साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कथाः सोच आफ्नो आफ्नो

सबिता शर्मा (पश्चिम सिक्किम)

एकादेशमा एउटा सानो गाउँ थियो, जहाँ कुनै धर्मस्थल थिएन । न चरा चुरुङ्गीको चरचराहट न पशुहरूको चहलपहल । प्राकृतिक सौन्दर्यमा कतै न कतै सुनसानपन । त्यस गाउँका मान्छेहरू प्रायः प्रायः अद्भुत निर्दयी थिए । त्यो गाउँमा दुष्कर्मको प्रभाव बेसी थियो । एक दुईजना बुद्धिमान् व्यक्तिहरू पनि त्रास त्रासमा जीवन व्यतित गर्दै आएका थिए । त्यस गाउँको अलिक पर एउटा सानो खोला थियो । त्यो खोलाको किनारमा एउटा ठुलो बरको रुख थियो ।

बिहानको समय त्यो गाउँको बुढो उमेरको ब्राह्मण सधैँ नुहाउन  खोला जाने गर्थ्यो । गाउँका अरू मान्छेहरू उठ्नुभन्दा पहिला नुहाइ-धुवाइ गरेर खोलाको किनारमा बसी ईश्वरको ध्यान गर्ने गर्थ्यो । सधैँको नियमअनुसार नुहाउन जाँदै गर्दा उसले बरको रूखको छायामा गेरुवा वस्त्र धारण गरेको एउटा बुढो साधुलाई देख्यो । आँखा मिची मिची धेरैचोटि हेर्दा पनि साधुलाई नै देख्यो । ‘अरे आज यो गाउँमा साधुको आगमन कसरी भयो’? मनमनै प्रश्न गर्छ । जुन गाउँमा कुनै पशु पक्षीहरू चहलपहल देखिएको छैन, आजसम्म । आज यस्तो अपवित्र गाउँमा साधु बाबा ? आत्तिदै दगुरेर साधु बाबाको नजिक पुगेर चरणस्पर्श गर्छ । अनि सोध्छ—“बाबा कहाँबाट आउनुभयो? को हुनुहुन्छ? हजुरको परिचय”?

साधु बाबा—“साधुको कुनै न घर हुन्छ, न ठेगाना न परिवार । यो प्रकृति नै मेरो घर परिवार ।”

ब्राह्मण—“आज मलाई हजुरको सेवा गर्ने मौका दिनुहोस् । घरमा मेरी पत्नी खाना बनाउँदैछन् । हजुरले आज मेरो घरमा खाना खानैपर्छ”- भन्दै दुई हात जोडी बिन्ती गर्छ ।

साधु बाबाले पनि उसको निमन्त्रणालाई स्वीकार गरी ब्राह्मणको पछि पछि उसको घरतर्फ लाग्छन् । घर पुगेर बाहिरबाट ब्राह्मणले आफ्नी पत्नीलाई आवाज दिन्छ । ब्राह्मणी लोटामा पानी लिएर बाहिर निस्किन्छन् । साधु बाबाको खुट्टामा पानी हाल्छिन्, ब्राह्मणले चाँहि हातले खुट्टा धोइदिन्छ र दुवैले प्रणाम गरी बस्ने आसन दिन्छन् ।

ब्राह्मणीले आफ्नु गच्छेअनुसार पकाएको खाना थालमा सजाएर पहिला साधु बाबालाई खुवाउँछिन् अनि आफ्ना पतिलाई । खाना पिनाको कार्यक्रम सकिएपछि, ब्राह्मणले साधु बाबालाई भन्छन् । बाबा- हजुरको अरू म के सेवा गर्नसक्छु? आदेश गरी बक्सियोस् ।

साधु बाबा – “ठिक छ ब्राह्मण । यो गाउँमा जति घर छन्, ती घरैपिच्छेका एक-एक सदस्यलाई त्यो खोलाको बरको रुखको फेदमा भेला हुनु भन्नू । म त्यही बसिरहन्छु । त्यति भनेर साधु बाबा त्यही बरको रुख भएतर्फ लाग्छन् । एक दुई गर्दै सबै भेला भए । बाबाले सबैलाई बरको रुखको छायामा बस्ने आदेश दिन्छन् । गाउँले सबै एकाअर्कामा कानेखुसी गर्दै सबै छाया बसे । साधु बाबा—- “मैले तिमीहरूलाई एउटा ठुलो उद्देश्य लिएर यहाँ बोलाएको हुँ । म एउटा कथा सुनाउँछु ध्यान दिएर सबैले सुन । जबसम्म म कथा भनी सक्दिनँ, तबसम्म कसैले एक शब्द पनि नबोल्नू । साधु बाबाले कथा भन्न सुरू गरे । कोही निन्द्रामा घुर्न थाले, कोही छट्पटाउन त कसैले ध्यानपूर्वक सुने ।

कथा समाप्त भइसकेपछि साधु बाबाले सबैलाई प्रश्न गरे । “लु, सबैले एक एक गर्दै यो कथाबाट के ज्ञान पायौ ? मलाई भन” । गाउँलेहरू कोही रिसले तिल्मिलाउँदै साधु बाबालाई गाली गर्दै घरतर्फ लागे । निदाउनेले कथा सुनेनन्, अकमक्क परे । कसैले सुनेर पनि कथाको अर्थ बुझेनन् । कसैले के भने कसैले के । सटिक उत्तर ती ब्राह्मणले मात्र दिए । साधु बाबा प्रसन्न भएर ब्राह्मणलाई भने । “हे ब्राह्मण यो जगत्लाई सन्तुलनमा राख्न पाप, धर्म, धनी, गरीब, पशु, पक्षी भएमात्र प्रकृतिको सौन्दर्य सन्तुलित रहन्छ । यसैले यो गाउँमा कुनै कुराको सन्तुलन देखिएन । कुकर्मको फल बेसी पाकेको अनुभव गरेँ मैले । यसैले तिमीहरूजस्तो ज्ञानी मान्छे डरले काँप्तै घरभित्र बस्ने होइन कि यो गाउँ समाजको सुधारका लागि अघि बढ । त्यो बरको रूखको फेदमा एउटा सानु मन्दिर बनाऊ । मान्छेलाई ज्ञान र धर्मको मार्ग दर्शन गराऊ । साना साना बालबच्चालाई एकत्र गरेर शिक्षा देऊ । केही असुविधा भए मलाई याद गर्नू । म आउनेछु” भन्दै साधु बाबा त्यहाँबाट लुप्त भए ।

ब्राह्मणको होस् उड्यो । आज मैले साधुको रूपमा स्वयं श्री हरि विष्णुको दर्शन पाएँछु । मनमनै गद्गद हुँदै घरमा पुगेर सबै कथा आफ्नी पत्नीलाई सुनाए । ब्राह्मणले साधु बाबाको आज्ञा पालन गरेर बाबाले अह्राएका कार्य सुरू गर्न थाल्यो । बिच-बिचमा धेरै अड्कन आए तरै पनि ब्राह्मणले धैर्यपूर्वक काम गरी नै रह्यो । बिस्तर-बिस्तार गाउँमा धेरै सुधार देखिन थाल्यो । पशु पक्षीको पनि चहलपहल हुन थाल्यो । बाल बच्चाहरूले ब्राह्मणद्वारा दिएका शिक्षालाई सदुपयोग गर्न थाले । कोही पनि मनुष्य कुरूप हुँदैन । कुरूप त खाली मनको भावना र बिचारमात्र हुन्छ । जन्मेर पृथिवीको काखमा लड्दा न उसको कुनै धर्म हुन्छ,  न जात  न कुरूप हुन्छ । कथाको अर्थ पनि यस्तै हुन्छ । सबैले आफ्नो आफ्नो सोच र ज्ञानअनुसार अर्थ लगाउँछन् । कसैले राम्रो कसैले नराम्रो । कसैलाई यही कथा अमृततुल्य हुन्छ कसैलाई सर्पको विषसमान । सबैको एकनासले कथामा दिएको उपदेश सोचेर कथाको सही अर्थको निष्कर्षमा पुग्ने प्रवृत्ति सबैमा हुँदैन । कुनै पनि कथा कहानीमा ज्ञान र उपदेश लुकेकै हुन्छ तर कथाको अर्थ लगाउन थोरै ज्ञान र शुद्ध भावनाको आवश्यकता अवश्य पर्छ ।

प्रतिक्रिया
Loading...