एउटा यस्तो फाँट छ जहाँबाट क्षितिज पनि क्षितिजमै देखिन्छ । आकाश पनि आकाशमै देखिन्छ (उल्लु बनायो चाहिँ भन्न पाइँदैन नि है) । अनि आकाश आकाशमा नदेखिएर जमिनमा देखिन्छ त ! तर देखिन्छ नि (फेरि उल्लु बनाउन लागेको होइन है ) ! कहाँ देखिन्छ भने पानीको तलाउमा देखिन्छ नि ! सङ्लो पानीमा । हो त्यस्तै सङ्लो चाहन्थे तिमीलाई तर जति पल्ट तिमीलाई हेर्थेँ‚ हैनञ्हैन आफूलाई हेर्थेँ तिमीमा । तिमी उति पल्टै घमिलिँदै जान्थ्यौ ।
संसारमा सबैभन्दा सजिलो कुरा त अरूलाई आरोप लाउनु पो हो त है । हो त्यही आरोप लगायौ भन्न मन थियो तर त्यतिबेला तिमी मेरो समीपदेखि बहुत दूर थियौ । तिमी मलाई सग्लो चाहन्थ्यौ होला तर धमिलो पनि तिमी आफैँले बनायौ तर यो कुरोको तत्त्वज्ञानीको तिमीलाई थिएन । किनकि तिमीले मलाई पानी नै सम्झियौ र पानीलाई नै अँगाल्न खोज्यौ तर म त पानी थिइनँ; तिमीले आफ्नो हृदयले मस्तिष्कमा बनाएको एउटा चित्र थिएँ, तिम्रो मनको आकारमा अटाउन सक्ने भावना थिएँ । कविले लेख्न सक्ने कविता पो थिएँ कि वा ।
– यति भनेर उसले आफ्नो च्याट बक्सबाट मलाई ब्लक गरी । सोझै ब्लक नै किन भएँ त ? यो प्रश्नको उत्तर तिमीसँगै खोज्न मन थियो र छ पनि ।
तिमी त कस्तो भिरजस्तो अप्ठ्यारो छौ है ? – यो प्रश्न फेरि उसैले गरेकी थिई । थाहा छैन किन म उसका लागि यति महत्त्वहीन भएँ या महत्त्वपूर्ण भएँ । बारबार ब्लक हुँदा महत्त्वहीन भएको बोध हुने र बारबार अनब्लक हुँदा महत्त्वपूर्ण हुने । यो द्विविधाले अँचेटिरह्यो ।
उसको प्रश्न पछि म आफूलाई क्षितिजबाट देखिन सक्ने फाँट बन्न मन लाग्यो । आफ्नो मनलाई उसको हरेक प्रश्न थेग्न सक्नेगरी बिछ्याइदिएँ । हृदयलाई सुकोमल मलमलजस्तो बनाइदिएँ र उसका हरप्रश्नहरू थेगिरहेँ । लाग्थ्यो, म विषयमा तर्कपूर्ण बहस गर्न सक्छु तर उसको अघि एउटा स्कुले बालक जो आफ्नो मिसको अघि पाठ्यक्रमका प्रश्नहरूले थेचिएजस्तो जो उत्तीर्णाङ्कको आशामा घोसेमुन्टो पारेर उभिएको छ । आफूलाई जति सक्यो सजिलो बनाउन मन थियो । चौडा सडकजस्तो बनाउन मन थियो । फराकिलो राजमार्ग जस्तो बनाउन मन थियो । रङ्गशालाजस्तो । समुद्रजस्तै विराट् बनाउन मन थियो क्तै यी सबै कुराहरू मनमै थिए ।
अब त ऊ बेस्सरी कड्किई – आफूलाई खुब हिरो सम्झिन्छौ है ! आफूजस्तो कोही छैन जस्तो लाग्छ है ।
म झसङ्ग भँए, उसले थुप्रै म्यासेजहरू लेखेर मलाई फेरि च्याटमा ब्लक गरिसकेकी रहिछे ।
तर यतिबेला आफूलाई लेख्न मन थियो । भन्न मन थियो – को हौ तिमी ? किन मलाई पिछा गरिराखेकी छौ ? मैले तिम्रा लागि के गर्दिनुपर्ने ? आइन्दादेखि मेरो पिछा छोडिदेऊ ।
तर यति क्रूर भएर म पनि त भन्न सक्तिनथेँ । तिमी अन्जान त होइनौ तर म त्यति जनकार पनि त छैन ।
उसलाई चिनेको थिइनँ‚ जानेको पनि थिइनँ र देखेको पनि थिइनँ, तर प्रेम गर्न थालिसकेको थिएँ । कुनै गणितीय हिसाबबेगर तिमी मेरो सम्बन्धको समीकरणमा बिनाशेष हल भैसकेकी थियौ । कुनै भाजकले बाँड्न सक्तैनथ्यो कतै तिम्रो अन्तस्करणमा शेष थिएँ कि हिसाबको कुनै दायरामा आउन सकेको थिइनँ थाहा थिएन । यति कुरा भन्न मन्न थियो मोबाइलको नोटप्याडमा लेखेर भ्याइसकेको थिएँ तर पठाउन आँट आएन । ब्याक स्क्रोल गरेर इरेज गरिदिएँ ।
उसलाई भन्न त मन थियो – गलक्क पाकेको मेवाजस्तो सजिलो हुन मन छ तिम्राअघि ताकि बोक्रासम्म ताछ्नु नपरेर सजिलै खान सक्नु तिमी, कतै तिमीले कुनै अवसर दिइनौ । तिमीलाई भिर लाग्ने मेरो स्वभावमा प्रेमको लिस्नो हालेर मुटुसम्म उकाल्न मन छ । मेरो छातीको विराट् फाँटमा उभ्याएर तिमीले भनेको सुन्न मन छ कि – आहा ! कति हरियाली कति बस्तिलो कतिसम्म ।
यो दिनको खोजीमा छु ।
आज बल्ल च्याटमा फेला परेकी उसला ई लेखिदिएँ – तिमी त घिउकुमारीजस्तो रहिछौ ।
मैले यति लेखेर सेन्ड गरेदेखि म्यासेज त सिन भयो तर रिप्लाई भएन । धेरैबेर पर्खिँदा पनि रिप्लाई भएन । म अफलाइन भएँ ।
उसले लेखेकी रहिछे – “तिमी कवि हाै कि क्या हो ?”
मैले हाहा रियाक्ट गरिदिएँ र लेखेँ – “कवि त थिइनँ, अब कवि बन्छु जस्तो लागेको छ ।”
– कसरी ?
– तिमीले बनाएपछि ।
– अनि कवि पनि मैले बनाएर बन्ने कुरा हो र ?
– अघिसम्म एउटा स्कुले बच्चोजस्तो थिएँ । एउटा भिरजस्तो अप्ठेरो थिएँ । अब कवि पनि कसो नबनिएला र !
(उसले दुई आँखामा पानको पत्ता वाला स्टिकरले मेरो छातीमा हानी ।)
– कविहरूसँग त नसकिने रैछ ।
– मभन्दा अघि कुनचाहिँ कविसँग सकिनौ र ?
– कविको कमी कहाँ छ र ! एनिवे, मलाई कवि चेतना मन पर्छ । कविको प्रयोग मन पर्छ । कवि एउटा कवि मात्रै होइन ऊ समय हो; भूत‚ वर्तमान र भविष्य । एउटा प्रयोगशाला पनि हो ।
उसको कुराले म वाल्ल परेँ‚ अब के लेखौँ लेखौँ भयो ।
केही लेखिनँ ।
(फेरि उसैले लेखी)
– मैले तिमीलाई पढिराखेकी छु । सुनिराखेकी छु ।
मैले केही रेस्पोन्स नगरेपछि ओठ लेप्रो पारेको स्टिकर पठाई र अफलाइन भई ।
(हेर्नुस् त म त कस्तो भुस्सु मान्छे । अहिलेसम्म ऊ को हो‚ को थिई सोधेकै छैन । एकोहोरो पो भैएछ त ! लु के गर्ने त अब । एकैछिन ल ! म अनलाइन जान्छु । तपाईँहरू पनि आँउँदै गर्नुस् है ।)
दुई दिनसम्म उसँग कुरै भएन । उसको फोन नम्बर थिएन ।अनलाइन ऊ आफैँ आएकी थिइन । ऊ अनलाइन आओस् र कुरा गरोस् लागेको थियो । बल्ल बल्ल तेस्रो दिन अनलाइनमा देखा परी ।
–हाई !
–हेलो ! (सिधै तिमी को हौ भनेर सोध्न त मन थियो)
–सन्चै?
–तिम्रा यादहरूको कारण ।
– हजुर ‚ मैले बुझिनँ नि ?
नबुझेझैँ गरी ।
केहीबेरको कुरापछि उसलाई सोधेँ – को हौ तिमी?
जवाफमा उसले भनी – म तिम्रा हरकथाहरूको पात्र । तिम्रो कविताहरूको विम्ब । तिम्रा भावनाहरूको हरफ ।
(म अलमल्ल परेँ‚ के हो के हो जस्तो लाग्यो)
– अनि किन फेक कुरा गरिराखेको त मसँग?(सोधेँ)
– कुरा फेक होइन तर माध्यम त फेक बन्यो ।
– किन‚ वास्तविकतासँग मनमुटाव छ ?
– छैन‚ डर छ ।
– भन्नाले?
– म तिमीले मलाई नचिनोस् जस्तो लाग्छ । तिमीले किन भनेर पनि सोध्नेछौ तर मसँग कुनै जवाफ छैन ।
(म केही बोलिनँ)
– तिमीले मलाई प्रेम गर्न छोड्छौ कि भन्ने डर छ ।(फेरि ऊ आफैँ बोली ।)
म अन्टसन्टमा परेँ । केही बोल्नै आएन तर पनि बोलेँ ।
– मैले तिमीलाई प्रेम कहिले पो गरेँ र ? तिमी भ्रममा छौ ।
–तिमीले मलाई प्रेम त गऱ्यौ कि गरेनौ थाहा भएन तर यो भ्रमचाहिँ होइन ।
यस्तो दावाका साथ बोलिराखेकी छे मानौँ ऊ मेरो प्रेमको हकदार छे । को हो भनेर मैले छुट्याउनै सकिनँ । मनभित्र आँधी चल्यो । केहीबेर आफूलाई सम्हालेँ ।
– किन डर लाग्यो ? हुन त तिमीले दुनियाँसँग प्रेमको नाटक गरेको हुन सक्छौ । कुन चाहिँ भनेर छुट्याउन गाह्रो भयो होला है ?
अब त म झसङ्ग भएँ । आजसँग कसैको प्रेममा पर्ने त्यस्तो सौभाग्य कहाँ मिल्नु मलाई । आफूले प्रेम गरे पनि गर्नुपर्नेहरूले नगर्दिएपछि । म हरेक कदममा हारेर पनि दौडिन नथाकेको एउटा धावकजस्तो छु । यति कुरा मनमा खेलाएपछि उसलाई एउटा म्यासेज लेखेँ ।
– तिमी साँच्ची को हौ भन त ?
– मैले भनिसकेँ त ।
– तिमीलाई आफ्नै परिचयसँग डर लाग्छ हो ?
– लाग्दैन तर तिमीसँग लाग्छ ।
सायद आजसम्म म मान्छे नै छु त्यसैले डराउनु पर्दैन त्यो पनि ठूलो हृदय भएको । एउटा मान्छे कुमान्छे हुन त बेर लाग्दैन तर आजसम्म कुमान्छे बन्नुपरेको छैन र बन्नु पनि पर्दैन होला सायद । मैले जीवनका हरेक यात्राहरूमा ठोक्किन आइपुगेका या स्वयम् म आफैँ ठोक्किन पुगेका यस्तै थुप्रै मान्छेहरू सम्झिन थालेँ कतै त्यसरी मैले स्वयम् प्रेम नै गर्ने गरी कोही स्त्री प्रजातिसँग ठोक्किएजस्तो त लागेन या भनौँ सम्झना आइपुगेन ।
निकै दिनपछि एउटा म्यासेज आइपुग्यो – हेल्लो ! कविजी । कस्तो छ तपाईँको श्यामालाई ?
– हँ ! कसरी थाहा भो । (म झस्किएँ)
मेरी हुनै नसकेकी श्यामा जो मदेखि बहुतै दूर भएकी थिई । जो सम्झनाबाट समेत मेटिइसकेकी थिई ।हराइसकेकी थिई । कसैले सुनाएको थियो कि ऊ यो संसारमै छैन भनेर । म उसलाई कल्पमा ल्याउनसम्म नआओस् चाहन्थेँ । मेरो हृदयले सम्म पनि चाल नपाओस् चाहन्थेँ फेरि पनि उसैको सम्झना दिएर मलाई किन टर्चर गरिरहेकी भन्न मन थियो कतै अरूलाई भनेर आफूलाई हलुका हुने पनि त होइन । यही सम्झिएर आफूलाई सम्झ्याएँ । आफूलाई हलुका बनाउँदै गैरहेको थिएँ । सजिलो बनाउँदै गइरहेको थिएँ । फेरि को हो त्यो अजनबी जसले श्यामाको नामको शूल छातीभित्र चलाइदिई । म पीडाले तड्पिनुबाहेक विकल्प थिएन ।
उसलाई भन्न मन त लागेको थियो – श्यामा ! जो तिमी नाम लिइरहेकी छौ ऊ मरिसकी । संसारमै छैन ।
मैले त बिर्सL पनि सकेको थिएँ । मनबाटै हटाइसकेको थिएँ । हृदयबाटै मेटिसकेको थिए । मस्तिष्कबाटै त्यागिसकेको थिएँ तर आँट आएन ।
– किन बोल्नु हुन्न कविजी । कि उसलाई प्रेम गर्न पो छोड्नुभयो कि ? कि श्यामाभन्दा पनि राम्री कोही सुन्दरीको आगमन भैसक्यो जीवनमा ? तर तपाईँको श्यामा साँच्चीकै सुन्दर थिई ।
मलाई केही भन्नै आएन‚ बोल्नै आएन । को हो यति विघ्न मेरा बारे चासो राख्ने । वास्ता राख्ने । कि श्यामा त्यो दिनदेखि मेरी होइन भन्ने उसलाई थाहा छैन ? यतिसम्मको कुण्डली जान्ने मान्छेलाई साँच्चै यत्ति पनि थाहा छैन त ? कि जानीजानी यसो गरिरहेकी छे । उसको श्यामाप्रतिको चासोले मलाई हिर्काइरहेको थियो । म सहँदै गइरहेको थिएँ । सम्हाल्दै गइरहेको थिएँ ।
श्यामा जो सबैमा एक थिई । मेरा लागि ऊ केही थिई भन्दा पनि हरकोही थिई । अनेक थिई । स्वरूप–स्वरूपमा थिई ।
कहिले सासजस्तो
कहिले साथीजस्तो
कहिले प्रतिस्पर्धीजस्तो
कहिले सहज पिचरोडजस्तो
कहिले तारेभिरजस्तो
कहिले अभिभावकजस्तो
कहिले गुरुजस्तो
कहिले प्रेमिकाजस्तो
र म मलाई बनाएकी थिई मान्छेजस्तो
म त कहाँ थिएँ र त्यस्तो
उसले बनाएजस्तो
कहिले बहुमूल्य त कहिले कस्तो कस्तो
आफैँमा सजिलो आफैँमा सस्तो
अहो ! म फेरि पनि उसैलाई सम्झिन पो पुगेछु । कल्पनामा हराएछु । स्मृतिमा तैरिएछु । हिमालजस्तो पग्लिएछु । खोला जस्तो बगेछु । तालजस्तो थुनिएछु । फेरि आफू मान्छेबाट भागेछु र प्रकृति बन्ने प्रयत्न गरिरहेछु । कुनै पल श्यामासँगको मिलनको आथाह भोकले यस्तै भएको थिएँ । उसैसँगको मिलनको प्यासले काकाकुल भएको थिएँ । आकुलव्याकुल भएको थिएँ ।
अब त उसलाई जवाफ पठाऊँजस्तो लाग्यो । लेखेँ – प्लिज‚ बरु आऊ र धारिलो हतियारले रेटिदेऊ तर बारबार मलाई यसरी नछेड । मलाई नटुक्र्याऊ । यति सहेर बस्नुभन्दा सेरिन चाहन्छु तिमीबाटै बरु तिमीलाई केही बात लाग्न दिने छैन ।
– कति चाहन्छौ उसलाई (उसले लेखी)?
– जतिसम्म चाहँदिन आफूलाई त्योभन्दा बढी । जति चाहन्छ पूर्णिमाले चन्द्रमालाई‚ हरबिहानले रोशनीलाई‚ हरक्षितजले गोधूलिलाई ।
– किन टाढा हुन दियौ त उसो भए ?
– हुन दिएको होइन । नदिँदा नदिँदै पनि टाढा भैजानेसँग नसकिँदो रहेछ ।
– उसलाई सोध्यौ– कि ऊ किन टाढा भै आफूदेखि ?
– निष्ठुरीलाई सोध्न मन लागेन । कुनै दिन त मेरो सम्झना आउला र पक्कै एकबार भए पनि सम्झिन्छे होला भन्ने लागेको थियो र छ पनि । मेरो मायाले उसलाई सजिलै भुल्न त कसरी पो देला र ।
– मैले नसोधेर उसलाई पनि कति पीडा भएको होला भन्ने लागेको छैन तिमीलाई ?
– उसका बारेमा केही थाहा छ तिमीलाई? प्लिज यति हेल्प गर न ।
– उसलाई हृदयबाटै हटाएको मान्छेले किन बुझ्नुपर्यो त । भो छोडिदेऊ उसलाई सम्झिन । सायद अबदेखि उसले पनि तिमीलाई सम्झनाबाट हटाउनुपर्छ ।
मलाई केही बोल्नै आएन र बोलिनँ पनि ।
– तिमीले उसलाई भेट्यौ भने के गर्छौ (उसले लेखी) ?
– मैले गर्न त के नै सक्छु होला र तर पनि उसलाई एक जिन्दगी पुग्ने गरी हेर्न मन छ । महसुस गर्न मन छ । उसको करिब गएर उसैको आँखामा हेर्न मन छ कि आजसम्मको उसले पाएको खुसी‚ आनन्द र सुखानुभूति । उसको जीवनले आजसम्म हिँडेका बाटाहरू हेर्न मन छ । उसको आँखाको भाव बुझ्न मन छ । उसको चरणमा परेर माफी माग्न मन छ कि यो गल्ती मेरै थियो । तर तिमीले आज एउटा कुरा भन्दिनुपर्छ कि श्यामा कहाँ छे?
– आफूलाई हेर‚ महसुस गर‚ आफैँमा खोज‚ आफैँमा भेट्नेछौ उसलाई कि ऊ तिम्रो बहुत करिव छ । एकदमै समीप छ ।
मेरो धड्कन तेजले धड्किरह्यो‚ उसलाई छुने चाहनाले व्याकुल बनायो । उसैको तलतल बढेर आयो । उसैको नशामा डुबेँ ।
उसले लेखी – जुन दिन तिमीले श्यामालाइ सम्बोधन गऱ्यौ र केही पङ्क्ति लेख्यौ उसको पीडाआधा जस्तो भयो । तिमीले हरेक स्पेशल मोमेन्टमा उसलाई लेख्यौ र उसको पीडाको तलाउबाट तैरिन मद्दत गऱ्यौ । उसको सम्बोधनमा कविता लेख्यौ । उसलाई फेरि पनि जीवनप्रति मोह बढेर आयो । आफ्ना लागि पनि अझै कोही छ जस्तो लाग्यो । हरथोक बाँकी नै छ जस्तो लाग्यो । आफैँलाई एकपल्ट छामी । चिमोटी आफैँलाई । ऐनाको अघिल्तिर उभिई र तिमीलाई सम्बोधन गरी र मुस्कुराई ।
उसले अझै लेखी लेखी – तिमीलाई यो सब कसरी थाहा भयो भन्ने पनि लाग्ला त्योभन्दा अघि म नै तिमीलाई यी सब कारणहरूको जवाफ दिन चाहन्छु । आजभन्दा करिब चारबर्ष पहिले तिमीलाई माया गर्ने एक युवती थिई जो तमाम उल्झनले बेरिएर आफैँलाई सेरिए जसरी आजसम्म न जीवनजस्तो न मृत्युजस्तो मात्र बाँचिरही ।
– उसले त बिहे गरेर गएकी होइन आफैँ (मैले सोधेँ)?
ऊ केहीबेर केही बोलिन । यसको कारण यतिबेला सम्म मलाई पनि थाहा छैन ।
उसले लेखी – तिमी केही जरुरी कामले घर गएका थियौ । तिम्रो गाँउमा फोन लाग्दैन थियो । तिमीलाई भन्न हरप्रकारले प्रयास गरेँ तर सम्भव भएन । अन्ततः उसको बिहे भयो । केटा अमेरिकामा बस्थ्यो । घरमा आएको बेला बिहे गरेर अमेरिका फर्कियो । ऊ अमेरिका पुगेको पनि अरूबाटै थाहा पाएँ । त्यसको केही महिनामै खबर आयो । उसको उता छोरो जन्मियो भन्ने आफ्नो आमालाई अमेरिका बोलाई । त्यसपछि ऊ माइती फर्किई ।सबै गल्तीहरूको सजाय आज उसले भोगिरहेकी छे । जो तिमीसँग बोल्ने बाहानामा यसरी आफ्नै प्रेमसँग एउटा झुठ बाँचिरहेकी छे । जो यतिबेला तिमीसँग बोलिरहेकी छे । म तिम्रो तिम्रो जीवनमा शून्य भएर बाँच्न चाहन्छु सिर्फ शून्य ।
– त्यसपछि पुनः म उसको च्याटबक्सबाट ब्लक भएँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।