शिवले बाइक सिधा गरी खुट्टाले स्टेन्डलाई तेर्साएर बाइकमा बसे । अघिपट्टि टिसर्टमा भिरेको कालो चस्मा लगाउँदा शिव निकै हेन्डसम देखिन्छन् । हेन्डलका दुवै क्लच समातेर गियर जिरोमा गरी दाहिने खुट्टाले एकै किकमा बाइक स्टार्ट गरे । वर्षाले एक खुट्टा फुट रेस्ट, एक हात शिवको काँधमा राखेर बाइकमा बसिन् ।
‘बुढीहजुरआमा आज पूजामा आउन सक्नु भएन । यो प्रसाद र पञ्चामृत हजुरआमाको घरमा दिएर चाँडै आउनू ल दुवैजना । भरे घरमा कीर्तन हुनाले काम धेरै छ ।’ शिवको आमा भारतीले वर्षाको हातमा प्रसाद दिँदै भनिन् ।
‘मैले भनेको मान्नु हुन्न । भोलि पुऱ्याउँदा पनि हुन्थ्यो । हेर्नु त आकाश ढुस्स परेर पानी पर्लाझैँ भएको छ ।’
‘हिजो पनि यस्तै दिनभरि भइराख्यो तर पानी परेन । आज पनि पर्दैन होला । कुरा गर्नमा समय नष्ट नगर् न । त्यही आधा घण्टाको बाटो त हो । चाँडै आइहाल्छौँ । वर्षालाई पनि हजुरआमाले बाल्यकालमा हुँदा देख्नुभएको थियो । आज देख्नुभयो भने आमालाई खुसी लाग्नेछ…….’
आमाको जवाफ नसकी शिवले बाइकलाई गति दियो । नाइँ नाइँ भने पनि उसको मन जान उत्ताउलिएको छ । कारणचाहिँ पछाडि बसेकी वर्षा ।
कुनै सुन्दर युवती बाइकको पछि बस्नु अनि छोरा मान्छेले नाइँ भन्नु पच्ने कुरा पनि होइन । भर्खरै व्याच्लर सिद्ध्याएकी वर्षा बाइस वर्षामा हिँड्दैछिन् । शिव र वर्षाको भेट नभएको पनि आठ वर्ष हुन लागेछ । वर्षाकी आमा सरिता र भारती एकै कक्षामा पढ्ने बचपनका सहपाठी थिए । शिवले एम.बि.ए. पूर्ण गरेर घर आएपछि उसको भविष्य सुगम र राम्रो होस् भनी भारतीले शिवको नाममा ग्रहशान्तिको पूजा आयोजना गरेकी थिइन् । यही पूजाको अवसरमा भारतीले सरितालाई वर्षासँग आउने निम्तो दिइन् ।
आठ वर्षसम्म भेटगाट र कुरा नहुँदा दुवैलाई बोल्न असहज लाग्छ । केहीबेरसम्म दुवै नबोली चालिस कि.मी. प्रति घण्टाको रफ्तारमा जान लागे । मौसम ढुस्स भएकाले सिरिरि हावा चल्दा वर्षाको केश हावामा उन्मुक्त भएर उडिरहे । उसको केशमा भएको सुगन्ध हावासँग मिलन भएर वातावरण सौरभमय बनाई केशदेखि विछोड हुन लाग्यो । दुवैको यो लघु बाइकयात्रा यति सुखद देखिँदैछ जस्तै उनीहरू कतै टाढा गएर यो सुन्दर मौसमको उद्गमस्थलमा पुगेर संसारको चरमसुख लुट्न चाहँदै छन् ।
दुवैले बोल्न निहुँ केही पाएनन् । एकअर्काको बाटो हेर्न लागे । वर्षा अलग्गै बसेको देखेर पनि शिवले बोल्न आँट गरेन । धेरै वर्षपछि भेट हुँदा दुवैलाई मध्य यौवनले छोएको छ । यौवनको वसन्तले पनि फट्टै सहजता दिन गाह्रो पाउँदो रहेछ । शिवले केही साहस बटुलेर बोल्न प्रयास गरे ।
‘अघि गएर बाटो अलिक अप्ठ्यारो छ, काँधमा समाते हुन्छ ।’
के उत्तर आउने हो भनी शिवको उत्सुकता बढ्यो । स्पष्टसँग सुन्नको लागि बाइकको गति अलिक कम गर्छन् ।
‘हुन्छ ।’
वर्षाको जवाफले शिवलाई सहज बनायो । मुसुक्क हाँसेर गतिलाई तेज दिन्छ ।
चारैपट्टि काला बादल विचरण गर्नाले आकाश कालो भयो । सूर्य भगवान्लाई काला बादलले सलग्गै निले । आकाशमा पक्षीहरू हर्षोल्लासमा उडान भर्न लागे । छिचिमिरा बाक्लै उडेर आकाश छोप्न प्रयासरत भए । पश्चिम दिशातिर गड्याङ-गुडुङको पनि आवाज गर्जियो । चिसो हावाको रफ्तार निकै बढ्न थाल्यो । अलिअलि बुन्दा-बुन्दी सुरु भयो ।
‘शिव, पुग्न अझै कति समय लाग्छ ? पानी छिट्याउन लाग्यो त?’ शिवको काननजिक भएर वर्षाले सोधिन् । यो पानी पर्ने बेलामा भएको मोहनी मौसममा पछाडि बसेकी वर्षाले काँधमा हात राखेर कानछेउ आएर प्रश्न गर्दा शिवलाई यति आनन्द लाग्यो जसको उसले कल्पना पनि गर्न सकेन । चिसो हावा, कालो बादलले छाएको धमिलो प्रकाश अनि पानीको बूँदले मनमा जुन शीतलताको तरङ्ग उमारेको थियो त्यो तरङ्गमा वर्षाको स्पर्शले उसलाई थप तरङ्ग दिँदै तनमा बिजुलीझैँ दौडियो ।
‘अब पुग्न आँट्यौँ वर्षा । पाँच मिनटको बाटोमात्र छ ।’ शिवले मुन्टोपछि गरेर जवाफ फर्कायो ।
हजुरआमालाई ढोग गरेर प्रसाद हातमा राख्दै-राख्दा पानीका छिटा निकै बाक्ला भइसक्छन् । ‘पानी पर्न लाग्यो, रएर जानू’ हजुरआमाले भन्दा ‘घरमा कीर्तन भएकाले काम धेरै छ’ भनी शिव र वर्षा घरतिर हाँकिए ।
जति रफ्तारमा हाँकिन लागे पानीले उति नै प्रतियोगिता गर्दै असिना बर्साएर दुवैलाई कुट्न थाल्यो । पश्चिमतिरबाट झन् निस्पट्ट अँध्यारो हुँदै एकाएक चट्याङ हान्यो । चट्याङको आवाजमा यति तीव्रता थियो कि धिमा गतिमा कुद्दै गरेको बाइक शिवले घचक्कै रोक्यो । वर्षा डराएर शिवको काँधमा राखेका हात झन् कस्सेर समातेर टाउको काँधमा राखी लुक्न प्रयास गर्छिन् । चट्याङको आवाज पश्चिमतिर बाट हुँदै पूर्वमा पुगरे थाम्यो । पानीले भयानक रूप देखाउँदै दर्किन लाग्यो । छेउछाउ कतै न घर न ओता लाग्ने याक्सा । बाटाको दुईतिर नै रुखपातबाहेक केही छैन । यो मुसलधार पानीमा बाइक दौडाउने शिवलाई हिम्मत आएन ।
सयपाइलाअगाडि वरको रुख देखे । त्यहीँ ओत लाग्न मिल्छ भनेर दुवैजना जान्छन् । बाटाको छेउमा शिवले बाइक उभ्याए । बरको फेदमा दुवैजना पानीसँग बाँच्न उभिए तर अघिनै दुवैलाई पानीले बेस्सरी कुटेर निथ्रुक्कै बनायो । पानीको झर्ने गति यति जोरदार छ कि बरका पातहरूलाई पन्छाउँदै फेदमा भिजेका शिव र वर्षालाई सुकिलो हुन दिएको छैन । दुवै हात बाँधेर आछुछुछु गर्दै दाँत बजाउँदैछन् ।
पानी थामिने केही सङ्केत देखिएन । अघि आकाशमा उडेका पक्षी, छिचिमिराको अत्तोपत्तो छैन । यो मुसलधार पानीमा बाटामा हिँड्ने कोही छावा देखिएन । बाटाको कूलो भरिएर पानी बाहिर पोखिन लाग्यो । यौवनका बिचमा पुगेका शिव र वर्षाका मनमा अर्कै मुसलधार पानी समान कुरा बर्सिन लागे । यो सुनसान ठाउँमा दुई युवायुवती यो सुहाना मौसममा एकान्त हुँदा मनमा यौवनमय वर्षा हुनु पनि प्राकृतिक नै हो । शिवले दुईदिन देखि वर्षासँग बोल्ने निकै जम्का छोप्यो तर घरमा धेरैजना हुनाले पाएन । आज मौका छ, अनुकूल मौसम छ, स्थान एकान्त अनि वर्षा पनि छेउमा छिन् तर उसलाई बोल्न आँट आएन । वर्षाले पनि केही बोल्ने चासो देखाइनन् । बाटातिर एकोहोरिएर हेर्दैछिन् । हुन पनि केटी जात आफैँ बोल्ने प्रवृत्तिका हुँदैनन् । केटाकै बाटो ताकिरोखका हुन्छन् ।
शिवलाई आज पानी परेकोमा केही अफसोस लागेन । आमाले पानी पर्ने मौसम हुँदाहुँदै पठाएकोमा रिस उठेन । उसलाई यो पानी परेर भिजेकोमा अर्कै आनन्दानुभूति हुँदै छ। वर्षालाई निहालेर हेर्न मन थियो जो आज उनको इच्छा पूर्ण हुनेवाला छ तर आँट भने आएन । हिम्मत गरेर उसले पुलुक्क वर्षातिर हेऱ्यो । सुन्तला रङ्को कुर्ता लगाएकी, त्यही रङको निधारमा टीका, नेलपलिस र कानमा झुम्का लगाएकी वर्षाको सुन्दरतालाई पानीले भिजाएर सुन्दरताको सीमालाई अझ बढाएको उसका आँखाले अनुमान लगाए । यो रूप देखरे शिवको पानीले चिसो भएको मन चस्कियो । आफ्नो नजरलाई तानेर पुनः बाटामा भएको बाइकतिर हेर्न लागे । उसलाई निहालेर उसको मन तृप्त नै भएन । केही बोल्न मन लाग्यो तर जाडाले दाँत किट्किटाएर बोल्न अझ आट दिएन ।
फेरि उसले नजर वर्षातिर लग्यो । पानीले भिजाएर दुईतीन केश गालामा टाँसिएछन् । आँखाको काजलले पानीसँग हार खाएर पानीसँग बग्न लागेछ । पोटिलो सुन्तले ओठमा पानीका थोपा अड्किएर बसेका जस्तै बिहानीपख पातमा शीत मोतीका कण बनेका हुन्छन् । ‘कास! म पनि त्यही पानीको बुन्द हुन्थेँ’ शिवले पनि यही चाहना मनमा खेलाउँछ । दुध समान गोरो रङकी वर्षाको जिउमा पानी रमाएर विलीन हुँदै छ । पानीले भिजाएर लगाएको कुर्ता उसको जिउसँग यसरी टाँस्सिएको छ जसरी डराएको नानी आमाको छातीमा टाँसिन्छ । कति भाग्यमानी यो लुगा जो यति राम्री वर्षाको आकर्षित अङ्गमा आलिङ्गन गर्न पाएको छ । शिवको चिसो मनमा नयाँ तरङ्गले मनमा गर्मी ल्याउँछ तर उसलाई पानी र भिजेको लुगासँग धेरै ईर्ष्या लागेर आउँछ । सुडोल शरीरमा पानी र ती लुगा मिलेर वर्षाको यौवनको सानिध्य लिँदैछन् । पानी कति बेसर्म छ कि निधारबाट झर्दै नाकमा फेरि चिउँडो अनि घाटी हुँदै भरिलो छातीको गहराइमा सिँचिदै छ । यो कम्मरको लुगामा कति चुम्बकीय शक्ति आएको जो छरिरो पातलो कम्मरमा यसरी समातेको छ जस्तै जीवनभर समाइरहने छ । शिवको अङ्ग प्रत्यङ्गनै वर्षाको सुन्दरताले रामोन्चित हुन्छ । आफूलाई नै उसले भुल्छ जो पानीले रुझेर निथ्रुक्कै भएको छ ।
वर्षाले रुमाल निचोरेर अनुहार पुछ्न लागिन् । आँखाका काजल पुछिन् । ओठको लिपिस्टिक पुछिन् अनि घाँटीमा पानीका बूँद अड्का पनि । शिवलाई खुसी पनि लाग्यो जो यतिबेरसम्म मैक्अप र पानीले उनको सुन्दरताको आनन्द लिइराखेका थिए । फेरि त्यही सुन्दर अनुहारमा थप्प पानी झरेर उसको यौवनलाई स्पर्श गर्न लाग्यो । शिव भुतुक्कै भए ।
बाटाको कुलो भरिएर फेदमा पानी निकै भरियो । वर्षा समतल ढुङ्गामा उभिएकाले भुईँमा कुदेको पानीले स्पर्श गरेन तर शिवको जुत्तासम्म पानी आयो ।
‘शिव तिम्रो खुट्टासम्म पानी भरियो । आऊ म भएको ढुङ्गामा ।’ मनमा थरिथरिका कुरा बर्सिएका बेला उसको यो आग्रह चट्याङसमान उसको मनमा कौँधिएर जिउभरि दौडियो ।
‘हुन्छ । थ्याङ्क यू’ भन्दै शिव वर्षाको नजिक गएर उभिए । । समतल ढुङ्गो यति ठुलो थिएन कि दुवै स्वतन्त्र भएर बसुन् । एउटै ढुङ्गामा दुवै उभिँदा स्पर्श हुन लाग्यो । यसै पनि जाडाले कामी राखेका । यो स्पर्शले शिवलाई झन् काम्न बाध्य बनायो । कुर्तामात्र लगाएर जाडाले काम्दै गरेकी वर्षालाई उसले लगाएको कालो लेदरज्याकेट दिने उसको मनले उसलाई आदेश दियो । कसरी पो दिनू? उसले अस्विकारी भने? आदेशमा तर्कवितर्क गर्न लागे । बेचरी जाडाले कामी रहेकी छिन् । मलाई नै प्रसाद बोकेर सघाउन आएकी । पानीले भिज्दा मैले सहयोग नगरे कसले गर्ने?…. आखिर मनको जित भयो । उसैले ज्याकेट निकालेर दियो ।
‘वर्षा लिऊ ज्योकेट, तिम्रो कपडा पातलो रहेछ । जाडो धेरै भयो होला ।’
‘ए! पर्दैन । म ठिक छु ।’ उनले इन्कार गरिन् ।
‘केही हुँदैन । मलाई जाडो भएको छैन । लगाऊ न प्लिज ।’ उनले इन्कार गरेर उसको मन बेइज्ज्त भएको हेर्न चाहँदैन ।
‘हस् । थ्याङक्यू ।’ वर्षाले ज्याकेट लगाइन् । शिवलाई खुसी लाग्यो । पुरूषार्थको काम गरेर छाती अलिक ठुलो भएको आभास लाग्यो ।
‘यो एकान्तमा वर्षा उसको प्रेमी भएको भए उसलाई आलिङ्गन गरेर यो मौसमलाई प्रेमीवर्षाले प्रतिस्पर्धा गर्ने थिएँ । यो पानीको हरेक बूँदसँग सङ्घर्ष गरेर उसको तनमा एउटा बूँद पनि पानी रहन दिने थिइनँ । यो मुलसधार वर्षामा, वर्षाको प्रेममा डुबेर यही बरको फेदमा मायाको अजम्बरी निशानी कोर्न थिएँ ।’ उसको मन ढुकढुक हुँदै मनदेखि जिउसम्म कम्पन झन् बढ्न लाग्यो ।
दुवैको स्पर्शमा शिवको कम्पनको भाप पाउँदा वर्षाले प्रश्न गरिन्, ‘के भयो शिव? काम्नुभएको छ त?’ शिवले वर्षाको आवाज सुनेनन् । ऊ त उसकै अर्को काल्पनिक दुनियाँमा विचरण गर्दै छ जहाँ प्रेमको वर्षा हुँदैछ । मनका तरङ्ग मेटाउने पानीको बूँदहरू झर्दैछन् । ऊ रमाइराखेको छ ।
वर्षाले तीनचोटि सोद्धा पनि शिवले नसुन्दा उसको हात समाएर झस्काउँदा ‘अँ’ भनेर विस्मयसँग जवाफ दिन्छ ।
‘के भयो? कुन ख्यालमा डुब्नुभयो?’ मुसुक्क हाँसेर वर्षाले शिवतिर मजाकीय अन्दाजको वाण छोडिन् । उसको रूपले घायल भएको शिव यो मुस्कानले उसको तरङ्गित मन छिया-छिया भयो ।
‘केही भएको छैन । यसै झुलेछु ।’
‘अब घर गएर झुल्नुहोला । पानी रह्यो । जाऔँ घर ।’
‘ए ! पानी रएछ । जाऔँ त ।’
शिव मुसुमुसु हाँस्दै मनै मन ‘थ्याङ्क्यू आमा’ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।