दसैँ आयो तर न खसी बोकेर आयो न खुसी बोकेर आयो   । खुसीको घाम अस्ताएको निकै भयो । मलाई लाग्न छोडिसकेको थियो, खुसी एकदिन मेरो घरको बाटो हिँड्दै आउँछ । अँध्यारो छिप्पिँदै जाँदा जून आउँथ्यो । जून अस्ताएपछि घाम आउँथ्यो । जून आइपुग्ने त्यही बाटो, घाम आइपुग्ने त्यही बाटो तर खुसी त्यही बाटो भएर कहिल्यै आउन सकेन । सायद बाटै फरक भएर होला ।

कान्छा बाका छोराहरू मभन्दा निकै ठूला । उनीहरू जागे लाएर हिँड्थे ।  म कछ्छा (कट्टु) लाएर हिँड्थे । उनीहरू हात्तीजत्रा त म कमिलोजत्रो । उनीहरू मलाई जहिल्यै हेप्ने, जहिल्यै कुट्ने । मेरो आँगनले मेरा आँसु धेरै पिएको छ । बगरले सिङ्गो नदी पिएजस्तो । मेरो नाङ्गो शरीरले धेरै चोटहरू सहेको छ । आरनमा फलामले सहेजस्तै ।

घरअगाडिको आँगनको एक छेउ कुनामा उभिएको एउटा बुढो आरुको रुख । मेरी जिजा (हजुर आमा) जस्तै बुढो । बाटो हिँड्दा हिँड्दै थाकेर डाँडोमा उभिएको बटुवाजस्तो । त्यही आरुको एक हाँगोमा झुन्ड्याइन्थ्यो दसैँको माली (पिङ्ग) । कान्छा बाका छोराहरूले मलाई माली खेल्नै नदिने । मेरो पालो मिच्ने । मलाई मालीमा हातै लाउन नदिने । बिजुलीका तारमा हात लाउन प्रतिबन्ध गरिएजस्तो । मालीमा हात लगाउन पुग्थेँ तर कान्छाबाका छोराहरू मलाई पर हुत्याइदिन्थे । फोहोर कागजको डल्लो पर हुत्याएजस्तो ।

भेषराज बुढाथोकी

एक साँझ कति सहनु दाइहरूको हेपाइ । कति खाइरहनु उनीहरूको कुटाइ ? यो सोचेर म त्यो आरुको रुख काट्ने निर्णयमा पुगेँ । कान्छा बाका छोराहरूलाई घरभित्र पस्न दिएँ  ।  उनीहरू दैलो टेकेर घरभित्र पसेपछि म आफ्नो घरमा पसेँ ।  सरासर खटियाको मुनि राखेको बन्चरो समातेँ । मलाई थाहा थियो । जिजाले बन्चरो यहीँ राख्नुहुन्छ । मनमनै मुस्कुराएँ  । युद्धमा हिँडेको सिपाही मुस्कुराएजस्तै ।

जब मैले आरुको फेदमा दुई चोट बन्चरोले हानेँ, पहिलो चोटमा आरुको बोक्रो उछिट्टिएर गयो । दोस्रोपटक हानेर तेस्रोपटक हान्ने तयारीमा थिएँ । बन्चरोले हानेको घाउबाट पानी तरर बग्न थाल्यो । एक मनले सोचेँ यो बुढो रुख पनि मजस्तै रोयो । यसको पनि मेरा जस्तै आँसु रहेछ । यसलाई काट्नु हुन्न । अर्को मनले सोचेँ मलाई माली खेल्नै नदिने दाइहरूका लागि भए पनि मैले आरु काट्नैपर्छ । ना रहे बाँस,  ना बजे बाँसुरी ।

एक मिनेट जति रोकेर फेरि फेद काट्नै लाग्दा जिजा आएर कराउन थाल्नुभयो ,” क्यान काट्न लागि यो आरु, त्यस्सै काठप्पो बान्ना , रडाई फाल्ना । तेरो क्या खाइदियो यै आरुका रुखले ?” मेरा पाखुरा च्याप्प समातेर जिजा बन्चरो लिएर हिँड्नुभयो । कैलु गाई ब्याएको थियो । जिजा गाई हत्याएर (दोहोएर) गोठबाट आउँदै हुनुहुन्थ्यो । एक हातमा बन्चरो र दूधको बाल्टी , अर्को हातमा मलाई समातेर जिजा घरभित्र पस्नुभो ।

अँध्यारोमा जुनकिरीको पिलपिल उज्यालोजस्तै अँध्यारो घरभित्र अगेनामा आगो पुत्याइरहेको थियो । मधुरो उज्यालोमा जिजाका आँखाबाट आँसु तपतप भुईँमा झरिरहेको मैले देखेँ ।  बिहानी पख धर्तीमा शीत झरेजस्तै । सबै कुरा यत्तिकै छोडेर जिजाले सुरु गर्नुभयो आफ्नो कथा ! आरुको कथा !

………………..

“सानै उमेरमा बिहे भयो । बिहे गरेको सात वर्षपछि मैले ठुले जन्माएँ। तेरा बाजे झिक्कै (धेरै) खुसी छिया (थिए) । हाम्रो सब्बै मौ कविला (परिवार) खुसी थियो । जेठो छोरो जन्मियो । वंश धान्ने भयो । ठुले जन्मिँदै हट्टाकट्टा भएर जन्मियो । गहुँ गोरो वर्णको , बाटुला आँखा,  थाप्चे नाक । बहुत बढिया ( राम्रो) थियो ठुले । ठुले जन्मेको दुई वर्ष हुँदा पनि उसको बोली फुटेन । ऊ बोल्दै बोलेन । कति देउ देवता सबै पुज्यौँ तर हाम्रो केही लागेन । छोरो जन्मिँदै लाटो भएर जन्मियो । जिब्रो छ तर बोल्नै सक्तैन ठुले । समय बित्तै गयो । ठुले  सबै काम गर्न सक्थ्यो । बालाई खेतमा सघाउँथ्यो । जङ्गलबाट दाउरा लिएर आउँथ्यो । गोठ हिलो हाल्थ्यो ( भोकारो सोर्थ्यो) । खाइलाख्दो ज्यान । बन्दुक हान्यो भने दुई चार गोलीले त नढल्ला जस्तो । जुम्लाका स्याउ जस्ता सुकिला (सेता) गाला । गरिबीले दिनु धोका दियो । गरिबीले ढाड भाँच्चिनै लाग्यो । छाती थिच्यो । ठुलेका बा भारततिर लागे ।  पेट पाल्नु पऱ्यो । आङ ढाक्नु पऱ्यो । दिन रात सुइना (सपना) धेख्दो छिया (देख्थेँ) । घरदेखि जङ्गल , जङ्गलदेखि घर । यसरी बाटाको दूरी नाप्ता नाप्तै मैले सुइना पनि राम्रै नाप्न थालिसकेकी थिएँ ।  झुपडीमा जन्मेर महल कहाँ खोज्नु ? आटो खाएर हुर्काएँ  ठुलेलाई । बासी रोटो (रोटी) आधा म खान्थेँ,  आधा ठुले खान्थ्यो । मस्तै (धेरै) छाकहरू हामीले भोकै टारेका छौँ । कहिले सैनाको (सिस्नु) साग खान्थ्यौँ त कहिले मकैका रोटा । ठुले जन्मेको तेह्र वर्षपछि माइलो जन्मियो तर ठुलेभन्दा बहुत फरक । ठुले गोरो । माइलो कालो । ठुले नौ वर्षको हुँदा एक दिन आइतेको घरको बाटो हुँदै गएछ । आइतेको आँगनको अगाडि ठूलो आरुको रुख थियो । आरु लटरम्म पाकेको रहेछ । एक गेडो (दाना) आरु रुखबाट झरेर बाटामा परेको रछ । ठुलेले त्यो झरेको दानु समातेर खाएछ । उसलाई पहिलोपटक आरु खाँदा बहुत स्वादी( मीठो) लागेछ ।

आइतेका छोराहरूले यो दृश्य देखेर  बेस्सरी कुटेछन् र लखेटेछन् । आधा खाइसकेको आरु पनि खोसेर हुत्याई दिएछन् । ठुलेले आइतेका छोराहरूलाई भनेछ ,” पख तिमीहरूको जस्तै आरुको बोट म पनि लगाउँछु । म पनि फलाउँछु ।” त्यहाँबाट ठुले हिँडेछ । एक दिन ठुले जङ्गलबाट दाउरा लिएर घर आउँदै रहेछ । उसले बड्डी बाटाको छेउमा आरुको सानो  बोट देखेछ । ” के खोज्छस् काना ? आँखो”  भनेको यही हो सायद । उसले त्यो आरुको बोट उपाडेर (उखेलेर)  ल्यायो र आँगनको डिलमा (आली) रोप्न लाग्यो । मैले रोप्न दिइनँ । घरनजिकै आरुको बोट लगाउँदा चिड्को (चट्याङ्ग) पर्ला भन्ने डर हुन्थ्यो । भई (भय) लाग्दो छियो (थियो) । दुई तीनखेरि (पटक ) ऊ रोप्थ्यो । म उपाडेर फाल्थेँ । यो शृङ्खला जारी रह्यो । एक दिन अत्ति गरेपछि मैले उपाडेन रुख । उसले दिनका दिन (दिनहुँ) पानी हालिरह्यो । दुई महिनापछि आरु तीन पाते भयो । हऱ्यो (हरियो ) धेक्यो (देखियो )।

ठुलेको बिहे गर्ने उमेर ढल्कियो । ऊ अठ्ठाइस लाग्यो । जन्मिँदै नबोल्ने भएर जन्मेको ऊ लाटो । उसलाई कसले छोरी देओस् ! उसको हात समाइदिने अर्को हात कहीँ थिएन । उल्लो गाउँ,  पल्लो गाउँ सबै ठाउँ छोरीको हात माग्न हिँडे ठुलेका बा । कसैले छोरी दिएनन् । कारण ठुले लाटो थियो । ऊ बोल्न सक्तैन थियो । छोरी माग्न जाँदा कसैले मूर्तिलाई छोरी कसले दिन्छ भने । कसैले तेरो छोरासँग बिहे गराइदिनुभन्दा ढुङ्गोसँग छोरीको बिहे गराइदिन्छु भने  । जङ्गलको बुढो रुखसँग के जन्त (बिहे)  गर्नु ? कुनै कुनै युवतीले यस्तो लख पनि काटे । मलाई ठुलेको झिक्कै चिन्ता लाग्न थाल्यो ।

डाँडा घरे पण्डित बाजे एक बाहा (साँझ)  हाम्रो घरमा आए । कहिल्यै नआउने पण्डित एक्कासी घरमा आएको देख्ता, मुकी झिक्कै सरम (लाज) लाग्यो  । मनमा अनेका कुणा (कुरा)  खेल्न थाले । ठुलेका लागि बुहारी खोजेको पण्डितले सुनाए । पण्डित आफूमात्रै आएनन् खुसी पनि सँगै बोकेर आए । अब छाटाई (छिटै)  बिहे गर्नुपर्छ । बिहेको तयारी थाल्नुस् भनेर पण्डित आफ्नो घर फर्किए ।

५८ साल मङ्सिर १६ गते । ठुलेको बिहे हुने दिन । हाम्रो घरमा लक्ष्मी भित्रिने दिन । घर सिँगार पटार गरिएको थियो  । मण्डपमा दुलही सिँगारिएजस्तो । पिलपिल बलिरहेका लाइटहरू,  हावामा फ्यारफ्यार हल्लिरहेका ध्वजा पतकाहरू, छमछम पाउजुमा नाचिरहेका गाउँलेहरू,   जोडतोडले बजिरहेका बाजाहरू, यी सम्झिँदा लाग्थ्यो, आजबाट हामी उज्यालो भयौँ ।  हाम्रो घरको अँध्यारो हटिगो । गोधूलि साँझमा ठुलेले बुहारी भित्र्यायो ।

समय बित्तै गयो । ठुले पनि खुसी थियो बुहारीसँग । बुहारी पनि खुसी थिई ठुलेसँग । एउटै खेतको आलीमा उम्रेका भटमास र मकैजस्ता । खुसी बिस्तारै तिनपाते हुँदै थियो । बुहारीले मलाई काममा सघाउँदै थिई । मेला पातसँगै जान्थ्यौँ । भन्नेले भन्थे, बुहारी सासू भनेको त पधेर्नी आमैको जस्तो होस् । “

यतिन्जेल अगेनाको आगो निभिसकेको थियो तर जिजाको कथा निभेको थिएन । लाग्थ्यो, जिजा कथा लेख्न सक्ने हुँदी हुन् त जिजा कलमले होइन ,पसिनाले कथा लेख्न सक्ने रहिछन् । जिजाले फेरि आँसु झार्नुभयो कि भन्ने पिर लाग्थ्यो मनमा । अँध्यारो भएकाले त्यो देखिएन ।

जिजाले फेरि शिलशिला सुरू गर्नुभो, “बिहे गरेको तीन वर्षपछि तँ जन्मिस् । तँ जन्मेको एक महिनापछि ठुले बिरामी पऱ्यो । ज्यान सुक्तै गयो । खानामा अरुचि हुँदै गयो । हिजोको स्याउजस्तो ठुले आज चुसेर फालेको आँपजस्तो भयो । बिचरा ठुले न बोल्न सक्थ्यो, न त केही भन्न सक्थ्यो । इसारा र हाउभाउले जति बुझिन्थ्यो त्यति गरिदिन्थ्यौँ ।

गाउँमा अस्पताल थिएन । अहिलेजस्तो मेडिकल पसल थिएन । अहिलेजस्तो औषधि पाइँदैनथ्यो ऊबेला । सके  जडीबुटी गरिन्थ्यो । त्यो पनि निकै अढली (गाह्रो) । ठुलेलाई सक्तो जडीबुटी गरियो । धामीझाँक्रीकहाँ देखाइयो गर्न सम्म गरियो ठुलेलाई ।

आरु रोपेको जग्गामुनि ढुङ्गो लाग्यो कि क्या हो । आरु तन्नेरी (ठूलो)  हुन  निक्कै समय लाग्यो । अब सइत्याम (बिस्तारै) आरु फुल्न लाग्यो । चैत वैशाखको समय ; चर्को घाम । ओखरका पन (पनि) फूल फुल्या । आरुबखडाका पन फूल फुल्या । ठुले दिन दिनै गन्थ्यो आरुका फूल , दिन दिनै हेर्थ्यो पनि  । ऊ सोच्थ्यो होला , ” अब त म पनि आइतेको जस्तै आरु खान पाउने भएँ ” ।

एक दिन । बेल (सूर्य ) बिस्तारै बुढ्न (अस्ताउँन) लाग्यो । घाम डुब्दै गयो । दिन ढल्किँदै गयो । फूलेर रङ्गीचङ्गी भएको आरुको फेदमुनि गुन्द्री ओछ्याएर ठुलेलाई सुताएको थियो । जब ठ्याक्कै घाम भोलि फेरि बास बस्ने गरी चन्किली डाँडापारि गयो । यता ठुलेको सास गयो । घामले धर्ती छोड्यो । ठुलेले संसार छोड्यो । सूर्य भोलि बल्ने गरी आजलाई निभ्यो तर ठुले सधैँका लागि निभ्यो । अस्ताउन त सूर्य र ठुले एकैपटक अस्ताए  तर फरक यति हो, सूर्य भोलि फेरि उदाउने छ, ठुले कहिल्यै नउदाउने गरी अस्तायो । आरुको फेदमुनि  मेरो खुसीको मैनबत्ती सधैँका लागि अस्तायो । मेरो ठुले आफैँले रोपेको आरुको फल आफैँले खान पाएन । आरु त अब अर्को वर्ष पनि फल्नेछ तर मेरो काख अब कहिल्यै नफल्ने गरी बाँझो रह्यो । ठुलेले संसार छोडेको बेला तँ एक वर्ष छ महिनाको थिइस् ।”

योबेला अगेनामा बेस्वादको तितो धुवाँ पुत्याएको थियो । मेरो मनमा पनि त्यस्तै तुवाँलो । आगो फुकेर हेर्दा जिजाका आँखाका चिपचिपबाट आँसु तरररर बगेका थिए । सन्तान गुमाउनुको पीडा सायद आमाभन्दा बढी कसलाई थाहा होला र ? जिजाको पाग्डो(पटुकी) को  चोक्टो(टालो)ले आँसु किनार लगाइदिएँ।

“समय बिस्तारै बित्तै गयो । बिस्तारै बिस्तारै घाउ बल्झिन छाड्यो । गाउँलेहरूले आफन्तहरूले मलम लगाइरहे । माइलाको अनुहार हेरेर ठुलेको गुमाएको चित्त बुझाउँथेँ । यो बिचमा बुहारी पनि बिस्तारै फरक भई । ऊ हाम्रो घर भन्दा बढी माइत बस्न लागी (थाली ) । हप्ताको चार दिन माइत बस्थी । दुई दिन हाम्रो घरमा ।

एक साँझ पारिघरे हर्कबहादुरले सुनाए । बुहारी त उसको माइती घरबाटै भागेर अर्कैसँग गइछ । अब झन् निको भइसकेको घाउ समयले कोट्याइदियो । झन् दुख्न थाल्यो घाउ । झन् बल्झियो घाउ । पिरैपिरले ठुलेका बाको ज्यान सुक्यो  । मेरा आँखाहरू कहिल्यै ओभाना रहेनन् । आँखामा हेमन्त शिशिर कहिल्यै आएन । आँखामा सधैँ वर्षात् । हृदयमा वसन्त कहिल्यै फर्केन । म त कस्ती अभागी रहेछु बा । तेरी आमाले छोड्ने बेला तँ तीन वर्षको थिइस् । पछि तेरी कान्छी आमाको दूध खाएर हुर्केको होस् तँ । अहिले बाह्र वर्षको भइस् ।

त्यसैले नाति, त्यो आरु कहिल्यै नकाटेस् म बाँचुन्जेल ।  यो आरु काट्नु भनेको तैँले मेरो शरीरको कुनै अङ्ग काट्नुसरह हो । यो आरुको बोट रोपेको ठुलेले हो र ठुले यही आरुको काखबाट सधैँका लागि बिदा भएको हो । यो आरुको अनुहार म ठयाक्कै  ठुलेको अनुहार जस्तै देख्छु । यो आरुको बोटले मलाई मेरो ठुले सम्झाउँछ बा । “

योपटक आगो धपक्क बलेको थियो । निन्याउरो अनुहारमा जिजाका आँखा निकै रसाएका थिए । जिजाले यो बेला लामो भक्कानु छोड्नुभो ।

……….

जन्मेको डेढ वर्षमा बाले छोडेर जानुभयो सधैँका लागि । बाले छोडेको डेढ वर्षपछि आमाले छोड्नभयो रे । मलाई बा आमाको अनुहार सम्म याद छैन आज । उनीहरूको धमिलो चित्र सम्म म याद गर्न सक्तिनँ। आज मसँग धेरै कुराको अभाव छ । सबैभन्दा ठुलो बा आमाको अभाव छ । अरू अभावहरू त म पूर्ति गर्नेछु । केही अभाव समयले पूर्ति गर्नेछ तर बा आमाको अभाव कसले पूर्ति गर्देला ? टाँडमा  (बार्दलीमा ) बस्दा बलेसीमा खसेका आकासे पानीका थोपाजस्तै खस्छन्, आँसुहरू ।  हृदयको गहिराइबाट ।