साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

प्रश्न यथावत् छ

‘हातका मैला सुनका थैला के गर्नु धनले ?’

महाकवि लक्ष्मीप्रसाद देवकोटाको सोधाइ कस्तो खालको प्रश्न हो ? के हामीलाई प्रश्न गर्ने तरिका र प्रश्नका बारेमा थाहा छ ?

के ? किन ? कहाँ ? कहिले ? कुन ? को ? कसरी ? थियो, छ, हुनेछ ? यस्तै अनेकौँ जिज्ञासाहरूले हामी जहिले पनि लखेटिइरहेका हुन्छौँ । जीवनको मूलबाटो, गोरेटो, दोबाटो, चौबाटो आदि हरेक मोडमा प्रश्नहरू आइरहेका हुन्छन्, प्रश्नहरू गइरहेका हुन्छन् । मान्छे, मान्छे, मान्छे, मान्छे, मान्छे–मान्छेका बीचमा प्रश्नै–प्रश्न, प्रश्नै–प्रश्न, प्रश्नै–प्रश्न छन् । सात अर्बको मन, दिमागमा खर्बौ प्रश्नहरू छन् ।

भनिन्छ, यदि हाम्रो मनमा कुनै जिज्ञासा छैन भने हामीमा चेतना पनि छैन । यस्तो पृष्ठभूमिमा विचार गरौँ, के हामीलाई आफ्नो जिज्ञासा सही तरिकाले व्यक्त गर्न आँउछ ? के हामीलाई प्रश्न सोध्न आउँछ ?

जीवनमा एकरेखीय बाटोमा हिँडिरहेको हुँदैन, प्रश्न पनि । एकाथरिहरू भन्छन्, प्रश्न सोध्न सजिलो छ, जे सोधे पनि हुन्छ । कसैले जवाफ देओस्–नदेओस् । तर अर्कोथरिको भनाइमा प्रश्न गर्न सजिलो छैन । प्रश्न गर्न पनि साहस चाहिन्छ । धेरैलाई प्रश्न गर्नै आउँदैन । कतिपयलाई प्रश्न गर्नुपर्छ भन्नेसमेत थाहा छैन । त्यसो त, हामीले प्रश्न गर्न नजानेर पनि होला, कतिपय आउनैपर्ने उत्तरहरू सतहमा नआएका !

जस्तो कि कोसीमा माछा सिद्धिन लागिसके । रघु बहरखेरका घरेलु भैँसीसँग मिसिएर अर्नाको अनुवांशिकी समाप्त हुन लागिसक्यो । तपाईलाई केही चिन्ता छ कि छैन ?

आकास खस्यो भने के हुन्छ ?
हामीले सुन्दै आएको लोककथामा आधारित यो कस्तो प्रकारको प्रश्न हो ?

सायद हामीलाई थाहा छैन, सही ढङ्गले प्रश्न सोध्नु भनेको समाधानको पहिलो सोपान हो ।
मानिस अनेकन प्रश्नहरू सामुन्ने राखेर परीक्षा दिइरहेको हुन्छ । जीवनभरि मात्र होइन, जीवनपर्यन्त पनि मान्छेको अस्तित्व प्रश्नको घेरामै हुन्छ । रुसोले भनेका छन्, मान्छे स्वतन्त्र जन्मिन्छ तर त्यसपछि ऊ अनेक प्रकारका साङ्लोले बाँधिएको हुन्छ । यस्तो किन हुन्छ ? प्रश्नको सिलसिला यसरी नै सुरु हुन्छ ।

तर सोधिएका सबै प्रश्नको जवाफ हुन्छ नै भन्ने छैन ।
‘अन्डा पहिले कि चल्ला ?’ समाजमा, बहसमा थुप्रै अनुत्तरित प्रश्नहरू छन् ।

यदि सही ढङ्गले प्रश्न गरिएको छैन भने जवाफ पनि सही ढङ्गको पाइएको छैन । यदि यो अज्ञानताका कारण सतहमा आउनुपर्ने उत्तरहरू आएका छैनन् भने भन्न सकिन्छ, तिनका बारेमा जान्न पाउने हाम्रो अधिकार पनि प्रभावित भइरहेको छ ।

कुनै सूचना वा जानकारी प्राप्त गर्नका लागि वा कुनै शङ्का समाधानका लागि प्रयोग गरिने भाषिक अभिव्यक्ति हो, प्रश्न । सवाल, जिज्ञासा, खोज, कुतूहल, उत्सुकता, उत्कण्ठा, खसखस आदि प्रश्नका पर्यायवाची शब्द हुन् ।

आचार्य रजनिशका अनुसार प्रश्नहरूका तीन वर्ग छन् । पहिलो वर्ग कुतूहलता हो । ती बाहिरी प्रश्न हुन्, जो मस्तिष्कमा उत्पन्न हुन्छन् । दोस्रो वर्गमा जिज्ञासा पर्छन्, जुन अलिकति आन्तरिक हुन्छन् । यस्ता प्रश्नहरू अन्तस्करणमा उत्पन्न हुन्छन् । तेस्रो वर्गमा मुमुक्ष पर्छन्, जो सबैभन्दा भित्री चेतमा उत्पन्न हुन्छन् । मुक्तिका लागि हुने–गरिने यस्ता प्रश्न भित्री चेतनाबाट आउँछन् । मुमुक्ष तीर्खा हो, ज्ञानको भोक हो । मुमुक्षुहरू मोक्षका लागि सधैँ प्रश्नवत् हुन्छन् ।

प्रश्न गर्नु भनेको जान्नु हो । बिनाउत्तर, बिनाकारण प्रश्नहरू सतहमा आउँदैनन् । म को हुँ ? कहाँबाट आएँ ? म किन यो पृथ्वीमा आएँ ? अहिले के गरिरहेको छु ? ईश्वर छ कि छैन ? आदि प्रश्न हरेक मान्छेका मनमा आउने स्वाभाविक प्रश्न हुन् ।

प्रश्न यथावत् छ । यो सनातनदेखि थियो । अनन्तसम्म रहनेछ । भनिन्छ, प्रारब्धमा मान्छेले एउटा नयाँ ध्वनि सुने, एउटा त्यसअघि कहिल्यै नदेखेको उज्यालो देखे, अनुभूत गरे । त्यसपछि मान्छेको मनमा जिज्ञासा उत्पन्न भयो, के हो यो ? यसलाई के नाम दिने ? सम्भवतः संसारको पहिलो प्रश्न त्यही थियो । त्यसैको आवश्यकता र खोज बढ्दै जाँदा त्यो अमूर्त अनुभूतिलाई ‘ईश्वर’ नाम दिइयो ।

‘कालापानी’मा खुकुरी पखाल्छु भन्ने गीत लेख्ने विजय श्रेष्ठले जब ‘हाम्रा बडा पृथ्वी बाले भनेका, एकता नै बल हो,’ बोलको गीत रेकर्ड गराए, रेडियो नेपालका तत्कालीन सेन्सर बोर्ड सदस्यले सोधेछन्, ‘तपाई पृथ्वीनारायण शाहको छोरा हो ?’

जवाफमा के भन्नु ? श्रेष्ठ अक्क न बक्क भए । ती सदस्यको अज्ञानतामा हाँस्नुबाहेक उनीसँग कुनै जवाफ थिएन ।

मानिसका मनमा हुने सबै जिज्ञासाले प्रश्न बन्ने हैसियत राख्दैनन् । संसारमा सबै प्रश्नको उत्तर हुँदैन र आउँदैन पनि । सबै फूल टिप्न नपाए झैँ, सबै रस आस्वादन गर्न नमिले झैँ, धेरै पुस्तक पढ्न बाँकी रहे झैँ मानिसको जीवनमा निरुपण हुन बाँकी केही न केही तुस रहिरहेको हुन्छ । किताब पढेर, रुख चढेर, बाटो हिँडेर कहिले सकिन्छ ?

महाकवि पर्सिविस सेलीका अनुसार हामी जति अध्ययन गर्दै जान्छौँ, त्यति आफ्नो अज्ञानताको ज्ञान हुँदै जान्छ । अर्थात्, हामी जति प्रश्नहरू गर्दै जान्छौँ, त्यति समाधानहरू पाउँदै जान्छौँ । अनि, जति समाधानहरू पाउँदै जान्छौँ, क्रमशः थाहा हुँदै जान्छ, अब यसपछि हामीले उत्खनन गर्नुपर्ने, खोज्नुपर्ने के हो ? सत्य के हो ?

के सूर्य सधैँ पूर्वबाट उदाउँछ भन्ने सिकाइ सत्य हो ? सूर्य ईशान र आग्नेय दिशामा देखिइरहँदा पनि हामी त्यसलाई पूर्व नै ठानिबस्छौँ, त्यही सिकाउँछौँ किन ? सारमा, हामीलाई गुरुहरू साँचो अर्थमा व्यावहारिक, विज्ञानसम्मत हुन किन प्रेरित गर्न सकिरहेका छैनन् ?

के छ खबर ?
कहिलेकाहीं हामी कतिपय प्रश्न सोध्नका लागि सोधिरहेका हुन्छौँ । खाना भइसक्यो ? आरामै हुनुहुन्छ ? मलाई चिन्नुहुन्छ ? मेरो माया लाग्दैन हो ? हात्ती पढेर ठूलो भएको हो र ? आँपको रुखमा आँप नफले के फल्छ ? यस्ता प्रश्न अनेक छन्, जवाफमा मुसुक्क हाँसे पुग्छ ।

एउटा मिथकीय उदाहरण हेरौँ । अकबरले वीरबललाई आँखा भएका अन्धा खोजेर ल्याउन अह्राएका थिए । यस्तो जटील समस्या समाधानका लागि वीरबल सहरको एक छेउमा बसेर जुत्ता सिउन थाले । सबैभन्दा बुद्धिमान मानिएका मन्त्री यस्तो अवस्थामा देखिएपछि धेरै मान्छेले सोधे, ‘के हो, वीरबल के गरेको यो ?’

जुत्ता सिएको देखी–देखी ‘के गरेको ?’ भनेर सोध्नेहरूलाई वीरबलले केही जवाफ दिएनन् । बरु सेना लगाएर समाउँदै दरबारमा उपस्थित गराए । साँझसम्ममा दरबारको बैठक कक्षमा आँखा भएर पनि नदेख्नेहरूको भीड जम्मा भइसकेको थियो ।

जीवनको अद्भूत रहस्यको समाधान कहिले होला ? भविष्यले कस्तो मोड लेला ? प्रश्न बाँकी नै छ ।

सिद्धान्ततः सोधिने प्रश्न तीन प्रकारका हुन्छन् । पहिलो, सोध्नैपर्ने ः मेरो बुबाको नाम के हो ? दोस्रो, सोध्दा राम्रो हुने ः आकाशमा कति ताराहरू होलान् ? तेस्रो, सोध्न सकिने ः तपाई असफल कसरी हुनुभयो ? यसरी, वर्गीकृत तीनमध्ये सोध्न सकिने प्रश्नको समूहमा ‘मेरो जन्म कहाँबाट भयो ?’, ‘शङ्ख बजेको आवाज सुनेपछि हात्ती के सोचेर भाग्छ होला ?’ जस्ता ‘नसोधे पनि हुने’ मानिएका प्रश्नहरू ओभरल्याप भएका हुन्छन् ।

सकारात्मक सोच र महत्त्वाकाङ्क्षा भए जिज्ञासा पनि सकारात्मक नै हुन्छन् । सफल मान्छेले भन्छ, ‘यसमा के सम्भव छ ? त्यो पत्ता लगाऔँ, त्यो गरौँ ।’ तर असफल मान्छे भन्छ, ‘यसमा के असम्भव छ ? पहिले त्यो खोजौँ, बाहिर निकालौँ, बाँकी रहेको जम्मै सफलता हो ।’

मान्छे किन यति धेरै गम्भीर छ ? मान्छे सधैँ बिहान उठ्नुपर्ने हो, तर कुनै एक दिन मान्छे उठेन भने के हुन्छ ? त्यो दिन मान्छे नहुनुबाहेक अरू विशिष्ट फरक हुँदैन । ताराहरू उसरी नै चम्किनेछन्, जसरी हिजो हुँदा चम्किन्थे । चराहरू उसरी नै कराउनेछन् । सबै चिज आफैँ भइरहेका छन् । जब हामी आफैँ बाँच्न नजानेर अन्धाधुन्ध बाँचिरहेका छौँ भने सबैथोक व्यवस्थित गर्ने प्रयत्नमा, बेकारमा किन यो गम्भीरता ? मान्छेहरू किन कुरा बुझ्दैनन् ?

त्यसो त प्रश्नहरू समय–समयमा परिवर्तन भइरहन्छन् । तर इतिहासदेखि पछिल्लो पुस्तासम्म हस्तान्तरण हुँदै आएका केही स्थायी प्रश्न यथावत् छन् हामीसँग । ‘प्रेम के हो ?, माया के हो ?, यौन के हो ?, यौनिकता के हो ?’ प्रश्न के हो ? जिज्ञासा के हो ?

‘तपाई प्रधानमन्त्री बन्न चाहनुहुन्छ कि चाहनुहुन्न ?’ जस्ता बन्द प्रश्न, ‘तपाई राजनीति गर्न चाहनुहुन्छ, हो ?’ जस्ता पुछ्रे प्रश्न र ‘तपाई कसरी यो निर्णय गर्ने अवस्थामा पुग्नुभयो ?’ जस्ता खुला प्रश्न सोधिन्छन् पत्रकारितामा ।

अर्को, विचारसहितको जिज्ञासा अर्थात् सोध्नेद्वारा आफ्नो भनाइ थोपरिएको प्रश्न पनि हुन्छ । यसमा सोध्नेले चाहेको शब्द अरूको मुखबाट आओस् भन्ने अपेक्षा हुन्छ । जस्तै, कसैले नेपाल फेरि हिन्दू राष्ट्र हुनुपर्छ भन्यो भने अरूले त्यसको विरोध किन गर्नुप¥यो ? सोध्ने क्रममा अनेकौँ थेगो–प्रश्न पनि हुन्छन् । ‘मैले यो भनेँ भने ठिक भनेको हुन्छ कि बेठिक भनेको हुन्छ ?’

सोध्न कि विषयवस्तु केही जानेको हुनुपर्छ कि केही नजानेको हुनुपर्छ । शिक्षक पत्रिकाका सल्लाहकार सम्पादक केदार शर्माका अनुसार प्रश्नकर्ता धेरै प्रकारका हुन्छन् । ‘कडा प्रश्न सोध्ने’ व्यक्तिका रूपमा नाम कमाउन चाहने व्यक्तिहरूको सञ्चार क्षेत्रमा ठुलो उपस्थिति छ । स्रोता–पाठकले जान्न चाहने खालका प्रश्न सोध्नु प्रश्न गर्नेहरूको धर्म नै हो तर ‘नायक हुन’का लागि गरिएका प्रश्न परै छुट्टिन्छन् ।

जान्नका लागि वा जवाफ पाउन होइन, आफ्नो उपस्थिति देखाउन मात्र प्रश्न सोध्ने धेरै छन् । नया“ कुरा जान्न होइन, आफूले जानेको कुरामा सही थापिमाग्न सोध्ने वा आफूले चाहेको जस्तो जवाफ खोज्न चाहने आग्रही प्रश्नकर्ताहरू पनि कम छैनन् ।

अहिले बुझाइसँगै विरोधाभास पनि थपिएको छ । यो असजिलोमा मान्छेलाई कसले हालेको होला ?

‘किन हाम्रा सपनाहरू पूरा हुँदैनन् ? किन हामी आफ्नै सपनाहरूको मलामी जान अभीशप्त छौँ ? किन हामी ७० वर्षदेखि एउटै सपना (समृद्धिको सपना) पूरा हुने दिन पर्खेर बसिरहेका छौँ ? सगरमाथाको उचाइ हरेक दिन कति घटबढ भइरहेको छ ? विधिको शासन स्थापित गर्न किन सकस परिरहेको छ ? परिवर्तन अहिले नगरे कहिले गर्ने ? सरोकारवालाहरू हरसमय यस्तै प्रश्नको सेरोफेरोमा हुन्छन् ।

‘केटा के हो ? केटी के हो ?’ कमला भसिन प्रश्नको माध्यमबाट समाज, विशेषगरी किशोर–किशोरीलाई लैङ्गिक विभेदविरुद्ध सचेत बनाउन चाहन्छिन् । ‘रुखबाट छुट्टिएको स्याउ भुइँतिर नै किन गयो ? माथितिर किन गएन ?’ यही एउटा जिज्ञासाले एउटा विद्यार्थी वैज्ञानिक न्युटन भयो । ‘मानिस दुखी किन हुन्छ ?’ यस्तै जिज्ञासाले राजकुमार सिद्धार्थ, गौतम बुद्ध बने ।

प्रश्नका सवालमा माक्सिम गोर्कीको विचार समीचिन छ । भन्छन्, ‘जनतालाई किताबहरू सुम्पिदिनुस्, तब उसले आफैँले आफ्ना प्रश्नहरूको हल भेट्टाउनेछ ।’

प्रतिक्रिया
Loading...