आज राति निद्रा परेन । कोल्टो फेरेँ, फेरि कोल्टो फेरेँ । निकै पटक । अनि झपक्क निदाएछु । त्यसपछि म एउटा अग्लो घरभित्र छिरेँ । कोठै कोठाको घरमा बत्तीले पूरै घर उज्यालो थियो । त्यो जग्मगाएको दृश्यले मेरा दुवै आँखा पोतिन पुगे । उज्यालोले म अन्धी भएँ । अरू उज्यालोले देख्छन् । म उज्यालोले सम्म भएँ, निष्पट्ट भएँ । हिँड्दै गर्दा अन्धकार भएर म थेचारिएँ नराम्ररी । र, ब्युझिएँ ।
धत्, कस्तो सपना देखेकी मैले ! उज्यालोले जीवनको अन्धकार भित्र्याउँदै थियो । उज्यालो पनि कसरी दुस्मन बनेको? यस्तो सपना त मैले तीन वर्षअघि देखेकी थिएँ ।
उसबेला मैले मेरी आमा गुमाएकी थिएँ ।
०००
बास्कोटा धनञ्जय
आज तीन दिन भयो, गाउँका सारा मान्छे जुटेका । लाग्थ्यो तिनले कुनै ठूलो परिवर्तन ल्याउँदै छन् । गाउँले कहिल्यै नपाएको चिज पाउँदै छ । हेर्छु, सबैका मुहारमा मुस्कान छ । आवेग छ । तिनले रङ्गीन स्टेजहरू बनाए । सजाए, बिभिन्न पुलहरूले । रङ्गहरूले अनि भावनाहरूले ।
त्यो दाम्रेबारीमा मान्छे बिरामी हुँदा स्टेचरमा बोकेर हस्पिटल लान्छन् । बल्ल एउटा कच्ची बाटो भीर खोपेर बनेको छ, छ महिना वर्षायाममा पूरै बन्द हुन्छ । राजनीतिक आन्दोलनले सबै कुरा दिन्छ भन्थे । दशवर्ष बितिसक्दा चुच्चे ढुङ्गो उही टुङ्गो छ । यसपाली जिविसको पहलमा एउटा स्वास्थ्य चौकी बनाउने मौका मिल्यो ।
जनता लागे, के रे ‘आफ्नो गाउँ आफैँ बनाऔँ ।’ पाँच वर्षअघि सरकारले ल्याएको नारा रे ।
म पनि तल खोलाबाट बालुवा बोक्ने जनश्रमदानमा दुई दिन परेँ । गह्रौँ भारी बोकेकाले अझै ढाड दुख्दै छ । सबैले श्रमदान गरे । गाविस अध्यक्ष भन्छन्, ‘बजेट थोरैमात्र आयो’ । थोरै कति हो, केहीबाहेक कसैलाई थाहा छैन ।
हल्ला ठूलै भएर यो स्वास्थ्य चौकी बन्यो । सबैका स्वास्थ्य जीवनका सपनाहरू हावामा बेलुनझैँ उडिरहेका थिए त्यस बिहानसम्म र आज त्यसको उद्घाटन हुँदैछ । स्कुलका केटाकेटीहरूलाई फूल लिएर पङ्क्तिबद्ध भएर तातो घाममा उभ्याएको दुई घण्टा भयो ।
‘मिस, मन्त्री केमा आउनुहुन्छ ? हेलिकप्टरमा ?’
‘गाडीमा,’ मैले नानीहरूलाई शान्त पारेँ ।
‘मज्जा आउने भो । म पनि गाडी चढ्ने नि मिस ।’
‘परैबाट हेरौला ।’
‘छुन हुन्छ कि हुँदैन गाडी, मिस ? म पनि भोलिपर्सि मन्त्री भएर गाडी किन्छु र सबैलाई छुन दिन्छु ।’
‘उफ्…….. !!’ यिनका कल्पनाले मलाई फेरि सतायो ।
०००
तर यो गाउँको स्वास्थ्य चौकी हो, अस्पताल होइन ।
नवनिर्मित स्वास्थ्य चौकीको उद्घाटन स्वास्थ्य मन्त्रीबाट गराउने तादात्म्य मिलाएका रहेछन् स्थानीय नेताहरूले । मन्त्री आउने भनेपछि सबैको मन उडेको थियो । तैरिएको थियो । यसरी धुमधामसँग मान्छे बटुलेर ल्याइयो कार्यक्रम सफल पार्न । खोला तरेर आए मान्छे । जङ्गल काटेर आए मान्छे । बूढाबूढी आए । युवाजोडी आए । अशक्त आए । केटाकेटी आए । कोही भोकै आए । कोही भात खाएर आए । बिहानैदेखि माइक बजाएर केटाकेटी झुम्मिए ।
‘आज धेरै समयपछि गाउँमा बाजा बजेको छ, गीत गुन्जेको छ,’ मैले पनि उन्मादको महसुस गरेँ ।
अतिथि आए तामझामका साथ । उनी फिदिमसम्म आफ्नै गाडीमा आए । त्यसपछि उनका कार्यकर्ताले उनलाई पिकअपमा चढाएर ल्याएका थिए । उनी मोरङका नेता भएकाले पहाडमा हिँड्ने अभ्यास थिएन रहेछ । उनी आउँदा गाउँका मान्छे उत्तेजनाले जगमगाएर फूलका मालाले उनलाई पुरिदिए । मालाले उनको गर्धन पुरिएको थियो । कानसम्म माला लगाएर उनको देवत्वकरण गराउँदै थिए । स्वास्थ्य मन्त्रीको आगमनलाई मैले पनि ठूलो प्रतीक्षाका साथ हेरेकी थिएँ ।
किनभने उद्घोषक कराउँदै थिए, ‘माननीय स्वास्थ्य मन्त्री दामोदर भण्डारीको आगमन भइसकेको छ । कृपया लाइनमा उभिदिनुहोला ।’
ती मन्त्रीको नाम मसँग क्याम्पसमा पढ्ने दामोदरसँग मिल्यो । मैले सम्झेँ, मसँग पढ्ने साथी त पक्कै होइनन् । यी अर्कै दामोदर हुनुपर्छ ।
मन्त्री आएर स्टेजमा बसे । मैले उनको अनुहारलाई राम्ररी देख्न सफल भएँ । उनी मसँगै धनकुटा क्याम्पस पढेको दामोदर रहेछन् । म पानी भएँ । पत्याउनै गाह्रो भयो । मैलाई समयले कोर्रा लगाएको देखेँ । मेरो बोली अवरुद्ध भयो । थुक सुक्यो । तालुमा पसिना आयो । सम्झेँ, मेरो यो सपनाजस्तै भयो जिन्दगी । आफ्नै मन र भावनाको घाँटी दबाएर श्वास फेर्न थालेँ ।
०००
म धनकुटा क्याम्पस पढ्न भनी उसबेला काकासँग गएकी थिएँ त्यहाँ । प्रवेशिका उत्तीर्ण गरेपछि नयाँ उत्तेजनामा म क्याम्पस पढ्न गएकी थिएँ । सपना पूरा गर्ने यात्रा थियो त्यो । भेडेटारको डाँडाबाट मैले मेरो जीवनको क्षितिज हेरकी थिएँ पहिलोपटक । त्यो उचाइँमा मेरो सपनाको विम्ब जग्मगाएको थियो । तमोर तर्दै गर्दा मैले चढाएको एक रुपैयाँको ढक मेरो बाहन थियो भविष्य यात्राको । अनि धनकुटाको रातमाटे डाँडाबाट मेरो सुन्दर भविष्य तैरिरहेको देखेँ मैले ।
काका र म डेरामा सँगै बस्थ्यौँ । काका आर्ट अर्थात् आई. ए. पढ्नुहुन्थ्यो । म एजुकेसन अर्थात् आई. एड्. । म ज्ञान बाँड्न चाहन्थेँ, काका ज्ञान सिर्जना गर्न ।
यही थियो हाम्रो मिसन ।
मेरो क्याम्पसको पहिलो दिन संशय र जिज्ञासाले भरिएको थियो । मैले थुप्रै पात्रहरूसँग साक्षात्कार गर्ने मौका पाएँ । ती पूर्वी नेपालका विभिन्न ठाउँबाट यस्तै सपना सजाएर आएका थिए । हाम्रा सपनालाई पारि सल्लेरीमा सल्लाका पातहरूले सुसाइ स्वागत गर्थे । हामी लठ्ठ
हुन्थ्यौँ ।
सबैका आफ्नै रङ्गीन दुनियाँ थिए । ती भावनाको शब्दमा विनिमय
गर्थे । म पनि त्यो समयको वासन्ती भएँ । पालुवा लागेको बिरुवा भएँ म । म साथीहरूसँग घुलमिल भएर बस्ने गर्थेँ ।
राजनीति निकै तातिन्थ्यो, त्यहाँ । विद्यार्थीमात्रै होइन शिक्षकहरू पनि दलीय हुँदारहेछन् । पहिलोचोटि ज्ञान भयो । ती पनि पार्टीका नेतासरह सपनाका कुरा गर्थे । परिवर्तनका कुरा गर्थे । म ती लयहरूको सपनाभन्दा आफ्नै सपनामा लीन हुन्थेँ । त्यो सपानामा रङ भरिन थाल्यो ।
‘तपाईँ नयाँ सायद…..नाम पाम्न,’ चम्किलो र गोरो अनुहार भएको, मफ्लर भिरेको, पाइन्ट दुला पारेको, सर्टका टाँक ह्वाङ्गै छोडेको, छालाका सेण्डल लगाएको मान्छेले हात पसाऱ्यो ।
म निकै डराएँ । तर ऊ विद्यार्थी रहेछ । के को विद्यार्थी ? ब्याचलर सकेर फेरि अर्को फ्याकल्टीमा एड्मिसन गरेर स्ववियु चुनावमा उम्मेद्वार बन्न पार्टीले पठाएको मान्छे रहेछ ऊ ।
तर उसको अनुहारको लालिमा जग्मगाएको देखेँ मैले ।
पछि थाहा भयो, ऊ मेरो नजरलाई बन्दी बनाइरहन्थ्यो । ऊ थुप्रै ग्याङ लिएर हिँड्थ्यो । उसको नकारात्मकता मलाई सकारात्मकता लाग्यो । धेरैले उसको कुरा काट्थे । मलाई भने नकारात्मक हुन मन लागेन । उसको उमेरले ऊ ‘रफ’ देखिए पनि उसमा क्षमता थियो । नेतृत्व गर्ने क्षमता । यो समयमा यस्ता मान्छेले ठाउँ पाउँछन् ।
मेरा काका जस्ता आदर्शवादीहरू त भविष्यको कुनै कुनामा थुप्रिनेछन् । झाँसीकी रानी पढेकी थिएँ ९ कक्षामा हुँदा । कारण यही थियो दामोदरलाई गाली नगर्ने ।
सबैजना उदेक मान्थे मेरो ‘च्वाइस’ देखेर । यो कसरी सम्भव छ ?
दामोदर होटलमा पसेर कमैमात्र पैसा तिरेर खान्थ्यो । बरु उसैलाई हतारहतार खाने कुरा ल्याएर दिन्थे । ऊसँगै गएका साथीहरूलाई समेत निःशुल्क हुन्थ्यो । पसलेहरूले उसलाई कहिलेकाहीँ उल्टै पैसा दिन्थे । उसले किनेर वा पैसा खर्चेर खासै केही प्राप्त गर्नु पर्दैनथ्यो । बसमा यात्रा गर्दा उसले भाडा तिर्नु पर्दैनथ्यो । एकपटक धरान आउँदा बसको कन्डक्टरले पैसा माग्दै थियो मसँग । मेरो छेउमा बस्ने धरानबाट पढ्न गएको मेरै कक्षाको ख्याउटे साथीले उसका कानमा साउती गरेको देखेँ ।
‘लिनुस् पैसा,’ मैले पर्सबाट बिसको नोट झिकेर ऊतिर हात पसारेँ ।
‘पर्दैन, भैगो ।’
त्यो ख्याउटेले के भन्यो र उसले मागेको भाडा पनि लिएन ? मेरो मनमा संशय रह्यो ।
‘तपाईँले के भन्नुभयो र उनले पैसा मागेर पनि मागेनन् ?’ ख्याउटे साथीलाई हिम्मत लिएर प्रश्न गरेँ ।
‘दामोदरको गर्लफ्रेण्ड हो भन्दिएँ ।’
‘म कसरी उसको र्गलफ्रेण्ड ? म पढ्न आएकी विद्यार्थी !’ मैले नखरा देखाएँ ।
दामोदरलाई कताबाट पैसा आउँथ्यो थाहा छैन । ऊ राम्रै पैसा बोक्थ्यो ।
दामोदर अग्लो कदको थियो । ऊ क्याम्पसमा प्रभाव जमाएर बसेको थियो । यसकारण कि ऊसँग थुप्रै मान्छेहरूको जमात थियो । ऊ मान्छेलाई आवश्यक पर्ने पात्र थियो । ठेक्कापट्टामा उसलाई समावेश नगरी कुनै निर्णय हुँदैनथ्यो । महँगो मोटरसाइकल चढ्थ्यो । सरहरू लुरुलुरु हिँडेर पढाउन आउँथे । ऊ बाइकमा पढ्न आउथ्यो । पढ्न त के भेटघाट्मा आउँथ्यो । उसको चञ्चलता मेरो समीपता बन्यो । मलाई कैयौँपटक उसले बाटो छेकेर जबरजस्ती बोल्न बाध्य पार्थ्यो । म लाज र त्रासले भुतुक्कै हुन्थेँ । कतै मेरा काकाले देख्लान् कि भन्ने डर थियो । दामोदर मेरा काकाको लागि नकारात्मक पात्र थियो । उसलाई अराजक पात्रको रूपमा लिनुहुन्थ्यो काकाले ।
कुनै पनि जटिल परिस्थितिले पनि उसलाई कुनै फरक पर्दैनथ्यो । विद्यार्थीहरूको झगडा हुन्थ्यो, तोडफोड हुन्थ्यो । तालाबन्दी हुन्थ्यो । ती सबैमा दामोदर निर्णायक हुन्थ्यो ।
मेरो एकसयतीस रुपियाँमा किनेका सबैभन्दा सस्तो दामका सुतिका नीला कुर्तासलवारको ऊ सँधै प्रशंसा गरिरहन्थ्यो । कैयौँपटक उसले मुक्तकण्ठले प्रशंसा गर्थ्यो ।
कमलको फूलको रूपमा लिन्थेँ म उसलाई । मसँग कुनै उत्तर थिएन । पढाइमै ध्यान हुन्थ्यो । तर दामोदरले मलाई बारबार डिस्टर्भ गरेर मेरो मन वयस्कतिर ढल्किन थाल्यो । प्रेमको आभाष हुनथाल्यो ।
‘दशहजार विद्यार्थी भए ठाउँमा कम्तीमा पाँचहजार त केटी होलान् क्याम्पसमा । दामोदरले मलाई नै किन ध्यान दिइरहन्छ ? यसको मतलब म राम्री छु ? म अरूभन्दा बेग्लै छु ?’
अब ममा सुन्दरताको घमण्ड थपियो । म हेलेन भएँ । सुन्दरी भएँ ।
थपियो घमण्ड झनै जब मेरो नाम फ्रिसिपमा सधैँ आउँथ्यो । क्याम्पसलाई तिरेको भन्दा धेरै पैसा फ्रिसिपमार्फत हरेक वर्ष फिर्ता आउँथ्यो । कारण थियो दामोदर । विद्यार्थी सङ्गठनहरूले जसजसको नाम क्याम्पस प्रशासनलाई दिन्थे, तिनैको नाम क्याम्पसले प्रकाशन गर्थे ।
राजनीतिक शक्तिको महिमा मैले त्यहाँ देख्न र भोग्न पाएँ । कारण यही थियो त्यही हिलोको कमललाई मैले मेरो सिउँदोमा सिउँरी नाच्दै हिँड्न थालेँ । उन्मत्त भएँ । ऊ मेरो शिरमा रङ्गिरह्यो तर मलाई डर थियो, मेरा काकादेखि । काका उसलाई घृणा गर्नुहुन्थ्यो । जोगिँदा जोगिँदै पनि एक दिन काकाले देख्नुभएछ दामोदरले मेरो क्यान्टिनको पैसा तिरिदिएको ।
‘ए एलिजा, अब तँ भिख माग्ने भइस्, हैन? तेरो क्यान्टिनको पैसा कसले तिऱ्यो ?’
मेरो सातो गयो ।
‘त्यस्तो केही होइन….,’ म केही बोल्न सकिनँ ।
‘फेरि तेरो पछि त्यो गुण्डो लागेछ भने म तँलाई लिएर घर जान्छु र दाइलाई सबै कुरा भनिदिन्छु ।’
तर काका नहिँड्दै दामोदर आइपुग्यो ।
‘एलिजा, आज भेडेटार घुम्न जाने । नाइँ नभन्नु नि !’
‘तपाईँ हाम्रो बाटामा नआउनुभएको राम्रो ।’ काकाले त्यति मात्रै बोलेका थिए, दामोदर आक्रोशित भयो ।
‘बेटर नट टु डिस्टर्भ मि । मैले के गरेँ र? क्याम्पसमा पढ्ने यी सबै मेरा साथी हुन् । कोही अलिक विशेष त भइहाल्छन् नि । किन टाउको दुखाइ ?’
काका र दामोदरको भनाभइरी भयो ।
एक दिन क्याम्पसमा कार्यक्रमस्थल कसले पहिले कब्जा गर्ने भन्ने बारेमा नेविसङ्घ र अखिलका विद्यार्थीबिच झगडा भयो । काका र म पुग्दै मात्रै थियौँ, दामोदरको समूहले अर्कोलाई लखेट्यो । तर तिनले काकामाथि पनि हमला गरे । दामोदर हेरिहेको थियो ।
काकाको हात भाँचियो । म रोइकराइ गर्न लागेँ ।
फेरि दामोदरले नै काकालाई अस्पतालमा लगी हातको प्लास्टर गर्न लगाए ।
‘एलिजा, अब धनकुटा नबस्ने । बरु बिराटनगर नै पढ्ने । गर्मी भए नि होस् । चिसो खान आएका, लात्ती खाएर फर्किनु पऱ्यो । भविष्य बनाउन आएका, शरीरै पिठो होलाजस्तो भयो । उख्…..’
काकाको कुरालाई मैले प्रतिकार गर्न सकिनँ ।
धनकुटाको पुछारमा बिहान चारै बजे झऱ्यौँ । काका हात झुन्डाउँदै हामी लाग्यौँ धरानतिर । भेडेटारबाट पछाडि फर्केर हेर्न खोजेँ धनकुटाको डाँडा । त्यो मेरो अन्तिम दृष्टिगोचर थियो । त्यो मेरो सपनाको डाँडो मधुरो भइसकेको थियो ।
घरमा काकाले सबै कुरा बुबालाई सुनाएपछि मेरो धनकुटा यात्रा अवरुद्ध भयो । म दामोदरको साथी भइनँ । न त दामोदर नै मेरो साथी भयो । न ऊ मेरो भयो न म उसको भएँ ।
दुईवर्ष महेन्द्र मोरङ क्याम्पस पढेपछि मेरो पढाइको यात्रा पनि अवरुद्ध भयो ।
मेरो बिहे पाँचथरको यो विकट गाउँमा प्राथमिक विद्यालयको शिक्षकसँग भयो र पछि आयोगबाट म पनि शिक्षिका भएँ —प्राथमिक शिक्षक ।
म सिर्फ शिक्षक बनेँ । चाहेर कोही केही पनि केही बन्न सक्दो रहेनछ । नचाहँदा नचाहँदै म शिक्षक बनेँ ।
०००
म ममताले भरिएँ । मातृत्वले सल्याकसुलुक परेँ । मेरा आँखा तिर्मिराए; भाउन्न चल्यो । मेरा काकाको ‘गुण्डा’ को उपमा पाएको व्यक्ति आज मन्त्री भएको छ । सुरक्षा घेरामा छ ऊ । पी. ए. र अन्य सल्लाहकारहरू उसका अगाडि पछाडि छन् । म उसका विगतका अवयवहरू एकाएक देख्न थालेँ । उसको अनुहारमा टल्केको त्यो मुस्कान धपधपी बलिरहेको थियो । मलाई धनकुटाबाट ओरालो खेदेर भाग्यले उसलाई हिले र वसन्तपुरतर्फ उकालो लगेछ, यस्तै लाग्यो । त्यसबाट पनि माथि काठमाडौँको राजनैतिक खाडलमा लगेर मल र पानी हालिदिएछ । ऊ माथिमाथि गएछ, म तलतल गएछु । यात्रामा सँगै नहुनु पनि कसै कसैलाई त फाइदा नै हुनेरहेछ । ऊ माथि गएकोमा मेरो आशीर्वाद छ । तर मैले आफैँलाई आशीर्वाद दिन नसकेको बेला उसलाई के आशीर्वाद दिनू ? धिक्कारेँ आफैँलाई कैयौँ पटक ।
मेरो सोह्रवर्षअघिको दामोदर र आजको दामोदरलाई अन्तिमपटक हेर्न मन लाग्यो । म मञ्चतर्फ अघि बढेँ, उसलाई जीवनमा पहिलो र अन्तिम फूलको माला लगाई दिन ।
स्वयम्वरमा माला लगाउने सपना अधुरो थियो, यसैले पूरा गर्ने अठोट लिएँ ।
विद्यालयले मन्त्रीलाई फूलको माला मैले नै लगाइदिने भन्ने निर्णय गरेकाले मलाई ‘मेरै’ नभए पनि ‘अर्काको’ दामोदरलाई माला लगाइदिने मेरो सपना पूरा हुनेछ भन्ठानेँ । मैले सोचेँ, यही रहेछ मेरो बिहेको मण्डप । यसको वरिपरि उसलाई अगाडि लगाउँदैछु र म घुम्दैछु । यी मान्छे रमिता हेर्न आएका छन् । बाजा बज्दै छ । यो उत्तेजित माहोल मेरो बिहेको मण्डपमा सिँगारिएको छ ।
धत्, के सोच्न थालेँ म ! अनैतिक सोच कसरी आयो मेरो मनमा ? यो अधर्म हो । तर मनले धर्म र अधर्म छुट्याउँदो रहेनछ । यसको भागी पनि त्यही मन होस् । मेरो शरीर होइन । गाली पनि यही मनलाई गर्नू । सराप पनि यही मनलाई दिनू । किनभने मेरा अधुरा सपना पूरा गर्न तम्सेर आएको यही मन हो । आज जसले सपना पूरा गरिदिन अघि सर्छ त्यो पनि यही मन हो । त्यसैले श्राप पाउँछ, नाङ्गिनु पर्छ, यो कथित सभ्य समाजमा यही मन । म होइन ।
म माला लगाइदिन मन्त्रीतिर लम्किएँ । उनले मुन्टो मतिर ल्याए । मण्डपमाझैँ तालीको गडगडाहट आयो । उनी मुस्कुराए । उस्तै रहेछ मुस्कान । उस्तै रहेछ हेराइ । उस्तै रहेछ चाल र ढाल । सिधा हेर्न पनि सकिनँ ।
‘हजुर, म एलिजा, एलिजा घिमिरे । हामी धनकुटा क्याम्पसमा…? आई. एड. मा पढने,’ मैले मुस्कुराउँदै भनेँ ।
‘…………’ उनले मेरो कुरामा ध्यान दिएनन् ।
‘काका र म थियौँ नि !’
‘……..’
‘काकाको हात भाँच्चिएपछि बिचैमा क्याम्पस छोडेर हामी बिराटनगर आयौँ । त्यसपछि हाम्रो भेट भएन नि !’
‘………..’
‘हजुरले मलाई क्याम्पसमा फ्रिसिप गराइदिनुहुन्थ्यो नि…….अनि……..?’
उनको ध्यान ममा नभएको प्रतीत भयो ।
उल्टै उनले उद्घोषकलाई कराउन थाले, ‘कार्यक्रम छिटो अगाडि बढाऊँ रतनजी, भरे ढिलो हुन्छ बिराटनगर पुग्न ।’
म फाल्तु थिएँ उनका अगाडि । त्यसैले मञ्चबाट बाहिर आएँ ।
उद्घोषकको कडा आवाजले केही सुन्ने अवस्था थिएन । उद्घाटनको कार्यक्रम आयो । उनी हतार हतार हेल्थपोस्टको उद्घाटन गर्न रिवन काट्न उठेर गए ।
उद्घोषक एकोहोरो उनको विरासत पल्टाउँदै थियो ।
‘हाम्रा प्रमुख अतिथि माननीय मन्त्रीज्यू विद्यार्थी जीवनदेखि नै लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाको लागि सक्रिय र क्रियाशील हुनुहुन्थ्यो……. । उहाँले लोकतान्त्रिक मूल्य र मान्यताका लागि दिलो ज्यान दिएर लाग्नुहुन्थ्यो । लोकतन्त्रको स्थापनाका लागि उहाँले ज्यानको पर्वाह पनि गर्नु भएन । २०३६ र २०४६ का आन्दोलनहरूमा उहाँ सक्रिय हुनुहुन्थ्यो । माओवादी आन्दोलनको गोला र बारुदले पनि डढाउन सकेन उहाँलाई । उहाँ सादा जीवन उच्च विचार बोक्नुहुन्छ । उहाँले विद्यार्थी जीवनदेखि नै मन्टेस्क्यू र रुसोका लोकतान्त्रिक विचारहरू ग्रहण गरिसक्नु भएको थियो । उहाँ एक अध्येता पनि हुनुहुन्छ । उहाँको विद्यार्थी जीवनदेखि नै लोकतन्त्रको गरिमालाई उच्च बनाउन खेल्नुभएको योगदानको कदर गर्दै कम उमेरमै पार्टीले उहाँलाई क्याविनेटको सदस्य बनायो । हामी उहाँलाई एकपटक फेरि स्वागत गर्दछौँ, स्वागतम् ।’
सबैले स्वागतम् भने र तालीको फोहरा छोडे ।
मेरो गला अवरुद्ध भयो । मेरो मन रित्तिएर आयो ।
मेरो त्यो मण्डप सपनाको कागजले बनेको थियो । म भत्किँदै गरेको त्यो मण्डप मेटिएर मधुरो हुँदै गरेको हेर्दै थिएँ र क्रमशः पछाडि सर्दै घरतर्फ लागेँ ।
‘एलिजा मिस, कता हिँड्नु भएको ? अझै कार्यक्रमहरू बाँकी नै छन् त मिस,’ हेडसर भन्दै हुनुहुन्थ्यो ।
‘मलाई अचानक बिसन्चो भएकोले घर हिँडेकी, सर ।’
त्यो भत्किएको कागजको मण्डप अन्तिम पटक हेरेँ जुन कागजकै थियो, जसको कुनै आयतन र आयाम थिएन ।
दमक, झापा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।