साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

नर्कको यात्रा

‘टिङ’ आवाजसहित लिफ्टको ढोका खुल्यो । लिफ्टको डिस्प्लेमा केही संकेत देखिएको थिएन । म एकछिन अलमल्लमा परें । म किंकर्तव्यविमूढ भएर एकछिन त्यहीँ उभ्भिरहेँ तर पनि लिफ्टको ढोका बन्द भएन । सोचें, यो लिफ्ट यहाँभन्दा माथि जाँदैन । लिफ्टबाट बाहिर निस्किएँ । अचम्म त के भयो भने, म बाहिर निस्कनेबित्तिकै लिफ्टको ढोका बन्द भयो र लिफ्ट कतै तल झर्यो । मलाई लिफ्टले छाडेर गएको ठाँउ अचम्मको थियो । चारैतिर निस्पट्ट अन्धकार र अघोर शान्ति थियो – औंसीको रातजस्तो । चारैतिर नजर डुलाउँदा देखेँ, मेरो दाँयापट्टि एउटा रातो बत्ती टिलपिल टिलपिल गरिरहेको थियो । अरु केही उपाय नदेखेपछि म त्यतै लम्किएँ । हातले कतै केही आधार भेटिन्छ कि भन्दै यताउति हातले छामछाम-छुमछुम गर्दै हिडेँ तर कतै केही भेटिएन । मैले टेकेको भुईं भने निकै सम्म र सहज थियो । छामछाम-छुमछुम गरेरै भए पनि ढोकानेर पुगिछाडें । त्यो रातो बत्तिले ‘स्वागतम्’ बोकेको थियो । त्यसै त अन्योलमा थिएँ, त्यो बोर्डले झन् अन्योल थपिदियो ।

मेरो अगाडि ढोका रहेछ, हल्का धक्का दिनासाथ खुलिहाल्यो ।

ढोका बाहिर साह्रै उज्यालो थियो । अँध्यारोबाट उज्यालोमा जाँदा यसै त आँखालाई असहज हुन्छ, त्यहाँको उज्यालो झन् असामान्य खालको थियो । गर्मी पनि असाध्यै थियो । रेटिनाले आफूलाई प्रकाशअनुकूल बनाएपछि बल्ल आँखा खोल्न सक्ने भएँ । मान्छे जहाँ गए पनि लोभी हुन्छ, दृश्यको । कुनै नयाँ ठाउँमा पुग्यो कि त्यो ठाँउलाई नियालेर एउटा दृष्टिकोण बनाइहाल्नुपर्छ । मैले पनि त्यसै गरेँ ।

bahulako diary small and inside post

चारैतिर नजर डुलाएँ । म ठूल-ठूला रुखहरुको बीचमा उभिएको थिएँ । सायद त्यता पूर्व हुनुपर्छ, घाम निकै नजिक र असामान्य ठूलो थियो, जाइग्यान्टिक ।

मानव सभ्यताको कुनै नामोनिशान थिएन । ठीक घामको सिधा तल एउटा घोडेटो बाटो थियो । हिँड्दा बुरुरु माटो उड्ला जस्तो, धुलाम्मे कच्चीबाटो । म बाहिर निस्केको ढोका भएको ठाउँ अगि नै अलप भैसकेको थियो । पहिले ढोका भएको ठाउँमा अहिले ठूलो भीर देखिन्थ्यो । भीर तल कपासे बादलहरु थिए । ती बादलहरु मभन्दा निकै तल र टाढा देखिन्थे ।

यो सबै कुराहरुलाई एकाएक गरेर नियाल्दा नियाल्दै मेरो मनमा एक किसिमको डरले चाका बनाइसकेको थियो, म उभिएको भीर मुनिको भीरमौरीको चाकाझैं ।

अब मेरो अगाडि-अगाडि देखिएको बाटोलाई समात्नु र अघि बढ्नुको विकल्प थिएन । लगभग ५ मिनेट हिँडिसकेपछि एउटा कटुसको जस्तो देखिने रुखमा एउटा काठको पुरानो साइन बोर्ड देखियो । बोर्डले केही आशा जगायो । मनमा एक किसिमको शान्ति पलाएर आयो तर मेरो मनको शान्ति धेरैबेर भने टिक्न पाएन । बोर्डमा लेखिएको कुरा मेटिएको थियो । लेखेको आधाउधि मात्र बुझिन्थ्यो ।

‘…र्कमा यहाँलाई स्वागत छ !’

‘…र्कमा यहाँलाई स्वागत छ !’

म यति मात्र पढ्न सक्थेँ । सुरुमा शब्द थियो कि शब्दहरु, मैले केही अन्दाज गर्न सकिनँ, त्यसैले अर्थ लाउन पनि सकिनँ । सोचेँ, खर्कमा हो कि? ह्या, जे पर्लापर्ला ! अगाडि बढ्नु पर्यो !

केही कदम अगाडि के बढेको थिएँ, मेरो अगाडि एउटा स्वर्णद्वार खडा भयो । द्वारको दायाँबायाँ गरी दुई स्तम्भ थिए । ती स्तम्भको ठीकअगाडि दुई जना निकै बलशाली र तेजिला द्वारपाल देखा परे । दुवैको हातमा एकएक भाला र ढाल थिए । म आश्चर्यचकित हुने शिलशिला जारी थियो । एकपछि अर्को घट्ना र दृश्यहरु घटित हुँदै थिए । यो सब मैले हेर्ने गरेको पौराणिक धारावाहिकका दृश्यजस्ता लाग्थे । मसँग कथाले मागेअनुसार दिनेबाहेक अरु कुनै उपाय थिएन ।

मलाई देख्नासाथ एउटा द्वारपाल म भएतिर आयो र आफ्नो हातको भाला जोडले भुईंमा बजारेर आफ्नो रवाफ देखायो । म ट्वाँ परेको देखेर त्यो द्वारपालले भाला भुईंमा अड्याएर जुँगामा ताउ लगायो । अब भने मलाई झन् डर लाग्यो । मेरो डरको भेउ पाएर होला, त्यो द्वारपाल जोडले हाँस्यो ।

‘तिमी भुलेश्वर होइनौ?’ उसले मेरो नामै काडेर नाम सोध्यो ।

केहीबेर त म अक्क न बक्क भएर त्यहीँ उभ्भिरहेँ ।

एकछिनपछि मेरो बक फुट्यो, ‘हो तर तपाईंलाई मेरो नाम कसरी था भयो ?’

मेरो प्रश्नमा ऊ बेजोडले हाँस्यो । ऊ यसरी हाँस्यो कि मलाई उसको हाँसो ‘चिनो’ फिल्मको खलपात्रको जस्तो लाग्यो । ऊ हाँस्दा देखिएका दाँत फोहोर भने थिएनन् । बरु कुनै टुथपेष्टको विज्ञापनमा देखाइने मोडलका जस्ता चम्किला थिए । ऊ जति बेजोड अट्टहासका साथ मेरो प्रश्नको खिल्ली उडाइरहेको थियो, उति मेरो मुटु छातीभित्र जोडले उफ्रिरहेको थियो ।

केही फत्को हाँसोपछि त्यो चम्किलो दाँत भएको द्वारपालले भन्यो, ‘नर्कमा तिमीलाई स्वागत छ, मूर्ख मनुष्य !’

यति भनिसकेर ऊ फेरि हाँस्यो । यस पटक अर्को द्वारपालले पनि उसलाई साथ दियो ।

उसको मुखबाट झरेको ‘नर्क’ भन्ने शब्दले मलाई छाँगाबाट खसेजस्तो बनायो । म आत्तिएँ । चिट्चिट् आएको पसिनाले शरीर निथ्रुक्क भिज्यो ।

मैले काँपेको स्वरमा सोधेँ, ‘म कसरी यहाँ आइपुगेँ? अनि किन ?’

टाउकोमा आलुजस्तो मासुको डल्लो भएको द्वारपाल नजिकै आयो । उसको हातमा सेतो रङको ट्याब थियो । उसले ट्याबमा औंला दौडायो । र, केही सर्च गरेर रिजल्ट आएपछि मतिर स्क्रिन फर्काइदियो ।

स्क्रिनमा मेरो विवरण यसप्रकारको थियो:

नाम: भूलेश्वर मर्सी
उमेर: ३२ वर्ष ६ महिना
ठेगाना: मर्त्यलोक
मृत्युको कारण: गापसे (गाडीले पछाडिबाट सेकेको)
मरणोपरान्त गन्तव्य: नर्क
सजाय: निर्णय गर्न बाँकी
विवरण संकलनकर्ता: चित्रगुप्त

मैले दुईपटक घोरिएर पढेँ । भर्खरै बेडसाइड टेबलमा राखेको पानी पिएर सुतेझैँ लाग्छ । म कसरी मर्न सक्छु, त्यो पनि सडक दुर्घटनामा परेर? आफैलाई प्रश्न सोधेँ ।

‘हैन के भो? अब टोलाएर काम छैन ! यी यहाँ साइन गर्नुस् अनि छिर्नुस् हाम्रो नर्कलोकमा ।’ यति भनेर अगि ट्याब बोकेको द्वारपालले मतिर साइन गर्न ट्याब र डिजिटल कलम तेर्स्यायो । मेरो अलमल अझै बाँकी नै थियो । उनीहरुको आदेश र निर्देशन पालना गर्नेबाहेक मसँग अरु केही उपाय थिएन । म आफ्नो हस्ताक्षर गर्न र हिँड्न बाध्य बनाइएँ । उनीहरु म भाग्छु कि भनेझैँ गरेर नजिकबाटै पछ्याइरहेका थिए । मलाई ढोकाबाट छिर्न संकोच लागिरहेको थियो । पहिलो द्वारपालले हल्का ठेलेर मलाई भित्र हुत्याइदियो । हल्का रिस उठेको थियो तर निरीह भएर अगि बढ्नुको विकल्प मसँग थिएन ।

स्वर्ग र नर्क बीचको फरक कथाहरुमा पढेको-सुनेको थिएँ । भित्र मैले सुनेको जस्तो रगतको खोलो थिएन, सिंगान र र्यालको तलाउ पनि थिएन । कोही पनि कसैलाई तेलमा तार्दै थिएनन् । कस्तो अचम्म! सानोमा सुनेका कथा त गफ मात्र रहेछन् । यहाँको माहोल त बिल्कुल फरक छ त! हिँड्दै गर्दा मेरो दायाँबायाँ एकैनासका नीलकाँडाका मझौला रुखहरु थिए । ठूलो बगैंचा थियो । रुखहरु पनि थिए । लगभग मर्त्यलोककै वातावरण । चराहरु थिए । चराहरुको चिरबिर पनि थियो । हावा स्वच्छ थियो । पानीका तलाउहरु कञ्चन नीला थिए । सबैकुरा नियाल्दा नियाल्दै म एउटा ठूलो ढोका अगाडि आइपुगेछु ।

हातमा ट्याब बोक्ने द्वारपालले आदेश दियो, ‘ई, यहाँ नुहाउने । एउटा सारथि आउँछे अनि तँलाई सहयोग गर्नेछे । उसले भनेको मान्नू!!’ उसको आदेश रुखो थियो । आदेश भन्दा पनि धम्कीजस्तो ।

मेरो बाहिर खुल्लामा नुहाउने बानी छैन भनेर भन्नु मन थियो । उनीहरुको भावभंगीले मनमै दबाइदियो । र, अर्को के कुराको डर थियो भने, मैले भित्री कट्टु पनि लगाएको थिइनँ । गर्मीमा म कहिल्यै लगाउदिनँ पनि । कट्टुले काछ लाग्छ त्यसैले । मलाई लाग्यो, मेरो यो बानी अब मलाई भारी पर्नेवाला थियो ।

ती द्वारपालहरु मलाई त्यहीँ छोडेर केही पर पुगेका थिए । म टोलाएको देखेर एउटा चाहीँ चर्को डाँकोमा करायो, ‘के भो फेरि? किन टोलाको? छिटो गर्!’

वरिपरि हेरेँ । कोही थिएन । संकोच मानीमानी माथिको गञ्जी खोलेँ । तलको जाँगे खोल्नुअगि वरिपरि सरसर्ती आँखा घुमाएँ । कोही थिएन । एक्कासि आँट आयो । आफैँलाई भनेँ, ह्या, जे सुकै होस्! स्वाट्ट जाँगे तल सारेँ । नुहाउने ठाउँमा कुवा थियो । कुवाको छेउमा सुनको जस्तो देखिने लोटा । कुवा भित्रको पानी बास्नादार पार्न विभिन्न फूलहरुका पत्र राखिएका थिए । एक लोटा पानी झिकेर टाउकोबाट खन्याएँ । अचम्म! मेरो शरीरबाट कर्याङ्गमर्याङ्ग अक्षरहरु बग्न थाले । अक्षरहरु शब्दमा बदलिए । केही त मैले पढ्न पनि भ्याएँ । केही अक्षरहरुले मेरो माथिङ्गल नै नराम्ररी हल्लाइदिए । बगेका शब्दहरु यस्ता थिए- “भ्रष्टाचार”, “बलात्कार” , “हत्या”, “जालसाज”, “धोका” । मैले बल्ल बुझेँ । मैले जीवनमा गरेका तमाम पापहरु पखालेर मात्र मभित्र पस्न योग्य हुने रहेछु । र, मलाई यो पनि विश्वास भयो कि, म साँच्चै नै नर्कमा आइपुगेछु ।

एक लोटा पानी झिकेर टाउकोबाट खन्याएँ । अचम्म! मेरो शरीरबाट कर्याङ्गमर्याङ्ग अक्षरहरु बग्न थाले । अक्षरहरु शब्दमा बदलिए । केही त मैले पढ्न पनि भ्याएँ । केही अक्षरहरुले मेरो माथिङ्गल नै नराम्ररी हल्लाइदिए । बगेका शब्दहरु यस्ता थिए- “भ्रष्टाचार”, “बलात्कार” , “हत्या”, “जालसाज”, “धोका” । मैले बल्ल बुझेँ । मैले जीवनमा गरेका तमाम पापहरु पखालेर मात्र मभित्र पस्न योग्य हुने रहेछु ।

नुहाइसकेपछि एउटा सारथि देखा परी । उसलाई देख्नासाथ मैले मेरा हातहरुले आफ्नो गुप्ताङ्ग छोपें । उसको हातमा गेरु वस्त्र थियो । त्यो वस्त्र मलाई थमाई र केही नबोली मेरो पुरानो कपडा आफूसँगै लिएर गई । त्यस्तो वस्त्र मैले कहिल्यै पहिरिएको थिइनँ । त्यही पनि कनिकुथी आफूलाई ढाक्ने प्रयास गरेँ । वस्त्र लगाइसकेपछि अघिको ठूलो ढोकाको सामुन्ने गएर उभ्भिएँ । म उभ्भिएको दायाँबायाँ दुई वटा खम्बाहरुमा केही बत्ति झिपझिप गरेको देखें, सायद स्क्यानर थियो त्यो । एकछिनपछि डिस्प्लेमा “शुद्ध!” भनेर देखायो ।
त्यो देखेको एकैछिनमा पुरा गड्गडाहटका साथ मेरो अगाडि रहेको अजंगको ढोका खुल्यो । ढोका खुल्नासाथ क्रमश: अंग्रेजीमा र नेपालीमा- वेलकम टु हेल । नर्कमा स्वागत छ!- भन्ने ध्वनि बज्यो ।

भित्र सुनै सुनको जस्तो देखिने भित्ताहरु थिए । बीचमा बाटो थियो, त्यसमा रातो रङको गलैँचा ओछ्याइएको थियो । बाटोको छेउछाउमा लहरै कुर्सीहरु राखिएका थिए । कुर्सीहरु पनि पुरै सुनका थिए । विभिन्न रत्नजडित । भवन भव्य र शानदार थियो । उज्यालो पनि उस्तै । आकर्षक र कलात्मक झुमरहरुले अलौकिक चमक दिइरहेका थिए । म उभिएको बाटो एउटा राजगद्दी जस्तो देखिने आसनको फेदमा गएर टुंगिन्थ्यो । रातो मलमलको गद्दी । गद्दीको दाँयाबायाँ अजंगको शरीर भएका र टाउकोमा सिङजस्तो केही भएका दुइटा भुसतिग्रेहरु थिए । म यी सबै नियाल्दै अघि बढ्दै थिएँ । जब म गद्दीको फेदमा पुगेँ, मेरो पछाडिबाट कोही आयो । मेरो काँधमा हात राखेर मलाई रोकिन आदेश दियो । म यस्तो ठाँउमा आइपुगेको थिएँ कि, यन्त्रमानवझैं कसैको आदेश, बिना कुनै प्रश्न मानिरहेको थिएँ । खेलौनालाई चाबी दिएअनुसार नै चलिरहेको थिएँ ।

‘एकैछिन यहीं उभ्भिराखेस्!’- अगि काँधमा हात राख्नेले धम्क्यायो ।

म उभ्भिरहेँ, भवन नियाली रहें । आफूलाई प्रश्न गरिरहें । कहिलेकाहीँ मान्छे उत्तर नै नआउने प्रश्न सोध्छ । त्यही प्रश्नमा माकुरोको जालोमा फसेको झिंगाझै जेलिन्छ । छट्पटाउँछ । तर, उत्तर आउने भए पो ! माकुराको जालोमा फसेको झिंगा उम्किन्छ र!

निरुपाय भएपछि मैले अब फ्लोर समयलाई नै छोडिदिएँ । जे होला होला! आफैंलाई सम्हाल्न खोज्दा भनिने राम्रो वाक्य रहेछ यो, त्यही बेला महसुस भयो । कुर्छु । कुर्छु । कोही आउँदैन । सोच्छु, नयाँ ठाउँ पनि कत्ति छिट्टो पट्यार लाग्दो हुँदो रै’छ!

“हो त नि है!” एवं रीतले मनोवाद चलिरह्यो ।

लामो पर्खाइले निद्रा लागेर झुलिरहेको के थिएँ, एक्कासि धेरै पाइलाहरुको सामूहिक आवाजले झस्किएँ । यताउति नजर डुलाउँदा देखें, मेरो अगाडिको गद्दी पछाडिको ढोकाबाट पूरा दलबलका साथ कोही प्रवेश गर्दै थियो । यस्सो लवाई हेर्दा राजा जस्तो पनि देखिन्थ्यो । नभन्दै ऊ गद्दीमा आएर बस्यो । ऊसँग आएको दलबल सभाहल वरपर छरिए र राजाको ईशाराअनुसार आ-आफ्नो ठाउँमा आसनग्रहण गरेँ ।

बस्नासाथ राजाले मलाई तलबाट माथिसम्म हेर्यो । राजासँग आँखा जुधाउन हुन्न भन्ने मलाई राम्रोसँग थाहा थियो । त्यसैले राजा हुन् भन्ने भेउ पाउनासाथ मेरो टाउको भुईंमा निहुराएँ । घोसेमुन्टो लाएर उभ्भिएँ ।

“ल आजको कारबाही सुरु गरौं!”- राजाले हुकुम जारी गरे ।

“कारबाही” शब्द सुन्नासाथ मेरो सात्तो गयो । मुटुको धड्कन बढ्यो । दमको बिरामीझैं स्वास फुलेर आयो । शरिर कामज्वरो आएझैं गरि थरथर काँप्न लाग्यो । पिसाब पनि चुहिएलाजस्तो भयो । पसिनाले शरीर निथ्रुक्कै भिज्यो ।

“महाराज, यो मनुष्य मर्त्यलोकबाट आजै आएको हो ! यसको मर्त्यलोकका करतुतहरुको सम्पूर्ण विवरण यो आइप्याडमा अपडेट गरिएको छ । हजुरले त्यसलाई अवलोकन गरी निर्णय गरिबक्सियोस्!”- यति भनेर एउटाले राजासम्मुख आइप्याड पेश गर्यो ।

राजाले केहीबेर आइप्याडमा औंला नचाए । म यो सब कसैले चाल नपाउने गरी हल्का टाउको उठाएर हेरिरहेको थिएँ । मेरो विवरण हेर्न पाँच मिनेट जति आइप्याडमा घोत्लिएपछि राजाले आइप्याड फिर्ता दिँदै मुन्टो हल्लाए ।

“यो मनुष्य पापी हो । यो दुष्ट रहेछ । यो हत्यारा पनि रहेछ । यसका कारण मर्त्यलोकमा धेरैले दुःख र सास्ती बेर्होर्नु परेको रहेछ । यसको पापहरु क्षमायोग्य छैनन् । त्यसैले यसलाई कालकोठरीबाट शुरु हुने अन्नत सुरुङभित्र हालिदेऊ,” राजाले तुरुन्तै फैसला सुनाए ।

राजाको निर्णयमा केही दया जाग्छ कि भनेर केही बोल्न खोजेँ तर मेरो वाक्य नै फुटेन । बरु निरुपाय भएर थचक्क बसेँ ।

मलाई अगि राजगद्दीको दायाँबायाँ बस्ने भुसतिग्रे आएर घिसार्न थाले । मैले प्रतिवाद गरेँ तर मेरो बल ती बलिष्ठ भुसतिग्रेहरुको अगाडि निरीह साबित भयो । म निस्तेज भएर घिस्रन बाध्य भएँ । उनीहरुले घिसारी रहे । मेरो याचना उनीहरुले सुन्दा पनि सुनेनन् । एकैछिनमा रातो पर्दा भएको ढोका आयो । मलाई अब एउटाले मात्र घिसार्न थाल्यो । अर्कोले पर्दा उघारेर मलाई घिसार्न उसलाई सहज तुल्याइदियो । अब मेरो अगाडि अघोर शान्ति र निस्पट्ट अँध्यारो कोठा थियो । सायद राजाले भनेको कालकोठरी यही नै थियो । लाग्यो, यही भित्र छ त्यो अन्नत सुरुङ । तर, अनन्त सुरूङ कस्तो खालको सुरुङ थियो मलाई थाहा हुने कुरै भएन ।

एउटाले सोध्यो, “तेरो अन्तिम इच्छा केही छ भने भन् । नत्र हामी तँलाई यो कालकोठरीको सुरूङमा हुर्याइदिन्छौं ।”

“अन्तिम इच्छामा राजाको फैसलाविरुद्ध चैँ नमागेस् नि!” अर्कोले थप्यो ।

अब के माग्नु थियो र ! बरु मलाई अन्तिम जिज्ञासा नै मेटाउन मन लाग्यो । त्यसैले सोधेँ, “यो अन्नत सुरुङ भनेको के हो?”

मेरो प्रश्न सुनेर उनिहरु बेजोडले हाँसे । मलाई बेक्कार सोधेछु भन्ने बनाइदिए । एकैछिनपछि हाँसो रोकेर एउटाले भन्यो, “यो सुरुंग एउटा यस्तो सुरुंग हो, जसको सुरुवात त यो कालकोठरी हो भन्ने थाहा छ, तर यसको अन्त्य कसैलाई पनि थाहा छैन । सायद यसको अन्त्य नभएरै होला अनन्त सुरुङ राखिएको । यसबाट तँलाई खसालेपछि तँ खसिरहनेछस् । बस् खसिरहनेछस् । अनवरत् । आज । भोलि । पर्सि । यसरी दिन, रात, हप्ता, महिना, वर्ष गरेर तँ सुरुङमा खसिरहनेछस् । भुईं भेट्ने आशमा खसिरहनेछस् । तर, भुईं कदापि भेट्ने छैनस् । भुईं भेट्ने आश भने गर्न सक्छस् ।”

यति भन्दाभन्दै दुवैले मेरो काखीमा हात हालेर उचाले । केहीबेर मच्चाएझैँ गरे । अनि मलाई त्यो कालकोठरी भित्रको अन्नत सुरुङभित्र होमी दिए । मेरो अन्तिम चित्कार अन्तिम पल्ट कालकोठरीको कुनाकुनामा ठोक्कियो । भुसतिग्रेहरुको कानको जाली हुँदै मेरो चित्कार सदाका लागि दफन भयो ।

मेरो चित्कारसहित म कतै बझारिएँ । बझारिएको ठाउँ उज्यालो थियो । आँखा वरपर डुलाएँ । हो, म मेरो कोठामै थिएँ । त्रासले खाटबाट भुईंमा खसेको रहेछु । शरीर पसिनाले निथ्रुक्कै भिजेको थियो । लगाएको जाँगे पनि पिसाबले भिजेको रहेछ । साह्रै आत्मग्लानि भएर आयो । सपनाले मलाई नराम्रोसँग झाप्पड हानेको थियो । मैले आत्माआलोचना गरें । मेरा पापहरुले मलाई अब विपनामा पनि छोड्नेवाला थिएनन् । सपना त एकबार आउँछ, झस्काउँछ, जान्छ तर विपना? यो त सधैँ मेरो साथै हुनेछ । मलाई मेरो विपना अर्थात् यथार्थले छोड्नेवाला थिएन । सोचेँ, मैले प्रयाश्चित गर्नुपर्छ । पहिलेका गल्ती ठीक पार्न नसके पनि अब सत्कर्म त गर्न सक्छु! यति सोच्दा मात्रै पनि मेरो मनमा शान्ति पलाएर आयो । सत्कर्म गर्दा झन् कति सन्तोष मिल्ला? सत्कर्ममा जस्तो सन्तुष्टि यो जगतमा केहीमा रहेनछ । सोच्दासोच्दै अनयासै मुखबाट निस्कियो, “हरि शरणम्, भगवान विष्णु!!”

 

प्रतिक्रिया
Loading...