‘आमा मिठाई !’
छोराले उठ्ने वित्तिकै आँगन वढारीरहेकी आमासँग मिठाई माग्यो ।
न मिठाई किन्ने दुकान हुनु । न आमासँग मिठाई किनिदने इच्छा । न त मिठाई किन्ने पैसा नै ।
मनमा अनेक कुरा खेलाउँदै एकतमासले आँगन वढारीरहेकी आमाको मन एक्कासि राँकोले झोँसे झैँ भयो ।
गालामा एक थप्पड हानिहालिन् ।
छोरा आँसु निकालेर ह्वाँह्वाँ रोयो ।
आमा आँसु ननिकालेरै रोइन् ।
हुन त आज मात्रै थिएन छोराले मिठाई मागेको । र थिएन आज मात्रै झापड खाएको ।
मिठाइ मागीरहनु र पिटाइ खाइरहनु । यो त नियमित प्रकृया जस्तै भैसकेको थियो ।
पूर्वबाट घाम आइसकेको थियो । भित्र भान्सामा भात पाकिसकेको थियो । पिँडालु र काभ्रोको तरकारीको वाफ उठ्दै थियो ।
आमाले आँगन बढार्न भ्याइन् र भित्र छिरिन् । दुइटा थाल निकालिन् र अम्खोराको पानीले पखालिन् ।
‘भात खान आइज मुड्डार राक्षेस !’ आमा फेरि भित्र पसिन् ।
छोरा चाही सुँकसुँकाउदै थियो, आमाको डरले सिँगान भित्तामा पुछेर भित्र गयो ।
उनीहरुले केही नवोली कपाकप भात खाए । खानेवित्तिकै आमा चाँहि हसिँया नाम्लो बोकेर माहारा लागिन् । छोरा चाँहि कुखुरा हेर्न घरै बस्यो ।

साँझपख आमा माहाराबाट फर्किदा छोरा आमालाई घर वल्तिर बाटोमै कुरेर बसेको रहेछ ।
आमालाई कुखुरा नहेरी हिँडेकोमा रिस उठ्यो र गाली पनि गरीहालिन्, ‘तँलाई घर नछोड् भनेको हैन ? बनविरालोले भाले लयो भने खत्तम हुन्न ? झन् त्यही बेचेर बैसाखमा तँलाई स्कुल जाने कपडा किन्दिने भनेको ।’
छोरा केही बोलेन । आमाको पछिपछि हिँड्यो ।
घर पुग्नेबेलामा छोराले भन्यो, ‘आमा !’
‘के ? भन् ।’
‘घरमा त पाहुना आएको छ । कोहो कोहो मैले त चिनेन ।’ छोराले डराउँदै भन्यो ।
आमाले छोराको आँखामा हेरिन् । छोराले पनि आमाको आँखामा हे¥यो ।
को आएछ ? आमाले मनमा कुरा गुन्न थालिन् । आउन सक्ने सम्भावित पाहुना या आफन्तहरु सम्झिन खोजिन् । तर नहेरी नदेखी चिन्ने जान्ने कुरो थिएन ।
‘कस्तो छ ?’ आमाले सोधिन् ।
‘मोटो छ । झोला पनि ल्याएको छ ।’ छोराले भन्यो ।
‘तँलाई के भन्यो ?’
‘त्यो मान्छे आउँदा म बारीमा थिएँ । त्यो मान्छे सरासर हाम्रो घरमा आयो । दुइटा ठूल्ठूला झोला पनि लिएर आएको थियो । अनि यताउती हे¥यो । देख्छ कि भनेर म त खनियाको बोट पछाडि लुकेर हेरेँ । त्यो मान्छे त सिधै हाम्रो घरभित्र छि¥यो । मलाई त कस्तो डर लाग्यो । अनि सिधै यता आएर बसेको ।’ छोराले सास नरोकी भन्यो ।
यति भनिसक्दा उनीहरु घर आइपुगिसकेका थिए । आमा गाइगोरु बाँध्न गोठतिर लागिन् । छोरा पनि आमाको पछिपछि लाग्यो । घर पस्ने आँट गरेन ।
गाई बाँधिरहँदा आमाले को होला ? किन आको होला भनेर मनमा कुरा खेलाइरहिन् । तर फेरि पनि यो होला भनेर अनुमान समेत गर्न सकिनन् ।
छोरा डरले गोठमै बस्यो । आमा आँगनमा गइन् र हात धोइन् । ढोका खुल्लै थियो । उनी डराउँदै भित्र पसिन् ।
भित्र जाँदा खाटमा एकजना मान्छे कुनातिर पसेर मस्त सुतिरहेका थिए । छोराले भनेका दुइटा ठूला झोलाहरु भने थिएन ।
आमाले पनि पछाडि बाट चिन्ने कुरै भएन । तर कता–कता देखे–देखे जस्तो भने लाग्यो । पछाडिबाट हेर्दा यस्तै जीऊ भएको मान्छे चिनेचिने जस्तो भने लाग्यो । तर ठ्याम्मै यही हो भन्ने भने भएन ।
घाँटी सफा गरिन् र आँट निकालेर भनिन्, ‘को हो तपाइँ ?’
सुत्ने मान्छेले केही प्रतिक्रिया जनाएनन् । सायद निद्रामा भएकाले थाहा पनि पाएनन् ।
‘को हो भनेको तपाइँ ? उठ्नुस् ।’ यतिखेर अलि ठुलो स्वर पारेर बोलिन् ।
ती मान्छे चलमलाए । यता उनी आफै पनि के गरम् कसो गरम् भइन् ।
ती मान्छे विस्तारै उत्तानो भए । र उठे ।
उनी छाँगाबाट खसे झैँ भइन् । केही भन्न सकिनन् । एकछिन् सम्म अवाक् भइन् ।
‘माहाराबाट आइस् ?’ ती मान्छेले सोधे । फेरि थपे, ‘थकाई लाग्याथ्यो, कस्तो झ्याप्प निद लागेछ ।’
खाटमुनी बाट झोला निकाले र मिठाइको पोका निकालीदिए ।

आमा बाहिर निस्किइन् । गोठतिर गइन् र छोरालाई सानो स्वरमा बोलाइन्, ‘यता आइज ।’
छोरा आमा नजिकै आयो । र आमाको गुन्यू समात्न थाल्यो ।
‘हाम्रो घर आएको मान्छे पाहुना हैन ।’ आमाले भनिन् ।
छोराले शिर ठाडो गरेर आमाको अनुहारमा हे¥यो ।
आमाले थपिन्, ‘तिम्रो बा हो ।’
छोरा ट्वाँ प¥यो । कहिल्यै देखेको भए पो, को बा को पाहुना छुट्याउनु । ऊ आफू जन्मिएको चार वर्ष पुग्दा सम्म पनि बा कहिल्यै घरमा थिएनन् ।
‘बालाई ढोग् है । तँलाई मिठाइ ल्याइदिनुभएको छ ।’ आमाले छोरालाई भित्र लैजाँदै भनिन् ।

पोहोर साल मामा पाहुना भएर आउँदा सानो भाले काटेर मासु पकाएकी थिइन् आमाले ।
छोराले सोधेको थियो, ‘भाले किन काटेको आमा ?’
आमाले जवाफ दिएकी थिइन्, ‘हामी घरको मान्छेले त जे खाए पनि हुन्छ । पाहुना त एकदुई दिनलाई आउने हो । मिठो मिठो खानेकुरा खान दिनुपर्छ के ।’
आज बा पाहुना भएर आउँदा पनि, त्यो बेचेर स्कूलमा लाउने कपडा किन्ने भनेको चाँहि भालेको मासु पाक्यो ।
उसले त्यही पोहोर सालको कुरा सम्झ्यो ।
हुन त बाले मिठाईको पोका र एक जोर लुगा पनि ल्याइदिएका थिए ।
साँझ आमाले खाटको दरी फेरिन् । र बालाई खाटमा सुत्न लगाई आफू छोरा सँग भुइमा गुन्द्रीमा सुतिन् ।

मध्यरातमा छोरा बिउँझियो । पिसाबले सारै च्यापेको रहेछ । एक्लै बाहिर जान सक्ने कुरो भएन । आमाई खोज्यो । आमा रहिनछिन् ।
आमाबा माथि खाटमा खासखुस बोलेको सुन्यो ।
उसलाई बासँग डर लाग्यो । आमाले यसरी छाडेर बासँग सुत्न गएकोमा रिस पनि उठ्यो ।
विचरा ऊ । बासँग झ्याम्मिएको भए, आमाबाको विचमा लुसुक्क सुत्न जान्थ्यो होला । किन एक्लै चिसो भुइँमा सुत्दो हो !
यता छोरा पिसाव च्यापेर बसीरह्यो ।
उता आमाबाको खास्खुस् चलिरह्यो ।
‘छोराले सधैँ मिठाई भनेर हैरान पार्छ ।’
‘एक पोका ल्याइदेको छु त । एक महिनालाई पुग्छ ।’
‘एक महिनालई पुगेर हुन्छ र ? यहाँ मेरो दिनदिनै ज्यान खान्छ ।’ आमाले सुँक्सँुकाउँदै भनिन् ।
‘पीर नगर् । म फेरि गएर ल्याउँछु ।’ बाले भने ।
अबभने छोरालाई पक्का भयो, बा त साँच्चै पाहुना रहेछन् ।
‘नयाँ मान्छे, पाहुनासँग धेरै बोल्न हुन्न ।’ आमाले घरमा पाहुनाहरु आउँदा भनेको सम्झ्यो ।
त्यसैले ऊ बासँग राम्रोसँग बोल्दा पनि बोलेन । खेल्दा पनि खेलेन ।

र अन्त्यमा,
महिना दिन वितेको थियो होला ।
मिठाइको पोकाबाट अन्तिम मिठाई निकालेर मूखमा हाल्दै छोरा बाहिर निस्कियो । ठिक त्यसैबेला आकाशमा हैजाहाज हुँ… गर्दै आयो र गयो ।
छोरा, मिठाइ खाँदै हैजाहाज आयो, हैजाहाज आयो भनेर उफ्रिँदै नाच्यो ।