
कैलाश कार्की
अब ककसलाई हटाएपछि हाम्रो टिम पेर्फेक्ट बन्छ हजुर ?
कुकुरको जस्तो बानी बेहोरा भएको कपिललाई औपचारिक रूपमै हटाइयो । अब मेरो नजरमा सकम्बरी देखिरहेको छु । जोसँग पनि मस्किने, पर्फेक्सनमा ध्यान नदिने यसलाई पनि निकालेपछि हाम्रो टिम एकदम पर्फेक्ट बन्छ । चम्कन्छ रामहरिजी ।
आफ्नो महत्त्वाकाङ्क्षी कम्पनीको टिममा आबद्ध सदस्यहरूलाई पर्फेक्ट बनाउन लागेका पूर्णबहादुरसँग एउटा अनौठो सपना छ । यो सपना उनका बा आमाले बच्चैदेखि उसको मस्तिष्कमा हालिदिएका थिए । आमाले आफूमाथि जानेबेला एकपटक फेरि उनलाई बुवाले उसका लागि देखेको सपना सम्झाउनुभएको थियो । बलिन्द्रधारा आँसु बगाउँदै उसले यो सपना पूरा गर्ने अठोट लिएको थियो ।
ऊ पर्फेक्ट टिम बनाउँन दिनरात खटिएको छ । टिममा कोही कमजोर देखियो भने ऊ हट्यो भनेर जाने हुन्छ ।
सातजनाको टिममा अहिले दुईजना घटेपछि चार जना बाँकी रहेका छन् । त्यही टिममा आबद्ध उसको एउटा विशेष सहयोगीको काम टिमका मान्छेहरूको कमजोरी पत्ता लगाउनु नै हो । नथापाउने पारामा टिमका सबै सदस्यमाथि गहिरो निग्रानी भइरहेको छ ।
आज सोमबार सधैँझैँ टिमको विशेष मिटिङ चलिरहेको छ । उनले टिममा बाँकी रहेका सदस्यहरूलाई सुन्नेभन्दा पनि आफ्नै उद्देश्य लाद्ने शैली अपनाउँछ । टिम नबिग्रियोस् भन्ने डरले उसले चलेकोभन्दा विशेष सेवा सुविधा पनि उपलब्ध गराएको छ । तालिमको सिलसिलामा पूर्णबहादुरले दुईवटा गिलास देखाए एउटामा बालुवा र अर्कोमा माटो राखिएको थियो । उनले केही भन्न खोज्दै गर्दा उनको फोन बज्यो । उनले देखे यो श्रीमतीको फोन हो । यो दोस्रोपटक थियो । हल्का रिसाउँदै उनले फोन काटेर भन्न थाल्छ – तपाईँहरू यो माटाजस्तो नभएर यो बालुवाजस्तो हुनुपर्छ भन्ने मेरो इच्छा हो जो एक्लै पनि रहिरहन सक्छ, टिलिक्क टल्किएर तर यो फोहोरी माटालाई हेर्नुस् त यो अरूको भरमा छ । इमपर्फेक्ट । मलाई यस्तो मन पर्दैन ।
यत्तिकैमा फेरि श्रीमतीको फोन आउँछ । ऊ झन् रिसाउँछ र फोन काट्छ । रिसको झोकमा होस गुमाएपछि उसको आवाज बाहिरसम्म सुनिन्छ ।
कस्तो अनपर्फेक्ट केटी भिडाइदिए काकाले ? यत्तिकैमा मिटिङ सकियो । उसले जाँदाजाँदै छोरी मान्छेहरू पर्फेक्ट मान्छे नभएको र कसैको भरमा बाँच्ने गरेको आरोप लगाउँछ ।
आज घर गएर म त्यस्को सातो खान्छु उसले मनमनै अठोट गरेका थियो । घरभित्र छिर्दैगर्दा सबै रिसका शक्तिहरूलाई एक बनाएर ऊ श्रीमतीमाथि खनिने तयारीमा थियो ।
सदा बसिरहने ठाउँमा अाज श्रीमती छैनन्, एउटा चिठी छ । जसमा लेखिएको छ ।
प्रिय बुढा मैले जति प्रयास गर्दा पनि तपाईँ मेरा लागि पर्फेक्ट हुन सक्नुभएन । गुडबाई ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

