मातृका प्रधान अस्तित्वबाट स्त्री बनी जन्मिएकी म – वैमित्राकी राजकुमारी । पिताजी । हजुरले आफ्ना स्वार्थका लागि मलाई पुरुष बनाउनुभयो है ? त्यस दिन वैमित्राको द्वारमा हजुरले मेरो जन्मोत्सव मनाउनुभएको थियो रे । वायुको गतिमा निषादगणका किन्नरहरू मेरो आगमनको स्तुतिगान गर्दै वैमित्राको द्वारबाट आफ्ना झोली भरेका थिए रे । त्यो समय हजुर अति नै प्रसन्न हुनुहुन्थ्यो रे । त्यस दिनदेखि आजका दिनसम्म वैमित्रालाई हजुरले छलरूपी शय्‍यामा सुताउँदै आउनुभएको छ । हो पिताजी । म हजुरको त्यो पुत्र होइन । जसले सत्तालाई च्याप्न रक्तधाराको रणसङ्ग्रामलाई मैदानमा बसेर चुनौती दिन सकोस् । गुरु अम्बापाल जसरी कठोर हृदयको भएर आफ्ना कै शिर गिँड्न सकोस् । म त्यो पुरुष होइन पिताजी । जसले आफ्नै हातमा ईश्वरले थमाइदिएका मातृ हृदयलाई त्याग गरि सिंहासनको उत्तराधिकारी बन्न सकूँ । हो पिताजी । म त्यो पुरुष होइन, जसले एउटै शय्‍यामा सयौँ स्त्रीहरूलाई सुताएर रात कटाउन सकोस् ।

मेरा अविकसित अङ्गहरूमा हजुरले अपमान र तिरस्कारलाई मात्र देख्नुभयो । ती निर्दोष मुहारमा हजुरले कसरी आफ्ना सत्ता र गरुणापदलाई बुझ्न सक्नुभयो ? थाहा छैन र मेरो जन्ममा भन्दा पनि मृत्युको समाचार हजुरका लागि खुसी हुने क्षणमा म बुझ्छु पिताजी हजुरको मनमा के बितिरहेको थियो त्यसबेला भनेर ? वैमित्रालाई नव उत्तराधिकारी दिन हजुरलाई पुत्र चाहिएको थियो तर हजुरले बाध्य भएर पुत्रीलाई नै पुत्र बनाउनपऱ्यो ।

इन्द्रासनको शक्तिमा जन्मिएकी एक कन्यालाई हजुरले बलिरहेको अग्निमा उसका अङ्गहरू होमिदिनुभयो । त्यसबेला उसको चित्कारले सारा प्रसुति कक्ष नै गुन्जदा पनि हजुरको मनमा करुणा पलाउन सकेन । अझ हजुरले त ती धरतीलाई पनि जीवितै त्यो अग्निमा होमिदिनुभयो जसले हजुरका लागि पुत्री प्रदान गरेकी थिइन् ।

हो पिताजी । हजुर हत्यारा नै हो । हजुर सत्ताका लागि आफ्नै पिता महाराजको हत्या गर्न चुक्नुभएन । आफ्नै बन्धुहरूको मुहार हेर्न सक्नुभएन भने म कसरी विश्वास गरूँ कि त्यो दिन हजुरले मेरी मातालाई भुलवश त्यो अग्निमा जीवितै जलाइदिनुभएको थियो भनेर । जन्मदेखि आजसम्म मैले कुनै स्त्रीको कोखमा आफू हुनुको क्षण बिताएकी छैन । आजसम्म मैले आफ्नी आमालाई देखेकी छैन भने, पिताजी । हजुरको क्रूर व्यवहारका कारण आज म आफ्नै रूपको खाडलमा जलिरहेकी छु । कहिल्यै सोच्नुभएको छ हजुरले ? स्वर्ग र नरकको स्तुतिमा रम्दै  राज्य, सत्ता, मोहलाई त्याग गरि वैमित्रालाई कुशल चालबाजको हातमा सुम्पने समयमा हजुरको यौवन कसरी बढिरहेको छ भनेर ? म सहन गर्न सक्तिनँ पिताजी, हजुरको कक्षबाट आएको त्यो नारीको असह्‌य क्रन्दन । हो, त्यो नारी पनि मेरै रूपसमानकी हुन । हजुरले कहिल्यै बुझ्न चाहनु भएन र चाहनु हुन्न पनि नारीको मनोभाव । हजुरको कल्पना शक्तिको पुरुष भएर पनि म कति निर्बल छु पिताजी । हजुरको कक्षको द्वार खोलेर म ती नारीहरूको क्रन्दनलाई रोक्न सक्तिनँ । उनीहरूलाई मुक्ति दिन सक्तिनँ  ।

हजुरले माया गर्ने राजदण्डलाई मैले हिजो मृत्यु हुनबाट बचाएँ तर हजुरले किन मलाई बचाउन चाहनुभएन, पिताजी ? राज्य र सत्ताका लागि आजका दिनसम्म हजुरले मेरो उपयोग नै गरिरहनुभयो । म त हजुरको विचारले जन्मेको पुत्र हुँ । हजुरको त्यो विचार फगत एक पागलपन हो । जसको कुनै सीमा नै छैन । म त हजुरको त्यही सन्तान हुँ, जो जीवन र मृत्युको अँगालोमा बाँधिएर क्षणिक बन्न पुगेकी छे ।

हरेक रात हजुरले शय्यामा सुताउने स्त्री र हजुरको कल्पनाको पुत्रलाई कहिल्यै सोच्नुभएको छ ? सारा जनलाई अन्धकारले ढाक्न सक्ने हजुरको तुजुकले वैमित्राको सिंहासनका लागि आफ्नो वीर्यबाट वास्तविक पुत्र किन उत्पत्ति गर्न सक्नु भएन ? हजुरका ध्यान, ज्ञान, मान, अभिमान, हजुरका बन्धुसमान राजा, महाराज, पितृजन एवं वैमित्राको सत्तारूढ सत्य र न्यायिक पक्षको छ भने पिताजी । आज म हजुरलाई एक प्रश्न गर्न चाहन्छु । म कहिले पो पुरुष थिए र ?

प्रेमका हरेक प्रसंगमा एउटा दुष्टको पनि आगमन हुन्छ । आज मलाई आफ्नै कारणले जलाइरहेको छ । कालो फँडा उचालेर नागराज वासुकी मेरा गलामा बेरिन आउँदैछन तर म शिव होइन न नै शिवशक्तिको आदि या अनन्त स्वरूप । हो मेरा अगाडि त्यही कालो नाग उभिएको छ । जो सँगसँगै मैले कलाबाजी गरेँ, शस्त्रास्त्रको युद्धमा पुरुष बनेर उपस्थित भएँ । जसको हात थामेर मैले पुरै वैमित्राको यात्रा गरेँ र  जसको इच्छालाई सुनेर मैले आज सोमरस पान गरेँ । हो त्यही नागराज– गन्धर्व द्रजिलको पुत्र धर्मगुप्त । सुरुदेखि नै म उसको यौवनमा मन्त्रमुग्ध थिएँ । कति स्निग्ध छन उसका जिउडाल । बलिष्ठ पाखुरी, काला चक्षु अनि चन्द्रदेवको उपमामा बलिरहेको उनको कान्तिमय मुहार । हो, म मुग्ध हुँदै गएकी थिएँ त्यस दिनदेखि नै जुन दिन उसले मलाई नरकान्ता नदीको रेतमा स्पर्श गर्नका लागि तयार भएको थियो । अभागिनी त म नै हुँ नि । मैले त्यो दिन उसलाई स्पर्श गर्न सकिनँ । चञ्चल भएका उसको पुरुषत्वले मलाई बोलाउँदै थियो तर मैले स्विकार गर्न सकिनँ उसको त्यो पुरुषत्वलाई । मलाई बाँधेको थियो वैमित्राको विधानले, मलाई जकडाइराखेको थियो पिता महाराजको दमनले । भोलिको राजपाल भन्दै पिता महाराजले राजप्रासादमा मेरो नामको रक्त बगाएका थिए  तर आज …. म सोच्न सक्तिनँ ममा के बितिरहेको छ भनेर ।

के हरेक स्त्रीको मनले सँधै पुरुषलाई नै मागिरहेको हुन्छ ? यो होइन, हामी त त्यही पुरुषका रचना हौँ, जुन पुरुषले हाम्रा रूप रङ्गमा कामुकतालाई जडित गरी आफैँ प्रवेश हुने मार्गको रचना गरे ।

ऊ मेरो कानमा फुसफुसाउँछ, “तिमी स्त्री हौ, राजकुमार । तिम्रा हातले महाराजको राजदण्डलाई भन्दा पहिले नै मेरो यौवनको स्पर्श गरिसकेको छ ।”

म अचम्मित हुन्छु उसका कुरा सुनेर । जोसँग मैले सधैँ पुरुष भएर व्यवहार गरे र आफू कहिल्यै पनि स्त्री भएको कुरा खुलाइनँ । ऊ कसरी जान्दछ म एक राजकन्या स्त्री हुँ भनेर । अनायासै वा उत्तरका निम्ति मेरा ओठहरू थर्थराउँछन, “तिमीलाई सोमले छोएको छ, धर्मगुप्त । अब तिमी आफ्नै सखालाई पनि स्त्रीको रूपले हेर्दैछौ । सायद, यस श्रेष्ठता देखिनु नै यो समयले तिमीलाई वैवाहिक जीवनका लागि उत्सुक बनाएको हो ।”

मेरा शब्द उसका कर्णमा पुग्नु अगावै ऊ मेरो अस्तित्वको परिभाषा दिन चाहन्छ, “होइन देवी । सोमले त तिनीहरूलाई छुन्छ, जो यसमा डुब्न चाहन्छ तर म त ऋषिका निवावरी सिकता (ऋग्वेदको ९र८६ सूक्तिकी नारी) नै भैसके । अब मात्र सोमले नै यज्ञ गर्न बाँकी छ । अस्ति देवीको बारेमा मण्डूकको राजकन्या सुशोभनासँग हजुरको पिता महाराजले कुरा गर्नुभएको थियो ।”

ऊ मलाई निर्देशित गर्दै म स्त्री हुनुको प्रमाण दिन चाहन्छ । ऊ मलाई देवीको संज्ञा दिँदै मेरो अस्तित्व खोतल्न चाहन्छ  अनि म सुन्दै छु उसका कुरा । अन्तमा उसलाई सोध्छु, “महाराजले गर्नुभएको गुप्त कुरा सुन्न तिमीलाई अलिकता पनि सङ्कोच लागेन ?”

“क्षमा देवी क्षमा ।” ऊ एकै झमटमा मेरा अगाडि घुँडा टेकेर निहुरियो । मलाई उसको व्यवहार देखेर आरिस हुन्छ । उसको शरीरबाट आइरहेको पुरुष गन्धले मलाई ऊतिर तान्दै लगिरहेको छ । म कसरी सम्हालूँ आफैँलाई । हुन त यो सबै स्त्रीहरूको समस्या हो तर किन मलाई आज यति औडाहा भइरहेको छ – उसको मुहार देखेर । उसका श्वेत, सुकोमल पाउ मेरा अगाडि झुकेका छन् । म जान्न चाहदिनँ, एक स्त्रीलाई शय्यामा बसाएर ऊ किन यसरी निहुरिएर क्षमा याचना माग्दै छ । म उसको हृदयलाई अझ जलाउने कोशिस गरिरहेकी छु । म उसलाई भन्छु,”धर्मगुप्त । तिमीले महाराजको अपमान गरेका छौ । वैमित्राको विधानलाई अभद्र रूपले हेरेका छौ । के तिमी यति सम्म त सोच्छौ होला नि ? उदण्डताका लागि वैमित्राको विधानले दण्डको तय गरेको छ तर वैमित्राको राजकुमारको विधानमा त्यो दण्ड तिम्रोलागि छैन भनेर ।”

“वैमित्राको भावी महाराजको जो हुकुम ।” ऊ मेरा अगाडि दीन, हीन एवं निर्दोष बनी अझै उभिरहेको छ तर किन ऊ मेरो सामु अझै दुहाइका लागि आफ्ना निर्दोष मुहार मेरा सामु देखाउन चाहँदैन ? वा ऊ किन आफ्ना बलिष्ठ पाखुरीले मेरा शरीरका वस्त्र एक एक गरी उतार्दै मलाई स्पर्श गर्न सक्तैन ? के यो उसको कमजोरी हो ? के उसमा पुरुषत्वको नाममा कुनै रतिराग नै छैन ? वा ऊ मलाई मातृका प्रधान नारीको दृष्टिले हेर्दछ ? यी मेरा मनका विचारहरू आफ्नै अन्तरात्मासँग कुरा गरिरहेका छन । जोसँग म यी सबै प्रश्नको उत्तर माग्न सक्थे ऊ मेरै अगाडि छ र म मौन बसेकी छु उसका अगाडि ।

म उसलाई अन्तिम प्रश्न गर्छु,” म वैमित्राको सिंहासनको रूपमा तिमीलाई स्वीकार गरी जीवनभरि यसरी नै तिम्रो  चरणधुली बन्न चाहन्छु धर्मगुप्त । के तिमी मलाई आफ्नो भार्या (पत्नी) बनाउन तत्पर छौ ?”

उसले मेरा यी कुराहरू सुनिरह्यो । मात्र सुनिरह्यो केही पनि बोलेन । अन्तमा उसले आफ्नो मुहारलाई कर्णकवचझैँ जाज्वल्यमान बनाई मतिर फैलायो । जति खेर मैले आफू पूर्ण स्त्री भएको महसुस गरे । सायद, धर्मगुप्तको प्रथम पुरुषत्वमा मैले आफ्नो द्वितीय स्त्रीरागलाई बगाइसकेकी थिएँ ।

दिनहरू यसरी नै बित्दै थिए, जसरी पहिले बितिसकेका थिए । पिता महाराजको दरबारमा पहिले जसरी क्षमा भन्दा रक्तधारा प्रवल थियो त्यो शृङ्खला त्यसरी नै हुइँकिरह्यो । यो समयमा म कसरी पिता महाराजसँग कुरा गर्न सक्थेँ र म एक पूर्ण स्त्री भई यो राज्य त्याग गर्न चाहन्छु भनेर तर मैले प्रयास नगरेकी भने होइन तर पिताजीको क्रोधाग्नि, हठ, स्त्रीलम्पट व्यवहारसामु मेरो केशराशी पनि उहाँतर्फ मोडिन चाहेन । उहाँको मुखबाट सधैँ मेरा लागि रणमैदानमा गई हत्याको रण मच्चाउनबाहेक अरू कुनै कुरा उठ्दैनथ्यो । तापनि मैले एक दिन साहस गरी भनेँ । जुन दिन मेरो विवाहको कुरा चलेको थियो उहाँको मुखमा ।

“पिताजी । म एक स्त्री हुँ । मेरो हातमा रक्तधाराका लागि तरबार कम मातृममताका लागि मातृत्व शक्तिले ज्यादा आड जमाइसकेको छ । अब म तरबारलाई त्यागी कसैको भार्या बन्ने इच्छामा मुग्धनायिका बनेकी छु ।”

म वर्णन गर्न सक्तिनँ त्यो समयमा पिताजीको मुहार एवं  शान्तिभावमा कस्तो परिवर्तन आयो भनेर तर उहाँले स्पष्ट भन्नुभयो, “यदि मेरो वीर्यले पुत्र जन्माउन सक्ने थियो भने त्यसदिन तिम्रो स्थानमा तिम्री माता जीवित हुने थिइन् । उनी कहिल्यै चाहँदैन थिइन् कि उसकी पुत्रीको इच्छा दमन होस भनी ।” उहाँले कुरालाई प्रस्ट पार्दै जानुभयो, “म तिम्रो पिताको स्थानबाट महाराज बोल्दैछु । वैमित्राको मान राख्नु नै तिम्रा लागि प्रथम धर्म हो । मैले वैमित्राको सत्ताका लागि आफ्नै पिता महाराजको एवं  भार्याको हत्या गरे । बन्धुहरूको मुहार हेरिनँ । मैदानमा सन्धिको त्याग गरी रण  मच्चाएँ ।” उहाँ जति-जति बोल्दै जानुहुन्थ्यो उति-उति  क्रोधको सीमा पनि  बढ्दै गयो । “मलाई बाध्य नबनाएस् । जुन हातले मैले वैमित्राको भावी महाराजको पालनपोषण गरेँ त्यही हातले त्यो सत्तालाई शून्य बनाउन पनि सङ्कोच मान्ने छैन ।”

“तर पिताजी । एक स्त्रीको इच्छाबेगर उसलाई पुरुष रूपमा कायान्तरण गरी उसको उपयोग गर्नुमा के हजुरको ज्ञानले स्वीकार गर्छ ?”

“यदि कुराले नै तिमी मलाई ज्ञानसँग तुलना गर्न चाहन्छौँ भने पुत्र तिमीले यो कुरा भुल्न आवश्यक छैन कि जुन कक्षबाट नारीको असह्‌य क्रन्दनको आभास तिमीले गरिसकेका छौ । सायद, त्यो आभास तिमीले नै भोग्न नपरोस् । यदि वैमित्राको सिंहासन मेरो कुलबाट हट्तै छ भने मलाई श्री ब्रह्‌मा बन्न पनि कुनै सङ्कोच लाग्दैन, पुत्र ।”

“पिताजी । म मान्छु हजुरको विचारलाई । म आदर गर्छु वैमित्राको विधानलाई । हजुरको इच्छालाई स्वीकार गरेर म हजुरको दास बन्न तयार छु तर म एक स्त्री हुँ । यो भुल्न हजुरले पनि कदापि सक्नुहुने छैन । सोच्नुहोस्, एउटी स्त्रीलाई महाराज बनाई वैमित्राको सिंहासनमा राखी राजदण्ड थमाइन्छ भने उसले आफ्नो शेषपछि महाराज त्रशदस्यूको वंशधरको रूपमा वैमित्राको राज्यभार कसलाई प्रदान गर्न सक्छ र  ?”

“मैले तिम्रो लालनपालन एक तृतिपन्थी योद्धा शिखण्डीको रूपमा गरेको हुँ । अम्बालाई पञ्चाल नरेश द्रुपदले आफ्नो कुलमा पुरुष बनाई जन्म गराएका हुन् । त्यस्तै वैमित्राले पनि जन्मसिद्ध राजकुमारीलाई राजकुमार बनाएको हो । अब तिम्रो हातमा युद्धमैदान र वैमित्राको सिंहासन आइपुगेको छ तर तिमीले पनि यो नभुल कि तिमीले कसैलाई आफू उनको भार्या भएको स्वीकार गरिसकेकी छ्यौ । सनातन धर्मले हामी राजा महाराजाहरूकै लागि नियोग प्रथा प्रदान गरेको हो । रैतीलाई अज्ञात पारी जुन स्त्रीसँग तिम्रो विवाह हुन्छ त्यो स्त्रीको हत्या तिम्रै हातबाट हुनेछ । यो शाश्वत हो तर त्यो पूर्व तिमीले द्रजिलको पुत्र धर्मगुप्तबाट गुप्त तवरले एक पुत्रको जन्म गराउने छ्यौ र त्यो नै तिम्रो शेषपछिको वैमित्राको महाराज कहलिने छ ।”

“पिताजी । धर्मगुप्त मेरो पतिदेवको रूपमा बसिरहेका छन् । नियोग प्रथाको नाममा हजुर हरेकबखत किन रक्तधारा बगाउनु नै आफ्नो सिद्ध अधिकार ठान्नुहुन्छ ?”

“यदि देवगणले पनि आफ्नै रचनाको विनाश नगर्ने हो भने तिमीले यो कुरा गर्न उचित हुनेथियो पुत्र । निषादगणका रैतीहरू मेरा रचना हुन् । जसको जन्म हस्तान्तरण एवं  मृत्यु  मेरो अधीनमा रहेको छ ।”

“यदि मैले राजत्यागको नाममा सम्बोधन गर्दै वैमित्राको महाराजको यो गुप्त छल रैती दुनियाँको माझमा प्रकाश पारिदिएँ भने ..?”

यो पहिलोपटक हो मैले पितालाई यति शान्त देखेको । उहाँको मनमा मैले पहिलोपटक प्रेमको अङ्कुरण पाँए । मेरा लागि । उहाँले सौम्य तवरले मेरो कुममा थपथपाउँदै भन्नुभयो, “यो तिम्रा लागि नै अहित हुनेछ पुत्र । जबसम्म तिम्रो कोखमा वैमित्राका लागि महाराजको आगमन हुने छैन तबसम्मका लागि वैमित्राको राजदण्डले मेरो अहित सोच्ने छैन । पुत्र , यदि तिमीलाई यदिको उपमामा आफ्नो घमण्ड चढाउन आफ्नो सिद्ध ज्ञान सम्झन्छौ भने गुरु अम्बापालको हातबाट द्रजिल पुत्र धर्मगुप्तको हत्या गराई तिम्रो कोखबाट महाराज त्रशदस्यूको वीर्यबाट वैमित्राको सिंहासनका लागि उत्तराधिकारी सुनिश्चित हुनेछ । यो नै मेरो अन्तिम निर्णय हो र जुन बालक तिम्रो कोखबाट जन्मनेछ ।  उसैले नै महाराज त्रशदस्यूको कुलवंशलाई  धानीराख्ने वचन ग्रहण गर्नेछ ।”

बाँच्नका लागि सुन्दर तरिका खोज्ने रक्तिम प्रयासपछि म फेरि उही कुरूप चक्रमा पुगेँ । जहाँबाट मेरो जीवनको सुरुवात भएको थियो । अब मलाई यस्तो लाग्न थाल्यो, अन्तिम रातमा द्रजिल पुत्र धर्मगुप्तसँग खाएका ती सबै कसमहरू मैले भुल्नुभन्दा अरू कुनै विकल्प रहेन । मेरो प्रश्न उही नै रह्यो, पितामहाराजसामु, “पिताजी । म कहिले पो पुरुष थिएँ र ?”
उहाँले मेरो प्रश्नलाई सुन्न सक्नु भएन । मेरै मनको आँधीले उहाँको सत्तालाई डगमगाएको थियो । उहाँ जाँदै हुनुहुन्थ्यो त्यो डगमगाएको वैमित्राको सिंहासनलाई स्थिर बनाउन । जहाँ उहाँका कल्प सरिका स्वप्नले दृश्यगत रूप पाउँदै थिए ।

मेरा लागि यो नै शाश्वत वचन बन्नपुग्यो । जसका निम्ति वैमित्राको महाराज बन्न पुगेका मेरा पिता महाराज त्रशदस्यूको अन्तिम निर्णय थियो । “तिमी वास्तविक पुरुष कदापि बन सक्तैनौ । तिमी स्त्री हौ मात्र पुरुषहरूको भोग्या नारी तर मेरा लागि तिमी पुरुष बन्नु नै शनिदेवले तिमीलाई प्रदान गरेका कर्मफल हो ।”

मैले यी कुरा त्यसै रात धर्मगुप्तको नजरसामु तेर्स्याएँ । ऊ खुब रोयो त्यसबेला । नरोएकी त म पनि कहाँ हुँ र ? के पुरुष रुदाँ सँगसँगै हामी नारीचाहिँ रुन हुँदैन र ? जसको स्पर्शले म स्त्री बनेकी थिएँ । उसले मलाई त्यो रात औधी प्रेमले सुम्सुम्यायो । आफ्नो अँगालोमा निकैबेर सम्म बेऱ्यो ।

जुन समय ऊ मेरो अँगालोबाट छुट्टिएको थियो त्यसबेला मेरा शरीरका रोमरोममा उसले छाडेका पुरुषत्वले मलाई रोमान्चित गराउँदै थियो ।

मैले त्यसरात नबित्दै बिहानीको उषाकालमा द्रजिलको दरबारबाट आएको खबर सुने । “धर्मगुप्तले आफ्नो प्राण त्याग गरेका छन् ।”

(……..)

परमेश्वर । तैँले मलाई किन यस्तो दण्ड दिइस् ? पिताजी । म कहिले पो पुरुष थिएँ र ? अनि मलाई यो दण्ड किन ? म सोच्न सक्तिनँ कि गुरु अम्बापालको हातले मेरा अस्तित्वको हत्या गऱ्यो या निर्दयी परमेश्वरले ? मेरा निम्ति पनि म आफैँले तय गरेको शाश्वत शब्द छ परमेश्वर । जानीराख … धर्मगुप्तबिना उनकी भार्या जीवित हुनु कदापि सम्भव छैन । यो कसरी पूर्ण हुन सक्छ कि म आफ्नै पिताको वीर्यबाट आउने राजकुलको बालकलाई वैमित्राको महाराज बनाउन सक्छु ? पिताजी । हजुरले खडा गर्नुभएको यो साम्राज्य, हजुरको यो विधान, हजुरका अज्ञात रैती निषादगणलाई त्याग गर्दै म आफ्नै अस्तित्वको निम्ति प्राण त्याग गर्दै छु । अस्तु ।।