सुजुलाई मेरो मोटर साइकलमा स्कुल पुर्‍याउँछु । हाम्रो किराना पसल हुनेछ अनि त्यस पसलमा रीमाले मलाई सघाउने छिन् ।

सुगम गौतम

सिमेन्टले ढलान गरेको चौतारी मुनिको छहारीमा आड लगाएर कृष्ण आफ्नै सोचमा मग्न थियो । सूर्य पनि अस्ताउन आँटेको थियो तर वैशाखको महिना भएर होला गर्मी अत्यधिक थियो । कामबाट घर फर्किंदा सुजुका निम्ति अण्डा र पौष्टिक आहार ल्याउन आग्रह गरेकी थिइन्, रीमाले । काम सकेर पनि दिन ढल्न लाग्दा कृष्णले जुगाड गरेको थिएन आहारको । चराहरु पनि आफ्नो वासस्थानमा फर्किंदै थिए र सो क्रममा उनीहरुको चिरविरले कृष्णलाई झस्कायो र काल्पनिक दुनियाँबाट वास्तविक दुनियामा खसाल्दियो । कृष्ण मलिन देखिन्थ्यो ।

केवल एक हप्ता मात्र भएको थियो, उसले तलब बुझेको तर त्यो सब पैसा खपत भइसकेको थियो । तलबबाट आएको पैसाले आफ्नी श्रीमतीलाई सारी र छोरालाई साइकल किनिदिएको थियो । पसलमा तिर्नुपर्ने उधारो चुलिँदै गएकाले पसलले नगद ल्याएमा मात्र सामान दिन चेतावनी दिएको थियो । रीमाको मागअनुसार अन्डा र अन्य गेडागुडी खरीद गर्ने पैसा पनि थिएन ऊसँग। कमिजको खल्तीमा हात हाल्दा केवल ५० रुपैयाँको पत्तो मात्र निस्कियो । झिनो आश बोकेर ऊ चौतारीबाट पसलतिर लम्कियो ।

पसल पुगिसकेपछि ५० रुपैयाँको नोट टक्रयाएर ५ ओटा अण्डा र एक केजी चना माग्यो तर पसलले त्यति पैसामा उसले माग गरेको सामान नआउने बतायो । हाल जोडेर बिन्ती बिसाउँदा पनि पसले सहमत नभएपछि ५० रुपैयाँमा जति आउँछ त्यति दिन माग गर्यो कृष्णले । कृष्णको लागि त उधारोको ढोका बन्द भइसकेको रहेछ । ५० रुपैयाँमा २ ओटा अण्डा र आधा केजी चना मात्र आयो । भारी मनका साथ ऊ त्यही लिएर जान विवश भयो । आखिर केही नभएका भन्दा अलिकति भएको नै जाति ।

बुबाको हातमा प्लाष्टिकको झोला देखेपछि सुजु खुसीले गदगद भयो । प्लाष्टिकभित्र दुई ओटा अन्डा र आधा केजी चना मात्र थियो । अन्डाको संख्या जम्मा दुई र परिवारमा तीन जना थिए । रीमा र सुजुलाई मात्र पुग्ने भएकाले कृष्णले खाएन । सायद उसको पेट भरिएको हुँदो हो गरिबीले, आखिर हरेक चीज बढी भएपछि मात्र न हो अघाउने । कृष्ण गरिबीले अगायो ।

भान्सा सकेपछि सुजुलाई काखमा लिएर कृष्ण आफ्नो ओछ्यानतिर लाग्यो । रीमा भाँडा माझ्नतिर व्यस्त भई । सुजुलाई आफ्नो छातीमाथि राखेर थपथपाउने क्रममा उसैको मस्तिकमा भयानक आँधी आयो । ऊ आफैँले आफैँलाई प्रश्न गर्थ्यो र उत्तरको सुट्‍टा हरेकचोटि आँसुले परेला भिजाइदिन्थे । अझ यसो भनौँ, उसको हरेक प्रश्नको उत्तर नै आँसु थियो । एक दिन अवश्य गरिबीलाई जित्छु भनेर सान्त्वना दिन्थ्यो आफैँले आफैँलाई । तर कहिले आउँछ त्यो दिन ? सायद कृष्णका बाउले जग्गा जमिन नबेचेको भए, गरिबीले उसको घरको ढोका ढक्ढकाउन पाउँदैन्थ्यो । आज गरिबीले उसको घरमै अड्डा जमाएर बसेको छ । आफूले खाएको रक्‍सीको ऋण तिर्नका निम्ति कृष्णको बाउले जग्गा जमिन रित्याइसकेको थियो । अघिल्लो वर्ष मात्र कृष्ण आफू कतार जानका लागि भनेर बचाएको पैसा बाउको उपचार खर्चमा गएको थियो । मृगौलाले काम नगरेपछि न उसको बाउ बाँच्यो, न पैसा, न त जग्गा जमिन नै । यस्तै घटनाहरुलाई सम्झिंदै गर्दा रीमा पनि आफ्नो रात्रीकालीन काम सकेर ‌ओछ्‍यानमा आई । कृष्ण खाटमा पल्टेको लगभग दुई घन्टापछि पनि निदाउन सकेन । निद्रासँग पनि उसको सम्बन्ध बिग्रिसकेको रहेछ ।

भोलि सुजुलाई फेरि अन्डा र अरु आहार आवश्यक पर्छ । एक महिनाअघि रीमाको जन्मदिनमा सुनको सिक्री किनदिने वाचा गरेको थियो उसले तर ऊसँग भएको पैसाले सारी मात्र भ्याएको थियो ।

एघार बज्यो तर उसलाई निद्रा आउने छाँटकाँट देखिएन । पाइन्टको खल्तीमा भएको खुकुरी चुरोटको बट्टाबाट एक खिल्ली निकालेर ऊ बार्दलीमा पुग्यो ।
चुरोटको पहिलो सर्कोले उसको मनमा पसेको चिसोलाई केही हदसम्म न्यानो बनाइदियो तर त्यो न्यानोपन धेरै बेरसम्म टिक्न सकेन । चुरोटको धुँवा हावामा विलिन भएजस्तै उसका सपनाहरु पनि विलिन हुँदै थिए । भुईं तलामा बिरालोले पल्टाएको भाडाको आवाजले पनि उसको एकाग्रलाई भंग गर्न सकेन । ऊ आफ्नै सोचमा हरायो ।

“के म कतार गएर पैसा कमाउने अनि फर्केपछि पसल खोल्ने सपना तुहिएको नै हो ? के मैले बाइक किनेर सुजुलाई त्यसमा चढाएर स्कुल पुर्‍याउने कुरा सपनामा नै सीमित हुने हो त ?

यस्तै एकपछि अर्को प्रश्‍न हाम फालिरहे र उसको दिमाग नै उथलपुथल गराइदिए । ऊ अलिक शिक्षित भएको भए पनि नेपालमै राम्रो जागिर पाउँथ्यो होला तर उसको औंठाछाप वाला शैक्षिक पृष्ठभूमिले त्यो पनि सम्भव थिएन । फर्निचरमा काम गरेबापत पाएको पैसाको भरमा ऊ लगायत उसका छोरा र बूढी गरी तीन ज्यान पालिएका थिए । रीमा पनि त्यति पढेलेखेकी कहाँ हो र ? नजिकको स्कुलमा पिउनको भूमिका निर्वाह गरेर कृष्णलाई जीविकोपार्जनमा सघाउँदै आएकी थिई ।

चिसो हावा चलेको सुनसान अँध्यारो रातमा पानी पनि अंकमाल गर्न आइपुग्यो । कृष्णले बार्दलीको भित्तामा आड लगाएर बाहिर चिहाइरहेको थियो । अब त यो गरिबलाई आफ्नै घरको छानोले पनि साथ दिन छोडेछ ! ऊ भुईंमा थचक्क बस्दै गर्दा पानीका केही थोपा छानाबाट चुहिएर उसको नाडीमा अडिए । छानो चुहिएको भेउ पाउनासाथ ऊ अघिल्लतिर सरेर बस्यो त्यहाँ पनि ऊ पानीबाट उम्कन सकेन । एक बजिसकेको थियो। सारा दुनियाँ आँखा बन्द गरेर अनेक सपना देखिरहेको हुँदो हो । निद्रा पनि सहज नै आएको हुँदो हो । घरको छानाबाट पानी पनि नचुहिएको हुँदो हो ।

खल्तीबाट अर्को खिल्ली चुरोट निकालेर ऊ टक्क उभियो । सिमसिमे पानीले मुसलधारे वर्षाको रुप लिँदै थियो, जसलाई सघाउन बेलाबेलामा आकाश पनि गर्जिरह्यो । घर मर्मत नगरेको पनि सात वर्ष भइसकेछ अब त ।

हरेक वर्षायाममा आउने विशाल वर्षाको प्रभाव कम गर्न भुईं तलाको एउटा सानो खाटमा तीन जना अटी नअटी सुत्न पर्थ्यो । माथिल्लो तलामा कहिलेकाहीं त असिना पनि छिर्न भ्याउँथ्यो छानाबाट । त्यस रात पनि ठुलाठुला असिनाले छानो ठटाए । घरिघरि त कृष्णको टाउको पनि ठटाए । तर त्यस बाबजुद पनि ऊ मौनतामै हराइरह्यो । ऊसँग ती छाना चिरेर भित्र पस्ने शक्तिशाली असिनाको जवाफ थिएन ।

बाहिरको अशान्त वातावरण जस्तै कृष्णको मन मस्तिष्कलाई पनि अशान्तिले ढाक्यो । खल्ती भएको खुकुरी चुरोटको अन्तिम खिल्ती निकालेर मनको अशान्ति भगाउने निर्णय गर्यो । तर जाबो चुरोटले के नै गर्न सक्थ्यो उसको गरिबीले निम्ताएको अशान्तिलाई ? घरभित्र तपतप चुहिरहेको पानीले उसलाई छानो मर्मत गर्न उक्साउँन्थ्यो तर कसरी सम्भव होस् त्यो जब भोलि के खाने भन्‍ने कुराको ठेगान नभएको परिस्थितिमा ।

चुरोट पनि निभिसक्यो तर उसको मन मस्तिष्कमा बलेका प्रश्नलाई उस्ले उत्तरले निभाउन सकेन । कृष्ण कमजोर परिक्षार्थी रहेछ जसले कुनै प्रश्‍नको पनि उत्तर दिन सकेन ।

“सुजु एकदिन ठूलो हुनेछ । उसले दुनियाँको सामना गर्न उसलाई राम्रो शिक्षाको जरुरत पर्नेछ । के थाहा सुजु ठूलो भएपछि मोटरसाइकलको माग गर्ने पो हो कि ? यो घर पुरानो भयो अर्को बनाम न भन्‍ने पो हो कि ?

ऊ सोचिरह्‍यो । प्रश्‍नहरु ओर्लिरहे ।

चार बजिसकेको रहेछ पानी बिदो हुँदा । अब त सुत्न पनि पर्ने हो तर निद्रा कहाँ आओस् ? आफ्नो मैलो कमिजले आँसु पुछदै कृष्ण कोठाभित्र छिर्ने सुरसार गर्‍यो । वरपरका घरमा बत्तिहरु बल्न थलिसकेका थिए । गरिबको त रात पनि आफ्नो नहुँदो रहेछ ।

ऊ ओछयानमा पल्टियो । सुजु र रीमा निदाइरहेका थिए । ऊ अब एकछिन सुतेर भोलिको छाक टार्नका निम्ति बिहानै निस्कनु पर्नेछ ।

बिहानको ७ बज्यो । चराको चिरबिरले उसलाई निदाइरहन दिएन । सूर्यको किरण झुल्किएसँगै उसको आशले सास भर्‍यो । बिहानको नित्यकर्म सकेर आफ्ना प्रियजनलाई बिदा गर्दै ऊ फर्निचरतिर लम्कियो ।