छोरा जब सानो थियो, “डोरेमन” साह्रै मनपराउने गर्थ्यो । तसर्थ ,उसले टेलिभिजन सेट र आफूबिच अचम्मको गुरुत्वाकर्षण महसुस गर्थ्यो होला। ऊ लगभग टेलिभिजन सेटसँगै टाँस्सिएर दिन बिताउन चाहन्थ्यो । यो कुरो उसको आमालाई खासै मन पर्दैनथ्यो । “टेलिभिजन धेरै हेर्दा आँखाको ज्योति जान्छ” भन्ने उनको आर्गुमेन्ट हुने गर्थ्यो । आफ्नो आर्गुमेन्टलाई भ्यालिडेट गर्ने धेरै उँदाहरणहरू उनले पहिले नै भेटिसकेकी थिइन् । टेलिभिजन धेरै हेर्दा आँखाको ज्योति गुम्ने कुराबाट छोरालाई बचाउने भावनाले ओतप्रोत भएर नै होला, उनले रिमोट खोसेर टिभी बन्द गर्थिन् प्रायः । “गधा, तेरो आँखा बिग्रिन्छ,” भन्ने गर्थिन् । मनपरेको कुरो धित मरुन्जेल हेर्न नपाउँदा छोराको बालहृदयमा आघात हुन्थ्यो होला । मलाई एकदिन छोराले सोध्यो ,” बाबा म ठूलो हुँदासम्म पनि टिभीमा यो कार्टुन आइरहन्छ ? पछि ठूलो भएपछि बरु ठूलो टिभी किनेर ठूलो कोठामा बसेर एक्लै यो सबै हेर्छु ।” उसको कुरा सुनेर म मनमनै मुस्काएँ । त्यतिमात्रले मलाई पुगेन । म हाँस्न पनि थालेँ । हाँसोले मात्रा पुगेन मलाई, उसलाई हाँसोको पात्र पनि बनाइदिएँ । एकछिनपछि उसलाई के सुर चलेछ, फेरि अर्को कुरा भन्यो,” बाबा त्यतिबेलासम्म त म मरिसक्छु होला ।” एकैछिनअघि मुस्कुराइरहेको मलाई धेरैबेरसम्म निस्पट्ट अँध्याराले छोप्यो । मेरो घाँटी नराम्रोसँग थिच्यो -त्यो निस्पट्ट अँध्याराले । त्यसपछि म रन्थनिएँ । त्यही रन्थनिएकै रनाहामा मैले उसलाई अँगालो हालेँ । ऊ सानो थियो त्यसैले मेरो अँगालामा राम्ररी अटायो । बिस्तारै छोराको बल्यकालले हाँसी-हाँसी बिदा लियो । डोरेमन र बेलाबेलामा किनिदिएको डेरीमिल्कले तुरुन्तै फिक्स गरिदिने समस्याहरू अब डोरेमन र डेरीमिल्कको पहुँचभन्दा अलि टाढा पुग्न थाले । बिस्तारै समय छिप्पिँदै गयो । छोराले एस.ई.ई पास गऱ्यो । समय अझै छिप्पिँदै गयो । छोराले प्लस टु पनि पास गऱ्यो । एकान्तको चाहना गर्दै एकान्तमै रमाउने उसलाई बानी पऱ्यो । कारण , उसमा यौवनकालका पालुवाहरू जुर्मुराउँदै थिए । छोरालाई पहिलेजस्तो अड्याउने हैसियत हामीमा रहेन । उल्टो उसले बेला-बेलामा हामीलाई इमोसनल ब्लयाकमेल गरिरह्यो । गेमिङ पिसिको चाहना गरेको पर्सिपल्ट त्यो मसिन घरमा भित्रियो । त्यो मसिनसँग उसको
अत्मीयता बढ्नासाथ हामीबिचको आत्मीयतामा ह्रास आयो । गेमखेल्दा एक्साइटेड हुँदो रहेछ, कोठा बन्द गरेर चिच्याइरहन्थ्यो।
हामीलाई लाग्थ्यो ऊ खुसी छ । जब उसलाई भोक लाग्थ्यो, ऊ फुत्त बाहिर निस्किन्थ्यो । “आमा भोक लाग्यो । केही बनाइदिनू न तुरुन्तै” भनेर फेरि कोठाभित्र पस्थ्यो । उसकी आमाले हतार हतार केही बनाइदिन्थिन् । उसलाई किचनमा बसेर खाने फुर्सद बिरलै हुन थाल्यो । खाना टिपेर ऊ आफ्नो कोठातिर कुदिहाल्थ्यो । अनि फेरि ऊ चिच्याउन सुरु गर्थ्यो ,” त्यसलाई पछाडिबाट हान् ! मलाई कभर फायर दे !” दिनचऱ्या यसैगरी बित्दै थियो उसको । कहिलेकाहीँ पहुनाहरू घर आउँथे । हामी पनि जान्थ्यौँ तर केही समयदेखि एकतमासको चटारो थियो । हामी कतै निस्केकै थिएनौँ । नयाँ बानेश्वरमा साथीहरूसँग मिलेर खोल्न लागेको मिनिरल वाटर प्रोसेसिङ प्लान्टको काम अन्तिम अन्तिम हुन लागेको थियो; म मनमनै खुसी थिएँ । “तिम्रो भावी योजना के छ? छ भने त्यसैमा ध्यान देऊ । मेरो साथ रहनेछ । छैन भने मेरो भन्नु सबै तिम्रै हो। अफिसमा समय देऊ ।
केही सिक । तिमीले मैलेभन्दा धेरै प्रगति गर्नुपर्छ ।” समय मिलाएर छोरोलाई सम्झाउने विचारमा थिएँ तर त्यो समय भनाउँदोले मसँग लुकामारी खेलिरहेको थियो । जब म कामबाट घर आउँथेँ ,छोरो सुतिसकेको हुन्थ्यो । जब म बिहानै उठेर काममा जाने सुरसार गर्थेँ, त्यसबेलासम्म पनि उसलाई सुतिरहेकै पाउँथेँ । एकदिन म घरआउन लेट भयो । लगभग मध्यरातनै भएको थियो । जब म घर आइपुगेँ, म आश्चर्यचकित भएँ ।
दुवै आमा छोराले मलाई कुरिरहेका थिए । “किन अहिलेसम्म नसुतेको?” मैले प्रश्न गरेँ ।
“छोरोलाई बाइक चहियो रे । तपाईँसँग कुरा गर्छु भनेर नसुती बसेको छ ,” उसकी आमाले कुरो राखिन् । छोरो छेउमै उभिएको थियो । उसले पनि मुन्टो हल्लायो । “भोलि नै किन्नु पर्ने रे,” उनले फेरि कुरो थपिन् । “बाइक किन चहियो? भोलि नै किन्नुपर्ने हो र ? किन त्यस्तो हतार ? “, मैले प्रश्न गरेँ । छोराले केही बोलेन । ऊ आफ्नो कोठातिर लाग्यो ।
म पनि भोलिपल्ट एकबिहानै कामतिर लागेँ । राति फर्केपछि थाहा पाएँ – छोराले त्यो दिन केही खाएनछ । रातको खाना पनि छाडेछ । “यो कस्तो खालको घुर्क्याइ हो ? आफ्नो कुरा जसरी पनि मनाउनुपर्ने । किन उसले यस्तो गरेको होला ? “, रातभरि बारम्बार यिनै कुराहरू मनमा खेल्यो ।
त्यो रात आँखाको थकाइ मेटाउनुभन्दा पहिले मनमा धेरै उथलपुथल भयो । बारबार कोल्टे फेरेँ । निदाउने चेष्टा गरेँ । निद्रै परेन । त्यो समय म मेरो मनको बाहुपाशमा नराम्रोसँग जकडिएछु । मनले मलाई डोऱ्याएर मेरो बाल्यकालतिर लग्यो । मैले पहिलोपल्ट खेलौनाको रूपमा पाएको त्यो प्लास्टिकको कारले फेरि साकार रूप लियो । खेलौनाको नाममा त्यही एउटा प्लास्टिकको भाँडो थियो । यद्यपि, त्यो वस्तु अति नै प्यारो थियो ।
त्यो सानो खेलौना बोकेरै स्कुल जान्थेँ । कल्पनाको संसारमा खुब सयर गर्थेँ । मसँग केही थिएन । अहँ, त्यसो भन्दा गलत होला । मसँग सबथोक थियो । त्यो प्लास्टिकको कारलाई अँगालो हालेरै निदाउँथेँ । त्यही खेलौनामा चढेर सारा ब्रह्माण्डको यात्रा गर्थेँ सपनीमा । दसैँ भर्न हामी मामाघर गएको बेला त्यो खेलौना आँगनमै छुटेछ । थाहा पाउनेबित्तिकै मलाई औडाहा भयो । केही रमाइलो लागेन । “घर जाऊँ न आज” भनेर आमालाई भोलिपल्ट नै भनेको थिए । तीनदिनको मावल बसाइ साह्रै खल्लो भयो।
फर्केर घर आउनासाथ त्यो खेलौना छाडेको ठाउँतिर दगुरेँ । त्यहाँ खेलौना थिएन ।
आएर फेरि आमालाई गनगन गर्न थालेँ। “खेलौना छैन त। त्यहीँ होला भनेको हैन तपाईँले?” आमालाई सोधेँ । आमाले धरै पाउनु भएन । खेलौना खोज्न सुरु गर्नुभयो ।
“अब खेलौना भेटिन्छ” भन्ने कुरोमा म ढुक्क भएँ । कारण, पहिले यसैगरी हराउँदा आमाले खोजिदिनुभएको थियो । केहीछिनपछि खेलौना करेसाबारीमा भेट्टियो तर त्यो खेलौना भेट्टिँदा म भक्कानिएँ । खेलौना टुक्रा टुक्रा भएको रहेछ । “ठुले, तेरो खेलौना त कुकुरले जम्मै बिगारेछ ।”, आमाले भन्नुभयो । मैले कुरो बुझिनँ । बिगारेको मात्र भए, सपार्न मिल्थ्यो होला । “त्यो बिग्रेको मात्र हो र ?” आफैँलाई प्रश्न गरेँ ।
“चिन्ता नगर् ठुले । बाबाले मेलाबाट अर्को ल्याइदिनुहुन्छ,” आमाले सम्झाउनुभयो।
मेरो मनले अलिकति भए पनि सान्त्वना पायो तर त्यो रात म निदाउन सकिनँ । अँगालामा च्याप्ने म सँग केही थिएन । यो घटनाको लगभग एक सातापछि मैले अर्को खेलौना पाएँ । त्यो पनि अचम्मको थियो, बाबाजीको मूर्ति थियो त्यो । टाउकोमा स्प्रिङ्ग जडित भएकोले एकपल्ट हल्लाइदिएपछि त्यो एक मिनेटजति हल्लिरहन्थ्यो तर त्यो माटाले बनेको थियो । फुटेर जानु त्यसको नियति थियो । किचनको एउटा कुनामा त्यसलाई सजाएँ । एकदिन एउटा अलच्छिनी बिरालोले बाटो बिराएछ । बेस्सरी त्यो स्यानो, कोमल माटाको खेलौनालाई अन्जानबस ठक्कर दिएछ । जमिनको कठोरता र त्यो सानो खेलौनाको कोमलताबिच के तालमेल मिल्थ्यो र ?
माटाको खेलौना माटामै मिल्यो । माटाले माटालाई कुनै किसिमको सद्भाव देखाएन; पराई सम्झियो । यसैगरी मैले पाएका सीमित खेलौनाहरू क्रमश: टुट्दै फुट्दै गए । बिस्तारै थाहै नपाई खेलौना खेल्ने उमेर पनि सकियो ।
जब यौवनकालको गुलाबी उमेरले मैले हेर्ने वातावरण रङ्गाउन थालेँ, त्यसैताका घरमा एउटा नयाँ ठूलो हरियो साइकलको आगमन भयो तर त्यो साइकल बाबाले मात्र प्रयोग गर्ने हुनाले मैले कुदाउने अवसर बिरलै मिल्थ्यो । सिधै बाबासँग माग्ने आँट आउँदैनथ्यो । आमाबाट प्रस्ताव राख्ने गर्थेँ । त्यो साइकल चलाउन पाएको दिन, मन साह्रै आनन्दित हुन्थ्यो।
त्यो आनन्द अलौकिक हुन्थ्यो। त्यसलाई यहाँ शब्दहरूमा वर्णन गर्न सक्तिनँ या भनौँ , मसँग त्यो भावनालाई सुहाउने गरी प्रकट गर्ने शब्दभण्डार छैन । अहिले आएर सोच्छु त्यो समय त्यस्तै थियो । एउटा किसानको छोराको हैसियतले जे जति खुसीहरू मेरो पोल्टामा पर्नुथ्यो, त्यो त्यतिकै अनुपातमा मेरो पोल्टामा पऱ्यो । अहिलेको समय फरक छ । प्रथमतः, मेरो छोरो किसानको छोरो हैन । ऊ एउटा बिजनेस म्यानको छोरो हो । उसको इच्छा ,रहर ,आवश्यकताको आयतन मेरोभन्दा अलि ठुलै छ । समय परिवर्तन भइसक्यो । युग परिवर्तन भइसक्यो । मान्छेले धेरै चिज जानिसक्यो, सिकिसक्यो अनि धेरै चिज भुलि पनि सक्यो । मानवमा भौतिक वस्तुको चाहना आकासिँदै जाँदा, मानवीय भावनाहरू भासिँदै गए ।
“के भन्ने हाम्रो समय, दस मोहर महिनाको कमाई । हाम्रो युगको पानी राम्रो । हाम्रो समय त्यसै रमाइलो “। यो गीत कसैले त्यसै गाइदिएको हैन।
हाम्रो समयमा आफ्नै किसिमको रमाइलो थियो । अहिलेको समयमा आफ्नै किसिमको रमाइलो छ । अहिलेको समयलाई “डिजिटल युग” भनिदो रहेछ । तसर्थ हाम्रो युग ” एनालग युग” थियो । “एनालग” भन्ने शब्दले मलाई हजुरबुवाले बाध्नुभएको एच एम टि घडीको सम्झना आउँछ । त्यो घडीलाई दिनमा दुईपल्ट “दम” दिनुपर्थ्यो। अर्थात् दुईपल्ट त्यसभित्र रहेको स्प्रिङ्लाई घुमाउनुपर्थ्यो । हजुरबुवा कुनै कुनै बेला अटोमेटिक घडीको कुरो गर्नुहुन्थ् यो । त्यसको चाहना हुँदो हो वहाँलाई तर किन्न सक्नु भएन र जीवनभर त्यही एच एम टी घडी बाँधिरहनुभयो । “अटोमेटिकलाई दम दिइरहनु पर्दैन तर त्यो अलि महँगो छ ,” साथीहरूसँग कुरो हुन्थ्यो वहाँको-कहिलेकाहीँ ।
हजुरबुवा नुहाउन गएकोबेला त्यो घडी टेबलमा राख्नुहुन्थ्यो। कहिलेकाहीँ म पनि त्यसलाई पहरिने गर्थेँ । भारी थियो त्यो घडी । नियतिवश कहिलेकाहीँ त्यो घडीले “बन्दकी” पनि बस्नुपरेको थियो रे । एकदिन हजुरबुवाले घडीमा दम दिइरहँदा सन्योगवश रेडियामा यो गीत बजेको थियो। ” रोते रोते हसना सिखो , हसते हसते रोना । जितनी चाबी भरी रामने , उतना चले खिलौना। “सुन्दा दन्तेकथाजस्तै लाग्छ तर म त्यो युग र यो युग दुइटै युगहरू बाँच्न भ्याएको मान्छे हुँ । अझ भनौँ, म एउटा लक्की मान्छे । कहिलेकाहीँ त्यो युग र यो युगका बिच तुलना गर्छु ।
अनि मलाई भन्न मन लाग्छ । यो युग खल्लो युग हो । कारण त्यो युगमा मिठास थियो – अच्चमको मिठास । रोपाइँको रमाइलो र रोधी घरको हर्सोल्लास सधैँभरी आँखामा लुकामारी खेलिरहन्छ । गाउँ साह्रै रमाइलो थियो । त्योभन्दा पनि रमाइलो थियो त्यो गाउँको चोक । मैले यहाँ भुपीको शब्दहरू पैँचो लिएँ है । “मेरो सुन्दर गाउँमा एउटा चोक छ ,त्यहाँ के छैन ? सब थोक छ ।
ओहो! मैले फेरि आफ्नै कुरामात्र गर्न थालेछु । विषयवस्तुबाट भट्किने रोग लागेको छ आजकल । ए साँच्चि म मेरो छोराको कुरो गर्दै थिएँ है । अब फेरि पुनरावृत्ति गर्छु है । छोराले चाहना गरेकै मोटर बाइक नकिनी धरै पाइएन । अन्तत: त्यो बाइक घरमा आयो । त्यसदिन उसले साह्रै रमाइलो गऱ्यो । आफ्नो सबै मिल्ने साथीहरूलाई डाकेको थियो । मध्यरातसम्म रमाइलो गरेर सबै बाटो लागे । छोरो पनि आफ्नो कोठातिर लाग्यो । हामीलाई भने निद्रा परेकै थिएन । ” बुढी , संयमित भएर चलाऊ भन्नू है । तिमीले भनेको मान्छ”, मैले भनेको थिएँ । ” हैन , भोलि टाउको छोएर कसम खान लाउँछु ,” उनले भनेकी थिइन् । त्यसो गरिन् या गरिनन् त्योबारेमा मलाई सोध्ने मौकै मिलेन तर मोटर बाइक मिलेपछि उसको दिन्चर्यामा अलि अलि परिवर्तन आउन थाल्यो । प्रायः घर ढिलो आउन थाल्यो । उक्त कार्यले उसको आमालाई अत्यधिक रूपमा चिन्तित बनाउन थाल्यो। “त्यसको बाइकको आवाज सुनेपछि मात्र मन ढुक्क हुन्छ,” उनले मलाई एकपल्ट भनेकी थिइन् । एक दिन मैले उसलाई सम्झाउँदै भने,” तिम्रो आमा चिन्ता गर्नुहुन्छ । समयमै घर आउने गर । हामीलाई ढुक्क हुन्छ।” उसले केही दिन सुनेजस्तो गऱ्यो तर फेरि उस्तै भयो ।
पुष महिनाको समय थियो । उनको माइतबाट एक्कासि फोन आयो । “आमा सिरियस हुनुभयो । केही दिन यतै बस्ने गरी आउनुहोला ,” भनी सालो केटोले फोन गरेको थियो । के होला कसो होला भनेर राति नै हिड्ने निर्णय भयो । ” छोरोलाई पनि लिएर जाऊँ ,” मैले भनेँ । त्यसपछि उनी छोराको कोठातिर पसिन् रुँदै । छोरो एकछिनपछि बाहिर निस्कियो अनि हामीलाई सम्झाउँदै भन्यो , ” सबैजाना किन जानु ? यहाँ घरमा बस्ने मान्छे पनि त चाहियो । फेरि जे गर्नु छ डाक्टरले गरिहाल्छ नि ।” उसको कुरो ठिकै लाग्यो । मैले उसको आमालाई सम्झाएँ । त्यसपछि हामी हतार हतार चितवनतिर हानियौँ । सिमसिम पानी परिरहेको मौसमले अलि असजिलो बनायो । यात्रा त्यति सहज भएन तर जसो तसो हामीले यात्रा टुङ्ग्यायौँ । सासू भर्खरै निदाउनुभएको रहेछ । चिसो मौसम अनि दमले च्यापेपछि औडाहा भएछ । “मेरो आज अन्तिम दिन हो । आशालाई जसरी भए पनि झिकाइदे माइला ,” भन्नुभएछ । सालोले बिस्तारै सबैकुरो सुनायो । भोलिपल्ट सबेरै अस्पातल भर्ती गरेपछि, तनाव अलि कम भयो । वहाँलाई राम्रो डाक्टरको हातमा सुम्पियौँ । स्वास्थ सुधार हुन तीन दिन लाग्यो । चौथो दिन अचानक काठमाडौँबाट छिमेकीको फोन आयो । “तपाईँहरूलाई ठूलो विपत्ति आइपरेको छ । तुरुन्तै फर्किहाल्नू।” उनले भनिन् “के भयो र ? घरमा आगलागी भयो र ? छोराले बाइक एक्सिडेन्ट त गरेन ? कसैलाई चोटपटक त पुऱ्याएन ? “, मैले भए भरको प्रश्न एकैपल्ट सोध्न भ्याएँ । अर्कापट्टि केही समयको लागि मौनता छायो ।
“भन्नू न के भयो ?” मैले फेरि कर गरेँ । एक्कासि छिमेकी बैनी धरधरी रुन थाल्नुभो । त्यसपछि त्यो मोबाइल फोन तिनका श्रीमान्ले लिनुभयो । त्यसपछि वहाँले बोल्नुभएको वाक्यले हाम्रो संसार तुरुन्त भताभुङ्ग भयो । “तपाईँको छोराले आत्महत्या गऱ्यो ,” तिनले बडो भावुक स्वरमा खबर गरे । त्यो खबर सुन्नासाथ म ढलेछु । तुरुन्तै कसैले त्यो फोनमा रिडायल गरेर सम्पूर्ण विवरण लिएछ । जब म होसमा आएँ, मेरी श्रीमतीलाई हस्पिटल पुऱ्याएको खबर पाएँ । होसमा आउनासाथ छाती पिटिछन् अनि फेरि बेहोस् भइछिन् – धेरैपटक । म अहिले त्यो समय सम्झन्छु अनि सोच्छु ,”कति गह्रो भयो होला त्यो आमाको मनलाई ?” “मलाई मेरो बाबु चाहियो । मलाई तुरुन्तै मेरो बाबु भएको ठाउँमा लगिदिनू । म हात जोडछु ,” भन्दै छाती पिटीपिटी रुन थालिन् । मैले जसोतसो आफूलाई सम्झाएँ । म स्वयं विचलित भएको कारणले, म गाडी चलाएर घर फर्कने अवस्थामा थिइनँ । सालोले त्यतैतिरको एकजाना विकास नाउँ गरेको ड्राइभर खोजेर हामीलाई घरसम्म पुऱ्याइदिने व्यवस्था मिलायो । त्यसपछि मेरा आँखा पत्थर बने । यात्राभरि मैले के देखेँ, के सोचेँ मैले केही बुझ्न सकिनँ । श्रीमतीलाई अँगालो हालेर म स्वयं उसको आडलिएर अडिने प्रयास गरेछु ।
बाटाभरि मलाई अँध्याराले छोप्यो, नङग्रा गाड्यो अनि चिथोऱ्यो । मलाई भन्दा लाखौँगुणा बढी मेरी श्रीमतीलाई । यात्रा सकिएर जब हामी घर पुग्यौँ , त्यहाँ हाम्रा सबै छिमेकी र आफन्तहरू पहिले नै पुगेका थिए । एक तमासको भिड थियो त्यहाँ । केही पुलिसहरू पनि थिए । वहाँहरूको अनुहार “फुङ्ग” उडेको थियो- संवेदनाहीन । मेरो प्यारो छोरोलाई तीनतल्ला माथिबाट तल तुलसामोठमा ल्याइएछ । बोक्न गाह्रो भएकाले, प्रहरीको सहयोगमा पुनः डोरी कम्मरमा बाँधेर छ जनाको समूहले बिस्तारै तल झारेको रे । “बिचरालाई कति दुख्यो होला ,”मैले एकछिन लाई सोचेँ । उसको मृत्यु भइसकेको कुरो पत्याउन मलाई गाह्रो भइरहेको थियो । म फेरि एकपल्ट बेहोस भएछु । मेरी अर्धाङ्गिनीलाई के भयो होला, म सोच्नै सक्तिनँ । “म संयमित हुनुपर्छ” भन्ने कुराको हेक्का मलाई थियो तर मैले आफूलाई रोक्नै सकिनँ । होसमा आउनासाथ म पनि छाती पिटी पिटी रुन थालेछु । यो क्रम धेरैबेरसम्म चलेछ । केही समय पछि मैले आफूलाई सम्हालेँ ।
“दाइ, तपाईँको छोराले सुसाइड नोट छोडेको छ,” छिमेकी भाइले मलाई त्यो पत्र दिँदै भन्यो । मैले तुरुन्तै त्यो पत्र लिएँ । “छोराले अन्तिम सन्देश के छोडेको रहेछ”, मलाई एक किसिमको कौतुहलता भयो। सन्देश यस्तो रहेछ ।
“बाबा , तपाईँले यो पत्र पढदा मुटु भारी हुन्छ होला। वेदनाले भरिन्छ होला तपाईँको छाती तर मलाई माफ गर्नुहोला है । म त गइसकेँ । कहाँ पुग्छु था छैन । हिँडेको हिँड्यै हुन्छु कि ?
कतै अनन्तपुरतिर मलाई कतै वास मिल्छ कि ? कुनै सुस्ताउने ठाउँ मिल्छ कि त्यहाँ । मैले यहाँ सुस्ताउने ठाउँ नै पाइनँ । मैले धेरै खोजेँ – धेरै भट्किएँ यहाँ ।
त्यो भट्काव त्यहाँ अन्त हुन्छ होला । जानुभन्दा अगाडि आमाको मुहार सम्झेको थिएँ तर मैले जानुपर्ने निश्चित भइसकेको थियो । कोही अजङ्गको शरीर लिएर मलाई लिन यहाँ आइसकेको थियो । आमालाई म औधी माया गर्छु तर मलाई त्यो मायाले रोक्न सकेन, बाबा । मलाई माफ गरिदिनुहोला । अन्तमा, मैले गर्न नसकेको माया हजुरले मेरा तर्फबाट मेरी प्यारो आमालाई दिनुहोला है । हजुरको प्यारो (मृत लेख्न मन लागेन । कारण, म सधैँ हजुरको स्मृतिमा बाँचिरहने छु ।)
छोरा
सुदीप श्रेष्ठ ।”
मेरो आँसुको भेलले ती अक्षरहरू मेटाउन खोज्यो । यद्यपि ,जतिसुकै उर्लेर आए पनि मेटाउन भने सकेन । नमेटिएको राम्रै भयो । कारण, त्यो उसको अन्तिम उपहार थियो – हाम्रा लागि ।
केही समयपछि छोराको मृत शरीरलाई प्रहरीहरूले केही समयका लागि अस्पताल लैजाने प्रस्ताव राखे । त्यहाँ उसको शरीर फेरि क्षतविक्षत हुन्छ भन्ने कुराले फेरि तनाव दिन थाल्यो । तर प्रहरीहरूसँग सहकार्य गर्नुबाहेक अरू केही चारा थिएन । “हामी तपाईँहरूको पीडा बुझ्छौँ तर हामीले पोस्टमार्टम गर्नैपर्छ । यदि यो आत्महत्या नभएर अरू नै केही भएको रहेछ भने पत्तालाग्छ,” सईसाबले भन्नुभयो…
म फेरि झस्किएँ । ” आत्महत्या नभएर अरू केही भए !” भन्ने कुराले मन पोल्न थाल्यो ।
“हुन्छ ,लैजानुस् ,”मैले स्वीकृति दिएँ तर उसको आमाको मन मान्दै मानेन । उनी चिच्याउन थालिन् – आवाज झन् ठूलो भयो । हामी सातजना मिलेर उसलाई समाउँदै कोठामा ल्यायौँ । “केही समयपछि फर्कौउनेछन्, ” मैले उनलाई सम्झाउने प्रयत्न गरेँ । केही समयपछि छोराको शव लिएर प्रहरीहरू घर आइपुगे । “आत्महत्या नै रहेछ । अन्य त्यस्तो शङ्कास्पद चोटपटक केही देखिएन ,” सई साहबले भन्नुभयो । “अब, अन्त्येष्टिका लागि लैजानुभए हुन्छ ।” मैले सुनेको थिएँ , “छोराहरूले बाआमालाई काँध दिनुपर्छ” भनेर । त्यो सहज हुन्छ भन्थे ।त्यो कुरा एकदमै सही रहेछ । मैले छोरालाई काँध दिँदा महसुस गर्न पाएँ । जीवनमा सबै चिजको अनुभव होस् तर दुस्मनले पनि यस्तो किसिमको अनुभव गर्न नपरोस् तर मान्छेको जुनी, जे जस्तो आइपरे पनि सहनैपर्दो रहेछ । हामीले पनि त्यो बज्रपात सहन गर्ने साहस जुटाउँदै छोरालाई सदाका लागि अनन्त यात्राको लागि बिदा दियौँ ।
समय बित्दै गयो । समयले हाम्रो घाउ पुरिदिन्छ होला भनी आशा गरेको थिएँ तर त्यस्तो केही भएन; समयसँगै त्यो घाउ झनझन बल्झँदै गयो । श्रीमती सधैँ एकोहोरिन थालिन् । बिरामी पर्न थालिन् । उनलाई एकदिन मनोचिकित्सकसामु पुऱ्याएँ । उनलाई पिटी एस डिले पूर्ण रूपमा च्यापिसकेको रहेछ । केही दबाई र परामर्स लिएर हामी फर्कियौँ । एक वर्षसम्म दबाई राम्रैसँग चल्दै थियो । अलि अलि सुधार आउने लक्षण देखिँदै थियो । त्यसैबिचमा मैले आत्महत्यालाई बुझ्ने प्रयास गरेँ । इमाइल दुर्खिम, भिक्टर फ्रनकल, फ्रायड जस्ता महान् लेखकहरूलाई बुझ्ने प्रयास गरेँ । यसैगरी मैले आफूलाई पिटी एस डि हुनबाट बचाएँ तर मेरी श्रीमतीलाई फेरि च्याप्यो ।
छोरो बितेको ३ वर्षपछि उनले पनि आफ्नो छोरालाई भेट्न हतारिँदै स्वर्गलोक प्रस्थान गरिन् । त्यसपछि म एक्लो भएँ । म पनि हिँडौँ कि भन्ने भावना आयो ।
म अब केका लागि बाँच्ने भन्ने प्रश्न मनमा बारम्बार खेल्यो । सुतेका बेला सुतेको सुत्यै भइदिन मन लागेको थियो तर एकदिन म सुतेकै बेला छोरो आयो । “बाबा तपाईँले अब मजस्ता धेरैलाई जोगाउनुपर्छ ज्ञानको ज्योति बनेर।”, उसले भन्यो । त्यसपछि त्यही कुरा मेरा लागि असीम ऊर्जा बन्यो। अझ बढी कस्सिएर अध्ययन गर्नतिर लागेँ । मैले गरेको गल्ती अरू कुनै अभिभावकले नगरून् भनी आफ्नो खोज, अनुसन्धानलाई विभिन्न पत्रपत्रिकामार्फत सबैमा पुऱ्याउने कोसिस गरेँ ।
धेरै लेखिएछ । दुई सुन्दर पुस्तकहरू प्रकाशित पनि भए । समाजमा थोर बहुत परिवर्तन आएकोजस्तो पनि लाग्दैछ।
आजकल मलाई फुर्सद छैन । मेचीदेखि महाकालीका विभिन्न स्कुल, कलेजमा म अभिभावक भेलामा आमन्त्रित हुन्छु । फुर्सद मिलेको बेला आकाशतिर हेर्छु अनि मेरो प्यारो छोराको मुहार सम्झिन्छु । ” छोरा, तिमी त्यहाँ खुसी छौ होला । तिमी त्यहाँ सधैँ खुसी रहनू । म तिमीले भनेको काम गर्दैछु, गरिरहनेछु ।” म बेला बेलामा ऊसँग संवाद पनि गर्छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।