“कुनै पनि कुरोको निरन्तरता रहेन ममा । हाँस्नु पनि सकिनँ निरन्तर। रुनु पनि सकिनँ निरन्तर । खुसी जाहेर गर्नै सकिनँ निरन्तर । दुस्ख पनि जाहेर गर्नै सकिनँ निरन्तर । समयले समय दिएन मलाई ।”
कोठाभित्रको शून्यतामा एक्लो रमेश विचारमग्न छ । उर्मिला माइत गएकी केही दिनभित्रै उसले यस्तै कुरा सोच्न थालेको छ। ठण्डा महिनामा दक्षिण भारत घुम्न चाहन्थी उर्मिला। रमेश कार्यालयको कार्यले बाधा दिएको र अर्थको न्यूनता रहेको कुरा गर्थ्यो । ठुस्किएकी थिई उर्मिला ।
“के भइसकेँ म ? रित्तो अनुभव गर्दैछु रित्तो। कोलाहलभित्र पनि शून्यता छाम्दै छु अदृष्टिगत । एकलो अनुभव गर्दैछु एक्लो । भीडभित्र । भीडबाहिर अचेल ।”
रमेशका विचारहरू कुद्न थाले । स्वास्नीको वाञ्छा पूर्ति गर्न नसक्ने नोकरीप्रति रिस उठ्यो उसलाई । उर्मिलालाई सम्झियो । उर्मिलाको इच्छालाई सम्झियो । अपूर्ण इच्छाहरूको ताँती देखेर बिच्छुक लागेको ठान्यो जिन्दगीलाई ।
“आस्था चर्केर फुटेको छ ऐनाझैँ । टुक्रा-टुक्रा आस्थामा म पनि टुक्रा-टुक्रा भएछु । अर्कै-धेरै-अनेक बने छु । सिङ्गोबाट, ठूलोबाट आकारमा सानो र विविध भएछु । तर म म नै रहेँ सबै टुक्रामा ।”
विचार चर्कियो उसको । भित्तामा झुन्डिएको क्यालेण्डरमा गणेश,पार्वती र शिवजी देखेर केही आश्वस्त भयो ऊ ।
“तर मेरा ईश्वरहरू टुक्रिएनन्। अर्कै-धेरै-अनेक बनेनन् । मेरा विचारहरू पनि टुक्रिएनन् । तर उर्मिला र उसका चाहनाहरू ?”
टिकटिक आवाजले घडीलाई हिँडाइरहेको थियो। रमेशको आँखा घडीमा पर्यो ।
“म छाडिएको कि मैले छाडेको ? खुट्याउन सकेको छैनँ ।” उसको विचार तन्कियो, “समय चिप्लो छ खोलाभित्रको जिउँदो माछाझैँ। ” बालासन खोलामा माछा मारेर आएको ऊ साथीहरूसित आजै । टेबलको प्लेटमा छन् काँचा माछाहरू । विचार करायो उसको, “नीला तूतू र ब्लास्टिङ छर्केर,पड्काएर पर्लक्कै पल्टाउन सकिएन समयलाई माछाझैँ । चिप्लोमात्रै पो रहेछ समय माछाझैँ । तर माछाजस्तै पानीमनि मात्र बाँच्ने कहाँ रहेछ र समयरु अन्तहीन चक्रजस्तो घुम्ने समयले मलाई पनि घुमायो। ”
रमेश विचार उक्लिरहेको छ । टिभी खुल्लै छ। तर केही आएको छैन । टेबलमा राखिएको माछाको गन्ध छ कोठामा । लखतरान शरीर अल्छे भएको अनुभव भइरहेछ रमेशलाई । थाकेका तिघ्रा केही दुखेको अनुभव गर्दै उठ्यो रमेश पलङबाट । टिभी मारेर टेबलको माछा बोकेर भान्साकोठामा पस्यो । कोठाले गन्ध सहनु परेन। फ्रिजमा हालेर माछालाई कक्रायो । फ्रिजबाट एक बोतल हेवार्ड्स ५००० बियर झिकेर गिलासको आयातनभरि खानायो। गिलाससितै आएर कोठामा पिउन थाल्यो । अहिले रमेशलाई केही शीतलता अनुभव भयो ।
भोलिपल्ट । ऊ कार्यालय गयो बाटोमा विचार उक्लँदै –“उर्मिलाले किन बुझ्दिन अचेल मलाई ? उसले भनेकी सबै मान्नुपर्ने किन हठ गर्छे ऊ ? बिहे भएको डेढ वर्ष भइसक्दा पनि ऊ ममताले स्पर्श नगरोस् अहिले भन्छे। तीन वर्ष ? कति लामो अवधि ? बुवा बन्नलाई अझै डेढ वर्ष पर्खिन पर्छ मैले । मेरो उत्कण्ठा कुण्ठा भएको के थाहा उसलाई ?”
एकजना पर्यटक क्यामेराले कञ्चनजङ्घा खिँचिरहेको छ। रमेशले देखिरहेको छ।
“घुम्नुमात्रै जिन्दगी हो र ? क्यामेराको लेन्सबाट कञ्चनजङ्घा चियाउने पर्यटकका आँखाहरूभरि उफ्रिएको आस्वाद खोज्छे उर्मिला पनि । टाढाबाट पो सुन्दरता हो आँखालाई कञ्चनजङ्घा । नजिकमा कति चिसो र ठिहियाउने छ त्यो । ”
रमेश हिँडिरहेछ विचार। ऊ सिँढ़ी उक्लिरहेछ, उक्लिरहेछ विचार। विचारले उसलाई विचारसम्म पुर्याएको छ अहिले। ऊ त जिन्दगीमात्रै हो । उपलब्धिहरू हुन् उसका विचारहरू । उर्मिला नै सबथोक हो र पनि अहिले केही होइन उर्मिला । विचारले उर्मिला न्यानो भए पनि अहिले नरमाइलो भएकी छ विचारले ।
किरिङमिरिङ विचारहरूभित्र सिरिङसिरिङ अनुभूतिहरू पनि छन् उसका। आस्वादपूर्ण केही। विषादपूर्ण केही। रमेश हिँडिरहेछ। हिँडिरहेछ विचार पनि । उसका विचारहरू विचार गरेर विचारमै विचरित र निर्भरित छन्।
साँझ । थुप्रिएको भीडसित ठोक्किँदै बजार पुग्यो रमेश। कार्यालयबाट घर जानै मन लागेन उसलाई। सधैँझैँ उर्मिलाले बनाएकी तातो चिया नपाउने तथ्यले पिल्सिएर सीधै चिया दोकानभित्र भित्रियो ऊ । तातो चियाले जिब्रो पिल्सायो। दोकानभित्र जुलेबीजस्तै ओठ भएकी युवतीले जुलेबी खाँदै थिई । उर्मिला सम्झियो। उर्मिला देख्यो रमेशले। उर्मिला थिइन त्यो युवती। अर्कै थिई । तर उर्मिलाले जस्तै जुलेबी खाँदै थिई। केही गुलियो अनुभूति बोक्यो रमेशले । युवतीले रमेशलाई हेरी। दुवैका आँखाहरू ठोकिए । जुलेबी टुक्रेर झर्यो टेबलमाथि । युवती जुलेबी रङ्गकी भई ।
“कस्तो उर्मिलाले जस्तै झारेकी जुलेबी ?” चियामा विचार पियो रमेशले। पिएर निस्कियो ऊ दोकानबाट। घर गएर पकाउने इच्छै थिएन । चौरस्ता पुग्यो ऊ । त्यहाँ बसेर रमिता चियायो केही क्षण। उर्मिलाबिनाको चौरस्तामा विचार उक्लियो –“दार्जीलिङ कार्निभलमा कस्तो भीड थियो यहाँ। आनन्दित थियौँ म र उर्मिला पनि । उर्मिला साङ्गीतिक कार्यक्रममा नाच्न खोजेकी थिई भीडभित्र पसेर । लाजले निलेको थियो मलाई । भोकाएर हामीले रात्रिको भोजन ग्लेनेरीजमा खाएका थियौँ । घरै जान नमान्ने मजा मानेकी थिई उसले। अहिले कति नीरस चौरस्ता ?”
विचारसित बेञ्चबाट उठेर गयो सीधै ग्लेनेरीजभित्र ऊ । दुई पेग बकार्डी तानेपछि विचारले तान्यो उसलाई, “यहीँ बसेका थियौँ म र उर्मिला । उसले पिएकी थिई डुएट जीन दुई पेग । घर पुग्न लाग्दा बोक्नु परेको थियो उसलाई। ” रमेश खाना रेस्टुराँमै खाएर घर पुग्यो नौ बजे राति । सुनसान कोठामा एकलो रमेश चुपचाप थियो पलङमा । गौँथलीलाई झैँ उर्मिलालाई लिनु जानुपर्ने हो कि रमेश चामेजस्तो ? रमेशभित्र विचार आयो। विचारभित्र रमेश थियो। उर्मिलाबिनाको पलङमा निद्राहीन रमेश सोचिरह्यो ।
“उर्मिलाले के सोच्छे मलाई ? तीन वर्षसम्म सोख पूरा गरेर त जीवनको कुनै उपलब्धि हुँदैन । अर्थको नाश र आयुको ह्रासमात्रै हुन्छ। राश भए पो रुपियाँ ? वर्तमानमा रमाएर भविष्यमा दुख्नु पनि जीवन होइन। तीन वर्षपछि नै सन्तानसुख प्राप्त हुन्छ भन्ने पनि कुनै ग्यारन्टी छैन। पाँच वर्ष लाग्न सक्छ। सात वर्ष पनि पुग्न सक्छ। धेरै वर्ष सन्तानहीन दुखजिलो भोग्नेहरू छन् थुप्रै । मध्यान्ह र गोधुलीको घामको तापमा केही पार्थक्य त हुन्छ नै । जीवन सोख मात्र त होइन नि । कर्तव्य पालन गर्नु र समयनिष्ठ बन्न सक्नुमा जीवन जीवनजस्तो होला केही। सोचाइ गलत छ उर्मिलाको। दक्षिण भारत घुम्न पाइन भनेर मसित भनावैरी गरेर ठुस्किएर माइत जानुले राम्रो लक्षण देखाउँदैन । के भएकी ऊ ? खानु,लाउनु र मजा गर्नु मात्र जीवनको मोज हो र ? जीवन फेरि कति दिनलाई ? आयुको सीमिततामा समय घुमेर जान्छ। फेरि आयुको सीमितताभरि त हो जिन्दगी ! सीमित आयुको जिन्दगीमा सबै कुरा,धेरै कुरा गरिराख्नुपर्छ । घुमिराख्नुपर्छ । एक प्रकारले उर्मिला ठीकै छे। अब भविष्य निधि खाताबाट अग्रिम लिएरै पनि उर्मिलालाई दक्षिण भारत घुमाउनुपर्ला। छुट्टी त लिनै पर्यो।”
उपाय सोचेर रमेशलाई सन्चो भयो केही । बत्ती मारेर सुत्यो ऊ । कल्पना र विचारले सपना देखाए । रमेश र उर्मिला दक्षिण भारत पुगे सपनामा।
ठण्डा महिनामा उर्मिला र रमेश दक्षिण भारत साँच्चै घुम्दै थिए बिपनामा।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।