साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

यौनकथाः इनर फोबिया

अग्लो माथि उठेको बिल्डिङको छतमा स-साना कपडाहरू प्लास्टिकको च्याप्नेले दह्रो चेपेर झुन्डाइएका छन् । मानौँ ती कपडाहरू खित्खिताएर यति छिल्लिँदै हल्लिरहेका छन्, त्यस च्याप्नेले अझ साह्रो कसेर समातिराखेको छ । कुन्नि कस्तो मातको तातो तातो हावाले त्यसलाई भने फुकिबसेको छ । ती कपडाहरू कुनै ठुला ठुला आँखाजस्ता पानी भर्न सक्ने खोपिल्टा भएका अनि दुई आँखालाई जोड्ने कपडाकै सानो चिप्लो तन्ना जसको भरमा त्यसलाई झुन्डाइएको छ अनि त्यो झुन्डाइएकै ठाउँमा हल्लिबसेको छ । कुनै कुनै चाहिँ कागजमा खोपिएको पानाजस्तो तर माथि मैदानजस्तो र मुनि चैँ भिरजस्तो चुच्चो पनि सँगैसँगै चेपिएका छन् ।

सपन प्रधान

किन हो उसले एकोहोरिएर यति लामो सोचेर कपडालाई यसरी हेरिबस्यो । खुब मजा मानेको अभिनयमा माथिल्लो ओठ तानेर टोक्यो पनि । दाँत गाडिएको ओठबाट रगत आओस् चाहन्थ्यो तर आएन । हात उठाएर ओठमुनि च्यापुमा चिमोटी हेऱ्यो, सैकडाभन्दा बेसी दाह्रीका बिचबाट नङका दुईवटा रातो खोपिल्टा देखिए । च्यापुमाथिको ओठ सुखले थोरै च्यातियो । आँखा उत्ताउलिएर होला पारि देखिएका दृश्यहरूमाथि तल हल्लिबसे ।

घरि घरि हल्लिबसेको त्यही कपडाहरूको पुरानै तमासा खुब हेरिबस्यो उसले । ऊ आफ्नो बिल्डिङको वारि सधैँजसो बसेको रहेछ । मध्यान्नको समय घाम टाउकामाथि भतभत पोल्ने लागेकाले शिरदेखि छिरेर पैँतालासम्म तातेको रहेछ । तिर्खाले पानी खोज्दो रहेछ ऊ तर गाग्राको सबै पानी पिउँदा पनि जलेको आँत चिसिँदो रहेनछ । ऊ बुरुक बुरुक उफ्रँदो रहेछ, कुद्दो रहेछ, मुड्की बजार्दो रहेछ, जिउ एकैछिनमा हावाजस्तो हलुको उडेर वारिपारि त्यो बिल्डिङको छतमा पुग्दो रहेछ । उसलाई हावासँग आरिस पनि लाग्दो रहेछ । हावाले उसलाई पारि नपुग्दै वारि सोरिदिँदो रहेछ । ऊ त्यो कपडाका नाना टुक्रालाई छुन चाहँदो रहेछ तर सक्दो रहेनछ । ती कपडाहरू हावामा उडेर घरि उसको छेउछेउ घरि उडेर आकास छुँदा रहेछन्।
त्यो रात ऊ सपनाबाट ब्युँझिदा साँच्चिकै तिर्खाएको थियो, पानी पनि पियो, शरीर भुकभुक उफ्रिन छोडेन, हातहरू त्यही सपनामा जस्तै उचालिइरहे अनि औली तिखो घोच्न उजियो । आँखामा असरल्ल कपडाहरू नाचिबसे । मनको तन्तुलाई कहाँसम्म छोयो ऊ बाँकी पूरै रात सुतेन, बिहान त्यत्तिकै उठ्यो।

बिहानभरि सपनामा देखेका त्यस कपडाहरू नै सम्झिबस्यो उसले । काँचो आँखामा त्यो अनौठो अनुभूति सजाएर कलेज हिँड्यो । आधा बाटोसम्म उसले त्यो सपनाकै दृश्यबाहेक अरू केही देखेन । अचानक शरीरमा ह्वात्त तातो छिऱ्यो, उसका आँखा टक्क अडिए । आफू अघिल्तिर एउटी केटी हिँड्दै रहिछिन् । अनुहार कस्तो थियो अनि ऊ को थिई थाहा भएन ।

आफ्नो बराबर उचाइ, मोटाइ केवल खुट्टामा हिल थियो । कपाल साह्रै लामो नभई टलक्क टल्कने कुममुनि स्तनको आखिरीसम्म झुन्डिएको थियो । सर्टसँगै टाई पनि लगाएकीले अघिको घाँटी कसिँदा पछाडि मासुमा कपडा ट्याप्प टाँस्सिएको कारण भित्रको अर्को कपडाको तन्ना सर्टलाई उछिनेर भुक्क माथि उठेको थियो। मुनि पत्लुङ लगाएकी थिइन् । बडो स्मार्ट देखिने उसको पहिरन हुनाले पत्लुङ पनि ठिक्क टाइट थियो । उन्नत तिघ्रा र हुप्प नितम्बको संयोजनले अग्लो ज्यान भएकी त्यस केटीको हिँडाइको लचकतामा पछाडिबाट घरिघरि त्यही पाना आकारको डोरीको डाममाथि उठ्दै फेरि हराउँथ्यो । उसलाई त्यो अचेतनको ख्वाइसले एउटा मनलाई कस्तो हल्लायो भने त्यो डोरीको डामलाई छोइदिन पाए हुन्थ्यो, सम्झियो पनि । कपडामाथि उठेको डोरीको उचाइले उसको सर्वाङ्ग खिँचेर एउटा ठाउँमा थुपाऱ्यो । नसामा रगत कुदेको थाहा पायो उसले । सपनाको दुरुस्त अनुभूति उल्ट्यो । उसलाई त्यस केटीको अनुहार हेर्ने सुद्दी आएन अनि त्यो केटी को थिई ? त्यो पनि जान्न मन लागेन।

सम्बन्धित पोस्टहरु

यौनकथा- लोग्ने

यौनकथा- थोरे

यौनकथा- प्रेम

यौनकथाः रतेली

दिनभरि अज्ञात सुखले ओठ हाँसिबस्यो, मन झरीपछि ओभाएको शान्त प्रकृतिजस्तो भयो । सधैँजसो समयमा डेरा पस्यो । यसरी नै दिन, हप्ता, महिना र वर्ष बिते । थुप्रै केटीहरूका फोटो एफबी, इन्स्टाग्राम के केबाट डाउनलोड गऱ्यो, हेऱ्यो ।

कतिलाई प्रस्ताव पनि राख्यो अनि तीमध्ये कोही एकजनाले त स्वीकार पनि गरिन् तर उसलाई सशरीर कुनै स्वास्नीमान्छेसामु हुँदा पनि उस्तो मजा लागेन । यसरी त्यस्ता कति सम्बन्धहरू आफैँ टुटे । कहिलेकाहीँ ऊ आफैँलाई आफैँ पनि शङ्का गर्थ्यो । आफ्नो घरिघरि नहेर्नुपर्ने गोप्य कुरो ऐनाको अगाडि उभेर खुब हेर्थ्यो छुन्थ्यो, खेलाउँथ्यो अनि छातीको उचाइ नाप्थ्यो तर ती सबै स्वाभाविक नै थिए । उसलाई कुन कुराले यति कसिलो समातेर राखेको थियो त्यो उसले आफैँ पनि सायदै जान्दैन थियो । उसलाई स्वास्नीमान्छे मन परेकै हो तर त्यस स्वास्नीमान्छेलाई छोएरभन्दा पनि पछि टाढाबाटै हेर्दा पाएको आनन्दानुभूति र कुन्नि कुनकुन कुराहरूले मात्र उसलाई रमाइलो लाग्यो।

ऊ अघि कुनै दिन देखेको सपनाकै त्यो बिल्डिङको वारिपट्टि किरायामा बस्न थालेको झन्डै पौने तीनवर्ष जति पुग्यो । कलेज सुरु भएपछि त्यहाँ आएको अब कलेज सकिन लाग्दा पनि उसलाई त्यस बिल्डिङको पारिको छतको नाना दृश्यहरूले यसरी नै लोभ्याइराख्छ । सुखको त्यो गहिराइ वारिपट्टि बसेर नापिबस्छ ऊ । अनि आफैँ रमाइलो मान्छ पनि । साथीहरू आउँछन् फेरि जान्छन्, हाँसखेल हुन्छ । साथीहरू अनेक गिजाउँछन् स्वाभाविक नै छन् सबै ।

दिनहरू थाहै नपाई कसरी बितेपछि कलेजको पढाइ पनि सिद्धियो । साथीहरू बिदाइमा सबै भेला भए । रमाइलो भयो । ऊ घर फर्क्यो । एकदिन उसको घरमा लामो कलबेल बज्छ तर अहँ दैलो उघ्रँदैन । घरिघरि बेल बजेपछि आलास्यमा उठेर दैलो उघारेर हेर्छ र हेर्दा शरीर सक्दो छास्नी गरेर बनाएकी स्वास्नीमान्छे उभ्भिएकी देख्छ । त्यस स्वास्नी मान्छेको हातमा सेतो सफा कागजले बाँधेको एउटा प्याकेट थियो । कुरियर सर्भिसकी रहिछिन् । एउटा कागजमा हस्ताक्षर गर्न लगाएर प्याकेट छोडिगइन् । खुब मेहनत गरेर त्यो सानो बक्सालाई कागजले बाँधिएको थियो। एकछिनपछि खोल्न खोज्यो उसले तर एकपछि अर्को गरी रङ्गीन फुलाङ्गे प्लास्टिक कागजले बाँधेको रहेछ भित्र पनि । उत्सुकतामा उसले त्यो खोलिछाड्यो । हातबाट त्यो फुत्त भुइँमा झऱ्यो । उसको अनुहार कुन रापले हो रातो भयो, मजा पनि मान्यो, सङ्कोच पनि मान्यो ।

उसका नाडीबाट रगत नसामाथि उठेर बग्न थाले र ओठमाथिका सैकडाभन्दा बेसी जुँगा स्वतः ठाडा परे । उसलाई एक्कासि कपालको जरादेखि भित्र कहाँ पुगेर चिलायो । उसले त्यो भुईँबाट कस्तो साह्रो गरेर समातेर उठायो अनि एकोहोरो हेरिबस्यो – त्यो त्यही छतमा हल्ली बस्ने ब्रा पो रहेछ ।

दार्जीलिङ,

प्रतिक्रिया
Loading...