राजाको बारी,सुन्तला घारी,

सुनजस्तो सुन्तला,

सुनजस्तो सुन्तला ।

“ढाकरे भएर सोरेङ, मल्ली, जोरथाङतिर बसियो । बडा बाउ मेरो बाउ, मामाहरू पनि थिए, गाउँका थुप्रै थिए । म त सानै थिएँ, सुन्तला टिप्न सुक्खिम पस्दा ।”

डेफो दाइको भनाइ।

हुद्दा हुद्दा हुन्थे, सोरेङ, बरमेक हुँदै सुन्तला टिप्नु छ फलाना फलाना गाउँमा जानुपर्छ पैकारीहरूले भनेपछि हामी लस्करै डोका बोकेर हिँड्नुपर्थ्यो  । डोको त होइन डोकोभन्दा ठुलो ढाकर भनूँ न । हातमा टेकुवा, डोकामा ओड्ने -ओछ्याउने, पकाई खानलाई चामल दाल; उही त हो अरू त के हुनु र चिउरा गुँड । जुन गाउँमा जान्थ्यौँ बास पाइन्थ्यो । पकाई खानलाई बर्तन मागिन्थ्यो, पकाइन्थ्यो, खाइन्थ्यो; टम्म भएपछि ख्याल ठट्टा गरिन्थ्यो; नाचगान पनि छुटिहाल्थ्यो । “राजाको बारी सुन्तोला घारी, सुनजस्तो सुन्तोला” भन्दै गीत गाइन्थ्यो।

हिजैजस्तो लाग्छ, मनग्गे सुन्तला खाइन्थ्यो । हिजो आज त सुन्तलाको दाम सुन्दा पनि यति लामो जिब्रो बाहिर निकाल्नुपर्छ नि के गर्नु !

सामसोन गुरुङ (गान्तोक, सिक्किम)

डेफो दाइ आजभन्दा पचपन्न वर्षअघि रम्बी, टिस्टा, मल्ली, जोरथाङ हुँदै ढाकर भएर सिक्किम पसेका हुन् ।  परिवार, खेतीबारी नेपालको दोलखा छोडेर हाल गान्तोक बस्छन् । उनले आफ्नो परिवार सिक्किम कहिल्यै ल्याएनन् । आफू ढाकर वा भरियाको जागिर गरिन्छ भन्ने हीनताबोधका कारण पनि हुन सक्छ । उनको खास नाम बलराम बस्नेत छेत्री । गान्तोक आउनुअघि जोरथाङमा वन विभागको एकजना साहेबको घरमा रासन पानी पुऱ्याउने काम गर्दा त्यहीँ चिना-जानी भएपछि उनै साहबले बलराम गान्तोक जाने थाहा पाएपछि गान्तोकको वन विभागका साथीलाई “बलराम इमान्दार र बलिया पनि छन्, गान्तोक अफिसमा भारी बोक्ने कुनै काम भए उसलाई अह्राउँदा हुन्छ है”, भनेर सिफारिस गरिदिएका हुनाले बलराम गान्तोक आएपछि वन विभागमा काम भ्याई नभ्याई भएको अनि सबैको प्यारो र पत्यारो भएकाले उनका साथीहरूले ईर्ष्या गर्दै ठट्यौलीमा डेफो, डेफो भन्दै बोलाउँदा नामै डेफो बसेको, डेफो दाइ बताउँछन् । यता सिक्किम तथा पहाडी भेकमा भरियाका धेरै डाक्ने नाम हुन्छन् ।

भरिया, पहाडे, कान्छा, ढाकरे, दाइ बाहेक पनि शरीरका बनावट अनुसार पनि बोलाइन्छ; लम्बा, लम्बु,  मोटे, गान्टे, टाउके, गोफ्ले, सेते; सुविधाअनुसार विभिन्न नामले बोलाइन्छ । गाउँमा पुग्दा कहिलेकाहीँ आफ्नै नाम नौलो लाग्दो हो । कसैले आफ्नो  खास नाम काढेर बोलाउँदा कहिलेकाहीँ झस्कँदो हो । बाध्यता, कहिले वर्ष दिनमा, कहिले कैयौँ वर्षपछि आफ्नै गाउँमा नौलो भएर जान पर्दा बाल्यकालको साथी सङ्गी, टार र ढिस्कना नभेटेपछि मन खिन्न हुँदो हो।

यता ग्याँस बुक, दोकानको खाता जिम्मा लिएर घर घरमा रासन पुर्‍याउने । कतै हिसाबकिताब नै जिम्मा लिएर सौदापात, खाँचो परेका सबै सामान आादिका खरिद गरी घर पुर्‍याउने कामकाजका कारण ठुला बडाका पत्यार भएका छन्, डेफो दाइ।

भाषा मेल खाएकाले परिवार भुली पठाइँदो हो कहिलेकाहीँ त ।

डेफो दाइसित गाउँले सहकर्मीहरू फुर्सदमा गफ्फिन्छन्, तँछाडमछाड  गर्दै आ-आफ्ना  गाथा सुनाउँछन्, “पैला सुरुमा फलाना अफिस बन्दा हामीले ढलाइँ गरेका हौँ । ऊ त्यो अफिसको काम गर्दा बालुवागिटी नाम्लोले बोकेरै ओसारेका हौँ । फलानो-फलानो साहबहरूका बिल्डिङ पहिले बनेको हो, फलानाको ढलाइँ गर्दा यिनी खुट्टा जिप्टेर लढेर थला परेका हुन् । अहिले त कत्ति हो कत्ति ,कत्रा,कत्रा बिल्डिङहरू बनिसके तर अचेल धेरथोर टाउकामा भारी बोक्नेहरू नै सस्ता भन्छन् । हामीलाई हत्तार परेमात्र बोलाउँछन् । हामीचाहिँ गुरुप्पै रातोरात भएपनि काम ठामठिम पारेर मोठ पैसा मागेर हिँडछौं, उनेरू कुटुकुटु लामो काम गरिबस्छन्, ढिलो गरेर। अर्कातिर पनि काम मिलाएर सरी पो हाल्छन् त ! हामीलाई त्यस्ता बुद्धि आउँदैन, ठग्नु पनि जानिएन ।

अचेल त मधेसबाट थुप्रै भरियाहरू आका छन् तर नाम्लो लाएर बोक्नुचाँहि जान्दैनन् । भाषा मिल्दो हो महाजनहरू उनेरूलाई नै पसलतिर राख्तैछन् अचेल त । उही हामी त ग्याँस सिलिन्डर, सानो सानो भारी, चामल, रासन बोक्यो, कहिलेकाहीँ गिटी, बालुवा, ढलाइँ; त्यति नै हो जोरथाङ, मगन, सिमताम, रम्फु तिर त अचेल । हाम्रा कोही छैनन्, गर्मी पनि मधेसकै हुन्छ । गाउँबस्ती हुँदै जाँऊ त पैसो देख्नु त होइन हाम्रै गाउँ ठाउँ जस्तो लाग्छ, खाइन्छ, पिइन्छ झ्याम्मिएर त हात लाग्यो सुन्ना । फेरि अहिले मान्छे साह्रै अल्छी , गाईवस्तु, खेतीपाती गर्नु त बोलाँउछन् नि पैसा दिनहुँ देख्न पाइने होइन, जाबो खेतीपाती र वुस्तुभाउ नै गर्नु हो भने त आफ्नै गाउँमा मनग्गे हुन्छ बिदेसिने अर्थ नै भएन । परिवारै लिएर यतै बसाइँ सर्नु मिल्दैन उता ह्वाङ्ङै हुन्छ । मधेसी भरियाहरूको जस्तो बर्सेनि नानी जन्माउनु सन्तान फैलाउनु हो भने त अस्पतालहरू पनि राम्रा राम्रा छन् नि । हन यताको हाम्रा मान्छे अल्छी भएको देख्ता त…थुप्रै नानी जन्माए र भरिया नै गरे पनि कामको दुःखचाहिँ नहुने रछ जस्तो लाग्छ नि । अमेरिका कता कता गाका हाम्रा साथीहरू कुरा गर्छन् नि मेहनत र मजदुरी पनि आफैँ गर्छन् अरे।”

डेफो दाइको मोबाइल बज्छ।

हुन्छ हजुर भन्दै उठेर जान खोज्दै भन्छन्, “यो ठाँडो पनि घाँडो लाग्छ कहिलेकाहीँ त, सुरु सुरुमा सबैलाई नम्बर दिने भएँ पागल बनाएर छोड्यो । आफू देउराली होइन्छ  चानबारीबाट डब्लुमेन भारी पुऱ्याउनु भन्छ, फोनबाट काम अह्राउनु मात्रै सजिलो । भारी बोक्नु  कि कुद्नु हुन्छ हामीलाई चाहिँ।”

डेफो दाइ उर्फ बलराम दाइ गान्धीजीको चित्र भएको रङ्गी-बिरङ्गी कागजका टुक्रा राम्ररी चिन्दछन्, जतिसुकै खल्तीमा परोस् फुर्सदमा राम्ररी मिलाएर रबरब्यान्डले बेरेर भित्री गोजीमा लगाउँछन् । उनलाई पक्का विश्वास छ एकदिन यो रुपियाँ गाउँ लगेर जाँदा डलर जत्तिकै महँगो हुनेछ । त्यस्तै महँगो लोभले  चिनाजानीलाई सुदमा पनि कहिलेकाहीँ रुपियाँ रोपानी गर्छन् । सब्सिडीको ग्याँस बुकबाट चियापानीको खर्च निकाल्न सानो परिवार र सिलिन्डर थुप्रै भएका घरहरू पनि खोजी  निकाल्छन् ।

डेफो दाइलाई कहिलेकाहीँ थकान ज्यादै हुदाँ निद्रा ढिलो लाग्ने कारण भने पत्तो  लागेन बरु सोचाइ बढी आउने र अब बुढा भएछु भन्ने डरले सताउने कुरा  गर्छन् । सिक्किममा बसाइ मन नेपालमा, उता पनि राजा मासियो यता पनि । फरक फरक देश भए पनि भाषा मिल्ने, रङ्गरूप र रगत मिल्ने । हाम्रो देशको हालत सुध्रिनु समय लाग्ने रहेछ । यता हेर्दाहेर्दै झलमल्ल, सबै सुखी । हाम्रो  देश भुईंचालापछि अलि विकासतिर जाँदैछ भन्छन् । बिदेसिएकाहरू एक एकवटा सिप लिएर आफ्नै गाउँ फर्केर आउँदैछन् अरे, भन्छन् । मेरो पनि अब नाना-नानी हुर्के । जान त पर्ने नै हो, यताको माया मोहले मेरो संसार थाम्दैन होला । काकाको छोरोले इज्रायलबाट खेतीकमाइको सिप सिकेर ल्याएजस्तो एउटो भए पनि केही न केही त सिप लिएर जान पर्ला । अर्गानिक भन्ने त हामीले उहिले गरेजस्तो लाग्छ ।

डेफो दाइलाई सोचेर ल्याउँदा पनि विश्वास लाग्दैन उनको आँखाले  देख्दादेख्दै सिक्किममा सहरहरू बनिए । पछि सहरी विकास विभागले पहिचानस्वरूप नम्बर वितरण गरे र उनी पनि हकदार भए ।

डेफो दाइले अब चाँडै आफ्नो गाउँ फर्कने मन बनाएका छन् ।

अब फर्कदाँ के चाहिँ लैजानु ? आफ्नै मनभित्र उप्जेको प्रश्नको जवाफमा आफैँ  मन मनै भन्छन् यो बुढा शरीर, मनभरि सिक्किमको विकासको कथा अनि सहरी विकास विभागले दिएको यो  छातीमा टाँसिएको पित्तलमा छापिएको  यो पुरानो नम्बर ।

हिजाज डेफो दाइको साथीहरू माझमा डेफो दाइमात्र देखिन्नन् ।