कति खाने कोदाको ढिँडो ! भर्खर किनेको खेत ।

भदौको महिना, बेस्सरी पोल्ने घाम । खेतका धाँजा फुटेका ।

खेतमा पानी हालेर फर्किँदै थियो सिराने कान्छा । उमेरले बिस काट्यो । बिहे भएको छैन ।

खेतबाट त सात नबज्दै हिँडेको हो । भोकले गर्दा एक घण्टै लायो उक्लिन । गाउँ नआउँदै रात पऱ्यो ।

पुछारे लाहुरेको घरमा आइपुग्दा घर सुनसान थियो । सायद खानासाना खाएर सुतिसकेका थिए । आखिर रातमा गर्न मिल्ने काम के थियो र ? डाम्लो–नाम्लो त माहारामै पनि भैहाल्थ्यो । अरू गर्न बिजुली बत्ति थिएन । ढ्याबुरीमा के गर्ने ? मट्टितेलको नाश मात्रै ।

डहरमा आइपुग्दा ढोका खुल्यो–घऱ्याक्क । उभियो ठिङ्ग । भित्रबाट एकजना केटी मान्छे निस्की । खुमा रहिछ । उसले अँधेरो भएपनि चिन्यो ।

चिन्न पनि किन नचिन्नु ? उसले सबैभन्दा मन पराएको मान्छे पो त !

पारिको स्कुलमा पाँच पास गरेकी । चिटिक्क परेकी । सानैदेखि उसले मन पराएकी । साइनोले खास

दुर्गा ढेङ्गा

नजिकको नाता नपर्ने । सानोमा सँगै खेल्ने सँगै हाँस्ने साथी ।

खुमा आँगनमा आई । टुक्रुक्क बसी । खुइय्य गरी । गोन्या सोकोटी (गुन्यू मिलाई) । “हा थु” गरेर भित्र गई ।

देखेको यत्ति हो उसले तर मुटु भने फुट्लाजस्तै भयो । कान तातो भयो । पसिना आयो ।

त्यसपछि चितुवाजस्तो उकालोमा उक्लियो एक्लै “डछाप–डछाप” ।

घरपुग्दा सबै सुतिसकेका थिए । छुर्गन (तामा)झोलसँग आटो खायो सुरुपसुरुप ।

छामछाम–छुमछुम गर्दै ओसारीमा गएर खुमालाई सम्झिँदै सुत्यो ।

भोलिपल्ट ।

त्यसैगरी खेतमा पानी लाएर फर्केको तर आज रात परेको हैन–पारेको ।

आँगनमा आएर उभियो ठिङ्ग ।

तर खुलेन ढोका । निस्किइन खुमा ।

आधिघण्टा सम्म चुपचाप कुरिरह्यो । बोलाउने हिम्मत पनि भएन, मन त थियो नि खुमा भनेर चिच्याउन ।

हिँड्ने सुर कस्यो ।

त्यत्तिकैमा खुल्यो ढोका । निस्किई खुमा ।

आँगनमा आई । टुक्रुक्क बसी । खुइय्य पारी । गोन्या सोकोटी । एकछिन् उभिई । के भएछ कुन्नि ? चप्पल खोज्न ढोकामा गई । अनि डहरतिर निस्किई ।

खुमा आफूतिर आएको देखेर ऊ आत्तिन थाल्यो । भाग्न खोज्यो तर भाग्न पनि सकेन । के गरौँ के नगरौँ भयो । सास रोकेर बसिरह्यो ।

धन्नै ठोक्किएकी खुमा । झसङ्गै भई । आत्तिएर “मोइ”  (आमा) भन्न “मो…” भन्न नभ्याउँदै कान्छाले च्याप्पै समात्यो । अनि मुख थुन्दियो ।

“ङा आला खुमा, सिरान्या कान्छा ।” उसले सुस्तरी भन्यो ।

“कुलाक ह्वाच इसबेला ?डासो,”खुमाले भनी । फुत्किन खोजी । सकिन ।

“तँलाई भेट्न आएको,”उसले भन्यो ।

“नाडुपा खुप !”

“भेटाएँ भो ।”

खुमालाई के गरौँ के नगरौँ भयो ।

“तँ कता हिँडेको त ?”सोध्यो कान्छाले ।

हिँडेको त हग्न हो  तर भन्नु भएन ।

“होडिकै” खुमाले भनी ।

“यस्तो राति पनि कोही त्यत्तिकै हिँड्छ ?”

बोलिन खुमा । बिस्तारै जाडाले हो कि केले हो, काम्न थाली ।

“हि छाना ?”

“डर लाग्यो !”

“मसँग के को डर ?”कान्छा साख्खै पल्टियो ।

“जाडो भयो ।”

“तताइदिम् ?”

“पर्दैन । जा भनेको । अहिले अरूले देखे भने ?”

“के हुन्छ र ?”

“खै डासो  ।”

“छोड्दिन ।” कान्छाले कुरा लम्ब्यायो, “ङै काट कुरा टेलाङ ।”

“भन् के कुरा ?”

“मलाई रुचाउँछस् ?”

“रुचाउँदिनँ ।”

“राम्रो छैन ?”

“मैले त्यसो भने छु र?”

“अनि किन रुचाउन्नस् त ?”

“खै डासो ।”

“मसँग मिल्छस् कि नाइँ?”

“मिल्दिनँ ।”

“किन ?तँ अरूसँग मिलेछस् र ?”

“मैले मिलेछु भनेछु र ?”

“किन मान्दैनस् त ?”

“खै डासो ।”

“भोलि राति निस्किन्छस् कि नाइँ ?”

“आउँदिन ।”

“पिसाब लाग्दैन र ?”

“खै डासो ।”

“राहाडल कि मो ?”

उसले फुस्किन अरू बाटो भेटिन । भोलि आउने नआउने भोलिको कुरो । जेसुकै होस्, “आउँछु” भनी ।

यही सुन्न चाहेको थियो कान्छाले । छोडिदियो खुमालाई । त्यसपछि छुट्टिई ।

घरमा बोइले (बाले) ख्याल गरेका रहेछन् । सोधे, “कहाँ गएको थिइस् ?”

भनी, “पेट दुखेको छ । हग्न गाको ।”

भोलिपल्ट ।

डहरमा आइपुग्यो सिराने कान्छा । त्यसैगरी उभियो ठिङ्ग । त्यसैगरी ढोका खोलेर आइपुगी खुमा । अलिकति लाज, अलिकति डर लिएर । पछ्यौरी पनि ओढेकी थिई ।

“मैले तँलाई रुचाउँदिनँ ।” खुमाले सासमा भनी ।

आखिर खुमाले रातभर–दिनभर सोचेर राखेको उत्तर यही न थियो । कान्छालाई रुचाउनुपर्ने कारण केही भेटेकी थिइन । ऊसँग गए जुनी ठिकैसँग बित्ला भन्ने त सोचेकी हो तर त्यत्तिमै हुन्छ भन्नुपर्ने ठाउँ देखेकी थिइन ।

कतै ऊ बिहेपछि भर्ती हुन जान्छ कि भन्ने शङ्का थियो । सानैमा आमाको एक्लो जीवन देखेकी खुमा, आफू त्यस्तो कथा दोहोऱ्याउन चाहँदैनथिई तर उसका बोइमोई भने लाहुरेलाई नै भान्जा बनाउने सोचमा थिए ।

“किन ?किन रुचाउँदैनस् ? किन मिल्दैनस् ?”

“किनसिन जान्दिनँ ।”

“हामी सानोछँदा ससँगै खेल्थ्यौँ । मैले जे भनेपनि मान्थिस् ।” कान्छाले भन्यो ।

“केटाकेटीको कुरा छोड् । अब म केटाकेटी छैन ।”

“मसँग बिहे गर्छु भन्थिस् ।”

“तँलाई कतिचोटी भन्नुपर्छ ?”

“म पाए कोही चाहिँदैन भन्थिस् ।”

“केटाकेटीको कुरा नगर् ।”

कान्छाले अपाइँडे–अपाइँडे कुरा गर्न खोजिरहेको थियो । के उसले रक्सी खाएको थियो ? जरुर खाएको थियो तर मात्ने गरी हैन । बिहान आमाले बोत्तलमा हालिदिएकी थिइन् । दिउँसो खानहुन्छ भनेर । “पिओर” कोदोको । साथमा पिसेको नुन–खुर्सानी र धार्नाएकको काँक्रा ।

खुमाकी बोइलेले मान्छे बोलेको सुनिबसेका रहेछन् ।

आँगनमा निस्केर कराए, “को कुकुर–कुकुर्नी हो काइँकाइँ गर्दै बसेको ?”

डराई खुमा । समाती कान्छालाई चराप्पै ।

“खुमा…खुमा…। कता मरिस्?दुखेको पेट त्यही हो ? कुन कुकुरको पछि लागिछस् ?”बा झन् कराए । कुकुर भुक्यो “हुहुहुहु …।”

आएन जबाफ ।

“खुरुक्क आउँछस् कि ढुङ्गाले हानौँ ?”

यति भन्दा पनि आइन खुमा, न आयो जबाफ ।

बाले आँगनको एउटा ढुङ्गा टिपे । अनि डहरतिर हाने ।

प्वाक्कै पऱ्यो कान्छाको निधारमा । धरधरी रगत आउन लायो । आत्तिई खुमा । अँधेरैमा बोकेझार खोजी । थुक हालेर मिची । घाउमा लगाइदिई । रगत पुछिदिई ।

बा केके फलाक्दै–चिच्याउँदै थिए ।

खुमा घरतिर फर्किन खोजी । कान्छा टाउको समातेर बसिरह्यो । केही भनेन । दाहिने हातले रगत पुछ्यो, देव्रे हातले सिँगान ।

अलिपर पुगेर फर्केर हेरी । मनमा माया भरिएर आयो । आँखामा आँसु भरियो । फर्केर कान्छानिर आई ।

कान्छाको हात समाती । अनि कान्छालाई उठाई र डहरलाई त्यहीँ छाडेर मूलबाटातिर निस्किई ।

“जाँठ्ठा ग्वा, फ्याक्के बेर । राङ्सिलै आह्लमो भ्या ।” (जाँठ्ठा चल्ला कोरल्न बेर । स्यालले लैसक्यो ।) बोइले बिहान उठेर पटाहामा (पिँडीमा) बस्तै भने ।

मोई कुनातिर बसेर रुन थालिन् ।

यसैगरी तीनदिन बित्यो । घरमा न राम्रोसँग बोलचाल भयो, न खानपिन । न त कामकाज नै । घरै अस्तव्यस्त भयो ।

आज भने बोइले माझघर गएर एकपाथी रक्सी पैँचो मागेर ल्याए । उनलाई थाहा थियो, खुमालाई चितुवा बाघले नखाएको भए आज पक्कै बाटो सोध्न आउँछन् ।

नभन्दै झमक्क साँझ पर्दा तीनजना पाहुनाहरू आइपुगे–हातमा एकुन्टा ठेकी लिएर ।

देखेर मोई भित्तातिर फर्किएर रुन थालिन् । बोइ पिर्कामा बसे । दाउरा लिन गएकी कान्छी छोरी नानुमाया डराएर उतै बसी  ।

पाहुनाहरू–बाटो सोध्न आउनेहरू अलमलिए । के भनौँ, कसो गरौँ भए ।

मौनतालाई चिर्दै एकजना बोले, “के गर्ने हजुर ! संसारको रीत, हाम्रा बाजेबराजुले मान्दैआएको कुरो । नमानम् कसरी ?”

एकछिन् रोकिएर फेरि थपे, “अजकालाओ जजाको ! हामीले भनेको काहाँ मान्छन् र ? हाम्रो कुजातले हजुरको फूल टिपेछ । टिपिसकेपछि फाल्नु भएन । हेला गर्नु भएन । अब त त्यो फूल हाम्रो भैसक्यो । नमानेर पनि नहुने होला । कि कसो हो खै, हजुर नै भन्नुस् । यी हामी त आएम् ठेकी लिएर । रीत पुगेन कि ? कतै चलन मिलेन कि ? छोराछोरीले नाता लाइसकेपछि सम्बन्ध नै गाँसिइसक्यो । अब जोडिएको साइनोलाई तोड्न पनि त मिलेन । कि कसो भन्नुहुन्छ ?”

छोरी पट्टीकाले बस नभनुन्जेल बस्न नहुने । ठेकी राख्नुस् भन्दासम्म राख्न नहुने ।

निक्कैबेर उभिइरहे । पालैपालो आफ्ना कुरा पनि राखिरहे ।

“हजुर हामीले पनि यसरी नै बाउबाजेलाई दुःख दिएकै हम् क्यारे । उतीबेला उहाँहरूले नमानेको भए कस्तो हुन्थ्यो होला ?हाम्रा छोराछोरी नै कहाँ निस्कन्थे होलान् र ? छोराछोरी नभए हामीलाई पनि किन यस्तो हात जोड्दै हिन्नु पर्थ्यो होला र ?”

अन्ततः बोइले बस्नुस् भने । ठेकी लिए ।

बिहे भयो धुमधामसँग ।

वाक्स्या (सुँगुरको मासु), बारा (बटुक) र रक्सी छ्यालब्याल भयो । नमात्ने कोही थिएन । ननाच्ने कोही थिएन ।

बिहेको भोलिपल्टको रात डहरतिर कुकुर भुक्यो बेस्सरी । सायद खलिहानतिर फालिएका बारा र हड्डीका टुक्रा खोज्न आएका होलान् कुकुरहरू ।

“के भएछ यो कुकुरलाई पनि ?हेर्न जानपऱ्यो ।” नानुमाया उठी ।

“मापरिसा ! तँलाइ पनि लग्छ र थाहा पाउँछस् ?”बोइले भने ।

सुनेर नानुमाया मरीमरी हाँसी ।