साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
FIRST ANNIVERSARY

कथा- एउटो मजदुर

मलाई निन्द्रै लाग्दैन। म पूर्व फर्कन्छु, म पश्चिम फर्कन्छु, म छट्पटाउँछु। एकफेर अर्धनिद्रामा झिमिक्क गर्छु र रात सकिन्छ। म जब मेरो
व्यथा सुनाउँछु मानिसहरू भन्छन् – दिनभरि थाक्ने गरी काम गऱ्यो भने मिठो निद्रा पर्छ ।
म लखतरान छु । म कसम खान्छु मेरो जिउ करकरी खानेगरी थाकेको छ । त्यसैले दुनियाँका कुरा सुन्नुभन्दा बरु आजकल मलाई
दुई गिँलास रक्सीमा झम्म हुनु ठिक लाग्छ । तीन गिलास पुऱ्यायो भने मिठो निद्रा पर्छ।
“… तपाईँ सबैको सास एकै भन्नुहुन्छ, मरेपछिका लाससमेत एकै छैनन् हाम्रो देशमा…!” – पल्लो टेबुलमा आदर्श र दर्शनले स्थान

prakash giri

जमाइरहेको छ।
देशप्रेम अक्सर भट्टीमा नै भेटिन्छ।
तीन गिँलास अमिलो निगारले झम्म हानेपछि साहुनीको टम्म शरीरमा आँखा पर्दा मैलेपनि प्रेम देखेँ तर गरीबको प्रेम उनिहरूको
रक्सीजस्तै अमिलो हुन्छ ! आजलाई मन निचोर्न रक्सी मिलिसक्यो !!
मलाई राम्रोसँग थाहा छ पल्लो टेबुलका दार्शनिकहरू केही बेरमा लर्खराउँदै घर जानेछन् र भोली मजस्तै मजदुरी गर्न पुग्नेछन् । भोलि
साँझ दुई गिलास तीनपाने ननिखारेसम्म फेरि देश र दर्शनका कुरा गर्नेछैनन् उनीहरू! उनीहरू पनि मजस्तै भुईँमान्छे हुँन्। भुईँमान्छेका
बिचारले यँहा केही फरक पार्दैन, फरक पार्न सक्नेहरूले बिचार गर्दैनन् । नत्र हामीले चिलगाडीको समयमा समेत त्रिशूलीमा डुबुल्की
मारेर बालुवा निकाल्नु पर्दैनथ्यो, नत्र मौसुफका जुत्ताले टेक्ने कार्पेट बुन्दा हाम्रा दिदीबहिनीका हात छिया-छिया हुँदैनथे, नत्र हाम्रा
दाजुभाइले दुई छाकका लागि ज्यानको बाजी लगाउनुपर्ने थिएन, नत्र… – छिः! फेरि मभित्रको भुईँमान्छे बेकारमा बर्बराएछ !!
भट्टीमा संसारका कथा भेटिन्छन् । मैले त्यो सिपाहीलाई भेटेको थिएँ जसले युद्धमैदानमा घाइते शत्रुलाई पानी पिलाएको थियो, पछि सरकारले उसलाई शुली चढाएको थियो । मैले त्यो फौजीलाई पनि भेटको थिएँ जसले आफ्नै साथीको हत्या गरेर दोष शत्रुलाई थुपारेको थियो ।

सरकारले उसलाई तक्मा भिराएको थियो! उनीहरूका कथा सुनिरहँदा भट्टीमा एउटा मजदुर पनि थियो जसले प्रश्न गरेको थियो – “युद्ध किन गरेका थियौ?”, सरकारले उसको जिब्रो थुतेको थियो! भट्टीले नसुनेका कथा र व्यथा बिरलै होलान् यो
संसारमा । तर अफसोच आजकलका नेता, कर्मचारी र भिआइपीका नयाँ कथा भने भट्टीमा आउँदैनन्, रिसोर्टमा भुईँमान्छे धाँउदैनन्।

भट्टीले आजकल केवल मजदुरका कथा सुन्छ । ती सबै कथा पुरानै छन्, ती सबै संसार पुरानै छन् । नयाँ बेल्चाले बालुवा भर्दैमा कथा नयाँ हुदैँन । हो, त्यही कारण आजकल मैले फौजीका कथा देख्दिनँ र मजदुरका व्यथा लेख्दिनँ । म त आजकल केबल त्रिशूलीको चीसो
पानीमा डुबुल्की मारेर बालुवा निकाल्नेबेला एउटा हात समातेर न्यानो अडेस दिने सान्नानीलाई देख्छु, अनि दुनियाँले ङिच्च मुख खुम्च्याएर हेर्नेबेला झुत्रोमैलो देखे पनि हाँसेर निगारको मग टकार्ने साहुनीका कथा लेख्छु । म कुनै दिन त्रिशूलीको भेलमा डुबुल्की मार्दा उत्रनै सकिनँ भने दुई थोपा आँसु झार्ने त्यही सान्नानी त हो; अनि कहाँ गएछ भनेर बाहिर फेरि आँखा डुलाउने त्यही साहुनी न हो !
नारायणी किनारमा मेरो गन्हाएको लास छेउ उभिएर मेरा नेता नयाँ तरिकाले पुरानै भाषा बोल्नेछन् – “मजदुरको बलिदान खेर जाने छैन। हामी लड्नेछौँ समानताका लागि…”
मेरै सान्नानी, मेरै सहपाठी, मेरै साहुनीहरूले फेरि सुन्नेछन् ती रगत उम्लने भाषणहरू र पछि लाग्नेछन् मजदुरका कथा देखाएर मालिक हुनेहरूको; गरीबका व्यथा देखाएर धनी हुनेहरूको; र निरिह व्यक्तिहरूका मुद्दा देखाएर शक्तिशाली बन्नेहरूको!
सबै कथा पुरानै हुन्, उही बासी रक्सीजस्तै अमिला!!

प्रतिक्रिया
Loading...