बसन्तपुरको त्यो खुल्ला ठाउँ । बेन्चमा लहरै बसेका जोडा जोडीहरु । त्यही पर पूर्वतिर ईँटाबाट निर्मित एउटा घुमाउरो बिश्रामस्थल । त्यो त्यही बिश्राम्स्थल हो जहाँ बेलुकी ५ बजे हर दिन जस्मिना ल्यापटपमा काम गर्दै गरेको अवस्थामा भेटिन्थिन् । जस्मिना युवाहरुको मनमा हलचल ल्याउन सक्ने एउटी सुन्दरी केटी ! बैँसले धपक्क बलेकी ! उसको रुपमा नलोभिने सायदै कोही थियो होला ! गोला दुई नयन, लाली पोतिएको गाला, सलक्क परेको चेहरा ! उचाई त्यस्तै ५ फिट ३ इन्च हुँदो हो ।

“म यहाँ तपाईँको छेउमा बस्न सक्छु ?”

हातमा रातो हेलमेट बोकेको एउटा युवाले ३ महिना अगाडि जस्मिनासँग केही जिस्कदो पारामा साेधेको प्रश्न थियो यो । स्पोर्ट सुज, कलेजी रङको लेदरको ज्याकेट, जिन्स पाइण्ट, झट्ट हेर्दा उसलाइ त्यस्तै ३० वर्षको देखिन्थ्यो । उचाई चाहिँ लगभग साढे ५ फिट !

“मिस्टर……!”

” मलाई सन्जय भन्छन !” जस्मिनालाई उछिन्दै उसले बीचैमा आफ्नो परिचय दिएथ्यो । त्यसपछि जस्मिना बोलेकी थिई, “सन्जयजी, ठाउँ उता पनि जति छ ! यहीँ किन नि ?”

“परिचय पनि गरौँ कि भनेर !”

सन्जयको कुरा सुन्नासाथ जस्मिनाले केही कठोर आवाजमा भनिन, “नो ! तपाईं उता जानुस् !”

त्यसपछि सन्जय निरास बनेर अलि पर गएर बसेथ्यो । त्यो रात सन्जयलाई निन्द्रा लागेन । खाटमा बेहाल बनेर पल्टिरह्यो ।

“ऐ, के भयो तँलाई ? आज त टिभीसिभी केही हेर्न आइनस् त !”, प्रश्न गर्ने उनकै मम्मी थिइन् ।

“मलाई सन्चो छैन ।”

“खाना खान आइज् ।”

“होस्, खान्नँ ।”

“आ…… जेसुकै गर ।”, यति भनेर मम्मीचाहिँ ढ्याम्म ढोका लगाएर गइन् । त्यसपछि सन्जयले टेबलबाट मोबाइल उठाएर त्यसका नम्बरहरु थिच्यो । मोबाइल कानमा लग्यो । केही क्षणमै उताबाट आवाज आयो, “ए सन्जय, भन किन कल गरिस् ?”

“मलाई टेन्सन भैरा छ यार !”

“के कारणले ?”

“आज एउटा केटीले लास्ट इन्सल्ट गर्‍यो यार !”

“त्यसको नाम ?”

“जस्मिना !”

“तेरो बारेमा सबै कुरा थहा नपाएर होला ! …. नत्र तँ जस्तो हेण्ड्सम र सम्पतिको खजानालाई पाउँदा जो पनि मरिमेट्छ बुझिस !”

“कुरा त सही नै हो दिपेश ।”

“तेरो गेटअप कस्तो थियो ?”

“ठिकै !”

“हातमा हेल्मेट थियो कि थिएन ?”

“थियो ।”

“गलामा त्यो ३ तोलाको सुनको सिक्री ?”

“त्यो पनि थियो ।”

“त्यसले देख्यो ?”

“मलाई थहा भएन !”

“पख ,भोलि फेरि जाउँला ।”

###

“बहिनी !”

“हजुर दाजु !”

हातमा हेल्मेट बोकेर ठिङ उभिएको सन्जयले थर्मसमा चिया बोकी हिँड्ने एउटी केटीलाई साेध्यो, “यहाँ एक जना केटी सधैँ ल्याप्टप चलाएर बस्थिन् । केही दिनदेखि आउन छोडिन् । उसको बारेमा केही थहा छ ?”

“उसको नाम जस्मिना हो दाजु !”

“अ… हो हो ! केही थाहा छ ?”

“यहाँ धेरैले डिस्टर्ब गर्‍यो भनेर आउनै छोडिन् ।”

“कता गइन् होला, थाहा छ ?”

“उसको घर चोभार हो । आजकल उनी चोभार डाँडामा एउटा भेरोनिका रिसोर्ट छ, त्यतै समय बिताउछिन् रे ।”

“उफ्… यति थाहा पाएर कस्तो रिलिफ भयो मलाई”, सन्जयले लामो श्वास फेर्दै यति भनेपछि थर्मसवाली फिस्स मुस्काई र जिस्कदो पारामा भनी, “के हो, माया नै बसिसक्यो कि क्या हो ?”

सन्जय कोठामा पस्ना साथ खाटमा उत्तानो पर्‍यो । आँखामा जस्मिनाको चेहरा सल्बलायो । चम्किलो अनुहार र मुस्काइरहेकी जस्मिनाको कल्पनामा बिलाउँदै थियो सन्जय । ठिक त्यहीबेला मोबाइल करायो । झस्क्यो । हतार हतार मोबाइल कानमा लग्यो, “दिपेश, भन कहाँबाट ?”

“म आफ्नै कोठामा छु । जस्मिनाको बारेमा केही थहा पाइस् त ?”

“पूरै पत्तो लगाइसकेँ नि ।”

“भेटिस् त ?”

“भोलि जाँदैछु भेट्न ।”

“साला, पछि लागेपछि त सिध्याएरै छोड्छस है ?”

“सिध्याउन त बाँकी नै छ नि यार ।”

यसपछि दुबैतिर हाँसेको सुनियो । केही क्षणमै सन्जयले मोबाइल कानबाट हटायो र टेबलमा राख्यो । खाटमा उत्तानो परेको उसको आँखामा जस्मिनाको सलक्क परेको चेहरा सल्बलाउन थाल्यो । त्यो चेहरा जसले उसलाई भित्रभित्रै बसिभूत पार्थ्यो । कोपर्थ्यो र दार्थ्यो । ऊ जस्मिनाको चेहरामा किन यति साह्रो सम्मोहित भइराख्थ्यो ? उसलाई नै थहा थिएन ।

सायद छ महिना अगाडि, विशाल बजारको ठिक सामुन्ने, दमकलको आडैमा आफ्नो बाइकमा अडेसिएर सन्जय मोबाइल चलाउँदै थियो । ठिक त्यही बेला हाफ मिनिस्कर्ट लगाएकी एउटी केटी अचानक ठोक्किन आइपुगी । तिनी थिइन् – जस्मिना । त्यसबेला लगभग जस्मिनाको आधा शरीर सन्जयको काखमा घोप्टेको अवस्थामा थियो । उसको नजर निहुरी राखेको जस्मिनाको गोरो गर्धनमा परिरहेथ्यो । पछि जस्मिना ‘सरी’ भन्दै फटाफट त्यहाँबाट हिँडिन् ।

सन्जयको माइण्ड भने बेकाबु भइसकेको थियो । आफ्नो बाइक त्यहीँ छोडेर सन्जय नाउँको बहुला जस्मिनालाई पच्छ्याउनतिर लाग्यो । पश्चिमतिर केही पर पुगेपछि जस्मिना ईँटाले बनेको घुमाउरो बिश्रामस्थलमा बसिन । केही पर उभिएर सन्जयले निहालिरह्यो । ठिक त्यहिबेला हातमा थर्मस बोकिकी एउटि केटी आइन् र जस्मिनासँग कुरा गर्न थालिन् । त्यसबेलासम्म चतुर सन्जयले भने जस्मिनाको सुन्दर आकृतिलाई मोबाइलको स्क्रीनमा कब्जा गरिसकेको थियो !

========

चोभार, भेरोनिका रिसोर्ट ! दुई जना मात्रै, जस्मिना र सन्जय । गार्डेनको बीचमा एउटा आकर्षक खरको छाप्रो । छाप्रोमुनि बेतको टेबल र चारवटा बेतकै घुमाउरो कुर्सी ।

“हजुर त कस्तो जिद्दी मान्छे ! पच्छ्याउँदै यहीँसम्म आउनु भएछ ।”, जस्मिनाले आफ्नो अगाडिको बेतको कुर्सीमा बसेको सन्जयलाई हेर्दै नहेरी ल्यापटपको माउस प्याडमा औँला चलाउँदै भनिन् ।

“मन परेको कुरा पाउन म जहाँ पनि धाउन तयार छु ।”, सन्जयले गम्भीर आवाजमा भन्यो ।

“वा वा ! मन पनि पराइसक्नु भो ?”, जस्मिना मज्जाले हाँसिन् । ध्यान भने ल्यापटपमै थियो ।

“पत्यार लागेन ?”

अब भने जस्मिनाले ल्यापटपबाट ध्यान हटाइन । हैरान जस्तो बनेर लामो श्वास फेरिन । हैरान भएर सन्जयलाई हेर्दै साेधिन्, “सर, मेरो बारेमा केही थाहा छ हजुरलाई ? ”

“मलाइ मन पर्यो । अब अरु कुराको के नै आवश्यक्ता पर्‍यो र !”

“उफ ! प्रेम अन्धो हुन्छ भनेको सुनेथेँ, प्रमाण त आफ्नै अगाडि पो भेटियो त !”

सन्जय गम्भीर मुद्रामा बोल्यो, “म तिम्रो प्रेममा परेँ जस्मिना ।”

“अब मैले के गर्नु पर्‍यो त ?”, लापर्बाहीपूर्वक प्रश्न गर्दै जस्मिनाले ल्यापटप बन्द गरिन र त्यसलाई आफ्नो ब्यागमा राखिन् । त्यसपछि एकै झट्कामा उठिन । त्यसबेला भरखर घाम अस्ताउँदै थियो ।

“बसेर केहीबेर कुरा गरौँ न ।” सन्जयले अनुरोध गर्‍यो ।

“सन्जयजी, मैले कुरा बुझेँ । सरी ! आई ह्याब नो टाइम ।”

त्यसपछि जस्मिना गार्डेनको छेउको कलात्मक सिँढी ओर्लिन थालिन् । छेउछाउमा धुपीको रुख अनि फूलका ठुला ठुला बोटहरु ! सन्जय पनि पछि लाग्यो । निक्कै लामो सिँढी ओर्लिसकेपछि बाटो बायाँतिर मोडियो । झिसमिसे रात परिसकेको थियो । अचानक सन्जयले जस्मिनाको हात समायो । जस्मिना नराम्ररी झस्किन् । त्यसपछि दौडिइन् । अलि पर एउटा टायलले छाएको एउटा ग्रामीण ढाँचाको घर थियो । हतार हतार जस्मिना त्यहाँभित्र पसिन् । सन्जय पनि पस्यो । सन्जयले भित्र पस्ना साथ जस्मिनालाई अठ्यायो । उसले आवेशमा जस्मिनाको गालामा आफ्नो ओठ जोत्यो ।

त्यसपछि के भयो ?

=========

“त्यसपछि के भयो ?”

यो प्रश्न प्रहरी प्रमुखले आफ्नो अगाडिको कुर्सीमा लगभग घायल जस्तो अवस्थामा बसेको सन्जयलाई साेधेको थियो ।

“कोठाभित्र पहिल्यै तीन जना केटा र एक जना केटी थिए । तिनीहरुले मलाइ आक्रमण गरे ।”

“तिम्रो के के लुटियो ?”

“गलाको तीन तोलाको सुनको सिक्री, डेड तोलाको सुनको औँठी, एक लाख तीस हजार पर्ने मोबाइल, मनी ब्यागमा भएको तीन हजार डलर र साठी हजार नेपाली रुपैया ।”

त्यसैबेला हातमा फाइल बोकेर इन्स्पेक्टरले कोठामा प्रबेश गर्‍यो । उसले फाइल पल्टाउदै भन्यो, “एसपी साब, जस्मिना नाम गरेकी केटीको फोटो यही हो । उसको असली नाम फूलमाया हो ।”

“मानिस लुट्ने काममा कहिलेदेखि संलग्न भएको देखिन्छ ?”

एसपीको प्रश्नको जवाफ दिँदै इन्स्पेक्टरले भन्यो, “लगभग ५ वर्षदेखि । यो बीचमा यिनको समूहले सत्र जना विदेशी र एक सय उन्नाइस जना नेपाली केटाहरुलाई एउटै शैली अपनाएर लुटिसकेका छन् ।”

“सर्च अभियानको रिपोर्ट के आयो ?”, इन्स्पेक्टरले हतारिँदै जवाफ दियो, “त्यो चिया बेचिहिँड्ने केटी बसन्तपुरबाट गायब भइसकेकी छे । भेरोनिका रिसोर्टको म्यानेजरलाई शोधपुछ हुँदैछ सर ।”

सन्जयले सुकसुकाउँदै भन्यो, “सर, म नराम्ररी लुटिएँ । मेरो उद्दार गरिदिनुस् सर । म कसरी घर जानू अब …. !”

त्यसपछि सन्जय घोप्टो परेर रुन थाल्यो । उसको आँखामा ऊ लुटिदाको दृश्य रिल घुमे झैँ सल्बलाउन थाल्यो …..

“ए जस्मिना, त्यो सुनको सिक्री झिक त्यसको घाँटीबाट ।” एउटा झ्याम्ले कपाल पालेकोले सन्जयको दुई हातलाई घुँडाले थिच्दै जस्मिनालाई भनेथ्यो । दुई जना केटाहरु सन्जयलाई नियन्त्रणमा लिँदै पाइण्टको गोजीबाट मनीब्याग झिक्दै थिए ……. टिसर्ट लगाएकी डल्ली डल्ली केटीचाहिँ सन्जयको हातमा लगाएको औँठी निकाल्न व्यस्त थिइन् ……

अन्तमा सबै कुरा लुटिसकेपछि जस्मिनाले लाठी उठाएर सन्जयको टाउकोमा प्रहार गरेकी थिई । तब सन्जयले होश गुमाउँदै गयो । अन्धकारबीच उसले जस्मिनाको मधुरो आवाज सुन्यो, “ए सन्ते, यसलाई घारीमा लगेर फाल्देउ ।”

“पर्दैन ! यो मरिसक्यो । बरु छिटो भागुँ !”

त्यसपछि सन्जयले पूरै होश गुमायो । एक प्रकारले मरे जस्तै भयो ……. आवाजहरु विस्तारै सुन्न छोड्यो ……. अनन्त कता कता ….. अन्धकार ! पूर्ण सुनसान !!