्तै उसले भन्यो ।

“हुन्छ, दाजु राम्ररी जानू । बाले हिसाब गर्दिनुभयो?” मैले सोधेँ ।

“लामो समयपछि जान लागेको । गाउँमा सबैले हिसाब गर्दिनुभयो । कसैसँग पनि बाँकी छैन पैसा लिनु ।”

यो गाउँमा असारमा कामदारहरू आकलझुकलमात्र आउने गर्थे । त्यसमा पनि तेजे यत्तिका लामो समय गाउँमा टिकेर बस्नुलाई सबैले निको मानेका थिए ।ऊ चुरोट तान्थ्योतर दिउँसो सूर्यको उच्च तापमा लागेको बादलजस्तो मात्र । अलिकति धुवाँ नाकबाट फाल्थ्यो, एकछिन सुस्ताउँथ्यो, अनि फेरि खन्न लागिहाल्थ्यो ।

पँधेरामा पानी भर्दै गरेका कोही बुढी आमाहरू छन् भने बाटो पर्दा पानी बोकेर घरसम्म लगिदिन्थ्यो । रुखबाट घाँस झारिदिन माहिर थियो । दिनभरि खटेरै काम गरेको छ भने अलग कुरा हो तर एकदुईघण्टा काम गरेको ज्याला लिँदैनथ्यो । गाउँका ससाना काममा तेजे वास्तवमै तुरुन्त उपलब्ध हुने सहयोगी हात सिद्ध भएको थियो । गाईले किलो भाँच्ता होस् वा नत्थी चुँडाल्दा–– मानिसहरूले सम्झने पहिलो नाम नै उसैको थियो । एउटा सानो पाटामा आलुमा उकेरा लगाउन होस् वा जेठमा बाता काट्न होस्, उसैलाई बोलाउँथे । कुनै पनि काम जान्दिनँ भन्दैन्थ्यो ।नजानेको सिक्थ्यो ।कुनै काम पनि सक्तिनँ भन्दैनथ्यो ।बाँकी रहे भोलिपल्ट गर्थ्यो ।

काजी काकाको कुकुरले खान छोडेछ ।“तेजे गएपछि त कुकुरले पनि भात खान मानेको छैन ।” उत्तरीय कुवाको नजिकै काकाले हिजो साँझ भने ।

“साँच्चै तेजेलाई सम्झेर नै सोकाएको होला त, काका?” मैले आफ्नो उत्सुकतालाई प्रश्न बनाएँ ।

हुनत पूरा गाउँको जेसुकै पनि ससाना काममा पहिला सम्झिने नाम थियो, तेजेतर काम लगाएर पैसा दिने, खान दिन र बस्न दिने सर्त पनि त हुन्थ्यो । उसको अनुपस्थितिमा अरू कसैले त्यो काम गरिहाल्थ्यो नि । पूरै गाउँ केही समयका लागि आश्रित भएता पनि ऊ नै त्यो गाउँको सम्पूर्ण मियो त होइन होला नि!

हिउँदको घाम सुस्तरी लेकबाट कतै हुस्सु वा कुहिरोले रोक्ने त होइन भनेर संशय गर्दै काठमाडौँतिर चिप्लिँदै थियो । फुल्चोकीको काखमा झलमल्ल घाम दक्षिणी झ्यालबाट देखेँ । शनिवारको दिन न हो, अलि अबेर गरे पनि भइहाल्योतर सम्झनालाई सुत्न र उठ्न अबेर गरेको पटक्कै मन पर्दैन । भनिहाल्छे, “समय नचिन्नेले लाटोकोसेरो बन्नुपर्छ अर्को जुनीमा ।” खै के भनेकी हो? मैले आफैँले त्यसको अर्थ के हो भनेर सोधेको पनि छैन र उसले अहिलेसम्म त्यो के भनेको भनेर बताएकी पनि छैन ।

उसले त्यो वाक्य दोहोऱ्याउँदा रमाइलो भने औधी लाग्छ । त्यही कुराले त घडीको सुईअनुसार नचले पनि ढिलो भयो है भनेर घच्घचाउँछ । अल्छी हुनबाट पनि जोगाउँछ ।

अब त घरअगाडि नै घाम आइसक्यो । हतारहतार गर्दै उठेँ ।हातमुख धोएर चिया पिउँदै छुनुमुनुसँग खेल्न थालेको थिएँ । घामले आङ तताउँदै थियो;आफ्नो शरीर रिचार्ज भएको अनुभूति गरिरहेको थिएँ ।

घरमुनिबाट तेजे माथितिर उक्लिरहेको देखेँ ।आफैँलाई पत्यार लागेन । अनुहार पनि मलिनो छ । डेढ वर्षपछि घर गएको मान्छे दुई दिनमै फर्किन्छ भनेर कसरी पत्याउनु? के भएर फर्केको होला? घरमा केही बित्यास त परेन? त्यस्तो केही भएको भए पनि यही गाउँमा नै किन फर्कनुपर्थ्यो र? उसका दाजुभाइ चारजना भनेको थिए । उतै सल्टाउन बस्नुपर्ने हो ।

“ए दाइ, कहिले आएको?”एकै सासमा प्रश्न हुत्याएँ ।

“हिजोराति ।”ऊ त्यति खुसी थिएन ।

मैले प्रश्नसूचक चिन्ह उसको अनुहारतिर सोझ्याएँ ।

ऊ नजिकैको मुढा तानेर बस्यो । भन्यो, “गाउँको यादले सतायो । अनि फर्केर आएँ ।”

“हो नि । काजी काकाको कुकरले तिमी गएदेखि भात खाएन रे । काका त्यस्तै भन्नुहुन्थ्यो । तिमी त तुरुन्तै फर्केर राम्रो गऱ्यौ ।” त्यसको गालामा एक थप्पड हिर्काएर खित्का छोडेर हाँस्न मन लागेको थियो ।

छोरी छ भन्थ्यो । श्रीमती, दाजुभाइ, इष्टमित्र, छरछिमेकी–– सबैलाई छोडेर मजुदरी गर्ने एउटा गुमनाम गाउँको सम्झनामा नियास्रिएर दुई दिन पनि घरमा नबसी फर्केर आएँ भन्दै लाज पनि नमानी आएको छ । बिहानबिहानै कस्तो, कस्तो कुरा पनि सुन्नुपर्ने! लाजको पसारो!

“काकाको कुकुरले भात खायो त हिजो?” अब के सोध्ने त्यसलाई!

“मेरो खुट्टा चाटेर कुइँकुइँ गर्दै रोयो । बिस्कुट ल्याएको थिएँ । त्यो भाँचेर फ्यालिदिएँ, रुँदै खायो । मसँगै आएर बस्यो । अनि साँझ भात पनि राम्ररी खायो । राति पनि मसँगै सुत्यो । अहिले बिहान आफैँले आधा घण्टा त्यसलाई घुमाएर घरमा बाँधेर आएको म ।” तेजेले उसको कुकुरसँगको सम्बन्धका बारेमा सुनाइरहँदा मेरो जोर्नीमा अप्ठ्यारो गरी मांसपेशी बाउँडिएजस्तो अनुभूति भइरहेको थियो । घुँडाबाट नै उल्टी होला जस्तो गरी घुँडाको पाङ्ग्रा बाउडिएको पहिलोपल्ट महसुस भइरहेको थियो । उसको थप स्पष्टीकरण सुन्न सक्ने शक्ति ममा थिएन ।

आफ्नो सुविधाअनुसार तर्क गर्न, आफ्नो धारणा, दृष्टिकोणलाई प्रमाणित गर्न मानिस स्वतन्त्र छ । यस्तो शक्तिको अवैध प्रयोग गरेर मानिसले आफूलाई बराल्न पनि त भएन नि । हो, निश्चित समय एकसाथ रहँदाबस्दा आत्मीयता बढ्छ । त्यही सामीप्यताले नै मानिसलाईआफ्नो मूल कर्तव्यबाट कसरी टाढा लैजान सक्छ? आफ्नो घर परिवारप्रतिको जिम्मेवारीलाई थाती राखेर कोही कसरी पटकपटक भाग्न सक्तछ? यो हिउँदको चिसोसँग तर्क गरेर त्यसलाई कम गर्न सकिएला तर तेजेको दृष्टिकोणमा झुटको अंश नभए ऊ बौलाहा हो भन्ने आशङ्का हुन थालेको थियो मेरो मनमा ।

शुक्रबार साँझ घर अलिक छिट्टै आइपुगेको थिएँ ।बा फलैँचामा बसेर ट्वार्र–ट्वार्र तमाखुको धुवाँ उडाउँदै हुनुहुँदो रहेछ । पुसको दिन घाम त नालागढीमा उदाएर वज्रवाराहीपछाडिको पहाडभित्र लुकिहाल्छ । साँझ चिसो छिट्टै बढ्छ । बालाई चिसो बढे पनि, गर्मी बढे पनि तमाखु चाहिन्छ । ढोकाबाट छिर्ने बाटैमा पिँढीको थाममा अडेस लागेर एउटा चालिसको हाराहरीको घरानियाँजस्तो लाग्ने मानिस राजनीतिको कुरा गर्दै थियो ।

म भित्र पसेँ । सम्झना कोठामा आई ।

“को रहेछ बाहिर बासँग गफिने?” मैले सोधेँ ।

“तेजेको जेठो दाजु रे ।” छोरीलाई एउटा टेड्डी बियरसँगै राख्तै उसले भनी ।“पानी पिउने हो?”

हो भन्ने इसारा गरेँ । मलाई अस्ति तेजेले कताकता झुटो बोलेको हुनुपर्छ भन्ने शङ्कालागेको थियो । हत्तपत्त बाहिर निस्केँ । एउटा मुढा तानेर पिँढीमा बसेँ­ कुरा सुन्न ।

“चाँगुमा दोहोरो भिडन्त भएपछि गाउँमा खबर पुगिहाल्यो । हामीलाई यो भक्तपुरमै लुकेर बसेको छ भन्नेसम्म त थाहा थियो तर कुन गाउँमा हो भेउसम्म पनि थिएन ।” उसले बाको कुनै प्रश्नको जवाफ पूरा गऱ्यो ।

“अनि कसले भेटेछ त उसलाई चौतारामा?” बा नलीमा मुख लगाएर हुक्का तान्न थाल्नुभयो । हुक्काको धुवाँ पानीमा घुलेर बाको मुख हुँदैबिस्तारै छातीभित्र पुग्दा उनी शालीन, ध्यानमग्न सन्तजस्ता देखिन्थे । उनको दुईआँखीभौँको बिचमा एउटा अलग किसिमको आभा प्रकट हुन्थ्यो । मलाई केटाकेटी हुँदादेखि नै बाको यो हुक्का पिउँदाको अवस्था हेर्दा मज्जा लाग्छ ।

“बुहारी त तेजे मऱ्यो भनेर क्रिया बसेकी थिई । कान्छा काकालाई ढिकुराको पूजा गर्न राखेका थियौँ । त्यो दिन एघारौँको सामान किन्न आउनेले देखेछन्­ तेजे त हरियो झोला भिरेर गाउँ जाने बस पार्कमा गाडी कुरेर बसेको छ ।” मतिर फर्केर वीरबहादुरले सविस्तार लगाए ।

उनले थपे, “के गर्नु? पार्टीका मान्छे आएर उसको नामको सदस्यता काटिदिएछन् । हामीलाई थाहा थिएन । त्यो लिस्ट सेनाले भेट्याएछ । त्यसपछि त बिहान सेनाका मान्छे गिरफ्तार गर्न आउने अनि साँझ पार्टीका मान्छे जनसेनाको चिठी लिएर लिन आउने । बिचरा बस्न सकेन, गाउँमा । छोरी नजन्मेसम्म बस्यो गोठगोठ लुकेर । त्यसपछि भागेर यहाँ आएर लुकेर बसेछ ।”

“अब के गर्नुहुन्छ, तेजेलाई?” मैले बिचमै रोक्तैआफ्नो प्रश्न राखेँ ।

“घर लैजान आएको हुँ । घर लैजान्छु ।” वीरबहादुरका आँखा भरिएका थिए ।

आफ्नो बनिबुतो गरेर खाने मानिस कसरी राजनीतिक उल्टो चक्रवातको भूमरीमा पर्छ? तेजेले त आफ्नो जीवनका रङ्गहरू समयानुसार फेर्दै गयो । मिलनसार थियो, मिलेर बस्यो । सबैको काम गऱ्यो, प्यारो बन्यो ।आफ्नाको यादले सताउँदा रक्सी पियो । धेरै भाषा जान्दथ्यो ––जस्तो मानिस भेट्यो त्यस्तै भाषा बोल्थ्यो । कसलाई दाइ, कसलाई काका, कसलाई भाउजू, कसलाई काकी भन्ने स्वतः ऊ जानिहाल्थ्यो । सबैभन्दा कठिन समयमा पनि हाँसेर बाँच्न उसले सिकेको थियो । नरुचाएको समयलाई पनि उसले रुचाएको थियो, नचाहेको थियो हत्केलामा––एउटा रुमानी सङ्गीतको तालजस्तै ।

भोलिपल्ट बिहान सबेरै तेजे हाम्रो घरमा आयो । वीरबहादुर पछिपछि थियो ।दुवै दाजुभाइ खुसी थिए ।

वीरबहादुरले सोध्यो, “भिडन्त भएको ठाउँ चाँगुनारायण यहाँबाट कता पर्छ?”

मैले केही नबोली उत्तरतिर इसारा गरेँ । उसले बुझेको सहमतिको टाउको हल्लायो ।

“साँच्चै, तेह्र दिनको क्रियाक्रम गरिसकेपछि अब तेजेलाई कसरी घर भित्र्याउनुहुन्छ?” मैले जिस्किँदै जिज्ञासा राखेँ ।

“त्यसको एउटा विधि छ । अब घर लगेर यसलाई एउटा घ्याम्पोमा राख्ने । त्यो घ्याम्पो फुटाएर यसलाई फेरि जन्माउने । अनि यसको नयाँ जीवन सुरु हुन्छ । बरु, नाम चाहिँ फेर्नुपर्ला ।” वीरबहादुरले तयारी गरेर आएका रहेछन् । सहज र सरल जवाफ दिए ।

“छुनुमुनु उठेकी छैन, भाउजू?” सम्झनातिर हेरेर तेजेले सोध्यो ।

सम्झना छोरीलाई लिन घरभित्र छिरिन् । उनले छुनुमुनुलाई बाहिर ल्याउँदा आँखा मिच्तै थिइन् । तेजेले एउटा पचास रुपैयाँको निलो नोट निकालेर छोरीलाई दियो । छोरीले पनि त्यो नोटलाईदुवै हातले समाई । तेजेका आँखामा विशिष्ट किसिमको सन्तुष्टि छायो । उसले छुनुमुनुको गाला मुसाऱ्यो । टाउकोमा हात राख्यो र केही मनमनै जपेजस्तो गऱ्यो ।

मलाई उसलाई अँगालो हाल्न मन लाग्यो । भनेँ, “तेजु, नयाँ जीवनका लागि शुभकामना । घ्याम्पोबाट राम्ररी जन्मिनू । राम्ररी बढ्नू । नयाँ मान्छे बन्नू ।”

हामीसँगै बिदा भएर दुई दाजुभाइले खावाको भञ्ज्याङ्ग काट्दा बिहानको घाम बिस्तारै फुल्चोकीबाट खाल्चोकतिर सर्दै थियो । मचाहिँ चिया कुरेर बारीको डिलमा छुनुमुनुको हातको त्यही निलो नोट हेरिरहेको थिएँ ।

***