रातदिन खेतबारीमा मेहनत गर्ने साइँलाभित्र बैँसको उन्माद ह्वात्तै चढेको कसैलाई थाहा भएन । राँगा नारेर खेत जोत्ने, फरुवा चलाउने, गाडा जोतेर गाउँलेकासमेत मालसामान ढुवानी गर्ने र पाएको दुईचार पैसा फुर्मास नगरी बाबुका हातमा थमाउने साइँलाको समय तिनै राँगा र खेतीको सुसारोले सर्लक्कै निलिदिन्थ्यो ।

उमेरसँगै साइँलाको व्यवहारमा पनि केही परिवर्तनहरू देखिन थाले । नजानिँदो पारामा बरालाइ थपिँदै गयो । दिनभरि गाउँ चहार्ने, गाउँका छोरी बुहारीहरूसँग अलमलिने र समयमा काम नसिध्याउने हुनथालेपछि बाबु सहरमानले छोराको विवाह गर्न ढिला भैसकेको कुरा श्रीमती केतुकीसँग गरे ।

छिमेकको अक्कडो माइँलाले राम्री केटी ल्याएको देखेपछि साइँलो नमज्जाले बिच्किएको थियो । अझ सुतिरहेको अक्कडोलाई बोलाएर हातको तास जिम्मा लगाउँदै उसैकै टाँडमा लुसुक्क चढेको छोरोलाई छिँडीबाट नियालेपछि त सहरमानले आफ्नो नाकैभरि कालो पोतिएको देखे ।  रातभरि पीडाले छटपटी गरायो । केतुकीसँग पनि सल्लाह गरे र उज्यालो नखस्तै साइँलाको चिना बोकेर दुवैजना बुढाबुढी ज्योतिषीको घरमा पुगे । दाम चढाए र ज्योतिष हेराए ।

श्रीमतीसहित गाउँका प्रधानपञ्च सखारै आएर दाम चढाएर चिना हेरिदिन अनुरोध गरेपछि  ज्योतिषीले पनि निकै मेहनत गरेर निष्कर्ष सुनाए । ज्योतिष दृष्टिअनुसार घरदेखि निकै पश्चिमदक्षिण जानुपर्ने, निकैवटी दिदीबहिनीका बिचबाट बुहारी छान्नुपर्ने तर सारै ढिलो गरेमा धेरै बाधाअड्चनसमेत आउनसक्नेकुरा खुटैखुट सुनाए ।  सहरमानमा झिनो खुसीभित्र लामो उच्छवास पैदा भयो ।

“लगन पनि आएको छ । ढिला नगर्नू पनि भनिसके । पश्चिम दक्षिणको दिशा पनि पत्ता लाग्यो । जात, व

विष्णु न्यौपाने

र्ण, उचाइ, पढाइ, सबै मिल्दोजुल्दो र खाइँलाग्दो मान्छे मिल्नेछ भन्ने पनि भयो तर खोज्ने कसरी ? कसलाई लिएर कहाँ जाऊँ? छोरालाई पछि लगाएर घरघर चहार्दै ए हजुर तपाइँका घरमा छोरी बढेका छन् ? बिहे गर्ने उमेर पुगेका छन् ? मेरा छोरासँग विवाह गराइदिनुहुन्छ ? भन्दै हिँड्न पनि भएन । चुप लागेर बस्ने अवस्था झन् छँदैछैन । हे फसाद ! दुनियाँका सहस्र समस्याहरू छिनभरमा समाधान गरी हिँडियो, आज आफैँलाई समस्या पर्दा किन गाँठो फुक्तैन कतैबाट पनि ? कसैसामु मन खोलौँ भने प्रधानपञ्चको त यस्तो पो अरे भनेर घण्टा नबित्तै जिल्ला हल्लिन्छ, नखोलौँ धुवाँ भरिएको कोठाजस्तै उकुसमुकुस भैसक्यो मन । नसुनाई समाधान निस्कँदैन, सुनाउँदा गोप्य रहँदैन । दुईवटा छोराको विवाह गर्दा एउटा रुद्री लगाएजत्ति पनि सकस भएन तर आज मलाई पहाडले थिचेझैँ भैरहेको छ । कस्तो अचम्म !”

दिनभरि घोत्लिँदा सहरमान र केतुकीले वायव्यकोणतिर ससुराली हुने आफ्ना सबै साथीभाइ, छिमेकी नातागोता, इष्टमित्रहरूको फेहरिस्ता नै तयार गरे । बेलुका सबै छोरा, बुहारी, छोरीहरू भेला भएपछि नजानिँदो तरिकाले बुढाबुढीले साइँलाको विवाहबारे प्रसङ्ग उठाए । साइँलाका कानमा कुरो पर्नेबित्तिकै तातो तेलमा पानीको थोपो खसेजस्तै चरर्र चर्कियो जिउ । झसङ्ग भयो साइँलो । अनायास सबैका नजरमा नजर दौडाएर लाजवन्ती झारजस्तै लथ्रक्क तल निहुरिए आँखा । पाकेको खुर्सानीझैँ रातोपिरो भयो साइँलो लाजले । उसलाई देखेर अरू पनि लजाए र मुस्कुराए । जिस्क्याए थोरै तर केतुकी र सहरमानले भने खुसीसँगै गम्भीरता पनि एकैसाथ प्रकट गरे । साइँलाको अब उमेर पुगेको हुनाले जिम्मेवार बन्दै आफ्नो खुट्टामा आफैँ उभिन एउटा दह्रो जीवनसाथीको जरुरत पर्ने र त्यो चुन्नेबेला आइसकेको कुरा राम्ररी सम्झाए । नैतिकता, सामाजिक उत्तरदायित्व, आफ्नो कुल, परम्परा, धर्म संस्कार तथा पारिवारिक इज्जतको समेत ख्याल राखेर बाबुआमाको निर्णयमा साथ दिनसमेत आग्रह गरे । परिवारका सबै सदस्यहरूले बाबुआमाको विचारको समर्थन गरे र साइँलालाई ढाडस दिए । अन्त्यमा साइँलाले विवाहप्रस्ताव मञ्जुर गऱ्यो ।

भोलिपल्टदेखि साइँलाको व्यवहारमा अप्रत्यासित परिवर्तन आयो । ऊ हमेसा गम्भीर देखिन थाल्यो । काममा पहिलेकै जस्तो लगनशीलता आउन थाल्यो । एउटा इज्जतदार, इमानदार व्यक्तित्व उसमा पस्तै गरेको देखेर सहरमानमा खुसी बढ्दै थियो तर पनि ज्योतिषीको ढिलो नगर्नू भन्ने शब्दले दिनानुदिन पिर्दै गइरहेको थियो । नभन्दै एकजना आफन्त घरदेखि निकै पश्चिम उत्तरको एउटा प्रस्ताव लिएर साँझमा टुप्लुक्क आइपुगे । उनका सबै कुरा सुन्दा र ज्योतिषीको कुरा मिलाउँदा खत्रक्कै सम्धीको घरमा पुगेको आभास भयो सहरमानलाई । उनले भोलिपल्ट बिहानै साइँलालाई तयारहुन लगाए र प्रस्तावकका साथमा छोरो लिएर पुगे । कुरा मिल्यो र विवाह पनि चाँडै नै सम्पन्न भयो ।

छोराबुहारीको साह्रै मिलेको जोडी देखेर सहरमान र केतुकी दुवै दङ्ग थिए भने साइँला साइँली पनि मख्ख थिए । केही वर्ष सगोलमा नै बसेपछि देउरानी जेठानीको खटपट सुरु भयो । साइँला साइँलीको इच्छा बुझेर सहरमानले बेलैमा अंश छुट्याइदिए र उनीहरू एउटा सानो झुप्रो हालेर खेतमा बस्न थाले । सबैसँग राम्रो व्यवहार थियो तर आर्थिक समस्या भने निकै जटिल बन्दै गयो । त्यहीबेला सरकारले वैदेशिक रोजगारीमा जान पाउने व्यवस्था पनि गऱ्यो । यता खेतीमा गरेको मेहनतभन्दा वैदेशिक रोजगारीमा जाँदा आर्थिकस्तर ह्वात्तै माथि उठ्ने सपना देखे साइँला साइँलीले । सल्लाहले साइँलो कतार भासियो र तीनवर्ष मेहनत गरेर केही पैसा लिएर आयो । चारआली चोक नजिकै राजमार्गमै जोडिएको एउटा घडेरी जोडेपछि बाँकी पैसाले पसल गर्ने सोच बनाई दुवैजना सहर पसे । झापाको बिर्तामोडमा उनीहरूको जुत्ताचप्पलको पसल राम्ररी फस्टाउन थाल्यो ।

योबिचको समयमा उनीहरूका दुईवटी छोरी हुर्किसकेका थिए र छोराको आशामा जन्मिएकी कान्छी छोरी पनि वर्षकी भैसकेकी थिई । अब साइँलीलाई एकाएक इजराएलको भूतले गर्लम्म छोप्न थाल्यो । अरूले सुनाएको कमाइले लोभ्याउन थाल्यो । आजै जाने भोलि नै जाने हुन थाल्यो । अन्ततः तीनवटै छोरीको स्याहारसुसार र नौ लाख रुपैयाँ ऋणको गलेपासो साइँलाको घाँटीमा झुन्ड्याइदिएर साइँली इजरायल भासिइन् ।

पैसाको लोभ त साइँलालाई पनि लागेकै हो । महिनाको दुईलाखको लोभले डेराको वासमा १, ४, र ७ वर्षका छोरीहरूको स्याहार सुसार, अध्ययन, दुःखबिमार, त्यति ठुलो पसलको सञ्चालन आदि नियमित गर्दै नानीहरूलाई आमाको प्यार र बाबुको भरोसा एक्लैले दिएर हुर्काउँदै लग्यो । साइँली तीन वर्षमा एक महिने छुट्टीमा आइन् । त्यही मौकामा उनीहरूले बाबु सहरमानले दिएको अंश बेचे र इजराइलको कमाइसमेत थपेर दमकमा एउटा राम्रो घडेरी जोडे । घडेरी साइँलीकै नाममा पास भयो । पसलको कमाइले साइँलो र छोरीहरूको पढाई खर्च चल्दै गयो भने साइँलीले कमाएको सबै रुपैयाँ उनले घर बनाउने मुष्ट रकम भन्दै आफ्नै खातामा जम्मा गर्दै गइन् ।

लामो समय नातिनीहरूलाई डेरामा नै राखेर साइँलाले दुःख गरेको देखेर सहरमान र केतुकीले साइँलालाई घर बनाउने सल्लाह दिए र आफ्नो जिउनी खेत बेचेको रु. दश लाख रुपैयाँ नगद पनि सहयोग गरिदिए । कतारबाट फर्केपछि किनेको धाइजन चोकको घडेरी पनि साइँलाले बेच्यो र इजराइलबाट फर्कनेबित्तिकै सबै ऋण चुक्ता गरिदिन्छु भन्ने साइँलीको आश्वासन र सल्लाहमा सहकारीबाट तीसलाख रुपैयाँ ऋणसमेत लियो साइँलाले । साइँलीका नाममा रहेको घडेरीमा साइँलाले आकर्षक घर बनायो र छोरीहरूसहित आरामले बस्न थाल्यो आफ्नै घरमा ।

घर बनिसक्नेबित्तिकै साइँलीले इजराइलबाट एकजना मान्छे पठाइन् । साइँलीकै भाषामा भन्दा यी मान्छे उनलाई इजराइलमा लामो समयदेखि अभिभावकको रूपमा संरक्षण गर्दै आएका पश्चिम नेपालका एकजना आदरणीय दाजु थिए । साइँलालाई श्रीमतीले आदेशको भाषामा भनिन् ‘दाजुलाई इज्जतका साथ पाथिभरालगायत पूर्वका विभिन्न पर्यटकस्थलहरूको भ्रमण गराएर सम्मानपूर्वक काठमाडौँ पठाउनू त्यसपछि म आउँछु र लागेको ऋण सबै तिरिदिन्छु’ । सोझो साइँलाले सोझै बुझ्यो र निर्देशनबमोजिमको व्यवहार गऱ्यो तर त्यसपछि पनि साइँली आइनन् बरु छोरीहरूलाई इजराइलको भ्रमणका लागि पर्यटन भिषा पठाइन् र क्रमशः पहिले जेठी छोरी त्यसपछि माइली छोरीलाई इजराइल लगिन्, घुमाइन् र पठाइन् । यसले छोरीहरूमा अर्को अनौठो ज्ञान पैदा गरायो । बाबुको लालनपालन, स्याहार सुसार, अध्ययन आदिलाई शून्य अङ्क र आमाको पैसाको सुखमा सयर गर्ने र आमाको मायामा हराउने मौकालाई सय अङ्क दिलायो ।

त्यसपछि जेठी छोरी काठमाडौँ पढ्ने भइन् । उनले माइली बहिनी पनि सँगै लाने भइन् । साइँलाले बाध्यतावश साइँलीकै निर्देशनमा काठमाडौँमा सुविधासम्पन्न फ्ल्याट भाडामा लिइदिनुपऱ्यो । महङ्गो कलेजमा भर्ना गराउनुपऱ्यो । सम्पूर्ण सुविधाहरू उपलब्ध गराउनुपऱ्यो । माइली छोरी धेरै कमजोर थिइन् । पटकपटक बिरामी परिरहन्थिन्, बेहोस् भइरहन्थिन् । पटकपटक काठमाडौँ दौडिइरहनुपर्थ्यो । एकातिर सानी छोरी र पसल अर्कोतिर बिरामी परिरहने छोरी र अत्यधिक खर्च । साइँलालाई धेरै ठुलो तनाव भयो । खर्चले धान्न मुस्किल पऱ्यो । श्रीमतीको सहयोग त के हरेक दिन फोनमा झगडामात्र हुन थाल्यो । फोनमा नै घम्साघम्सी चल्न थाल्यो । ऋण थपिँदै गयो । पसलमा समय दिनै नसक्ने अवस्था आयो । पसलले आम्दानी दिन छोड्यो तर पनि साइँली आइनन् । न पैसा पठाइन् न मिठो भाषा नै बोलिन् ।

१२ वर्षको इजरायल बसाइपछि साइँली नेपाल फर्किइन् । साइँली आउनुभन्दा एक वर्ष अगाडि नै उनका अभिभावक दाजु काठमाडौँ आइसकेका थिए । साइँलाको अनुपस्थितिमा उनका छोरीहरूको हेरचाह गर्ने, खरखाँचो टारिदिने आदि कार्य गरिदिँदै आएका थिए । साइँलाले थाहा नै नपाई साइँलीको कमाइबाट उनै दाजुले साइँलीका लागि एउटा राम्रो घडेरी पनि काठमाडौँमा नै जोडिदिइराखेका रहेछन् । साइँलीलाई विमानस्थलमा लिन साइँलो पुग्दा नशाको विरामले च्यापेर उठबस गर्न नै नसक्ने अवस्थामा आफू रहेको अभिनय गरिन् साइँलीले । काठमाडौँमा छोरीहरूसँगै निकै दिन बस्यो साइँलो तर एकै क्षण पनि उसको नजिक परिनन् साइँली न त सँगै घर आउन नै मानिन् । अँध्यारो मुख लगाएर साइँलो एक्लै फर्कियो घर ।

साइँलीले छोरीहरू पढाउन आफू काठमाडौँ बस्नै पर्ने भएकोले छोरीहरूसहित आफ्नालागि हुने खर्च समेत मासिक रूपमा पठाइदिन साइँलालाई ताकेता गरिन् । हुँदाहुँदा साइँलीले उनै अभिभावक दाजुसँग मिलेर पार्टनरसिपमा काठमाडौँमा पसल खोल्ने निधो गरिन् र दमकको पसल बेचेर चाँडै पैसा पठाऊ भनिन् । साइँलाले पसल बेचेर पैसा पठाउन मानेन तर साइँलीले खोलिन् पार्टनरसिपको पसल र अभिभावक दाजुकी आमासमेत तिनवटै छोरी लिएर आइन् अटेरी साइँलालाई ठिँगुरा ठोक्न । आमाछोरीहरू एक मुख भएर साइँलालाई तथानाम गरे । साइँलालाई आफ्नै घरमा बसिनसक्नु भयो । महिनावारी हुँदाका भित्री कपडासमेत दैनिक धोइदिने बाबुलाई मनपरी गाली बेइज्जती गरे छोरीहरूले । बाबुलाई थुके र ‘तँ हाम्रो बाबु नै होइनस्’ सम्म भन्न भ्याए । साइँलो धर्धरी रोएर घरबाट बाहिरियो । घरमा जान सकेन । पसल खोल्न त परको कुरा रुन बाहेक कसैसँग बोल्न सकेन । बोलौँ आफैँ गह्नाइने, नबोलौँ सडकको वास भएको धेरै दिन भैसक्यो । अब के गर्ने ?

अन्ततः मुक्तिको बाटो खोज्दै साइँलो झापा जिल्ला अदालतको ढोकामा उभियो । ‘मेरो आङको लुगाबाहेक मलाई केही चाहिन्न तर परिवारबाट अलग भएर शान्तिको श्वास फेर्न पाऊँ श्रीमान्’ भन्ने निवेदन लेख्यो । साइँलाको निवेदन साइँलीका कानमा पुऱ्यायो अदालतले । साइँलीले गद्गद भएर सहीछाप गरिदिइन् ।

आज साइँलो सडकमा शान्तिको निद्रा निदाइरहेको छ । साइँली र छोरीहरू अभिभावक दाजुसँगै काठमाडौँको महलमा खुसी मनाइरहेका छन् ।