साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

यौनकथाः विभ्रम

बिहानीले सुकोमल आँचल फैलाउँदा पनि हामीलाई उठ्न पटक्कै मन छैन । शरद ऋतुको चिसो स्याँठमा लोग्नेको तातो स्पर्श, न्यानो सिरक – त्यसमाथि मीठो-मीठो गफका टुक्राहरू कसलाई छोड्न मन लाग्दो हो ? अझ आज त शनिबार किन छिटो उठ्न पर्यो र? तर कोही भेट्न आउने पो हुन्‌ कि भन्ने त्रास पनि भित्र घरीघरी उठ्छ । नआवस्‌ बिहानै कोही पनि – राम्ररी सुत्न पनि पाइँदैन – गुनगुनाउँदै लोग्नेको खुकुलो स्पर्श पनि अझै खँदिलो पार्छे ।

बाहिर ढोकामा कलिङ बेलको आवाज सुइँकदै भित्र आउँछ कानै खाने गरेर । हामी दुवैजना जुरूक्कै उठ्छौँ – मन नलागेर पनि । सोच्छु – को आयो यति सबेरै, माइतबाट भाइ पो लिन आयो कि ? आयो भने त ठीकै छ भयो – खाना खान दुवैजना उतै जाउँला ! होइन, किन बिहानै आउँथ्यो र भाइ ? बोलाउन मन लागे फोन थिएन र ? सधैँ त फोनबाट बोलाउने गर्थ्यो । श्रीमानको साथी आयो कि ? हो भने त, चिया बनाउन जानैपर्यो । यसो त सधैजसो मान्छेहरू उहाँलाई भेट्न आउँछन्‌, गफसफ्‌ गरेर जान्छन्‌ । मनमा शङ्काले डाम लगाउन थाल्छ – के कमला त होइन ? र आई भने ढोकैबाट ‘हुनुहुन्न’ भनेर फर्काइदिन्छु, थोरै मलाई भेट्न आएकी हो र ? बसीबसी कतिबेरसम्म कुरा गर्छे – निर्लज्जी । गर्नुपर्ने कुरा गरेर गए हुन्न र ? यो घर के गफ गर्ने अखडा हो र ? अलि मेरो दहकस त लिन पर्छ । एक्लैएक्लै एक हप्ता बिराएर आउँछे- अझ भन्छे – भाउजूलाई दु:ख भयो, ‘डिस्टर्व’ गरेँ रे । राम्री छे – तरुनी छे – कुरा गर्न जानेकी छे, उसको अगाडि म त के राम्री छु र? फेरि अर्को पल्ट कलिङ बेलको आवाज आउँछ । जान त परिहाल्यो ढोका खोल्न; कोही मान्यजन पनि त हुन सक्छ ! गएर ढोका खोल्छु – मलाई लाग्छ म ढोकासँगै पछारिँदैछु । उही कमला पो जो पूर्ण शृङ्गारमा आएकी छे – “नमस्कार भाउजू ! बिहानै दुःख दिन पर्यो ।”

पहिले त लाग्छ – उसलाई ‘उहाँ हुनुहुन्न’ भनेर फर्काइदिजँ । किनकिन म त्यसो गर्न सक्तिनँ । सायद शिष्टताको स्पर्शले मलाई तानेर होला ।
“दाइ हुनुहुन्छ ?” मृदु मुस्कान छरिन्छ ।
“हुनुहुन्छ, आउनोस्‌ भित्र”
म आफ्नो अरूचिको प्रदूषण लुकाएर पनि फराकिली हुन्छु – मान्छेलाई अलिकति शिष्टता भए पुग्छ – अलिकति मुस्कान दिए पनि पुग्छ ऊ पग्लनको लागि ।
कमला ‘ड्रोइङरूम’ मा आएर बस्छे ।
म कोठामा जान्छु श्रीमानलाई खबर गर्न मन नलागे पनि । कोठामा जाँदा श्रीमान्‌ गाउन लगाएर प्रतीक्षा गरिरहनु भएको हुनुहुँदोरहेछ को आयो भन्ने उत्सुकताले ।
“त्यही बाइफाले कमला आएकी छे कति मन नपरेकी मलाई त । कति आएकी यहाँ ? सधैँ तपाईंलाई मात्र कविता देखाउन आउनु पर्छ र ? अरू छैन र तपाईंजस्तो साहित्यकार ? कति न कवयित्री भएकी ।”
आक्रोशका ताता थोपाहरू झार्छु ।
“के भयो त आएर ! तिमीलाई के बिगार गरेकी छे र उसले ? ममाथि विश्वास गरेर त आइहोली । त्यति उसको कविता हेर्दैमा करेक्सन गर्दैमा के हुन्छ र ! किन तिमी आफ्नो मनलाई तिल बनाउँछुयौ ? साहित्यकारकी स्वास्नीको मन त विराट हुनुपर्छ ।”

“राम्री स्वास्नीमान्छेको कविता सच्याउन पाएपछि, गफ गर्न पाएपछि तपाईंलाई त आनन्द लागिहाल्छ नि, होइन र ? अझ नजिक बसेर गफ गर्न पाएपछि के चाहियो र? तपाईंकै मन नाङ्लोजत्रै गर्नुस्‌ – मेरो तिलजत्रो मन ठूलो हुन सक्तैन ।”
एउटा घोचोको हुरी चलाउँछु ।
“बढ्ता कुरा नगर । चिया बनाएर ल्याक । कमला आई कि सधैँ यसले रडाको मच्चाउँछे । साहित्यकारकी स्वास्नी भन्न पनि सुहाउन्न ।”
श्रीमान्‌ झोक्किएर ड्रोइङरूममा जान्छन्‌ – पुरुषत्वको रिस फालेर ।
पहिले त सोच्छु – माइतमै जाउँ – चिया बनाएर पनि खुवाउन्न – आफै बनाएर खावस्‌ । एकपटक दिएर पुग्छ र ? गफ गरुञ्जेल कति पल्ट हो चिया बनाउनु पर्ने । आफ्नो घरमा काम पनि हुन्न कि क्या हो उसको । यिनीहरूलाई छोडेर माइत गएँ भने झन्‌ मोज भइहाल्छ यिनीहरूलाई । त्यसरी एक्लैएक्लै आउने आइमाईलाई बाँकी राख्छ र ? भन्न जान मन लाग्छ चिया पनि छैन – चिनी पनि छैन तर इज्जतको डरले मुखमा बुझो लाग्छ् ।

भान्सामा आउँछु – कान्छा पनि उसको बाबु बिरामी भएर पहाडतिर गएको छ। चिया बनाएर लगिदिन्छु – श्रीमान्‌ कमलाको कविताको बारेमा छलफल गर्दै थिए, कमला बीचबीचमा प्रश्न गर्थी –
भाउजू ! तपाईं त भान्सामै बेपत्ता हुनुभयो । बस्नुस्‌न यहाँ ।
कमला साख्खै भएर बोल्छे । भनिदिऊँ – मेरो यहाँ बस्ने जरुरत छैन । तिमी मसँग भेट्न आएकी हौ र ? जोसँग कुरा गर्ने हो उसैसँग कुरा गर्दैछयौ त म किन बस्नुपयो ?
तर यहाँ पनि चिप्लिन्छु – आफ्ना शब्दहरूलाई बेस्वादिलो र कर्कश बनाउन सक्तिनँ । सोच्छु मान्छे भित्र जतिसुकै क्रूर र जलील भए पनि प्रत्यक्षरूपमा ऊ कति आफूलाई निस्कलङकित र इमान्दाररूपमा प्रस्तुत गर्छ ।

सम्बन्धित पोस्टहरु

“के गर्नु ? बस्न मन लागे पनि फुर्सद छैन । अहिले कान्छा पनि घर गएको छ। खाना पकाउनै पर्यो । गाह्रो नमान्नुस्‌ है ।”
शिष्टताको स्वाङ देखाएर भान्सामा आउँछु। यो कति ठूलो बाध्यता हो ? किन करले पनि शिष्टता देखाउनु पर्छ र ? किन म कमलालाई आफ्नो मनमा उर्लिरहेको अनिच्छाका छालहरूले हुत्याउन सक्तिनँ ? किन म स्वाङको बोटमा अल्फिन्छु ? किन म किचकन्याको दाँत देखाउन थाल्छु ? मेरो भावनालाई यथार्थरूपमा किन व्यक्त गर्न सक्तिनँ ?

मन लाग्छ निस्केदेखि खुट्टा बजार्दै आउँ – थाहा पाओस्‌ कमलाले मेरा मनका अनिच्छाका लहरहरू, तीता स्वादहरू । त्यसो पनि गर्न सक्तिनँ । सोच्छु यसो गर्दा पनि मेरो अभद्रता देखिन्छ – उसले सोच्ने छे दीपक साहित्यकारकी स्वास्नी कति अशिष्ट छे । आजसम्म सबैले भनेको सुनेको छु – जति जनाले मलाई चिनेका छन्‌ – जति जनासँग मेरो परिचय छ – साहित्यकार दीपककी श्रीमती लताको स्वभाव कति राम्रो छ- कति शिष्ट छे – कति भलादमी छे। जो गए पनि एक कप चिया नखुवाई पठाउँदिन, सधैँ हँसिली । त्यस्ती पो हुनुपर्छ श्रीमती ।” यी प्रशंसापूर्ण शब्दहरू मेरो जीवनले उपलब्ध गरेका महत्वपूर्ण सम्पत्ति हुन्‌, जुन सम्पत्तिलाई जोगाउने र हराउने अनि बदनाम गर्ने मेरै हातमा छ। अहिलेसम्म कमला जति पल्ट आई – हरेक पल्ट उसले मबाट अशिष्ट व्यवहार पाएकी छैन । पहिले मसँग भलाकुसारी गरेपछि बल्ल मेरो श्रीमान्‌लाई सोध्छे । कमलालाई अलिकति पनि मेरो बिटुलो मनको हावाले छोयो भने के सोच्ली मप्रति ? उसलाई छोएको बिटुलो हावा के उसले अरू ठाउँमा पनि सार्न सक्तिनँ र ? आजसम्म मैले पाएको मूल्यवान्‌ प्रतिष्ठामाथि धक्का लाग्न सक्तैन र?

भात पकाउन थाल्छु – कमलाको आवाज अहिलेसम्म आइरहेछ – श्रीमानको पनि । कति नगएकी ? आफ्नो कविता देखाउन आएकी कि गफ गर्न ? त्यति राम्री केटीसँग गफ गर्न पाए श्रीमान्‌ पनि लट्ठ पर्ने । हरे, म के गरुँ ? के मेरो श्रीमान्लाई मोहनी लगाउने त होइन – सधैँ यसरी भेट गर्दा र गफ गर्दा ? के विश्वास भयो र लोग्नेमान्छेको ! स्वाद चाख्ने जात त हुन्‌ लोग्नेमान्छेहरू । यो आइमाई कुरा गर्न पनि कति खप्पिस छे – धेरै बाहिर निस्कने आइमाई त लोग्नेमान्छेजस्ता हुँदा रहेछन्‌ ।
“लता ! दुई कप चिया बनाएर ल्याऊ त”
श्रीमान्‌को आवाजले मलाई लाग्छ, छड्किरहेका भातका सिताहरू उछ्रिट्टिएर मेरो शरीरभरि पोखिँदैछन्‌ – फेरि चिया बनाउने ? कति नकच्चरी स्वास्नीमान्छे । दुई कप चिया खाँदासम्म बस्न सक्ने । त्यसरी लम्पट भएर कुरा गर्दा परिणाम राम्रो हुन्छ र ? कमला पो गम्भीर हुनुपर्ने । अरू पनि त स्वास्नीमान्छे साहित्यकार छन्‌ – यस्ती त कोही छैनन्‌ होला । चाहिएको गफ गरेर गए हुन्न र ? मन लाग्छ – गएर झपारूँ । जाने आँट छैन। प्रेसरकुकरको दालजस्तै उम्लिरहेछु भित्रभित्र । कतिखेर सिट्टी बज्ने हो । चिया बनाएर लैजान्छु ।
“भाउजूलाई दु:ख भयो ।”
रनन्न रन्का छुट्छ – त्यति मात्रै हो । पडकिन सक्तिनँ ।
“के को दुःख नि यति चिया खुवाउन पनि ?”
ओ हो अझ कतिबेरसम्म बस्ने हो । के मेरो श्रीमान्‌ कमलाको मोहमा बन्द हुने त होइन ? उसको आकर्षणमा बशीभूत हुने त होइन ? अरू आउँदा र धेरैबेर गफ गर्दा काम छ भनेर बाहिर निस्कने मान्छे कमला आउँदा किन निस्केर जाँदैनन्‌ ? एउटा जाबो कविता हेर्न र कुरा गर्न पनि घण्टौँ लाग्छ र ?
मेरो मानसिकता असन्तुलित हुन्छ व्यग्रता, अधैर्य र शङ्काले ।
हरे, भात त डढेछ – किन आउँछे यो मोरी यहाँ । यो आई कि सधैँ श्रीमान्सँग झगडा हुन्छ – मेरो मनमा हुँडलो मच्चिन्छ । यस्तै चहारेर जीवन बिताउने पो हो कि? बिहे पनि भएको छैन अझसम्म । के यसलाई स्विकार्ने लोग्नेमान्छे छैनन्‌ कि क्या हो?
“लता ! तिमी खाँदै गर, मलाई बाहिर जाने काम पर्यो । कमलालाई पनि ड्रप गरिदिन्छु । उसको पनि जरुरी काम रहेछ ।”

मेरो अगाडि अन्धकारको पर्दा खस्न थाल्छ – मेरो श्रीमान्‌ ड्रेस चेञ्ज गर्न कोठामा जान्छन्‌ – म त्यो अन्धकारको पर्दा सेँगीले च्यात्तै तल झर्छु जहाँ मोटरसाइकल राखिएको हुन्छ – मेरो आँखामा मोटरसाइकलको टायरबाहेक अरू केही पनि आउन सक्तैनन्‌ । क्रोध र जलनको पहिरोमाथि पुग्छु । धमाधम सेँगीले टायरलाई काट्न थाल्छु आफ्नो भएभरको क्रोधको पहिरो खन्याएर ।
“यो के गरेकी लता ?”
श्रीमान्‌को स्वरले मेरो हातको सेँगी भुइँमा झर्छ, अगाडि श्रीमान्सँग कमला पनि उभिएकी छे । दुवैको आँखामा आश्चर्य भरिभराउ छ। मभित्रको अशिष्टता यतिबेला साहस गरेर बाहिर निस्केको छ । म शक्तिशाली हुन्छु दुवैजनासँग लड्न र भिड्नलाई सायद मेरो अशिष्टताका डामहरू देखेर हो कि कमला एक्लै बाटो लाग्छे । सोच्छु कमलाले मेरो मनको वास्तविक भाव पढी – अब र फेरि आउने छैन । नआओस्‌ पनि ।

मेरो श्रीमानले लामो सास तान्दै भन्छन्‌ – “मूर्ख ! कमलाको बिहे मेरै साथी शैलेशसँग हुँदैछ – बिहेको कार्ड बाँड्न एकदिन सहयोग पो मागेकी थिई उसले ।”

उर्लिरहेको रिसको भेल कम त हुन्छ – केही जवाफ दिन्न । श्रीमान्‌को पछिपछि चुपचाप माथि जान्छु ।

प्रतिक्रिया
Loading...