राम्री… राम्री त राम्री, तर कस्तो अनुहार र पहिरन गरेकी ?’ कैयौँ दिनदेखि स्पष्ट समाधान नपाएको त्यही प्रश्नले एकपटक फेरि दिनेश राम्री भन्न सकिने कतिपय बैँसालु युवतीहरूका मादक अनुहारहरू सम्झन खोज्छ । उसले आजसम्म देखेर सम्झनामा सँगाल्न सकेका कतिपय तरुनीहरू क्रमशः उसको मन-मस्तिष्कमा खेल्न आइपुग्छन् । औँसीको चकमन्न रात, १२ बजिसकेको छ । घरका सबै जना निदाएर सपना देख्न थालिसके होलान्, तर दिनेश भने निद्रा हराएर मनभरि वासन्ती आँकुरा टुसाउन खोज्दै छ- कल्पनाले खनी-खोस्रेर ।
‘राम्री’ उसले निर्माण गर्न खोजेको काल्पनिक जगत्को पहिलो रेखा, अनि त्यस रेखाबाट अनेकौँ सिर्जना गर्नु उसको मानसिक अभ्यस्तता । ऊ सोच्छ, ‘बीसवर्षे भइसकियो, तरुणताको प्रथम प्रहरमा तातेका रातहरू चिसिँदै धेरै बितिसके | बिहे गर्ने उमेर त भएको होइन, तैपनि बिहे भइदिए कति जाती हुन्थ्यो… एक न एक दिन त भैहाल्ला | तर कोसँग होला ? कस्ती होली, कहाँ होली, अहिले के गर्दै होली त्यो ? कसरी हिँड्छे, कसरी बोल्छे होली, कसरी हाँस्छे होली… ?’
अँ, कस्ती होली त ? तलको पसलमा कोल्डड्रिङ्क्स बेच्नेजस्ती ? हो, त्यो राम्री छे | त्यसले बोलेकै राम्रो लाग्छ, हाँस्ता झन् राम्री देखिन्छे ।’ कोल्डड्रिङ्क्स बेच्ने केटीका अनुहारले दिनेशलाई एकछिन उत्तेजनामय शान्ति दियो । एकछिनमा उसको उर्वर सम्झनामा ‘मदनकी बहिनी’ खेल्न आइपुगी । ‘हो त्योभन्दा त मदनकी बहिनी कता हो कता राम्री | अस्ति क्याम्पसमा जाँदा मसँग बोलेकी पनि थिई | अहा ! त्यसका आँखा.. ।’
मदनकी बहिनीलाई पनि भगाइदिई पशुपतिबाजेकी छोरीले- ‘ओहो ! बिर्सिराख्या पो रहेछु अहिलेसम्म । अनुहार, छाती हात, खुट्टा, कम्मर ! बढी त नितम्ब…, त्यो हिँड्दा… वा वा रे, के-के जस्तो पो हुन्छ त !’ पशुपति बाजेकी छोरी दिनेशको तकियामा आइपुगी, अनि ऊ, तकिया च्यापेर उत्तेजित हुँदै, सेलाउँदै निदायो ।
अचेल यस्तै भाँतिका कुरा मनमा नखेलाई सुत्नै सक्तैन दिनेश । झन्डै दैनिक रात्रिचर्या हुन गएको छ उसको- यस्ता कल्पनामा रम्नु । उसले किताब र कापीहरूभित्र पनि साना-ठूला आकारका विभिन्न पोजका तरुनीहरूका रङ्गीन चित्रहरू लुकाएको छ, आफ्ना तस्वीरहरू दुई-चार तरुनीका चित्रहरूसँगै मिल्ने गरी टाँसेर राखेको छ | ती चित्रहरू हेर्ने पनि नियमितता छ ।
…घरभरि मान्छेहरू छन्, तीलको गेडो राख्नेसम्मको ठाउँ पनि छैन । दिनेश दुलाहाको भेषमा छ, ऊभन्दा भन्दा अगाडि घुम्टो ओढेकी नवविवाहिता दुलही बिस्तारै पाइला सार्दै छे | धेरै तरुनीहरू दिनेशलाई हेरिरहेका छन्- कोही आज दिनेश कसैसँग लोभिएन, आफ्नी दुलही पाएकाले | फूलैफूलको ओछ्यानमा ऊ दुलहीलाई लिएर जान्छ र आफ्नी चिरप्रतीक्षित प्रेयसीको अनुहार हेर्न बिस्तारै घुम्टो उठाउँछ | दिनेश त्यो रूपमा मोहित हुन्छ, सुन्दरतालाई भोग गर्न हात बढाउँछ, अँगालो मार्छ र शारीरिक उत्तेजनाको चरमविन्दुमा पुगेर सेलाउँछ । थकित भएझैँ छ त्यो अनुहार फेरि हेर्छ र अचानक झस्कन्छे, ‘ओहो ! यिनी त भाउजू पो ?’ दिनेश झल्यास्स बिउँझन्छ र वास्तविकता बोध भएपछि सुस्केरा मार्दै बर्बराउँछ, ‘तै सपना रहेछ ।’
उसको सर्वाङ्ग चिसिन्छ, उठेर बस्छ, बत्ती बाल्छ, सपनाले विस्फारित आँखासहित जिब्रो काढ्छ, ‘कस्तो सपना ! सम्झँदै पाप लाग्ने कुरा, भाउजूसँग बिहे…! देखेर कल्पिएका तरुनीहरूका कामुक अनुहार अङ्ग_प्रत्यङ्ग पहिरन आदि सम्झेर कामुक कल्पनासँगै निदाएपछिको सपनामा भाऊजू कसरी आइन् ? कस्तो सपना !’
भाउजू ऊभन्दा दस-एघार वर्ष जेठी छिन् । तिनी यो घरमा भित्रँदा दिनेश सात-आठ वर्षको हुँदो हो । त्यतिखेरदेखि दिनेशका शरीरिक र मानसिक विकास, बानी_बेहोरा, रुचि, अरू चिजजस्ता हरेक कुरामा साक्षी रहेकी छिन् भाउजू । भाउजू गृह-स्वामिनी हुन्, गार्हस्थ्य परिपञ्चका हरेक कुरामा भाउजूको उपस्थिति हुन्छ, त्यसैले पनि उनको व्यक्तित्व सौम्यता र शालीनता पाएको छ । दिनेशले अहिलेसम्म भाउजूलाई आमाको थान्कोमा राखे-पाएको छ । त्यस्ति भाउजूको तारुण्य कसरी माहसुस हुनु उसलाई ? त्यसमाथि भाउजूको स्वभाव, बोली-वचन, व्यवहार आदि सबै गम्भीर व्यक्तित्वका आधार बनेका छन् ।
‘यस्तो देख्नु नै पाप हो, भावना नै पापी हुन्छ, मनै पापी हुन्छ । बिर्सिदिनु पर्छ यस्तो सपनालाई ?’ दिनेश सपनालाई आफ्नो सम्झनाबाट जरैदेखि उखेलेर फलिदिनर निर्णय गरेर उठ्यो ।
भान्सा-कोठामा आज उसले अलमलै गरेन । भाउजूले भात पस्किदिइन्, उसले फटाफट खायो र क्याम्पसतिर हिँडिहाल्यो । भाउजूको अनुहार हेर्ने साहस पनि गर्न सकेन । क्याम्पसमा पनि उसको मन गह्रौँ भइरह्यो, हरेक युवतीलाई देख्ता रातको सपनाको दृश्यको झझल्को आइरह्यो, दिनभरि कक्षामा, बाटामा, कतै पनि मुक्त हुन सकेन । चाँडै घर फर्कन मन नलागेर रातिको सिनेमा हेर्न गयो।
सिनेमा हेरुन्जेल मात्र बाँधियो मन, घर फर्कदा भाउजू उसकै निम्ति भान्सा कुरेर बसिरहेकी थिइन् । उसलाई भान्सामा जाने मनै भएन । त्यसैले ऊ “मलाई खान मन छैन भाउजू’ भनेर कोठाभित्र पस्यो ।
“किन ? आज कहाँ जानुभएको थियो यसबेलासम्म ? यति अबेलासम्म बाहिर घुम्नु हुँदैन । सन्चो नभएको भए चाँडै घर आउनुपर्थ्यो । किन नखाने भात ? भाउजू कोठामै आइपुगिन् ।
अब बहाना बनाउन खोजे थप फसादहरू पर्न सक्छन्, सन्चो नभएको कुरा गरेर भाउजू झन् छोड्दिनन्, नाडी-निधार छाम्न थाल्छिन्, बाहिर खाएर आएको कुरा गरे स्पष्टीकरण दिनुपर्छ । भाउजूको यस्तै स्नेहपूर्ण बानीसँग चिरपरिचित भएकाले उसले सोच्यो- ‘बरु खुरूखुरु जो रुचेको खाएर आए झन्झट हुँदैन । ‘ त्यसैले ‘मैगो हिँड्नोस्, पस्कँदै गर्नोस्, म आइहाल्छु ।’ भनेर बाथरुमतिर लाग्यो ।
भान्सा-कोठामा ऊ निहुरेर भात खान थाल्छ । भाउजू उसको अगाडि हुन्छिन् । भाउजूले थाहा नपाएको उनको जघन्य अपराधीजस्तो भएर ऊ भाउजूको उपस्थितिदेखि डराएको छ, छायाँदेखि तर्सेको छ, अनुहार सम्झी काँपेको छ । उसका डराएका आँखा भाउजूका शरीरमा छरिने आँट नै गर्न सक्तैनन्, अनुहार हेर्न त के ? सधैँ-सधैँ भाउजूबाट उसले पाउने गरेको स्नेहिल सम्बोधन ‘दिनेशबाबू’ले अपनत्व र स्नेहका अनन्त रेखाहरू कोरेको अनुभव हुन्छ । अनि एउटा उरन्ठेउलो सपनामा आफ्न दुलहीको भेषमा भाउजूराई देख्नुले दिनेशको मनमा हाहाकार किन नहोओस् ।
खाना खाइसकेपछि थकान अनुभव भएर ओछ्यान तकिया ठाडो पारेर त्यसमा डँडाल्लो ढेस्याई आँखा चिम्लेर बस्यो दिनेश ।आज कुनै रूपसीको अनुहार उसको सम्झ्नामा छेन, हिजो रातिको सपना र भाउजूको अनुहार उसको दृश्य-अदृश्य जगत्मा व्याप्त छन् । रातको निस्तब्धता सानो फुसफुसाहटले भङ्ग भएको छ । दिनेशका कान नचाहँदै पनि सजग छन् । यति नै बेला यदाकदा सुनिने गरेको यो फुसफुसाहट दाजु भाउजूको कोठाबाट आएको हो । फुसफुसाहट आलस्यमय , अस्पष्ट, कहिले अति टड्कारो, कहिले अलि मधुरो हुन्छ । कहिले हाँसेजस्तो, कहिले सास मात्र बढे जस्तो सुनिन्छ । दिनेशको मनको अशान्ति अझ बढ्छ । मन पनि कति नकच्चरो, चेतना पनि कति पापी ! यो मन र चेतना भन्ने
वस्तु ठोस र दृश्य रूपको हुँदो हो त र तिनलाई कोपरेर चिथोरेर फालिदिन्थ्यो होला । तर के गर्नु… ।
भोलिपल्ट बिहान अबेलासम्म उठ्न सकेन दिनेश । उसको शरीरमा सहजमन्दा बढी ज्वरांश पैदा भएको, टाउको भारी भएको, नाक खिन्याएको, छाती असजिलो भएको थियो । चिया पिउन उसलाई बोलाउन आउँदा भाउजूले सोधिन्- “सन्चो भएनकि के?
“रुघा लाग्यो, ज्वरो पनि आएजस्तो छ ।” उसले सुतेर भन्यो ।
‘मनले सपनाको दृश्यलाई बिर्सने नामै लिँदैन, अनि भाउजूको छाया यो घरमा उसको वरिपरिबाट हट्नै सक्तैन ।’ यी दुई यथार्थका अगाडि दिनेश विरक्त हुन्छ । यसै गरी दुई दिन बित्छन्, सपनाको दृश्य र भाउजूको उपस्थितिले उसलाई हुनसम्म भएको छ, त्यसमाथि रुघाखोकी र ज्वरोले घरबाट बाहिर (निस्कन दिएको छैन । त्यसैले खर्लप्प दुब्लाएको छ ।
केही कम भए पनि दिनेशको रुघाखोकी र ज्वरो निको भइसकेको थिएन, त्यसैले उसलाई भाउजूले क्याम्पस जान दिएकी थिइनन् । बिहानैदेखि पानी छिट्याइरहेकोले चिसो बढेको थियो । दिनेशलाई समय बिताउन सजिलो हुने, काम पनि हुने विचारले भाउजूले दिनेशकै कोठामा आएर नयाँ किनिएका सिरकका खोलहरू सिउने उपक्रम गर्न थालिन् । घरमा अरू काम नभएकाले, अनि आफ्नै निम्ति सिरकका खोल सिउनुजस्तो सजिलो काममा किन पैसा खर्च गर्ने भन्ने विचार दिनेशलाई सुनाउँदै उनले काम सुरू गरिन् ।
दिनेश दोलाई ओढेर पलङमा बस्यो, पलङमुनि दुई हातजति पर बसेर भाउजू खोल सिइरहेकी थिइन् । दिनेशका आँखाअगाडि सपनाको त्यही दृश्य फेरि आयो, भाउजू उसका अगाडि नै थिइन्, अनि उसले आँखा चिम्ल्यो । भाउजूले दिनेशलाई सिउन लागेको खोलको एकछेउ तनक्क पारेर समात्न अराइन् र आफू अर्को छेउलाई घुँडाले थिचेर सिलाइ राम्रो र सोझो पार्ने हिसाबले तन्मय भएर सिउन थालिन् । यस्तो गर्दा दिनेशका आँखाअगाडि भाउजूको टाउको, अनुहार, वक्षस्थल, नाचिरहेका सुडौल पाखुरा तथा पछाडिपट्टिको डाँडाल्नो, नग्न कम्मर र नितम्बस्थल सोझै परेका थिए । नचाहँदै पनि दिनेश भाउजूलाई हेरिरहन थाल्यो । उनका नाचिरहेका सुडौल पाखुरामा तलमाथि सरिरहेका चुराहरूको छन्छन्ले उसलाई एकोहोरो बनायो, हात तल – माथि गर्दा कहिले झोल्लिने र कहिले टिनिक्क पर्ने छातीले उसको दृष्टिलाई तिर्खालु बनायो, ठाडो भएको र हात र घुँडाहरू चल्दा थर्किएझैँ चलिरहने कम्मर र नितम्बले उसलाई लाटो पाऱ्यो । दिनेशका आँखामा केही वर्षअघिको अरूका अगाडि दाजुसँग लाज मानेझैँ गर्ने, चिटिक्क अनुहार र सपक्क पहिरन गरेको, एकान्तमा दाजुको काखमा छुनुमुनु गर्ने पुतलीजस्ती भाउजू उदाइन् त्यतिखेरको भाउजूको शरीर र सुन्दरतामा र अहिलेकी पशुपतिबाजेकी छोरीको शरीर र सुन्दरतामा अन्तर थिएन । उसका आँखामा अहिले भाउजू पशुपतिबाजेको छोरीको शरीर र सुन्दरता साटेर आएकी थिइन् ।
पशुपतिबाजेकी छोरी केही दिनअधि ऊसँग लजाएकै गरेर मुस्काउँदै बोलेकी थिई । उसले जिस्क्याइदिँदा मुस्काएको अनुहारमा बनावटी रीस ल्याउँदै कर्के आँखा पारेर ओठले औला च्यापेर अन्ततिर फर्केकी थिई । त्यही पशुपतिबाजेकी छोरी अहिले उसको आँखाअगाडि आइपुगी । दिनेश होस हराएर भाउजूलाई हेरिरहन थाल्यो, उसको दृष्टि सम्पूर्णतः भाउजूमा केन्द्रित भयो, उसका आँखामा भाउजूका अङ्ग्हरू पशुपतिबाजेकी छोरीका जस्तै गरी फर्फराए । लाटोजस्तो, हिंस्रक पशुजस्तो, विद्रोहीजस्तो, पागलजस्तो उसको अनुहार एकतमासको रातो देखियो ।
‘कति राम्ररी !’ एउटा आश्चर्य र सन्तोषमिश्रित अन्तरमनको अभिव्यक्ति उसको मनभित्रै हुँडलियो । भाउजू सिइसकेको भाग पछाडि छोड्दै, तन्मय भएर सिउँदै, घुँडा सार्दै अघि बढ्दै उसको नजीक आइसकेकी थिइन् । उनलाई देवरतिर हेर्ने फुर्सदै थिएन, सिउनमै एकाग्र थिइन् ।
दिनेशको सम्झनामा काल्पनिक रङ्गहरूको पृष्ठभूमिमा देखिएको अस्तिको सपना, फूलैफूलको बिछ्यौना, रङ र पहिरनले ढाकिएकी दुलही सबै फेरि आए । पशुपति बाजेकी छोरीको मादक-मादक अनुहारको कमनीय कलेवर नखरा गरर्दै उभियो । अनि समातिरहेको खोलको एकछेउ उसको हातबाट फुस्क्यो ।
सिलाइ सकिन लागेकाले समातेको एक छेउ देवरले छोडिदिएको हुन सक्ने कुराले भाउजूले त्यसमा कुनै प्रतिक्रिया नजनाई सिउने काम कतै नहेरी जारी राखिन् । दिनेशले बिस्तारै पलङबाट खुट्टा खसाल्यो र भाउजूको डँडाल्नो र झन् कम्मरमा उसको हात चिप्लियो ।
‘कता, बाहिर जाने ? एकछिन पख्नोस् है, म बाटो छोडिदिन्छु, सकिनै लाग्यो ।’ देवरको बाटो आफूले रोकिदिएकाले उसले बाटो पाउन आफूलाई पन्छाउन खोजेको अनुमान गरिन् सायद भाउजूले ।
अब दिनेशको अँगालोमा भरिइन् भाउजू । उनी झस्किइन् । काखमा खेल्ने, अँगालो मार्ने, म्वाइँ खाने केटाकेटी छँदा अर्थात् उनी यो घरमा आएपछिका एक-दुई वर्षसम्म यस्तै गर्दथ्यो दिनेश, त्यै पनि उनकै लालनमा । तर अब यो उमेरमा यस्तो काम पटक्कै ठीक हुँदैन । त्यसैले उनी झर्किन्- ‘हैन, के गरेको बाबू, केटाकेटी छु भन्ठानेका हो कि ! छोड्नोस् । यत्रो लाठे भैसकेर पनि यस्तो गर्ने हो ? खै भन्या…।’ दिनेशको टाउको भाउजूको काननिर आइपुग्यो भाउजूले शरीर झट्कारिन् । उनको हातको सियो दिनेशको गालामा घोचियो, अनि उसको टाउको पलङमा ठोकियो । बल्ल दिनेश वास्तविक संसारमा ओर्लियो । झनझनाएको टाउको र दुखेको गाला, अनुहार बिगारेर सुमसुम्याउँदै घोप्टो पर्यो ।
भाउजूले बुझ्न सकिनन्, ‘के भयो बाबू, रिँगटा लाग्यो क्यारे हो… ?’
दिनेश केही नबोली घोप्टो परिरह्यो |
“अनि भन्नु पर्दैन त रिँगटा लाग्यो भनेर…? के भएको होला, दुब्लाएर यस्तो टाट भैसक्नु भयो । उठ्नोस्, पलङमा गएर सुत्नोस् !” भाउजूले उठाउन खोजिन् ।
“होइन, केही भएको होइन, त्यसै झुङ्गी लागेछ ।’ दिनेशले मुन्टो उठायो र भाउजूको अनुहारमा हेर्यो । तर भाउजूको अनुहार हेरिरहन सकेन, अनि आफूतिर अपलक ताकिरहेका भाउजूका आँखाबाट बच्न जुकुक्क उठेर हुरिँदै कोठाबाट निस्कियो |
भाउजू जिल्ल परेर बसिरहिन् । देवरको अनुहारक सम्झिन् रातो-रातो, बाटो बिराएको दोषीजस्तो, विद्रोहीजस्तो । ‘कति बलियो गरी अँगालो हालेको, जीउ कति तातेको, मुखबाट कति छिटो-छिटो सास चलेको, यस्तो के झुङ्गी चलेको होला ? भाउजू अन्योलमा परिन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

