रानी खोलाका बगरमा ड्याम्म परेर बसेका ठुला, ठुला ढुङ्गाहरूमाथि उफ्रँदै, पखेटा फर्फराउँदै कल्चुडीले सुरिला गीत गाएर  नसक्दै जङ्गे लामाको निन्द्रा पनि छुट्छ ।

अहो ! आज अलि ढिला पो भइयो कि कसो कल्चुडी ? ठिकै होला । – आफ्नै प्रश्न आफ्नै उत्तर मनमनै बोल्छ, जङ्गे लामा । हत्तपत्त एउटो हातमा काशाको लोहोठा अर्को हातले मुख अलि ठूलो पार्न  तलसम्म काटिएको भुल्डुङ बोकेर खोलातिर लाग्छन् । सुरुवात हुन्छ जङ्गे लामाको दिनचर्या ।

रानीपुल बजारदेखि पाक्योङतर्फ लगभग एक माइलको दूरीमा अवस्थित रानी खोलाको बगर जहाँ सिक्किमको राजधानी गान्तोकमात्र नभएर वरपरका मृत देह जलाउने र अन्तिम संस्कारको प्रचलित स्थल अवस्थित छ । कतिपय स्थानहरूमा मुर्दा पोल्ने जगहलाई मुर्दाघाट, मुर्दाहट्टी भन्ने गरे तापनि मुल सडकदेखि अलि मुन्तिर लासलाई वरपिपलफेदमा टेकाएर, फन्को मारेर बगरमा पुऱ्याएपछि लास जलाउने, अन्तिम संस्कार सम्पन्न गराउने यस स्थललाई प्रायले रानीपुल नै बोल्छन् । रानीपुल कहिले झर्ने हौ ? प्रसङ्गवश कसैलाई सोधिएको खण्डमा “अहिले बेला भाछैन है, समय आए थाहा पाउलान्” भन्दै खेलठट्टा पो गर्छन् । रानीपुल शब्दमा रमाइलो पनि छ, विस्मात् पनि ।

हाल जङ्गे लामाको वास पनि त्यतै छ ।

सामसोन गुरुङ (गान्तोक, सिक्किम)

आज पनि जङ्गे लामा दिसापिसाब गरिसकेर रानी खोलाको पानीले हात गोडा धोई पखाली लोहोटाभरि पानी उघाएर सुर्यतिर फर्केर दुई हातले पानी चढाउँछन् । आफूबाहेक अरू बुझ्न नसक्ने गरी के फलाक्छन्, मनभित्रबाट बाहिर निस्कँदैनन् । हिजोआज उनी लास जलाउन निपुण मात्र नभएर चिता तयार गर्नु, पिण्डदान र अन्तिम संस्कार स्थल छनौट गरी तयार पार्नु पुरोहितका साथै आम सरोकारवालाका लागि सजिलो व्यक्ति भएका छन् ।

अहो ! लामा दाजु आज अलि पूजा लामै गरियो कि उठाई अबेर भयो ? गिटी बलुवा सोहोर्न आउने पुरुषका झुन्डमध्ये एकजनाले प्रश्न गर्छ । उनीहरूसित एकसमयमा गिटी बलुवा सोहोर्ने काम जङ्गे लामाले पनि हल बाँधेर गर्थे । सबेरै उनीहरूको भेट हुने स्थान यही नै हो।

ऊ.. आज कल्चुडी ढिलो गरी सिटी बजाएर, सधैँ त टाँडमुनि बाटै कराई निस्किन्छ आज त अघि बगर चहारी सकिछे । हातमा लोहोटा र भुल्ढुङ लिएर डेरातर्फ लाग्दै जङ्गेले उत्तर दिन्छ । जङ्गेको डेरा, डेरा पनि के भन्नु बगरदेखि अलि मास्तिर एक कुनामा, एक जना सरदारले कालो प्लास्टिकको त्रिपाल दिएर, खोलोले बगाएर ल्याएको लात्राले बारबेर गरी साथीहरूको मद्दतले त्यही बगरको ढुङ्गा, बलुवा र अलिलि सिमेन्ट र माटो मिसाएर ढ्याक ढ्याक पारेको भुईँ छ । ढुङ्गा ठड्याएर बनाएको अगेना, दुईचारवटा भाँडाकुँडा, एउटा टाँड हालेको छ । पूजाथान बनाएको छैन, पूजा गरेर भगवान्‌लाई घरभित्र हुल्नु छैन, कोही समय भगवान्‌को साथ लागेर प्रेत पनि पस्न सक्छ, भगवान्‌ र प्रेतको लडाइँ हुन सक्छ । त्यो झमेलामा उसलाई पस्नु छैन । त्यसलाई साम्य बनाउने उनीसँग नत जडी छ न मन्त्र छ भगवान् पनि बगरमै पुज्छ प्रेतलाई पनि बगरमै थम्थम्याउँछ उसले । साथी भाइहरूसित कहिलेकाही ठट्यौलीमा जङ्गे लामा भन्ने गर्छ ।

जङ्गे लामा खोलाको डिल, ढुङ्गामाथि बिहानीपख अनि ठूलो साँझमा सुसेली हिड्ने कल्चौँडीको आवाजलाई नित्य ध्यान दिन्छ, उसकी श्रीमती जिउँदो छँदा कल्चौँडी भनी बोलाउने गर्थ्यो ।  नाममात्रैमा पनि पिरती सम्झना, त्यति नै हो जङ्गे लामा र कल्चौँडीको मीठो “म काली छु, कल्चौँडी छु” भनेझैँ लाग्ने सुरिलो आवाजको सम्बन्ध ।

एक गिलास रङ्ग चिया सारेर खाजाको रूपमा बिस्कुट कतै छ कि भनेर पोका पत्यौरा कोट्याउँदै गरेका जङ्गे लामाको डेराबाहिर गिटी कुट्न आएकी महिलाहरूका गलल हँसाइ र बात गराइले  ध्यान उतैतिर तान्दै लान्छ, उसैलाई गिल्ला पो गरेका हुन् कि ! जस्तै लागेर उठेर बाहिरतर्फ हेर्न लाग्दा नै एउटी महिलाले ओ जङ्गे दाज्यू भनेर बोलाउछिन्, अर्को महिलाले पछाडिबाट लामा दाजु भन्न हौ भन्दै ढाडमा प्याट्टै हिर्काउँछिन्।

ए ! भिमा बहिनी पो ? भन न के भयो ? – जङ्गेले सोध्छन् ।

– यो कोरोनाले त चौपट बनायो भोलिदेखि हाम्रो काम पनि बन्द गर्नुपर्ने भयो, अलि परतिर गिटी कुट्नु भन्छ, परतिरचाहिँ ढुङ्गा कहाँ पाउनुहोला है । तपाईँको धन्दा त झन् खत्तम नै बनायो नि ?

– बहिनी मेरो धन्दा ? बहिनी मेरोमा तपाईँलाई प्रश्न पनि छैन, उत्तर पनि । मैले मेरी घर जहान भगाएर ल्याए यतै तिमीहरूसँगै काम गर्थे निमुनिया भएर मरेको तिमीलाई थाहा छ, छोरा पनि टिभीले खस्यो,एउटी छोरी रहेको पनि परार साल एमपी गोलाइमा एक्सिडेन्टमा खसेको पनि तिमीलाई थाहा छ, तीनैजनालाई मैले यहीँ जलाएको हो । मेरो मनको कुरा सबै तिमीलाई थाहा छ । मैले उनेरको आत्मा शान्ति होस् भनेर यो कामलाई पुण्य सम्झेर पो गर्दै छु त । म एक्लै भएँ, फुको फाल्टो भए अब म कहाँ जानु मेरो शाखा – सन्तान कोही छैनन् , परारदेखि म पनि यतै सरेर बस्दै छु तर लोभ र लालचमा मान्छे जलाउने काम ठिकामा गरेको छुइन । मलाई लोभ भए त लासैपछिको पैसा मागेको हुन्थेँ तर अहँ माग्दै मागेको छुइन, बहिनी यो मेरो धन्दा होइन ल ! अचेल मान्छे कस्तो बैगुनी छ , कत्तिले त आधाआधी जली नसकी जिम्मा लाएर हिन्नेहरू पनि छन्, म ध्यान लाएर सबै काम सिद्याएरमात्र छोड्छु । पोहोर क्या त दुईवटा लास एकैचोटि ल्याउँदा ऊमाथि मलामीको चमेना गर्ने ठाँउमा तेरोपट्टि र मेरोपट्टिको भन्दै मलामीलाई छुट्याउँदै चिया खाजा बाँड्दा केटरिङ पार्टीको झगडा भाको, यता त्यो विधवा बुढीको लास त पानी परेर राम्रो जलिसकेकै थिएन, उसको नाति केटो र मैले अबेरसम्म बसेर जलाएर खरानी राम्ररी पखालेर मात्रै छोडेको होइन ? त्यतिबेला त मलाई तिमेरूले नै दाज्यूले साह्रै पुण्यको काम गर्दैछ भनेर फुर्कायौ त । बहिनी, मान्छेको शरीर सकेपछि आत्मा पनि हुन्छ भन्छ , त्यही आत्मालाई शुद्ध पार्नु यो धर्मको काम भनेर गरेको मेरो थर लामा हो धर्म जान्ने लामा होइन, संसार मैले बुझिसके केही पनि हैन रछ, आत्मा नहुने हो भने – यहाँ त हिन्दूमात्र जलाउनु ल्याउछ, बुदिस्ट दिछिलिङ लान्छ, खृस्तान बुर्तुक र चानमारी लान्छ तर सबैले आत्मा शान्तिको लागि पूजा, प्रार्थना गर्छ । मैले पनि मेरो तीनजनाले अर्को जुनीमा सुखी भएर जन्म लियोस् । यो जुनीमा पाएको दुःख नपाओस् भनेर यो काम गर्दैछु बहिनी ! मैले लास जलाउने धन्दा गरेको छुइनँ ।

जङ्गे लामाको आँखाबाट बरर आँसु झर्छ।

त्यति नै बेला दौराको लोड लिएर आएको वन विभागको एउटा सानो टाटा गाडीले उनीहरूकै अघिल्तिर दौरा अनलोड गर्छ। सरकारी विभागले खटाएका जवान मानिसहरूले दौरा ओसार्दै पाँच, छ वटा चिता बनाउन थाल्छ ।

आँसु झार्दै बात गरिरहेका जङ्गे लामालाई भिमाले भयभीत स्वरमा प्रश्न गर्छे – दाजु अन्त तपाईँ उनेरूलाई सघाउँदैन?

– अबुई ऊमाथि हस्पिटलमा आफ्नै मान्छेलाई त लास हेर्न दिएको छैन हरे ! छुएर रुनु त परै जाओस्, सब प्याकिङ गरेर दबाइ लगाएर लासघरमा, त्यहाँबाट गऱ्यामगुरुम एम्बुलेन्समा जङ्गे लामा भिमाको प्रश्नको उत्तरमा अझै भन्दै जान्छ कोरोना कि कोभिड भन्ने त खतरा छ हरे नि त हौ ! खोपा र अक्सिजनको खोजीमा मै हुँ भन्नेलाई त आच्छु – आच्छु रैछ। तिमी हामी जस्तोलाई लाग्यो भने त ऊ सिधै…।  (चोर औँलाले उभोँ आकाश देखाउँदै ) ठूलो सानो, धनी, गरीब केही नभन्दो रछ त ! कस्तो महामारी ल्यायो हौ यो संसारमा भनी नसिद्धी माथि एम्बुलेन्सको साइरन बजेको सुनिन्छ ।

जङ्गे लामाले भिमा र अरू उसकी साथीहरूलाई भन्छ – ऊ हेर त, लास ल्याउँदै रछ, लास ल्याउँदा सधैँ त शङ्ख फुक्तै ल्याउथ्यो, छै…न । संस्कार नै  मासिने भो क्या हौ।

साइरनको आवाज र एम्बुलेन्स गाडी उनीहरू भएतिर आइपुग्छ । सेता, सेता कपडा, हातमा पञ्जा, हिउँमा लगाउनेजस्तै चस्मा, मुखौटा माथिबाट टाउको घ्वाप्प गरी अगाडि सिसा भएको ह्यल्मेट लगाएका मानिसहरू एम्बुलेन्स, अगाडि, पछाडि आएका गाडीबाट ओर्लेर स्ट्रेचरमा हाल्दै लासलाई अघि तयार गरिएका चितामा पालो पालो चढाउन थाल्छन् ।

रमिताजस्तै हेरिरहेका गिटी कुट्ने महिलाहरूका लहरबाट जङ्गे लामा बिस्तारै बोली पठाँउछ हेर ! धुप बत्ती पनि केही छैन, च्चुँ..च्चुँ…च्चुँ। म पनि सघाउने थिएँ, त्यस्तो लुगा छैन, यत्तिकै त पस्न नदेला । छ, सात वटा चिता वरिपरि सेता, सेता पहिरनमा मलामीबिनाको बिस-पच्चीसजना मानिसहरूले घेर्दा त घाट त कुन संसार लाग्दो रैछ, यही संसार हो कि अर्को संसार, आकाशतिर अहिले नै उडाएर लैजालाजस्तो । लास कसको हो अनुहार सप्पै छोपेको छ ।

नगरपालिकाको एक जना सुपरभाइजरले जोडसित कराएर “कोही  आफन्तहरू हुनुहुन्छ भने पिपिई कीट लगाएर आगो लगाउन सक्नुहुन्छ, आउनुहोस्” भनेर फरमान सुनाएपछि एक दुई गर्दै, “हाम्रो बडी चाहिँ कुन हो ?” प्रश्न गर्दै मृत शरीर भएतिर लाग्छन् । सुपरभाइजरले फेरि सबै डेड बडी प्याकिङमा नाम लेखेर हालेको छ । हो, हो त्यो तपाईँहरू कै हो । शङ्कास्पद र भयभीत आफन्तहरूले आ-आफ्नाका मृत शरीरलाई तीन फन्को चिता वरिपरि घुमाएर ढोग गर्दै आगो लगाउछन् । कतिले सुपरभाइजरलाई बाइबल पढ्ने र प्रार्थना गर्ने अनुमति माग्छन् । सुपरभाइजरले “लु छिट्टो, छिट्टो गर्नुहवस् है, लासको छेउमा धेरबेर हुँदैन, सङ्क्रमण हुन सक्छ, तपाईँहरू जति जना आउनुभएको छ, तपाईँहरू प्राइमरी कन्टेक्ट भएकाले चौध दिन होम कोरोन्टाइनमा बस्नुपर्छ ।” आदेश सुनाउँदै आफ्नो कर्मचारीहरूलाई आफू आफूले लगाएको पिपिई लुगाहरू खोलेर अलिपर जलाउने आदेश दिन्छन् ।

जङ्गे लामा अझै बोल्दै हुन्छ, “हेर न दाग बत्ती न धुप न तिल जौ न चन्दन घिउ । खादा, फूल र मलामी परै जाओस् । अरूबेला भा बाहुनले केश कटाएर,पिण्ड चडाएर अन्त्येष्टिको तारिख बताउने थियो । खृस्तानहरूको गान भजन गरेर मट्टी दिने थियो,खोइ त? के समय आयो नी हे भगवान!अब चौध दिन कोरानटान् बस्नु पर्ने रे! मर्नेले पनि यस्तो भामट् लुगा लगाएर अग्नि दिदाँ चिनेनन् होला ! मुख त सब ढाकिएको अन्त ! सबैको आत्माले शान्ति पाओस्, वैकुण्ठ बास होस् । एकदिन न एकदिन त यो महामारी हट्छ हट्छ । अरू सबै मरेर जानेहरूले राम्रो दाह संस्कार पाओस् । जङ्गे लामा बोल्दा बोल्दै हात जोडेर उभोँ आकाशतिर हेर्छन् र भिमा भएतिर फर्कँदै, देख्यौ मरिलानु के छ र ? धनीगरीब, ठुलासाना, पुरुषमहिला, जवानबुढा,राजारैती सबैजना मर्नुपर्दो रहेछ । ढिलो छिटोमात्रै हो सबैको बाटो त एउटै हो तर आत्माचाहिँ जिउँदो हुन्छ अरे ! त्यहीकारण भिमा बहिनी पुण्य कर्म गरिराख्नुपर्छ । त्यही सोचेर मैले लास जलाउने काम थालेँ, म मर्दा कसैले त यहीँ मेरो पनि जलाइदिओस्, भगवान्‌लाई प्रार्थना अगाडि नै गरिराख्छु वैकुण्ठमा राख्नू भनेर । मैले धन्दा चाहिँ गरेको हैन है भिभा बहिनी । भिमाले अर्की साथीलाई ठेल्दै भन्छिन्, हेर्न हौ यो लामा दाज्यू के भाको होला है, एकोहोरो पो लागेछ, अघि भनेको कुरो अझ सकेको छैन रहेछ । नरिसाऊ है लामा दाज्यू, गल्ती भयो ।”

उनीहरू बात गर्दागर्दै अगाडिबाट अघि मृत देहलाई अग्नि दिने दुई जना बात गर्दै जाँदै हुन्छ ,”होइन हौ, काका त्यो लास हाम्रै थियो के त ?”