एकपटक नेपालका मुख्य राजनीतिक पार्टीहरूले आयोजना गरेको सर्वदलीय भोजमा आएका भरौटेहरूले पार्टीको ककटेल भोज अजीर्ण हुन्जेल खाएछन् । एक त अल्कोहलको नशामा चुर अर्कोतर्फ धेरै खाएका कारण लगातार छेरपाटे लागेर तिनीहरूको अल्पायुमै मृत्यु भएछ । त्यसपछि तिनलाई यमदूत आएर घोक्र्याउँदै मुन्ट्याउँदै यमलोकमा लगेछन् । यमराजले विदेशीको स्वार्थानुसार नाच्ने नेपालका नेताहरूका कुख्यात भरौटेहरूका बारेमा पहिलेदेखि नै सुनेका थिए र उनी भरौटेहरूलाई असाध्यै घृणा गर्थे । त्यसैले उनले अरू सबैलाई चित्रगुप्तको राय लिएर सजाय दिनुपर्ने नियम भए पनि भरौटेहरूलाई भने पहिलेदेखि नै विनासुनुवाइ जे सजाय दिए पनि पाइने कानून यमलोकबाट पारित गराइसकेका थिए । कहिले भरौटेहरू यमलोक आइपुग्लान् र भकुरौँला भनेर बसेका यमराजले तिनलाई देख्नेबित्तिकै रिस थाम्न नसेकेर पहिला त एकछिनसम्म लात्तैलात्ताले भकुरेछन् । अनि आँखा राता राता पार्दै यसो फेसबुक हेरेर टाइमपास गरूँ भन्यो, खालि यिनै मुर्दारहरूको कुतर्क देख्नुपर्ने भन्दै भरौटेहरूको मानसिकस्थिति नै गड्बड हुने गरी गालीसमेत गरेछन् । हुन त पार्टीको भरौटे हुनुपूर्व तिनका खासै अपराधहरू केही रहेनछन् तर चित्रगुप्तका अनुसार पछिल्लो समय चियापसलदेखि फेसबुकसम्म जहाँ जहाँ सम्भव हुन्छ त्यहाँ उनीहरूले आफ्ना खराब नेताहरूको गुणगान गाउँदै तिनको कुकर्मको प्रतिरक्षा गर्ने गरेकाले तिनले गरेका सम्पूर्ण कुकर्महरूको परिणामस्वरूप देश र जनताले पाएको सबै दुःखका निम्ति पनि भागीदार बन्नुपर्ने भएछ । खराब कर्मको सजाय यति धेरै रहेछ कि तिनका लागि सजायको व्याख्या गर्नमात्रै यमराजलाई एक घण्टा धाराप्रवाह गर्नुपरेछ । पार्टीको हनुमान्गिरी गरेर बुझ पचाएको र जनतामा भ्रम छरेको अभियोगमा तिनलाई एकसयवर्षसम्म नरकमा अनेक प्रकारका अनौठा र कठोर यातना दिइने भएछ । तीमध्ये एउटा यातनाअनुसार उनीहरूले हरेक दिन यमदूतहरूको लगौँटी धुनुपर्ने र त्यही पानीले आफ्नो मुख धुनुपर्ने नियम पनि राखिएछ । सजाय कम गराउन यमराजलाई प्रभावित पार्न नसकेपछि भरौटेहरूले यमदूतहरूमाथि पनि पृथ्वीमा छँदा पार्टीले सिकाएको कुतर्कविधि र चाकडी कलाको प्रयोग गरी आफ्नो सजाय घटाउन खाजेछन् तर नियमकानूनमा प्रतिबद्ध र अरूलाई सजाय दिँदा दिँदा समवेदनाले हीन भैसकेका यमदूतलाई प्रभावित गर्न पूर्णतः असफल भएछन् । यमदूतहरू कहिले तिनलाई आफ्नो लगौँटी धुन लगाउँथे, कहिले नरकको ट्वाइलेट सफा गर्न त कहिले पापीहरूका लागि सिनो, रगत र पीपका पोखरीहरूको व्यवस्थापन गर्न लगाउँथे । केही काम नहुँदा सिसिफसका झैँ निरन्तर उकालो पहाडमा ढुङ्गा ठेल्न लगाइदिने भएकाले उनीहरूलाई एकछिन् पनि फुर्सद र सुख हुँदैनथ्यो । नरकको सबैभन्दा घिनलाग्दो र कडा परिश्रमवाला काम आइलाग्यो कि यमदूतहरू भरौटेहरूलाई नै सम्झन्थे । भरौटेहरूलाई पिठ्युँको छालामा तातो रडले डामेर कहिल्यै नमेटिने गरी ठूला ठूला अक्षरमा नेपालका कुख्यात भरौटेहरू भनेर छाप लगाइएको थियो । यसो गर्नुको मतलब उनीहरूलाई सबैले भरौटे भनेर सजिलै चिन्न सकून् र नरकका जो कोहीले सक्दो यातना र कडा काम लगाउन भन्ने नै थियो । यहाँसम्म कि पृथ्वीमा हत्याजस्तो जघन्य अपराध गरेका अपराधीहरूले पनि पार्टीका भरौटेहरूलाई जस्तो यमदूतहरूले आफ्नो लगौँटी धुन लगाउँदैनथे । कहिलेकाँही त यातनाबाट बच्न भरौटेहरू पीप र पिसाबका पोखरीहरूमा सिनोसँगै डुबेर लुकेर बस्ने गर्दथे । त्यतिमात्र कहाँ हो र ? यमराजले परमात्माबाट अध्यादेश जारी गरी भरौटेहरूलाई तोकिएको सजाय कटाइसकेपछि पनि कहिल्यै मानव जुनी लिन नपाउने र हदै भए गिद्द, गड्यौला र गधाजस्ता मानवलाई सेवा दिनकै लागि जन्मने प्राणीको जुनीमात्र प्राप्त गर्ने कानून पनि पारित गराइसकेका रहेछन् ।
केही दिनपछि यमदूतहरूले आफ्नै कुनै भ्रष्ट कार्यकर्ताले बनाएको सभाहलमा एउटा सर्वदलीय छलफलमा बस्दा भूकम्प आएर हलको छत खसेर मरेछन् भन्दै नेपालको राजिनीतिमा विदेशीहरूको एजेन्टका रूपमा चर्चित विभिन्न दलका १०जना ठुला नेतालाई पनि घोक्र्याउँदै त्यहीँ ल्याइपुर्याउँछन् । तिनीहरूलाई चित्रगुप्तले बाँचुन्जेल गरेका सबै पापपुण्यको लेखाजोखा गरिसकेपछि यमराजलाई तिनको सजायसम्बन्धी राय प्रकट गरेछन् । तिनीहरूलाई यमराजले चित्रगुप्तको राय अनुसार कठोर तर भरौटेहरूको भन्दा आधामात्रै सजाय सुनाएछन् । यो खबर यमदूतहरूको लगौँटी धोएर सुकाउँदै गरेका भरौटेले पनि पाएपछि यमराज नजिकै गएर किन “यिनीहरूलाई हाम्रो भन्दा कम सजाय दिएको?” भन्दै विनम्रतापूर्वक असन्तुष्टी पोखेछन् । “यी नेताहरू कति खराब छन् त्यो त हामीलाई थाहा छ नि महाराज । हामीले त यिनले अह्राएको काम मात्रै गरेको हो फेरि हामीलाई किन यिनको भन्दा २ गुना सजाय बढी तोक्नुभयो ?”
यस्तो सुनेपछि यमराजले उनीहरूतर्फ हेरेर राँकिदै भनेछन्,
“अझै बोल्छौ पाजीहरू । नेता खराब हुन् भन्ने कस्लाई थाहा थिएन र ? नेता त पद र पैसामा बौलाएकै थिए तर तिमीहरू साधारण जनता भएर पनि किन यिनको हतियार बन्यौ ? र यिनको सबै कुरा थाहा पाई पाई पनि केही पनि थाहा नभएजस्तो गरी करोडौँ जनताको आँखामा छारो हाल्यौ ? त्यसैले यिनीहरूको भन्दा तिमीहरूलाई दोब्बर सजाय दिइएको हो । तिमीहरूजस्ता भरौटेले साथ नदिएको भए यी नेताले एकपटक मात्रै देश र जनतालाई लुट्ने अवसर पाउँथे, तर आजीवन देश र जनतालाई गरिबी र अराजकतामा धकेलिरहन सक्दैनथे । बुझ्यौ पाजी हो ।”
त्यसपछि यमराजले ती भरौटेहरूलाई यमलोकमा आएर पनि अराजकता निम्त्याउन खोजेको र नरकको न्यायप्रणालीमा प्रश्न उठाएको आरोपमा हरेक दिन यमलोकका पापीहरूको पिसाबको पोखरीमा चोपलेर निकाल्ने थप सजाय पनि सुनाएछन् । पृथ्वीमा छँदा आफ्नो भनेजस्तो नभए उफ्रँदै टायर बाल्दै विरोध गर्ने भरौंटेहरू त्यहाँचाहिँ निरीह भएर रुँदै रुँदै फेरि आफ्नो कर्मलाई धिक्कार्दै सजाय भोग्न गएछन् ।
त्यसपछि फेरि कोही रक्सीको सर्को परेर, कोही भियग्रा बढी खाएर त कोही हार्टएट्याक भएर मरेछन् भन्दै भारत, अमेरिका, युरोप र चीनका केही विदेशी नेताहरूलाई पनि लिएर यमदूतहरू आएछन् । यी तिनै शक्तिशाली विदेशी नेताहरू थिए जस्लाई नेपालका नेताहरूलाई कठपुतली बनाउने गरेको आरोप लागेको थियो । तिनको सजाय भने यमराजले अति नै कम तोकेछन् र सामान्य मात्रै सजाय दिएर स्वर्गका लागि रमाना दिएछन् ।
यो खबर भर्खरै पिसाबको पोखरीमा नुहाएर बाहिर आउँदै गरेका भरौटेहरूले पनि थाहा पाएछन् र झनै असन्तुष्ट भएछन् । तर यमराजको नजिकै जाने हिम्मत नभएकाले घोसेमुन्टो लाउँदै चित्रगुप्त समक्ष पुगेर सो को कारण माग गर्दै झन् मुख्य दोषीहरूलाई किन कम सजाय दिएको भनी जिज्ञासा राखेछन् । चित्रगुप्तले भनेछन् “बेवकुफहरू हो, यी विदेशी नेताले जे गरे आफ्नो देश र आफ्नो जनताको हित हुने ठानेर गरे । तिमीहरूजस्तो एक छाक मासुभात र एक बोत्तल रक्सीका लागि आफ्नै दाजुभाइको रगत र पसिनामा पौडी खेलेनन् यिनले, बुझ्यौ ?”
त्यसपछि भरौटेहरूले कुरा त राम्ररी बुझेछन् तर अब धेरै ढिलो भैसकेको थियो । त्यसपछि उनीहरू लुत्रुक्क परेर आफैँलाई धिक्कार्दै र मनमनै पहिल्यै यस्तो थाहा भएको भए त किन भरौटेगिरी गरिन्थ्यो र भनेर पछुताउँदै आजका लागि उनीहरूको मेनुमा तोकिएको पशुपक्षीको मलमुत्रको डिनर गर्न गएछन् ।
समाप्त
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।