सहरमा निषेधाज्ञा लाग्नु अगावै म टिस्टुङ्ग, बुढी फुपूको मा आइपुगेको थिएँ । सहर भयावह र असह्य अवस्थामा पुगिसकेको थियो । स्थिति यतिसम्म भैसकेको थियो कि सङ्क्रमितका लागि “अक्सिजनका सिलिन्डर” पाइन छाडिसकेको थियो । अस्पतालमा ” न्यून चापी” कोडा कुर्दा कुर्दै बिरामीहरू मर्न बाध्य भैराखेका थिएँ । अनि दाहसंस्कारका लागि घाटको पालो नपाएर मान्छेहरू, सडक,पेटी र चौरास्तामा खुल्लममखुल्ला लास जलाईराखेका थिएँ । सहर एकप्रकारले कुँजोजस्तै भैसकेको थियो, निस्सासिँदो वातावरणमुनि । मैले त्यो हालतबाट जति सक्दो
चाँडो, आफूलाई बरु गाउँतिरै धकेल्ने प्रयास गरेको थिएँ । त्यो अन्तिम साँझ, अनि सहरलाई निषेधाज्ञा सुचित गरिनु अगावै, मैले आफ्नो “बाइक” तयार गरेको थिएँ । टिस्टुङ्ग्मा बुढीफुपूसँग मेरो लगभग सात वर्षपछि भेट भएको थियो । बुढी फुपू तिनै थिइन् जसले मलाई नाबालखमै काखमा लिएर हुर्काएकी थिइन् । हो, फुपूकै घरमा म हुर्केको थिएँ र उनकै आँखासामु म युवा र जवान भएको थिएँ । एक हिसाबले ती बुढी फुपू र फुपाजु नै मेरा लागि बाबु आमा थिएँ । त्यसकारण पनि हुन सक्छ मैले आज सम्म जन्म दिने बाबु आमा खोजेको थिइन् । त्यतिका वर्षपछि मलाई एक्कासि दैलाअघि देखेर त्यो रात बुढी फुपू खुब रोएकी थिइन् । मलाई ग्लानिले नमिठोसँग अठ्याएको थियो ।
त्यो रात अबेरसम्म बुढी फुपू मेरो समीप बसिरहिन् । तरह तरहको प्रश्न र उत्तर रातभर हामीले साटिरह्यौँ । म सकेसम्म चित्त बुझ्दो उत्तर दिने प्रयत्न गर्थेँ । फुपू बडो हड्बडिएकी थिइन्, सन्तान भने पनि एउटै भदो, सहर पसेपछि यतिका वर्षसम्म, सन्चो बिसन्चो र खोज खबरसमेत गर्न नफर्किँदा, कतै भदोले माया मारी बसेपो छ कि ? उनको रुन्चे गुनासो थि
यो तरपछिल्लोपटक सहरमा बढिरहेको महामारीको खबर सुनेर भने उनी आँत्तिनुसम्म आछत्तिए छिन् । बुढा फुपाजुलाई जेत पर्ला, सहरमा मलाई भेट्न भनेर पठाएकी पनि रहिछिन् तर बुढा
फुपाजु सहर पस्नुअगावै बाटो छेक्किसकेको थियो । भारी मन लिएर फुपाजु फर्किएको त्यो साँझ, बुढीफुपूले कसोरी रात काट्न सकिन् होली, ममात्र अनुमान गर्न सक्थेँ ।
भोलिपल्ट बिहान, पिँढीबाट आइरहेको लगातारको गुनगुन आवाजले मलाई ब्युझाएको थियो । मझेरीमा झर्दासम्म दुवैको आखाँ म माथि परिसकेको थियो । दुवैको गन्थनले एकाएक मौनता साँधेको थियो । हो, मलाई मझेरीमा देख्नेबित्तिकै दुवैले मुख बन्द गरेका थिएँ । मैले सकेसम्म सहज वातावरण बनाउँदै दुवैतर्फ फर्किएर सोधेको थिएँ, “फुपू, फुपाजु के कुरा गर्दै हुनुहुन्थ्यो, बिथोलेँ कि? बन्दै गर्नु भयो त! कि म चोँटातिरै उक्लौँ ?”
“भो भो पर्दैन नानी ” फुपाजु उत्तिनखेरै अघि सरेका थिएँ । घरी मतिर अनि घरी फुपूतिर हेर्दै र हाँसेजस्तो गर्दै उनले मुख खोलेका थिएँ “ए तिम्रो फुपूलाई मेरै पो पिर लागेछ । कतै एकाबिहानै तिमीलाई लिएर म खेत गोठ उक्लुँला कि भनेर ।”
उनको कुरा सुनेर म मुसुक्क हाँसेको थिएँ । फुपूले देखेकी थिइन् ,उत्तिखेरै एकपटक फेरि उनी फुपाजुतिर फर्किएकी थिइन् “हिजो साँझ त्यति अबेला आइपुगेका भदा नानी, थकाइ लागेको हुँदो हो, गोडा दुखेको हुँदो हो, अनि बरा कसोरी पठाऊँ त यिनलाई त्यति माथि खेत गोठसम्म ? भो पर्दैन, तपाईँ जानुस्, नानी मैसँग बस्छन् । आज, भोलि थकाइ मरे, अनि लिई जानू।”
बुढा बुढीको यही कुरामा हानथाप थियो । अन्ततः बुढा फुपाजु एक्लै गोठ फर्किएका थिएँ ।
अँगेनुमा मसिना झिक्रा झोसेर फुपूले कुँडेभरि दुध बसालेकी थिइन् । मैले आँगनबाटै एकफेर पारिको देउराली
नियाँलेको थिएँ । मेरा लागि त्यो आँगनबाट देखिने देउरालीमात्र नभई कुनैपनि दृश्य नौलो थिएन । न ती डाडाकाँडा,न खेत जङ्गल,नत गाईगोठ र, न त गाउँकै प्रत्येक मान्छेहरू । हो, बरु निकै समयसम्म मैले नै यसको
अस्तित्व भुली बसेको थिएँ । अनायासै म टोलाउन पुगेको थिएँ ,गह्रुङ्गो मन मस्तिष्कले फर्किएर आफैँलाई प्रश्न
गरेको थिएँ ‘कसोरी, यतिसम्मको गाउँको माया पन्छाई बस्न सकेँ हुँला, जब कि गाउँले ऐलेसम्म पनि बरु म
हुनुको गर्वानुभूतिमा, आफ्नो परिचय दिइराख्नसकेको थियो । सायद सहरलाई मैले होइन बरु मलाई सहरले
हराएको थियो, तब त, मानसपटल मा मैले एकफेर पनि गाउँ ढिम्कन दिइनँ । आज जब, विपद् आइलाग्यो, मेरो
ब्रह्म सँगसँगै, सम्पूर्ण धरातल मेरा अघि फर्किएको थियो । हो त्यतिखेर मैले महसुस गरेको थिएँ, कति कमजोर र
लाचार थियो, मभित्रको मनुष्य । अहँ, मेरा अघि गाउँ खोज्दै आउनुको विकल्प थिएन ।
” नानी, सन्चो पो छैन कि? मैले अघि देखिहेरेकी छु, के भयो? किन ओठ तालु सुकाई बस्या छौ ?”
बुढी फुपू कतिखेर नजिक आइपुगेकी थिइन्, मैले पत्तो पाएको थिइन । जब तिनको हातले मेरो नाडी
समाएको थियो,बल्ल म झस्किएको थिएँ । मैले हास्ने प्रयत्न गर्दै भनेको थिएँ – “फुपू, केही होइन, धेरै
पछि आएको छु नि त गाउँमा, अघि बिताएको यादले पो समायो त ।”
बिस्मातको खुइया छाडेकी थिइन् फुपूले- “कस्तो अचम्म ! जब गाउँ फर्कियौ र अब चैँ याद आयो
गाउँको? लौन भदा नानी, उता सहरमा के सेलाएरै बस्नुपर्ने पो नियम थियो कि ?”
मसँग फुपूको त्यस प्रश्नको सोझो उत्तर कत्तै थिएन । मैले सहजताको असफल हाँसो हाँस्ने चेष्टा गरेको
थिएँ -“त्यसो होइन फुपू, हजुरहरूबाहेक मेरो भन्नु, को नै पो थियो र सहरमा पनि ..?”
तर फुपू दौडिसकेकी थिइन्, कुँडे बसालेको अँगेनातिर । म भन्न सक्तिनँ उनले मेरो जबाफ सुनिनन् पनि
कि… ?
XXX XXX XXX
मलाई पिँढी ओर्लँदै गरेको देखेर फुपू हत्तपत्त बाहिर निस्किएकी थिइन् ।
“मलाई थाहा थियो यो बुढी फुपूसँग तिमी दिनभर बसिरहन सक्तैनौँ भन्ने कुरा, न त बुढा फुपाजुसित नै
दिनभर तिमी हिँडिरहन सक्थ्यौ ? त्यसैले तिम्रा बुढा फुपाजुलाई मैले तिमीलाई नलिई जान कराएकी ।”
“किन त फुपू, म सकिहाल्थेँ नि ?”
“हो हो मलाई थाहा छ, ल लिऊ यो छाता, बरु साँझ धेरै अबेर नगरेस् नि ।”
फुपूको ममतामा कुनै कमी खुट्याउन खोज्नु, आफूलाई नै असफल तुल्याउन खोज्नुसरह थियो । तर अभाव मैभित्र थियो । समीको शीतल छोडेर , पङ्खाको हावा खान निस्किएको थिएँ म । निकै बेरसम्म, मेरो आखाँसामु फुपूको
त्यो छोटो तर छरितो कद्काठ खेलिरह्यो । फुपूको तिनै हातहरूमाथि मेरो दृष्टि ठोक्किरह्यो, जसले, मलाई
थाहा थियो,कहिल्यै आफ्नो काखबाट झर्न दिएको थिएन मलाई । न त दिन्थ्यो खाली पेट एकैछिन पनि आँसु
झार्न । हो, त्यहीँनेर, तिनले पिँठ्युमा बोकेको घाँसका भारी, त कहिले दाउराका भारीमाथि म सधैँभरि निदाइरहेको
हुने थिएँ । झरी,धुप,ठिहीँ,बतास,कहिल्यै पनि त मैले त्यो प्रिय अन्तस्करणबाट अभिमुख हुनुपरेको थिएन।
एउटा संवेगजस्तै छातीभरि बोकेर हिँड्न थालेको थिएँ म । आखाँ अघिल्तिर गाउँ अझै उस्तै थियो । लाग्याथ्यो,
कहिल्यै नफेरिने बैँसको अमृत पिई उसैगरी लमतन्न सुतेको छ गाउँ । जसको छातीमाथि थुपुक्क खेलिबसेको छन्
बाजेका झिँगटी घरहरू । खरका चिटिक्क गोठहरू, फाँट, पखेरा,भिर जङ्गल र चादीझैँ चञ्चल मार्खु, कुलेखानीहरू ।
एउटा अग्लो डिलमा आइपुगेको थिएँ म । फुपूको घरलाई निकै पर छाडिसकेछु तर बाटाले अझै बिट
मारिसकेको थिएन । ममात्र थाकेको थिएँ । पक्कै हो, थकित र अवाक् । अहँ, कति पर परसम्म पनि त
त्रासदिको त्यो कुँजो आकाश थिएन । न त चित्कार र क्रन्दनले पट्पटाएका आत्माहरू । गाउँमा कतै
पनि त बाध्यताको चार भित्तो र त्यो बन्धनयुक्त जीवन थिएन । नजिकैको खयरको रुखमुनि रहेको
अग्लो ढुङ्गामाथि मैले आफूलाई बिसाएको थिएँ । उत्तिनखेरै बगेको चिसो बतासले मेरो शरीरमाथि छोएर गएको थियो । ताजगीले म एकदमसँग नयाँ भएर आएको थिएँ । लाग्दैथ्यो, पुनर्जीवनरूपी
टुसा बिस्तारै मभित्र पलाउन थालेको थियो र मलाई एउटा अविस्मरणीय भविष्य लोकतर्फ डोहोऱ्याउँदै
जाँदै थियो । मेरा आखाँहरू रमणीय हुन थालेका थिएँ । अगाडि, सपनाजस्तै कोलाज बसेको थियो । अनि
बिस्तारै एउटा उन्नयनरूपी अभिलाषाको थुम्को मैले आफ्नो माथि उठ्दै गरेको देख्न थालेका थिए।
“के, त्यही थियो सुनौलो भविष्य ?”
XXX XXX XXX
सल्लाको पाखोमुनि, सरिताको सुसाइ नजिक अनि कोइलीहरूको “को हो ” छेउ, म कसोरी बिर्सन सक्थेँ र पानी घट्ट
छेवैको त्यो सुन्दर टाँडघर । एका एक मेरो स्मृतिमा गुजमुज्ज रङ्गजस्तै पोखिन थालेको थियो । म सरासरी अघि
बढेको थिएँ । यतिका वर्षपछि पनि मेरा पाइलाहरू किञ्चित भिज्ञ बटुवासरह लम्कँदो देखेर म स्वयं दङ्ग थिएँ । यी
पाइलाहरू, सायद, जानकार थिए ,मेरो भित्रको प्रत्येक अन्तरङ्गसँग । हो, एकपटक फेरि मभित्र युवा उन्माद
मनमौजी फार्किन थालेको थियो, अनि उसैगरी, डर एवं उत्सुकताले एकैसाथ छुत्ति मार्न थालेको थियो ।
टाँडघर छेवैको त्यो सुन्दर स्यानो घरसँग म राम्रोसित परिचित थिएँ । मैले त्यहाँ धेरैपटक, धेरै लामो समय
बिताइसकेको थिएँ । अझ भन्दा उचित हुनेछ, एक किसिमले फुपूको घरपछि दोस्रो घर थियो मेरो ,त्यो सुन्दर घर
तर म भन्न अझै पनि डराउँछु, ‘सरिता’ यदि त्यति खेर मसँग नभैदिएको भए पनि, न यो घर मेरो स्मृतिमा
रहिबस्ने थियो,न त आज अनायासै मलाई यसको बाटाले जुराउने थियो ।
हो सरिता, ऊत्तिनखेरै मेरो आँखाअघि त्यो चुलबुले अनुहार उभ्रिन थालेको थियो । मलाई लाग्न थालेको थियो, म
एकपटक फेरि तिन्को चलाखीअघि कैदी बन्न जादै थिएँ । सम्झनामा मात्रै पनि तिन्को त्यो तेजिलो र
चहकिलो अनुहार , मेरो उपर भारी हुँदै जाँदै थियो । त्यो कहिल्यै नथाक्ने शरीर, बोलेर कहिल्यै नअघाउने आवाज
अनि, हजारथरिका बदमासी एकैफेर भ्याइदिने “मास्टर माइन्ड” । हो, तिनै प्रिय सरिताको लाग्दथ्यो अदृश्य हात
समाएर निरन्तर खिचिँदै, जाँदै थिएँ म ।
सरिता साँच्चिकै सरिता थिइन् । जसको धार म विश्वास गर्छु , अझैसम्म पनि उँचो र गतिमान् हुनुपर्दथ्यो । सरिता साँच्चै मार्खुभन्दा तेजिली र कुलेखानीभन्दा चम्किली थिइन् र जो भाग्यवश मेरी प्रिय
सँगिनी थिइन् । हो, उनका लागि गाउँमा हजार केटाकेटी थिएँ तर म भन्न सक्तिनँ किन ती बिचमा उनले
मात्र एक्लो मलाई टपक्क आफ्ना निम्ति टिपेकी थिइन् ? किन मलाई मात्र तिनले यी पाखापर्वत,
खेतगोठ, जङ्गल अनि गाउँ-गाउँ लिई हिड्थिन् । किन मार्खु र कुलेखानीका बगरमा तिनी मेरा निम्ति
मात्र बालुवाका दरबारहरू बनाउँथिन् र भिरको गुराँस टिपेर मेरो हातले आफ्नो केशमा सिउरिन ढिपी
गर्थिन् ?
यद्यपि,यी सब त्यसरी नै अनुत्तरित थिए मेरा निम्ति, जसोरी अनुत्तरित थिई सरिता, यहीँकहीँ ,यतैकतै
अथवा कोसौँ दूर ।
घर पूर्णतया रिक्त महसुस गरेको थिएँ मैले । कुनै समय त्यो मार्खु र कुलेखानी दोभानको सजीव खाजा
घर थियो, जसलाई सानिमै बजैले एक्लै चलाउँथिन् । तिनै सानिमै बजै जसलाई गाँउलेले सरिताको आमा
भनेर चिनेका थिए । सानिमै बजै ठकुरीकी छोरी थिइन् । तर तिन्को बिहे यसै गाउँको थापा छेत्रीसँग
भएको थियो । वास्तवमा सानिमै बजै ती काजीकी दोस्रो श्रीमती भएर भित्रिएकी थिइन् । पहिलो श्रीमती
बहुलाएर हिँडी भनेर थापा काजीले सानिमै बजैलाई दोस्रो श्रीमतीको रूपमा भित्र्याएको थिए । सुन्नमा
आएको थियो, सानिमै बजैको दाजुभाइलाई कत्ति पनि मन परेको थिएन छेत्री खलकसँग बिहाबारीको
सम्बन्ध राख्न तर कुरो अलि अन्यथा परेको थियो । यी छेत्री काजीले सनिमै बजैलाई भित्र्याउँदा डेढ
वर्षकी छोरी पनि सँगै थिई रे, जसलाई सबैले सरिताका नामले चिनेका थिएँ । सरिता पाँच वर्षकी जति
हुँदै थिई र बिचमा अर्को एक छोरोलाई पनि बजैले जन्म दिइसकेकी थिइन् । एक्कासि, खै किन हो
सानिमै बजैले अनि लोग्नेको घर छोड्ने निधो गरेकी थिइन् । फुपूले भनेअनुसार ,बौलाएर हिँडेकी
काजीको पहिली श्रीमती फर्किनाले सानिमै बजैले घर छोड्नुपरेको थियो रे । जे होस्, त्यसपछिका
दिनहरूमा सनिमै बजै सधैँका निम्ति छोरा छोरीको मुख हेरेर एक्लै बस्न थालेकी थिइन् यहाँ दोभानमा
आएर र खाजा घर सिवाय हात मुख जोर्ने अर्को उपाय पनि त थिएन उनका अघि । एउटै दोष थियो
तर सानिमै बजैको, कि दुवै उनको आखाँका नानीहरू सेतो हुँदै गैरहेका थिए जसकारण दिनप्रतिदिन उनको दृष्टिमा कमजोरी आउन थालिसकेको थियो ।
अन्तत मैले एकफेर मुख्य ढोकासम्म गएर भित्र चियाउने निधो गरेको थिएँ । ढोका ढप्काइएको मात्र
थियो । हलुको स्पर्समै जुन उघ्रेको थियो । उत्तिनैखेर भित्रबाट सऱ्याक सुरुकको आवाज निक्लिएको
थियो । म लगभग भित्र मझेरीमै पुगिसकेको थिएँ ।
“को ,कोहो त्यहाँ ?”
भित्ताको सहारामा आइरहेकी सानिमै बजैको त्यो टिठलाग्दो हालत देखेर एकछिन त मेरो होसले ठाउँ
छोडेको थियो । बेक्कार आएछु जस्तो पनि नलागेको होइन । म यसप्रकारसँग अन्योलमा परेको
थिएँ,ठिकसँग मैले सोच्न पनि सकेको थिइनँ ।
” सरिता ….,सन्देश ….,उसोभए को हो , केही पनि छैन म बुढी अन्धीसँग, जानुस् फर्किनोस् … ।”
“सानिमै बजै,म ,म अशोक ।”
मेरो आवाजले उनी चनाखो भएकी थिइन् ।
“अशोक ! को, को अशोक ? यहाँ कोही अशोक नाम गरेको मान्छे छैन, को हो तपाईँ ?”
मभित्रको उदिग्नता अधीर भैसकेको थियो । क्षीण हुँदै गैरहेको संयमलाई बाँधिरहन सक्ने अब मसँग
बर्कत थिएन- “म.. म देउरालीको अशोक सानिमै बजै, चिनेनौ तिमीले ।” एकाएक मैले तिनलाई झम्टिएर
अँगालो हालेको थिएँ र तिनको हत्केला समातेर आफ्नो गाला सुम्सुमाएको थिएँ । म यसप्रकारले आवेगमा
आइपुगेको थिएँ, अवरुद्ध मेरो गलाबाट जोड जोडले निक्लिरहेको थियो “चिनेनौ सानिमै बजै …तिमीले…
अशोकलाई, तिम्रो प्रिय अशोकलाई ….,तिम्री -तिम्री सरिताको अशोकलाई …म अशोक ,सानिमै बजै म म
….।”
“अशोक …चिनेँ चिनेँ मैले मेरो अशोकलाई तर यतिका वर्ष …कहाँ …कहाँ थियौ अशोक
तिमी…लौ आऊ त्यहाँ….. कुर्सीमा बस …..हेर त कति जवान भएछौ नि तिमी! मैले चिनेको अशोकलाई त
फेरिदिएछौ तिमीले अनि यो बुढी अन्धी सानिमैले कसोरी चिनोस् आफ्नो अशोकलाई ..भन त ?”
मेरा आँखामा त्यो साहस कतै थिएन, टुलुटुलु सानिमै बजैको त्यो हालत हेरिरहूँ । बरु फर्किनु मुनासिब
थियो तर म त्यो अभागीमध्येको थिएँ, दोस्रोमध्ये पहिलो अवस्थालाई नै लाचारीपूर्वक रोज्न कर
आफैँलाई लगाएँ ।
“किन बोल्दैनौ अशोक,…,तर,तर तिमीले नभनेपनि मलाई थाहा छ अशोक, हेर त सरितालाई, अन्तत उसको धारलाई
किनाराले घचेटिसक्यो अशोक, मेरो प्राणप्यारी सरिता नाम मात्रकी सरितामा अड्किएकी छे ,धुङ्ग धुङ्ती, मात्र श्वास लिएर । थाहा छ अशोक, बिचमा उसले तिमीलाई खुब खोजेकी थिई, भन्थी बारम्बार ,” “आमा, म अशोकसँग
हजारपटक माफी माग्छु, भैगो उसको बरोबरी नहोस्, बरु उसको दासी भएर बसिदिन्छु तर म उसको छेउबाट अब
टाढा जादिनँ आमा, बिन्ति, एकपटक अशोकलाई खोजिदिनुस् आमा ।” “भन त अशोक, हराएको थियौ र तिमी
कतै खोजेर भेटिन ?
बोल न अशोक,
किन ? म अन्धीको कुरामा विश्वास लागेन अशोक ?”
तर म मूक भएको थिएँ जोसँग बोली त थियो तर बुझिने आवाज थिएन । बोलाउने नाम त थियो तर कतै बुझाउने
उद्धरण थिएन । मेरो अवस्था खुल्ला पिँजडाको त्यो पक्षीसरह भएको थियो जोसँग उडिजाने आकाश त थियो तर
ठेगाना थिएन ।
“आमा !”
त्यतिनै खेर आएको थियो अर्को परिचित आवाज ।
“बाबु, सन्देश त आइस् ?” हत्पताउँदै उठेकी थिइन् सानिमै बजै, आवाज आएतिर मुखाकृत हुँदै “कस्तो छ बाबु ऐले
मेरी……मेरी सरितालाई ?”
हामी दुवैले एकफेर एकार्कालाई नियालेका थियौँ । मैले अनायासै ऊभित्रको आँधी महसुस गरेको थिएँ । उसका
आँखाबाट अकण्टक आँसु चुहिरहेको थियो । लाग्थ्यो, आँधी सेलाउन नपाउँदै कतै ऊ चिसिसकेको थियो ।
एकाएक हामी दुवैले एक अर्कालाई छातीमा टाँसेको थियौ । उत्तिनैखेर जोड जोडसँग बादल जुध्न थालेको थियो ।
हामी अँगालाभित्रै सुक्सुकाउन थालेका थियौँ । बाहिर बेजोडले पानी पर्न थालिसकेको थियो । सानिमै बजै
एकनासले बोलाइरहेकी थिइन् –
“सन्देश…., अशोक…..,सन्देश….. ,अशोक ..।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।