समीर सहर छोड्नेबारे सोच्दै थियो ।
उसको हातमा न राम्रो जागिर छ । न नराम्रो अवस्थामा बुझिदिने प्रेमिका ।
प्रेमिका होइन ! राम्रो मन मिल्ने साथी पनि छैन । न मन भुलाउने खालको कोठा छ । त्यसैमाथि किचकिच गर्ने घरभेटी । ऊ आफू निकै एक्लो भएको महसुस गर्न विवश हुँदै गएको छ ।
उसले आफूलाई राम्रो लेखक बनाउन चाहान्थ्यो । लेखक बन्नैका लागि ऊ विधवा आमालाई गाउँ छोडेर सहर आएको हो । अनि पत्रकारिता गर्दै आएको छ । पत्रकारितामा पूरा पाँच वर्ष बिताइसक्यो, तर उसका कथा-कविता कसैले मन पराएनन् । ऊ सबथोकबाट थाक्दै गएको थियो र अति कमजोर महसुस गर्दै, सहर छोडेर गाउँमा बाख्रापालन गर्ने सोच्दै दिउँसो अफिसबाट माइक्रो नचढी निरास अनुहार लगाएर कोठा जाँदै थियो ।
अचानक उसका आँखा एउटा हातमा झुत्रे डायरी अर्को हातमा डटपेन, टाउकोमा जगल्टैजगल्टा भएको, लामो गुजुल्टे दाह्रीमा एउटा शान्त आनन्दको प्रतिविम्बति अनुहार, नालीमा ढलिरहेको देख्यो । लगभग उमेर ३० वर्ष होला, उसले अनुमान गर्यो । दुई हात र टाउको मात्र ढलबाहिर थिए, बाँकी शरीर डुबेको थियो ढलमा ।
ऊ टक्क उभियो । त्यो युवकलाई हेरेको हेर्यै भयो । न केही सोच्न सक्यो, न बोल्न नै । न त पाइला चाल्नै सक्यो । ऊ यहाँसम्म भयो कि ‘आफू कहाँ छु ?’ भन्ने कुरासम्म भुल्यो । त्यही बेला बाटो हिँड्ने कसैले उसलाई धक्का दियो । झसङ्ग भयो । यताउता हेर्यो । मान्छे, गाडी हतार हतारमा दौडिरहेको देख्यो । अनि हतारमा आफूलाई यसरी छाम्यो, मानाैँ शरीर उसलाई छोडे कतै टाढा गैसक्यो ।
फेरि हतारमा आँखा मिच्यो, नालीको युवकतिर हेर्यो । युवकले बिस्तारै आँखा खोल्यो र बिस्तारै मन्टो घुमाउँदै चारैतिर हेर्यो । शान्तसँग आँखा बन्द गर्यो ।
आजसम्म धेरै जड्याहा धेरै पागल देखेको छु । तिनीहरूका बारेमा लेखेको पनि छु तर यसरी हातमा डायरी र पेन समातेको पागल र जड्याहा कुनै कतै देखेको थिइनँ र यस्तो कथा लेखेको पनि थिइन । मैले देखेरमात्र लेखेको छु । यसलाई मेरो रुममा लगेर यसका कुरा सुनेर यसको कथा लेख्दा कस्तो होला । उसले सुस्तसँग आफूलाई भन्यो ।
“देख्ने चिन्नेहरूले यस्तो मान्छेसँग हिडेको देखे भने के भन्छन्?” पाँचवर्षदेखि गर्दै आएको पत्रकारिताले दिलाएको उसको परिचयले फेरि जोडसँग भन्यो । अनि गोजीले अघिल्लो महिनादेखि नतिरेको रुम भाडा तिर्नेबाहेक अर्को एक सुको नभएको कुरा, साँझको खाने तरकारीको अनिकालले उसलाई बेजोडसँग भन्न थाले । “त्यस्तो गर्न पाउँदैनस्, तैँले लेखेका कथाहरू न पाठकले न त सम्पादकले मन पराउछन् र पनि किन कथा लेख्छु भन्छस्?” आँखा बन्द गर्छ, लामो सास तान्छ अनि लामो सासलाई फाल्दै फटाफट रुमतिर लाग्छ ।
अर्धउज्यालो, अर्धन्यानो, अर्धचिसो रुममा भएको खाटमा पल्टिएर सिलिङतिर हेरेर टोलाउँदा टोलाउँदै अचानक उसका आँखाअगाडि त्यो नालीको युवक आउँछ र हराउँछ । ऊ झट्टै नालीमा भएको युवकलाई हेर्न दौडिन्छ । ऊ पुग्दा युवक नालीको पानी घुटुक्क निल्दै थियो । आँखाबाट आँसुका ढिक्का तप्प तप्प नालीमा मिसिएर नालीमा बगिरहेका थिए । पेन समातेको हातले आँखमा मिच्दै युवकले यताउता हेर्यो र डायरीमा केही लेख्यो । अनि फेरि बरर आँसु झार्यो । एकछिनमा युवकले थाहा पायो; मलाई कसैले हेरिरहेको छ भनेर । तब युवक समीरलाई हेरेर मुस्कुरायो । समीर छक्क पर्यो । त्यही बेला उसले पेनको निप नालीमा डुबायो र डायरीमा केही लेख्यो । अचानक वरपरबाट एकाएक मगमगाउने बास्ना आउन थाल्यो । किनारमा जताततै सुन्दर बिरुवाहरू देखिन थाले, नालीको पानी एकाएक यति सफा भयो । त्यति सफा पानी समीरले झरनामा पनि देखेको थिएन । युवक मुस्कुराउँदै उठ्यो र नाच्न थाल्यो । एकछिन अगाडिको नाली, मान्छेहरूका लागि एक पवित्र गङ्गा भयो । एकछिन नरोकिने हतारका मान्छे, हतारका गाडी घण्टौ रोकिन थाले । कसैले बोतलमा कसैले पोलिथिनमा पानी भरेर लैजान थाले । तब त हुलका हुल मान्छेहरूले स्नान गर्न सुरु गरे ।
समीरले युवकलाई हेर्यो युवकलाई कतै देखेन, भिडभित्र छिरेर छट्पटिदै असिनपसिन हुँदै युवकलाई खोज्दै थियो । सिरानीको मोबाइल करायो । ऊ झसङग ब्युँझियो । यताउता हेर्यो म त युवकलाई सपनामा पो खोजिरहेको रहेछु । विपनामा होइन रहेछ भन्दै तर्सियो ।
आँखा मिच्दै मोबाइल हेर्यो । आमाले फोन गर्नु भएको रहेछ । उठेर पानी पियो अनि आमालाई फोन गर्यो । अनि घरमा खर्च पठाउन नसकेको गुनासोसँगै गाउँमा बाख्रा पालन गर्ने सोच बनाएको कुरा सुनायो र ‘म के भनूँ छोरा? यो धर्ती छोडेका तेरा बाको नाक फाल्ने कि राख्ने तेरै हातमा छ ।’ बाख्रापालन गर्न छोरो गाउँ नआओस् भन्ने आशयमा आमाले भनिन् र फोन राखिन् ।
‘अप्ठेरोमा परेका हर कोहीलाई सक्ने सहयोग गर्नू ।’ सातवर्ष पहिले परलोक गएका बाले बारबार भन्ने कुरा झल्यास्स सम्झियो ।
अनि केही दिनअगाडि शरीर लुकाउन होइन । भित्रका झुत्रा कपडा लुकाउन किनेको पातलो जकेट पुरानो पाइन्ट अनि गम्छा ब्यागमा हाल्यो । अनि मास्क लगाएर ऊ, युवक भएतिर गयो ।
युवक डायारीमा केही कोरिरहेको थियो । सपनामाझैँ चमत्कार पो हुन्छ कि भनेर उसले एकछिन उभिएर पनि हेर्यो तर सपना विपनामा त्यस्तो हुने कुरै भएन । युवक लेख्न छोडेर डायरी पेन दायाँ हातमा समाउँदै बायाँ हातले टाउको कन्यायो । अनि डायरी पेन छुट्टा छुट्टै हातमा समायो र आँखा बन्द गर्यो ।
समीर नजीक गयो र युवकलाई बोलायो । युवकले बिस्तारै आँखा खोल्यो तर केही बोलेन । बाहिर आऊ तिम्रा लागि……समीरले भन्यो । पहाडबाट बेँसीतिर ढुङ्गा गुल्टेझैँ युवकका आँखाबाट आँसुका ढिक्का दाह्री तिर गुल्टिए र समीरका आँखा पनि रसाए । “निस्क” रुन्चे स्वरमा समीरले भन्यो । युवकले एकमिनेट जति आँखा बन्द गर्यो र हाँस्दै आँखा खोल्यो । अनि फेरि एकछिन मौन भयो ।
अनि बोल्यो, “यदि मेरो अनुमती बिना तिमीले मेरो डायरी पेन छुँदैनौ भनेमात्र म तिमीसँग जान्छु, नत्र जाँदिनँ ।” युवकले सर्त राख्यो । युवकको सर्तमा समीर हतारमै राजी भयो । तब समीरको कुरामा युवक पनि राजी भयो । कपडा फेरेपछि, युवकलाई सैलुन लग्यो र सपिङ पनि गरायो । यीबिचमा युवकले डायरी र पेन कसैलाई छुन दिएन मात्र सोधेका केही जवाफ एक शब्दमा र केही जवाफ मौनतामा दियो । अनि रुममा लगेर नास्ता खुवायो । तब समीरलाई एकाएक उसको कहानी सोध्न होइन आफ्ना कहानी उसलाई सुनाऊँ झैँ लाग्यो र सुनाउन थाल्यो । युवकले कुरा सुन्न छोडेर सुत्ने मनासय राख्यो । “हुन्छ सुत तर तिम्रो डायरी मलाई हेर्न देऊ” समीरले भन्यो ।
“दिलको चाबी, कसैलाई खोलेर मात्र देखाऊ तब जीवन व्यर्थ गराइदिने जिम्मा उसको हुन्छ ।” आँखाबाट आँसुका ढिक्का खसाउँदै युवकले भन्यो, “नरोऊ जुन दिन तिम्रो त्यो डायरी हेर भनी तिमीले दिन्नौ तबसम्म हेर्दिन ।” समीरले भन्यो । तब अर्धउज्यालो कोठा उज्यालो गराउँदै युवक मुस्कुरायो अनि सुत्यो ।
केही बेरमा माथिबाटै कराउँदै घरभेटी आन्टी भाडा माग्न आइन् । समीरले समस्या सुनायो । आन्टी टोलै थर्कने गरी कराउन थालिन्, युवक ब्युँझियो । जुरुक्क उठेर खिसिक्क हाँस्दै आन्टिलाई हेर्यो । “ल ल नभए के गर्छौ त अर्को महिना सब दिनू” आँखा ठूला अनुहार उज्यालो गराउँदै आन्टी निस्किइन् ।
समीर आफ्ना आर्थिक व्यथा लुकाउने कोसिसमा थियो । “मलाई जुनसुकै काम खोज्देऊ म गर्छु र तिम्रो भाडा तिर्नमा सहयोग गर्छु”, युवकले भन्यो । यसले आफ्नो व्यथा र डायरी नदेखाउनसम्म यसलाई यही राख्ने उत्तम विकल्प यही हो भनी समीरले सोच्यो ।
अर्को दिनदेखि युवकलाई काम खोज्दिन समीर खुब लागि पर्यो । दिन बित्दै गए समीरले युवकलाई काम खोजिदिन सकेन । यता घरभेटी आन्टी समीर नभएको मौका पार्दै युवकसँग कुरा गर्न कोठामा निरन्तर आउन थालिन् तर युवक भाडा कति बाँकी छ भन्नेबाहेक अरू एक शब्द बोलेन ।
काम नपाएको बुझेपछि । युवक कटौरा लिएर सडकमा माग्न थाल्यो अनि महिना पुग्नु अगावै उसले बाँकी कोठा भाडा सबै चुक्ता गरिदियो तर उसले रुममा चाहिने केही कुरा कहिल्यै लिएन जसले गर्दा कोठा भाडा तिरेको कुरा समीरलाई थाहा भएन ।
महिना दिन बित्यो ।
समीरले आफ्ना सबै बेथा एक एक गर्दै भनेर सक्काइसक्दा पनि युवकले न त आफ्ना कुरा केही भन्यो न त डायरी हेर्न दियो । बिस्तारै युवकले समीरलाई प्रश्न गर्न थाल्यो ।
“तिमीले प्रेम लेख्यौ?”
लेखेँ ।
“जड्याहा लेख्यौ?”
लेखेँ ।
युवक- भोकहरू लेख्यौ?
समीर- लेखे ।,
युवक- सेक्स लेख्यौ?
समीर- लेखेँ ।
युवक- स्त्री लेख्यौ?
समीर- लेखेँ ।
केही दिनमा छुट्टाछुट्टै समयमा युवकले समीरबाट यी जवाफ बटुल्यो ।
पुनः केही दिनपछि फेरि युवकले प्रश्न गर्न थाल्यो ।
युवक- तिमी प्रेमी बन्यौ?
समीर- यो समयको बरबादी हो । त्यसैले म टाढा बसेँ ।
युवक- तिमी कहिले काहीँ बेश्याहरू सँग कुनै रात बितायौ?
समीर- बेश्याहरूसँग मात्र होइन, लत बिग्रिन्छ भनेर रात बिताउन खोज्ने केटीसँग पनि टाढिएर बसेँ ।
युवक- कहिलै नशा अर्थात् मदिरामा डुब्यौ?
समीर- डुब्ने होइन त्यस्ता साथीको नजिक पनि भइनँ ।
युवक- किन यसरी हरेक चिजबाट टाढिँदै हिडिरका छौ?
समीर- म सफल लेखक बन्न चाहन्छु । यी सब मेरा उद्देश्यका बाधक हुन् त्यसैले म यी नजिक हुँदिनँ ।
युवक- भोको बस्यौ?
समीर- भोकै होइन, चाउचाउ खाएर बसेको छु ।
युवक- के चाउचाको बेथा लेखेका छौ?
समीर- लेखूँ कि झैँ हुन्छ तर आफन्त साथीहरू गाउँ सम्झेर के भन्लान् भनेर आफ्नो बेथाको कथा लेखेको छैन ।
थप एक महिना लगाएर युवकले समीरबाट यी कुरा बुझ्यो र उसलाई रुममा लिएको स्वार्थको रहस्य पनि जान्यो । तब युवकले भन्न थाल्यो, “तिमी प्रेम लेख्छौ प्रेमको आत्मा मारेर, तिमी जड्याहा लेख्छौ जड्याहाको आत्मा मारेर, सेक्स लेख्छौ सेक्सको आत्मा मारेर, भोक लेख्छौ भोकको आत्मा मारेर, तिमी स्त्री लेख्छौ स्त्रीको स्त्रीत्व मारेर ।
तिमी तिम्रो हातमा भएको धागो चुडाउँदै, सुन्दर फूलको माला बनाउने खोजीमा आफ्ना बगैँचामा फुल्न खोजेका अति सुन्दर फूलहरूलाई फुलाउन भुलेका छौ र ती फुलको माला बनाउन चुकेका छौ । त्यसेले तिमीलाई लेख्न कठिन भएको हो ।
यसरी आफूले भोगेका बेथा, झनझट, समाज, आफन्त, साथी, इज्जत, भुलेर लेख्नका लागि अर्को एक महिना समीरलाइ युवकले प्रेरित गर्यो ।
तब समीरका लेखहरू राष्ट्रिय पत्रिकाहरूले छाप्न थाले, अति रुचाइन थाले । ऊ एक सेलीब्रेटी जस्तै चिनिन थाल्यो ।
एक रात समीरले युवकलाई सोध्यो, “यति धेरै बुझेको तिमी किन नालीमा?”
डायरीका लागि युवकले भन्यो ।
समीर- डायरीमा के छ?
युवक- म बाचेको प्रत्येक पलको आत्मा ।
समीर- तिमी के बन्न चाहान्छौ ।
युवक- जे बनिरहेको छु त्यही ।
समीर- तिमी के बनिरहेका छौ?
युवक- उपन्यासकार ।
समीर- उसो भए तिमी किन कथाहरू लेख्दैनौ?
“म उपन्यास लेख्न चाहान्थे र चाहान्छु त्यसैले म उपन्यासभित्रको पात्रको आत्मापीडाको भूमिका खेलिरहेछु ।” युवकले भन्यो ।
बिहान समीर ब्युँझदा युवक रुममा थिएन । साँच्ची उसको डायरीमा नालीजस्तै अरू के के भोगाइहरू थिए होलान्? समीरले सोच्न थाल्यो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।