बास्कोटा धनञ्जय

 

“बिचरा यी कल्पना भाउजू, नि काकी ?”

“किन ?”

“महेशजस्तो लोग्ने भयो भने ?त्यस्तै हुन्छ । त्यही भएर म त लपसप गर्न पनि डर लाग्छ, काकी ।”

“मेरो भदाहाले त्यस्तो गर्दैन, जुङ्खुरी ।”

“काकी पनि जहिल्यै कुरा गऱ्यो भदाहा ल्याएर मेरा अगाडि तेर्स्याइदिनुहुन्छ । गर्दिन म बिहेसिहे ।”

“त्यसो भन्नेले चाहिँ आफैँ छिटोछिटो बिहे गरेर भाग्छन् ।”

“कसम, मलाई कल्पना भाउजू हुनु छैन, काकी । हर महिलाको जिन्दगी यस्तै तरबारको धारमाथि हिँडेको हुन्छ ।”

“एउटा उदाहरण दिएर सबैको मूल्याङ्कन गर्नु बेठिक हो, रूपा ।”

आज बिहानै रूपा गम्भीर देखिई । कल्पना र महेशको बिहे भएको यत्तिका दिन बितेका थिएतर तिनीहरूको आजसम्म भेटघाट भएको थिएन । देखादेख भएको थिएन उनीहरूको । सँगै उभिएका थिएनन् । स्पर्श गरेका थिएनन् एकले अर्कालाई । म्वाइँ खाने कुरा, हनिमुन मनाउने कुरा डाँडापारिको भयो तर उनीहरू लेग्नेस्वास्नी थिए । लोग्नेस्वास्नी भएर बाँचिरहेका थिए ।

निराकार सम्बन्ध पनि कति बलियो हुँदो रहेछ !

रूपालाई सान्त्वना दिने प्रयास गरेँ मैले-

“चौबिसै घण्टा लोग्नेले झिँगा धपाएर बस्दा पनि असन्तुष्टि देखाउन पछि नपर्नेहरूको यो भिडमा कल्पना यसरी पनि बाँचिरहेकी छिन् यी, नानी ।”

०००

महेश दुबईमा काम गर्न गएको सात वर्ष भयो तर आजसम्म ऊ घरमा आएको छैन । आउने भन्दै थियो “कोभिड — १९” को विश्वव्यापी माहामारीले गर्दा संसारभर “लकडाउन” भयो । ऊ उतै थुनियो । थुनियो त के, विश्वास थियो थुनिएको ।

उसको  घरमा सानी बहिनी र बुबा आमासहित तीन जनाको परिवार थियो ।

सुरु सुरुमा उसको केही पैसा आयो । फोन आयो । बहिनीलाई एन्ड्रोइड मोबाइल आयो । बालाई घडी आयो । आमालाई  कपडा पनि आयो । गतसाल पठाइदिएको त्यो मोबाइलमा अहिले उसको अनुहार पनि आयो । उसको भिडियो पनि आयो । अनेकौँ पोजका फोटा पनि आए । उसको मुस्कान पनि आयो । उसको सबै थोक आयो तर उसको शरीर कहिल्यै आएन । उसको सास कहिल्यै आएन ।

आमाबाले अखण्ड हत्ते गर्दा पनि ऊ घरमा आएन । झापा धरमपुरस्थित महेशको घरमा सान्नाटा छाएको थुप्रै भयो । तीनजना साँझ पर्न थालेपछि अवाक् देखिन्थे । ती एकअर्काको अनुहारमा हेर्थे । केही बोल्न सक्तैन थिए । छोरी सृष्टि अर्को कोठामा पढ्न पसेपछि महेशका बाआमा त्यही चिन्ता प्रकट गरिरहन्थे ।

“महेशले आमा भन्दै आएको दिन कस्तो हुन्छ जस्तै भएको छ । आमाको मन हो ।”महेशकी आमाले लामो सुस्केरा हालिन् ।

“आँटिलै हो, केही गर्नु छ भन्थ्यो, गर्दैहोला ।” बा बोले ।

सृष्टिभित्र मोबाइलमा म्यासेन्जरमार्फत दाजुसँग बोल्ने तारतम्य मिलाउँदै थिई । उसले यसरी नै पटकपटक म्यासेन्जरमा महेशसँग गफगाफ गरेकी थिई र बुबा आमालाई पनि गफ गराएकी थिई । धेरै दिनसम्म त्यही बोलेका विषय तिनको गफ गर्ने मसला हुन्थ्यो । अमाले आफन्त र छरछिमेकीहरूलाई महेशसँग के के कुरा भयो सबै सुनाउँथिन् ।

त्यो बाटो तिनको पारिवारिक मिलनको सूत्र थियो । “यो प्रविधि नहुँदा मान्छे कसरी बाँच्थे होलान्”,भनेर महेशका बा गफ लगाउँथे गाउँमा ।

“घरमा ठूलो मोबाइल भएपछि अरू फोनको कामै रहेनछ ।…. “महेशका बाले फलैँचामा बसेर प्याच्च बोल्थे ।

“गफ नलगाऊ है मातृका दाइ । मोबाइलमा लिप्त भएपछि छोराछोरी पढ्नमा ध्यान दिँदैनन् । फेसबुकमा लभ गरेर हिँड्ली नि छोरी ।  फुइँ नलगाऊ । कति देखिएको छ कति !”

“तेरी छोरी पोइल गई भन्दैमा सबैका छोरीलाई उस्तै देख्ने तेरा भदौमा फुटेका आँखा हुन् र ?”मातृका छिमेकी सुवाससँग प्रतिवाद गर्थे ।

०००

त्यस दिन बेलुका खानपिन भएपछि सृष्टिले फेसबुक खोली । बा आमालाई पनि छेउमा राखी । महेशको प्रोफाइलमा रहेको एउटी केटीको फोटोले सृष्टिको ध्यान खिच्यो ।

त्यो कल्पना नाम गरेकी केटी थिई । इलाम मङ्गलबारेकी कल्पना । सृष्टिले फोटो देखाउँदै भनी —

“ड्याडी, हेर्नू त, यो केटीको नाम कल्पना हो । इलाम मङ्गलबारे घर । गाउँमै प्लस टु पास गर्न नसकेर अम्लिसोको घाँस काट्तै बसेकी केटी । दाइले उसलाई आज के के गऱ्यौ भनेर प्रश्न गर्दा “अम्लिसोको घाँस काटनु त छ नि काम” भनेर लेखेकी रहिछे ।” सृष्टिले कल्पना र उसको दाजुको फ्रेन्डसिप भएदेखि नै ध्यान दिएर पिछा गरिरहेकी थिई । एउटा दाजु, एउटी बहिनी मात्रै भएकाले गर्दा सृष्टिले आफ्नी भाउजू “मेरो पनि च्वाइस्कोहोस्” भन्ठानेकी थिई । त्यसैले उसले अनावश्यक चासो दिएकी थिई कल्पनाको फेसबुक गतिविधिलाई । कल्पना व्याख्या गर्दै गई, “दाइले यो केटीसँग साथी बनाएको दुई वर्ष भयो । दाइ उसलाई बिहे गर्न चाहन्छन् । ऊ पनि दाइसँग बिहे गर्न मरिहत्ते गरेकी बुझिन्छ ।”

त्यो केटीको पनि प्रोफाइल हेर्दा थाहा भयो, उसको र महेशको धेरै भावना साटासाट भइसकेको रहेछ । फोटा जोडेर एउटै बनाएर अपलोड गरिएको पनि पाइयो ।

“ड्याडी हेर्नू त, के लेखेकी छे स्ट्याटसमा ।”

“के लेखिछ, पढ् त नानी ।”

“मनको चरी उड् भन्छ धरमपुर ।”

“वेश्या रछे ।” आमा रिसाइन् ।

“महेशलाई धेरै माया गरी भने भयो त । हामीलाई त छोरालाई माया गर्ने मान्छे चाहिएको हो ।” मातृकाले त्यो केटीको पक्षमा बोले ।

माघे सङ्क्रान्तिको माई मेला गएर आएपछि बेलुका सृष्टि थकित थिई ।

“हामीले त घरतरुल खायौँ । महेशले …..” बेलुका मातृकाले अड्किएर

बोले ।

“ल हेर्नू, महेशले के खाँदैछ ?”सृष्टिले म्यासेन्जर खोल्दै बाआमालाई महेशको फोटो देखाई ।

“ई, दाइले त्यो केटीको फोटो हालेर ह्याप्पी बर्थ डे टु यु भनेर

लेखेछन् । उसले पनि कमेन्ट गरिछ —अर्को बर्थ डेको केकचाहिँ हजुरको हातबाट काट्ने नि ।” देख्नुभयो यिनको पिरेम ?”

ती पोस्टहरू पढिरहँदा उनीहरूमा मुस्कान थियो । उत्तेजना थियो ।

नभन्दै महेश मुस्कुराउँदै मोबाइलको स्क्रिनमा देखा पऱ्यो । ऊ शारीरिक रूपले स्वस्थ्य थियो । मोटाएको थियो । राम्रा लुगामा सजिएको देखिन्थ्यो । बा, आमा र बहिनी खुसी भएको देखेर ऊ पनि खुसी भयो ।

“सृष्टि, तँ राम्ररी पढ्नू । कलेज नछुटाउनू । दमक बहुमुखी क्याम्पसका सरहरूले मलाई पनि पढाउनुभएको हो । केहीसँग त राम्रो चिनजान छ । म म्यासेन्जरमा कहिलेकाहीँ बोल्छु । सोध्छु नि, म । तँलाई म जति पढ्छेस्, जुन विषय पढ्छेस्, म पढने व्यवस्था मिलाउँछु । तेरो दाजु हुन्जेलसम्म तँलाई केही हुने छैन । तँलाई बि.बि.ए पढाउने मेरो लक्ष्य छ, प्लस टु राम्रो गर्नू ।” ऊ बोल्दै गयो ।

“आमा, तपाईं साह्रो काम नगर्नू । म आएपछि चितवन गएर उपचार गर्नुपर्छ । बुबा, आमालाई बलको काम नलगाउनू । मान्छे लगाउनू । म खर्च सबै पठाइदिन्छु है कान्छी ।”

त्यसपछि आमा रुन थालिन्, बुबा शान्त भएर आए । त्यसदिन सबै कुरा अवरुद्ध भयो ।

“सृष्टि एउटा महत्त्वपूर्ण कुरा भन्नु थियो आज पाइनँ । भोलि बेलुका बुबा र आमालाई राखेर म्यासेन्जर खोल्नू है । कान्छी, बाई ।” म्यासेन्जरबाट महेशविच्छेद भयो ।

०००

शनिवार बेलुका महेशका मामा पनि आएका थिए विराट्नगरबाट । खानपिनपछि म्यासेन्जरमा सृष्टिले महेशलाई ल्याई । महेशले मामालाई पनि प्रणाम भन्यो । अनि आफ्नो कुरा पनि बताउन थाल्यो ।

“बुबा —आमा म आज एउटा कठिन निर्णय गर्न बाध्य छु र हजुरहरूले यसलाई नाइँनास्ती नगरिदिनुहोला । जीवन चैत्रको हुरीजस्तो अपत्यारिलो मोड र आकारमा पनि बग्दो रहेछ ।”

“कुरा प्रस्ट भन् न । किन घुमाउरो कुरा गरेको ?”आमाले जिज्ञासा राखिन् ।

“कुरा के भने, मेरो बिहे गरिदिनुपऱ्यो यहाँहरूले ।”

“ओहो, नानी । कति राम्रो कुरा गरिस् नि । हाम्रो मनकै कुरा ।” आमा हर्षित भइन् ।

“पहिला त तँ यहाँ आउनुपऱ्यो अनि न हुन्छ तेरो बिहे । त्यसै बिहे हुन्छ ?छिटो आइज न अनि जे गर्नुपर्छ गरौँला ।” बा प्वाक्क बोले ।

“म तत्कालै आउन पाउने भए त यो कुरा किन भन्नुपर्थ्यो मैलै ?मेरो छुट्टी एक वर्षपछि मात्र मिल्ने भयो । त्यसैले मैले भनेबमोजिम मेरो बिहे गरिदनू त्यहाँ सबैजना भएर ।”

“ए नानी, तँ बिरामी पो भइस् कि क्या हो ?तेरा कुरा त बढो अनौठा छन् नि ? तँ नआई कस्तो बिहे हुन्छ तेरो ?”आमाले सम्झाउने प्रयास गरिन् ।

“त्यही हुने बनाउनू न । अनि त भनेको त !”

“तिमी नआई तिम्रो बिहे ?असम्भव । के हो भान्जा ?”मामालाई पनि अनौठो लाग्यो ।

“नयाँ कुरा सधैँ अनौठो लाग्छ । विवादित हुन्छ । पृथ्वी गोलो छ भन्दा ग्यालिलि ग्यालिलियोलाई पागल भनेका थिए इटलीका शासकहरूले तर पछि उनैले हार खाए । मलाई पनि त्यही गर्ने होलान् तर मेरो बिहे मेरो अनुपस्थितिमा हुनुपर्छ ।”

उसले आफ्नो अडान छोड्नुको साटो झनै दृढ भएर परिवारलाई अह्राउन थाल्यो ।

“बुबा, मैले भनेबमोजिम गर्नोस् । म ठेगाना दिन्छु । इलाम मङ्गलबारेमा कल्पना रिजाल नामकी केटी छ । उसका बा पसले छन् त्यहाँ । उसको सानो भाइ छ र आमा सामाजिक काम गर्छिन् । कल्पनाको बिहेको कुरा आयो । कल्पनाले अस्वीकार गरी । उसको हुनेवाला श्रीमान् महेश हो र ऊ दुबईमा काम गर्न गएको छ भनेर मुख खोली । कल्पना र मेरो प्रेम यति गाढा भइसकेको छ कि हामी अब एकअर्काको पूरक भइसकेका छौँ । उसलाई अर्को केटासँग जबरजस्ती बिहे गरिदिएभने उसले त्यो केटालाई छाडिदिन्छु पनि भनी । पण्डितले कल्पनाको बिहे यो महिनामा नगरे अब पाँच वर्ष गर्नु हुँदैन भनेको हुनाले कल्पनाका बाआमाले कल्पनाको सल्लाहअनुसार मलाई दुबईमा नै सम्पर्क गरे । उनीहरूले मलाई आउन अनुरोध गरे । मैले आफ्नो बाध्यता बताएँ र अहिले आउन नसकिने कुरा जाहेर गरेँ । यत्रो लकडाउन छ, कसरी आउनु ? कोभिड १९ ले संसार प्यारालाइसिस भएको बेला म कसरी आउन सक्छु ? फ्लाइट छैनन् । कोरोनाले यो पृथ्वी ग्रह सुतेको छ महिना भयो । अझैकति सुत्छ, थाहा छैन ………..”

सबैजना कान ठाडा पारेर मन्त्रमुग्ध भएर सुनिरहे महेशका रङ्गीन प्रेम कहानी ।

“अनि के भो भान्जा ?भन न ।” मामालाई यो कथा रोचक लागेछ क्यार, सुन्न उत्साहित भए ।

“अनि कल्पनाको सल्लाह र मेरो स्वीकारोक्तिपछि उसका बाआमा हाम्रो बिहे यही असारमा गरिदिन सहमत भए । अब यही १४ गते हाम्रो बिहे हुँदैछ । दश दिन बाँकी छ । तपाईँहरूले तयारी थाल्नू । उता पनि थालिसके हिजोदेखि ।”

“ए भान्जा, के हो पारा ?आफूआउने कुनै टुङ्गो छैन, अनि तिम्रो बिहे यही १४ गते कसरी हुन्छ ? तिमीले हामीलाई पागल बनाउने रहेछौ ।” मामालाई यो अद्भुत कहानी लाग्यो ।

“मैले भनेअनुसार गर्नोस्, केही हुँदैन । सबै कुरा कल्पना, उसका बाआमा र मैले मिलाई सकेका छौँ । तपाईँहरू बेहुलीका लुगा, गहना र जन्ती लिएर गाडीमा जानू । त्यहाँ उनीहरूले कल्पनालाई बेहुली बनाएर सिँगार्नेछन् । विधिवत् रूपमा उसको बिहे हुन्छ र उनीहरूले कल्पनालाई अन्माएर पठाउनेछन् र घरमा ल्याएर उसलाई भित्र्याउनू । आफन्तहरूलाई बोलाएर जन्ते बाख्रो खुवाउनू । लाग्ने पैसा सबै म भोलि मनी ट्रान्सफरबाट पठाइदिनेछु । अनि कल्पना विधिवत् त्यो घरकी बुहारी हुन्छे ।”

यो निर्देशन महेशको परिवारका लागि अनौठो थियो । महेशका कुरा सुनेर सबैलाई उदेक लाग्यो ।

“ए महेश, एउटा छोराको राम्ररी बिहे गरौँला भनेको, के भयो ?”महेशका बा सुस्काए ।

“यो समयले सिर्जना गरेको आवश्यकता हो । पार्थिव शरीर नभए पनि कल्पना गरेर, कल्पनामा आफ्नो पति सम्झेर सुहागन बनेका हाम्रा थुप्रै पौराणिक कथाहरू छन् । उसले पनि त्यही गर्छे । नत्र म आउन्जेलमा उसलाई मैले गुमाइसक्नुपर्ने हुन्छ । ऊ अर्कै मान्छेकी भइसक्छे । म आइन्जेल पर्खिने अवस्था छैन । उसलाई पाउने एउटामात्र उपाय यही हो ।” यति भनिसकेपछि महेश बिदा भयो ।

महेशको घरमा बिहे आउने भयो । बिहेको तयारी भयो ।

सोही विवरणअनुसार महेशका बाले दुईवटा साना गाडीमा बरियाँत लिएर गए मङ्गलबारे । कोरोना भाइरसको डरको कारणले गर्दा जम्मा बीसजनामात्रै जन्ती गए, त्यो पनि गाउँपालिकाको सिफारिसमा । त्यो बिहे नै थियो ।

आज मानव सभ्यताको एउटा अनौठो अध्यायको निर्माण हुँदैथियो । यो वैदेशिक रोजगारले निर्माण गरेको एउटा अनौठो सभ्यताको थालनी थियो । बेहुलाबिनाको बिहे । जन्तीमात्रको बिहे । मनको बिहे । भावनाको बिहे । मनभन्दा ठूलो शरीर होइनरहेछ । मनको बिहे लिएर ती समयमै मङ्गलबारे पुगे ।

जन्तीको भव्य स्वागत भयो । तिनलाई बेहुली पक्षबाट उच्च कोटीको खानपिन र बस्ने व्यवस्था थियो । पञ्चेबाजा कल्पनाका बाले व्यवस्था गरेका थिए । त्यो धुन बजिरहेको थियो । घरगाउँले उपस्थिति भए । कसैले बेहुलीलाई उपहार दिए । कसैले नगद लेखाइरहेका थिए । कोही नाचगानमा रमिरहेका थिए । त्यो उत्तेजनाको वातावरण थियो ।

कल्पनाका परिवारजनबाट उनको गोडा धुने काम भयो । कल्पनाले मनलाई छेउमा राखी । कन्यादान भयो मनलाई छेउमा उभ्याएर । महेशको फोटाले छुवाएर उसले आफैँ सिउँदोमा सिन्दूर हाली । उसले मनमा माला लगाइदिई । मनलाई लगनगाँठो समात्न लगाई ।  पुरोहित लगातार विधि पढिरहका थिए । अन्ततः हर्षोल्लासका साथ कल्पनालाई उनका बाआमाले महेशका घरमा पठाउन अन्माइदिए ।

बिहे भयो; तर फोटाको बिहे मान्छेसँग । अर्थात् मान्छेको बिहे फोटासँग । फोटो फोटै हो, मान्छे होइन भन्ने हिम्मत अब कसैमा रहेन । त्यो फोटो मान्छे भएको दिन थियो । मान्छे फोटो भएको दिन थियो ।

मनलाई र हावालाई छेउमा राखेर ऊ पराईघर गई । छेउमा फोटो राखेर उसैको स्पर्शमा गाडीमा बसेर धरमपुर बेहुली भएर आइपुगी । महेशकी आमाले उसलाई विधि पुऱ्याएर भित्र्याइन् । ऊ अब कल्पना पक्का फोटाकी स्वास्नी भई । अर्थात् फोटो उसको लोग्ने भयो ।

फोटाकी स्वास्नी हुनुको अनुभूति भयो कल्पनालाई । ऊ महेशको फोटो फेसबुकमा खोलेर हेर्दै पुलकित हुन्थी । रोमाञ्चित हुन्थी । बेलुका तीन घण्टासम्म उनीहरू म्यासेन्जरमा बोल्थे । अरूबेला पनि फेसबुकमा झुन्डिन्थे । कल्पनाको दिनचर्या महेशका फोटा र म्यासेज हेरेर बित्थ्यो । राति अबेरसम्म ऊ त्यही मोबाइलमा हुन्थी तर आजकल महेश अनलाइनमा देखिएको छैन । फेसबुकमा कुनै पनि पोस्ट अपलोड भएको छैन ।

महेश अफलाइन भएको महिनौँ दिन भयो । त्यो घरमा संवादहीनता थपिएको, सन्नाटा थपिएको उतिनै भयो ।

“कोरोना भाइरसको कारणले दुबईमा थप तीन नेपालीको मृत्यु भएको छ ।” मातृकाले एकाबिहानै कान्तिपुर डायरीमा सुनेको समाचारको अंश थियो त्यो ।

मातृकाको मुखबाट यत्ति मात्रै निन्याउरो आवाज आइरहेको थियो, “सृष्टि, दुबईमा कोरानाको समाचार के छ, अनलाइन खबरमा हेर हेर, नानी ।”