म मान्छे नै हुँ तर कहिलेकाहीँ शंका लाग्छ । मान्छेकै संगतले मलाई मान्छे बनायो अनि अहिले लास । मान्छे नै थिए, मलाई मान्छे बनाउने अनि समाज चिनाउने पनि । अहिले तिनै मान्छे मेरो खुसी लुटिरहेका छन् । सुख अनि सोचसमेत लुटेर लडिबुडी गरिरहेका मान्छे देख्दा लाग्छ, मान्छे कसरी मान्छेबाट अलग भएर अनुहार देखाउन सक्छन् ? मभित्रको बुद्ध निमोठेका छन् । बुद्धसँगै बौद्धिकताको अपहरण गरेका छन् । मेरो मानसिक र शारीरिक बल पनि निचोरनाचर पारेर छोक्रा मात्र बाँकी राखिदिएका छन् । बर्बराएर बाँच्न बाध्य बनाएका छन् । भन यासिका, अब म के गरुँ ?
चन्द्रिकाले आफूलाई सम्हाल्नै सकिनन् । पाँच वर्षपछि स्वदेश फर्किएकी छोरी यासिकासँग वर्षौंको कुण्ठा पोखिन् । सदरमुकामदेखि सात घण्टा हिँडेर घर पुगेकी यासिका थाकेर यसै लखतरान थिइन् । आमाका कथाव्यथाले अझ धेरै गलिन् उनी । प्रतिक्रियाविहीन उनी भित्रैदेखि चिच्याउन चाहन्थिन् । तर उनलाई थाहा थियो, खोक्रो घरभित्र चिच्याएर कुनै उपलब्धि हुने छैन । समाजले नसुनेसम्म चिच्याउनुको कुनै अर्थ छैन ।
झमक्क साँझ परेपछि घर पुगेकी यासिकासँग कतिखेर पीडा पोखौं भएको थियो चन्द्रिकालाई । बर्खाको समय थियो, बाहिरबाट भ्यागुत्ताको ट्वार्र ट्वार्र आवाज एकोहोरो आइरहेको थियो । भदौरे झरी त्यसरी क्रमशः बढिरहेको थियो जसरी आमाका आँसु व्यथा पोखेसँगै झरिरहेका थिए । छोरा पनि छोरी पनि, यासिका नै थिइन् त्यो झुपडीको । पति वियोगपछि त चन्द्रिकाका लागि अभिभावक पनि यासिका नै थिइन् ।
यासिकाले आमालाई अँगालोमा बेरिन् । डाँको छोडेर रुने मन थियो उनलाई । आमाको दयनीय अवस्था बुझेर मन कठोर बनाइन् । आमालाई बिछ्यौनामा सुताइन् र आफ्नै काख सिरानी बनाएर चुपचाप सुम्सुम्याउन थालिन् । चन्द्रिका दलित गाउँमा सबैभन्दा धेरै पढेकी महिला । त्यसबेलै एसएलसी सकेकी । त्यसैले उनले छोरीहरूलाई पढाइमै भविष्य देखाइन् । परिणाम आज पाएकी छन् चन्द्रिकाले, यासिकाले छात्रवृत्तिमा पिएचडी सकेर फर्किनु जीवनकै सुखद् क्षण थियो त्यो । दलित बस्तीमै रहँदा उच्चजातका भनिएकाबाट गरिएको अपमान सहन नसकेर पतिले आत्महत्या गरेका थिए । त्यसपछि उनले अझै दुर्गम यो ठाउँ रोजेर बसाई सरेकी थिइन् ।
तेरो बुबाको जीवन तैँले देखेबुझेकै होस् । पति त्यसरी बितेपछि हामी दलित भनिएका पत्नी कसरी समाजमा निचोरिन्छौं, भन्नु नपर्ला छोरी । तँलाई पढ्न पठाएदेखि समाजमा भोगेका अनेक सास्ती सुनाएर हैरान पार्न चाहन्नँ । छोरीको काख चन्द्रिकालाई लाख भएको छ आज । यासिका पाउँदा संसार नै मुठ्ठीमा भएको महसुस गर्दैछिन् उनी । यासिका डाक्टर बनेको खुसीले संसार उज्यालो भएको छ उनका लागि । त्यसैले त सबै दुःख भुलेको अनुभूति भएको छ चन्द्रिकालाई । अभिभावकको छहारी पाएको ठानेकी छन् छोरीबाट । अबेरसम्म पनि बैनीलाई नदेखेपछि यासिकाले सोधिन्, आमा बोलिनन् ।
छोराकी आमा हुन पाइनन् चन्द्रिका । दुई छोरीले पूर्णता महसुस गर्दै बाँचेकै थिइन् । आफ्नो पीडा सुनाउँदिनँ भनेर कान्छी छोरीको घटना भन्न भूमिका बाँध्दै थिइन् आमा । त्यसै बेला यासिकाले पनि बैनीको कुरो कोट्याइन् । ‘हो छोरी, तेरी बैनी मनिषा… ।’चन्द्रिकाको बोली एकाएक अवरुद्ध भयो । यासिकाको मनमा भूकम्प गएजस्तै भयो । मुटु दह्रो पार्दै चन्द्रिका बोल्न थालिन् । तँ छँदै छिमेकमा भएको सीमाना विवादको सन्दर्भ थाहै होला । त्यसमा तिमेरु दिदीबैनी साक्षी बसेर बोलेको त्यो जमिनदारलाई पचेको रहेन छ । मेरो विपक्षमा बोल्ने कसैलाई बाँकी राख्दिनँ भन्दै थियो ।
त्यसपछि तँ पढ्न गइहालिस् । तेरो पढाइ बिगार्न चाहन्नथें । कहिलेकाहीँ फोनमा कुराकानी हुँदा सबै ठीक छ भन्दै टारेँ । ठीक त त्यसैबेलादेखि थिएन छोरी । मनिषालाई धम्क्याउने, अनेक आरोप लगाउने गर्न थाले । मारेर फालिदिने भन्दै बसिटिक्न दिएनन् । अनेक तरहले दुःख दिए । मनिषालाई नबोलेर मात्र समाधान छ भनेर सम्झाएँ । ऊ पनि सहने मात्र भएकी थिई । हाम्रो पक्षमा बोल्ने जमिनदारको विपक्षी बस्नेत दाइ पनि डरले थुरथुर थियो । एसएलसी आउन लागेकाले मनिषालाई टाढा कतै पठाउन पनि सकिनँ ।
एकदिनको कुरो हो । परीक्षाको तयारीमा भएकाले घरमै छोडेर हटिया भर्न गएँ । फर्कदा झमक्क साँझ परिसकेको थियो । खोल्सोबाट माथि उक्लिँदा होहल्ला सुनें । घरछेउको मकैबारीमा छलिएर कुरा सुनें । जमिनदार गाउँ नै उचाल्ने गरी कुर्लदै थियो, ओइ डल्ली तेरी दिदी कहाँ छे ? तेरी आमा खै ? ए, तिमेरु हामीविरुद्ध खनिने ? दुई चार शब्द के पढेथे सबैभन्दा जान्ने सुन्ने हुनुपर्ने ? तेरो बाउ त टिक्न सकेन तिमेर्को यत्रो हिम्मत ?
गाउँ सबै हाम्रो आँगनमा खनिएका थिए । सबै चुपचाप । जमिनदारका छोरा र आसेपासेले मनिषालाई निमोठनामठ पार्दै थिए । तर पनि मनिषाका पक्षमा बोल्ने हिम्मत कसैको देखिनँ । त्यतिका मान्छेसामू आँगनमा गरेको दुर्व्यवहार मैले पनि हेर्न सकिनँ । मकैबारीमा छलिएँ, निकैबेर आँखा चिम्लिएर भगवान् पुकारें ।
हिंस्रक पशुले झैं आक्रमण गर्न थालेपछि ऊ बेस्सरी चिच्याई । कुटपिट र लुछालुछ गरिरहे मान्छेको भेषधारी ती राक्षसले । म निरीह बनिरहें । घटनाको साक्षी हुनुको विकल्प देखिनँ । कहिलेकाँही त साहस पनि फेरेको श्वासजस्तै आफूबाट अलग हुँदोरहेछ । भएको श्वास पनि दबाएँ र थचक्क बसें । मनिषालाई तिनले घरी फुटबल बनाए घरी भलिबल । त्यो दृष्य चलचित्रमा गुण्डाले गर्ने अभिनयभन्दा कम थिएन । पूरै दृष्य हेर्ने साहससमेत ममा बाँकी थिएन छोरी । मलाई थाहा थियो, म उसलाई बचाउन गएँ भने उनीहरूले मेरो पनि त्यही हालत बनाउनेछन् । मेरो ब्रह्मले भन्यो, दुवैजना लास हुनु हुन्नँ ।
जमिनदार कड्कियो, ए गाउँले हो ! रमिता सकियो अब सबै घर जाओ । लाग्यो, जे गर्नु गरे अब छोरीलाई छोडिदिन्छन् । रमिने बनेका गाउँले चुपचाप घर फर्किए । जमिनदारले इसारा गर्यो । आसेपासे मनिषालाई बोकेर घरभित्र पसे । लागेको थियो, ओछ्यानमा लडाएर घरतिर जालान् । गाउँले गएपछि घरपछाडि पुगें र लुकेर गतिविधि नियाल्न थालें । आसेपासे निस्किए भने छोरीलाई मलमपट्टि गर्ने सूर थियो । तर अचानक मनिषा चिच्याएको आवाज आयो । भुसतीघ्रेहरूले उसलाई पालैपालो लुछिरहेका रहेछन् ।
म चिच्याउन खोजें, सकिनँ । श्वास दबिएर भित्रै पस्यो । भनन्न रिगँटा लागेर आयो । ढलेछु । बेहोस म बिहानको चिसोले ब्युझिएँ, घिस्रिँदै घरभित्र छिरें । मनिषा त यस संसारबाटै विदा भइसकेकी रहिछ । आमाको मुखबाट बैनीको वास्तविकता सुन्दा यासिका बोल्न सकेकी थिइनन् । आमालाई सुम्सुम्याइरहेकी उनी आफैं ढलिन् । चन्द्रिकाले पानी छ्यापिन् । केहीबेरमा यासिका होशमा आइन् । कुखुराको भालेले बिहानीको संकेत गर्यो ।
‘छोरी, उज्यालो हुनुअघि तँ यो गाउँ छोडेर भागिहाल् ।’
‘आमा, तपाई यो के भन्दै हुनुहुन्छ ? मेरो तातो रगतले त्यसो भन्दैन । म बुझ्ने र बोल्न सक्ने भएकी छु, समाज मेरो पक्षमा पार्छु अनि त्यो जमिनदारको घरमा आगो सल्काइदिन्छु । मलाई हेर्नु छ आगो सल्किएको घरभित्र कति छटपटी र पीडा हुन्छ ।’
‘हामी दलितका पक्षमा समाज बोल्दैन छोरी । यदि समाज अन्धो छ भने तेरो बौद्धिकता त्यहाँ प्रकाशबिनाको दियो मात्र हुनेछ । आमाको वर्षौंको भोगाइले बोलेको कुरो हो यो । मान्, तँ जहाँबाट जसरी आइस् त्यहीँ जा । म जेनतेन बूढो शरीर घिसारिरहेकै छु, सकुञ्जेल घिसार्छु ।’
करिब एक घण्टा आमाछोरीको दोहोरी चलिरह्यो । अन्ततः यासिकाले चन्द्रिकाको मानमनितो राखिन् । ‘अरिंगालको गोलोमा ढुंगो हानेर जीत हुन्न छोरी’ भन्ने वाक्यले यासिका आमासँग हारिन् । उनले निधो गरिन्, खाटा बसेको आमाको घाउ बल्झाउनुभन्दा झिसमिसेमै कसैले नदेख्ने गरी गाउँ छोडेकै जाति । ‘आमा तपाईंको आशीर्वादले पिएचडी सकेकी छु, म यो समाज सुधारेर तपाईंको सपना पूरा गर्नेछु ।’
चन्द्रिका छोरीसँगको वियोग सम्झेर विक्षिप्त हुन खोजिन् । हत्तपत्त आँसु पुछ्दै छोरीतिर मायालु भावले हेरिन् । ब्याग बोक्दै आँगनमा निस्किएकी यासिकाले भनिन्, ‘आमा, आफ्नो ख्याल राख्नू । म यसै समाजमा अनुहार देखाउन्नँ । अब यो समाज बदल्ने हैसियत बनाएर मात्र पाइला टेक्नेछु ।’ यासिका केही पर पुगेपछि आमातिर फर्किइन् । चन्द्रिकाका आँखा छोरीतिरै एकोहोरिएका थिए ।
काव्य–कुञ्ज, गठ्ठाघर, भक्तपुर
सम्प्रतिः अन्नपूर्ण पोष्ट
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।