मुलुकको बौद्धिक धरालतमा दुई चिरामा बाँडिएको छ । एकातिर सुखी नेपाली समृद्ध नेपाल आवरणमा र भित्रमा समाजवादको सपना छ । सपनालाई कल्पी बस्नेहरूको बाक्लो ध्रुवीकरण छ । कुनै ठुलो उपलब्धि प्राप्त गर्नुअघि सपना देख्नु अपरिहार्य छ, हामी नेपालीहरू सपना देख्न नजानेरै पछि परेका हौँ भन्नेहरूको जमात एकातिर छ । तर सस्तो लोकप्रियता पछिको दौड र आत्मरतिमा रमाउने प्रवृत्तिले समाज अपेक्षित ठाउँमा पुग्दैन भन्नेहरूको तर्क अर्कोतिर छ ।

सपना पनि देख्न जान्नुपर्छ । जथाभावी सपना देख्नुहुन्न भन्नेहरूको विपक्षमा रहेको एउटा ठुलो समूह भन्छ– सपना देख्न जान्नु वा नजान्नु त्यो दोस्रो कुरा हो, पहिलो सर्त त जस्तो भए पनि सपना देख्नुप¥यो । सपना नै नदेखी केको वर्गीकरण गर्ने ? सरकार–प्रमुखले जनतासँग आफूले देखेका सपनाका कुरा गर्नुलाई आपत्तिजनक किन मान्ने ? उनीहरूको प्रश्न छ, के यो देशमा सपना देख्न पनि पाइँदैन ?

बेलाबखत नेपालीले देखेको सपनाको कुरा गर्दा भुइँ तहदेखि माथिसम्म सबैको जिब्रोमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एउटा भनाइ झुन्डिएकै हुन्छ । उद्देश्य के लिनु उडी छुनु चन्द्र एक । २०१६ सालमा भिखारी कविता सङ्ग्रहमा सञ्चयित यी शब्दहरू देवकोटाले देखेको एउटा महान् सपनाको प्रतिविम्बन हो । देवकोटा दिवङ्गत भएको १० वर्षपछि २०२६ साउन ५ गते आइतबार चन्द्र धरातलमा निल आर्मस्ट्रङले पहिलो पटक मानव पाइला टेकेका थिए । तर उडेर चन्द्रमा पुग्ने सपना देख्ने दूरदर्शी देवकोटालाई यो कविता लेख्ता धेरैले तरङ्गी भनेका थिए ।

प्राचीन नेपालमा सिद्धार्थ गौतमले देखे, मानिसलाई दुःखबाट जोगाउने क्रान्तिकारी सपना । आधुनिक नेपालको इतिहासमा पृथ्वीनारायण शाहले देखेका थिए, ग्रेटर नेपालको सपना । नेपाली राजनीतिमा ‘बिपीको सपना’ पनि चर्चित पदावली हो । ओठमा मुस्कान भएका समृद्ध नेपाली जनता बिपीको सपना थियो । युगकवि सिद्धिचरण श्रेष्ठले उहिल्यै देखेका–लेखेका हुन्, नयाँ नेपालको सपना । उदाहरणहरूले भन्छन्, नेपालीहरू इतिहासदेखि वर्तमानसम्म सपना देख्नमा कोहीभन्दा कम छैनन् ।

यथार्थमा कुनै पनि सपना निर्बन्ध हुन्छन् र स्वप्न–द्रष्टा आलोचित । जिसस क्राइस्ट एक स्वप्न–द्रष्टा मानिस थिए, त्यसैले उनलाई क्रुसमा झुन्ड््याएर किला ठोकिएको थियो । त्यसअघि पृथ्वी गोलो डल्लो भएको, पृथ्वीले सूर्यलाई वरिपरिबाट घुमेको सपना देख्ने दार्शनिक–वैज्ञानिकहरू कोही जेलमा कुहाइए, कसैलाई विष खुवाइयो । उदाहरणहरूलाई सन्निकटीकरण गर्दा आज केही नेपालीहरू भन्दै छन्, राजनीतिकर्मी खड्गप्रसाद ओली वास्तवमै एउटा सच्चा स्वप्न–द्रष्टा हुन् । उनी पृथ्वीनाराण शाहभन्दा पनि बढी दूरदर्शी, महेन्द्र शाहभन्दा पनि बढी राष्ट्रवादी, जङ्गबहादुर राणाभन्दा पनि बढी सहासी छन् । उनको ‘सुखी नेपाली समृद्ध नेपाल’ शीर्षकको सपना अलौकिक होइन । यसै लोकको आवश्यकताले जन्माएको हो । त्यसैले उनका सपनाहरूमा सहभागिता जनाउनु नयाँ र समृद्ध नेपाल चाहने सबै नेपालीको दायित्व हो ।

यहाँनेर तपाईहरूलाई स्पष्ट पारिदिऊँ, सपना देख्ने मामलामा म खड्गप्रसाद ओलीभन्दा निकै अगाडि छु । त्यति मात्र होइन उनको र मेरो सपना देखाइमा आकाश–पातालको अन्तर छ । उनी जब–जब सपना देख्छन्, हाँसोका पात्र बन्छन् । म जब–जब सपना देख्छु, देश गम्भीर बन्छ । किनकि मैले देखेका सपनाहरूलाई हाँसोमा उडाइने सम्भावना अत्यन्त न्यून हुन्छ । म कालापानी र सुस्तामा नेपाली झन्डा फहराइरहेको सपना देख्छु । भ्रष्टाचारी र बलात्कारीलाई आजीवन काराबासमा राखेको सपना देख्छु । १९५० को सन्धि पुनरावलोकन गरिएको, सुगौली सन्धिका कारण गुमेको नेपाली भूभाग भारतले फिर्ता गरेको प्रमुख बुँदा समेटिएको कागजमा नेपालका प्रधानमन्त्रीले हस्ताक्षर गर्दैगरेको सपना देख्छु ।

भारतको वीरपुरमा एउटा विशेष समारोहको आयोजना भइरहेको रहेछ ! त्यहाँ, कोसीब्यारेज निर्माणका सिलसिलामा तत्कालीन मुसहरनिया, झवाहा, लिलजा आदि मौजाका साँध–सिमानाहरू जथाभावी भत्काइएका र पछि त्यही कारणले भूलवश रानीगन्ज भन्सार क्षेत्रसहित सातहजार बिघा नेपाली भूभाग भारततिर परेको रहेछ । भारतले आफ्ना तत्कालीन इन्जिनियर–कर्मचारीहरूबाट भएको त्यस्तो गल्ती स्वीकार गर्दै नेपाली भूभाग नेपाललाई फिर्ता गर्ने कार्यक्रम रहेछ । समारोहमा दिल्लीबाट नरेन्द्र मोदी आफैं आएका रहेछन् । नेपालबाट पनि प्रधानमन्त्री खड्गप्रसाद ओली नै आउने कुरा रहेछ तर त्यही दिन नेपालका प्रधानमन्त्री पूर्व निर्धारित पार्टीगत कामले राजधानीमै नबसी नहुने भएपछि व्यस्त हुनुपरेकाले आउन नसक्ने सूचना ढिलोगरी दिइएको रहेछ ।

यस्तो अवस्थामा अब के हुन्छ ? सायद राष्ट्रपति विद्या भण्डारी नै आउनेहोला ! राष्ट्रपति नै आउने भएपछि उनीसँग म पनि सेल्फी खिच्छु भन्दै थिए, भारतीय पत्रकार मित्र ओमप्रकाश रस्तोगी । म, इकवाल अहमद, राजेन्द्र पोखरेल, जेके यादव, कृष्ण जुनेली, अमर काफ्ले, अजित झा, धीरेन्द्र चौधरी, टोमराज मेहता, चन्दन गुप्ता, राजन दाइ, प्रमोद भाइ र अरू पत्रकारहरू रिपोर्टिङका लागि गएका थियौँ । सप्तरीतिरबाट शम्भु झा, जितेन्द्र खड्गाहरू पनि आएका थिए । टाढा कता–कताबाट उद्घोषक बोलेको सुनिँदै पनि थियो । हामीचाहिँ गोलचोक, लिटी दोकानमा बसेर चिया खाँदै थियौँ !

यदि तिमीले आफ्नै सपना बनाउँदैनौ भने अरू कसैले उसको सपना पूरा गर्नका लागि तिमीलाई खरिद गर्नेछ । धिरूभाइ अम्बानीको यो भनाइ यतिबेला म सम्झिरहेछु । र, सम्झिरहेछु, एपिजे अब्दुल कलामको भनाइ, सपना त्यो होइन जुन तिमी सुतेको बेला देख्छौ, सपना त्यो हो जसले तिमीलाई सुत्न दि“दैन ।

त्यसैले म खड्गप्रसाद ओलीले नाना सपना देखेको सन्दर्भको आलोचना गर्न चाहन्नँ । बरु भोला रिजालका शब्द सापट लिएर भन्छु, कोही व्यक्तिले आफूसँग भएको भिजन बाँड्दा कसरी ऊ हावादारी र असफल हुन्छ ? विकास त्यहीँबाट सुरु हुन्छ, जसले सपनालाई विपनामा बदल्न खोज्छ । जसले सपना देख्दैन, सपनालाई विपनामा परिणत गर्न चाहँदैन र सपना देखे पनि त्यसलाई केलाउने प्रयत्न गर्दैन, त्यो मान्छे मूर्ख सिवाय केही हुन सक्दैन ।

पक्षधरहरू भन्छन्, ओलीले कतिपय कुरामा अतिरञ्जना गरेका होलान् तर उनका प्रत्येक कुराहरूलाई उखान–टुक्का भनेर उडाउनेहरूको हबिगत देख्दा लाग्छ, यिनीहरू दिमागमा कुनै सपना नभएका समाजका बोझमात्रै हुन् । कल्पनाविहीन यथास्थितिवादी शासकको लामो शासनबाट हाम्रो दिमाग यसरी जकडिएको छ कि कुनै नयाँ सम्भावनाको चर्चा हावादारी भनेर उडाउन चित्त उद्यत रहन्छ । सपना देख्नेले मात्र जिन्दगीमा केही गर्नसक्छ । जसले सपनै देख्दैन उसले जीवनमा केही गर्न सक्दैन ।

उखान–टुक्के प्रधानमन्त्री र सपनाविहीन नेपालीको मनोदशा शीर्षकमा रामप्रसाद खरेल आग्रह गर्छन्– राम्रो कुरा सोच्ने र गर्न खोज्नेलाई सकारात्मक प्रतिक्रिया र प्रेरणा प्रदान गरौँ । निराशाले किचिएका सपनाविहीन नागरिक नबनौँ । डाब्रोसन्तो पौडेल पनि पक्षमा भन्छन्– डार्बिनलाई पनि उडाउँथे, न्युटनलाई पनि उडाउँथे, अन्धकारमा रमाउने, सपना देख्न नजान्नेले कुनै कुरामा सकारात्मकता देख्दैनन् । थुक्क दुनियाँ !

बीचमा, आफ्नो समर्थनलाई अग्ल्याउन ओलीले भने, ‘हाम्रो नीति तथा कार्यक्रम महाकवि देवकोटाको कविता अंश उद्देश्य के लिनु उडी छुनू चन्द्र एक भनेजस्तो छैन, तर अलि पर बजार घुमेर फर्कनेजस्ता आशामात्रै बोकेर सुखी नेपाली र समृद्ध नेपाल हुन सक्तैन ।

आलोचनालाई होच्याउँदै ओलीको प्रश्न छ– के देश बनाउन सपनै नदेख्ने ? आकाङ्क्षा नै नराख्ने हो भने हामी जनप्रतिनिधिहरूले विभिन्न समस्या किन उठाउँछौँ ? किन यो भएन, ऊ भएन भनी माग राख्छौँ त ? ओलीका अनुसार देशमा विभिन्न खालका भ्रम फैलाएर आनन्द लिने तत्त्वहरू छन् । सत्य कुरा नबुझ्ने, बुझ्न नचाहने वा भ्रममै रमाउने तत्त्वहरू पनि छन् । विगतका सरकारहरूले केही नगर्दा अहिलेको सरकारप्रति पनि जनताको विश्वास डग्मगाएको हो । निदाउने बेलामा डरलाग्दो सर्प सम्झेर सुत्यो भने सपनामा त्यही सर्पले दुःख दिन्छ । नराम्रा कुराहरू सुनाइदिएर जनतालाई बिनासित्ति त्रसित किन पार्ने ?

ओली थप्छन्– तीव्रताका साथ कुदेनौँ भने अगाडि पुगेकालाई भेट्न गाह्रो हुन्छ । धेरै ठाउँमा बोल्दा म साधारणतया कोटेसन भनिहाल्दिनँ । तर यतिबेला युएइका प्रधानमन्त्रीको कोटेसन सुनाउन चाहन्छु । माइ भिजन भन्ने किताबमा उनले लेखेका छन् । अफ्रिकाको एउटा जङ्गलमा बिहान एउटा सिंह उठ्छ । जिउ तन्काउँछ । सोच्छ, आज मैले छिटोभन्दा छिटो कुद्नुपर्छ । हरिणभन्दा छिटो कुद्न सकिनँ भने भोकले मर्छु । सिंहै भए पनि उसलाई कसैले आएर मुखैमा पस्किँदैन । छिटो कुद्ने हरिणभन्दा छिटो कुदयो भने मात्र उसको भोजन जुर्छ । त्यही जङ्गलको अर्को कुनामा हरिण त्यसैगरी उठ्छ, आङ तान्छ र तर्कना गर्छ, आज मैले छिटोभन्दा छिटो कुद्नुपर्छ । सिंहभन्दा छिटो कुद्नुपर्छ । होइन भने म मारिन्छु । सर्भाइभल अफ् द फिटेस्ट जस्तो अलिकति थ्यौरी लागू हुन्छ । जो कुद्न सक्दैन त्यो या भोकले मर्छ या अरूले खान्छ । हामी मर्नबाट जोगिने उपायका लागि छिटो कुद्ने हो । हाम्रो निम्ति छिटो कुद्नु बाध्यता छ ।

आलोचकहरूका तर्क पनि उत्तिकै सम्मानित छन् । गजलगो सुरेश सुवेदीका अनुसार निश्चित रूपमा आफूखुसी सपना देख्न पाइन्छ । पाइँदैन भनेको छैन । तर वायुपङ्खी सपनाहरू शीर्षकमा कविता लेखेजस्तो सहज छैन जिन्दगीको धरातलीय यथार्थ । विष्णु पोखरेल सामाजिक सञ्जालमा जिज्ञासा राख्छन्– यो सपना भनेको के रै’छ ? बच्चालाई चक्लेट ल्याइदिन्छु है बाबु भन्ने अनि फर्किदा आज दोकान बन्द रै’छ भन्ने पनि सपना हुन्छ ? हावाबाट बिजुली निकाल्ने र तीन महिनामा लोडसेडिङ अन्त्य गर्ने अनि काठमाडौँमा ग्यास पाइप बाँड्ने कुरा कहाँ पुग्यो तपाईलाई थाहा छ ? सपना हिँड्दै छ, पाइला मेट्दै छ गर्छ र ?

छविरमण अधिकारी भन्छन्, सपना देख्नु राम्रो हो । पुग्ने सपना देख्नु झन् राम्रो हो । तर ट्रली बस, वायुसेवा निगम हुँदा–छँदाका कबाडी बनाएए । अझै पनि नपुग्ने सपनामा रमाउनु हाम्रो कस्तो विवेक हो ?

त्यसो त मुलुकमा ओलीले सुनाएको जस्तो कुरा सुन्न नपाएको धेरै भएको थियो । त्यसैले हामीलाई पत्यार लाग्न गाह्रो भइरहेको हो । तर हामी यो कुरा पत्याउन चाहन्छौँ । हामी गडगडाहट ताली बजाउन चाहन्छौँ, ओलीका हरेक शब्दमा । त्यसका लागि उनले अरू धेरै केही गर्नुपर्दैन, भूकम्पपीडितका लागि भनेर आएको राहत खाद्यान्नहरू खाल्डोमा हाल्नुपर्नाका पछाडि कस–कसको दोष छ ? पत्ता लगाएर कारबाही गरे पुग्छ ! खोपमा ढिलासुस्तीसहित जनताको जीवन र अधिकारसँग खेलबाड गर्नेलाई सार्वजनिक गरेमात्र पनि विश्वासिलो वातावरण बन्छ ।

भनिन्छ जिन्दगीमा ख्याल–ठट्टा चल्छ तर ख्याल–ठट्टाले जिन्दगी चल्दैन । त्यसैले सपना देखाइ र व्यवस्थापनमा विशेष गम्भीरताको माग गर्छ कथाले ।

चीनका प्रधानमन्त्रीले ‘हावामा पुल बनाउँछु,’ भन्दा कसले पत्याउँदैन ? त्यसैले समाचारमात्र होइन, नेतृत्वले पनि आफूलाई पत्याउने खालको बनाउनु अपरिहार्य छ । कोही पनि जिम्मेबार व्यक्तिले ‘लाइट’ कुरा गर्नुहुन्न ।

सपनाहरूको हुर्मत लिने छुट कसैलाई छैन । मुलुकमा यसअघि नेपाली सपनाहरूको यतिसारो दोहोलो काडिएको थाहा थिएन । तर पनि यतिबेला म कसैको आलोचना गर्ने खास मुडमा छैन । किनकि म पनि देखिरहेको छु– समृद्ध हिन्दू राष्ट्र नेपालको सपना !