उनको कारमा उनी प्रायः एक्लै हुन्छिन् । अर्थात् उनको छेउको सिट सदैव खाली हुन्छ ।
‘हैन, यिनको लोग्ने छैन कि क्या हो ?’ मान्छे अचम्मित हुन्थे र मनमनै प्रश्न गर्थे । उनले आफ्नो श्रीमान् लिएर हिँडेको प्राय मान्छेले देखेका छैनन् ।
अति कलात्मक घर भएकोले प्राय त्यो बाटो हिँड्नेहरु त्यो घरलाई नजर नलगाई सक्दैन थिए ।
‘घर त मालकै छ ।’ धेरैको प्रतिक्रिया यस्तै हुन्थ्यो ।
उनका छोराछोरी पनि छैनन् उनीसँग हिड्ने । उनको मोवायल स्क्रिनमा छोरीका सानाका फोटा राखेकी छन् ।
उनी भरिली थिइन् बाहिरबाट हेर्दा ।
उनको पर भरिलो छ, तर छेउ खाली छ ।
उनी सेयर बजारमा सेयरको कारोबार गरेर राम्रै आय आर्जन गर्छिन् । त्यो उनको अ
हिलेको पेसा हो । उनको सर्कल ठुलै छ, तर पर । छेउ खाली राखेर पर भरिलो जीवन जिउँछिन् भावना । भरिएको देखाएर खाली लुकाउनु जीवन रहेछ । उनको त्यस्तै भयो ।
उनको काठमाडौंको चाबहिलमा पाँच तले घर छ । घरको वरिपरि एक रोपनी जग्गा बगैँचासहितको छ । त्यही बगैँचामा उनका पति सौगात माली भएका छन् । उनी फूलको खेती गर्छन् । उनका फूलले उनको घरको वरिपरि रङ्गीन बनेको छ । ढकमक्क फुलेका फूलहरुले उनको त्यो संसारलाई जीवनको बगैँचा बनाइदिएको छ । उनी पूmल रोप्छन् । हरपल फूलमा पानी हाल्छन् । माटो थप्छन् । मल थप्छन् र गोड्छन् । सुकेका पात काट्छन्, पुराना सुकेका हाँगा काट्छन् । फूलका बिउ राख्छन् । बिरुवा रोप्छन् र फुलाउँछन् । फेदको झार उखेल्छन् । अनि ती फूलका कोपिलालाई सुम्सुम्याउँछन् । फूललाई हातले सुम्सुम्याएर नाक, गाला र ओठमा चुम्बन गर्छन् । उनको यो सुन्दर फूवारीमा गोडमेल भएर जीवन्त भएका छन् फूलहरु । उनको सुन्दर जीवन सुन्दर भएको उनले महसुस गर्न पाएका छन् कि छैनन्, कसैलाई थाहा छैन ।
०००
भावना मेरी बाल्यकालकी साथी हुन् । हामीले माविसम्मको अध्ययन एउटै स्कूलबाट गरेका थियौँ । भावना गोरी र अग्ली थिइन् । उनको मुस्कान रहस्यमय थियो । उनी कम बोल्ने र धेरै सुन्ने गर्थिन् । स्कूल पढ्ने उमेरका केटाकेटीले पनि यो अनुभूत गरे । उनको सरलतामा सुन्दरता थियो । अनि सुन्दरतामा सरलता थियो । यो महान् कुरा मैले बुझ्न सक्ने पनि थिएन ।
उनको जीवनको पहिलो पाइलो घाम अस्ताएपछि सुरु भयो । उनी घाम अस्ताएपछि जन्मेकी अरे । उनकी आमाले पनि घाम अस्ताएपछि यो संसारलाई बिदा लिइन् । उनका बाले अर्की आमा पनि घाम अस्ताएपछि घरमा ल्याएर घरमा हुले ।
एकदिन घाम अस्ताएपछि उनका बाले उनलाई भने, ‘छोरी तैँले एसएलसी पास गरिहालिस् । अव तँलाई कसैले पनि झुक्याउन सक्दैन । तँ ठुली पनि भइस् ।‘
‘मतलब ? के भन्न खोज्नु भएको बुबाले ?’
‘केही होइन । अब हामीले तेरो भविष्यको लागि सुरक्षित बाटो हेर्नु छ । त्यो भनेको बिहे हो । तेरो बिहे गर्नु छ । हामीले केटो पनि हेरेका छौँ । सर हुन स्कूलका ।’
स्कूलका सर भन्नेबित्तिकै उनी खुसी भइन् तर त्यो खुसी बाहिर देखाइनन् । उनलाई कक्षामा पढाउने सर आदर्श व्यक्ति लाग्थे । तिनको मन र बचन लोभलाग्दो लाग्थ्यो भावनालाई । सरहरुको उच्च विचार हुन्छ भन्ठान्थिन् उनी । समाज बदल्ने, समाजलाई बाटो देखाउने दम सरहरुमा मात्र छ भन्ने लाग्थ्यो । जीवनका अँध्यारा पाटाको परास्त सरका दिव्य चक्षुबाट मात्र हुन्छ भन्ठान्थिन् ती ।
जीवनका रापहरुलाई घाम अस्ताएपछिका कालखण्डले निमोठे पनि यो चाहिँ ननिमोठिएला भन्ने लाग्यो उनलाई ।
त्यसैले उनको विवाह सौगातसँग हुने निश्चय भयो । संस्कारी बिहे भयो । सौगात प्राविको शिक्षक थिए । बिहान साइकलमा स्कुल जान्थे । बेलुका बेलैमा घरमा आउँथे । उनका सपना एउटा सानो झोलाभित्रका किताब र कापीमा बेरिएका हुन्थे ।
पछाडि च्यापेको झोलाले उनको जीवनका रेसाहरुलाई च्यापिरहेको थियो । ती कहिल्यै बाहिर निस्किन सकेनन् । बाटाका ग्राभलले उफारेको साइकलको टायर र उनको जीवनको भाग्य एउटै थियो, उनी यही सोच्थे ।
टायर र उनी दुबै अर्काको ठक्कर खाएर उफ्रिनु पथ्र्यो ।
सौगातलाई भावनाले भने जस्तै पाएकी थिइन् । शान्त र गम्भीर मुद्रामा भावनालाई हेर्दा उनी पग्लिएर झर्थे । मन चङ्गा जस्तै खुसीको उन्मादले उड्थ्यो माथिमाथि । उनलाई लाग्थ्यो, अब चाहिँ घाम अस्ताउने बेलामा केही पनि हुनेछैन उनको जीवनमा । बस यत्ति कामना थियो उनको ।
तर उनले सौगातको अँध्यारो पाटोको कल्पनासम्म पनि गरेकी थिइनन् । सौगात उनको जीवनको फूल थियो, जसलाई जति हेरे पनि कमी हुने । जति स्पर्श गरे पनि कमी हुुने । जति प्रशंसा गरे पनि अपूरो नै हुने । जति मन र मुटुमा च्यापे पनि बाहिर निस्केर गइहाल्ल्ला जस्तो हुने । यही मन र चेतनाको दियोमा भावनाले बर्तन थप्दै गइन् ।
उनको प्रेमको निसानी एउटी छोरी भई । भावनाले उसलाई घाम अस्ताएपछि जन्म दिइन् । खुसी भइन् आमा बन्ने सौभाग्य पाएकोमा । तर धिक्कारिन्, घाम डुबेपछिको समयले उनलाई पछ्याएको देखेर ।
छोरी स्कुल पढ्न जान थाली । सौगातको घरको अवस्था सुध्रिन
पाएन । उनले ऋण लिएर बनाएको घरको व्याजले थिच्दै गयो । क्रमशः भावना र सौगातका ओठमा मुस्कान हराउन थाल्यो ।
भावनाकी दश कक्षामा सँगै पढेकी साथी रञ्जना इजरायल गएको एक वर्ष भएको थियो । रञ्जनाले भावनालाई इजराल गएमा घरको सबै आर्थिक अवस्था सुध्रिन्छ भनेर लोभ देखाएकी थिई ।
‘तिमीलाई मैले एक हप्ता त एक्लै छोडेको छैन, तिन वर्षको कुरा सम्भव छैन होला, भावना ।’
‘म एकपटक गएर आउँछु र यो घरलाई परिवर्तन गर्नु छ ।’
‘तिमीबिनाको घरको मैले कल्पना गरेको छैन नि त !’
‘एकछिन त हो नि । त्यसपछि त….’
लामो बहस भयो । अन्ततः भावना इजरायल जाने भइन् । हिब्रु भाषा पढने देखि भिजा प्रोसेसिङको काम सुरु भयो ।
डाडाँपारि गएर सौगातको प्रेम फिर्ता ल्याउने असम्भव कसम खाएर उनी उड्ने भइन् ।
यस्तै कसम खाएर मात्र बाँच्नु पर्ने युगको अतिरञ्जनामा हामी आइपुगेछौँ अहिले, सौगातले यही सोच्न थाले । यही रङ्गमा भावना र सौगात रङ्गिए ।
भावना र सौगात घरबाट छुट्टिँदाको दृष्य कारुणिक थियो । छोरीको बाबु सौगातको एक्लो जीवनको सुरुवात भयो ।
दृश्यहरु सबै एक्लै भए । उनको लागि ओछ्यान, चुरा, पोते, र भावनाका लुगा उनका साथी भए । सौगात तिनै चुरालाई हेर्दै तिनबाट निस्केको आवाज सुन्न थाले । भावनाका लुगाको आकारमा भावनालाई देखिरहे । उनको बिम्बले सौगातलाई कमजोर बनाइरहन्थ्यो । छोरीलाई स्कूल पठाएर, उसलाई आमाको भूमिकामा आफूलाई उतारे ।
उनी आमा पनि बने, बाबु पनि बने ।
भावनाको काम इजरायलमा सुरु भयो खादिर बेन्जामिनको घरमा । बेरुतको पश्चिमपट्टिको किनारमा रहेको आलिसान भवन थियो बेन्जामिनको ।
जेरुसेलम थिएटरको उत्तरपूर्वमा रहेको उक्त टोलको नामै बेन्जामिनका पिताको नामबाट राखिएको थियो ‘बेन्जामिन देसराइली स्ट्रिट’ । सम्पत्तिको सीमा थिएन यिनका बाको । बेन्जामिन त्यसैको हिस्सा थिए । त्यही घरमा भावना आफ्नो जीवनका रङ्गहरुको मापन गर्न थालिन् हाउसकिपरको रुपमा । घरको सबै काम गर्नु पर्ने हुन्थ्यो । उनले आप्mनै घर सम्झेर काम गर्थिन् । हाउसकिपिङको पहिरनमा पनि उनी सुन्दर लक्ष्मी जस्तै देखिन्थिन् ।
जब भावना बेन्जामिनको घरमा उदाइन्, त्यहाँ अनौठो परिवर्तन आएको महसुस गर्न थाले बेन्जामिनले । भावनाको बोली र चालढालले बेञ्जामिन खुसी थिए । उनी उद्योगपति भएर पनि आफ्नै जीवनसँग खुसी थिएनन् । सम्पत्तिले खुसी दिन्छ भन्ने कुरा भ्रम लाग्न थाल्यो उनलाई ।
कारण थियो, उनकी श्रीमतीबाट उनको सन्तान भएको थिएन । उनी यही पीडाले थिलथिलिएका थिए । उनको त्यो अथाह सम्पत्तिमा उनकी श्रीमती इयाको पनि योगदान थियो । इयाका दाजुभाइ दिदीबहिनी कोही पनि थिएनन् र उनले मोटर कम्पनीको मालिक बाबुको सबै पैत्रिक सम्पत्ति हातापारेकी थिइन् । यही तुजुकमा बेन्जामिनको जीवन थप रङ्गीन भएको थियो ।
एउटा यो पनि कारण थियो कि उनी इयाको इच्छा विपरीत केही गर्न सक्दैनथे । दुई परिवारको सम्पत्ति हाता पर्दा युवा अवस्थामा बेन्जामिनमा जुन राप र ताप थियो त्यो अब सिक्रो भइसकेको थियो ।
बेन्जामिनको सम्पत्तिको उत्तराधिकारी कोही थिएन । उनीहरुको यो समयको स्थाइ साहारा कोही भइदिए हुन्थ्यो भन्ने ठान्थे । इयालाई पनि यही प्रश्नले जलाइरन्थ्यो । उज्यालिएको घर भावनाको प्रवेशले पूरै रङ्गिएर आयो । भावनाको सुन्दर शरीर र सुन्दर चाल र व्यवहारले, उनको संवादले बेन्जामिन तानिँदै गए । मालिक नोकरको सिमाना साँघुरिदै गए ।
बेन्जामिनको मनोवाद बढ्दै गयो । रित्तिँदै गरेको गृहस्थी हराभरा भएको हेर्न थाले उनी । त्यो थियो, एउटा उत्तराधिकारीको चाहना भावनाबाट पूरा हुने अपेक्षा । एउटा अनौठो तर जिन्दगीको अनिवार्य अपेक्षा । यही अनिवार्यताले हाम्रा अनेकौँ सिमानाहरुलाई भत्काइदिन्छ । लत्याइदिन्छ । यही भयो उनको हकमा पनि । इया बेन्जामिनभन्दा दश बर्ष जेठी थिइन्, तर बेन्जामिन सम्पत्तिमा यति धेरै लालची थिए कि सम्पत्तिको कारणले नै उनले इयासँग बिहे गरेका थिए । सम्पत्तिको लागि कुनै पनि सम्झौता गर्न पछि नपर्ने बेन्जामिनको डरलाग्दो स्वभावको सुरुमा जीत हुँदैगए पनि त्यो जिन्दगीको उत्तरार्धमा हार हुँदै गएको थियो ।
उनी खेलमा हारेका खेलाडी भइसकेका थिए ।
इयाबाट सन्तान नहुने डक्टरहरुको घोषणापछि पनि बेन्जामिनले अर्को बिहे गर्ने कुरा अघि बढाउन सकेनन् । उनको संस्कारमा बहुबिवाह स्वीकार्य भए पनि इयालाई त्यो स्वीकार्य थिएन ।
तर अब जिन्दगीले डाँडा काटिसकेको हुनाले उनीहरु दुवैजना पानी पानी भइसकेका थिए । अब उनीहरुका न त कुनै अडान थिए, न त अहंता । ती सम्झौतावादी भइसकेका थिए ।
त्यसैले पनि होला, इयाले भावनाको बैँसलाई बेन्जामिनले नियालिरहेको देखिन् । मनले हेरेको पनि देखिन् । भावनाले हेरेको पनि देखिन् ।
‘हाई, मेरो एउटा योजना छ’, बेन्जामिनको अनुमति लिँदै एक दिन बिहानै इया बोलिन् ।
‘के नि ?’ बेन्जामिन छक्क पर्यो ।
‘परिवारको कुरा । फाइदाको कुरा ।’
‘परिवार अनि फाइदा ? अझै फाइदाले पुगेन ? जिन्दगीभर फाइदाको कुरा गरेर पुगेन ?’
‘त्यस्तो पैसाको फाइदा होइन क्या ! अर्कै फाइदा ।’
‘तिमीले यस्तो पैसाबिनाको फाइदाको कुरा त जीवनमा पहिलो पटक पो गर्यौ त !’
‘भावनालाई एउटा बच्चा जन्माइदिन भन न । उसको परिवारले देख्ने पनि छैनन् । अनि जसरी आएकी थिई उसरी नै जान्छे ।’
‘धैट् । यस्तो कुरा कसरी सोच्न पनि सकेकी तिम्ले ? यस्तो भन्न मिल्दैन, गर्न त झन् टाढाको कुरा ।’
‘के को धैट् ? सरोगेट मदर जस्तै त हो नि ! अर्काको बच्चा अर्कै आमाले जन्माइदिने । यो त कानूनी कुरा पनि छैन र ?’
‘म यो काम गर्न सक्दिनँ । भावनालाई मैले यसरी हेरेको छैन । म सत्तरीको मान्छेले यो भन्न पनि सक्दिनँ । म शिथिल भइसकेको मान्छे !’
‘मलाई पनि ढाँटेको, बूढो ?’
‘ढाँटेको छैन ।’
‘लाज हुँदैन? नौ दिन अघि तिम्रो अण्डरवेअरमा …..अनि शिथिल भन्ने ? नखरा नगर ।’
बेन्जामिनको बोलीमा पाट्को ठोकिदिइन् इयाले ।
‘म तिम्रो जीवन साथी बनेको चालिस वर्ष भयो । तर म आमा बन्न सकिनँ । अर्की बिहे गर भन्न पनि सकिनँ । तिमीले मलाई यति धेरै सम्मान गर्यौ कि मेरो अनुमतिबिना अर्को बिहे पनि गरेनौ । मैले एउटा दुर्लभ मान्छेलाई पति पाएँ । गौरव गर्छु । तर त्यो गौरवताले हामीलाई निसन्तान बनाइदियो, यस अर्थमा दुःख पनि लाग्छ । आज यी सबै समस्याको हल हुँदैछ । तिमीले चुपचाप मेरा कुरा मान….’
बेन्जामिन छक्क परे ।
‘किन छक्क पर्या? अरुबेला त उसको उपस्थितिलाई त तन्किएर हेथ्र्यौ त, म जान्दिनँ र …….?’
‘मैले उसलाई तिमीले भने जस्तो नजरले हेरेको छैन । उसले हाम्रो धेरै ख्याल गरेकोमा खुसी भएको मात्र हुँ ।’
‘पुरुषहरु…..।’
‘के ?’
‘भो भो, धेर नबोल । भावनालाई म आफैँ भन्छु ।’
०००
‘म एउटा भीख माग्छु तिम्लाई । दिन्छौ, भावना ?’ इयाले मलिन स्वरमा भावनाको कोठाभित्रै पसेर अनुरोध गर्न थालिन् ।
उसले पनि तुरुन्तै भनी, ‘दिन्छु, भन्नु न ।’
‘तर कुरो अलिक गम्भीर छ । कसरी भन्नु ?’
‘हजुरले नभने मलाई भन्ने को छ यस दुनियाँमा ? हजुरले भनेको सबै कुरा मलाई मान्य हुनेछ । मेरो सबैथोक हजुरहरु नै त हो नि ।’
‘ल, माइण्ड नगर है त । हाम्रो परिवारको उत्तराधिकारी कोही पनि भएन…….. ।’ उनी अड्किइन् ।
‘मतलब ?’
‘छोराछोरी छैनन् नि हाम्रा ।’
‘मलाई पनि अपसोस लागेको छ यस विषयमा । तर म के गर्न सक्छु र यहाँको भाग्यलाई उल्ट्याउन ?’
‘सक्छ्यौ । तिमीले सक्ने कुरा नै माग्दै छु ।’
‘अरे ! कसरी हजुर ?
‘सोच्नै पो सकिनँ त !’
‘एउटा बच्चो तिम्रो कोखबाट जन्माइदिन सक्दिनौ त ?’
‘कसरी ?’
‘बेन्जामिनको बच्चा ।’
‘सरी मेम, मबाट यो काम हुन सक्दैन । बरु रित्तै फर्किन्छु नेपाल । बाबु सरह मानेको मान्छेबाट म यो काम गर्न सक्दिन ।’
‘तिमी पैसाको लागि यहाँ आएकी हौ । तिम्रो आदर्शले हुनेभए लोग्ने छाडेर यत्तिका वर्ष एक्लै यहाँ बस्ने थिइनौ । तिमीहरुको कल्चरमा खोक्रो नैतिकता र धर्म छ, यथार्थपरकता छैन । प्रेम गर्नेहरु पनि शारीरिक सम्बन्ध राख्छन् बिहे अघि तिम्रो समाजमा पनि । प्रेमले बोलायो भने चोर भनेको भए पनि साधु सुनिन्छ । तिमीले यसलाई साधु सम्झ । प्रेम सम्झ । र मेरो सम्पत्तिको एउटा हिस्सा लैजाऊ तिम्रो लागि । तिमीलाई जीवनभर पुग्ने सम्पत्ति म दिन्छु र काठमाडांैमा भिटा किन्ने भन्थ्यौ, अब म अलिसान घरै किनिदिन्छु, जहाँ तिमी र तिम्रो परिवार सुखले बस्नेछौ । गाडी किनिदिन्छु । र महिनैपिच्छे पैसा पनि पठाइदिन्छु । तिम्रो विचार ।’
‘…………..’ केही बोल्न सकिन । निशब्द बनी भावना ।
यति बोलेर इया बाहिर निस्किइन्।
अब भावनाको मनको अन्तर्य सुरु भयो । ऊ सोच्न थाली — हो नि ! आदर्शले मेरो जीवन पनि चल्दैन । म दुःखी हुँदा कसैले हेरे ? मेरो श्रीमान् विरामी हुँदा कसैको सहयोग पनि पाइनँ, त्यो म नै होइन ? सौगातले एउटा पैँट पाँच वर्षसम्म लगाउँदा टुलुटुलु हेरेर मुस्कुराउने म नै होइन ? एउटा मुन्द्रीसम्म पनि नलगाइकन दसैंमा माइत जाँदा गहनाले नाङ्गै देखेपछि बहिनीले ‘सम्पत्तिवाली’ भनेर व्यङ्ग्य गरेको मलाई नै होइन ? पैसा नभएर दुई वर्ष मासु खान छाडेको पनि मैले नै भनेको होइन ? पुसमा जाडो छ, एउटा ज्याकेट लगाउनु भन्दा पैसा नभएकै कारणले ‘जाडो छैन, हुन्देऊ भावना’ भन्ने ती मेरो सौगात नै होइनन् ?
के म फर्केर जाँदा बच्चा जन्माएको लोगो टाँसिन्छ र मेरो शरीरमा ? कसले थाहा पाउँछ ? मैले सौगातलाई पाप गरेको भन्ने सम्झे पनि यो उनैको सुख र समृद्धिको लागि हो । तिनलाई कारमा लिएर हामी नगरकोट घुम्न जाँदा हामी नै सेलिब्रिटी होइदिन्थ्यौँ । अनि हाम्रो घरलाई हेरेर सबैले भन्ने थिए, ‘इजरायल गएर राम्रो कमाइ गरिछे । भावना मिहेनती मान्छे हो । भाग्यमानी रहिछे । सौगात पनि भाग्यमानी रहेछन् ।’ आदि । मेरो घरको बगैचा, मार्वल, स्वीमिङ पुल, बैठक कोठा, सजावट र फर्निचर हेरेर छक्क मात्र पर्नेछैनन्, मेरो इज्जत पनि गर्नेछन् साराले । जुन कुराले मेरा इज्जत बढ्छ भने त्यो काम गर्न किन हिच्किचाउने ?
फेरि नारी मन न हो । यतिका वर्ष आफ्नो मनलाई बाँधेर राख्दा पनि मन विकृत हुँदो रहेछ । त्यो पनि पखालिन्छ । यस्तै सम्झिन थालिन् भावनाले ।
उनलाई लाग्यो, पैसा पानी हो, साबुन हो । यसले सबैथोक पखाल्छ । पाप पखाल्छ । मान्छेका काला दागहरुलाई पनि सुकिलो बनाएर टल्काइदिन्छ । भोलि म कारमा हिड्न थालेँ र काठमाडौमा पाँचतले घर भयो भने सबै मेरो गुणगान गाउँन थाल्छन् ।
यसै पनि म यत्तिकै नेपाल फर्किँदा मैले लगेका सानो तिनो पैसाले मेरो इज्जत ढाक्नेवाला छैन । मलाई ‘विदेश बसेर आएकी आइमाई’ भनेर यसै पनि कालो पगरी लगाइदिनेछन्, जुन म बाँचुन्जेल कहिल्यै पनि पखालिनेछैन ।
इयाले भावनालाई बेन्जामिनसँग बाहिर हिँड्न जान दिन थालिन् । कोठामा एक्लै छोड्ने गर्न थालिन् । बेन्जामिनको पथरियाको अपरेसन बिग्रिएर दुई पटक पेटको तल्लो भाग काटिएको थियो । पहिलोचोटि इयाको आदेशमा भावनाले गरम पानीले सेकिदिन थालिन त्यहाँ । त्यही कारण भयो भावनाको मातृत्व र नारीत्वको उच्छ्वास हुने कारण । बेन्जामिन भावनाका हात त्यो पुरानो घाउ भए ठाउँमा पुग्दा
अत्तालिन्थे । बेचैन हुन्थे ।
‘हजुरलाई दुख्छ कि ?’
‘दुख्दैन । बरु अलिक थिच न…..मास्तिर……’
‘हजुर यो उमेरमा पनि…..’
‘तिमी नजिक आउँदा मैले यो उमेर गुमाएर एउटा युवा उमेर धारण गरेँ जस्तो लाग्छ ।’
भावनाले बेन्जामिनले भने अनुसार ‘मास्तिर’ मालिस गर्र्थी । त्यसले उनीहरुको सबै सिमाना भत्काइदियो ।
‘मलाई त उठ्न गाह्रो हुन्छ । तिमी……..’
‘म नै……….’
भावनाको यो नयाँ प्रयोग थियो लोग्नेमान्छेमाथि जाइलाग्ने ।
उनले सौगतलाई यसरी व्यवहार गर्ने ज्ञान थिएन ।
त्यही उच्छ्वासले भावनालाई गर्भिणी बनायो । जीवनको यो मोड पनि आउँदो रहेछ, उनले सम्झिन् । आफ्नो बच्चा नजन्माउने आमा पनि भइन् उनी । अर्काको बच्चा जन्माउने आमा पनि भइन् उनी । बच्चा जन्माएर पनि आमा हुन नपाउने जीवनको यो मोडमा थिइन् भावना ।
०००
भावनाले छोरो जन्माएपछि सौगातसँग सम्पर्क गर्न अप्ठेरो भयो । बिस्तारै सम्पर्कविहीन भए भावना र सौगात । पहिले त भावनाले सौगातलाई म्यासेन्जरमा आफ्नो भिडियो देखाउने गर्थिन् । अब त त्यो शरीर देखाउन नहुने गरी बिग्रियो ।
एकान्तमा गएर म्यासेन्जरमा सौगातलाई देखाउने उनको शरीर बिटुलो मात्र होइन, कुरुप पनि भइसकेको थियो ।
के भएर तिम्रो पेट ठूलो भयो भनेर सौगातले प्रश्न गरेमा के भन्नु ? यही पीर थियो उनलाई ।
दिनैपिच्छे जस्तो सौगातसँग बोलेर मन हलुका पार्ने भावना सात महिनासम्म नबोल्दा उनको टाउको र मन कति गरो भयो होला ?
नौ महिना कष्टकरको पराकाष्टा भयो भावनालाई । रञ्जनाले पनि सौगातलाई सम्पर्क गरिन् । भावनाको कुरा गोप्य राख्न रञ्जनाले सहयोग गरेकी थिइन् । एक वर्षपछि भावनाको फेसबुक खुल्यो । डिएक्टिभ गरेकी थिइन् उनको फेसबुक । म्यासेन्जर खुल्यो । फोन खुल्यो ।
‘ए कल्लुई, कहाँ हराइस् यत्तिका दिन ? मेरो सातो गयो । यस्तो पनि हुन्छ ?’ अचानक म्यासेन्जरमा सौगत देखिए ।
‘केही होइन । म आएपछि सबै कुरा भन्छु । चिन्ता नलिनू ।’
‘हुँदैन, के भएको थियो अहिल्यै भन । के भएको थियो ? आफ्नो बिहे ख्वाइस् कि क्याहो ? अहिल्यै भन्नु पर्छ, के भएको थियो ?’ रुन्चेहाँसोमा मधुरो आवाज निकाले उनले ।
‘भन्छु, बाबा भन्छु । भोलि भन्छु । बिस्तारै भन्छु । अनि त्यताको के छ खबर ?’
‘के भएको थियो? अहिल्यै भन्नु पर्छ ।’ सौगातका आँखाभरि आँसु टल्पलिए ।
‘तपाईंकी मलाई केही भएको छैन । म तीन महिनामा आउँदै छु । अनि मीठा मीठा गफ गरौँला ।’
‘हुँदैन, के भएको थियो ? भन्नै पर्छ ।’
‘उसोभए हजुरले यहीँ आएर हेर्नु नि त के भएको थियो भनेर ! म भिजा पठाउँछु केही दिनभित्रमैमा । अब त शान्त भयो मन ?’
‘अहँ, मेरो छुट्टी मिल्दैन । परीक्षा चल्दै छ । बरु तिमी नै छिटो आऊ । म काठमाडौमा लिन आउँछु ।’
‘होइन, आउनु पर्छ । बेन्जामिनले भिजाको काम आजैदेखि गरिदिने भन्थे । नाइ नभन्नू । गाँठवाला हुन् क्या ! इजरायल हेर्न पाउँदा किन नाई भन्नुभएको ? आउने छोटो समयको लागि भए पनि । कतिखेर देखूँ भएको छ आँपूmलाई चाहिं !’
‘उसोभए हुन्छ नि त । तर बीस दिन मात्रै है ।’
‘हुन्छ ।’
टुटेको मन जोडिए जस्तो भयो ।
सौगात शान्त बने ।
‘भैगो तिमी सञ्चै छौ भने मलाई पुग्छ । तिमीलाई बिहे गर्दा पोलेको अगेनाको कोइला मेरो घुर्यानमा अझै छ । तिमीले बेहुली बनेर मेरो घरमा प्रवेश गर्दा टेकेका पाइला अभैm मेरो घरका छातीबाट मेटिएका छैनन् । तिमिले बोलेको आवाज म आफ्ना आँखाका नानी र कानबाट सुनिरेहको हुन्छु । यस्तो मेरो छातीमा किलो ठोक्यौ भन्ने लाग्यो । अब त हाम्रो सम्बन्ध इतिहास भएछ भन्ने लाग्थ्यो ।……….’ सौगातको बोली अबरुद्ध भयो । फोन पनि काटियो ।
बेञ्जामिनले सौगतलाई इजरायलमै बोलाउन सबै खर्चको व्यवस्था पनि गर्यो ।
योजनाअनुसार नै सौगात इजरायल गए । विमानस्थलमा लिन भावना र इया गए । सौगातले भावनालाई च्याप्पै समाते,
आलिङनमा हाले र बेस्सरी चुम्बन गरे । इया खुसी भइन् ।
बेन्जामिनले भावना र सौगातलाई सँगै बस्ने व्यवस्था मिलाए । खानापछि सुत्ने कोठामा गए भावाना र सौगात ।
‘भावना, तिम्रा बुबु के भएर झुम्रा जस्ता भए ? बिरामी प¥यौ कि क्या हो ? भन्नु पर्दैन ?’
‘तपाईंलाई पीर पर्छ भनेर नभनेकी । शरीर सबैतिर दुख्छ पनि । म कसरी भनौँ हजुरले केही दिन मिल्दैन भनेर ?’
‘मेरो सबैथोक भनेकै तिमी हौ । केही दिन त के केही वर्ष कुर्न सक्छु ।’
यसरी बेन्जामिनले उनीहरुको पुनर्मिलन गराए । बरु बेन्जामिनले सौगातलाई इजरायलका प्रमुख शहरहरु घुमाए पन्ध्र दिनमा । ती साथी साथी जस्ता भए । ती मित्र भए ।
‘यो सानो बच्चा कति रोइरहेको छ ! तिमीले हेरिदेऊ न भावना ।’ सौगातलाई त्यो सानो बच्चा रोएकोमा दुःख लाग्यो ।
‘बेन्जामिनको नाति । बुहारी बच्चा जन्माउने बित्तिकै परलोक भई । अनि हजुरबा आमाले मैले हेरचाह गर्छु भनेर यहाँ ल्याए । मैले नै हेरचाह गरेँ । उनीहरु मदेखि धन्य छन् ।’
‘आमाको दूध नखाई बच्चा कसरी बाँच्छ ?’ सौगातलाई त्यो बच्चाको माया लाग्यो, र आश्चार्य पनि ।
‘हजुर, मलाई नि अचम्म लागेको छ । मैले त्यो नानीलाई भुल्याउन मेरो दूधको मुन्टो चुसाउन थालेँ । उसले जोडले तानिरहन्थ्यो । समातिरहन्थ्यो । केही दिनमा दूध आउन थाल्यो । सबै अचम्ममा परे । यी हेर्नु न, उसले दूध खाएर लथ्रकलथ्रक परेका छन् यी ।’ उसले आप्mना झुम्रा र तन्किएका दुधका मुन्टा देखाई ।
सौगातले प्रश्न गरेनन् । कारण, उनी भावनालाई औधी विश्वास र प्रेम गर्थे ।
पन्ध्र दिन बित्यो । भावना र सौगात धेरै ठाउँमा घुमे । दिन ढल्नै लाग्दा ‘केटो रोयो’ भन्दै भावना केही छिटो घर फर्किन खोज्थिन् । अनि नानीलाई देखे पछि खुसी हुन्थिन् । बेन्जामिन र इया त हर्षले गदगद हुन्थे ।
‘ममताकी खानी मेरी भावना ।’ भावनाले त्यो बच्चालाई दूधको मुन्टो चुसाउँदा सौगात मनमनै यसो भन्थे ।
भावना र सौगात काठमाडौ फर्किने समय पनि आयो । धेरैबेरदेखि भावनाले त्यो नानीलाई काखबाट ओरालेकी थिइनन् । यस्ता साना साना नानीहरु छोडेर नेपालबाट विदेशिने महिलाहरुको ताँती कति होला? तिनलाई पनि त आफ्नो बच्चाको माया कति लाग्दो हो ? तर पनि छोडेर हिँडछन् त ! के खास छ भावनामा र यो ममताले उसलाई बाँधिराख्ने?
यत्तिकैमा बिदाईको समय भयो ।
‘भावाना, अब तिमी आउँदैनौ होला फर्केर यहाँ । हामी तिमीहरुलाई केही अफर गर्छौं, नाई नभन्नु ल ?’ इया र बेञ्जामिनले भावना र सौगातलाई प्रस्ताव राखे ।
‘भइहाल्छ नि ।’ दुवैले दाँत देखाएर स्वीकृति जनाए ।
‘काठमाडौँमा घर किन्ने पैसाको बैँक ड्राफ्ट । तपाईँहरु वहाँ पुगेपछि नेपाल राष्ट्रबैँकबाट झिक्नू । बूढानीलकण्ठ नजिक घर हेर्नू । हामीलाई पनि मन परेको ठाउँ हो त्यो । भगवान बस्ने ठाउँ । र महिनाको एक हजार डलरका दरले भावनालाई हामी बाँचुञ्जेल पैसा पठाउँछौँ । त्यहीँ भावनाको खातामा । र यो अहिलेलाई खर्च काठमाडौ फर्किने’, इयाले पाँच हजार नगद अमेरिकी डलर र पाँच लाख अमेरिकी डलरको ड्राप्mट भावनाको हातमा थमाई ।
सौगातको मन तैरिन थाल्यो । यत्तिका धेरै पैसा यिनले किन दिए? भावनाले यिनीहरुको मन जितेर यिनीहरुको ठूलै सम्पत्ति हाता पारी, बाठी छे । आखिरी बूढी कसकी ? इजरायल जानेहरुले यत्तिका कमाउँछन् ? म त लास्टै बुद्धु रहेछु । बित्थामा उनलाई रोक्न खोजेँ ।
जीवनमा खुशी ल्याउनु छ भने कैयन कुराहरुमा बिनासर्त सम्झौत गर्नु पर्छ । त्यही गरे सौगातले ।
बेञ्जामिनले एयरपोर्टमा गएर आँसु र खुसीको बिदाई गरे भावना र सौगातलाई ।
०००
काठमाडौंमा ओर्लिएपछि सौगात र भावना चावहिलमा न्यू रोयल होटलमा सिधै गएर बसे ।
एक महिनाको पर्खाइपछि उनीहरुले बूढानीलकण्ठमा घर किने । उनीहरुको समयचक्र त्यही घरमा आत्मा भएर रुमल्लिँदै र घुम्दै
रह्यो ।
भवनाले फेरि कहिल्यै इजराइल जानु परेन । महिनै पिच्छे उनको खातामा इजरायलबाट पैसा जम्मा हुन्छ । उनीसँग पैसा प्रशस्त छ । घर छ । गाडी छ । सेयर बजार उनको कब्जामा छ । बगैँचा छ, स्वीमिङ पुल छ, फूलबारी छ, अग्लो घर छ । स्ट्रेट गरेको कपाल, कालो गगल्स र फ्रान्समा बनेका लुगा र गहना छन् ।
त्यो सौगात र यो सौगातमा आकाशपाताल अन्तर भयो । जादु भयो । सबै यसै भन्थे ।
समय बित्दै गयो ।
व्यापार छ भन्दै राति अवेर आउँथिन् भावना ।
विदेशबाट आएपछि सौगात भावनाको साथी कहिल्यै भएनन् । न त भावना सौगातको ।
‘आज चन्द्रागिरी जानु छ जग्गा किन्नेहरुलाई लिएर । ’ब्रेनवास‘ त गर्नैपर्यो ।’ बिहान आठ बजे उठेर सौगातले तयार पारेको खाना खान बस्दै गर्दा भावनाको मुखबाट त्यो दिनको दिनचर्या निस्कियो ।
‘अरु अरु गएर तिमी नजाँदा हुँदैन ?’
‘तपार्इंले आजको युगको सोच राख्न सक्नुहुन्न । कक्षामा पढाएजस्तो सजिलो छैन यो दुनियाँ । र हजुरको आइडिया ‘एक्सपायर’ भइसक्यो । यो समयलाई फिट हुन्न । तर पनि म हजुरलाई माया र सम्मान गर्छु । तपाईंको हिजोको आइडिया पनि काम लाग्ने थिएन । मलाई विदेश नजानु भन्ने पनि यहाँकै आइडिया हो नि, होइन ? म नगएकी भए, के हुन्थ्यो ? तपाईं महिनामा बीस हजारको तलब थापेर रमाउनु हुन्थ्यो, म पाँच सयका कुर्ता सलवार किनिदिनु न भनेर दश दिन लगाएर तपाईंलाई मनाइरहनु पथ्र्यो । अनि तपाईं भन्नु हुन्थ्यो — अस्तिको महिना मात्रै होइन र किनमेल गरेको ? त्यो वाइयात जिन्दगी हजुरले नसम्झेकै वेस् ।’
खना खाएर भावना कारमा हुइकिइन्।
भावनाले छोरीलाई कहिल्यै स्कूल पुर्याइनन् । न त लिन जान्थिन् । एउटा स्कुटर किनिदिएर छोरीलाई पैसामा माया साटिन् । हप्तै पिच्छे पार्टीमा जाने भइन् । सेयर बजारका, जग्गाका माफियाहरु उनका साथी भए ।
राति ठुलो साँझमा मात्र घर आउने भावनाको दिनचर्या बनिसकेको थियो । अर्धहोसमा उनी घरमा आउँथिन् ।
‘मापसे जाँच गर्ने पुलिस पनि कहाँ मुन्टेछन् आजकल !’ सौगात मुर्मुरिन्थे ।
उनी भावनालाई डोर्याएर ओछ्यानमा लान्थे । लुगा र जुत्ता फुकालिदिन्थे । ब्ल्याङकेट ओढाइदिन्थे ।
‘ए…..यसो पनि पो अब त !’ भावनालाई ओछ्यानमा लगेर लुगा ओढाउँदै गर्दा भावनाको पैण्टको माथिको भागमा लागेका सेता चिसा टाटाले सौगातको मन उम्लिन्थ्यो ।
एक्लै आवेग पस्किन्थे ।
‘खोलाको पानीलाई जसले जति दुषित पारे पनि त्यो पवित्रै रहन्छ । म भावनालाई यही सम्झौँ ?’ सौगातको मन निकै अस्थिर भइसकेको थियो ।
उनी भावनाका कागजपत्र प्राय चलाउँदैन थिए । खोजी पनि गर्दैन
थिए । एक दिन भावनाको राखनकोठामा उनको नजर एउटा फेन्सी फाइलमा पर्यो । त्यहाँ ‘जेरुसेलम नेश्नल हस्पिटल’ ले दिएको कागज र एउटा फोटो थियो । त्यस फोटाको मुनि लेखिएको थियो — ‘ब्लेस यु फर वेवि सन् ।’ अर्थात् ‘छोरो जन्माइदिएकोमा तिमीलाई कोटिकोटि आशीर्वाद छ ।’
त्यो भावना र बेन्जामिनको घरमा भएको सानो बच्चाको फोटो थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।