साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

सलोनी: एक प्रेमकथा

 

सम्राटलाई भित्रबाट बाहिर प्रवेश गर्न मन थियो तर चिसोको आतिथ्य ग्रहण गर्ने कुनै सोख थिएन । कोठामा हिटरको न्यानो उपलब्ध थियो र त्यो सुविधा अहिलेको बखत उसलाई एकदम प्यारो भइरहेको थियो । बेला–बेला झ्यालतिर गएर बहिरी मौसम खुलेछ कि भनेर ऊ नियाल्थ्यो । निकै कम पलले मात्र अब सलोनीसँग भेट्न छुट्टयाएको थियो । सलोनी उसको प्रेम थिएन । प्रेमपूर्व हृदयमा मौलाउने आकर्षणको तरङ्गसमेत उसमा समाहित थिएन । उसको साथी पनि ऊ भर्खर बनेकी थिई । तर दुवै माझ एउटा छुट्टै किसिमको आत्मियताको निर्माण भएको भने तथ्य कुरा थियो । कम अवधिमै सामीप्यको यस्तो उचाइ सलोनीको तर्फबाट कुन भावबाट सम्भव बन्यो, सम्राटलाई थाहा थिएन । उसको तर्फबाट भने सहानुभूति प्रवल थियो । सलोनी क्यान्सरपीडित थिई । जीवनले उसलाई बाँच्न योग्य ठानेन । डाक्टरले जतिखेर जे पनि हुनसक्छ भनेर उसको परिवारजनलाई सचेत गराएको थियो । अवस्था हेरेर उसको महिनामा एकदेखि दुई पटक रगत फेर्नुपर्थ्यो । ब्लड डोनर्स् ग्रुपमा आबद्ध सम्राट यसै सिलसिलामा सलोनीसँग परिचित भएको थियो ।

सेल्जिन

पहिलो पल्ट सलोनीका लागि रक्तदान गर्दा सम्राटले उसलाई देख्न पनि पाएन । सलोनीलाई छुट्टै कक्षमा राखिएको थियो । सम्राटजस्तै अन्य रक्तदाताहरुले दान गरेको रगत उसको शरीरमा चढाएर डाक्टरको अनुमतिपछि मात्र उसलाई डिस्चार्ज गर्ने जानकारी आफन्तहरुले दिएका थिए । सम्राटले भेट्ने इच्छा जाहेर गरेको केही दिनपछि उसलाई बोलाइएको थियो । सुरुआती भेटअघि सम्राटका विचारहरुले अनेक रङहरु अपनाएका थिए । जीवनले आफ्नो नठानेको व्यक्तिको जीवनप्रतिको दृष्टिकोण कस्तो होला ? कस्ती देखिँदी हो सलोनी ? के उसको अनुहार जीवनसँग परास्त हुनुपरेको निराशाले ओइलाएको होला ? अथवा यो जुनीसँग सम्झौता गर्ने आत्मविश्वासले कठोर उसको प्रस्तुति हुने थियो ? बचेको थोरै बहुमूल्य समयबाट अधिकतम खुसी अनि अनुभव साट्न खोज्ने आशावादी कोणको अवतारमा पनि त ऊ पर्न सक्थी !

प्रारम्भिक भेट अगावै उदाएका सम्राटका तर्कनाहरुको वैचारिक संघर्ष सलोनीको घर छेउको पार्कमा बसिरहेको उसको शान्त मुहारमा पुगेर अवशान भयो । ऊ रोगले थकित जस्तो देखिन्न थिई । अलमस्त ढाँचाका अल्लारेहरुझैँ  ऊ होली भनेर त सम्राटले मानेको थिएन । ऊ त्यस्ती पनि निस्किई । उसमा उदासीको घर बसेको त थिएन, यद्यपि उल्लासका अग्ला भवन चढ्न सक्ने ऊर्जा पनि उसको मुखाकृतिमा अडिएको थिएन । आकाश र जमिनबीच कतै क्षितिजमा च्यापिएको साँझपख निभ्न लागेको घामजस्तो देखिन्थ्यो उसको मुहार जसमा अझ केही उज्यालो शेष थियो तथापि त्यसको चमक भने मधुरो थियो । जीवन र मरणबीच अल्झिएको एउटा अस्तित्वको प्रतिनिधित्व थिई, सलोनी सम्राटको नजरमा जसले उसको दृष्टिसामु आफूलाई पाएर मुस्कुराउन बिर्संदै गइरहेको आफ्नो ओठलाई केही तन्काउन बाध्य पारी ।

यो अरु बेलाको झैँ सामान्य भेटघाट थिएन । त्यसैले सामान्य प्रश्नहरुको कुनै वजन थिएन । पहिलो प्रश्नबाटै सम्राटले सो कुरा बुझेको थियो ।

“आराम हुनुहुन्छ ?” सलोनीको मुस्कानको बदलामा मुस्कान फर्काएर ऊ बसेको बेन्च छेऊ बस्दै उसले सोधेको थियो ।

“म जस्तो मान्छेलाई यस्तो प्रश्न गर्न सुहाउँछ र ?” सलोनीको अनेपेक्षित जवाफले सम्राट अक्मकायो । थप संवाद चलाउन उसले उचित शब्दहरु केलाउनु पर्‍यो ।

“मेरो मतलब अहिले कस्तो फिल गर्दै हुनुहुन्छ ?” सम्राटले आफ्नो प्रश्नलाई सच्यायो ।

“ठीकै, ठीकै भन्नुपर्‍यो,” सलोनीको उत्तरपश्चात् सन्दर्भमा मिल्ने प्रश्न सम्राटलाई खोज्न गाह्रो पर्‍यो । ऊ सलोनीसँग उसको जीवनप्रतिको धारणा बुझ्न चाहान्थ्यो तर पहिलो जवाफबाटै स्तब्ध बनेको ऊ प्रश्नहरुको सँगालोलाई फुकाल्न काँतर बन्न पुग्यो ।

“अनि मसँग भेट्न खोज्नुको कुनै विशेष कारण ?” सलोनीको प्रश्नले सम्राटलाई झस्कायो ।

‘हैन, त्यस्तो केही पनि छैन,’ अफ्ठ्यारो मानेर उसले बोल्यो ।

‘मजस्तो मान्छेसँग कसलाई के काम पर्छ र ?’ सलोनीको कुराले सम्राटको मनको कमलो पत्रहरुलाई हल्लाइदियो । परिवेश झन् बोझिलो बनेर असहजताले धमिलियो । मौनताको आगमनपछि त पार्कबीच रहेको मूर्तिले थप दुई मानवीय मूर्तिको पनि साथ भेट्टायो ।

“हामी त त्यो मूर्तिलाई कम्पनी दिन पो आयौँजस्तो भयो है ? बोली नै फुटेन,” शून्यताको श्रङ्खला तोडी परिस्थितिलाई सरल बनाउन खोज्दै सलोनीले ठट्टा गरी ।

सम्राट मुस्कुरायो मात्र किनकि आफ्नो उद्देश्यलाई खुलस्त पार्ने गरी सजिलो उसलाई अझ भइरहेको थिएन ।

“तपाईंले नभने पनि मलाई थाहा छ तपाईं मसँग भेट्न खोज्नुको कारण । मेरो जीवन प्रतिको हेराई बुझ्न चाहनुहुन्छ हैन तपाईं ?” सम्राटले कुनै प्रतिक्रिया जनाउनुअघि नै सलोनीले आफ्नो कुरा अघि सार्न थाली ।

“म सत्र वर्षको हुँदा क्यान्सर डाइग्नोसिस भएको थियो । सुरुमा घर परिवारले सुरुआती चरणमै छ, केही समय औषधि लिए सञ्चो हुन्छ भनेर बाँच्ने आशा देखाएका थिए तर मेरो अनुपस्थितिमा उनीहरुको रुवावासी चलेको थाहा पाएपछि भने मलाई मेरो समय धेरै छैन भनेर बुझ्न गाह्रो भएन । बाहिर म आफूलाई स्ट्रङ्ग देखाउथेँ तर एकान्तलाई भेट्नासाथ आफूलाई सम्हाल्न सक्थिनँ । आँसुसँगै बग्न पुग्थेँ । पछि आफूलाई सम्झाउन थालेँ । रोएर केही हुँदैन । प्रत्येक क्षण मेरालागि महत्त्वपूर्ण छ । मर्नुअघि नै म आफूलाई मार्दिनँ । बाहिर अरुलाई देखाउन मात्र हैन, भित्रैबाट म स्ट्रङ्ग बन्नुपर्छ । त्यसपछि आफूलाई खुसी दिने जम्मै काम सकेसम्म गर्न खोज्छु । ठूलो सपनाको लागि त समय पर्याप्त छैन तर स–सानो कुरामा पनि खुसी रहन सकिन्छ भनेर सिक्न थालेँ र अझ पनि सिक्दैछु । शायद यही पोजिटिभ इनर्जीले मलाई अहिलेसम्म बचाएको होला । नत्र डाक्टरको कुरा मान्ने हो भने त मेरो डेडलाइन उहिल्यै एक्सपायर भइसक्नुपर्ने हो ।”

एउटा गम्भीर कथालाई सलोनी हाँसो गरेर बिट मार्छे । एकसमान लाग्थेन उसको व्यवहार । उसमा आफ्नो जीवनप्रति रोष थियो तर अत्यधिक लगाव पनि । अल्पायु भएकोमा निराशा थियो तर आफू मर्दैछु भनेर ती क्षणिक पलहरुमा बढी बाँच्न खोज्ने चाहना पनि । सलोनीसँगको भेटयता केही रात सम्राटको निद निकै पातलिएको थियो । सलोनीको मनस्थितिसँग नजिकको चिनापर्चीपछि उसको मर्म सम्राटमा पनि सरेको थियो । रोग उसलाई बाँच्न दिने मनसायमा थिएन तर बाँचुन्जेल जीवनलाई खुसीमा अनुवादित गर्ने उसको इच्छाशक्तिले सम्राटको मनमा उसलाई सम्मानित गरेको थियो ।

अर्को भेटको आयोजना गरिएको थिएन तर नियतिले बुनिदिएपछि पसलमा किताब छानिरहेको अवस्थामा दुवैले एकअर्काको नजिकमा आफूलाई फेला पारे ।

‘हाई !’ मुस्कुराउदै सम्राटले अभिवादन गर्‍यो ।

‘हाई !’ सलोनी मन्द मुस्कुराई । हुन त यो भन्दा बढी मुस्कुराएको सम्राटले देखेको पनि थिएन । ‘तपाई यहाँ ?’ उसले सोधी ।

‘फिक्सन पढ्ने एकदम सोख छ । आइराख्छु यहाँ । तपाईं पनि किताब लिन आउनुभएको ?’

‘हजुर । म चैँ ननफिक्सन बढी छान्छु । यथार्थसँगै सम्बन्ध जोडी राख्न चाहन्छु । कल्पनामा हराएर समय खेर फाल्न चाहन्नँ ।’

पहिलो भेटको पहिलो प्रश्नलाई याद गराउँदै जवाफ फर्किएको थियो, जसले सम्राटलाई फेरि एकपटक यो सामान्य भेटघाट थिएन भनेर सम्झायो । फेरि एकचोटी संवादको खडेरी पर्‍यो र दुवै आफूलाई पुस्तक छान्नमा व्यस्त पार्न थाले ।

छुट्टिने बेला सम्राटको हातमा किताबको राम्रो संख्या देखेर सलोनीले सोधी, ‘पढ्नु मात्र हुन्छ कि लेख्ने पनि गर्नुहुन्छ ?’

‘लेख्छु । केही कथाहरु लेखिसकेको छु । अब प्रकाशित गर्ने सोच्दै छु । एउटा उपन्यास पनि लेख्न खोज्दैछु । राम्रो प्लटको खोजीमा छु ।’

‘ए ! त्यही भएर मसँग भेट्न खोज्नु भ’को त हैन तपाईंले ?’ सलोनीले फेरि एउटा ठट्टयौली सुर निकाली, “मेरो कथा त्यसै चोर्न पाउनुहुन्न है ।”

पहिलो पटक दुवै मुस्कुराएनन् मात्र, एकसाथ हाँसे पनि । यद्यपि त्यो हाँसो शिष्टताले डोरिएको थियो । त्यसपछि पुस्तक पसलबाटै छुट्न लागेको उनीहरुको साथ बजारको सडक किनारामा केही दुरीसम्म लम्बिएको थियो । सलोनी यसपालि पहिलेको तुलनामा बढी खुलेकी थिई । मुहारमा पनि, व्यवहारमा पनि । व्यवहार त बढ्दो भेटघाटसँगै निम्तिने आत्मियताले खुल्दै जाने भएकाले स्वाभाविक थियो तर मुहार ? सम्राट सलोनीको मुहारलाई लक्षित गर्दै यिनै कुराहरु सोच्दैथियो र यसैलाई प्रश्न पनि बनायो ।

“हस्पिटलबाट डिस्चार्ज भएपछि मलाई पूर्वावस्थामा फर्कन केही समय लाग्छ । अहिले आराम पुगिसक्यो, त्यही भएर तपाईंलाई त्यस्तो लाग्यो होला,” उदासीले छेकिएजस्तो देखिए पनि उसले कुरालाई हल्का पार्न राम्रोसँग जान्दथी । “तर हस्पिटल जानुअघि मलाई भेट्न आउँदै हुनुहुन्छ भने दोहोर्‍याएर सोच्नुहोला नत्र तर्सनुपर्ला । खत्तम देखिन्छु ।”

छिनछिनमा गम्भीर बन्ने तर गम्भीरतालाई चिर्दै ठट्टा गर्न सक्ने । सलोनीको स्वभाव स्थायित्वमा कसिएको थिएन । स्पष्ट आकारको थिएन । निराकार बादलझैँ लाग्थ्यो जसको पूर्वानुमान गर्नु सम्राटको वशको कुरा थिएन ।

त्यसयताका भेटहरु भने तय गरिएका थिए । उनीहरुबीच पुस्तकका कुरा हुन्थे । जीवन प्रतिको धारणा, समाजको संरचना, प्रकृतिको सौन्दर्य, दर्शन उनीहरु अन्तरक्रिया गर्ने मूल विषयवस्तुभित्र पर्थे । सलोनीको स्वास्थ्यलाई ख्याल गरेर प्रायः उसको घर नजिकको पार्कमा दुवै बातचितमा केही समय गुजार्थे । एकदिन पार्कमा दुवै प्रातकालीन हिँडाईमा सँगै सामेल हुँदा केहीबेरअघि उदाइसकेको घामलाई लक्षित गर्दै सलोनीले भनी, “यो घामले युगदेखि सधैँ दिनको साथ दिइरा’को छ । कस्तो लक्की छ है यो दिन ! विचरा रात देखेर माया लाग्छ । हाम्रो जीवनले पनि सधैँ यस्तो एउटा उज्यालोको साथ पाइरहे बाँच्न कति रमाइलो हुन्थ्यो होला ! अँध्यारोलाई किन आउनुपरेको होला ?”

“दिनरात त सृष्टिको एउटा नियम हो । यसलाई भाग्यसँग जोड्नु ठीक होला र ? बरु यसलाई त हामीले सकारात्मक रूपमा लिनुपर्छ । अँध्यारो–उज्यालो भनेको जीवनको एउटा भाग हो भनेर यसले हामीलाई सिकाउँछ । दिनसँग घाम सँगै भएझैँ रातले पनि त ताराहरुको साथ पाउँछ,” सम्राटले सम्झाउने प्रयत्न स्वरूप भन्यो ।

“ताराहरु असंख्य हुन्छन् तर एक्लो सूर्यसँग तिनीहरुको तुलना हुन सक्दैन,” सलोनीको अभिव्यक्तिले उसको मनको निराश स्थितिलाई जनायो ।

“ताराहरुको के भूमिका छ र ? के सिक्न सकिन्छ र यसबाट ?”

“बुझ्न खोज्ने हो भने ताराहरुको पनि आफ्नै भाषा हुन्छ । ताराहरुले रातमा पनि उज्यालोको झिल्को बनेर हाम्रो आशालाई बालिरहन्छन् । अन्धकारमा प्रकट भएर आफ्नो धर्म निभाउँछन् । दुःखमा आश नत्याग्न र साथ नछोड्न यिनले हामीलाई सिकाउँछ,” सम्राट आफ्ना तर्कहरुद्वारा सलोनीका जिज्ञाशाहरुलाई समाधान दिन खोज्यो । सलोनी उसका कुरा सुनेर केहीक्षण सोचमग्न बन्न पुगी ।

“अनि अँध्यारो ? अँध्यारो चाहिँ हाम्रो जीवनको एउटा भाग भन्नुभयो, कसरी ?” उसले फेरि सोधी ।

“यदि अँध्यारोको अस्तित्व नहुँदो हो त सायद उज्यालोको महत्त्वलाई हामीले बिर्सनेथ्यौँ । हामीले जीवनको उज्यालोमा हैन अँध्यारोमा आफ्नो कमजोरीहरुलाई देख्छौँ । जितमा नभएर हारमा आफ्नो गल्तीहरु बढी महसुस गर्छौं । जीवनका अँध्यारा पाटाहरुबाट उम्कन खोज्ने चाहनाले त हो मानिसलाई संघर्ष गर्न सिकाउने । अँध्यारोमा हराएपछि मात्र उज्यालो गुमाएको अनुभव हुन्छ ।”

अलि बेर लगाएर चित्त बुझेझैँ सलोनीले आफ्नो शिर हल्लाई । उसले आफ्नो कुरा खाएकोजस्तो देखेर सम्राटले फेरि थप्यो,
“जीवनलाई सुखसँग काट्न दुःखलाई पनि स्वीकार्नै पर्छ । जहाँ जीवन छ, त्यहाँ दुःख भइहाल्छ । त्यसैले कसैले मेरो जीवनमा सुखैसुख छ भन्यो भने नपत्याउनुहोला ।”

सलोनीको सिको गर्दै गम्भीर बातचीत माझबाट सम्राटले ठट्टा गर्न खोज्यो, जसलाई स्वागत गरेझैँ ऊ हाँसी । उसले निष्कर्ष निकाली ।

“सो दि मोरल अफ दि स्टोरी इज, यो संसारमा जे कुराले पनि अर्थ बोकेको हुन्छ । अँध्यारोबाट पनि उज्यालोले सिक्न सकिन्छ ।”

“त्यस्तै दुःखबाट सुखले,” सम्राटले भन्यो ।

“अनि मृत्युबाट जीवनले,” मन्द मुस्कुराउदै सलोनीले थपी । त्यसमा सम्राटको मुस्कान पनि थपियो । सधैँ भावहरु प्रस्तुत भइरहने सलोनीका आँखाको गहिराईसम्मले शान्त अनुभव गरेको सम्राटले अहिलेसम्म नहेरेको दृश्य पहिलोपटक देखेको थियो ।

सलोनीसँग परिचय आदानप्रदान भएको महिना पुग्न लागिसकेको थियो । आज ऊ हस्पिटलबाट डिस्चार्ज हुँदै थिई । तीन महिना पुगिनसकेकोले सम्राटले रक्तदान गर्न नपाए पनि उसले भेट्न आग्रह गरेको थियो, जसलाई सलोनीले नकारिन । सम्राट बिहानैबाट घरिघरि झ्यालनिर आएर बिग्रेको मौसममा बदलाव आउँछ कि भनेर जाँचिरहेको थियो । माघको सुरुआत, त्यसै पनि चिसोमा रुमलिने गर्दछ । आज भने खुला चिस्यान केन्द्रको अनुभूति दिने गरी वातावरण बदलिएको थियो । ठिहिर्‍याउने जाडोले प्रायलाई घरभित्र कुँज्याएको थियो । बाहिर उपस्थितहरुको संख्या सामान्य बेलाभन्दा कमजोर थियो । बढेको जाडोले सक्रियता घटाएको थियो । हिटरको न्यानोपनमा अल्झिएको सम्राट सलोनीले दिएको समय अहिले नहिँडे पुग्न नसक्ने घडीले संकेत जनाइसकेको देखेर आत्तियो ।

बाहिरको चिसो र भित्रको न्यानोको असमान व्यवहारले होला बाहिरिँदा सम्राटलाई केही असहज महसुस गरायो । न्यानोको खोज सबैको प्राथमिकतामा परेको देखिन्थ्यो आज । बाहिरी दृश्यावलोकनमा अन्जानमै सम्राटले प्रशस्त समय खर्चिसकेको थियो । चेतनालाई जाडोले छुनेबित्तिक्कै ऊ आकाशतर्फ हेर्थ्यो, आशाको दियो बल्ने ईशारा गरेको छ कि भनेर हेर्न । तर त्यहाँ रङहरुको कुनै तरङ्ग थिएन । बादलको जगजगी थियो ।

बिस्तरामा पल्टेर सलोनी आफ्नो कोठामा आराम गर्दै थिई । उसलाई सम्राटको प्रतीक्षा थियो । सम्राटसँगको संगतले उसमा महसुस हुने गरी परिवर्तन ल्याएको थियो । खुसी रहन उसलाई जहिले पनि मन लाग्थ्यो तर जति प्रयत्न गर्दा पनि निराशा स्वचालित हुनपुग्थ्यो । होश फर्कंदा आफूलाई जीवनबाट उदासीन भएर बसेको ऊ पाउँथी । खुसी हुनलाई ऊ सजग हुनुपर्थ्यो । तर सम्राटसँगको पहिचानपछि खुसी बन्न उसले सोचिरहनुपर्थेन । स्वतः हुन थालेकी थिई । आफ्नो छोटो जीवनप्रति उसलाई सदाजसो गुनासो हुने गर्थ्यो, त्यो पनि अहिले थामिएको थियो । बचेका दिनहरु पनि सार्थक नबनी मासिदै गएकोमा ऊ बेचैन बन्थी । त्यो पनि अहिले रोकिएझैँ भएको थियो । रोग त उसले पहिल्यै स्वीकारिसकेकी थिई तथापि आफूभित्र यस्तो आमूल परिवर्तन ल्याउन ऊ असफल थिई । हस्पिटलको बेडमा पल्टेर यसै कुरामा गमिरहँदा अचानकसँग ऊ झस्केर उठेकी थिई, जब अन्ततः उसले कारणलाई देख्न सकी । उसका सुखका केही क्षणहरु अनि दुःखका सहयोगी घडीहरु सम्राटसित साझा गरेको व्यक्तिगत अनुभव उसमा सहभागी थियो । सम्राटसँग उसका भावनाहरुको हेलमेल भएको थियो । जीवनको सुर जुन हिसाबमा निर्देशित भइरहेको थियो, त्यसलाई बिगार्न नवतरङ्गहरुको निर्माण, उसको मनका दायराहरुमा समाविष्ट हुँदै थियो । स्वभाविक नै थियो त्यो उसको चरित्रले आफूमा रुपान्तर गर्न उसलाई प्रेरित गर्‍यो । सम्राटसँग समीपको सम्बन्धपछि उसमा एउटा भावना उदाउँदो थियो । प्रेमको । तर त्यो एकतर्फी थियो र सधैँ रहनेवाला थियो भन्ने ज्ञान पनि उसमा थियो । किनकि उसले बुझेकी थिई, परस्पर भावाकर्षणको अन्तिम चरण हो प्रेम, जसको सार्थकतामा दुई आत्मामाझको आजीवनको साझेदारी रहन्छ । एउटा रोगग्रस्त व्यक्तिलाई कसैको सहानुभूति मिल्ला तर कसैले उसलाई प्रेम किन गरोस् ? एक अल्पायुसँग क्षणिक प्रेममा फँसेर कोही आफ्नो जीवनभरिका लागि दुुुःखी बन्न किन राजी होस् ? सलोनीको मस्तिष्कले उसलाई सम्झाउन खोज्यो तर उसको हृदयलाई भने प्रतिवाद गर्ने तीव्र ईच्छा भइरह्यो । रोगले थाकेको शरीरभित्र प्रेमको सुगन्धले स्वस्थ अनुभव गरेको थियो उसको मुटुले ।

हस्पिटलबाट डिस्चार्ज भएकै दिन गलेको अनुहार सम्राटलाई देखाउन मन थिएन, सलोनीलाई तर आफ्नो एकतर्फी प्रेमको मुहारको अनुपस्थिति आफ्ना आँखाबाट थप लम्ब्याउन पनि ऊ चाहन्थिन । सम्राट आई नपुगेकोले उसले बारम्बार समयमा ध्यान पुर्‍याउथी । कल गर्न पनि खोजेकी थिई तर आफ्नो व्यग्र भावना सम्राटले चाल नपाओस् भन्नेमा सचेत रहनुपर्ने उसलाई लाग्यो । बोलेको समय भन्दा आधा घण्टा पछि सम्राट एक हातमा फूलको गुच्छा र अर्को हातमा फलफूलको झोला सहित देखापर्‍यो ।
“नराम्री देखिन्छु भन्दै हुनुहुन्थ्यो तर मलाई त तपाईं पहिले भन्दा झन् राम्री देखिएजस्तो लाग्यो । दिस इज फर यु ब्युटिफूल लेडी,” सम्राटले फूल सलोनीलाई थमायो ।

“थ्याङ्क्यु,” सलोनीले मुस्कुराउँदै भनी, “यति धेरै चिजबिज ल्याउनु हुन्छ, महँगो पर्‍यो तपाईंलाई मसँगको भेट ।”

“तपाईंसँग भेट्दा मलाई जति खुसी मिल्छ, त्यो अमूल्य छ । त्यसको तुलना केहीसँग गर्न मिल्दैन ।”

सम्राटको अभिव्यक्तिले अपार खुसी सलोनीको मनसँग गाँसिन आयो ।

“साँच्चै ?

“झुटो बोलेजस्तो लाग्यो ?” त्यसपछि सम्राटले ढिलो हुनुको क्षमायाचना गरेर अकारणमै त्यसो नभएको भनेर मौसमलाई दोष दियो । आफूले भोगेको र बाटोमा देखिएको मौसमको असर उसले बतायो । सलोनी उसको कुरा सुन्नुभन्दा आफूमा निर्मित नवभावनाको नजरले उसलाई नियाली रही । उसको स्वास्थ्यको बारे सोधिएका प्रश्नहरुका उत्तरमा बाहेक ऊ खासै बोलिन । सम्राटले उसका लागि थर्मसबाट तातो पानी खन्याउँदा होस् या झ्यालतिर गएर मौसम निरीक्षण गर्दा होस्, जता जे गर्न ऊ पुगे पनि उसको जानकारीबाहिर सलोनीका आँखा ऊतर्फ डोरिइरहन्थे ।

भेटघाट झन् बाक्लिन थालेको थियो । सुमधुर सम्बन्धले सम्बोधन तपाईंबाट तिमीमा सरिसकेको थियो । प्रेमको सम्वेगलाई मनभित्र साँचेर सलोनी मित्रताको आडमा सम्राटसँग भेट्थी । आफ्नो भावना व्यक्त गर्नु उसका लागि असम्भव थियो । अस्वीकार हुने भय या पीडा थिएन किनकि मान्यता नमिल्ने उसलाई पक्का थियो । तर सम्राटको आफूप्रतिको सम्मानित दृष्टिकोणमा ह्रास ल्याउने खतराले उसलाई तर्साउँथ्यो । उसले अन्तरमा रहेको ख्याललाई सम्राटसमक्ष पुर्‍याउनु ठूलो भूल बन्न सक्थ्यो । सम्राट ऊबाट टाढिन सक्थ्यो र बाँचुन्जेल खुसीबाट विच्छेद भएर बस्न ऊ बाध्य पर्न सक्थी । फेरि उसको कुरामा कुनै तर्क पनि त थिएन । आफू केही सुखद् पलमा रम्नका लागि प्रेमजस्तो सम्वेदनशील भावना अरुबाट उधारो माग्नु जायज कुरा पनि थिएन । जीवित होइन्जेल एउटा जीर्ण शरीर र मरेपछि आफ्नो आत्मालाई प्रेम गर्न ऊ सम्राटलाई विवश पार्न सक्थिन । प्रेममा आफूभन्दा बढी आफूले स्नेह गर्ने व्यक्तिको सुविधाबारे सोच्नुपर्ने हो । यदि उसको माया साँचो हो भने ऊ सम्राटलाई संकटमा पार्ने काममा कसरी अग्रसर हुन सक्थी ? दुई हृदयको स्पर्शबाट स्वतःस्फुर्त विकास हुने भावलाई सम्झौताको रुप दिन ऊ तयार थिइन । त्यसैले दुवैको खुसीलाई दिगो राख्न उसले आफ्नो प्रेमको औचित्य देखिन अनि त्यागलाई रोज्ने निधो गरी ।

सम्राटलाई समीपमा पाउँदा भने सलोनीका तर्कहरु संकुचित पर्दै जान्थे । उसको प्रेममा पूरै डुबेकी ऊ हृदयमा कोरिएको उसको स्पष्ट चित्रलाई अँगाल्ने मायाको अर्थहीन कोसिसमा लागिरहन्थी । प्रेमलाई कसैको अनुमति चाहिँदैन । सोधेर पनि गरिँदैन । ऊ पनि अन्जानमै प्रेममा परी त यसमा ऊ कसरी गलत देखिन सक्थी ? जात, वर्ण, भाषा, धर्म, सामाजिक स्तर कसैलाई नमान्ने अन्धो प्रेमले उसको दीर्घरोग र अल्पायु समेतलाई देखेन भने ऊ त्यसलाई छेक्न किन तत्पर बन्ने ? जो कोही पनि प्रेमको अभिलाषा राख्न स्वतन्त्र छन् र ऊ पनि थिई । प्रेमको लागि कुनै योग्यता तोकिएको हुँदैन, फेरि ऊ आफैँलाई अयोग्य घोषित किन गर्ने ? जीवनसँग त ऊ परास्त भइसकेकी थिई तर प्रेमको शीर्षकमा जित किन नलेखाउने ? स्नेहको मिठासले शेष जीवनको सानो अंशलाई आनन्दायी बनाउने उसको अन्तिम इच्छा बनेर उब्जियो । आफ्नो हृदयको आवाजलाई अन्तिम मानेर उसले आफूभित्र चलिरहेको मन र मस्तिष्कको अन्तरद्वन्द्वको समापन गरी ।

सम्राटसँग आफ्नो हृदयको अवस्था बयान गर्न सलोनीले कुनै अवसर खोजिन । आँउदो हप्ता उसको जन्मदिन थियो तर त्यहाँसम्म धैर्यता राख्न पनि उसले मनासिव ठानिन । जुनै पनि घडी उसको जीवनको निर्णायक बन्न सक्थ्यो । भोलि हुन लागेको भेटमै मनमा बन्द भावको खुलासा गर्ने नियत उसले बनाई । त्यस रात अबेरसम्म उसले ताराहरुसँग बिताई । उसलाई ताराहरु जागेको प्रिय लाग्न थालेको थियो । उसले सम्राटले भनेका कुराहरु सम्झी । दुःखमा आश नत्याग्न र साथ नछोड्न ताराहरुले हामीलाई सिकाउँछन् । सम्राटले बोलेझैँ के ऊ पनि ताराहरुझैँ उसको अन्धकार जीवनमा झिल्को बनेर बल्नेछ ? यिनै सोचहरुसँग जुधेर रात काटेपछि सम्राट सम्मुख थोरै डर अनि लज्जाको भाव लिएर ऊ पुगी । अज्ञात भविष्यको सन्देहले थिचिएर होला शुरुमा ऊ धेरै बोल्न सकिन ।

“अर्को हप्ता तिम्रो बर्थ डे हैन ?” सम्राटले सोध्यो ।

सलोनीले सहमतिमा शिर हल्लाई ।

“ट्वान्टी सेकन्ड बर्थ डे ?” सम्राटले अर्को प्रश्न गर्‍यो ।

सलोनीले फेरि स्वीकृतिजनक शिर हल्लाई ।

“मनाउँछ्यौ ?”

“नमनाएको धेरै भयो । यसपालि मनाउँछु । अन्तिम पटक सत्र वर्ष पुग्दा मनाएकी थिएँ । आजकल मलाई त्यतिखेरका कुराहरु याद आँउछन्,” सलोनीलाई बेलाबेलामा गम्भीर बन्ने पुरानो रोगले समाउन थालेको सम्राटलाई आभास भइसकेको थियो तर आज उसलाई रोक्न उसले खोजेन । सलोनीको बोली फुटेपछि उसले पोख्न खोजेको अतित उसलाई जान्न मन लाग्यो । सलोनीले सम्झी, ती घडी त्यस्ता उन्मादी हुने गर्थे जब उल्लास चालै नपाई उसको हृदाकाश भरी छर्किन आँउथे । ऊर्जाको अभाव त्यस कालभरि अनुभूत भएको अल्प–सम्झनासमेत उसलाई छैन । जाँगर मनको अँगेनाबाट हरबखत बलिरहन्थ्यो । र, यसको तापलाई अपनाउन उसको तन अनि मनले उसलाई उक्साइरहन्थ्यो । असम्भव भन्ने कुरा पनि जीवनको सतहमा पर्ने गर्छ भनेर विश्वास गर्न मन कत्ति मान्दैनथ्यो ।

“धेरै कुराको चाहना राखेकी थिएँ । सपना, प्रेम, स्वतन्त्र जीवन । तर जीवनले यस्तरी कोल्टे फेर्‍यो कि सबै चीज चाहनामै सीमित बने । जन्मदिन, चाडपर्व, नववर्ष बितेर गएर फेरि नयाँ समयमा दोहोरिएर नआओस् भन्ने कामना गर्थें । खुसीका उत्सवहरुमा पनि यतिसम्मको निराशा चढ्ने गर्थे किनकि मेरो जिन्दगी अनुत्पादक बनेर खेर हुन पुगेको स्मरण गर्ने माध्यम भएका थिए ती ।”

“सलोनी के भो तिमीलाई ? किन यस्तो कुरा गरेको ?” सलोनीका आँखामा चलमलाइरहेका भावहरुलाई पढेर सम्राटले सोध्यो ।

“अरुका लागि सामान्य चीज मेरो लागि असम्भव बन्नु मेरो जीवन औसत भन्दा कति निम्न व्यतीत भइरहेको छ भनेर प्रष्टाउँछ । म पनि त मान्छे हुँ । नमरुन्जेल ममा भावनाहरु त बाँचिरहन्छ !” आफूलाई एकहोरो हेरिरहेको सम्राटका आँखामा घरि–घरि आँखा मिलाउदै सलोनीले भनी, “जब पनि म कल्पनामा आफूलाई दौडाउन थाल्छु, एउटा आत्मिय भावनाले मलाई पछ्याइरहेको पाँउछु । जीवनमा मैले पहिलो पटक सँगालेको भावाकर्षण जुन तिमीप्रति समर्पित छ । तिम्रो समीपमा पर्दा ममा छुट्टै आकांक्षाहरु पलाउँथे । म अन्योलमा परेकी थिएँ, ममा आएका परिवर्तनहरु देखेर । मेरो मस्तिष्कले ठम्याउनुअघि नै मेरो हृदयले प्रेमलाई आत्मसात गरिसकेको रहेछ ।”

सम्राट स्तब्ध बनेर सलोनीतिर टोलाइरह्यो । ऊ निःशब्द बनेको थियो । आफ्नो संवेदनाहरुको उचित निकासपछि सलोनीले भने राहत महसुस गरी तर उनीहरुको सम्बन्ध अब कसरी बढ्ने हो भन्ने चिन्ता थपिएको थियो । दुवै सँगै छँदा बोझिलो बनेको वातावरणलाई हलुका पार्न उनीहरु एक्लिए । सलोनीको पछिल्लो व्यवहार सम्राटका लागि अनेपेक्षित थियो तर उसप्रति पहिले भन्दा बेग्लै मान्यता उसले बनाएको थिएन । मन सलोनीकै पक्ष लिएर सोच्थ्यो । उसको जीवनमा रातोदिन, साता, ऋतु अनि वर्षहरुको योगफल गणना गर्नका लागि मात्र प्राण हालिएको थिएन । सम्राटलाई आफ्नो चाहनाको बारे त थाहा भएन तर सलोनीको चाहनामा कुनै खराबी देख्दैन ।

भोलिपल्ट साँझ फेरि ताल किनारमा सँगै हिँड्दै गरेको उनीहरु भेटिए । सलोनी आफ्नो अस्तित्वमा कुनै स्तर नभएकाले त्यसलाई जीवनको नामाकरण कसरी गर्ने भनेर प्रश्न गर्दै थिई । जीवनको एक खण्ड पार गरेपछि उसको भोगाई सदैव तीतो रह्यो अनि त्यसमा वेदना अचाक्ली गरी समेटियो । त्यस्तोमा उसको जीवनप्रतिको तृष्णाको धार तीखो लाग्ने खालको थिएन, मन्द थियो । भर्खरै जिन्दगीलाई सम्हाल्न सिक्दै थिई ऊ । जीवनको डोरी राम्रोसँग समाउन नपाउँदै फुत्की सकेको थियो, उसको हातलाई पास्दै । ऊ त्यही डामहरु आफ्नो प्रिय व्यक्तिलाई देखाउँदै थिई । देखाउँदा देखाउँदै ऊ भावुक बन्न थाली । आफूसामू सधैँ सशक्त रुपमा देखिने सलोनी र उसका कोमल तर निरस आँखा आफ्नै आँखाअगाडि रसाउन थालेको देखेर सम्राट सम्झाउन अघि सर्‍यो । सलोनीसामू उभिई उसका दुवै गालामा सान्त्वनाको हात राखेर सम्राटले उसलाई सम्हालिन आग्रह गर्‍यो । हृदयपटलले अपनाएको मान्छे मायालु पारामा आफ्ना लागि आश्वासनका शब्दहरु खर्चिएको देखेर झन् विह्वल हुँदै सलोनी सम्राटलाई अँगालो मारेर रुझेका गाला उसको काँधमा लगेर टाँसी । सम्राटले पनि उसलाई अँगालेर सुमसुम्याउदै ढाढस दियो ।

रात पर्न थालिसकेको थियो । ताल किनारको बाटो सुनसानझैँ थियो । सलोनी आफ्नो शिर सम्राटको काँधमा अड्याएर उसको हात आफ्ना दुवै हातले समाएर ऊछेउ हिँड्दै थिई । सम्राटले उसको प्रेम स्वीकारिसकेको थिएन तर उसका आकांक्षाहरुलाई बुझिसकेको थियो । र, पनि उसको डर विपरीत ऊ उसको साथमा थियो । उसको एकदम निकट । यत्तिले पनि ऊ प्रसन्न थिई । ऊ रोकिएर सम्राटतिर फर्की । ऊ मुस्कुरायो ।

आँखाभरि कृतज्ञताको भाव चढाएर उसले बोलि, “सम्राट ! थ्याङ्क्स् फोर बिइङ इन माई लाइफ ।”

सम्राटले केही प्रतिक्रिया दिनुअगावै उसको एकदम समीपमा पुगेर सलोनीले उसको गालामा प्रेमपूर्वक चुम्बन गरी । मुस्कराउनुबाहेक सम्राटलाई केही गर्न सुझेन । सम्राटका स्नेही आँखामा ऊ तानिदै गई । प्रेमको चर्को संवेग उसको शरीरसँग आश्लिष्ट हुन गयो । थाहा भएन कुन शक्तिले ऊ डोरिई, सम्राटको ओठसँग जोडिन उसले आफूलाई रोक्न सकिन । परिवर्तनशील आचरण बोकेकी सलोनीका कदमहरुको मेसो सम्राटले पाउन सकिरहेको थिएन । उसका रहरहरुका अगाडि ऊ समर्पितझैँ हुन पुग्यो । बन्द परेलाहरुलाई बिस्तारै खोलेर सलोनी फेरि उसलाई नजिकबाट प्रेमपूर्वक नजरले एकतमाससँग हेरिरही । सलोनीका आँखामा कुनै सन्ताप थिएन । आँसुसँग रुझिसकेका आँखा अब मायाले भिज्न तयार भएजस्ता दखिन्थे । प्रेमास्पद चाहनाको वेगले ऊ बहकी । उचित–अनुचित छुट्टयाउन नसक्ने गरी होश हराएर ऊ आशक्त भई र सम्राटलाई चुम्न थाली । सम्राट हट्न खोज्दै थियो तर सलोनी उसलाई प्रेमालिङ्गनमा झन् कस्दै अन्धो बनेर चुम्दै गई । जब उसमा होश फर्क्यो, सम्राटले उसलाई आफूबाट टाढा पारिसकेको थियो । चेतनाले उसमा ग्लानि पैदा गर्‍यो । मायाको न्यानो पनि हटिसकेर ऊ एक्लिएकी थिई । चाहना पनि अधुरो नै थियो । आनन्दको अनुभव भागिसकेको थियो । सम्राटका स्नेही आँखा उसलाई अर्कै नजरले घुरिरहेको थियो । त्यो सायद अनादरको हेराई थियो । सबै अस्तव्यस्त देखेर उसले दुवै घुँडाले जमिन टेकी र हातले आफ्नो अनुहार छेकेर भावग्रस्त भएर रुन थाली । यसपालि सम्राट परबाट ऊ रोएको हेरिमात्र रह्यो ।

त्यस घटना पछाडि उनीहरुको सम्बन्ध चिसियो । भेटघाट बन्द नै भयो । सलोनी आफूलाई थाम्न नसकी भावावेगमा भूल भएको जाहेर गर्न चाहन्थी । तर सम्राटसँग कुनै पनि माध्यमबाट सम्पर्क स्थापित हुन सकेन । म्यासेज अनुत्तरित नै रहे । कल उठ्थेन । सलोनीलाई आफ्नो रवैयाप्रति ठूलो खेद थियो । तर कताकति उसलाई लागिरहेको थियो, त्यो घटना उसको जीवनको सबैभन्दा मीठो भूल थियो र सर्वाधिक प्रिय पल पनि । प्रेम र स्पर्शको चाहना एउटा जीवको हैसियत पाएकाहरुलाई साधारण कुरा भएर पनि यी दुवै कुराहरुबाट वञ्चित हुँदै उसले देह त्याग्दै थिई । कमसेकम यी कुराहरु अब मनमा संकलित रहरहरु भएर रहने थिएनन् । थोरै भए पनि उसले यी चीजहरुको अनुभव सँगाल्न पाई । तर अब के यसको मूल्य रहलपहल जीवन उसले सम्राटबिना एकोहोरोपनमा बिताउनुपर्ने हो ? एकै समय, एउटै घटना, समान भोगाई थिए उनीहरुको तर सोचाईमा कस्तो विविधता ! सलोनीले त्यसबेला रमाइलोकोे तीव्रतामा मनको अमिलोलाई सम्झिराख्ने स्वभावलाई निष्क्रिय पार्न भ्याएकी थिई । तर सम्राटलाई सायद त्यो घडी असह्य थियो । त्यसैले त उसले दूरी राखेको थियो । सलोनीका लागि त्यो अविस्मरणीय पल थियो तर सम्राटका लागि ? ऊ केही जान्दिन थिई, सिवाय सम्राट ऊसँग निराश थियो ।

आफ्नो जन्मदिनमा सलोनीले सम्राटलाई आमन्त्रण गर्दै म्यासेज पठाएकी थिई । साँझ झिनो आशा लिएर ऊ रेस्टुरेन्ट पुगी । आफूलाई सादा खाना अर्डर गरी । तोकिएको समय गुज्रँदासमेत सम्राट देखा नपरेपछि उसको आश मर्‍यो । चिउँडो हातमा अड्याएर ऊ सम्राटसँगको स्मरण र अब उप्रान्तको आफ्नो एकलाशे जीवनलाई सम्झेर घोरिई । रेस्टुरेन्टमा केही ग्राहकहरु भित्रिदै थिए । त्यसैमा सम्राटको सुपरिचित मुहारलाई ठम्याउन उसलाई गाह्रो परेन । ऊ हर्षविभोर भई तर सम्राट कुन उद्देश्यले प्रेरित थियो, उसलाई यकिन थिएन । के ऊ उनीहरुको सम्बन्धलाई पुरानै आकारमा फर्काउन चाहान्थ्यो या अन्तिम बिदाइका लागि ऊ फर्केको थियो ? सोचेर सलोनी झस्की । सम्राट सलोनीसामू रहेको खाली कुर्चीमा आएर बस्यो । दुवै एकअर्कासँग आँखा मिलाउन सकिरहेका थिएनन् । अभिवादनको आदनप्रदान पनि गर्न सकेनन् । आमुन्ने सामुन्नेको उपस्थितिमै उनीहरुले उनीहरुको सम्बन्धमाझ परेको फरक अनुभव गर्न शुरु गरिसकेका थिए ।

संवादशून्य रिक्त घडीले उनीहरुको अनुभवलाई झन् सही ठहर्‍यायो । भन्नलाई धेरै कुरा भएर पनि उनीहरुले मौनधारण गरिरहे, आफ्नो सम्बन्धलाई जीवन्त बनाउन हैन, एकजुट भएर श्रद्धान्जली अर्पण गर्न आएझैँ ।

 

प्रतिक्रिया
Loading...