यस कथाशृङ्खलाका पात्रहरू छरपस्टिएका छन् अहिले । थाहा पाइसक्नुभएको छ ।

अघिल्लो कथामा गायक अतः vocalist-सित भेट्नुभयो । मूल कथामा देखापरेका तीन पात्रहरूको पछिल्लो खण्डमा चलखेल थिएन । कथामा मात्रै थिएन । अब कथामा चलखेल नहुनु भनेको संसारमै नहुनु त होइन । नलेखिए पनि कथा कहिल्यै सकिँदैन क्या ! कथा रहिरहनु र जीवन रहिरहनु एउटै हो । लेखिएका कथाहरूलाई सहृदयी पाठक चाहिन्छ भन्नेहरू पनि छन् । कथाहरू नलेखिनलाई पनि त बाँचिरहँदो हो । वास्तवमा भन्ने नै हो भने पृथ्वीका हरेक मनुवाले कथा लेखिरहन्छ हरेक दिन । भन्न चाहेको हो— मनुवाले बाँच्ने कथा सबै लेखिँदैनन् । कसैले लेख्छ मनले र कसैले लेखाउँछ पैसाले (सुनेको नि) । हामी पऱ्यौँ मनले लेख्नेहरूमा । अर्थात् मनकारी लेखक क्या ! पैसा नपाएपछि त्यसै त भन्नपऱ्यो बा’ ! लेखेको कथा पत्याउनु/नपत्याउनु चैँ अर्कै कुरो भो । पाठकलाई स्वतन्त्रता छ यसमा । मैले दिएर हुन्छ र स्वतन्त्रता पनि ? त्यो सोच्ने कुरा छ । लेखक बाहेक उब्रिएकाहरू सबैलाई पाठककै स्थानमा राख्ने हो भने कम्ता किसिमका पाठकहरू भेट्टाइने छैनन् । जस्तै−

−पढेर आनन्द लिई चुपचाप बस्नेहरू ।

−नपढी ‘पढेँ’ भन्नेहरू ।

−एउटा खिसी र ढिप्पी बोकी छसाक-छुसुक पढिटोपल्नेहरू ।

−अर्काको गफ सुनेर कपी-पेस्ट गर्नेहरू ।

−कथाको आदिम फर्मेट बोकी ‘यस्तो भएन’ र ‘त्यस्तो भएन’ भन्नेहरू ।

−नपढी बुझ्दिनँ हौ भन्नेहरू । आदि आदि ।

यसैले पो होला है, ‘पाठक’ त यस्तो र त्यस्तो हुनुपर्छ भन्नेहरूले उसको एउटा आदर्श रूप कोरिदिएका छन् क्या ! यो पनि एक किसिमको युटोपियन फलसफा नै हुनुपर्छ भन्छु । अब कतिले कस्ता-कस्ता जनर मनपराउँछन्, त्यसमाथि छलफल र सङ्कथन गर्छन्… त्यसको हिसाबकिताब पनि त राख्नु भएन नि । “मैले पढिनँ किनकि मलाई त्यसप्रति चासो छैन यसैले सबै मैजस्तो हुनुपर्छ”− भन्ने फरमान पनि कतै-कतैबाट आइरहे जस्तो लाग्छ क्या ! बाबा….. अब पुलिसी शासन-सत्ताले गर्दा हाम्रा सबै सपना र आकाङ्क्षाहरू पनि थुनामा परे भनेर नै प्रजातन्त्र कि स्वतन्त्रताको वकालती र खोजमा जमर्किएका हामी− पढत र लेखनमा पनि उस्तै-उस्तै गाइडलाइन र सर्कुलरहरू जारी हुन्छ भने कता पो जानुपर्ने हौ ?

मलाई चैँ तपाईँजस्तो हुनुहुन्छ त्यस्तै स्वीकार छ । म एउटा आदर्श पाठकको प्रिसप्पोजिसन लिएर आएको छुइनँ । तपाईँले पनि मलाई कुनै आदर्श लेखकको आग्रहमा नभुपार्नुस् । अलिअलि दर्शन, अध्यात्म र सिद्धान्तका कुराहरू पढ्न खोजेको चैँ यहाँ संसारमा देखिने र पाइने भ्रमहरूको निवारण हुन्छ कि भनेर मात्रै हो क्या ! जानेको कुरा कहीँ-कहीँ बोल्दा-लेख्दा रिफ्लेक्ट भइहाल्नु त स्वाभाविक नै हुनुपर्ने….. कि कसो ? जान्नु प्रिअक्कुपाइड हुनु हो । भित्र भरिएको जे छ बाहिर पनि त्यै त निस्किने हो क्यारे ! साँच्ची यो ‘आम’ भनेको चैँ के होला है ? माने, यसमा पाठक पनि जोडिदिएर भनिन्छ नि− आम पाठक ! ‘आम जनता’ भनेको त भाषणहरूमा धेरैपल्ट सुनेको तर यो ‘आम पाठक’ भनेको चैँ के होला ? आम जनताको घरमा त दुई छाकको धौधौ हुन्छ । दिन-रात दुःख नगरे घर श्मशानजस्तो हुन्छ । के आम-पाठकको घरमा चैँ कथा र कविताको अनिकाल छ ? अनि ‘आम’-को एजुकेसन क्वालिफिकेसनचैँ कति हुन्छ हौ ? कुनै लेखक स्वयंले आत्मस्वीकार गरेझैँ— यदि लेखक भन्ने मनुवा साँच्चै ‘आयुचोर’ नै हो भने कुनैबेला ऊ यसप्रति सहृदयी भई चोरिएका ती आयुहरूको पुर्तालहेतु आम पाठकको घरमा तेल-चामल बोकी देखापरेको चैँ थाहा पाइराखिएन क्या ! मलाई चैँ ‘आम’-ले पनि पढ्छ भन्ने महाविश्वास राखी लेख्नुपर्छ भन्ने फरमानसित डर-डर पो लाग्नथालेको छ है । पोएट-टर्न्ड-पलिटिसियनमा यै आम-पाठक खोजिहेर्ने चस्को बल्झिउठेको छ । पीतमनुवा अर्थात् पलिटिसियन-टर्न्ड-हर्मिटद्वारा प्रदान गरिएको आइफोन बोकेर ऊ भौँतारिरहेछ अहिले । म यस्ता धेरै ‘आम’-हरूलाई चिन्छु नि । पुऱ्याइदिऊँ उसलाई एउटासम्म ?  त्यो मनुवा आम चैँ हो तर पाठक चैँ हो-होइन, थाहा छैन तर नहुनुभन्दा कानो मामा निको भनिन्छ नि ? हौ त्यस्तै….. आज हामी आम-हरूमा पाठक खोज्न जान्छौँ है । यो काम गर्ने हो मिस्टर पोएटले, किनकि उसलाई किताबको लत लागेको छ आजकल र उसको किताबलाई पाठकको दर्कार छ ।

कथा लेख्छु भनेर बसेको गनगन पो पोखाउन थालेछु बा’ ! तै, गनगनमा पनि खिल्ली-को छेस्का त छ हैन ? ल भैगो त । ढिलो-छिटो कथा त पसारिने नै हो नि तपाईँसम्मुख ।

अघि माथि मनको कुरा निस्केको थियो । त्यैबाट कथागमन गरौं कि कसो ! अँ….. मन भन्नु पनि बाँचिन्जेलसम्म त रहेछ नि ! मरेपछि त मनको अस्तित्व र वेल्यु भेट्न सक्या छैन । भनेपछि जीवनभरिलाई रहेछ मन पनि….. हैन र ? यतिबेला मलाई हाम्रो गाउँमा गाइने एक मारुनी गीतको सम्झना भइराख्या छ । ख्याली तालमा त्यस गीतको शब्द यस्तो थियो—

हिमालचुली पारिपट्टि देखिन्छ हाँगे बर

बरैमुनि शीत पन्धेरो

बाँचिन्जेल हाँसौँ खेलौँ

मरेपछि देशै अँधेरो ।

बाँच्दा देखिने ‘शीत पन्धेरो’ र ‘हाँगे बर’-को कुरा त पत्यारिलो नै छ तर यो मरिसकेपछि भने कुन ‘अँधेरो देश’ भेटिएला त ? गाउँले बुढाहरूले यसै बताइराखेनन् । हामीले पनि खै कहाँ सोध्न भ्यायौँ र ? तर बताउन पनि के सक्थे तिनीहरूले….. आफैँहरू त कतातिर अलप भए कुन्नि ? उनीहरू गएका देश अँधेरो थियो कि उज्यालो ? − के जान्नु ? तर त्यै गीतहरूको अनुपस्थितिले भने हाम्रो गाउँ अँधेरो-अँधेरो भएको छ । हिउँद न बर्खा, दुई छाकका निम्ति गालेपछि तिहारको अलिकति रमाहटमा ती गीतहरू मादलसँग रन्किन्थे । ठेला उठेका हत्केलाले मादल ठोक्दै अनि हरिनाथ पल्टेका कुर्कुच्चा बजार्दै उनीहरू आफ्ना दुःखहरूलाई रिदम दिने गर्थे । यसो गर्दा मारुनी भई नाच्ने एकजना कालुराम भन्नेले त छेउछाउका कतिपय मादलेहरूका बुढीऔँलाधरि फुटाइदिएको थियो । हुन पनि कालुराम जहिल्यै खालीखुट्टा बजार्दै हिँड्ने गर्थ्यो र त्यो हिँडाइमा झिनामसिनाहरू सबैसबै पिसिने गर्थे क्या ! त्यसरी मारुनी नाच्दा लगभग १०जना जति मादलेहरूको बुढीऔँला फुटाइदिइसकेपछि भने कालुरामलाई नाच्नदेखि ब्यान गरियो । ब्यान भएपछि कालुराम प…र पात्तले खोल्सामा गएर खुप रोएथ्यो र फेरिफेरि ऊ कहिल्यै पनि मारुनी नाच भइरहेको ठाउँमा देखा परेन । ऊ मर्दा आकाशमा कालो बादलको मुस्लो देखा परेको थियो र त्यस बादलले मादलजस्तो आकार लिएको थियो । सबैले भने— हन यो त काइँला बुढाको मादल पो हो त !

काइँला बुढा मारुनीको गजब जानिफकार अनि फ्यान थियो । नाच सुरु गर्दा गाइने ‘सखी’ उसले बाहेक कसैले पनि फलाक्न सक्दैनथे । ३३ कोटी देवी-देवताका नाउँ पुकार्दा-पुकार्दै कहिले बुढा आफैँ काम्नलाग्थ्यो । बिचैमा नाच रोकवरी अदुवा र अछेता हातमा लिई फुकफाक पार्थ्यो र नर्मल हुने गर्थ्यो । थरथराउँदो सोरमा बुढाले जब गाउँन लाग्थ्यो परिवेश नै एकप्रकारको बोझिल हुनेगर्थ्यो । हरेक सालको दसैँ बितेपछि गाउँलेहरूले मादल र काइँला बुढाको सम्झना गर्ने गर्थे । उसैको घरबाट सुरु हन्थ्यो नाच । नलेखिएका अनेक अनेक कथाहरू बखान्ने त्यस नाचका गीतहरूमा कहीँ-कहीँ काइँली बुढीहरूको पनि जीवनगीत बज्ने गर्थ्यो—

उकालीको भैँसी गोठ हा…

बगले थापाको बगले थापाको

उकालीको भैँसी गोठ हा… ।

खानु पिउनु माइती घर ए लै

बचनै मापाको ।

कुन चेलीको कथालाई यसरी बुनिएको होला जो माइतीमा बसेर खाँदासमेत ‘वचन’-को भिक्टिम हुनपऱ्यो ? के उसको पतिले उसलाई हेला गरेको थियो अथवा उसको पति मरेको थियो ? जसका लागि उसले आफ्ना माता-पिताको घर त्यागेर आएकी थिई र कुन गवैयाले होला उसको त्यै पल अमर बनाइदिएको थियो—

सुनै रूप फूल फुल्यो हा…

काँकरी झ्यालैमा काँकरी झ्यालैमा

सुनै रूप फूल फुल्यो हा… ।

मोतीजैसो आँसु झऱ्यो ए लै

छुट्टिने बेलैमा ।

मादलमा औँला पड्काउँदै एकदिन काइँला बुढा गाउँदै थियो । रातो माटोले भर्खरै लिपेको सिकुवामा । मेलाबाट घर जागुलो खानआउँदा बिचको समयमा ऊ सधैँ त्यसरी मादलसित हुन्थ्यो । उसकी जेठी छोरीले मगमा फिक्का चिया हालेर पुऱ्याउन गएकी थिई । ऊ त्यहाँ पुग्दा मादल बज्न छाडिसकेको थियो । काइँला बुढाको शिर मादलमाथि घोप्टिएको थियो । छोरीले हलाउँदा एकातिर लडिझरेको थियो । एकैछिनमा गाउँलेहरू त्यस घरमा भेलिसकेका थिए रफन-दफनको बेला बुढाको मादल पनि चिहानमै लगाइदिने मतो भएको थियो तर मिस्त्री बुढा भने त्यै मादल समातेर रुन थाल्यो− घ्वाँक घ्वाँक । सबैले सल्लाह गरे, त्यस मादललाई मिस्त्रीकै जिम्मा लगाउँने । त्यसबेला, अलि परबाट कालुरामले पनि छड्के पाराले मादलतिर हेरिरहेको थियो । मिस्त्री भने खुसी हुँदै मादल बोकेर घरतिर लाग्यो ।

वर्षहरू बिते । गाउँलेहरूले काइँला बुढालाई बिर्से तर तिहारको सयपत्रीको बासना आउँदा भने मादल बजेको सोर पनि सुन्थे । एकदिन सबैले मिस्त्रीलाई भने— लु काइँला बुढाको मादल पनि तिम्रैमा छ । मारुनी जगाऊ बुढा ! मिस्त्रीले ‘हुन्छ’ पनि भन्नसकेन । तिहारको औँसी आइपुग्यो र मिस्त्री मादल भिरेर काइँला बुढाको आँगनमा देखापऱ्यो । उसले फलाकेको ‘सखी’-बाटै सुरु भयो त्यो सालको नाच । छक्क परेर सबैका आँखाहरूले उसैलाई ताकिरहे । त्यसपछि त हरेक साल यो गाउँमा मादल घन्कियो र लहसिए पैँतालाहरू—

दाना दर्प कुबेरैको हा…

यही जीवन जेमाराजको

यही बोली बचनै त

नलैजाऊ जेमाराजै

यही बोली वचनै त ।

तर क्रमशः …..सबैकै बोली-वचनहरू हराउँदै गए गाउँघरबाट । जेमाराजले नै लगे-लगेनन् कुन्नि ? तर हराएका ती बोलीहरू कहिल्यै फर्किआएनन् फेरि । मादले र मारुनीहरू जसरी हराउँदै गए मादल पनि त त्यसरी नै हराउँदै गयो नि । एउटा कुरा− तिनीहरू पनि आम नै थिए तर अहिले छैनन्….. हराएकाले छैनन् । यसैले, पोएटले तिनीहरूसित गुफ्तगु गर्ने कुरै आएन । आउनुस्, अर्कै आम-को खोजीमा लागौँ अब । यसका लागि कुनै ग्यादरिङ सही हुन्छ किनकि आम-हरू एक्लै उभिन र बोल्न नसक्ने हुन्छ । स्पिवाक र गुहाको सबाल्टर्न जस्तो क्या ! अब त्यस्तो पनि हो/होइन, किटान चैँ गरिहाल्न नसकिएला । तरै पनि संसारमा ठूला-ठूला लडाइँ र क्रान्तिहरू यस्तै आम-हरूको सहभागितामा गरिएका छन् । चाहे फेरि नयाँ सत्ता कायम गरिएपछि किन नै पछि गएर त्यै आमहरूलाई नै सताउने र चुस्ने काम नगरिएको नहोस् क्या ! यसबाट एउटा कुरा चैँ स्पष्ट हुन्छ कि आम पनि सत्तासीन भएपछि आम रहँदैन । समूहको कुनै अनुहार नभएको कारण आम-को पनि अनुहार हुँदैन । आम-सित डराउनु परेको कारण चैँ योसित सत्ता हटाउने र सत्ता बनाउने ताकत हुन्छ । लेखक पनि लिटरेरि वर्ल्डको सुपरहिरो बन्न चाहेकोले ऊसित पनि सत्ताको भोक हुन्छ । यसैले ऊ नयाँ-नयाँ शब्दको, विचारको खोजमा किताबहरूतिर भट्किरहन्छ भन्या ! पोएटलाई पनि यस्तै आम-हरूको खाँचो भइराख्या छ अहिले । आफ्नो पोएट्रिको किताब छापिएपछि उसको पनि इच्छा छ− त्यो आम-हरूका बिचमा जावोस् । त्यै आम-हरूबिच बनेको डिस्कोर्सले उसलाई हिरो बनाओस् । ए बाबा….. आम-हरूले पनि डिस्कोर्स बनाउनसक्छन् र भन्या ?

गोजीमा आइफोन बोकेको पोएट एउटा तेर्सो बाटोतिर एन्क्रोच गरिरहेको थियो । उसले सुन्यो− केही तलतिर एउटा सामूहिक हल्लि-खल्लि छ । मुन्टो बटारिहेर्दा थुप्रै आम-हरूको आवत्-जावत् देख्यो । मौका सुनौलो नै भन्नपर्ला, किनकि त्यो जमघटभित्र एउटै पनि आम छैन भन्न सकिन्नँ के ! सुइरे गोरेटो केलाउँदै केही तल झरेपछि पोएटको भेट एकजना बिँडीतनुवा आम-सित भयो ।

सोध्यो— के भइराख्या हो याँ ?

बोलिहालेन बिँडीतनुवा । एकछिनसम्म पोएटको शिरदेखि पुच्छरसम्म निहारेर बिँडीको ठूटा भुईँको माटोमा धस्यो ।

भन्यो— मरौ भइराख्या छ के !

—मरेको चैँ को हो नि ?

झरेको आँसु पुछ्दै भन्यो— छोरी क्या । मेरो छोरी ।

—आँसुमा त निक्कै पीडा घोलिएको थियो नि ?

—मेरो सपना पनि मऱ्यो नि त ?

—हैट ! छोरीको चैँ थिएन सपना ? अर्काको मानस र ज्यानमा पनि गाड्ने हो र पराया सपना ?

—छोरी त मेरो हो नि । तिम्रो हो र ?

—तिमीले पनि बोक्या थियौ त तिम्रो बाऊको सपना ?

—काँ बोक्नु नि ! याँ आफ्नै सपनाको भारी त कम्ता गह्रुङ हैन ।

—अन्त पुग्यो त ?

—के ?

—सपना ?

—खै ….. !

 

एकछिन दुवै चुपचाप भइगए । पोएटले आँगनको ग्यादरिङतिर आँखा घुमायो । सल्याङ-मल्याङमाझ कुनै आम-alias common-को अनुहार समात्न खोजिहिँड्यो ।

—याँ कुनै आम भेटिएला ?— सोध्यो ।

—आँप कि आम हौ ?

—अङ्ग्रेजीमा कमन औ common भनिन्छ नि ? हौ त्यो आम क्या ? आँप हैन ।

—ए….. आम जनता भन्या हो ? त्यो त सुन्या हो । नेताजीहरूले भनिबस्छन् नि ।

—करेक्ट । त्यै आम हो….. तर मैले भेट्न खोज्या चैँ आम-जनता हैन आम-पाठक हो क्या !

—अब यो पाठक चैँ कुन चरीको नाउँ हो ? बताउनुपऱ्यो क्या ।

—मुनखे नै हो, चरी हैन । यसले चैँ किताब पढ्छ । देख्या हो किताब ?

—देख्या हो । छोरीले झोलामा टनटनी बोकेर स्कुल धाइरन्थ्यो….. बिचरा खुस्किगो !— फेरि आँसु झारेर पुछ्यो बिँढी-तनुवाले ।

—पढेका छौ त एउटासम्म ?

—छैन छैन । बिहान उठ्, वस्तुलाई खोले पका, फेरि घाँसमा जा, खोरे खन, बिउ-बिजन रोप्, मल ओसार, भएन बेचबिखनमा जा, हेन गर् तेन गर् । खै कतिबेला भ्याउनु र पढ्नु ?

—अन्त तिमीचैँ आम-भित्र पर्दैनौ ?

—पर्छु । आम-जनताभित्र पर्छु । आम-पाठकभित्र चैँ हैन क्या ।

—अन्त याँ चैँ के गरिबस्या हो ? घरमा मरौ भइराख्या छ, कामसाम छैन गर्नुपर्ने ?

—मर्नु त अस्ति नै मरिसक्या हो र गाडिसक्या पनि । आज त एसो चोखिने काम मात्तै पो । म त वाक्कै भइसकेँ हौ मनुवाहरूसित पनि । आज झन्नै हप्तादिन भइसक्यो । बेलुकैपिच्छे यिनीहरूलाई भात खुवाइरनुपर्छ । अब पछिको दिनहरू पो कसरी काट्नुपर्ने होला !

—हैट, के गनगन हो यस्तो !

—त्यै सुन्नुलाई त याँ देखापऱ्या होला ! मैले बोलाको थिएँ र तिमीलाई ? के हो नाउँ चैँ ?

—लेखक हुँ क्या । कविता लेख्छु म ।

—ए….. र पो पढ्ने आम खोजिहिँड्या हो ? भो म चैँ पढ्दिनँ ।

—सुनाएँ भने ?

—सुन्दिनँ पनि । कानको किराय दिने हो भनेदेखिन् चैँ सुन्ने ।

—थैत्, मेरोमा पैसा छैन । खासमा मैले त तिमेरूकै दुःख लेख्या थिएँ नि….. सुन्नुपर्दैन ?

—कोसले लेख्नु भन्यो त मेरो दुःख ? मनुखे-दुःखको पनि बेपार गर्छौ हँ ? तेसको पनि पैसा देऊ ।

—थैत् ! कस्तो किरिङटोकसित भेट भएछ । म लागेँ— भन्यो र हिँड्न पनि लाग्यो लेखनदास ।

बिँडीतुनुवासितको भेटघाटले खासै ऊर्जा दिएन पोएटलाई । उसैद्वारा प्राप्त जानकारीअनुसार मरौघरमा भेलित जमघट पनि मस्तिर मात्र सल्किएको थाहा भयो । के खास पाइएला र त्यहाँ ? आ….. डिङ्गो घिसार्दै ऊ लम्किनथाल्यो । अलिपर एउटा घरको आँगनमा पनि ५-६जना मनुखेहरू बाट गरिराख्या झैँ देखिन्थे । पोएटलाई त्यहीँ जाने सुर चढ्यो । पुग्नपुग्न लाग्दा भिडबाट एक मरुन हुडिम्यान निस्किआयो । उसको ओँठमा खिलेको थियो चिनेको एउटा मुस्कान ।

चिनेरै होला, सोध्यो— ए हेलो ! कतातिर हौ ?

पोएटले पनि पुरानो पार्टनरलाई ठिम्यायो— आम्मामामा, मनुखे ! लङ्ग लङ्ग टाइम पो नो सि त हौ ।

दुवैले आ-आफ्ना आदिम मुस्कानका छेस्काहरू फैँकाफैँक गरे । हि हि ह !

—म याँ केही जन पुरस्कार अप्रापकहरूको नाइटे ज्यामिरे अनुहार हेरिराखेर फर्किरा’छु के ! मज्जै आयो हाँसिराख्नु− हि हि ह । तिमी चैँ ?— भोकलिस्ट ।

—के हो यो पुरस्कार अप्रापकहरू भन्या चैँ ?— सोधेको जवाफ चैँ नदिएर उल्टै पो सोध्यो पोएटले ।

—सुन्ने नै हो ?

—अन्त के गुन्ने हो त ?

भोकलिस्टले छोटकरीमा पुरस्कार-क्रोनिकल न्यारेट गऱ्यो ।

—ए….. भनेपछि यो जत्था त लेखकहरूकै पो रै’छ क्यारे ?

—हो नि । तिमीलाई चाइएन यिनीहरू ?

—म त लेखक हैन पाठक खोज्दै हिँड्या हुँ । आम-पाठक क्या !

—कसको कुरा गऱ्या हो तिमीले ?

—ए लट्ठकराम ! ती लेखकहरूले लेखेका किताब चैँ कसले पढिदिने हो ? जान्या छौ ?

—ए….. पढ्नलाई पो लेख्या हुन् ती किताब ? म त लेख्नु मन पर्दा पो लेख्या होला सोच्थे त । भोक लाग्दा भात खा’जस्तै क्या !

—हैट ! कस्ता कस्ता गट्ठेहरू पनि हुँदारै’छन् हौ संसारमा । खै छाड— भन्दै तेर्सिएको बाटोतिर घचेटियो पोएट ।

भोकलिस्ट चैँ कतातिर घचेटियो कुन्नि ? पीतमनुवाद्वारा आवण्टित अलग-अलग एसाइनमेन्ट लिएर बाँटिएका हुन् ती पात्रद्वय । अब सब्जेक्ट नमिलेपछि एकैठाउँ गुजुल्टिरहने काम पनि रहेन नि त ! मादल भिरेको काइँला बुढा हुनुहुँदो हो त पक्कै गाउँने थियो योबेला— चलौँ लस्कर ए है चलौँ लस्कर ! उत्तरै दिशा साइतै जुऱ्यो चलौँ लस्कर !

निक्कै फर्लङ्ग हिँडिसकेपछि बल्ल….. एउटा वनपाला जस्तो देखिने ठाउँमा पुग्यो पोएट । त्यहाँ उसले देख्यो− २वटा खुट्टामाथि एउटा घाँसको भारी हिँड्दै ऊतिरै आइरहेछ । घाँसबोकुवा त पक्कै पनि आम नै हुनेगर्छ तर इन्टरेस्टिङ कुरा चैँ के पनि देखियो भनेदेखिन् घाँसबोकुवाको हातमा खोल उक्किसकेको भए पनि एउटा किताब देखियो । सायद यही दृश्यले उसको आम-पनालाई पाठकसित पनि जोड्छ कि ?− आम-पाठक ! पोएटभित्र आशाको टुसा पलाएजस्तो भो क्या ! आशा पलाउनु त राम्रै हो । त्यसले जीवनतिर बग्नु प्रेरित गर्छरेन्त । मर्नु त ऊ पनि काँ चाहन्छ र ? अमर पनि को पो छ र नि ! मर्नु त पऱ्यो नै १ दिन ।

हेर्दाहेर्दै घाँसबोकुवाले भित्ताको कान्लामा भारी बिसायो  र कमेजको बाहुलाले निधार पुछ्यो । ‘सुइसुइ’ सुसुला पारेर हावा बोलायो । निधार र गाला केही सुक्खा भएपछि हातको भग्न किताबको पाना पल्टायो ।

—के पढ्या हौ घाँसी दाइ !

—केही पढ्या हैन— भन्दै किताब बन्द गऱ्यो उसले ।

—अन्त यो चैँ ?— किताबतिर औँल्यायो पोएटले ।

—ए….. यो त हैन किताब सिताप ।

—अन्त के त ?

—यो त पिरिमपत्र हो क्या !

—बाक्लो पो छ त अन्त !

—बाक्लै हुन्छ नि अब । पिरिम पनि लामै गरिएको होन्त ।

—कसलाई गऱ्यौ पिरिम ? कसले गऱ्यो पिरिम ?

—किन चाइयो तिम्लाई ? पिरिमभन्ने कुरो त केटाले केटीलाई र केटीले केटीलाई गर्ने चिज हैन र भन्या ?

—ए….. तेस्तो पो हो ? अन्त तिम्रो पिरिमको चिनोचैँ यति किताब भएरै सकिगो त ?

—अन्त के त ! तिमीलाई चैँ सिनेमाको कथाजस्तो लाग्यो हाम्रो पिरिमकथा ?

—हैन हैन । पिरिमपछिको बिहेमा नटुङ्गिनु पनि सक्छ नि पिरिमकथा त । तिम्रो जस्तो क्या— अब भने चैँ हाँसहाँस उठ्न थाल्यो पोएटलाई ।

—हौ तेसो भनन सोम्फे । सुन्ने हो मेरा पिरिमबेथा ?

—अहँ नसुन्ने, मलाई था’ भैगो क्या ।

—के था’ भो ?

—यै कि तिमीले पनि गाउँकी एउटी केटीलाई मन परा’की थियौ । उसले तिम्लाई पिरिमपत्र लेख्थ्यो । एकदिन उसले तिम्लाई छाडेर अर्कैसँग पोइला गई । तिमी एकलो भयौ । तिम्ले ती पिरिमपत्रहरूको किताब बनाएर घाँसमा जाँदा पढिरन्छौ र आँसु पुस्छौ ।

—ला जानिस् । यो पिरिमपत्रहरू उसले मलाई लेख्या हैन के ! मैले उसलाई लेख्या हो । पोइला जाने दिन पर पाखामा घुँइकाखिछे । भेलाएर मैले किताब बना’को….. था’ भो त अब ?

घाँसी दाइको कुरा सुनेर अरकच्च पऱ्यो पोएट ।

—अन्त तिमी आम-भित्र चैँ पर्छौ कि पर्दैनौ ? त्यो पनि जान्नु छ हौ मलाई— कुरा बङ्ग्याउन खोज्यो पोएटले ।

—आम….. कसको गड्ड्याम नाउँ हो एस्तो ?

—नाउँ हैन के । प्रोफेसन जस्तो हो क्या !

—कस्तो खैराँत प्रोफेसन हो यो ?

—आम-जनता भनेको त सुनेको ?

—अँ सुनेको । बेहिसाब सुनेको ।

—तेस्तै हो यो पनि तर मैले खोज्या चैँ आम-पाठक हो घाँसी दाइ !

—काम चैँ के हो तेस्को ?

—किताब पढ्नु । तिमीले पिरिमपत्र पढेजस्तै ।

—एउटा कुरा मनमा खिल परदेशी ! त्यो प…..रको घर देख्दैछौ ?— पीडित प्रेमीले कता हो डाँडातिर औँल्याइपठायो— तेसलाई चैँ स्कुल भनिन्छ । त्याँ किताब पढ्ने थुप्रै स्कुलेहरू छन्….. तेता जाऊ । तिम्ले भनेको आम-पाठकहरू तेता हुनसक्छन् । मचैँ मेरै पिरिमपत्रबाहेक अरू केही पढ्दिनँ । था’ भो हैन त ? अनि अर्को कुरा मलाई ‘घाँसी दाइ’ चैँ नभन । मचैँ देवदास हुँ क्या देवदास− नाउँले पनि र कामले पनि ।

अचानक पोएटलाई हाँस उठेर आयो— हि हि हि !

—केको हि हि हि ! गधा हौ तिमी ?

—हा हा हा ! देवदास….. हा हा हा । हा हा हा….. !

—चुप । मेरो पिरिमको खिल्ली उडाउँछस् ?

—देवदास….. हा हा हा हा !

भारीबोकुवा आमको मुखबाट बोली फुटेन । रिसको रन्कोले फन्को मार्दै भुईँको ढुङ्गा टिप्यो । पोएट भने हाँस्दै दगुऱ्यो । देवदासले उसलाई ढुङ्गाले लोहोर्दै परपरसम्म लखेट्यो । एकैछिनमा पोएट लापत्ता भयो तर पनि उसले फ्याँकिराखेको ‘हि हि हि’ चैँ निक्कै बेरसम्म गुन्जिबस्यो ।

वनपालाबाट बेपत्ता भएको पोएट पिरिमपीडित घाँसीले औँल्याएको स्कुलाँगनमा देखापऱ्यो । स्कुल पुग्नअघिनै मूत्रविसर्जन गर्दैगरेका केही स्टुडेन्ट्स भेटिए । निवृत्त भएपछि पोएट उनीहरूको छेउमा गएर सोध्यो— आम भनेको चिन्छौ तिमेरूले ?

—हिन्दी भाषामा हो भन्देखिन् चैँ आँप हुनुपर्ने । काँ हो त आँप फल्ने सिजन अहिले ? — भन्यो एउटाले ।

—मैले भन्नखोजेको आम चैँ इङ्गलिसको common हो क्या !

—अँ चिन्छौँ । commonसित त जैले भेट भइरन्छ के— अर्कोले भन्यो ।

—कस्तो common हो यो जैले भेटिने ?

—भातको कुरा गर्छौ भने हामी सबैकै घराँ कमन चामल पाक्छ । भोकको कुरा गर्ने हो भन्देखिन् त्यो पनि कमन नै हो । खेतीको कुरा गर्छौ भने हाम्रो गाउँमा प्रायः कमन अन्नहरू उमारिन्छ । चौपायाको कुरा हो भने गाई, गोरू, बाख्रा, कुख्रा सप कमन छ याँ । मनुवाको कुरा गर्ने हो भन्देखिन् याँ सप्पैकै अनुहार नाइटे ज्यामिरमार्का कुच्चिएको देखिन्छ । लौ भन… अरू कति कमन चाइयो ?

—तिमीहरूचैँ के हौ ?

—हामी पनि कमन नै हौँ । हामीजस्तो स्टुडेन्ट जता पनि पाइन्छ ।

—मलाई चाइया हो कमन रिडर । सोफिस्किटेड हैन । छ त यतातिर ?

—कुन हैन रे’ ?

—सोफिस्टिकेटेड क्या !

—रिडर भन्या चैँ…..?

—पाठक भन्या हो । जसले किताब पढ्छ नि !

—यो खाले कमन चैँ….. अहँ पाउन गारो छ हौ याँ ।

—अन्त तिमेरू चैँ पढ्दैनौ ?

—के पढ्नु….. ।

—स्कुलमा किताब पढाउँदैन ?

—पढाउँछ तर नोट्स मात्तै पढ्छौँ हामी । अझ सुनाउने भेटियो त भने मस्तै पो भइन्छ ।

—उसो भए किताबचैँ किन किनिबस्नु ? बाउ-आमाको खर्चै बाँच्थ्यो ।

—के भन्छौ ? घरको अगाडि गमलामा फूल फुलाइन्छ नि….. हौ यो चैँ तेस्तै हो क्या ! बिनाकिताबको स्टुडेन्ट्स कस्तो देखिएला । स्टुडेन्ट्स घर हो भन्देखिन् किताबचैँ गमलाको फूल ।

—ओफ !— त्यहीँ थ्याच्च बस्न मन लाग्यो पोएटलाई ।

—तिमीचैँ को नि ?

भन्न मन नपरीनपरी भन्यो उसले— पोएट । कविता लेखक !

—अहो ! कविता त हामीलाई निद्रा नआएको बेला काम लाग्छ । स्लिपिङ-पिल्सजस्तो । सुनाउनेचैँ हुनुपऱ्यो ।

—फेस्बुकतिर थुप्रैले सुनाइरहेका हुन्छन् त…..— अ डिफेन्स अफ पोएट्रि क्या !

—अनि के त ? त्यै सुनेर त था’ पा’का हाम्ले पनि ।

—हा हा हा कवि… !— पोएटलाई हेर्दै एउटा हाँस्न लाग्यो ।

—हा हा हा हा कविते… !— अर्कोले पनि मुख च्यात्यो ।

फेरि सबै मिलेर हाँस्न लागे । पोएटले कान थुन्यो र ओह्रालै फाल तोड्यो । गोरेटोको किरिङमिरिङ झिझोलाग्दो भयो र ऊ कान्लादेखि कान्ला हुँदै बाँदरे स्टाइलमा तलतिर कता हो कता पुग्यो । ल्यान्डस्केपमा एउटा खोला बगिरहेको थियो । स्कुलेहरूको खिसी गर्नेखाले हाँसोको झनझनाहट त्यसबेलासम्म बजिरहेकै थियो । पोएटले सोच्यो− हिजोसम्म अरूलाई हेर्दै हाँसिरहको थियो ऊ । आज त हन ऊमाथि नै पो हाँस्नलागे बा’….. ! पोएट-मा मेटामरफोस्ड भएपछि उसलाई सेफ जोनमा पुगेजस्तो लागेथ्यो तर यो के ? ऊमाथि पनि मज्जैले हाँस्न त सकिने रै’छ त ! हैन केटा, अब पेसा फेर्नुपर्छ । फेर्नू त फेर्नू….. कुन पेसा अपनाउने हो ? पोएटमाथि हाँस्न सकिन्छ भने पाठक भइदिँदा कसो होला त ? फेरि पाठक भइदिनु त सजिलै छ । ‘पढेँ’ भनेर झुक्काइदिनु त हो नि ! खोल हेरेर किताबको नाउँ टिपेपछि त लेखकअघि दोहोऱ्याइदिनु पर्छ− बस् लेखक त मख्खै । नपढेको भन्नै नमिल्ने पनि हैन, अलिलि त पढिएकै पनि छ । ग्रेभभित्र लडिरहेकै छ नि १०-१२वटा किताबसिताप पनि । हैट, लु उठ् केटा । अब पाठक बन् ।

पाठक बन्नलाई वुल्वरिन स्टाइलमा कान, मुख, दाह्रा, खुट्टा सबै तन्किएर भुत्लैभुत्ला भइरहनु पर्दैन के ! बाहिर त मनुवारूप नै देखिने हो । स्वघोषणामा मात्रै ‘पाठक’ भन्दिनुपर्छ, भैहाल्छ तर यो आम-पाठकलाई नभेटेसम्म आफूलाई आम-पाठक बनाउन अलिक अपठ्यारो परेको छ । भरै कसैले झुट समातिदियो भने के गर्ने ? त्यै पनि सोच्नपरेन त । खोलाको पानी भुँडी भरुन्जेल सन्काएर बाटो लाग्यो कविज्यू ।

खोलादेखि केही टाडिँदै गइरहँदा अचानक एउटा “ठक ठक” सोर पोएटको कानसित जुझ्यो । अलिपर देखियो एउटी लुते बुढिया । गिटी कुटिरहेकी थिई ।

—कसरी पो मार्तोल उचालिराख्नु भा’छ ?

बुढियाले ऊतिर हेरिपठायो तर बोलिपठाएन । लाग्यो होला बोल्ने ताकतले त चारवटा गिटी कुट्छु बरु ।

—बोल्नुभएन त आमा ?

बुढियाले मार्तोल फ्याँकेर ऊतिर हेरिन् । सायद ‘आमा’ भन्ने सम्बोधनले बिझ्यो होला ! आमा पनि बिझ्ने सम्बोधन हो र भन्या ?

—यै बोलीले त मलाई मर्न दिँदैन रै’छ बाबु ! हरेक दिन काल मकहाँ आउँछ र मलाई चिथोरेर छाडिराख्छ ।

—गिटी चैँ किन कुटिरनुहुन्छ ?

—दुइटा छोरा छन् घरमा । उनीहरूको ज्यान बचाइदिनू ।

—काम गर्दैनन् उनेरूचैँ ?

—के गर्छन् काम ? दिनभरि मोबाइल खेलिबस्छन् । मोबाइलले खेलाइरन्छ उनेरूलाई ।

—मोबाइलचैँ कल्ले किन्देको नि… ?

—यै गिटी कुटेर, मैले । भएन− पैसा पनि भर्दिनुपर्छ त्यो मोबाइलमा ।

—उनेरु बाँच्नुको चैँ के उद्देश्य होला ?

—बाँच्नुको त उद्देश्य नहुँदो रै’छ नि बाबु ! आउँदा पनि काँ अर्जिपत्र चढाएर आएका थियौँ र ? तेस्सै फालिएका हौँ संसारमा ।

—अन्त यी सम्बन्धहरू चैँ के हो नि ?

—त्यै पनि झूटा हुन् । बाँचिरहँदा मायाका हजार बाक्केहरू बोलिरहनेहरूले मरिगएपछि कहाँ-कहाँ याद गरेका छन् र ? मेरै बुढा मर्दा मलाई कति दिनसम्म पिसाब फेर्ने साथी चाइएको थियो । कसले हो गीत गाउँदा पिरिम भनेको २ आत्माको मिलन हो भन्थ्यो….. मरेपछि त्यै आत्मा भूत भइदिँदो रै’छ ।

—अन्त याद आउँदैन बुढाको चैँ ?

—के आउनु ? याँ आफ्नै ज्यान घिसार्नु त कता हो कता ? फेरि यी २ बेकामे पुत्रहरू पनि त उसैको नासो हो । बुढाको सहवास खपेको, ९ मैना भुँडीमा बोकेको, दूध खुवाको, हुर्काको-बढाको….. ती सपको हिसाब त गरेकै पो छैन ।

—यस्तो दुःखचैँ किन गरिराख्नुपऱ्यो नि अन्त ?

नरोईकन बुढियाले सन्त कवीरको दोहा दोहोऱ्याई—

सुखिया सब संसार है खावे अरू सोवे

दुखिया दास कबीर है जागे अरू रोवे ।

भनिसकेर लामो सास तानी बुढियाले । करङ देखिने छातीले २ माना जति पनि सास तान्न सकेन ।

—घरचैँ काँ छ आमा तिम्रो ?

जिरिखिम्टे बुढियाले उँभो जङ्गलतिर चोर औँला तेर्स्याई । उसलाई भुलाइराख्नु अब ठिक लागेन पोएटलाई । ऊ जान तर्खरियो । विदा नमागी ऊ लुरुलुरु हिँड्नलाग्यो एकातिर । वाह रे किस्मत ! पाठक हुनुअघि पाठककै खोजीमा छ ऊ । जाँदै थियो । जाँदै थियो । १ ठाउँ फेरि भाग्दै गरेको गायकसित भेट भइगयो । संसार गोलै रै’छ कि कसो ? विपरीत दिशातिर हानिएको मान्छेसित पो भेट भइबस्छ त बा’ !

—ए… हेलो !— बोलाउँदै सोध्यो —किन कुद्या हो ?

—अघि लेखक-कविहरूलाई हाँसिराख्या थिएँ, मलाई पिट्न तम्सिँदै आउँदैछन् के— भन्दै फाल तोड्न चाह्यो गायकले ।

पाखुरामा च्याप्प समाएर बोल्यो पोएट— नभाग के ! मलाई तिमीसित काम छ ।

—तिनीहरू नजिक आइसके । म जान्छु ।

—ए कुरो बुझेनौ ? यता आऊ यता— भन्दै गायकलाई बनमाराको मिस्टिक झाडीभित्र तानेर लग्यो पोएटले ।

केही छिनपछि, थुप्रै पयरहरू बज्दै गइरहे । सोरको बोध सकिएपछि दुवैले सन्चोको सास ताने । तिनीहरू तर बाटोमा निस्केनन् फेरि− बनमारा माड्दै झाडीतिरै भास्सिँदै गइरहे । निक्कै पर… रुखहरूको पटेरमाझ बिसाए । उसबेला पश्चिम दिशाको डाँडामा घामले पहेँलो छादिरहेथ्यो । बिहान कहिले हो खाएको, भुँडीले अन्न मागिरहेथ्यो । के खाने होला ? दुवैले त्यहीँ क्याम्प हाल्ने भए । केही लामा-लामा काठ र झ्यासझुसले तयार भयो बसेरा । अब आगो बाल्नुपर्छ । झुलो र डल्सिङ ढुङ्गा खोज्यो कविले । आफ्नो पासुँलामा भिरेको सर्वाइवल नाइफ झिकेर गायकले त्यसलाई ढुङ्गासित जुझाउन थाल्यो । अनेकौँ प्रयासपछि मात्र झुलो सल्कियो । पहिला सिन्काहरू बटुली झुलोको आगो ठूलो पारियो । त्यसपछि मात्र ठूल्ठूला दाउरा झोसियो । आगो त बल्यो, अब खानु चैँ के ? अघि आउँदैगर्दा एउटा जङ्गली केराको बोटले फलिराखेको त देखिएको थियो तर फल भने काँचै थियो । दुवैले त्यै भाँचभुँच पारी ल्याए र आगोमा पोलिखाए । गायकले उसको ब्याकप्याकबाट वाटरबोटल झिक्यो र दुवैले त्यहाँ रहेका पानी सन्काएदिए । आगोको छेउछाउ बसिरहँदा नै दुवै झपकझपक हुनलागे । दिनभरिको एक्जरसनले थकान चुलिएकै थियो । कुरालाई अर्को दिनलाई थन्काएर दुवै बसेराभित्र लम्पसार परिगए । मुसा र भ्यागुताको खोजीमा भौँतारिरहेको एउटा कालो साँपले उनीहरूलाई सुँघिराखेर गयो । त्यसले नठुँग्नुको कारणचैँ व्यर्थैमा जतन गरिराखेको विष खेर जाने डरले हो कि ।

जङ्गल न हो, अनेक किसिमका भुताहा सोरहरू बजिरहे सराउन्डिङ्ग्सभरि तर उनीहरूले सुनेनन् । सोरहरू थाकेर सेलाए । गाउँतिर भालेहरू बासे होलान् । थाहा भएन उनीहरूलाई । घामले क्षितिजदेखि एक बित्तामाथि उक्लिसक्दामात्र दुवै बिउँझिउठे । निद्रा पुगे पनि खान्कीमा बित्तल पेरेकोले दुवैको ज्यानमा उस्तो तरान थिएन ।

—अब कसो गर्ने हो ? हाम्रो मिसन पनि सक्सेसफुल होलाजस्तो छैन । खै त अहिलेसम्म एउटै विडिओ बनाउन सक्या छैनौ । हाँस उठ्दा क्यामेरा बन्द हुन्छ । क्यामेरा खुल्ला हुँदा हाँसै उठ्दैन । तलब देला त पीतमनुवाले— भन्यो भोकलिस्टले ।

—दुःख त गरिराख्या नै छौँ हैन त ?

—त्यो त गरिराख्या छौ ।

—अन्त नदिएर हुन्छ ? …..तेस्को गेरुवा फुस्किने गरी किक मारिनँ भने त !— डिङ्गोतिर हेर्दै बोल्यो पोएट ।

—पोएट भएर यति रिसाहा हुनु सुहाउँछ र ?

—अन्त के हुनु सुहाउँछ त ?

—सबै पोएटहरू त विनम्र र सज्जन मात्तै देखिन्छन् नि !

—तेस्तो हुनू भनी सिकाइएको छ त, के गरोस् ! नत्र मनुवा भनेको त ‘खाई बिराउने बोली बिराउने’ पो हैन र ? कि पोएटचैँ मनुवा हैन त ?

—तिमी पनि पोएट हुन्छु भनेपछि रिसराग सप्पै त्याग । नभा तिमीलाई कसैले पनि पोएट मान्ने छैन के !

—यसमा भारीबाट नै के छ र ? पाठकको खोजमा हिँडेको गति हेरिहाल याँ । अब त म पाठक हुने हो− ‘आम-पाठक’ क्या !

—किन नि तेस्तो अब ?

—किन र….. लेखक-कवि त जहीँ-तहीँ भेटिने रै’छ । मचैँ दुर्लभ थोक हुने हो ।

—अनि पाठकचैँ दुर्लभ थोक हो र ?

—किन हैन ? अब भेट्दै नभिटिने थोकलाई दुर्लभ नभनेर के भन्ने त ?

—के गर्छ त त्यो थोकले ?

—किताब पढ्छ ।

—कस्ता खाले किताब ?

—सप खाले । सालाखाला ।

—के फाइदा होला यसमा चैँ ?

—सुन ! लेखक विभाजक हुन्छ । ऊ कुनै न कुनै विचार, कल्ट औ पद्धतिको पछि लागेर हिँड्नै पर्छ । आफूले पछ्याएको विचारलाई सही भन्नैपर्छ । कोलगेटले सप्पै टुथपेस्टमध्ये मै राम्रो हुँ भनेजस्तो क्या ! यसरी एउटा विचारको पक्षधर हुँदा अर्को विचार अथवा पद्धतिको खण्डन गर्नैपर्छ । ….. त विभाजित भएन त समाज ?

—पाठकले चैँ कसरी समानता कायम गर्ला ?

—सप्पै किसिमको किताब पढेर क्या ! सप्पै पढ्नु तर कुनै विचार-सापेक्ष नहुनु । बुद्धको मिडल-पाथजस्तै भनौँ न । यसो गर्दा विरोध, खण्डन र सापेक्षता जस्ता पदावलीहरू आफैँ निरुत्साहित बन्छ हैन !

—यसो गर्दा त लेखकभन्दा पाठक पो महान् हुने रै’छ कि क्या हौ ?

—हो हो । पक्कै हो ।

—तेसो हो भने त मचैँ अर्को हुनु ?

—कुन अर्को हुने अब ?

—लेखकले जस्तै गायकले पनि त एकखाले भावनालाई खेलाइरहने होला नि त ?

—सबै गीतकारको गीत गाइदिनु….. हुँदैन र ?

—काँ हौ, गजल गाउँनेले ऱ्याप गाउँनसक्ला र ? लोकलय हाल्नेले आधुनिकमा भाका पुऱ्याउन सक्ला त ?

—लेख्नेले त शब्द त लेख्ने हो नि । गीतको जनर बताएरै लेख्न थाल्ने हो र ?

—खै…. ! बरु श्रोता भइदिएर सबैखाले नै गाना सुनिदिँदा महान् नभइएला र ?

—एक्टिव श्रोता हुन नसके नोटेड हुन सकिन्न नि !

—अनि एक्टिव पाठक हुन नसके….. ?

—तेस्तै हो ।

—फेरि नोटेड हुनु भनेको त आम नहुनु हैन र ! आम पनि काँ नोटेड हुन्छ ? आम त बेसी, एकैखाले र एउटै रङ्गको हुन्छ हैन र ?

—हो क्यारे ! नोटेड हुनु र आम हुनु त द्विविचर विरोधी कुरा पो रै’छ ।

—अब के गर्ने ? आम हुने कि नोटेड हुने ?

—खै….. !

घाम हेर्दै दुवै उठे । उनीहरूलाई हेर्दै घाम आकाशातीत भइरह्यो ।

—लु हिँडौँ— भोकलिस्टले उसको ब्याकप्याक टक्टकाउँदै भन्यो ।

—कता जाने हो ?

—हिँड्दै गइरहौँ । जता पुगिन्छ, त्यसैलाई नियति बुझ्ने ।

—पीतमानवकहाँ फर्किजाने हो बरु । उसैले केही सुझाउला !

—बढो दोधार भो । श्रोतालाई हेरेर हाँस्नु कि गायकलाई हेरेर हाँस्नु ?

—मेरो पोएटलाई चैँ पाठकले उछिन्दैछ है । हाँस्ने मेलो भेट्छु कि क्या हो ?

चरा-चुरुङ्गीले बच्चा काड्ने समय थियो । जङ्गलमा दुवैले त्यसैको चियोचर्चा गरिहिँडे तर सिकारको लख काट्न सकेनन् । हिँड्दा-हिँड्दै कुनै मकैबारीमा आइपुगे दुवै । सिरेटोले हल्लाउँदै थिए ती कलिला बोटहरू । वरिपरि हेर्दा फसलको मालिक देखा नपरेपछि दुवैले केही बोट उखेलेर लुछ्दै गुबा खाए । दिनभरिको हिँडाइलाई भरथेग होला कि भन्ने आशासहित ! । अझै कति भाग्नुपर्ने हो कुन्नि ?

—हि हि ह !

डिलमेथि कोही हाँसेको सुनियो । दुवै तर्सिए । दुवैले त्यतातिर नजर फ्याँख्दा बिँडीतनुवालाई देखे । उभिरहेको ऊ हाँसिरहेको थियो ।

—हा हा हा हा ! कविज्यू ! हा हा हा हा !— हाँस्दै पनि सोध्न चैँ बिर्सिराखेन —अर्को चैँ कुन आत्मा हो ? उसको इङ्गिति भोकलिस्टतिर थियो ।

पलाकपुलुक हेरे दुवैले एकार्कालाई र त्यहाँबाट ठाडो पुच्छर लाउन नै बिसेक ठहराए । कति कुदे कुन्नि दुवै ? हिसाब भइराखेन । रोकिएको ठाउँमा भने बढेको सासलाई ठेगानमा ल्याउन घुँडामा हात टेकाए ।

—हि हि ह !

दुवैले माथि हेरे । थुम्कामा लहरै उभिराखेका थिए अप्रापकहरू । हाँस्दै उनीहरूतिर औँला ठड्याइरहेका देखिए । हन के भो आज ? सधैँ त उनीहरू पो अरूमाथि हाँस्थे । आज त उनीहरूमाथि पो हाँसिरहेछन् त बरा !

—गायकज्यू पो ? हा हा हा हा !

—अर्को धतुरे चैँ को नि ? हा हा हा हा !

—इनेरलाई हेरेर पनि कति हाँस्नु हौ ? म त हाँसेरै मर्छु कि बा’ ? हा हा हा हा !

फेरि दुवै कुदे । अलि पर हाँस्दै गरेको भेटियो देवदास । छाडिजाने प्रेमिकालाई सोच्दै हाँसिरहेको हुनपर्छ ऊ । भनिएको छ कि आहत प्रेमीहरू आत्महत्या गर्न तम्सिन्छन् । अस्तिभन्दा अलिक तन्नेरी भएको रहेछ त्यो । मृत्युलाई हराउन बल गरिरहेको हुनपर्छ त्यसले ।

—हा हा हा हा मृत्यु !

—मर्छु भनेको ? हा हा हा हा !

हाँस्दै हाँस्दै नाच्न पनि थाल्यो देवदास त ।

हेरेर….. दुवै तेर्सै कुदे ।

अलिपर लुते आइमाई पनि हाँस्दै थिई ।

—हा हा हा हा जीवन !!

—सन्तान ? हा हा हा हा !

कति थुप्रै हाँसो ? भनिन्छ− होँसोकै मोहताज हुन्छ अरे मनुवा । हेरन खेल….. हाँसोले नै खेदिरहेछ मनुवाहरूलाई । के अब प्रिय हुने भो त रुदन ? कता कता भाग्नु नि अब !!