उहिल्यै कहिले यहाँ जागिर खान आउँदा यस्ता दिन पनि देखाउलान् दैवले भनी कहिल्यै सोचेकी थिइनँ । हुन त त्यसबेला ‘आमा’ पनि जागिरको पद हुन्छ भन्ने नै कहाँ थाहा थियो र ? कहिलेकाहीँ झुक्किएर गोरखापत्र घरमा आइपुग्थ्यो । तिनै पुराना गोरखापत्रका पन्नामा आफ्नो एकाकीपन बिर्साउने गर्थेँ । विधवा भएर गर्न पाइने धेरै काम थिएनन् । जीवनमा पहिलोपटक ‘पोइ टोकुवी’ को उपाधी पनि पाएकी थिएँ । तिनै पुराना गोरखापत्रका एउटा पानामा ‘एसओएस आमा’को विज्ञापन देखेँ । भर्खरै खुलेको “एसओएस बालग्राम” केटाकेटी हुर्काउने ‘आमा’को आवश्यकता थियो । मैले आफूले जानेको भाषामा निवेदन लेखेर हालेकी थिएँ । मन र मस्तिष्क कैयन् कुराहरूले भरिएको थियो तर लेख्न कहाँ जानेको थियो र? खै साउँ अक्षर कसैगरी चिनियो, अलिकति लेख्नपढ्न जानियोतर कसरी जानियो भन्ने कुराको भने भेद पाउँदिनँ ।अथक परिश्रम गर्दा पनि जीवनयापन गाह्रो भएपछि भोजपुरको अनकन्टार गाउँबाट चतारा बसाइँसरी आएका बाबुआमाले सानैमा बिहे गरिदिए ।नजिकैको कालाबन्जरमा बुहारी भएर भित्रिएको भोलिपल्ट मात्रै बेहुलाको अनुहार राम्ररी देख्न पाएकी थिएँ ।हेर्दै विरक्त लागेको थियो ।मेरा श्रीमान् बाजस्ता बूढा रहेछन् ।गरीबकी छोरी हुनु पनि मेरा लागि अभिशाप भयो । अनि आफ्ना माइतिदेखि पनि असाध्यै रिस उठेको थियो त्यसबेला ।गरीब थियौँ, तर अलिक उमेरदार गरीब केटा पनि भेटिन्थे होला !अहिले पनि कहिलेकाहीँ रिसका झोँकाहरू मनभित्र बहन थाल्छन् । भाइले त त्यस्ता बूढासँग दिदीको बिहे नगर्नू भन्थ्यो अरेतर केटाकेटीको बोली कसले पो सुन्थ्यो र !
बाजस्ता बूढा श्रीमान्ले अनेक तरिकाले फकाउने कोसिस गरे । बिहे गरेर गएकीले उनका कुरा मान्नु र उनीसँग सुत्नु मेरो शरीरको बाध्यता थियो तर मेरो मनले ती बूढालाई कहिल्यै स्वीकार गरेन । घर त विरक्त लाग्दो थियो नै माइती पनि बिरानाभएका थिए ।मेरो आत्मालेकसैगरी श्रीमान्लाई स्वीकार्न सकेन ।उनीसँगको सम्बन्धमा नै आत्मीयता नभपछि उनका घरका सबैसँग साइनो त बन्यो तर सम्बन्ध बनेन । टुसा भएर अङ्कुराउन लागेका रहरहरू, केही फुल्न लागेका फूलहरू, यौवनको एउटा सानो उमङ्ग, जिन्दगीका सुखहरू त्यत्तिकै ओइलिए, त्यत्तिकै हराएतर सुखको कल्पनाभन्दा कोसौँ टाढाको यस्तो रूखो जिन्दगीमा माइतीले घचेट्लान भन्ने त कहिल्यै सोचेकी थिइनँ । कम बोल्ने स्वभावकी थिएँ, त्यसैले ठूलो मूल्य चुकाउनुपऱ्यो । दिदीझैँ मुखमुखै लागेर बाझ्न जानेको भए, सुख पाउँथेँ कि ? एउटा बूढो मानिससँग गाँसिएर आउनुपर्ने थिएन कि ! तर यी सब कुराको अहिले कुनै अर्थ छैन । अर्थहीन कुरा सोचेर के पो हुने हो र !
पहिले तीनवटी श्रीमती मरेकाले मलाई चौथी बिहे गरेको रे ! त्यस्ता मानिसबाट मैले के अपेक्षा गर्नु र ! जा, जिन्दगी खेरै गयो, लागिरह्यो खेरै गयो ।
अनि फेरि एक दिन अचानक बूढाले बाटो तताए । मेरा आँखाबाट एक थोपो आँसु पनि झरेन । सासू-ससुरा हुने कुरै भएन ।सौताका छोरा, देवर, देउरानी र नन्दहरू भने टन्नै थिए । बिहे गरेर गएको परिवारसँगको यति धेरै परको नाता मनले कायम गऱ्यो कि, उनीहरूका बारेमा धेरै जान्नसुन्न कहिल्यै मन लागेन ।मेसिनजस्ती भएर दैनिक कामधन्दा गर्दा कहिलेकाहीँ लाग्थ्यो, सबै महिलाको जिन्दगी यस्तै हो कि ? सेता लुगा लगाएर बस्ने बेला आयो । राम्रा लुगा, राम्रा गहना लगाउने एक पित्को रहर पनि सधैँका लागि हरायो । बोल्ने, मनको बह पोख्ने कुरा त कुरै भएन । बिहे गरेर आएको श्रीमान्सँग त कहिल्यै दुःखसुखका कुरा भएनन् भने, अरूसँग कसरी हुन्छ र! एक वर्षको अत्यासलाग्दो समय कट्यो र जसोतसो वार्षिक काम सकियो । त्यो परिवारसँग भावनात्मक रूपले जोडिएकी कहिल्यै थिइनँ, वा भनौँ जोडिन सकेकी थिइनँ । त्यसैले लाग्यो अबको जिन्दगी एकल महिलाको जीवनयात्रा हो ।
पहिले पनि सौताका छोराहरू, देवर-देउरानीहरू मलाई देखिसहँदैनथे ।बूढाले बाटो तताएपछि मलाई लाग्यो अबको बाटो भनेको यस घरबाट हिँड्नु नै हो ।सोच्न लागेँ हरिद्वारतिर पो जानुपर्ला कि ! नत्र भने देवघाट ।तीर्थ जानेहरूबाट त्यता विधवा आश्रम हुन्छन् रे, जिन्दगी कटाउन सजिलो हुन्छ भनेको सुनेकी थिएँ । कुनै आश्रमका एउटा कोठामा एउटा कुनु मात्रै दिएभने त पुगिहाल्यो ।एक थान शरीरका लागि खाने त कसो नजुट्ला ।परोपकारी मानवहरू पक्कै होलान् । होलान् के र छन् नै नत्र भए विधवा आश्रम र वृद्धाश्रम कसरी चल्थे त! तिनैले दिएका दानाले एउटा पेटका लागि एक छाक खान किन नपुग्ला र !
यसैबिच पुरानो गोरखापत्रमा त्यो विज्ञापन फेला पऱ्यो । सुनसरीमा खुलेको बालग्राममा‘आमा’को जागिर रे । छोराछोरीको हेरचाह गर्नुपर्ने रे । जागिर पछि पेन्सन पनि रे ।पेन्सनपछि पनि त्यतै बस्न पाइने । कहिल्यै नसुनेको संस्था र कहिल्यै नसुनेको पद ‘आमा’को जागिर । आमाको पनि कतै जागिर हुन्छ र ? आफ्ना छोराछोरीलाई पनि कुनै आमाले जागिर गरेझैँ स्याहार गर्छिन् र ? मन अन्योलै अन्योलले भरिएको थियो । विज्ञापन पढिसकेर मिति हेरेँ । दुई दिन अझै म्याद रहेछ । एक क्षणका लागि यो जागिर मेरै लागि बनाइदिएकोजस्तो लाग्यो । आफ्ना छोराछोरी थिएनन् । बूढा श्रीमान्का खस्रा हातहरूले सुमसुम्याउँदा मलाई घृणाको अजङ्गको सागरमा डुबेझैँ लाग्थ्यो । यी सबै कुरा सहनु मेरो नियति भएझैँ लाग्थ्यो । तिनीबाट मेरो कोख भरिएन । एउटा सन्तान जन्मेको भए, मेरो केही उद्देश्य हुन्थ्यो होला । त्यसैलाई हुर्काएर जीवनका बाँकी दिन काट्न सकिन्थ्यो होलातरपरलोक गैसकेकासँग गुनासो गरेर पनि के फाइदा ! मनलाई घोचिरहने विगत सम्झेर पनि के फाइदा !
मनले पूरै उकास्न थाल्यो –“ल निवेदन दे ।” जागिरको सबैभन्दा ठूलो सर्त एकल महिला र छोराछोरी नभएकी हुनुपर्ने थियो । विधवा त थिएँ नै छोराछोरी पनि कल्पनामै सीमित थिए । रहर भने नगरेकी हैन ।एउटै उमेरका अन्य महिलाले छोराछोरी खेलाएको, हुर्काएको देख्दा मन कटक्क भएर आउँथ्यो ।हृदयभित्र ममता उर्लेर आउँथ्यो र त्यो ममता पोखिन नपाउँदा आँसुबाट बर्सिन्थ्यो ।आफ्नो योग्यता मिल्ने हुँदा जागिर पाइहाल्छु कि भन्ने ठूलो आस लाग्यो । आश न हो । मान्छेको जिन्दगीका दिन गनाउने आश ।लेख्न त्यति जान्दिनथेँ तर पढ्न आउँथ्यो । पढ्ने कुरा पाउँदा जे भए पनि पढ्न खोज्थेँ । त्यसैले त घरमा ल्याएका पुराना गोरखापत्र पल्टाउने बानी बसेको थियो ।डराउँदै आफैँ कनीकुथी निवेदन लेखेर कार्यालयमा गई पेस गरेँ । एक हप्तापछि सम्पर्क राख्नू भनेका थिए । अन्तर्वार्तामा बोलाउँछन् कि बोलाउँदैनन् भन्ने ठूलो दोधारमा एक हप्ता काटेँ । विचित्रको मनस्थितिमा एक हप्ता जसोतसो बित्यो ।
अन्तर्वार्ताको दिन पनि आयो । आफूले जानेको र बुझेको सबै कुरा भनिदिएँ । माइती र घरको पनि इतिवृतान्त सुनाएँ ।फेरि बिहे गर्ने हो कि भनेर सोधेँ । एउटा बिहे बेहोरिसकेकी थिएँ । अर्को बिहे गर्ने कुरा मनको कुनै कुनामा पनि पलाएको थिएन । ‘छैन, पटक्कै छैन’ भनेँ ।बालबालिका मन पर्छन् कि पर्दैनन् भनेर सोधेँ । मलाई लाग्यो यो प्रश्न त सोध्नै नपर्ने हो, बालबालिका कसलाई मन पर्दैनन् र ? ‘मन पर्छन्’ भनेँ । फेरि जात र छुवाछुतको कुरा सोधे । आफूले होस सम्हालेदेखि छुवाछुतदेखि घृणा लाग्थ्यो । मेरो माइती चतारामा एउटी अत्यन्त मिल्ने साथी थिई । मेरै उमेरकी र मसँग घनिष्ठ । हाम्रो मित्रता देखेर गाउँका अरू भतभती उम्लिन्थेतर ऊ थिई विश्वकर्मा ।हामी कुम जोडेर हिँड्थ्यौँ, खेल्थ्यौँ तर उसलाई मेरा घरमा पस्न निषेध थियो ।ससानो गल्ती हुँदा त ठाडै गाली गर्ने मेरा बाआमाले उसका पक्षमा मैले बोले, मेरा खुट्टा भाँचिने तय थियो । मेरो मन भने नराम्रोसँग पिल्सिन्थ्यो ।ती साथी भने बानी परिसकेकी थिइन् । बिहे भएर आएपछि उनको साथ पनि छुट्यो । यस प्रश्नमा जबाफमा मैले “छुवाछुत अत्यन्त निकृष्ट संस्कार हो” भनिदिएँ । त्यति राम्री मेरी साथी आफ्ना घरमा पस्न नपाएको क्रोध हृदयमा जमेर बसेको थियो । अन्तर्वार्ता पनि सकियो अनि रह्यो अर्को बेचैनी ।पास गर्छन् गर्दैनन्, बोलाउँछन् बोलाउँदैनन् भन्ने अलमल ।
फेरि हप्ता दिनको प्रतीक्षापछि म एसओएस बालग्राम इटहरीमा आमाको जागिरमा नियुक्त भएँ ।नियुक्तिको सुरुमा तीन महिने तालिम चल्यो । बालबालिकाको मनोविज्ञानदेखि लिएर, स्वास्थ्य, हेरचाह र स्नेहका कुराहरू सिकाइए ।आमाबाबु नभएका वा परित्यक्त वा साह्रै असहज पारिवारिक स्थिति भएका बालबालिकाहरूको हुर्काउनुपर्ने काम थियो । मसँगै अन्तर्वार्तामा सफल भएर आएका अरू चौधजना थिए । कतिपयहरू डराउँदै पनि थिए । कतिलाई अप्ठ्यारो पनि लागेको होला ।मलाई त कस्तो खुसी पो लाग्यो । हृदय गदगद भएर आयो । छातीभित्र गुम्सिएको ममत्व अब म पोख्न पाउने भएँझैँ लाग्यो । मेरै कोखबाट नजन्मे पनि ती बालबालिका मेरै छोराछोरी हुने रहेछन् । उनीहरूले मलाई आमा भनेरै बोलाउने रहेछन् । आदर र प्रेम गर्ने रहेछन् । मन त्यसै त्यसै प्रफुल्लित भएर आयो । खुसीले नाचौँ नाचौँ लाग्योतर नाच्ने आँट भने आएन ।जतापायो त्यतै नाच्ने कुरा पनि त भएन । एउटा घरकी आमा हुने भएँ, दसदेखि बाह्र जनाकी आमा हुने भएँ । म अबलालाई त्यसभन्दा बढी के चाहियो र ? लाग्यो अब चाहिँ जीवन सार्थक हुन्छ कि, बाँचेको काम लाग्छ कि ! तालिमको क्रममा बालग्रामका संस्थापक अस्ट्रिया निवासी हर्मन माइनर भनेर परिचय दिइएको थियो । तिनैलाई एक पटक प्रणाम गर्न मन लाग्यो । तिनकै कारण केटाकेटीले त नयाँ जीवन पाउने नै भए, मजस्ता महिलाले पनि शिर ठाडो गरेर, आत्मविश्वासका साथ बाँच्ने मौका पाउने भए ।
*****
तीस वर्ष म एसओएस बालग्राम इटहरीकी आमा भएँ । यी तीस वर्षमा यस्तो कुनै दिन थिएन, जसमा मलाई छोराछोरीहरूले आमा भनेर नबोलाएका हुन् । यस्तो कुनै दिन थिएन जसमा मैले मेरो वात्सल्य पोख्ने मौका नपाएको होस् । मेरा घरमा हुर्किने छोराछोरी जुनसुकै जातको भए तापनि उनीहरूले आफ्नो नाम पछाडि मेरै थर लेखे । आमाबाबुको नाम सोध्दा सगर्व मेरो नाम लिन्थे । यसरी म फैलिएँ ।एकबाट अनेक भएँ । मेरा कोखबाट नजन्मेका मेरा छोराछोरीहरू मलाई कति माया र आदर गर्छन् म भन्न सक्तिनँ । किनकि त्यो माया र आदर व्यक्त गर्ने शब्द नै मसँग छैनन् ।
तीस वर्षको अवधिमा मैले मेरा घरबाट पाँच छोरीहरू अन्माएकी छु । दसैँमा ज्वाइँछोरीहरू नातिनातिनासहित आउनुहुन्छ । म दसैँका टीका र जमरा लगाइदिन्छु । हातमा दक्षिणा राखिदिन्छु । मेरो हर्षको सीमा नै रहँदैन । मेरो लालनपालनबाट हुर्केर बाह्र छोराहरूले बाहिर घरजम गरेका छन् । कतिले जागिर गरेका छन् । कतिले व्यापार गरेका छन् । सात छोराहरूका लागि मैले बुहारी पनि भित्र्याएकी छु । सात बुहारीकी सासू भएकी छु ।
यी तीस वर्षमा आँगनमा रोपेका बिरुवा रुख भए । घरपछाडि रोपेको नरिवल फल्न थालेको पनि पन्ध्र वर्ष भयो ।खेलमैदान किनारका आँपका रुखहरूले साह्रै रसिला आँप खुवाउँछन् । ती आँप खाएको पनि बीस वर्ष त भयो नै होला । यी तीस वर्षमा कति जोडी कपडा किनियो, घरमा रङ रोगन कतिपटक लगाइयो, कतिपटक हटिया गइयो, फुल्दै गएका कपालमा कतिपटक रङ लगाइमागियो केही कुराको गिन्ती, रेकर्ड छैन । हुने कुरा पनि भएन । म त एउटा आमाको जीवन जिउनमा यति गहिरिएर लागेछु कि मेरो जागिरका तीस वर्ष तीस दिनझैँ बितेछन् । ‘म जागिरे आमा हुँ । मैले बेला भएपछि यस घरबाट निस्कनुपर्छ र ऊ………… परको रिटायर होममा बस्नुपर्छ । मलाई दैनिक ‘आमा ! आमा !’ भन्ने छोराछोरी हुनेछैनन् । मैले सन्तानबिनाको फगत एक्लो जिन्दगी जिउनुपर्छ ।‘ भन्ने किसिमको सोच यस तीस वर्षको अवधिमा कहिल्यै दिमागमा आएन ।
**************
‘आमा’ भएको तीस वर्षपछि मलाई अफिसले विदा दियो । सूचना त पोहोरै गरेको थियो – अब एक वर्षमात्र छ है जागिर खानतर छोराछोरी र परिवारसँग भुलिएकी मलाई त्यस सूचनाको हेक्का रहेन ।बिदा हुने दिन आएपछि पो झसङ्ग भए । यो घर त्यागेर अन्त जानुपर्ला भनेर कहिल्यै सोचेकी थिइनँ । हुन त अवकाशपछि बस्ने घर पनि देखेकी छु मैले, त्यहीँ पर छ । एउटा कोठो छ, सानो भान्सा । एक थान ज्यान पाल्नका लागि यथेष्ट सामान छन् । किनमेल गर्न पेन्सन आउँछ । साठी वर्ष कटेकी महिलाका आवश्यकता नै के हुन्छन् र ?
बिदाइका दिन हाकिमले फूलमाला लगाइदिए । अबिर पनि लगाइदिए ।मायाको चिनो भन्दै हातले बुट्टा कुँदेको एउटा चैनपुरे करुवा पनि दिए । अब आजदेखि मैले घरमा बस्न नपाउने भएँ ।छोरा छोरीका लागि नयाँ आमा पनि आइसकी । खासमा ऊ बालग्रामकी आन्टी हो । आमाका सहयोगीलाई आन्टी भन्छन् यता । सानीमा, आमाकी बहिनी । हाम्रो चलनमा आमापछिकी दोस्री आमा । बिदाइपछिलगाइदिएको मालासहित मन पनि गह्रौँ हुँदै गयो । ठूला हुँदै गएका छोराछोरीले आमा जान्छे भन्ने कुरा बुझेकै होलान्तर सबैका आँखा भिजेका देख्छु । आफ्नै पनि त ओभानो राख्न कहाँ सक्थेँ र । यत्तिका वर्ष म यहीँ बसेँ । मेरो जाने ठेगाना कहीँ पनि त थिएन । घरको सम्झिन लायक केही थिएन, बूढो लोग्नेबाट छोराछोरी जन्मेनन् । सौताका सन्तानले देखिसहेनन् । आफूलाई स्नेह गर्ने कोही नभएपछि मेरा मनमा पनि उनीहरूप्रति केही हुने कुरै भएन ।माइतीपट्टि एउटा भाइ थियो । बिहे गरेपछिका केही वर्ष त ऊ पनि आउँथ्यो, अरू बेला नभए पनि तिहारमा पक्कै आउँथ्योतर उसका भिनाजू खसेदेखिन् ऊ पनि आउन छाड्यो । मैले माइती जान छोडिसकेकी थिएँ । त्यै एउटा भाइको माया लाग्थ्यो असाध्यै तर उसले पनि माया माऱ्यो । म फगत एक्ली भएँ । जन्मेकी पनि एक्लै थिएँ, जीवन पनि एक्लै जिएँ । अब बाँकी उमेर पनि एक्लै काट्नुपर्ने भो । जागिर छउन्जेल त छोराछोरी थिए, घर थियो, सबैथोक थियो ।अब यो बिदाइसँगै एक्लोपनको उपहार पनि पाइयो ।बिदाइ कार्यक्रममा बोल्न भनेका थिए तर बोल्न सकिनँ । गला अवरुद्ध भैरह्यो ।शब्द मुखबाहिर निस्कन मानेनन् ।
बेलुका मेरा सबै सामान छोराछोरीले गह्रौँ मन गर्दै रिटायरमेन्ट होमतिर ओसारिदिए । म पनि त्यतै लम्किएँ । हुन त रिटायरमेन्ट होम र म बसेको घरबिचको भौतिक दूरी धेरै थिएन तापनि परिस्थितिको विषम दूरी त्यहाँ थियो । आमाका रूपमा मेरा अधिकारहरू सबै सकिएका थिए । मैले छोराछोरीलाई माया गर्ने अधिकार, सुम्सुम्याउने अधिकार, पुल्पुल्याउने अधिकार, मिठोमसिनो ख्वाउने अधिकार सबै जागिरसँगै गुमाइसकेकी थिएँ । मेरा ठाउँमा नयाँ‘आमा’को नियुक्ति भैसकेको थियो । मसँगै मेरा अधिकारहरू पनि रिटायर भएका थिए ।मैले छोराछोरीलाई दिने ममता र स्नेह पनि रिटायर भएको थियो ।
************
रिटायरमेन्ट होमको सानो भान्सामा अलिकति भात पकाएँ । थोरै गुन्द्रुक पनि उमालेँ । आज गुन्द्रुक भात खान मन लागेको थियो । हिजोसम्म थरिथरिका परिकार बनाएर छोराछोरीलाई ख्वाउँदा कति हो कति आनन्द लाग्थ्यो । सानो झर्के थालमा भात पस्केर स्टिलका बटुकामा गुन्द्रुकको झोल हालेँ र भुईँको चकटीमा बसेँ । भात मुछेर मुखमा हालेँ । गुन्द्रुक भातले निलिन मानेन । घाटीबाट उँधो नै जाँदैन ।सम्झनाले कति साह्रो घाँटी अठ्याउँदो रहेछ । आज थाहा भो । त्यो सानो बिसु मैले खुवाउँदामात्र खान्थ्यो । आज कसरी खायो होला ।अघि म हिँड्ने बेलामा रोएको रोयै थियो ।धेरैबेर लगाएर फकाएकी थिएँ ।भात निलिएन । आ१ आज नखाए नि मर्दिनँ होला जस्तो लाग्यो ।सबै भात मिल्काइदिएँ ।
मन विचलित त थियो नै ।अतिसय छट्पटीले गाँजेको थियो । एक गिलास दूध तताएँ र सुत्ने कोठातिर लागेँ । नितान्त नौलो ओछ्यानले मेरो प्रतीक्षा गरिरहेको थियो ।पलङछेउको टेबलमा दूधको गिलास राखेँ र पलङमा थचक्क बसेँ । बस्नासाथ मुखबाट अचानक एउटा खुई फुत्कियो ।
बिसु मसँगै सुत्थ्यो ।तीन वर्षअघि संस्थामा ल्याउँदा दुई वर्षको थियो । बाबु आमा दुवै परलोक भएका । दक्षिणी सुनसरीको सदा बस्तीबाट उसलाई ल्याएका थियौँ ।लिन म पनि गएकी थिएँ । दुई वर्षको कलिलो बालक मेरा काखमा आएर लुपुक्क टाँसिएर बसेको थियो । मैले स्नेहले उसका टाउको मुसारेकी थिएँ । त्यसै दिनदेखि बिसु मलाई छोड्न मान्दैनथ्यो ।संस्थामा ल्याएपछि ऊ हलक्क बढेको थियो । खुसी बस्थ्यो । हाँसिरहन्थ्यो ।बिसुलाई हुर्काउन पाएर म पनि दङ्ग थिएँ । आज यो नयाँ ओछ्यानमा त्यो प्यारो बिसु भने थिएन । बल्लतल्ल दूध पिएर निदाउन पल्टिएँतर निद्रा आउने छाँटकाँटै थिएन । दाहिनेपट्टि बिसु सुत्ने ठाउँ आज रित्तै थियो । त्यही बिसु सुत्ने ठाउँ छामिरहेँ ।मन भने एक तमासले हुँडलिइरह्यो । जिन्दगी कतै छुटेजस्तो, केही हराएजस्तो, शरीरमात्र यस घरभित्र पसेजस्तो, मन उतै छोडिएजस्तो, प्रेम उतै एक्लिएजस्तो लागिरह्यो ।
************
रिटायरमेन्ट होममा सरेको पनि दुई महिना बित्न लागिसकेको छ । एकान्त र निस्सारतासँग एकाकार हुन कोसिस गरिरहेकी हुन्छु । असफल हुन्छु । आफू बसेको घर र छोराछोरीसँग भावनाको सम्बन्ध कसैगरी अन्त्य गर्न सकिनँ । प्रेम र स्नेहलाई रिटायर गर्न सकिनँ ।६० वर्षको मेरो शरीरमात्र रिटायर भयो । मन रिटायर हुन मानेन । प्रेम, स्नेह, मातृवात्सल्यले रिटायर नहुने जिद्दी गर्न थाले ।
केही दिन पहिले मनोज आएको थियो । एसएलसी सकेपछि प्लस्टु पढ्न विराटनगर गएपछि मलाई धेरै दिनसम्म नमिठो लागिरहेको थियो । उसले घरबाट निस्कनै पर्थ्यो र मैले जति दुःख मनाए पनि, उसले अगाडि बढ्नुथियो । हुन त मनोजभन्दा अघि पनि मेरा थुप्रै छोराछोरीहरू बाहिर गैसकेका थिए ।मनोज अलि बढीनै काखे थियो सानैदेखि । ठूलो भएपछि पनि ‘आमा आमा’ भन्दै मेरै अघिपछि घुमिरहेको हुन्थ्यो ।मनोजलाई माया गर्न पाउँदा मलाई पनि साह्रै हर्क लाग्थ्यो । ऊ विराटनगरस्थित युथ फ्यासिलिटी हिँडेपछि मलाई निकै गाह्रो भएको थियो ।हिँड्दा उसका आँसु थामिएका थिएनन् ।
मनोज आउनेबित्तिकै मेरा गोडामा ढोगी अँगालो मारेर धेरैबेर रोयो । मलाई सुनायो, ‘आमा, तपाईँ हुँदा हामीलाई कहिल्यै हामी टुहुरा हौँ लागेको थिएन । कुनै संस्थाले हामीलाई हुर्काएको भन्नेसमेत लागेको थिएनतर तपाईँ नहुँदा हामी साँच्चै टुहुरा भयौँ आमा ।’ मनोजका कुराले फेरि मेरो मनमा फेरि भुईँचाँलो गयो ।म आहत भएँ । ऊसँगै आँसु चुहाउन थालेँ ।मन व्यथित बन्दै गयो ।
बालग्रामले एउटा एउटी ‘आमा’लाई त अवकाश दियोतर छोराछोरी, छोरा-बुहारी, छोरी-ज्वाइँको सम्बन्धलाई कसरी अवकाश दिने बताएन । प्रेमलाई, स्नेहलाई, वात्सल्यलाई, छोराछोरीको आदरलाई कसरी अवकाश दिने बताएन । सोध्नु छ मलाई……….. उहाँहरूसँग जबाफ त होला……….. पक्कै …………….
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।